Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बोक्सीः कानुन छ तर कारबाही छैन

Posted on January 22, 2014January 23, 2014 by Salokya

-सीता शर्मा-

नुवाकोट सुन्दरादेवी गाविसकी आशादेवी नेपालीको कथाले जोसुकैलाई पनि भावुक बनाउँछ। उनी भन्छिन्, ‘साँझको आठ बजेको थियो। दिनभर ज्यामी (बालुवा चाल्ने) काम गरेर घरभित्र पस्दै थिएँ। एक्कासि श्रीमान् र सासूले ढोकैमा आएर बोक्सी भन्दै मेरो कपालको चुल्ठो समाए। म आत्तिएर बाहिर भाग्न खोजेँ, तर सकिनँ। उनीहरूले बोक्सी भन्दै त्यहीँब्ााट मलाई घिसार्दै घरभित्र लगे। श्रीमान्, सासू, नन्द, देवर, आमाजू सबैले डाइन (बोक्सी) भैंसीलाई दूध नदिने बनाइस् भन्दै कुट्नु कुटे। फलामको पन्यू तताएर मेरो शरीरमा डामे। मेरो त्यो अवस्था देखेर चार वर्षीया छोरी निकै रोएकी थिइन्। म पनि रोइकराई गरेर हारगुहार मागिरहेँ, तर मेरा विलौना सुन्ने कोही भएन।’

केही दिनदेखि आशादेवीको घरमा लैनो भैंसीले दुई साँझ दूध नदिएपछि झाँक्री ल्याएर हेराए। झाँक्रीले घरकै बुहारी आशादेवीले बोक्सी लगाएका कारण दूध नदिएको भनेपछि घरकै परिवारबाट उनीमाथि त्यस्तो दुर्व्यवहार भयो। पाँच वर्षअघि सानुबाबु नेपालीसँग विवाह गरेकी २६ वर्षीया नेपालीलाई विगत दुई वर्षदेखि छिमेकीले आफ्ना छोराछोरी बिरामी हुँदा र सासूले आफू बिरामी हुँदा बोक्सीको आरोप लगाउने गरेका थिए। छिमेकीका छोराछोरी बिरामी हुँदा होस् वा घरकी सासू वा घरको भैंसीले दूध नदिँदा होस् उनलाई बोक्सीको आरोप लगाउने झाँक्री उनकै आमाजूका श्रीमान् हुन्। उनले आफूमाथि भएको अन्यायविरुद्ध महिला मानवअधिकार रक्षक सविना रिमालको सहयोगमा प्रहरीमा उजुरी त दर्ता गरिन्। तर, आशादेवीले रिमालकै सहयोगमा प्रहरीबाट न्याय पाउने अवस्था नदेखेपछि हाल जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी छिन्। उनी अहिले राजधानीको एक संस्थामा बस्दै आएकी छिन्।
यसरी कथित बोक्सीको आरोपमा यातना पाउने आशादेवीको मात्रै एक्लो समस्या भने होइन। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार गएको एक वर्षयता आशादेवीले जस्तै कथित बोक्सीको आरोपमा तीन महिलाले यातना पाएका छन्। कथित बोक्सीको आरोपमा तराईका महिला अझ धेरै पीडित छन्। सप्तरी बरपुरकी ३७ वर्षीया नुरझा खातुनलाई गएको भदौमा बोक्सीको आरोपमा आफ्नै देवर र देवरानीले निर्घात कुटपिट गरेका थिए। आरोप थियो– खातुनले बोक्सी लगाएका कारण देवर–देउरानी आमाबाबु बन्न नसकेका रे। खातुनलाई देवर–देउरानीले कथित बोक्सीको आरोप लगाएर कुटपिट मात्रै गरेनन्, मानव मलमूत्र खुवाएर नाङ्गै बनाएर शरीरभरि मोसो दलेर बोक्सी हुँ भन्न बाध्यसमेत बनाए। सामाजिक कुरीतिजन्य हिंसा नियन्त्रण राष्ट्रिय सञ्जालका अध्यक्ष एवम् बोक्सीविरुद्धमा तराईमा बसेर विभिन्न चेतनामूलक कार्यक्रममा सक्रिय विमला पराजुली तराईमा बोक्सी आरोपित महिलालाई मलमूत्र ख्वाइदिनाले ऊ बहुलाउँछे र बोक्सी विद्या बिर्सिन्छे भन्ने अन्धविश्वास व्याप्त रहेको बताउँछिन्।
समाजमा यसरी महिलालाई आरोप लगाउनेमाथि कडा कारबाही हुने गरेको छैन। ६ वर्षअघि कुटपिट गरेर मानव मलमूत्र कोच्याइएकी ललितपुर प्युटार गाविसकी कल्लीकुमारी विक, एक वर्षअघि निर्घात कुटपिट गरेर मलमूत्र कोच्याइनुका साथै योनीमा कैंची र लठ्ठी घुसाएर मरणासन्न हुनेगरी यातना पाएकी कैलालीकी राजकुमारी रानाले अहिलेसम्म पनि न्याय पाएका छैनन्। उनीहरूले न्यायका लागि पहल नै नगरेका कहाँ हुन र! कल्लीकुमारी विक र राजकुमारी रानाको घटना राष्ट्रिय मुद्दा बनेका पनि थिए, त्यस घटनाप्रति सम्पूर्ण महिला अधिकारकर्मीदेखि राजनीतिक दल र सरकारका प्रमुख व्यक्तित्वको समेत ध्यानाकर्षण भएको थियो र तत्कालीन सरकारले घटनामा संलग्न पीडकलाई तत्काल कानुनबमोजिम कारबाही गर्न निर्देशनसमेत दिएका थिए। तर, विकलाई बोक्सीको आरोपमा दुर्व्यवहार गर्ने शिक्षिका विमला लामा हुन् वा रानालाई बोक्सी भन्दै योनीमा लठ्ठी घुसार्नेसम्मको हर्कत गर्ने उनकै देउरानी नीरा राना हुन् अहिले पनि त्यही समाजमा निर्धक्कसँग बसेका छन्। सरकारको दबाबपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको भए पनि उनीहरू धरौटी रकम बुझाएर तुरुन्तै निस्किए।
बोक्सीको आरोपमा निर्दोष महिलाले यातना पाउने क्रम जारी छ। प्रहरी प्रधान कार्यालय, महिला तथा बालबालिका सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष ०६९/७० मा देशभरका २६ महिला कथित बोक्सीको आरोपमा विभिन्न हिंसामा परेका छन्। आर्थिक वर्ष ०६८/६९ मा २८ वटा यस्ता घटना प्रहरीकोमा दर्ता भएका थिए। यो तथ्याङ्कलाई आधार मान्दा यसप्रकारका घटना घटेको देखिन्छ। तर, बोक्सी आरोपको घटनाको प्रहरीले सकभर उजुरी नै दर्ता नगर्ने प्रवृत्तिले पनि कैयाँै घटना बाहिर आउन नसकेको महिला अधिकारकर्मी बताउँछन्। यस्ता घटना आउँदा प्रहरीले उजुरी लिन आनाकानी गर्छन् भन्ने कुरा मङ्सिर २५ गते धादिङको सुनौलाबजार– ४ भोर्लेकी चनमती मग्रातीको घटनाले पनि पुष्टि गर्छ। मग्रातीलाई कथित बोक्सीको आरोपमा छिमेकी ४० वर्षीया सुन्तली, २४ वर्षीया सीता र ४५ वर्षीय रूपबहादुर मग्रातीले मरणासन्न हुनेगरी कुटपिट गरे। चनमतीले आफूमाथि बोक्सीको आरोपमा गरिएको अन्यायविरुद्ध प्रहरीकहाँ जाँदा गाउँलेको मिलापत्र गर्नुपर्छ भन्ने दबाबका कारण प्रहरीले मुद्दा दर्ता गर्न निकै आनाकानी गर्‍यो। महिला अधिकारकर्मीको चर्को दबाबपछि धादिङका प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक वासुदेव थापाले त्यो मुद्दा दर्ता त गरे, तर गाउँलेको त्यो दबाब र प्रहरीले गरेको आनाकानीबीच दर्ता भएको त्यो मुद्दाबाट चनमतीले कस्तो न्याय पाउने हुन् त्यो भने हेर्न बाँकी नै छ।
तर, प्रहरीले बोक्सी आरोपित महिलाको उजुरी नै लिन मान्दैन भन्ने कुरा सत्य नभएको बताउँदै महिला बालबालिका सेवा निर्देशनालयका पूर्वप्रमुख विमला थापा भन्छिन्, …बोक्सीको आरोपमा कुटपिट गर्नेविरुद्ध प्रहरीले एक्सन लिनासाथ राजनीतिक दलका नेताहरू नै दबाब दिन आउँछन्। स्वयम् पीडित पनि गाउँघरको घटना गाउँमै मिलाउँछौँ भन्छन्, अनि प्रहरीले के गर्ने?’
बोक्साबोक्सीको आरोप लगाउने कुरालाई अपराध मानेर नेपालको अन्तरिम संविधान, २०६३ को धारा २० को उपधारा ३ मा कुनै पनि महिलाविरुद्ध शारीरिक, मानसिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य गरिने छैन र त्यस्ता कार्य कानुनद्वारा दण्डनीय हुने व्यवस्था गरिएको छ। यसैगरी मुलुकी ऐन २०२० को अदालत भन्ने महलको दफा १०(ख) मा कसैले कसैलाई बोक्साबोक्सीको आरोप लगाउने वा त्यस्ता आरोपमा निजलाई बसोबास गरेको ठाउँबाट निकाला गर्ने, सामाजिक बहिष्कार गर्ने वा अन्य कुनै अमानवीय वा अपमानजनक व्यवहार गर्ने वा यातना दिने काम गरेमा तीन महिनादेखि दुई वर्षसम्म कैद वा पाँच हजारदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ भनिएको छ।
बोक्सीको आरोपमा अपराधजन्य धेरै घटना कानुनी रूपमा अगाडि नआउने र आए पनि निकै कमले मात्रै सामान्य न्याय पाएको भन्दै अधिवक्ता मीरा ढुङ्गाना भन्छिन्, …यस्ता कुरीति तथा कुसंस्कारजन्य प्रथाको उन्मूलन कानुनी प्रक्रियाबाट मात्रै सम्भव छ, जसका लागि अहिलेको कानुनले सम्भव हुन सक्दैन, बोक्सी आरोपितलाई कारबाही गर्न छुट्टै कानुनको आवश्यक हुन्छ।’ उनका अनुसार बोक्सीको आरोपमा निर्दोष महिलाको अङ्गभङ्ग र कति महिलाको हत्या गरिएको छ। तर, अहिले हामीसँग यस्ता घटनाका पीडकलाई कारबाही गर्ने छुट्टै कानुन छैन, मुलुकी ऐन र अन्तरिम संविधानले व्यवस्था गरेको कानुनकै भरमा छौँ, त्यसले त्यति प्रभावकारी काम गर्न सकेको छैन। त्यसैले पनि अब यसको नियन्त्रणका लागि छुट्टै कानुनको आवश्यकता महसुस गरिएको हो।
अहिलेसम्म हाम्रो समाजमा गन्नेमान्ने र हैकम चलाउन सक्ने महिलालाई बोक्सीको आरोप लगाइएको प्रमाण छैन। बोक्सीको आरोप विशेषगरी जो महिला आर्थिक रूपमा कमजोर छन्, वृद्ध, विधवा वा जसका लागि बोलिदिने कोही हुँदैन वा जो शक्तिविहीन र एकल जीवन निर्वाह गरेका छन्। जो शारीरिक वा मानसिक रूपमा कठिन र चुनौतीपूर्ण जीवनयापन गरिरहेकी, कुनै पनि हिसाबले समाजमा हुने–खानेको सम्पन्नको चुनौती बनेकी, नीति–निर्माणमा पहुँच नभएकी महिला बोक्सीको आरोपमा पीडित बनेका छन्।
एक्काइसौँ शताब्दीमा आएर पनि महिलालाई बोक्सीको आरोपमा अमानवीय दुर्व्यवहार गर्नु सामाजिक कङ्लक भएकाले यसको अन्त्यका लागि शिक्षा र चेतनास्तर वृद्धि गरिनुपर्ने समाजशास्त्री सुमन्त घिमिरे बताउँछन्। उनका अनुसार संसारका युरोप, अमेरिका, अफ्रिका तथा साउथ एसियाजस्ता विकसित देशमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष वा बोक्साबोक्सी प्रथालाई मान्दै आएको देखिन्छ, फरक यति हो त्यहाँ कानुन र मानिसको चेतनास्तर निकै बढेको छ जसले गर्दा बोक्सीको आरोपमा कसैलाई पनि यातना दिएको पाइँदैन।
विगत पाँच वर्षयता बोक्सीको आरोपमा महिलामाथि गरिएका घटनाको अवस्था नियाल्ने हो भने बोक्सीको आरोपमा महिलामाथि गरिएको अपराधको शृङ्खला निकै डरलाग्दो स्वरूपमा देखिएका छन्। सरकारले ढिलै भए पनि बोक्सीविरुद्धको कानुन ल्याउने तयारी गरेको छ। कानुन आउनु आफैँमा राम्रो हो, तर त्यसको कार्यान्वयन प्रभावकारी हुनु पनि उत्तिकै जरुरी छ। किनभने महिला हिंसा नियन्त्रण गर्न बनेका कानुन चाहे घरेलु हिंसा नियन्त्रण गर्न बनेको ऐन होस् चाहे बेचबिखन रोक्न बनेको कानुन होस्, तिनीहरूको कार्यान्वयन प्रभावकारी छैन।
(सञ्चारिका फिचर सेवा)
(सीता गोरखापत्र दैनिकका पत्रकार हुन्)

14 thoughts on “बोक्सीः कानुन छ तर कारबाही छैन”

  1. Rajesh rai says:
    January 26, 2014 at 7:29 am

    यी सबै आफनै छोरी,बुहारी,सासु साथै महिलाहरुलाई नचाहिने लान्छना लगायर बोक्सी भन्नेहरु गु खाने बुद्धि भयका हुन्/

    Reply
  2. chandra says:
    January 25, 2014 at 12:33 pm

    नेपाल मा महिला, गरिब, सोझा, अनपढ, तथाकथित तल्लो जात भनौदा हरुलाई होच्याउने, पेल्ने र कज्याउने विभिन्न रुढिबादी, धार्मिक, सामाजिक र आर्थिक तौर तरिका छन्! तिनीहरु मध्ये महिला लाइ पेल्ने र कज्याउने यो एउटा तरिका हो!!! रिस उठेको महिला वा बिद्रोही स्वभाव को महिला लाई बोक्सी भनिदियो अनि अत्याचार गर्न समाज ले छुट दिई हल्छ!

    यहाँ भैंसी ले दुध नदिएको घाँस पनि नपुगेर या बिरामी भएर हो नकि बोक्सी लागेर! येदि बोक्सी साचैको हुँदो हो त जनतालाइ झुक्याउने ठुला नेता र भ्रस्टाचार गर्ने कर्मचारी, ब्यापारी लाइ लाग्थे होला नि???? किन भैसी लाइ लाग्नू????

    Reply
  3. chatur rai says:
    January 24, 2014 at 7:40 am

    आखिर जसरि पेलिने भए पनि गरिब र निमुखाना हुन , आव उल्टो jhupadima बस्नेलाई होईन महलहरुमा basneharulai यो आरोप लगाउनु पर्दछ अनि नियम पालन हुनेछ |

    Reply
  4. gavin Thapa says:
    January 24, 2014 at 3:48 am

    अन्धबिस्वस को कथ्घेरा बाट कहिले बाहिर निस्कने होला नेपाली समाज ?

    Reply
  5. Nabin Baral says:
    January 23, 2014 at 4:42 pm

    आसध्य राम्रो लेख र लेख्नै पर्ने बिषय म़ा लेख्नु भयको म़ा सीता जीलाइ बधाई अनि धन्यबाद!
    आशादेवी नेपाली संग भेट्ने मौका पाए हुन्थ्यो . म़ा वहालाई कहाँ भेटन सकिन्छ खबर गर्दिनुस है !
    चनमती र कल्ली जी संग मैले पनि भेटे.- चनमती भन्दै हुनुहुन्थ्यो ” ज्यान को घाऊ त निको होला तर यो मनको घाऊ चै कहिले पनि निको हुने छैन , तिनीहरुले मलाई बोक्सी को आरोप लगाएका छन् ”
    यो बिषय मा म पनि फोटो documentary म काम गर्दै छु .२०१४ सम्ममा मेरो फोटो documentary प्रोजेक्ट पुरा गर्ने र एस्ता घटना बडी हुने ठाउमा फोटो Exhibition गरि आउने पुस्ता म़ा यो कुपर्था विरुद्ध जनचेतेन र फोटो पुस्तक बाट ठुला भनौदालाई झक्झकाउने योजना छ. यो मेरो प्रयास हो !

    Reply
  6. Saanu says:
    January 23, 2014 at 4:31 pm

    कसैको केहि बिग्रदा पुरुषले गरेको (जन्तर मन्तर) भन्ने आज सम्म सुन्न मा आएको छैन, एसको मतलब पुरुष ले कहिले कसैको नराम्रो सोच्दैन??? हिंसा असहाय र कमजोर माथि मात्रै हुन्छ र नेपाली समाजमा महिलाको कुनै स्थान छैन…

    Reply
  7. bhakta says:
    January 23, 2014 at 4:08 pm

    औठा छापे हरु नसिध्यसम्म यो प्रकिया चलि रहनेछ , अशिक्क्ष्या प्रमुख कारण हो ! यसरी बोक्सी हुने भए यूरोप अमरिकाले कती काम दिन्थे होला ? किन तिनले तेत्रो सैनिक राख्थेहोला ? युकेले गोर्खे भर्ती गर्नु भन्दा बोक्सी भर्ती गर्थे होला / खै औठा छापे हरुको कमन सेन्स ? मैले हुने खाने पैसावाल को तर अशित्क्षित घरमा यो समस्या धेरै देखेको छु /यी बोक्सी आरोपी हरुलाई उठ्न नसक्ने किसिमको कानुन नबनाए सम्म यस्तै हो … रुप चन्द्र बिस्टको “थाहा ” अभियान अहिले आएर याद आइरको छ !

    Reply
  8. devendra says:
    January 23, 2014 at 3:05 pm

    संसारका युरोप, अमेरिका, अफ्रिका तथा साउथ एसियाजस्ता विकसित देशमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष वा बोक्साबोक्सी प्रथालाई मान्दै आएको देखिन्छ, फरक यति हो त्यहाँ कानुन र मानिसको चेतनास्तर निकै बढेको छ जसले गर्दा बोक्सीको आरोपमा कसैलाई पनि यातना दिएको पाइँदैन।
    ….नेपालीमा एउटा उखान छ नि “आफै धामी, आफै बोक्सी” किन भनियो यस्तो?? धामी/झाँक्री लाई मानसम्मान गरिन्छ तर बोक्सा बोक्सीलाई नकारात्मक, हानिकारक रुपमा हेरिन्छ, यदि यिनीहरुमा पनि केहि नकारात्मक शक्ति रहन्छ भने यिनीहरुलाई कानुनी दायरामा राखिनु पर्छ, चेतनास्तर बढाउनु पर्छ र मानब हितको कार्यमा लगाउनु पर्छ होला

    Reply
  9. Dev Gurung says:
    January 23, 2014 at 1:15 pm

    मा पनि सानो तिनो तन्त्र मन्त्र जानेको व्यक्ति हो र संसारमा बिसेस गरि नेपालमा बोक्सी को अस्तित्व पक्का छ अनि मेरो जानकारी अनुसार बोक्सी दुइ किसिमको हुन्छ एउटा भाउ खाने र अर्को चाही भाउ नखाने i जब बोक्सी को बिर ले भाउ खोज्छ तब सानो बालक ले भोक लगेर तुरुन्तै खाना को माग गरे झैँ बिर ले माग गर्दा बोक्सीले केहि सिप नलागे आफ्नै परिवार अथवा पशु लाइ पनि दुख दिन्छ र बिर लाइ सान्त गरौछ i अब साथी हरुले यसको बैज्ञानिक आधार खोज्ला तर कति कुरा हरु तान्त्रिक कुरा हरुमा निहित हुन्छ र परेको अथवा बेहोरेको मान्छेले मात्रै यी कुरा हरु बुज्छ I तर पनि बोक्सी कानुन बनाएर प्रमाणित भएमा बोक्सी लाइ पनि दण्ड दिनु पर्छ र बोक्सी को आरोपमा कुट पिट तथा गाली बेइज्जति गरेमा निर्दोस लाइ न्याय दिएर दोसिलाई सजाय दिनु पर्छ I अस्तु :

    Reply
    1. krishna says:
      January 24, 2014 at 10:27 pm

      गुरुङ तामांग दलित जातीहरुमा बोक्सी धामी झाक्री को बिस्वास बिगबिगी छ , मेरो एरियामा ई अन्धबिस्वासी हरु धेरै छन् -मेरा आफन्ती बिरामी हुदा अस्पताल सम्म पनि लान नदि कालो बोका , भाले रक्सि झाक्री मार्फत समाजले धरी घिचे र पनि बिरामी बचेन …आखिर ठाउ छाडेपछि संच भाको छ अहिले … बढी लाउरे समाज दिन भरि तास खेले रात भए पछि रक्सि खाने ध्शाङ्ग्रो ठोक्ने बोक्सी आरोप लाउने समाजमा लडाउने त् दैनिकी बन्याछ यो ठाउ ! कसरि होला यिन् लाइ ठेकान लाउने ?

      Reply
  10. Anil Chaudhary says:
    January 23, 2014 at 12:55 pm

    एक्काइसौँ शताब्दीमा पनि महिला माथि बोक्सीको आरोपमा अमानवीय दुर्व्यवहारहुनु भनेको हामी सबै नेपालीकोलागि लाज मर्दो कुरा हो | यस्तो समाचार पढ्दा, सुन्दा सार्है दुख लाग्छ |महिला मानवअधिकार कर्मीहरु मात्रै होइन, हामी सबै सचेत नागरिक, प्रहरी प्रशासन …..,बोक्सीप्रथा विरुद्ध कडा भन्दा कडा अवाज उठाएर सख्त भन्दा सख्त कारवाही गर्नै पर्छ | दोषीहरु मात्रै होइन दलाल नेताहरु, लिलाम भएका प्रहरी प्रशासन-नयालय पनि सजायको भागीदार हुनुपर्छ …..

    Reply
  11. कमल says:
    January 23, 2014 at 12:24 pm

    बोक्सीमा मात्र होइन, सबैमा कानुन भए पनि न कारवाही हुन्छ न न्याय|

    चेलीबेटी बेच बिखन र बोक्सी दोषारोपण र प्रताढ़न काण्डलाई सरकारले गम्भीर रुपमा लिन पर्छ| सामाजिक संघ संस्थाहरुले सुधारको काम गर्दै रहला तर यस्ता (चेलीबेटी बेचबिखन र बोक्सी आरोप) क्रिया कलाप बिरुद्ध कडासे कडा कानुन हुनपर्छ र समयमा कारवाही गरिनपर्छ| कारवाही र न्याय समयमा भएन भए कानुनको केहि फायदा हुँदैन|
    हाम्रा मेडियाले बेला बेलामा फलो अप गरे राम्रो हुन्थ्यो| फलाना लाई पकडाउ गरेर त्यसपछि के भयो त्यो पनि जान्न पाए हुन्थ्यो|
    अध्यागमनका कर्मचारीले गत बर्ष एक जना नेपाली महिला यात्रुलाई बलात्कार गरेका थिए| कंहा छन् ती कर्मचारीहरु अहिले? कति घण्टा वा दिन जेलमा बसे? घुस खाएर प्रत्यक्ष साक्षीको अभाव भन्दै छाडिदिने हो कि?

    Reply
  12. Bibek says:
    January 23, 2014 at 11:47 am

    यो लेखले मलाई ज्यादै बिचलित बनायो|

    दुइटा कुरो औल्याउन सहि देखे:
    १) बोक्सी पीडितहरु प्राय: समाजका निरीह र तथाकथित तल्लो जातका नै पर्दा रहेछन!

    २) रमितेहरु चाहि तथाकथित उच्च जातका!

    यसले के देखाउछ भने, लेखिकाको पहुँच र छनौटमा “समानता” छैन, या त समाजका पहरेदार (प्रहरी) र मानब अधिकारबादी जो समाजका यस्तै मुद्दाहरुलाई भजाएर आफ्नो जीविकोपार्जन गर्छन; दुवै क्षेत्रमा कथित् उच्च जातका (बाहुन) कर्मचारीहरु रहेछन भन्ने बुझियो| र यी दुवै पक्षका कर्मचारीहरु आफ्नो काममा सक्षम छैनन् र रमिते भएर बसेका छन! अनि यसरी समाजलाई अरु ५० बर्षमा पनि बदल्न सक्ने छैनन्| यी यस्ता सामाजिक समस्यालाई सबै सरोकार पक्षले “अपनत्व” लिई, अगाडी बढे त छोटै समयमा परिवर्तन महसुस हुनेछ|

    यथार्थ तितै हुन्छ| डाटा अध्ययनले यस्तै देखाउछ त यसलाई मनन् गर्दै अगाडी बढ्नु राम्रो होला!

    Reply
  13. सागर says:
    January 23, 2014 at 10:33 am

    हाम्रो देश को सिक्ष्या प्रणाली, राजनैतिक चेतना, अर्थ-सास्त्री, नेता, योजना आयोग का योजनाकार, सरकार र विकासे अभियन्ता भनाउदा हरु को मुख बाट जहिले पनि सुनिने गरिन्छ – नेपाल गाउ नै गाउ ले भरिएको देश हो तसर्थ सम्पूर्ण गाउ को बिकास नै देश को बिकास हो”
    सम्पूर्ण कुरा यो कमेन्ट मा अटाउन सम्भब नभएकाले म यत्ति मात्रै के भन्छु भने ” गाउ – रोग, भोक, असिक्ष्या, कुरीति, अन्धबिस्वास, अभाब, जातिय छुवाछुत, सामन्ती सस्कार, गरिबी को दल-दल हो तसर्थ गाउ को बिनास र सहर को उत्थान नै देश को बिकाश हो – रोग, भोक, असिक्ष्या, कुरीति, अन्धबिस्वास, अभाब, जातियछुवाछुत, सामन्ती सस्कार र गरिबी माथि को जित हो ! ”

    कसै लाइ राम्रो लाग्ला कसैलाई नराम्रो लाग्ला ! तर अब को अन्तिम सत्य यहिँ हो ! सोच्ने बेला भैसकेको छ !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme