Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा: परदेशीकी श्रीमती

Posted on February 1, 2014February 2, 2014 by mysansar

saturday-fiction एउटा खाइलाग्दो ज्यान भएको, घोर्ले गाउँले ठिटो जसलाई सबैले सञ्जीव भन्थे । त्यही सन्जीव १९/२० वर्ष भएपछि अरबतिर हानियो । पासपोर्ट भिसा आदिको तयारीका क्रममा भन्थ्यो, “धेरै–धेरै पढेकाले त जागिर नपाउने यो देशमा म जस्तो आइए पनि नपढेकाले के गर्ने ?” तीन वर्षसम्म ऊ घर आएन । बेलाबेलामा चिठीहरु आइरहे, पैसा पनि ठिकै ठिकै पठाइरह्यो । छुट्टिमा गाउँमा आएका दुर्गाप्रसाद, शोभाकर अनि अरु २।३ जनाले उसको खबर पनि ल्याइरहे । “कम्पनीमा काम गर्छ, राम्रै छ, त्यस्तो गाह्रो छैन, नआत्तिनु होला । ३ वर्ष पुगेपछि घर आउने छुट्टि मिल्छ आदि आदि ।” चाडबाडमा न्यास्रो लागे पनि सञ्जीवका बाबु–आमा छोराको प्रगतिमा खुशी नै थिए । घरमा बा–आमा अनि भाइबहिनीलाई खान लगाउन मनग्य पुर्यायो, आफू जादाँ लागेको एक डेढ लाख ऋण तिर्यो, आठ दशलाख हालेर सदरमुकामको छेउमा घडेरी किन्यो । उसका बाबुलाई छरछिमेकमा ठाडो शिर बनाउन त्यत्ति पनि काफी थियो । छिमेकीले भने,“छोराले राम्रो लाइन लियो भने धनी बन्न बेरै लाग्दैन ।” नातेदारहरुले भने, “सानैदेखि हाम्रो सञ्जीव सज्जन मान्छे हो ।”

तीन वर्ष पुग्यो । छोरो आउने पक्का भएपछि बाबुले २।३ महिना अघि देखिनै केटी हेर्न शुरु गरे । सञ्जीव आयो, प्लसटु पास गरेकी बबिता संग धुमधाम विबाह भयो । घरमा नया बुहारी भित्रेकी बाबुआमा खुशीले आखैँ देखेनन् ।

छिमेकीले भने, “दैवले नै जुराको जोडी, आफू पनि मान्छे हिरो नै छ, दुलही पनि उस्तै राम्री ।” सर्लक्क परेको ज्यान, गोरो भरिलो अनुहार, अनि ठूला ठूला आखाँ, मिलेको सिल्की कपाल भर्खर बीस वर्ष पुगेकी बबिता साच्चै राम्री थिइन् । बिहे भन्दा ५ दिन अगाडि उनीहरुले पहिलो पटक भेटे । दश पन्ध्र मिनेट कुराकानी भयो, बबिता निक्कै राम्री लाग्यो सञ्जीवलाई । उनलाई पनि सञ्जिव मन पर्यो ।

सञ्जीवको अब एक महिना मात्रै छुट्टी बाँकीँ थियो । जत्ति सक्दो छिटो लगन जुराउने काम भयो । बिहेपछि नव जोडी मनकामना दर्शन गर्न गए, पोखरा पुगे, डुङ्गामा सरर बिन्दबासिनी दर्शन गरे । चितवन जाने र हात्ती चढ्ने अनि काठ्माण्डौँ पनि घुम्ने धोको भने पुरा भएन त्यही बेला नारायणी अन्चल बन्द परेछ । सदरमुकाम भन्दा टाढा कतै नगएकी बबिता पनि यसरी घुम्न पाउँदा खुशीले फुरुङ्ग । त्यो भन्दा पनि हेन्डसम, दाम कमाएको, लाइनमा लागेको श्रीमान ।

गाउँले परिबेशमा हुर्केकी बबिता धेरै ठूला ठूला सपना थिएनन् । आफ्नो सबै तन मन पतिलाई सुम्पेर ऊ संगै जीवन विताउने प्रण गरिन् । आजभन्दा भोलि, भोलिभन्दा पर्सि माया दोब्बर तेब्बर बढ्दै गयो । तर दुःखको कुरा छुट्टिने बेला नजिकिदै थियो ।

सञ्जीवका दिनहरु चुट्की बजाए जसरी बित्थे । जब मान्छेले आनन्द अनुभव गर्छन समयले आफ्नो गति बढाउँछ, जब दुःख कष्ट अनुभव गर्छन् अनि सुस्ताउछँ । खराब नियती । बिहे पछि उनीहरु घनिष्ट मित्र जस्तै भए । माइत वा घर जता गए पनि संगै । छिमेकका बुढाबुढीले खस्याकखुसुक कुरा काट्थे, “हाम्रो पालामा दुई तीन वर्षसम्म लोग्ने स्वास्नी बीच बोलचाल नै हुन्थेन । अहिलेका केटाकेटी, हेर एक साता भएको छैन कसरी नारिएर हिड्छन् ।”

सञ्जीवलाई पनि बबिताको माया झन झन लाग्न थाल्यो । यति राम्री दुलही छाडेर कसरी जाने त्यो मरभूमिमा ? उसले बबितालाई भन्थ्यो, “अब दुई तीन वर्ष बसें भने एउटा घर बनाउने पैसा बनाउला अनि केही व्यबसाय गरेर यतै बस्ने हो ।” बबीता दंग पर्थी तर बिछोडमा दुई तीन वर्ष कति लामो हुन्छ उसलाई के थाहा ? बबितालाई ऊ बिदेश नगएर संगै बस्न पाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो तर बिचरी केही बोल्दिनथिन् ।

दिन भन्दा रात छोटा अनि रात भन्दा दिन छोटा हुदै गए । एक महिना सकिनै लाग्यो । सञ्जीवको मनमा बिछोडको पीडा स्पष्ट कोरिदैँ जान थाल्यो । छुट्टिने दिन नजिकै आउँदा नव जोडीले रातभर माया प्रेमका कुरा गरेर विताए । भविश्यका मिठा मिठा सपनाहरु बुने । दुःख सुखमा सधै साथ दिने कसम खाए । दुवैको पहिलो प्रेम थियो । तर प्रेम गर्न कसैले सिकाउनु पर्दैन बरु प्रेमले जिन्दगी जिउन सिकाउँछ । प्रेम त्यस्तो चिज हो जति ग्रहण गर्यो त्यति धेरै प्यासी बनाउछँ । अनि बिछोडको भयले झन बलियो बनाउँछ ।

हाम्रो देशमा पनि अरबमा जस्तै उद्योग कलकारखाना भएका भए, त्यस्तै बिकास निर्माण भएको भए यहिँ पनि काम पाइन्थ्यो होला । त्यो पराइ मुलुकमा किन जानु पर्थ्यो र ? सञ्जीवले नेपालको राजनीतिलाई सराप्यो, नेताहरुलाई सराप्यो, भ्रष्टाचारीहरुलाई सराप्यो । सबैलाई थाहा छ, यिनै नेता, राजनीति अनि भ्रष्ट कर्मचारीले देश बिगारेका हुन् अनि सर्बसाधारणले देश बिदेशमा पसिना–रगत बगाउन परेको छ । उनीहरुलाई के मतलब र ? आफ्ना छोराछोरीलाई देश विदेश जहाँ बसेपनि सुतेर खान पुग्ने सम्पत्ति जम्मा गरेका छन् क्यारे । उता भोकमारीले सिद्धिन लागेका देशका नागरिकले पनि हामीहरुलाई नै हेप्छन् । देश धनी भए पो जनताको इज्जत हुन्छ ।
बिदेश जाने दिन आयो । अरुले घर बाटै बिदा गरे तर बबिता उसलाई छाड्न काठ्माण्डौँ आइन । पहिलो पटक काठ्माण्डौं शहर देख्दा पनि उनलाई खासै उमङ्ग भएन ।

अनाबस्यक कोलाहल र भीडभाडमा उनले विगत केही दिनमै सबैभन्दा प्यारो बनाएको आफ्नो मान्छेलाई केही समयको लागी गुमाउँदै छन् । पापी मनले अन्यथा नचिताओस यो बिछोड ३ वर्ष भन्दा लामो हुने छैन । सञ्जीवले दिनभर उनलाई काठ्माण्डौका ठूला ठूला मलहरुमा घुमायो । राम्रा राम्रा कपडाहरु किनिदियो । यो पल कति रमाइलो हुन्थ्यो होला मात्रै उसलाई भोली बिदाइ गर्न नपर्ने भए । उनी कति रमाउथिन् होला दुई चार दिन यसरी घुमेर सधैको लागि फेरि संगै गाउँ फर्कन पाए ।

न्युरोडको कोलाहल छिचोल्दै उनीहरु बसन्तपुर पुगे, मन्दिरहरुको अगाडी फोटा खिचे । सुन्धाराको कुनै लजमा रात बिताए । उसले बबितालाई आफूले चलाइरहेको टच स्क्रिनवाला मोवाइल दियो । हातका औंलाहरु संगै अक्षरहरु अनि चित्रहरु चल्ने । बबीताले त्यस्तो मोवाइल आफ्ना साथीहरुको हातमा देख्दा आफ्ना पनि कोही दाजू–भाई विदेशमा भएका भए त त्यस्तो मोबाइल चलाउन पाइन्थ्यो होला भन्दै कल्पना गर्थिन । तर आज त्यो चिज हातमा पर्दा पनि उनी खुशी भइनन् । मन भित्र जलन भइरहदाँ आकर्षक चिजबिजहरु पनि ब्यर्थ लाग्ने रहेछनन् । औँलाहरुको इसारामा चल्ने सजीव मोवाइलको के अर्थ जब मुटुको टुक्रा नै टाढा हुंदै छ । धेरै टाढा । कहाँ हो कहाँ ? उनले कहिल्यै न देखेको एकादेशको मुलुकमा । परदेशी संग माया लगाएर अनि विछोडको बिरह पोखेका गीतहरु उनलाई बल्ल मार्मिक लागेका छन् । उनी रुन्छिन, सञ्जीवले सम्झाउँछ ।

सञ्जीव पनि मनमनै रोइरहेको छ, सायद त्यो बबितालाई थाहा होला । चोखो माया भएपछि एक अर्काको मन बुझ्न केही दिनको संगत पनि त काफी हुन्छ नि । थाहा भएपनि उनी न त सम्झाउन सक्छिन न त उसलाई बिदेश जानबाट रोक्न नै । परदेशीको जीवन आखिर आसुँको सागरमा पौडी खेल्दै सुनको लंका पुग्ने सपना जस्तो त हो नि ।
भक्कानिदै उसलाई बिदा गरेर बबिता घर फर्किन । एक महिना अघि सम्म चिनजानै न भाको मान्छेको अनुपस्थितिले उनलाई सब उजाड बनायो । गाउँघरको जनजीवन सामान्य नै चल्यो । त्यही सामान्य जनजीवन भित्र उनले मनमा कसैलाई सजाएर उसैको प्रतिक्षामा दिनहरु काट्न थालिन् । सौभाग्यबस २।४ महिना पछि गाउँमा खुलेको बोर्डिङमा साना नानीहरुलाई पढाउने जागिर पनि पाइन् । बिहान बेलुका घरधन्दा मै बित्थ्यो, सासु ससुरा पनि खुशी नै थिए । राति सुत्ने बेलामा उनी आफ्नो कोठामा त्यहि मोवाइलमा सञ्जीवका फोटाहरु हेर्थिन, जुम गरेर ठूलो बनाउथिन अनि छातीमा टास्थिन ।

कहिलेकाँहि नेटवर्क चल्दा फेसवुक पनि खोल्थिन्, सञ्जीवले नयाँ नयाँ फोटाहरु अपडेट गर्थ्यो त्यहि हेरेर दंग पर्थिन । दुबैजाना अनलाइन भएमा र नेटले साथ दिएमा आधारात सम्म च्याट गरेर बस्दथे । जति जति टाढा भयो मायाँ त झन गाढा पो हुँदो रहेछ ।

कहिले माइत कहिले घर गरेर ५।६ महिना यत्तिकै बितेछ । उनलाई त एक जुग जस्तो भइसक्यो । साना नानीहरुलाई नैतिकताको पाठ पढाउने, भविश्य देखाउने सुशील बबितालाई हुर्केबढेकाहरुले भने बुझेनन् वा बुझेर पनि इष्र्या गरे । हाम्रा गाउँहरुमा अबला नारी माथिको धावा आसपासकै अन्य नारीहरुबाट शुरु हुन्छ । दुर्गन्धित समाजले एक्ली सुशील नारीको धज्जी उडाउनु केही नौलो हैन ? यहाँ पनि त्यस्तै भयो । छिमेकीका आइमाइहरुले कुरा काट्न थाले ।

“ त्यो बैश थामेर बस्ली जस्तो त मलाई पहिले देखि नै लागेको थिएन ।”

“ रुप मात्र राम्रो भएर के गर्नु ब्यहोरा खत्तमै रै छ मोरीको ।”

“ त्यो दिपके पनि देख्नको मात्र सज्जन रैछ । अर्काकी भै सकेकी संग के को ….।”

“ अस्ती बाटोमा दिपक संग कसरी मस्कदै हिडेकी थी । लाजको पसारो ।” गाऊँघरमा यस्ता कुराहरु छिटो फैलन्छन्, अझ तिलको पहाड बनेर । नाताले देवर पर्ने, एउटै बोर्डिङमा पढाउने अनि एकै तिर घर भएको, आउँदा जादाँ संगै भए होला । संगै हिडेपछि बोलचाल पनि हुन्छ, कुराकानी गर्दा हाँसे पनि होलान् । फेरी हास्नलाई अनैतिक बाहेक अरु पनि धेरै विषयहरु हुन्छन् नि । बोर्डिङका अरु सहकर्मीहरुका कुरा काटे होलान्, विद्यार्थीका कुरा गरे होलान् । तर पाखण्डीहरुले यस्तो कुरा किन बुझ्थे । अरुलाई अप्ठ्यारो पार्न लागिपर्ने गाउँलेहरुले यो कुरालाई थप मलजल गरे । सासु ससुरालाई पनि कसैले सुनायो । सासु ससुरा पनि आखिर त्यही गाउँका न हुन, बबिताको ठाउँमा अरु कसैकी छोरी बुहारीको भएको भए हो मा हो मिलाएर हिड्थे होला तर आफ्नोमा पर्दा शिर निहुराउनु बाहेक केही गर्न सकेनन् । बबिता बोर्डिङको जागिर छाड्न बाध्य भइन् ।

पाखण्डी समाजको झुटो आरोपको प्रतिकार गर्ने साहस उनमा थिएन । उनी एक्लिदै गइन । एक्लै बसेर कति रोइन, कसैले देखेन, कसैले बुझेन । एउटी शिक्षित र शभ्य नारीलाई अशभ्यहरुको भीडले अँध्यारोमा धकल्दै लग्यो । परिवारमा अबहेलना बढ्दै गयो । गाऊँ छिमेकले उनको व्यइज्जत भयो । दिपकले यसकुराको सक्दो प्रतिकार गर्यो । झुटो कुरा गरेर कसैको भविश्य न बिगार्न सबैलाई अनुरोध गर्यो । हल्ला गर्नेहरुलाई पुलिस चौकिमा पुर्याउने, सदरमुकाम पुगेर गाली व्यइज्जतिको मुद्दा लगाउने उद्घोष गर्यो । उसका कुराले केही मान्छेहरु हच्किए तर कुरा रोकिएन । आफ्नो पक्षमा ठूलो भीड छ भने झुट हो भन्ने जान्दा जान्दै पनि मान्छेहरु बोलिरहन्छन् । अज्ञात व्यक्तिले यस्तो देखेको रे । अमूक व्यक्तिले यस्तो सुनेको रे । भित्र भित्रै कुराहरु फैलन रोकिएन ।

एकदिन सञ्जीवले फोन गरेको बेलामा बबिता एकदमै रोइन्, एकछिन पनि एक्लै बस्न सक्तिन भनिन् । सञ्जीवलाई फिर्ता आउन भनिन् । गएको वर्ष दिन पनि भएको छैन । ऊ कसरी फिर्ता आउन सक्थ्यो र ? विदेशमा भनेको बेलामा कहाँ छुट्टि मिल्छ त ।

सञ्जीवले गाउँको सबै कुरा थाहा पायो, अनि नआत्तिनु सबै ठिक हुन्छ भन्यो । बबिता केही समयलाई माइत गइन् । उनी भन्दा पहिला नै झुटो हल्ला माइतमा पुगिसकेको थियो । उनी आमा संग बसेर धेरै रोइन । छिमेकी काकीहरु अनि गाउँलेहरुले पनि शंका गरे । बच्चादेखिका साथीहरुले पनि उनी संग भेटघाट गरेरन् । अब यस संसारमा कोही छैनन् त उनको पक्षमा उभिने ? आफू जन्मेको, हुर्केको ठाउँमा पनि उनलाई झुटो आरोपको शिकार बनाइयो । हाम्रो समाज कति संकृण होे ? परिवारिक हिंसा, बोक्सीको आरोपमा, संस्कारको कलेबरमा, धर्मको आडम्बरमा आखिर नारी माथि किन सधै अन्याय हुन्छ ? परिवर्तन भने, आन्दोलन भने, जनयुद्ध भने हजारौँको ज्यान लिए, कैयौँको घरबास उडाए तर खै यहाँ नारीको सम्मान । आफ्नैबाट उपेक्षित, पराइबाट उपेक्षित, सधै शोषित, सधै प्रताडीत । बिचरी बबिताको न घरमा कुनै सम्मान छ न माइतीमा अटाउने ठाउँ छ । घर फर्केपछि उनी चिन्ताले सुक्दै गइन । बिरामी भइन ।

सञ्जीवलाई फोन म्यासेज गर्दै सबै कुरा अपडेट गर्थिन् । हरेक पटक फोनमा भन्थिन “यदि तपाँइलाई म माथि बिश्वास छ भने म यो सबै सहेर बस्छु तर अलिकति पनि शंका गरेको दिन म यो संसारमा रहन्न ।” सञ्जीवले उनको मायाँमा पुरा बिश्वास थियो । उनलाई सम्झाउँथ्यो, पहिले भन्दा धेरै फोन गर्थ्यो ।

उता दिपकलाई यो ढोंगी समाजलाई चुनौती दिनै पर्छ भन्ने अठोट जागेर आयो । उसले शुरुमा आफ्ना सहकर्मी शिक्षकहरु संग सल्लाह गर्यो । गाउँका बुद्धिजीवि भनेका मास्टरहरु त हुन् । गाउँभरीबाट बिदेशिने जाने अरु ८।१० जनाका श्रीमतीहरुलाई एक्ला एक्लै भेटेर राम्रो संग सम्झायो । भोली यस भन्दा नराम्रा घटनाहरु उनीहरुको जीवनमा पनि आउन सक्ने कुरा प्रति पनि सचेत गरायो । शुरुमा आनाकानी गरेपनि ऊ र उसका सहकर्मीहरुको लामो प्रयास पछि बिदेशिनेका श्रीमतीहरु झुटो हल्ला फैलाउनेहरुको बिरुद्ध पुलिस चौकी र आबस्यक परे अदालतमा समेत बयान दिन राजी भए । हुन त कुरा काट्नेहरु मध्येका १।२ जना उनीहरु पनि थिए तर मुद्धा मामिलाको कुरा आएपछि सिधै दिपकको पक्षमा आए । दिपकलाई पनि साक्षीहरु चाहिएको । केही दिनमै कुरौटेहरुको लामै लिस्ट तयार गरेर पुलिस चौकीमा उजुरी दियो । पुलिस चौकिका असईसापले उजूरीनामा परेका सबैलाई चौकीमा बोलाए । कुरा काट्नेहरुको सातो गयो ।

“यति सानो कुरालाई पनि किन पुलिस गुहारेको, गाउँ मै मिलाएको भए भइहाल्थ्यो नि ?” गाउँका भलादमी टोपलिनेहरुले भने । अझ कुरा अदालत सम्म पनि जादैँ छ भने पछि सबैको मनमा ढोल बज्यो ।

“यदि तपाँईहरु मध्य कोही संग अनैनिक सम्बन्धको ठोस प्रमाण छ भने कानुन अनुसार यिनीहरुलाई कारबाही हुन्छ । प्रमाण देखाउन सक्नुहुन्न भने तपाँइहरुमाथि कारबाही हुन्छ । अब मुद्धा जिल्ला अदालतमा जान्छ । झुटा आरोप लगाएर अरुलाई उपेक्षा–अपहेलना गर्न कसैलाई पनि कानुनले छुट दिएको छैन । भोलि यस्तै वा यस भन्दा पनि नराम्रो घटना तपाँईहरुको छोरी बुहारी माथि आयो भने के हुन्छ राम्ररी सोच्नुस । झुटो हल्लाले एउटी निर्दोष नारीको घरबार बिग्रन्छ, उता परदेशमा उनको श्रीमानलाई झन् तनाब थपिन्छ । समाज भित्रै बस्नेहरु इमान्दार र जिम्बेबार भएनौँ भने गाउँमा कसैलाई पनि राम्रो गर्दैन ।” असइसापको कुराले गाउँलेहरु झन डराए । प्रमाण त को संग के हुनु र ? दिपक पक्षकाहरु संग भने पुरा पुर प्रमाण थियो । गाउँमा ठूलै हंगामा भयो । गाउँलेहरु बबिता र दिपक संग माफी मागे । आइन्दा नचाहिने कुरा गरेर कसैको व्यइज्जत गरेमा अदालतमा पुर्याउने सर्तमा असइसापले मुद्धा मिलाए । बबिताले पुन बोर्डिङको जागिर पाइन् । आरोप लाग्नेहरु उनीहरुलाई बाटोमा देख्दा मुन्टो फर्काउथे तर दिपक दह्रो आत्मबिश्वास सित अगाडी बढ्यो रत्तिभर डराएन र बबितालाई पनि कसैसंग रत्तिभर नडराउन साहस दियो । बबिता दिपक प्रति अत्यन्तै आभार भइन् । हामी भ्रष्ट प्रशासन भन्दै अरुलाई मात्रै दोष दिन्छौं तर आफै सचेत भएर हार नमानी अगाडी बढ्ने हो भने सत्यको जीत हुन्छ । बबिताले दुखद समय ब्यतित गरिन् अहिले पनि उनी संग गाउँलेहरु खुशी छैनन् तर त्यसको बाल मतलब छैन । उनलाई त आफ्नै प्रियतमको ब्यग्र प्रतिक्षा छ । त्यही नै उनको बाच्ने आधार बनेको छ । अब सञ्जीव आएपछि मरे पनि फर्केर जान दिने छैनन् । दुइचार जना मात्रै भएपनि सचेत युवाहरु गाउँमा बस्ने हो भने पनि हाम्रा गाउँहरुमा कतिधेरै सचेतना बढ्थ्यो होला । परिवर्तनको अनुभूति हुन्थ्यो होला । तर गाउँमा बसेर आजभोली कसैको भविश्य उज्जल छैन । केही समयमा दिपकको पनि बिहे भयो अनि सदरमुकाम बसाइ सरे । दिपकको बुढी र बबिता भने बेस्टफ्रेन्ड जस्तै भएका छन् भेट धेरै नभए पनि फोनमा कुराकानी भइरहन्छ ।

[तपाईँ आफ्ना कथा, लघुकथा माइस‌ंसारमार्फत् बाँड्न चाहनुहुन्छ भने यहाँ क्लिक गरी पठाउनुस्। कविता भने माइसंसारमा छापिँदैन]

14 thoughts on “कथा: परदेशीकी श्रीमती”

  1. Bimal says:
    February 3, 2014 at 8:14 pm

    मनछुने कथा…. आज निक्कै दिनपछि आज मेरो संसार …कम पढ्न पायो ! खुशी लग्यो

    Reply
  2. Hari Prasad Lamichhane-Saudi Arab says:
    February 3, 2014 at 7:33 pm

    कथा राम्रो छ , यो कथाले दिन खोजेको सन्देस भन्दा ठ्याक्कै उल्टो परिणामका खबरहरु पनि दिनहु पढ्न पाहिन्छ, शायद राम्रा नराम्रा जहाँ पनि हुन्छन |

    के हुन् त उल्टो परिणामका खबरहरु भन्ने प्रश्न उठ्न सक्छ , त्यो के भने घरमा शाशु ससुरा संगै बस्न मननलागेकोले , केटा केटि पढाउने निहुमा शहर बजार तिर कोठा लिएर बस्ने, दिन भरि सिरियल इत्यादी मा समय खेर फाल्ने , भएको पैसा सक्ने, एसो हल्का पुरुष मित्रहरु पनि बनाउने,…. बाँकि न लेखि राखौ पाठकहरुले बुझी हाल्नु हुन्छ|

    पहाडी जिल्लाका जुनसुकै सदरमुकाममा हेर्नुस सयौको सङ्ख्यामा तेस्ता पात्र भेट्न सकिन्छ |

    Reply
  3. Ek Raj says:
    February 2, 2014 at 9:03 am

    समाजमा सकारत्मक संदेश दिने यस्ता कथा हरु mysansar मा पढी राख्न पाइयोस. कथाकार लाइ धेरै धेरै धन्यबाद.

    Reply
  4. अशोक ुरुङ says:
    February 2, 2014 at 8:42 am

    यस्तैयस्तै कथाहरु बेला बेलामा लेखदै गर्नूहोल राम्रो लग्यो

    Reply
  5. कृष्ण भारद्वाज, सिड्नी (अष्ट्रेलिया) says:
    February 2, 2014 at 8:35 am

    भाषा सारै सरल, सारै सामान्य कथा तर अन्त्यमा सकारात्मक संदेश !
    मेरो तर्फबाट : ५.१ / १०

    Reply
  6. laxman says:
    February 2, 2014 at 6:41 am

    कमेन्टको लागि सबैलाई धन्यवाद,सुझाब दिनुभएकोमा बिष्णु अधिकारी ज्युलाई बिशेष धन्यवाद .

    Reply
  7. Ramesh Bhandari says:
    February 2, 2014 at 6:04 am

    धेरै राम्रो कथा !!! वास्तबमा यो कथा मात्र नभएर अहिलेको हाम्रो समाजको रोग जस्तै भएको छ / परदेशीको श्रीमतीलाई उ जतिसुकै इमान्दार भए पनि उसको चरित्रमा शंका गरिन्छ / उ त घर बाट बाहिर जानै हुदैन , कोहि चिने जानेको मान्छे संग बोल्नै हुदैन बात लागिहाल्छ / त्यसैले कथाका पात्र दीपकले जस्तै हिम्मत गरेर अनाब्यसक हल्ला फैलाउने हरुलाई कानुनी रुपमा कारवाही गराउन सक्नु पर्यो , डटेर सामना गर्न सक्नु पर्यो हैन भने ती नारीको जिबन नर्क तुल्य हुन् पुग्छ / समग्रमा कथा सार्है राम्रो अनि लेखक बाट भविष्यमा पनि यस्तै अनुकरनिय लेखहरु पढ्न पाइयोस/ !!!!!!!!

    Reply
  8. Bhadra says:
    February 2, 2014 at 5:52 am

    कथा निकै राम्रो लाग्यो / सकारात्मक सोच र समाज को यथार्थ चित्रण गरेको छ / समसामयिक छ अनि संदेश मुलक पनि / लेखक लाई साधुबाद / कलम चलाउंदै गर्नु होला / अबस्य राम्रो अनि झन राम्रो हुँदै जाने छ/ अस्तु /

    Reply
  9. बशन्त राज says:
    February 1, 2014 at 11:42 pm

    यो कथा परदेश जाने हरकोही नेपालीको हो / यहाँ बिबाह पछि एक महिना सगै बसेको भनिएको छ / तर कतिपय नेपालीहरु बिबाह गरेको हप्त्ता दिनमै विदेश जानेहरु पनि छन / जेभय पनि कथा मन छुने छ /

    Reply
  10. शशङ् लामा, न्युयोर्क says:
    February 1, 2014 at 10:50 pm

    यस्तै सन्देशमुलक कथाले माइसंसारमा हरहमेशा स्थान पाइरहनुपर्छ!

    Reply
  11. Anil Chaudhary (Xinig, China ) says:
    February 1, 2014 at 10:19 pm

    सुरुमा शीर्षक पढेर नै ” परदेशीकी श्रीमती ” भन्ने कथा बियोगात्मक होला जस्तो लागेको थियो तर कथाकारले यसलाई सुखद मोडमा ‘The end ‘ गरेका रैछन् / साथै कसरि, बिशेष गरेर हाम्रो ग्रामिण समाजमा, एउटा नारी लाई नारीहरुले नै भावनात्मक पीडाहरु दिंदा रैछन्
    भन्ने कुरा दर्शाउन र सहनायकको माध्यम बाट यस्ता विसंगतिहरु चिरेर आत्मविश्वासका साथ अगाडी बढ्नुपर्छ भन्ने संदेश दिन कथाकार सफल भएका छन् जस्तो लग्यो ……/ कथा राम्रै लाग्यो……

    Reply
  12. Bishnu Adhikari says:
    February 1, 2014 at 10:06 pm

    कथाको सिलसिला केहि ठाउमा नमिलेको भए पनि प्रयास राम्रो छ / कथाको अन्त्य भाग ले समाज मा हुने गरेका अनाबस्यक शंका र झुटा आरोप लगाउने समाजका तथाकथित मानिस लाई दह्रो झापड लगाएको छ जसले गर्दा बाध्येता बस् आफ्नो घर परिवार छोडेर बिदेसिन परेका हजारौ सन्जिब र बबिता जस्ता जोडी हरुको मन मा केहि हद सम्म भए पनि शंका निवारण गर्नेमा सहयोग गरेको छ / तेस्तै समाजमा दिपक जस्ता मानिस पनि छन् जसले समाजमा भएका अनाबश्येक लान्छना को प्रतिकार गर्न सक्छन भन्ने कुरा को सन्देस दिएको बुझ्छु मैले त/ अरुको के छ नि बुझाई ………….?
    बिष्णु अधिकारी

    Reply
  13. santosh gautam says:
    February 1, 2014 at 9:40 pm

    निकै राम्रो कथा. सकारात्मक सोच को साथ लेखिएको रहेछ. धेरै धेरै धन्यवाद !!!

    Reply
  14. Aryan says:
    February 1, 2014 at 9:26 pm

    राम्रो कथा, समाज मा सकारात्मक संदेश दिने छ.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme