Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चोर बाटोबाट अस्ट्रेलिया पस्न खोज्ने ६ नेपाली फर्काइए

Posted on February 7, 2014February 7, 2014 by Salokya

abc
माइसंसारमा केही अघि दक्षिण अमेरिकाका दर्जनभन्दा बढी देशहरुको चोर बाटो हुँदै अमेरिका जाने नेपालीहरुका बारेमा ब्लगहरु छापिएका थिए। अस्ट्रेलिया जान पनि यस्तै चोर बाटोहरु छन्। इन्डोनेसियाबाट लामो समुद्री यात्रा अनि केही पैदल यात्रापछि अस्ट्रेलिया पुगिन्छ। त्यस्तै बाटोबाट अस्ट्रेलियामा पसेर शरणार्थी बन्न खोज्ने ६ नेपालीलाई अस्ट्रेलियाली सेनाले बाटैबाट फर्काइदिएका छन्।
abc1
अस्ट्रेलियाको सिड्नी मर्निङ हेराल्डले जनाए अनुसार सेनाले बीच बाटोबाटै फर्काइएकामध्ये २१ जना इरानी थिए। त्यसपछि सबैभन्दा बढी संख्या नेपालीको छ (६ जना)। बंगलादेशका पाँच जना छन् भने दुई जना पाकिस्तानका हुन्।

340184-8e3a7d56-894f-11e3-8066-beb3483f8e9c
अस्ट्रेलियाली सेनाले सुन्तला रङको समुद्रमा नडुब्ने खालको लाइफबोटमा राखेर फर्काइएकाहरु बुधबार राति इन्डोनेसियाको जाभास्थित दक्षिणी तटमा पुगेका थिए। अहिले उनीहरुलाई त्यहीँको प्रहरी र सेनाकहाँ राखिएको बुझिएको छ।

अस्ट्रेलियामा शरण मागेर जीविका चलाउने धुनले नेपालबाट कति लाख हो खर्च गरेर हिँडेकाहरुको सपना चकनाचुर भएको छ। ५ जना नेपालीसहित ३४ जनाको समुद्री यात्रा जनवरी २७ मा दुई हप्ताअघि भएको रहेछ। यसको मतलब उनीहरु एक हप्ताजति अस्ट्रेलियाको हिरासतमा बसेको हुनुपर्ने हेराल्ड लेख्छ।

अस्ट्रेलियाले गत डिसेम्बरमा आप्रवासीहरुविरुद्धको कडा नीति अख्तियार गरेपछि ठूलो खालको सुन्तले रङका लाइफबोटमा इन्डोनेसियाबाट पस्ने शरणार्थीहरुलाई फर्काइएको यो छैटौँ पुष्टि भएको घटना हो। अरु घटनामा नेपाली थिए कि थिएनन् थाहा हुन सकेको छैन।

अस्ट्रेलिया नजिकैको क्रिसमस आइल्यान्ड पुग्नै आँट्दा सेनाले उनीहरुलाई अवैध रुपमा अस्ट्रेलिया पस्न लागेको थाहा पाएर पक्रेको थियो।

उनीहरुसँगै रहेका दुई जनालाई भने उपचारका लागि अस्ट्रेलियामै राखिएको छ। बाँकीले भने इन्डोनेसिया फर्कनु अघि ४८ घण्टासम्म आफूहरु भोकै रहेको बताए। डुङ्गामा १८ महिनाका बच्चा समेत रहेको बताइएको छ।

अस्ट्रेलिया पस्ने कठिन चोर बाटो

अस्ट्रेलिया पस्ने यो कठिन चोरबाटो बारे न्युयोर्क टाइम्समा एउटा विस्तृत लेख गत नोभेम्बरमा छापिएको थियो। एक पत्रकारले शरणार्थीको भेषमा त्यो यात्रा गरेका थिए।

इन्डोनेसियाको जाभाबाट डुङ्गा चढेर २०० माइल टाढा क्रिसमस आइल्यान्ड नामको टापुमा पुग्नु उनीहरुको लक्ष्य हुने गर्छ। त्यहाँसम्मको यात्रा गर्न मौसम ठीक भए तीन दिनसम्म लाग्छ। मौसम खराब भए त डुङ्गा डुब्न पनि सक्छ। पछिल्ला दश वर्षमा एक हजारभन्दा बढी शरणार्थी बन्न जानेहरु डुबेको तथ्याङ्क छ। बालबालिकाले आमाबाबु डुब्दै मरेको र आमाबाबुले आफ्ना छोराछोरी डुब्दै मरेको करुण दृश्य त्यहाँ धेरै पटक दोहोरिएका छन्।

17refugees4-custom1

 

यस्तो हुन्छ डुङ्गाभित्र अस्ट्रेलियाको सपना बोकेर शरणार्थी बन्न जान लागेकाहरुको हालत। तीन दिनरातसम्म यसरी बस्नुपर्छ उनीहरु।

17refugees10-custom1

 

अस्ट्रेलियातिर डुङ्गा लम्कँदै गर्दा चारैतिर समुद्रको पानी नै पानी अनि डुङ्गाभित्र यस्तो।

17refugees11-custom1

abc2

17refugees5-custom1
क्रिसमस आइल्यान्ड पुग्न लागेपछि अस्ट्रेलियाली सेनाको फन्दामा पर्छन् उनीहरु।

थप फोटो र जानकारीसहित न्युयोर्क टाइम्सको त्यो सामाग्री यहाँ क्लिक गरी पढ्न सक्नुहुन्छ।

को होलान् ती ६ नेपाली, जो भविष्य राम्रो बनाउने आशामा यस्तो कठिन बाटोबाट अस्ट्रेलिया जान खोजेका थिए ? अनि अस्ट्रेलिया पुग्नै लागेर पनि फर्काइनु पर्दा उनीहरुको मनमा कस्तो पीडा भयो होला ? कति ब्याजमा रकम ऋण लिएर उनीहरु नेपालबाट हिँडेका थिए होलान् ? उनीहरुको भविष्य के कस्तो होला ? सत्तामा जान प्याकेजमा सहमति खोजिरहेको काठमाडौँलाई उनीहरुबारे केही चासो होला ? शंकै छ।

19 thoughts on “चोर बाटोबाट अस्ट्रेलिया पस्न खोज्ने ६ नेपाली फर्काइए”

  1. Bajracharya Suman says:
    February 9, 2014 at 8:16 am

    नेताहरु भनौदाहरु जनताको भोट लिएर भारत र अमेरिका को भुत प्रेत भएपछि जनताले येस्तै दुख भोगेको रमिता नै हुन्छ उनिहरुलाइ मनमा आनन्द हुन्छ बरु कुकुरुलै मालिक ले को दुख अनुसार ख्वाएको चिज खाएर उसको सेवा गर्छ / नेपाल को नेता भनेको भूतप्रेत डंकिनीहरु हुन् / तेसैले एस्तो समस्या आएको हो /

    Reply
  2. suja says:
    February 8, 2014 at 10:58 pm

    अस्ट्रेलिया चोर बाटो आउने सोचेका मित्रहरुलाई मैले बुझेको जानकारीको लागि केहि कुरा भनि हालौ !

    १. अस्ट्रेलियाको पूर्व केविन रडको सरकार हार्नु र अत्यधिक बहुमतले अहिलेको टोनी अबोट्को सरकार बन्नुको मुख्य कारण नै येही सरनार्थी नीतिले गर्दा हो | केविन रडको पालामा धेरै सरनार्थी डुंगा बाट अस्ट्रेलिया भित्रिए | सरकारले उनीहरुप्रति लिएको नरम नीतिका कारण नै रुस्ट बनेको जनताले उनलाई इतिहासमै सबै भन्दा ठुलो पराजय दिए जबकि ठिक उल्टो कडा नीति अबलम्बन गर्ने नीतिका साथ् आएका टोनी अबोट शानदार जितका साथ् सरकार चलाउदै छन् | अब अनुमान गर्नुस स्थिति के होला?

    २. अहिलेको स्थितिको कुरा गर्दा सरनार्थी सम्बन्धि समाचार मेडियामा दिनहु नल्याउने सरकारी नीतिका कारण के कति सरनार्थी भित्रिएका छन् भन्ने तेती जानकारीमा आउदैन | तर येति चै भन्न सकिन्छ कि आए पनि धेरै कम आएका छन् | बिशेस गरि डुंगा बाट आउने चै नसोचे पनि हुन्छ |

    ३. यहाँ धेरै नेपालीहरु अहिले serco नामक कम्पनिमा काम गर्छन | जसको मुख्य जिम्मेवारी भनेको अस्ट्रेलिया आएका सरनर्थिहरुलै हेरचाह गर्ने , उनीहरुको गासबासको व्यवस्था गर्ने हो | त्यसका साथसाथै उनीहरुको केस टुङ्गो नलाग्दा सम्म २४ घण्टा कडा निगरानीमा राखिन्छ तेसैले भाग्ने वा उम्किने मौका पाउने कुरै भएन | गासबास खेलकुद मनोरंजन सम्पूर्ण व्यवस्था भएको जेल भन्दा फरक नपर्ला |

    ४. अस्ट्रेलिया छिरेर धेरै भई सकेका तर भिसाको टुङ्गो नलागेर तेसरी २४ घण्टा निगरानीमा बस्नु पर्दाको पीडाले धेरैले आत्मा हत्या र self harm गर्न खोज्ने घटना पनि बेला बेलामा सुनिन्छ | एक जना केटि भर्खरै मात्र माथिल्लो तलाबाट हाम फालेर हात खुट्टा भाचेर होस्पितालमा छ भन्ने सुनेको थिए | तेस्तै गरेचन अर्को इरानी केटोले पनि | भन्नुको अर्थ छिरी हाले पनि अब तेती सजिलो छैन | कुनै पनि बेला तपाइलाई आफ्नै देश फर्काउन सक्छ |

    माथि उल्लेखित बाहेक डुंगा पल्टिने डुब्ने घटना त सुनी राखेकै हो | लाखौ तिरेर तेती लामो यात्रा एकदमै असुरक्षित सानो डुंगामा चडेर पार गर्नु भनेको सोझै काललाइ निम्तो दिनु बाहेक अरु होला र ? आफै सोच्नुस |

    बिदेशै पुगेकाहरु को पनि सुन्नुस है त पिडा | मेरो आफ्नै मित्र पोहोर साल मात्रै पुगे अमेरिका, श्रीमती र छोराको साथमा डी भी परेर | श्रीमती अंग्रेजीमा मत्थै | अब एक जनाको कमैले छोरा पढाउ, घरभाडा खाना खर्च, बिजुली इन्टरनेट फोनको बिल यता उता गर्दा त कमाई जति गरेनी हात लग्यो सुन्न ! नेपालमा मास्टरी गरेका उनि अमेरिकामा खुब मोज होला भन्थ्यो बिचरा अहिले फास्ट फूडमा काम गर्छन सात दिन, प्रति दिन बार्ह तेर घण्टा | आफै सोच्नुस अब के हालत भो होला ?? अर्को मित्रले पनि भर्खर श्रीमती छोरा लिएर गको, बिचरा को जागिर नै खुस्केच | अर्को उ भन्दा सस्तो काम गर्ने भेतेच अनि के राख्थ्यो साउले |

    यी सबै कुरा भन्दा भन्दै पनि यो पनि भन्न चाहन्छुकी राम्रो भिसा लगाएर आउन सक्चम हुनुहुन्छ भने पक्कै आउनुस, धेरै थोरै पैसा कमौनुस देश विदेश हेर्नुस | तर लाखौ खर्च गरेर अनिश्चित भबिस्य र जोखिम मोल्नु भनेको मुर्खता बाहेक के होला र?

    Reply
  3. Jeevan Thapa says:
    February 8, 2014 at 12:57 pm

    अरु घोडा चढ्यो भनेर आफु कुकुर माथि चढ्न खोज्दा दुख पाहिन्छ साथीहरु हो ….विदेश जानुहोस तर राम्रो संग बुझेर मात्र ….पल्ला घरे , माझाघरे, तल्लाघरे ले डलर कमायो भनेर रिस गर्दै चोर बाटो जाने कोसिस गर्नु ठिक होइन …१०० जनामा २० जना त चोर बाटो बाट छिर्न सफल होलान ८० जना हुँदैनन् …

    Reply
  4. Raj, says:
    February 8, 2014 at 11:16 am

    विदेश मा हुने आफन्त साथीभाई ले विदेश नजा दुखः छ भन्दा – झन आफु त पैसा कमयो आब हमीले कमाउछ भनेर येसो भन्छ भन्यो \ नेपाल मा हुदा कहिले विदेश जाने हुन्छ नेपाली जति पैसा दिन पनि तयार हुन्छन अनि दलाल लाई पैसा बुझाए पछि दलाल ले भनेको बाटो हिड्ने पारो \ अनि पछि तै आफन्त साथी भइ ले सहयोग गर्नु पर्छ \ बुझौ सम्पन्न देश मा गएर धारी पैसा कमाइदैन बरु शिप सिके नेपाल तथा विदेश मा इज्जत हुन्छ
    सबै ले बुझौ

    Reply
  5. Sudeep Gurung says:
    February 8, 2014 at 10:42 am

    अहिले अस्ट्रेलिया को सरकार ले डुंगा मा आउने सरनार्थी हरु लै तेतै इन्डोनेसिया तिर फर्काइदिने एकदम कडा नीति अख्तियार गरेको छ | तेसैले अरु नेपाली दाजुभाई हरु अहिले को ऑस्ट्रलियन सरकार सत्ता मा रहे सम्म डुंगा मा आउने प्रयास गरेर आफ्नो लगानी nadubaunu होला | बरु अरु नै तरिका अपनाएर आउनु भए बेस||

    Reply
  6. Puspa says:
    February 8, 2014 at 10:34 am

    No sympathy for them. It is entirely stupid idea to risk a lot of money and life for illegal and uncertain way to generate income. Think about family and relative; and think about alternative investment opportunity.

    Reply
  7. Mk says:
    February 8, 2014 at 3:14 am

    नेपालको मूल समस्या भनेको- ‘फोहोरी राजनीति’ भएको ले सो लाई सु – बेबस्थित गर्नु गराउनु को विकल्प देखिदैन ; जसको लागि, बिदेसिने होइन कि बरु बिदेसिएकाहरु नै भटा- भट फर्किने बेला भएको छ /

    Reply
  8. ashok says:
    February 8, 2014 at 1:40 am

    मान्छेको जुनी लिएर पनि मान्छे भएर बच्न नसकेकाहरु । मैले त तिब्बतबाट दशैमा नेपाल भित्र्याईने च्यांग्रा र यीनीहरुमा कुनै फरक देखीन ।

    Reply
  9. Prabesh says:
    February 7, 2014 at 11:17 pm

    के भनु र खोइ कुरो गर्‍यो कुरैको दु:ख। बिदेश नजानुस् भनम भने आफै बिदेशमा छु, जानुस् भनम भने बिदेशको दु:ख कस्तो हुन्छ र हुनसक्छ भन्ने आफुलाई राम्रो सँग थहाँ छ। तर जहाँ सम्म चोर बाटोबाट जाने कुरा छ, आफ्नो ज्यानको खतरा मोलेर किन त्यस्तो गर्या होला। दलाललै बुजाएको लाखौ पैसा लगानी गरेर नेपालमै बिदेशमा जती दु:ख गर्ने हो भने नेपालमा नहुने हैन। तर कि ‘पढेर जनिन्छ, कि परेर’ भन्नुहुन्थ्यो हजुरबुवाले, बिदेश आएर ठक्कर नखाईकन बुद्दीको बिर्को कहाँ खुल्छ र? हुनत मैले पनि बिदेश आएरै जानेको हो है यो कुरो। अनी अर्को कुरा जहाँ सम्म चोर बाटोबाट लाखौं खर्च गरेर बिदेश (युरोप/अमेरिका) आउने बर्ग छ, त्यो मध्यमबर्गिय र अती महत्वाकाक्षीं बर्ग हो। जसले खाडी मुलुक र नेपालमा ५० हजार जतीको जागिर पाएपनी कहिले सन्तुष्ट हुँदैन र युरोप अमेरिकालाई स्वर्ग संझेर बसेको हुन्छ र त्यहाँ पुग्ने हरेक हर्कत गर्न उ तयार हुन्छ। तर गैरकानुनी रुपमा यहाँ आउदा न त यताको सामाजिक सुरक्षानै पाईन्छ न त सरणार्थी भिषा पाउन त्यती सजिलोनै छ। बैधानिक बाटोबाट पढ्न सिक्न आउनेहरुलाई ( केही अपबाद बाहेक, काम नपाउने ठाउमा गएको खण्डमा बाहेक) राम्रै छ। अन्यथा चोर बाटोबाट आउदा भलै यी ठाँउहरु बिकसित होलान्, तर तपाईलाई नर्क प्रतित हुनसक्छन्। तथ्यलाई बुज्नुहोस्। ईन्टरनेटमा हेर्नुहोस्, त्यहाँभएकाहरु सँग जान्कारी लिनुहोस्। जान लागेको देशको खबरहरुहरु हेर्नुहोस्। अनी दलालको कुरोमा आफुले नखोजीकन, नबुझीकन कतिपनी विश्वाश नगरनुहोस् उसले पैसाको लागि जे पनि बोल्न भन्न सक्छ, मौका परे तपाईलै पनि बेचिदिन्छ। आफ्नो बुद्धीलाई सधै प्रयोग गर्न सिक्नुहोस्, त्यो नै तपाईको सबैभन्दा ठुलो मित्र हो। आफ्नो बुद्दीको काम लिने मान्छे कहिले बहकिदैन।

    Reply
  10. dor prasad says:
    February 7, 2014 at 10:23 pm

    एस्तो समस्या बढ्नु मा नैतिक रुप मा म आफु लै पनि जिम्मेबार मान्छु … बेला बेला मा विदेश को फुर्ति लगाएकै हो क्यारे ! आफु लै दोषी सम्झिने यो कमेन्ट मा like गर्नु होस् है !!!

    Reply
  11. Bishnu Adhikari says:
    February 7, 2014 at 9:21 pm

    आर्काको देशमा गएर आर्काको गुलामी भएर दुइ चार पैसा कमाएर बस्नु भन्द आफ्नै देशमा स्वाभिमान भएर बाँच्न सिकौ यो नै जीवनको सार्थकता हो /

    Reply
  12. sujan joshi says:
    February 7, 2014 at 8:20 pm

    किन जान्छौ बिदेश

    न बिरामी हुदा आमाको काख पाउछौ
    न समस्या पर्दा बाबुको साथ पाउछौ
    केबल हड्डीपसिना खियाए पछि अलिकति धन पाउछौ
    न हडबढाउदा दाजुको ढाडस पाउछौ
    न ठेस लाग्दा भाइको काध पाउछौ
    न आशु पुछ्ने दिदीको पछ्यौरा पाउछौ
    न थकान बिर्सने बैनिको माया पाउछौ
    केबल सबै संग टाढा भएपछि अलिकती धन पाउछौ
    न घ्याम्पो हान्न साथिको साथ पाउछौ
    न चौतारीमा बसी सुसेल्न अल्लारे बैश पाउछौ
    न रोधीमा गाउन पाउछौ
    न बाजाको तालमा नाच्न पाउछौ
    केबल खुशीको सट्टा अलिकती धन पाउछौ
    न दशैमा ठुलाबडाको आशिस पाउछौ
    न तिहारमा दिदीबहिनीको हातको टिका पाउछौ
    न माघीको मेला पाउछौ
    न फागुको होली पाउछौ
    केबल चाडबाडको बदला अलिकती धन पाउछौ
    न ठुला बाबुको खेतमा सघाउन पाउछौ
    न कान्छीलाइ घुमाउन पाउछौ
    न छिमेकीको जन्ती जान पाउछौ
    न गाउलेको मलामी लाग्न पाउछौ
    केबल इष्टमित्रको ठाउमा अलिकती धन पाउछौ
    न योग्यता अनुसारको काम पाउछौ
    न आफ्नो देशमा जस्तै मान पाउछौ
    न भने जस्तो गर्न पाउछौ
    न चाहे जस्तो रम्न पाउछौ
    केबल आत्मसम्मान गुमाइ अलिकती धन पाउछौ

    Reply
  13. लक्ष्मन says:
    February 7, 2014 at 6:39 pm

    यो एक कठिन यात्रा हो / जहाँ हरेक पाईलामा ज्यान जाने सम्भावना हुन्छ / तसर्थ गैरकानुनी बाटो भयर त्यहा जाने प्रयास नगरेकै राम्रो हो भन्ने हाम्लाई लागिराछ /

    Reply
  14. जनकमान डंगोल says:
    February 7, 2014 at 5:33 pm

    छिट्टै धनि हुने सपना बोक्दा यस्तै हुञ्छ ! लोभले लाप, लापले बिलाप !

    Reply
  15. लौटन अवधि says:
    February 7, 2014 at 4:02 pm

    नेपाली युबा हरु लाइ मेरो हार्दिक अपिल के छ भने आउनुहोस कर्णाली – बालुवा चालोउ – सुन निकालोउ – प्रति दिन टेक्निक लाएर सुन चाल्ने हो भने ४ देखि ७ लाल सुन मज्जा ले निकाल्न सकिन्छ ! लगभग तिन हजार् प्रतिदिन कमाउन सकिन्छ – आराम गरेर पनि महिना को ७०-७५ हजार् आराम ले कमाउन सकिन्छ त्यो पनि बिना लगानी को ! यहिँ अस्ट्रेलिया – यहिँ अमेरिका – यहिँ युरोप छ ! किन जाने त्यो दुखि ठाउ मा बाउ बाजे ले नपाएको दुख बेसायेर !!!!

    Reply
  16. Ojhel says:
    February 7, 2014 at 2:27 pm

    अलि ढिला भएछन् उनीहरु । अस्ट्रेलियाली सरकार परीवर्तन सगै अब याहा को अध्यागमन बिभागले निकै कडाई गरेको छ । िबशेस गरी टोनी एबट को सरकार बनेपछि याहा सरणार्थी बन्न आउने सबै बिचबाटो बाट फर्काईएका छन् र अस्ट्रेलिया छिरीसकेका तर सरणार्थ्ी बन्न अयोग्य ठहरीएकाहरु लाई पनि सम्बन्धित देशमा फिर्ता जान सरकारले वारेन्ट समेत दिईसकेको छ । अब चोरबाटो बाट अस्ट्रेलिया आउने सपना नदेखेकै राम्रो ।

    Reply
  17. रबिन्द्र राज गिरी says:
    February 7, 2014 at 2:24 pm

    प्रश्न: सत्तामा जान प्याकेजमा सहमति खोजिरहेको काठमाडौँलाई उनीहरुबारे केही चासो होला ?
    जवाफ: बाल मतलब छैन यी सत्ताका जुकाहरुलाई |

    Reply
  18. rabindra says:
    February 7, 2014 at 2:05 pm

    नेपाल मा गर्न खोज्ने हरु पनि यहाँ समाजमा मानसिक तनाब मा बस्नु पछ!किनकि कालेको छोरो अमेरिका छ,भुन्टेको छोरो जापान छ,त नेपाल मा के गछ,,,,,,,,,,,,,,?पछि दु:ख पाउने पनि हामी !

    Reply
  19. SURENDRA hongkong says:
    February 7, 2014 at 1:49 pm

    सत्ता मा पुग्न प्याकेज मा सहमति खोज्ने हाम्रो नेपाली राजनीतिक का खेलाडी हरु लाई बाल मतलब छैन जनता को /साएद यी नेपाली हरु नेपाल मै काम गर्न इच्छुक नभएका होइनन तर नेता हरु ले जनता को चाहना लाई तिलान्जली दिदै आफ्नो स्वार्थ पूर्ति मात्र गरेका ले देश ले निकास पाउन नसकी आज हजारौ नेपाली हरेक हण्डर खेपेर विदेश गइ केहि कमाएर भबिस्य सुनिस्चित गर्ने उदेश्य ले दलाल को जुनसुकै प्रलोभन मा परि दुख पाउन बाध्य छन्/नेपाल बिकाश गर न हो तोर्पे नेता हो कोहि जनता एतिका हण्डर खेपेर विदेश जादैनन् नि र दुख पनि पाउदैनन /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme