Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अब खाता बन्द गर्दा बैंकले शुल्क लिन नपाउने

Posted on January 16, 2014 by Salokya

धेरै भएको छैन, केही अघि मात्रै सामाजिक सञ्जालमा एउटा खबर निकै चर्चामा थियो। एक ग्राहकले मेगा बैँकले आफ्नो खाता बन्द गर्दा ५ हजार रुपियाँ लिएको प्रमाणसहित फोटो फेसबुकमा पोस्ट गरे। खाता खोल्दा सून्य पैसामा खोल्ने अनि बन्द गर्दा ५ हजार रुपियाँ लिने भन्दै व्यापक आलोचना भयो। मेगा बैँक आफैले प्रष्टिकरण दिन बाध्य भयो। खाता बन्द गर्दा अरु बैँकले पनि रकम लिँदै आएका थिए। सबै बैंकलाई जोडेर आलोचना बढ्न थाल्यो।

अब भने बैँकहरुले त्यसो गर्न पाउने छैनन्। नेपाल राष्ट्र बैँकले वित्तीय ग्राहक संरक्षण तथा वित्तीय साक्षरतासम्बन्धी व्यवस्थाबारे निर्देशन जारी गरेपछि खाता बन्द गर्दा शुल्क लिन नपाउने भएको हो।

बैँकले अरु पनि राम्रा निर्देशन दिएका छन्।

बैँक खाता खोल्दा पनि शुल्क लिन पाइने छैन। त्यसैगरी एउटा शाखाबाट अर्को शाखामा रकम पठाउँदा अर्थात् एबीबीएस सेवा दिँदा पनि शुल्क लिन पाइँदैन। आजभोलि बैँकहरुले उदाहरणका लागि एउटै बैँकको धरान शाखाबाट काठमाडौँ शाखामा रकम पठाउँदासमेत शुल्क रेट्ने गर्छन्।

त्यसैगरी बैंक स्टेटमेन्ट लिँदा समेत शुल्क असुल्नेहरुलाई अब त्यसो गर्न दिइने छैन।

अनि सुरुमा निशुल्क सेवा जोडेर यो मितिदेखि पैसा असुल्छौँ त्यो सेवा नचाहिने भए बन्द गर्न अफिसमा सूचना दिन आऊ भनेर एसएमएसबाट निर्देशन दिने बैँकहरुलाई खुच्चिङ भएको छ।

एटिएम कार्डको पनि अवधि नसकिएसम्म नवीकरण शुल्क लिन पाइने छैन।

निर्देशनले आफना ग्राहकसँगको कारोवारमा प्रयोग हुने कागजातहरु नेपाली भाषा सरल रुपमा बुझिने गरी उपलव्ध हुनु पर्ने भनेको छ।

नेपाल राष्ट्र बैंक
केन्द्रीय कार्यालय
बैंक तथा वित्तीय संस्था नियमन विभाग

विषय : वित्तीय ग्राहक संरक्षण तथा वित्तीय साक्षरता सम्बन्धी व्यवस्था।

यस बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्थाहरुले वित्तीय ग्राहक सुरक्षा तथा वित्तीय
साक्षरता बारे अवलम्बन गर्नुपर्ने व्यवस्थाका सम्बन्धमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले
दिएको अधिकार प्रयोग गरी देहायको निर्देशन जारी गरिएको छ : –

१. पारदर्शिता सम्बन्धी व्यवस्था
इजाजतपत्र प्राप्त संस्थाहरुले आफ्ना ग्राहकलाई प्रदान गर्ने सेवा शर्तसंग सम्बन्धित सबै प्रकारका
विवरण सार्वजनिक रुपमा जानकारी गराउनुपर्नेछ। यस्ता विवरणमा वित्तीय सेवा तथा
उपकरणहरुका अतिरिक्त सोसँग सम्बन्धित शुल्क, कमिशन, व्याजदर, जरिवाना, हर्जाना लगायतका
सम्बन्धमा अपनाउनु पर्ने प्रक्रिया एवं शर्तहरु समावेश गरेको हुनु पर्नेछ। यस सम्बन्धमा देहाय
बमोजिमको व्यवस्था गरिएको छ :

(क) इजाजतपत्र प्राप्त संस्थाले आफुले प्रदान गर्ने वित्तीय सेवा, सबै प्रकारका खाता एवं कर्जा र
वित्तीय उपकरण सम्बन्धी जानकारीको संक्षिप्त विवरण/पुस्तिका तयार गरी ग्राहक एवं
सर्वसाधारणलाई उपलब्ध हुने व्यवस्था मिलाउनु पर्नेछ।

(ख) इजाजतपत्र प्राप्त संस्थाहरुले देहाय बमोजिमको विवरणहरु खुल्ने गरी सरल एवं स्पष्ट भाषामा
लिखित रुपमा सर्वसाधारणलाई जानकारी गराउनु पर्नेछ :
• विभिन्न प्रकारका खाता र सो सम्बन्धी विवरण,
• ग्राहकलाई प्रदान गरिने वित्तीय सेवामा लाग्ने शुल्क सम्बन्धी विवरण,
• बैंकिग कारोवारका लागि निर्धारित प्रक्रिया एवं कार्यविधी,
• खाता बन्द गर्दा अवलम्बन गरिने प्रक्रिया,
• व्याजदर गणना गर्ने विधि,
• अग्रीम भुक्तानी शुल्क,
• ऋणीले समयमा कर्जा भुक्तानी नगरेमा बैंकले गर्ने कारवाही,
• विलम्ब शुल्क, जरिवाना तथा हर्जाना,
• विभीन्न प्रकारका विद्युतीय कार्ड सञ्चालन सम्बन्धी कार्यविधी,
• बैंकिंग कारोवारमा हुन सक्ने सजाय तथा जरिवाना र ग्राहकले अवलम्बन गर्नुपर्ने सतर्कता
सम्बन्धी व्यवस्था।

(ग) आफनो कारोवार सम्बन्धी जानकारी ग्राहकले निःशुल्क रुपमा लिन सक्ने व्यवस्था सम्बन्धित
इजाजतपत्र प्राप्त संस्थाले मिलाउनु पर्नेछ।

(घ) इजाजतपत्र प्राप्त संस्थाले ग्राहकहरुसँग लिने विभिन्न शुल्क तथा व्याजदर सम्बन्धी विवरण
इ.प्रा. निर्देशन १५ बमोजिम यस बैंकमा पठाउनुका साथै सर्वसाधारणको जानकारीका लागि आफ्नो
वेबसाइटमा समेत प्रकाशित गर्नुपर्ने छ।

२. सरल भाषाको प्रयोग सम्बन्धी व्यवस्था
(क) इजाजतपत्र प्राप्त संस्थाले आफना ग्राहकहरुलाई उपलब्ध गराउने सेवा सम्बन्धी जानकारी वा
सुचनामा प्रयोग गर्ने भाषा सरल र स्पष्ट हुनु पर्नेछ।
(ख) इजाजतपत्र प्राप्त संस्थाले आफना ग्राहकसँगको कारोवारमा प्रयोग हुने कागजातहरु नेपाली
भाषामा उपलव्ध हुने व्यवस्था गर्नुपर्नेछ। आन्तरिक तथा अन्तर्राष्ट्रिय कारोवारमा प्रयोग हुने
कागजातहरु अँग्रजी भाषामा समेत तयार गर्न सकिनेछ।

३. सूचना सम्बन्धी व्यवस्था
(क) इजाजतपत्र प्राप्त संस्थाले प्रवाह गर्ने सुचना वा जानकारीसर्वसाधारण ग्राहकहरुले सजिलै
बुझ्ने र पढ्न सक्ने हुनुपर्नेछ।
(ख) सर्वसाधारणमा भ्रम सिर्जना हुन सक्ने कुनै पनि प्रकारको विज्ञापन गर्न गराउन पाइने छैन।

४. सरल बैकिंग सम्बन्धी व्यवस्था
जेष्ठ नागरिक तथा अपांग एवं फरक किसिमले सक्षम नागरिकलाई सरल तरिकाबाट वित्तीय सेवा
उपलब्ध गराउन प्राथमिकता दिनुपर्ने छ। ईजाजतपत्र प्राप्त संस्थाले वित्तीय साक्षरता कम भएका
ग्राहकहरुलाई समेत बैंकिग कारोवारमा सहयोग गर्ने व्यवस्था गर्नुपर्नेछ।

५. वित्तीय सेवाको शुल्क लगायत शर्त परिवर्तन सम्बन्धी व्यवस्था
(क) इजाजतपत्र प्राप्त संस्थाले ग्राहकसँग वित्तीय सेवाका लागि सम्झौता पत्रमा हस्ताक्षर गरी सेवा
प्रदान गर्नेक्रममा त्यस्तो सम्झौतामा उल्लिखित शुल्क, ब्याजदर र शर्तहरुमा परिवर्तन हुँदा
इजाजतपत्र प्राप्त संस्थाले सम्बन्धित ग्राहकलाई जानकारी गराउनु पर्नेछ।
यस व्यवस्था अनुसार सार्वजनिक रुपमा जानकारी गराउनु पर्ने अवस्थामा राष्ट्रिय स्तरका संस्थाले
राष्ट्रिय दैनिक पत्रिका मार्फत् र क्षेत्रीय स्तरका संस्थाले क्षेत्रीय/जिल्ला स्तरका पत्रिका मार्फत
सार्वजनिक गर्नु पर्नेछ।

६. . खाता सञ्चालन तथा बन्द गर्दा लाग्ने शुल्क सम्बन्धी व्यवस्था
(क) इजाजतपत्रप्राप्त संस्थाले निक्षेप खाता संचालन गर्दा, खाता बन्द गर्दा, एबीबीएस सेवा प्रदान
गर्दा, खातामा रहेको मौज्दात रकम प्रमाणित गर्दा वा स्टेटमेन्ट दिंदा ग्राहकबाट कुनै किसिमको सेवा
शुल्क लिन पाइने छैन।
(ख) खण्ड (क) बाहेकका अवस्थामा ग्राहकसँग लिनुपर्ने शुल्क सम्बन्धमा ग्राहकलाई पूर्वजानकारी
गराएको हुनुपर्नेछ।
(ग) नेपाली मुद्रामा विद्युतीय कार्डहरु जारी गर्दा शुरुमा लिइने शुल्क बाहेक त्यस्तो कार्डको अवधि
समाप्त नहुञ्जेलसम्म नवीकरण शुल्क लिन पाईने छैन।

७. चेक भुक्तानी सम्बन्धी व्यवस्था
(क) चेक, बिल, पेअर्डर लगायत कुनैपनि वित्तीय उपकरणका माध्यमले आफनो खातामा रकम
जम्मा गर्दा त्यस्तो उपकरणमा उल्लिखित सम्पूर्ण रकम नै सम्बन्धित ग्राहकको खातामा जम्मा
गर्नुपर्नेछ। त्यस्तो वित्तीय उपकरणहरुको कारोवारमा लाग्ने कुनै शुल्क भएमा सो सम्बन्धी जानकारी
ग्राहकलाई अग्रीम रुपमा गराउनुपर्नेछ।
(ख) कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले आफनो कारोवारको क्रममा प्राप्त चेकहरु आफनो
खातामा जम्मा गर्दा त्यस्तो चेक खिच्ने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको खातामा मौज्दात अपर्याप्त
भई रकम जम्मा हुन नसकेको अवस्थामा चेक प्रस्तुत गर्ने ग्राहकको खाताबाट कुनै पनि शुल्क वा
रकम लिन पाईने छैन।
(ग) खातामा मौज्दात अपर्याप्त भई भुक्तानी नहुने चेक पटक पटक प्रस्तुत भएको अवस्थामा यस
बैंकको ई.प्रा. निर्देशन नं.१२/०७० को बुंदा नं. १०.२ को उपबुंदा (द्भ) बमोजिम सम्बन्धित संस्थाले
कालोसुचीमा समावेश गर्नुपर्नेछ।

८. निक्षेपमा व्याजदर निर्धारण गर्ने सम्बन्धमा
विभिन्न प्रकारका बचत खाताहरुमा दिइने व्याजदरको अन्तर २ प्रतिशत विन्दु भन्दा बढीले फरक
पार्न पाईने छैन। बचत खाताको ब्याजदर परिवर्तन गर्दा सबै प्रकृतिको बचत खातालाई समान
रुपमा लागू हुने गरी ब्याजदर समायोजन गर्नु पर्नेछ। एकै प्रकृतिको वचत खातामा जम्मा गरिएको
रकम, वचतकर्ताको प्रकृति लगायतका आधार तय गरी ब्याजदर फरक गर्न पाइने छैन।

९. सेवा शुल्क सम्बन्धी अन्य व्यवस्था
(क) इजाजतपत्र प्राप्त संस्थाले आफ्ना ग्राहकहरुलाई अन्य संस्था/निकाय मार्फत सेवा लिने
सन्दर्भमा सो सेवा वापत त्यस्ता संस्था/निकायहरुलाई भुक्तानी गर्नुपर्ने लागत भन्दा वढी हुने गरी
सेवा शुल्क असुल गर्न पाइने छैन। उदाहरणको लागि ग्राहकको सम्बन्धमा कर्जा सूचना प्राप्त गर्दा
वा कालोसूचीमा सूचीकृत गर्दा वा सो सूचीबाट हटाउँदा लिइने शुल्क, विभिन्न कार्डहरुमा लिइने
शुल्क, धितो मूल्यांकन वापत लिइने शुल्क, वीमा शुल्क आदि।
(ख) निष्त्रि्कय खाता सक्रिय गराउँदा कुनै शुल्क लिन पाइने छैन। ग्राहकको ब्याज प्रदान गर्ने खाता
कुनै पनि कारणले निष्त्रि्कय भएमा पनि निक्षेपकर्ताले पाउनुपर्ने ब्याज रोक्न हुने छैन। साथै, कुनै
पनि अवस्थामा रहेको खाताको रकम न्यूनतम मौज्दात भन्दा कम भएका कारणले रकम कट्टा गरी
मौज्दात घटाउन पाइने छैन।
(ग) व्याजदर प्रकाशित गर्दा वार्षिक प्रतिशत दर उल्लेख गर्नुपर्नेछ।

१०. अग्रीम भुक्तानी शुल्क सम्बन्धमा
(क) इजाजतपत्र प्राप्त संस्थाले कर्जा कारोवारमा लिने अग्रीम भुक्तानी शुल्क सम्बन्धी स्पष्ट नीतिगत
व्यवस्था गरी त्यस्तो जानकारी ग्राहकलाई अग्रीम रुपमा गराउनु पर्दछ।

(ख) ऋणीले आफ्नो आम्दानीबाट कर्जा अग्रीम रुपमा भुक्तानी गर्न चाहेमा त्यस्तो अग्रिम भुक्तानी
गरे वापत कुनै किसिमको अग्रीम भुक्तानी शुल्क लिन पाइने छैन।

११. गुनासो सुनवाई सम्बन्धी व्यवस्था
(क) सेवाग्राहीलाई पर्ने असुविधा तथा सर्वसाधारणको गुनासो सुनुवाई गर्न इजाजतपत्र प्राप्त संस्थाले
“सूचना तथा गुनासो सुनुवाई डेस्क” स्थापना गरी सो को सार्वजनिक जानकारी दिनुपर्नेछ।
(ख) इजाजतपत्र प्राप्त संस्थाले उपभोक्ताको गुनासो सुनवाईका लागि हटलाइन समेतको व्यवस्था
गरी गुनासो सुन्ने अधिकारी तोक्नु पर्नेछ।
(ग) इजाजतपत्र प्राप्त संस्थाले ग्राहकहरुको गुनासो सुनुवाईका लागि आफ्नो वेबसाइटमा अनलाइन
पोर्टलको समेत व्यवस्था गर्न सक्नेछन्।

१२. वित्तीय साक्षरता सम्बन्धमा
(क) इजाजतपत्र प्राप्त संस्थाले बैंकिग सेवा प्रदान गर्दा सो सम्बन्धी सम्पूर्ण जानकारी सम्बन्धित
पक्षलाई स्पष्ट र सरल भाषामा बुझ्ने गरी पारदर्शी ढंगले प्रस्तुत गर्नु पर्नेछ।
(ख) बैंकिंग प्रणालीलाई स्वस्थ रुपमा विकास गर्न सर्वसाधारणलाई वित्तीय जानकारी उपलब्ध गराई
वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यलाई प्रोत्साहन गर्नु पर्नेछ।
(ग) वित्तीय साक्षरता अभिवृद्धि गरी वित्तीय प्रणालीलाई सघाउ पुरयाउने खालका विज्ञापन तथा
सूचनाहरुलाई प्रोत्साहित गर्नु पर्नेछ।

१३. गोपनियता एवं तथ्याङ्क संरक्षण सम्बन्धी व्यवस्था
(क) इजाजतपत्र प्राप्त संस्थाले ग्राहकसँग वित्तीय कारोवार गर्ने क्रममा ग्राहकको व्यावसायिक
सूचनाहरुको गोपनियता सम्बन्धी पर्याप्त व्यवस्था गरेको हुनु पर्नेछ। ग्राहकको गोपनियता कायम
गर्नुपर्ने सुचना तथा विवरणहरु लगायत हिसाब किताब, खाता बही, श्रेस्ता र लेखाको विवरण अन्य
असम्बन्धित एवं अनधिकृत व्यक्तिलाई दिनु हुँदैन।
(ख) प्रचलित कानुन बमोजिम अख्तियारप्राप्त निकाय वा संस्थालाई त्यस्तो विवरण दिन भने यस
व्यवस्थाले वाधा पुगेको मानिने छैन।

१४. निर्देशन पालना नगरेमा हुने कारवाही
इजाजतपत्रप्राप्त संस्थाले यो निर्देशन पालना नगरेमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००
वमोजिम कारवाही हुनेछ।

29 thoughts on “अब खाता बन्द गर्दा बैंकले शुल्क लिन नपाउने”

  1. बाबु राम लामिछाने says:
    March 6, 2014 at 2:47 pm

    यो लेख पढेर अब ABBS मा पैसा लिँदैन होला भनेर काठमाण्डौको खातामा चितवनबाट पैसा हाल्कोन गा’को त कहाँ हुनु नि! आज कुमारी बैंकले ठगिहाल्यो नि, ५० रुपैया! खै यिनीहरुले त राष्ट्र बैंकलाई नटेरे जस्तो लाग्यो है मलाई त!

    Reply
  2. सुशिल says:
    January 28, 2014 at 2:42 pm

    उमेश जी हिंजो जनवरी २७ मा पुल्चोकको नेपाल इन्भेस्टमेन्ट बैंकमा पुगेर सोध्दा अहिले पनि बैंक हरुले खाता बन्द गर्न पुरानै बमोजिमको शुल्क लिंदा रहेछन र मैले यहिँ समाचारको सहारा लिएर सोध्दा उनीहरुले राष्ट बैंक बाट कुनै परिपत्र वा आधिकारिक जानकारी न आएकोले यो प्रकिर्या यथावत रहेको जानकारी गराए ! के यस्तो निर्णय सार्वजनिक गरि मिडियामा पनि आधिकारिक रुपमा आइसकेपछि पनि कहिले सम्म जनता ठगिनु पर्ने होला १ पटक बोल्ने तर गरि देखाउन नसक्ने राष्ट्र बैंकका आधिकारिक ब्यतिलाइ सोध्ने हो कि ?

    Reply
  3. shyam rr says:
    January 27, 2014 at 3:49 pm

    बास्तबमा हामीहरु सच्है पिडित छौ येदि यो कुरा हरुमा नेपाल राष्ट्र बैंक ले हामी जस्ता निमुखा जनता हरु को लागि पहल गर्ने पर्छ/किन भने नेपाल का बैंक हरुको नियमन गर्ने त उ नै हो अनि के हामीलाई एस्ता बैंक ले ठगि रहेको टुलु टुलु हेरी बस्न मिल्छ लौ भन्नुहोस पिडित साथीहरु /कति के के मा एस्ता चार्ज हरु तिरी रहने /

    Reply
  4. suraz says:
    January 21, 2014 at 5:38 pm

    यो नियम कहिले देखि लागु हुन्छ? आज (NCC) बैंकको (BAGHBAZAR BRANCH) मा (STATEMENT) मागेको त १०० रुपैया लाग्छ रे! अनि नेपाल राष्ट्र बैंक ले सूचना प्रकाशन बारे अवगत गराउदा त उल्टै (TRANSACTION) मा मात्र फी लाग्दैन भन्यो मलाई स्ततेमेन्त दिने आइमाइले. मा खाली हात फर्किए!

    Reply
  5. Ramesh Lama says:
    January 19, 2014 at 11:06 pm

    आज पानि पोखरीमा रहेको ग्लोबल IME बैंकमा मेरो भाको खाता बाट सम्पूर्ण ब्यालेन्स झिकेर खाता बन्द गरम भनेको खाता बन्द गर्न ५०० लाग्छ रे। राष्ट्र बैंकले त पैसा कत्दैन भनेको थियो त भनेको त ओरिपरिको स्तफ़्फ़ सबैजनाले त्यो राष्ट्र बैंकले मात्र भनेको कार्य हुन समय लाग्छ भनेर भन्यो। मैले नचाहिदो कुरा गरेको जस्तोपो लाग्यो तिनीहरुलाई पितौला जसरि जन्गेर पो बोल्दो रैक्ष। के भन्ने बैंक संग discuss गरेर नसकिने रैक्ष भनेर मिनीमम ब्यालेन्स राखेर निक्लिए।

    Reply
  6. deen shrestha says:
    January 18, 2014 at 8:48 am

    धेरै टाढा को कुरा के गरौं काठमाडौं को येउटै बैंकको खातामा बनेपाबाट जम्मा गर्दा पनि कामिसन तिर्नु परेको थियो |

    Reply
  7. Rahul says:
    January 17, 2014 at 3:14 pm

    यो त सार्है रमाइलो कुरा भो | मनपरी गर्ने बैंकलाई बल्ल ठिक्क पर्यो |

    Reply
  8. Sisir says:
    January 17, 2014 at 1:30 pm

    हरेक कुरामा पैसा लिने नबिल बैंकलाई नराम्रो झटारो लाग्ने भो ..

    Reply
  9. Gopal Baral says:
    January 17, 2014 at 12:50 pm

    मेरो kathmandu मा खोलेको खाता छ, म धरानमा पैसा निकाल्छु सधै सर्विस चार्ज लिञ्छ. तर उसको policy छ कि कुनै पनि बैंक शाखाबाट कारोबार गर्न सकिञ्छ रे. अब केहि बोल्न सकिने भो.

    Reply
  10. Jeevan Thapa says:
    January 17, 2014 at 10:59 am

    मेरो नि नेपाल को कुनै एउटा क बर्गको बैंकमा खाता छ अनि अलिकति पैसा पनि छ .. अब आफु बिदेशमा बसिन्छ सधै त्यो खाता युज गर्ने कुरा भएन तर जहिले नेपाल जाँदा नि खाता बन्द भाको हुन्छ अनि फेरी के के फारमहरू भरेर पेश गरे पछि Re -Activate गरिदिन्छन ..अब यो बन्द भाको बेलाको ब्याज आउँछ आउन्दैन त्यो त बैंकर हरुनै जानुन.. किन सधै बन्द हुन्छ भनि सोधेको ६ महिना सम्म कुनै कारोबार नगरेको भेटिए बन्द हुन्छ यो नेपालमा भएका सबै बैंक हरुको नियम हो भन्ने बुझ्न पाहियो… यसको अर्थ के बिदेशमा बस्ने नेपालीहरुले नेपालको बैंकमा खाता नै नखोल्नु या खाता खोलिहाले पनि ६/६ महिनामा नेपाल जानु या आफ्नो खाता परिबारका अन्य सदस्यलाई चलाउन दिनु? माइसंसार का कोहि पाठकलाई यो कुरा थाहा छ भने यही कमेन्ट दिनु होला …

    Reply
    1. सरोज says:
      January 17, 2014 at 3:58 pm

      तपाइको खाता नेपाल इन्वेस्मेन्त बैंक मा रहेछ क्यार ! मेरो नि हालत तेस्तैहो

      Reply
      1. Jeevan Thapa says:
        January 18, 2014 at 7:39 am

        सरोज जी हो त्यहिँ बैंकमा छ …

        Reply
        1. rubi says:
          January 19, 2014 at 11:20 am

          सनराइज बैंक मा पनि त्यस्तै हो /

          Reply
    2. Binay Yadav says:
      January 20, 2014 at 1:12 pm

      आफ्नो खाता संचालन गर्न लाई नेपाल नै जानु पर्ने चाँही होइन, मेरो पनि खाता छ र मैले करिब ८ वर्ष देखि चलाउदै याएको छु विदेश मै बसेर र कहिले पनि Deactivate भएको छैन किन कि मा सधै Online Banking प्रयोग गर्छु त्यसैले मेरो सुझाब के छ भन्ने हजुर को अबस्थामा हजुर ले पनि online banking प्रयोग गर्नु भयो भने यो समस्या न आउला कि ?

      Reply
  11. तारा थापा says:
    January 17, 2014 at 10:41 am

    मेरो हिमालयन बैंकमा खाता खोलेर केहि दिन पछि ए टि एम बाट पैसो निकाल्दा ब्यालेन्स मा १ हजार् कम्ति देखाएको थियो! अब यो बैंकमा खाता बन्द गर्ने सोच्दै छु आजकल इन्ट्रेस् अति थोरै दिने रहेछ, खाता बन्द गर्दा त्यो लुकेको एक हजार पैसो देला कि नदेला ? एक पटक सहकारी बाट हिमालयनको मेरो खातामा ३ लाख जति पैसो ट्रान्सफर गरेको १ हजार नै सहकारीले ट्रान्सफर चार्ज काटिदिएको थ्यो एस्तो पनि हुन्छ र ?

    Reply
  12. कविराज says:
    January 17, 2014 at 9:09 am

    बल्ल ठिक भयो.
    एक पटक
    लुम्बिनी बैंक मा पैसा बुझाउन जाँदा अंग्रेजीमा मात्र लेखिएको भौचर थियो. मैले बुझिन भन्दा उल्टै मलाई पाखे जस्तो गरि काउन्टर मा बस्नेले. पछि म नेपाली मान्छे अंग्रेजी जान्नै पर्छ र भनेर भने पछि मन नलागी नलागी भौचर भरि. त्यस पछि अंग्रेजी मा धन्यवाद भनेर बैंकले यसरि अंग्रेजीमा मात्रै भर्ने बनाउन हुन्न भने पछि पो जिल खाई “तपाइलाई त राम्रै अंग्रेजी आउदो रहेछ त” भनेर.

    Reply
    1. ausmitra says:
      January 17, 2014 at 2:22 pm

      विभिन्न कार्यालयहरुमा जस्तै विद्युत प्राधिकरण, दूरसंचार, भिभिन्न मोबाइल सेवा प्रदायकहरु, इन्टरनेट प्रदायकहरु र अन्य थुप्रै सरकारी संस्थाहरु जस्तो मालपोत, अदालत, स्कूल इत्यादीहरुलाई बैंक नगई घर मै बसेर Online Banking वा eBanking गर्ने व्यवस्था भए धेरै सजिलो र समय बचत हुने थियो.

      Reply
  13. Umesh Ghimire says:
    January 17, 2014 at 8:55 am

    नेपाल का बैंक हरुले क्यानेडियन ब्यनकिङ्ग सिस्टम लागु गरेमा, ग्राहक हरुको हकहित अलि बढी सुरछित हुनेथियो .नेपालमा शप्पिङ्ग गर्दा ATM कार्ड को पिन नचाहिने भएपछी कसरि खाताको सुरछ्या हुनेहोला. कमन सेन्स को कुरा हो

    Reply
    1. सुदर्शन काफ्ले says:
      January 17, 2014 at 10:20 am

      क्यानेडियन ब्यनकिङ्ग सिस्टम भनेको कस्तो उमेश जी? तपाइको क्यानडामा पनि ATM कार्ड को पिन नचाहिने Interac Flash SYSTEM छ क्यारे होइन? क्यानेडियन ब्यनकिङ्ग सिस्टम भनेर अलि गफ भने नदीउ की? तपाईले भनेको जस्तो Secure ब्यनकिङ्ग सिस्टम भने हुनुपर्छ…

      Reply
  14. डिल्ली says:
    January 17, 2014 at 3:58 am

    १) ६ को ग बमोजिम एटिएम सेवामा त पहिलेदेखि नै यस्तै थियो जस्तो लाग्छ । ग्राहकलाई फाइदा के भयो त यसमा ? एटिम प्रयोग गर्दा नपाएको पैसा कटाउँछन् बैँकहरू र खातामा जम्मा नगरी दुःख दिने गर्छन् । एटिएम कार्ड नै निशुल्क र अनलिमिटेड हुनु पर्ने हैन र ? त्यसमा लिन पाउने छुट कति त त्यसो भए । बैँकैपिछे फरक फरक एटिएम कार्ड शुल्क ठटाए भने के गर्ने नि ? अवधि न्युनतम कति गर्ने त ? नत्र उठाउन नपाएको सबै शुल्क एटिएम कार्डबाटै उठाउलान नि !
    २) खाता खोल्दा र बन्द गर्दा शुल्क लिन नपाउने व्यवस्था ठीक लाग्यो ।
    ३) एविविएस सेवामा लाग्ने शुल्क हटाएको पनि राम्रो हो । तर पहिले शुल्क लिँदा त ढिलो गरि रकम जम्मा गरिदिन्थै बैँकहरूले । नलिएको अवस्थामा वर्षौ पो लगाइदिने हुन कि ? बाध्यकारी अवधि जरुरी होला कि ?
    ४) अहिलेका वर्षे च्याउ बैँकहरूले सबै अङ्ग्रेजीमा राखेका छन् फारम । रिसेप्सन भन्ने ठाउँमा राखेकाहरू पनि ५०% अङ्ग्रेजी मिसाएर बोल्छन् । सामान्य साक्षरहरूलाई गाईखाने भाषाले अप्ठ्यारो पारेकै हो । सुधारिएला त ?

    Reply
  15. kedar says:
    January 17, 2014 at 3:29 am

    स्वदेश विदेश जता गए पनी घुमाइ फिराइ ठग्नमा बैंक जस्तो चैं कहीं भेटिन / चोरका चार चौका / तरिका निकाल्दा होलान नि अरु कुनै /

    Reply
  16. Sudarshan Ghimire says:
    January 17, 2014 at 2:04 am

    नेपाल रास्ट्र बैक ले नेपालि जनताको कानूनि र मौलिक हित को लागि बिभिन्न बैक तथा वित्तीय सस्था हरुले भए-गरेका आ – आफ्ना एकाधिकार – मनोपली को नियत्रण को लागि “वित्तीय ग्राहक संरक्षण तथा वित्तीय साक्षरता सम्बन्धी व्यवस्था” लागु गर्न दीएको निर्देशन बहुत प्रशंसनीय छ ! यो धेरै राम्रो र उचित छ !

    Reply
  17. hit says:
    January 16, 2014 at 10:53 pm

    मेरो चार्टर बैंकमा खाता बन्द गर्छु भन्दा ६००० हजार लग्छ भनेर छोडेको थियो अब लिन गया हुने भयो thanks

    Reply
  18. bishwash says:
    January 16, 2014 at 9:57 pm

    काइदा…..बैंक हरुले ढोका खुला छ आउनोस भन्ने अनि जानाचाही झ्याल बाट चुकुल खोल ग्रील खोल अरु के के ….. धेरै नेपाली लै राहत हुने भो…धन्यवाद नेपाल राष्ट्र बैंक

    Reply
  19. suzee says:
    January 16, 2014 at 7:59 pm

    जानकारीमुलक !!!

    Reply
  20. santosh says:
    January 16, 2014 at 7:32 pm

    खाता बन्द गर्दा, स्टेटमेन्ट वापतको शुल्क, डेबिट कार्डमा लाग्ने शुल्क कटौती गरेको राम्रो भयो। बुँदा ६ क, ७ ख र १० ख को ब्यवस्था पनि ठिक भयो अब।
    बुँदा ६ ग ATM कार्डमा चाहिँ अझ बिश्वस्त हुन नसकिने हो कि ! अवधि समाप्त नहुन्जेल शुल्क लिन नपाउने , रिन्यु गर्नपरे पछि पाउने ब्यवस्था भएपछि कार्डको भ्यालिडिटी पिरियड घटाउन सक्छन्। जस्तै: ३ बर्षमा भ्यालिडिटी सकिने कार्डलाई अब १ बर्षमै सकिने गरेर चलाखी गर्न सक्छन्।

    Reply
  21. sukarma says:
    January 16, 2014 at 7:23 pm

    कुरो त सारै राम्रो लाग्यो। तर यदि बैंकले अटेर गरि पैसा लियो भने ऊजुरी गर्ने ठाउँ चाही कहाँ हो नि ? त्यो पनि थाहा पाउन पाए धेरै राम्रो हुन्थ्यो।

    Reply
  22. मदनमणि says:
    January 16, 2014 at 6:49 pm

    मेरो नि माछापुच्छ्रे बैंकमा खाता थ्यो चेक हरायो भनेको ५०० रे बन्द गर्छु भनेको २५० भन्यो। त्यसै राखिराथें अब बन्द गर्दा फाइदा हुने भो पैसो नलाग्ने भयो।

    Reply
    1. santosh says:
      January 18, 2014 at 10:38 am

      चेक हराएपछि त शुल्क लिन्छ होला अझै पनि। यो निर्देशनमा पनि केही उल्लेख छैन यो बिषयमा। यसलाई चाहिँ नकारात्मक रुपमा नलिँदा नै हुन्छ। चेक हराउनु ग्राहककै गल्ती हो नि।

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme