Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बुद्धि बंगारा नभाको मान्छेको बुद्धि हुन्छ कि हुँदैन?

Posted on January 30, 2014January 30, 2014 by Salokya

320px-Wisdom-Tooth-Photo-by-Pejman-Akbarzadeh बुद्धि ब‌ंगारासँग मान्छेको बुद्धिको केही सम्बन्ध हुन्छ ?

हुन्छ भन्ने ठानेरै त होला, धेरैले निकै दुःख दिइरहने भए पनि बुद्धि बंगारा निकाल्न मान्दा रहेनछन्।

काठमाडौँ बस्ने एउटा नाम चलेको अफिसमा काम गर्ने व्यक्तिले आफ्नो छोराको साह्रै दुःख दिइरहेको बुद्धि ब‌ंगारा उखेल्न मानेनन्। रातबिरात दाँत दुख्यो भनेर डाक्टरलाई फोन आउने रहेछ। उनले दाँत निकाल्न सल्लाह पनि धेरै पटक दिए। तर बुद्धि ब‌ंगारा निकाले सुस्त मनस्थितिको भइन्छ भन्ने लागेकोले बाउले मानेका रहेनछन्।

यो हप्ता एउटा बुद्धि ब‌ंगारा उखेलेर फ्याँकियो। त्यसअघि दाँत दुखाइले निकै पीडा दियो। यही क्रममा थप खोज्ने क्रममा इन्टरनेट र दन्त चिकित्सकबाट पाएका जानकारी रोचक लागेर तपाईँहरु समक्ष बाँड्दैछु।

किराले खाइसकेको र दुःख पनि दिइराखेको भएर मैले भने निकाल्ने सल्लाह पाउँदा दुई पटक सोचिनँ।

बुद्धि हराउला भन्ने डर लागेन त ? फेसबुकमा कसैले सोधे पनि।

बुद्धि त हुनेले पो हराउने डर मान्नु, हामीलाई केको डर- ब्रजेश खनालले ट्विटरमा निकै रमाइलो जवाफ दिए।

आखिर किन बुद्धि बंगारालाई बुद्धिसित जोडिने रहेछ त ? नेपालीमा मात्र हैन अंग्रेजीमा समेत यसलाई विजडम टुथ नै भनिँदो रहेछ। ल्याटिनमा dens sapientiae को अर्थ पनि उस्तै रहेछ।

खासमा सबैभन्दा पछि उम्रने भएकोले र पछि भनेपछि स्वतः मानिस अलि बुद्धिमानी भइसक्ने भएकोले यसलाई बुद्धि बंगारा भनिएको हुनुपर्छ। बुद्धि बंगारा निकालेपछि बुद्धिमा नै असर पर्छ कि पर्दैन, त्यो भने तपाईँ आफै बुद्धि बंगारा निकालेर परीक्षण गर्नुस् भन्न नमिल्ने 😛

३२ लक्षणमा एक लक्षण ३२ वटा दाँत हुनु पनि हो। बुद्धि बंगारा बिना दाँत ३२ वटा पुग्दैनन्। लक्षण हराउने भएर पनि मान्छेले बुद्धि बंगारा निकाल्न आनाकानी गर्ने हुन् कि खै !

डेन्टिस्टले आफ्नो अनुभवबाट बनाएका केही बुँदा यस्ता रहेछन्-
teeth

अप्ठेरो पार्ने दाँत
बुद्धि बंगाराले उम्रँदा पनि साह्रै दुःख दिन्छ। मेरा दन्त चिकित्सकका अनुसार यो दाँत निकाले पनि खासै कुनै फरक पर्दैन। यो दाँत चपाउने दाँत पनि हैन। छेउको कुनामा रहने दाँत भएकोले ब्रस गर्दा पनि राम्रोसँग ब्रस पनि पुग्दैन। त्यसैले किराको आक्रमणमा सबैभन्दा कमजोर पनि यही हुन्छ।

दुर्घटना हुँदा यही दाँतले कठिन परिस्थिति निम्त्याउन सक्ने भएकोले अनि वयस्क अवस्थामा यसलाई निकाल्दा गाह्रो हुने भएकोले दाँत आइसकेपछि सानै उमेरमा नै यसलाई निकाल्न विदेशमा सिफारिश गरिन्छ भन्ने पनि सुनेँ।

कुरा ठ्याक्कै त्यस्तै नभए पनि अलि अलि हो रहेछ। थर्ड मोलर पनि भनिने बुद्धि ब‌ंगारा निकाल्ने बारे विज्ञहरुबीच बहस रहेछ। डेन्टल पाठ्यपुस्तकहरुमा केही असर पर्ने बुद्ध बंगारालाई निकाल्ने सुझाव दिइएको हुने रहेछ। देश अनुसार पनि दाँत निकाल्ने कि नकाल्ने भन्ने निर्णयमा असर पर्ने रहेछ। अमेरिका र बेलायतमा पनि फरक पर्ने रहेछ।

बेलायतको National Institute for Health and Clinical Excellence ले रोग नलागेको बुद्धि बंगारा निकाल्दा फाइदा हुने कुनै प्रमाण नरहेको भन्दै नउखेल्न सिफारिश गर्छ।

American Association of Oral and Maxillofacial Surgeons ले भने परिस्थिति हेरी वयस्क हुँदा निकाल्न कठिन हुने हुँदा कम उमेरमै दन्त चिकित्सकको सल्लाह अनुसार उखेल्ने सल्लाह दिन्छ।

पीडादायी इतिहास (प्रहरी धरहराबाट साभार)

एलिजाबेथ प्रथम इङ्गल्यान्डकी महारानी थिइन्‌। तिनी दाँतको दुखाइबाट बच्न सकिनन्‌। महारानीको कालो दाँत देखेका एक जना जर्मन पर्यटकले बताएअनुसार “गुलियो धेरै खाने भएकोले अंग्रेजहरूमा यस्तो हुनु सामान्य” थियो। डिसेम्बर १५७८ मा दाँतको दुखाइले महारानीलाई दिनरात सताउन थाल्यो। उनका डाक्टरहरूले उनलाई दुखेको दाँत उखेलेर फाल्न सल्लाह दिए तर उनले मानिनन्‌। दाँत उखेल्दा हुने पीडाको कारण उनी डराएकी हुनुपर्छ। दाँत उखेल्न महारानीलाई मनाउन लन्डनका विशप जोन आल्मरले महारानीकै अगाडि आफ्नो एउटा दाँत निकाल्न लगाए। सायद कुनै बिग्रेको दाँत निकाल्न लगाएको हुनुपर्छ। विचरा बूढा, बचेखुचेका दुई-चारवटा दाँतमा पनि एउटा त गइहाल्यो!

एलिजाबेथ प्रथमको समयदेखि लगभग एक शताब्दीपछि फ्रान्समा लुइस चौधौंले राज्य गरिरहेका थिए। दाँतको दुखाइले तिनलाई जिन्दगीभर कहिल्यै छोडेन। सन्‌ १६८५ मा तिनले माथिपट्टिको सबै दाँत उखेल्न लगाए। कसैकसैले दाबी गरेअनुसार दाँत दुखेकै सुरमा राजाले त्यस वर्ष उपासनाको स्वतन्त्रतासम्बन्धी निर्णयमा हस्ताक्षर गरेका थिए, जुन निर्णय वास्तवमा अत्यन्तै विनाशकारी थियो।

आधुनिक दन्तचिकित्साको जन्म
लुइस चौधौंको विलासी जीवनशैलीले पेरिसको समाजमा पारेको प्रभावले गर्दा नै दन्तचिकित्साको विकास सम्भव भयो। भाइ-भारदारबीच र समाजमा सफल हुन हेर्दामा पनि चिटिक्क देखिनुपर्थ्यो। चपाउनको लागि भन्दा पनि राम्रो देखिनको लागि नक्कली दाँतको माग बढ्न थाल्यो। यसले गर्दा धनीमानीहरूको लागि काम गर्ने डेन्टिस्टहरूको समूह बन्न थाल्यो। पेरिसका प्रमुख डेन्टिस्ट पायर फोसार थिए। तिनले फ्रान्सको सेनामा छँदा चिरफारसम्बन्धी काम सिकेका थिए। दाँत उखेल्ने काम केही सीप नभएका हजाम र नक्कली डाक्टरहरूको हातमा छोडेकोमा तिनले सर्जनहरूको आलोचना गरे। आफूलाई डेन्टल सर्जन भनेर चिनाउने पहिलो व्यक्ति पनि तिनी नै थिए।

आफूले जानेको सीप गूपचूपमै राख्ने प्रचलनलाई तोड्दै, सन्‌ १७२८ मा फोसारले एउटा किताब लेखे र आफूलाई थाह भए जति सबै प्रकिया सार्वजनिक गरे। त्यसैले तिनलाई “दन्तचिकित्साको पिता” भनिन्छ। आफ्ना बिरामीहरूलाई भुँइमा बस्न लगाउनुको सट्टा दाँतको उपचार गर्दा प्रयोग गरिने विशेष खालको कुर्सीमा बसाउने पहिलो व्यक्ति पनि तिनी नै थिए। तर फोसार दाँत उखेल्ने व्यक्ति मात्र थिएनन्‌, तिनले दाँत उखेल्ने पाँच प्रकारका साधनसमेत विकास गरे। तिनले डेन्टिस्टहरूले चलाउने ड्रिलको विकास गरे अनि दाँत भर्ने तरिका पनि तिनैले निकालेका थिए। तिनले दाँतको जरा (रूट क्यानल) भर्ने र जरामा नक्कली दाँत अड्काउने तरिका पनि थाह लगाए। तिनले हस्तिहाडबाट नक्कली दाँत बनाउँथे अनि माथिपट्टिको दाँतलाई ठीक ठाउँमा अड्याउन स्प्रिङ प्रयोग गर्थे। फोसारले दन्तचिकित्सालाई पेसाको रूपमा विकास गरे। तिनको ख्याति समुद्रपारि अमेरिकासम्म फैलियो।

अमेरिकाका प्रथम राष्ट्रपतिले भोगेको पीडा
लुइस चौधौंको समयदेखि एक शताब्दीपछि अमेरिकामा जर्ज वाशिङ्टनलाई पनि दाँतको दुखाइले सताएको थियो। तिनी २२ वर्षको भएदेखि हरेक वर्षजसो एउटा-एउटा दाँत उखेल्नुपरेको थियो। बेलाइती सेना विरुद्ध लडिरहेको कन्टिनेन्टल आर्मीको नेतृत्व गरिरहेका वाशिङ्टन कत्ति दयनीय अवस्थामा थिए होला, कल्पना गर्नुहोस् त! सन्‌ १७८९ मा अमेरिकाको प्रथम राष्ट्रपति बन्ने बेलासम्ममा त तिनी पूरै थोते भइसकेका थिए।

थोते भएको कारण कुरूप हुँदै गएको र नक्कली दाँत टम्म नमिलेकोले गर्दा वाशिङ्टनलाई मानसिक तनाव पनि थियो। नयाँ मुलुकको राष्ट्रपतिको रूपमा राम्रो छवि बनाउन संघर्षरत तिनी आफ्नो रूपरङबारे अत्यन्तै सजग थिए। त्यति बेला नक्कली दाँत बनाउँदा, दाँत बनाउने साँचो प्रयोग नगरी हस्तिहाडबाट सीधै बनाइन्थ्यो। त्यसैले ठीकसँग मिलाएर राख्न गाह्रो हुन्थ्यो। अंग्रेजहरू पनि वाशिङ्टनजस्तै अप्ठ्यारोमा परेका थिए। भनिन्छ, आफ्नो नक्कली दाँत देखिएला भनेर नै अंग्रेजहरू मुख खोलेर मजाले हाँस्न छोडेका हुन्‌।

वाशिङ्टनको नक्कली दाँत काठबाट बनेको थियो भन्ने कथा छ तर यो कुरा साँचो होइन जस्तो देखिन्छ। तिनीसित मान्छेको दाँत, हस्तिहाड र सीसाबाट बनेका नक्कली दाँतहरू थिए तर काठबाट बनेको चाहिं होइन। सम्भवतः राती-राती सुटुक्क गएर चिहान खन्नेहरूबाट तिनका डेन्टिस्टहरूले दाँत लिन्थे। व्यापारीहरू सेनाको पछि-पछि पनि लाग्थे अनि युद्धमा मरेका वा मर्नै आँटेका सिपाहीहरूको दाँत निकाल्थे। नक्कली दाँत राख्नु भनेको धनाढ्यहरूको विलासी जीवनमा पर्थ्यो। सन्‌ १८५० को दशकमा रबरलाई सल्फरसित पकाएर गन्धरहित बनाउने भल्कनाइजेसन प्रक्रियाको आविष्कार भएपछि नक्क्ली दाँत अड्याउन यही रबर प्रयोग गर्न थालियो। यसपछि मात्र नक्कली दाँत जनसाधारणको लागि सर्वसुलभ भयो। वाशिङ्टनका डेन्टिस्टहरूले दाँतको उपचारमा निकै दक्षता हासिल गरिसकेको भए तापनि दाँत दुख्नुको कारण तिनीहरूले राम्रोसित बुझिसकेका थिएनन्‌।

19 thoughts on “बुद्धि बंगारा नभाको मान्छेको बुद्धि हुन्छ कि हुँदैन?”

  1. prabhat says:
    February 1, 2014 at 3:51 am

    बुद्धीबंगारा दात को बारेमा, शिक्षात्मक लेख राम्रो लाग्यो, येस्तै मेरो एक साथी दन्त चिकित्सक कहाँ जाँदा, चिकित्सक को सल्लाह थियो दिनदिनै डेन्टल-फ़्लश (दात सफ़गर्ने धागो) ले दाँतको कुना हरुमा सफा गर्ने गर्ने सल्लाह दियो, साथीलाई अल्छि लागेछ क्यारे सोधिहालेछ- सबै दात सफा गर्नु पर्छ कि, कुनै मात्र सफ़गरेपुग्छ ?, डाक्टरले पनि तुरुन्त जवाफ दि हालेछ- होइन होइन सबै दात सफा गर्नु पर्दैन, खाली त्यो दात हरुमात्र सफ़ागर्नु, जुन दात आफुलाई पछिसम्म बचाउनु मनछ. साथि त पक्क परेछ !

    Reply
  2. Jeevan Thapa says:
    January 31, 2014 at 6:39 pm

    आफ्नो त २८ ओटाछन् खै तै पनि आफुलाई बुद्दिमानी भए जस्तै लाग्छ हाहा हाहा

    Reply
  3. Hari Prasad Lamichhane-Saudi says:
    January 31, 2014 at 1:05 pm

    डाक्टर ले दिएको सुझाव नि अन्तिम र बेस्ट हो भन्न पनि मिलेन किन भने माथि कै उदाहरणमा ब्रिटिशको एउटा मत छ अमेरिकनको एउटा मत छ , र कुरा ब्रिटिशको ठिक हो कि जस्तो लाग्यो |

    अहिले नेपालमा जुन सुकै अस्पतालमा गर्भवती आइमाई सुत्केरी हुन जान्छे सब लाइ छोप्दै अप्रेशन गर्दै गर्छन , प्रकृतिले शिशु जन्मिने प्रक्रिया बनाएको छ जो पेट चिरेर हैन , त्यसैले डाक्टरले भने , गरे भन्दैमा सबै कुरा ठिक हैन कि ?

    केहि न भएको बुद्धि बंगारा निकाले नि फरक पर्दैन भनेर निकाल्नु त मुर्खता लाग्यो है मलाई |

    Reply
  4. Subhash Neupane says:
    January 31, 2014 at 12:12 pm

    म नियमित तीन चोटी दाँत माझ्छु ! बिहान उठ्ने बितिकै, बिहान भात खाएर र राति भात खाए पछि ! येसरी धेरै दाँत माझ्दा दाँत लाम्चो हुने, गिजाले छोड्ने हुन्छ कि हुँदैन ? कसैलाई थाहा होला ?

    Reply
  5. Sabin says:
    January 31, 2014 at 7:56 am

    दाँत नियमित सफा गरौं, रोग लाग्ने संभावना यसै कम हुन्छ।
    खैर एउटा जोक याद आयो।
    किराले दाँत खाएर बिगारि दीएको तर उखेल्न डराउने एकजाना डेन्टिस्टलाई देखाउुन गएछन्। डरछेरुवाले यो पटकपनि उखाल्न मानेनन्। डेन्टिस्टले बिस्कुट्को पाकेट दिएर “ल यो एकबिहानै चियासंग एक महिना सम्म खानु” भनेछन् । एक महिना बित्यो तर बिसेक भएन। डेन्टिस्टले भोलिपल्ट आँफैं संग बसेर चिया पिउन भने। त्यसै गरियो। तर चिया मात्र पुन लगाइयो। दुई तीन घुट्को मात्र पिएको थियो, दाँतका किरा बाहिर आएर सोधे, “आज बिस्कुट छैन?”

    Reply
  6. Asharam says:
    January 31, 2014 at 6:01 am

    अचुत जी, दांत खाने कीरा हेर्न शक्तिशाली माइक्र्स्कोप चाहिञ्छ | आँखाले देख्न सम्भव नहोला | २ – १० माइक्रोमिटर लामो हुन्छ | हेर्नुस : http://microbewiki.kenyon.edu/index.php/Lactobacillus_acidophilus

    Reply
  7. Sandesh says:
    January 31, 2014 at 3:19 am

    देन्टिस्टकोमा एक पटक गयो भने सधै आउने बनाउचन भन्ने चलन छ, हाम्रा यहाँ त! हजुरबाका दात ८८ पुग्दा पनि ठिकै थिए, अहिले ८ नपुग्दै देन्तिसकोमा जानु पर्ने, हैन कस्तो जमाना हो यो?

    Reply
  8. Asharam says:
    January 31, 2014 at 1:52 am

    बुद्दि बंगारा पुरै उम्रन पांच देखि आठ वर्ष लाग्दछ | तेसैले धेरै समयसम्म आंसिक रूपमा मात्र गिजले ढाकेको अवस्थामा रहने र मुखको धेरै पछाडी हुनाले पनि ब्रशले राम्रो संग सफा गर्न नमिल्ने हुनाले अधिकांस मानिसको बुद्दि बंगारा मा किरा लाग्ने हुन्छ | मेरो हकमा त हामि सानो हुँदा हाम्रो परिवार मा बिहान मात्र दांत ब्रुश गर्ने चलन थियो, त्यसकारणले पनि मेरो बुद्धि बंगारा अलि सानै उमेरमा दुख्न सुरु गर्यो | अहिले चार वटै वुद्धि बंगारा हटाई सकेको छु र दैनिक सुत्नुअघि र बिहान पनि ब्रुश गर्छु र अरु सबै दांतहरु स्वस्थ छन् |

    Reply
  9. prakash_Edm_Canada says:
    January 31, 2014 at 12:41 am

    Work well done. Good research and very informative and useful for dental care.

    Reply
  10. Mk says:
    January 30, 2014 at 10:33 pm

    प्रतेक दाँतमा एकुनटा लछन हुन्छ भन्छन नि त्/ ३२ सै लछन ले युक्त हुन् त् दाँत निकाल्न भएन , नि , कसो ?

    Reply
  11. Sisir, USA says:
    January 30, 2014 at 8:01 pm

    तेरो चार ओटै बुद्धि बंगारा उखेल्नु पर्छ भन्दै छ मेरो डाक्टर । दुखाइ, किरा केहि छैन । उसले दिएको कारण के भने मेरो नियमित दन्त सफाई गर्न गारो भो रे । उसका हतियार हरु मेरा च्यापु को पुछार सम्म पुग्दैनन रे ।
    खै क्यार्ने हो सोचमग्न छु ।
    उसको सजिलो को लागि दात उखेल भने जस्तो पनि लाग्छ ।उखेल्न त उखेलौला तर पछि अर्को दात सफा गर्न गारो भयो अब तेरो जिब्रै फाल भन्न थाल्यो भने पो बिताउने भो ।

    Reply
  12. raj says:
    January 30, 2014 at 7:10 pm

    मैले सुनेको दाँत धेरै पटक डेन्टिसकोमा गएर दाँत सफा गर्दा दाँतको पोलीस जाने अनि दाँत पहेलो हुने हुन्छ भन्छन् लौन मित्रहरु यसको बारेमा पनि जानकारी पाऊ

    Reply
    1. CP says:
      January 30, 2014 at 10:13 pm

      त्यस्तो बिल्कुल हैन, अमिलोले हो र सफा गर्ने ? दाँत कम्तिमा वर्षको एक पटक सफा गराउनु पर्छ |

      एकदम ध्यान दिनु पर्ने कुरा के हो भने dentist चाही पढेकै dentist कहाँ जानु पर्छ | साना बजार देखि ठुलै शहरहरु जता ततै “दात बनाउने ठाउ” भनेर लेखेका ठाउमा पनि सामान्य तालिम लिएकाले उपचार गरिरहेका हुन्छन | उनीहरुमा infection लगायातका कुरामा ग्यान कम हुन्छ | सफा ठाउ परेन, सिरिन्जहरु पुन: प्रायोग गरिएको छ भने एड्स लगायतका रोग लाग्न सक्छ, त्यसैले अलि राम्रो ठाउ खोजेर जानु होला |

      Reply
  13. मन says:
    January 30, 2014 at 5:47 pm

    भेसासिङ्गमा किला ठोक्ने प्रचलन थियो; दांत दुखेको निको हुन्छ रे|
    आफुलाई थाहा भएको कुरा पनि यँहा बाढ्म है| आफु दन्त चिकित्सक होइन, ब्य्व्व्हार र अनुभवको आधारमा लेखको हुँ, यसैले बुझेर मात्र व्यवहारमा ल्याउनु होला|
    १. बिशेष गुलियो वा चिनी जन्य प्रदार्थ खाने र दाँतमा लाग्ने हुनाले कम गर्न पर्छ|
    २. दाँतमा अड्किने गराउन हुँदैन| सफा कोट्याउने सिक्नोले कोट्याएर वा सके डेन्टल फ़्लश गरेर दांत सफा राख्न पर्छ|
    ३. खाने कुरा खाई सकेपछि सके सम्म अरुलाई नबिझाउने तरिकाले पानीले कुल्ला गर्नपर्छ| (भन्नको तात्पर्य खाएको भाँडामै वा भान्सामा खाक खाक थुक गरेर कुल्ला गर्नु असभ्यपन हो, चर्पी वा वाथरुममा वा अरुदेखि टाडा गएर अरुले नसुन्ने ठाउँमा गएर जथाभावी नथुकी जन स्वास्थ्यको ख्याल गरेर गर्नपर्छ)
    ४. कम से कम बिहान उठेपछि र बेलुकी सुत्न अघि ब्रश गर्नपर्छ| टूथ पेस्ट हुनै पर्छ भन्ने छैन| हिज आजका टूथ पेस्ट धेरै जसो झुर छन्| नचाईने केमिकल मुखमा हाल्न भन्दा बरु टूथ पेस्ट का सट्टामा पानी वा मन तातो पानीले ब्रश गरे झन बेस| उत्तिकै लाभ पाईन्छ| नीम भए अझ राम्रो|
    ५. बच्चाहरुलाई सानै देखि ब्रश गराउने बानी पार्न पर्छ| चकलेट र मिठाई र गम आदि कम गरेकै राम्रो हो| स्कुलमा यस्ता शिक्षा अनिवार्य रुपमा दिईन पर्छ|
    ६. सके सम्म दांत खोल्न Dentist कँहा गए राम्रो|
    ७. दांतमा अल्झिएका खाने कुराले दाँते गुहु बनाउँछ र स्वास गन्हाउने एउटा मूल कारण त्यो पनि हो| दिनभरी बबल गम चपाएर स्वास गन्हाउने रोक्नु भन्दा खाना खाई सकेपछि दांत राम्ररी कुना काप्चा र जिब्रो ब्रश वा मुख कुल्ला गर्नु ठिक हो, यसले दुर्गन्ध घटाउन कम गर्छ|
    ह्याप्पी मुस्कान!

    Reply
  14. siva says:
    January 30, 2014 at 5:21 pm

    वोहो यहिँ समय मा यस्तो लेख!! म तिन दिन देखि बुद्धि बंगारा उम्रेको पीडाले बिरामी छु! यस्तो पिडा हजुर बा को बेहे नै देखे! सहनै नसक्ने कुन मा उम्रेको पुरै १ पट्टि को गाला सुन्ने को छ अझै कति दिन पिडा दिने हो! खान निल्न सक्दिन जाउला अली अलि खादै छु राति झनै दुख्ने! डाक्टर लाइ समय मागे अब आउने सोमबार मात्र समय पाए! दबाइ नेपाल मा जस्तो जहाँ पायो तेही किन्न नपाउने! एस्तो पिडा को बुद्धि बंगारा के बुद्धि मिल्ला! पीडाले रुनु कि हास्नु भाको छु!

    Reply
  15. achut says:
    January 30, 2014 at 3:13 pm

    दात ‘किरा’ ले नै खाने हो कि के हो ?भक्तपुर तिर त किरा नै झर्दिञ्छ रे! के आखा ले मजाले देख्ने किरा ले नै कुरुकुरु दात खाई दिने हो?कोहि बिज्ञ ले बताई दिए आभारी हुने थिए.

    Reply
  16. Alikhit says:
    January 30, 2014 at 2:54 pm

    यसलाई अंग्रेजीमा उल्था गरेर विकिपीडियामा हाल्न पाए संसारले दाँतको बारेमा नया कुरा थाहा पाउथे |

    Reply
  17. Shankar says:
    January 30, 2014 at 2:34 pm

    डाक्टर ले धेरत तातो न खाने,धेरै चिसो न खाने , डायबिटिज बाट बच्ने , गुलियो न खाने( माने दात मा न पार्ने ) ,राम्ररि ब्रस गर्ने (खाना खाएपछि ) गरेमा दात दिर्घ काल रहन्छ भन्दा रहेछन |
    आफुले त् बुद्दि बंगारा फालियो | मानिस को छोटो जिन्दगि , हेरेर भन्दा छेरेर मोर्ने नीति लिएकोले जे पनि खाइन्छ डाक्टर साचो बोल्दो रहेछ भन्ने प्रमाणित हुदैछ म मा |

    Reply
  18. sujan joshi says:
    January 30, 2014 at 2:33 pm

    दातको रोगी धेरै भएको र प्राय प्रत्येक पाइला जस्तोमा दातको क्लिनीक देखिने जापानमा पनि केहि नभएको दात (बुध्दी बंगारा) निकाल्ने सल्लाह धेरै जस्तो डाक्तर दिन्छन् ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme