Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा: कन्फेसन, पागलपन र भित्ताहरु

Posted on January 18, 2014January 18, 2014 by mysansar

“आत्मा मर्दैन; मरण सम्भब छ यदि भने देहको मात्र सम्भब छ।”

कुनैबेला देबकोटाका शब्दहरुमा मलाई बिश्वास लाग्थ्यो। मान्छेको आत्मा प्रमुख हो र देह गौण, लेखेका थिए उनले। मलाई माया गरेर असल बन्न सिकाउने आफ्नै प्यारो जिजुबुबा बित्नुभयो। सबैले वहाँको देहलाई सकेसम्म चाँडो पोल्न चाहन्थे, हामीले नै लगेर पोल्यौँ। आत्माको आजसम्म कुनै ठेगान छैन, कसैले खोजीगरेको पनि देख्दिन।

त्यसैले कताकता लाग्छ, डिस्को, इन्टरनेट, रेमिटेन्स, सेक्स टोईज् आदि आदि बारे केहिपनि जान्दै नजानेका अघिल्लो शताब्दीका गँवार मान्छेको ब्रेन वाश गरेर ति लक्ष्मीप्रसाद, “महाकवि” बनेका हुन्। तिनको आउटडेटेड शिलोक “देह र आत्मा” को प्रबचनले कुनै तरुण/तरुनीलाई इम्प्रेस गर्न सकिदैंन अब उप्रान्त।

मलाई घरबाहिरका उदाहरणहरुमा बिश्वासपनि लाग्दैन आजकल। जिजुबुबा घर भित्रकै हुनुहुन्थ्यो।

खैर जे होस्, म धेरै अघि देखि मर्ने बारे सोच्दै छु। अनि, लेख्ने बारे पनि। मर्ने निर्णय गर्न र लेख्ने निर्णय गर्न, दुबैमा एक लेभलको मानसिक परिपक्वता आबश्यक हुन्छ। र म अब लेख्नु र मर्नुको चरम आनन्दको पछी दौडेको छु। क्रमश: एक पछि अर्को लिनलाई। मलाई एउटा परिपक्व डिसिजन गर्नु छ: मर्ने। र त्यो भन्दा अघि एक पटक लेख्ने। मलाई मेरो देह अनि कथित “आत्मा”, दुबै सहित मर्नु छ। एउटा पूर्ण मृत्यु। ता कि कुकुर-संसारमा मेरो कुनै निशानी नछोडीयोस्। र देबकोटाले भने बिपरित, यो सम्भबपनि छ।

मेरो वरिपरी कुकुरहरु बस्छन्। मैले बजाउने बाँसुरी यिनलाई हड्डी जस्तो लाग्छ।

केहि हाई प्रोफाइल बिज्ञ कुकुरहरु साहित्यमा, राजनीतिमा, ब्यापारमा अनि अध्यात्ममापनि, चालक सिटमा विराजमान छन्। तपाईं बिश्वास गर्नुस्, म मन हलुङ्गो हुने गरि केहि आफ्नै गीत लेखुँला, मेरा दिमाग भित्रका भर्चुअल् बिकारहरु पूर्णत: स्खलित हुने गरी शब्द कोरेर आनन्दले जिउ तनक्क तन्काउँला। तर त्यसपछि मैले कुकुर-संसार छाड्ने निर्णय गरें भने, आई एम् ड्याम् स्योर, मेरो गीतलाई तिनले ´सुसाईड नोट´ भनेर बदनाम गर्नेर्छन्। मेरो मृत्युपछी मेरो गीत निरिह अबला झैं हुनेछ। गुहु-मुत् खुवाउनु तिनको आदत हो, त्यसैले मर्ने निर्णय गर्नु भन्दा अगाडी मैले मेरो गीतको बारे सोच्नुछ। नत्र त्यहि गीतले मलाई मर्न दिनेछैन।

हो, यो सबै गर्नका निम्ति म आर्यघाटको छेउमा आएको हुँ। छेउमा सुतिरहेकी श्रीमतीलाई ओछ्यानमा नै छोडेर उसले थाहै नपाउने गरि बेडरुम बाहिर त निस्किएको थिएँ नै, तर च्याँ च्याँ गर्दै मेरी छोरी त्यै बेला रोईदिई। उ सुतेको कोक्रो हल्लाएर बसेको हुँ, धेरैबेर। अन्तत: छोरी चुप लागी। प्रेममा कतिपय मौनताहरु स्वीकृति हुन्छन। म छोरीको स्वीकृतिमै निस्किएको हुँ।

त्यस पछीका धेरै दृश्यहरु मेरो स्मरणमा छैनन्। घट्टेकुलोबाट गल्लीगल्लि छिरेर म मैतिदेबी चोक निस्किएको हुनुपर्छ। त्यहाँ आइपुगेपछी फ्लाटको ढोका बन्द गर्न बिर्सिएर आफु निस्किएको याद आएको थियो मलाई। कुकुर-संसारमा सुरक्षित रहन, गार्हो छ। म दौडीदैं घर फर्कीएको हुँ। बाहिरबाट ढोका लक् गर्नु अघि मैले छोरी अहिले पनि रुँदै पो छ कि भनेर पनि सुनेको हुँ। छोरी रोएकी थिन।

मेरो निधारमा पसिना छ। म यहाँ सम्म नै दौडिएर आएको हुनुपर्छ। गौशाला चौकमा केहि कुकुरहरुको झुण्ड थियो, शिकार ढुकेर बसेका झैं देखेको थिएँ। तिनले मलाई केहि गरेनन्। म मुलबाटोबाट ओरालो लागुन्जेल मलाई हेरेर तिनीहरुले छाडेको केहि खित्का हाँसो सुनेको थिएँ। यत्ति याद छ।

पन्ध्र मिनेट त भएछ। म ढोका लगाएर निस्किएको। म दौडीएरै आएको हुनु पर्छ। मेरो हातमा भएको यो साइको-फाईभ् घडी, मलाई ससुरालीले दिएका हुन्। दिएको नभनौं, जुवामा राखेका हुन्। बिहाको कर्मकाण्ड भित्र एकछिन दुलाहा दुलहीलाई पण्डितले जुवा खेलाएका थिए। घडी र जनै सुपारी घुमाएको थियौं हामीले। मैले जितिसक्दापनि मलाई त जितेको बारे थाहै थिएन। बिहाको दिन त्यो भिडभाड भित्र मेरो दिमाग अन्तै हराएको थियो। म सानातिना जुवाबारे त्यति सोच्दिन पनि।

समय अंक हैन, अबस्थाको अनुभूति हो। म महसुस गर्न सक्छु। कुकुर-संसारका अधिकांश कल्चरहरु मलाई साईकोलोजिकल् टर्चर दिन्छन्। यिनले पागल बनाउन खोज्छन् मलाई। स्वतन्त्र बाँच्न चाहने कसैको हातमा घडी नबाँधियोस्। बुझियोस्, कि हराउन चाहनेहरु समयलाई रोकेर हराउन खोज्छन्। कम्तिमा यस्तो अनुभूति गरेर। तिनको एकोहोरो समय, मबाट बिल्कुल निरपेक्ष रहेर मलाई धम्की दिईरहन्छ।

एकपटक मध्य दिनको चर्को घाममा मैले जामा मस्जिदको अगाडीबाट घन्टाघरलाई तथानाम गाली गरेको थिएँ। अलिक पर म्युजियम बनेको एक्स् राजदरबार ट्वाँ परेर हेरिरहेको थियो। अल्लाहको कुनै नाम निशाना थिएन। निमोनियाले ग्रस्त छोरी बोकेर म सँगै हिडेकी मेरी श्रीमती, छिन भर मै बेपत्ता भएकी थिई। अनि दरबारमार्गमा मैले धेरै बेर उनिहरुलाई खोजेको थिएँ। पछी थाहा भयो, उसले मलाई छोडेरै घर फर्कीएकी रहेछ। मैले घण्टाघरलाई गाली गरेको उसलाई किन बिझ्छ, मैले बुझ्न सकेको छैन। तर त्यहि दिन हो, जुन दिन घर म फर्किएपछी मेरो श्रीमती, मलाई हेरेर पहिलो पटक क्वाँ क्वाँ रोएकी थिई।

समय, मेरो सम्बन्धको संकट माथीको टिप्पणी स्वरूप सधैँ झैं “खित् खित्..” हाँस्दै थियो।

सधैं झैं म सम्साँझैँ घर फर्किएको थिएँ कुनै दिन! पानी पिउन सोझै किचन छिरेको थिएँ।

“टोटल्ली चेन्ज भाको छ। ….सम्बन्धमा त्यो पुरानो रङ्ग नै रहेन के अब!” मैले किचेनबाट सुनेको थिएँ, ऊ उसकै कुनै पुरानो साथी सँग फोनमा बोल्दै थिई। या त माइती तिरको कोहि हुनुपर्छ। मलाई थाहा थियो, मैले त्यो बार्तालाप सुनिदिनु हुँदैन। तरपनि आवाज आइरहेको थियो। “हैन, हैन, त्यस्तो त केहि हैन”

त्यो छोटो कल थियो, उताबाट केहि सोध्नलाई आएको। बोलिसकेर फोन बेडरुममै छोडेर ऊ भान्सामा आएकी थिई। चाहिने भन्दा अलिक बढी नै टकेटिभ् मान्थी आफुलाई ऊ, थिई पनि। तर त्यो बेला निराश निराश देखिन्थी। मलाई कति बेला आएको पनि सोधिन।
आएर सुनाएकी थिई: “छोरीले आज “बाबा” भनेकी थिई पो त”।

भर्खरै बोल्न खोज्दै गरेकी मेरी छोरीले “बाबा” उच्चारण गर्नुभन्दा अघि मम्मी भनिदिनु पर्थ्यो?
कि के? नत्र किन उसले उज्ज्यालो अनुहार पारेर यहि कुरा सुनाईन त??

प्रत्युत्तरमा मैले भनेको थिएँ: “काली, यो भित्ताहरुलाई नि, यिनकै आफ्नो ओरिजनल कलर थाहा छ होला?”

मेरा जवाफहरु अनपेक्षित लाग्छन उसलाई। उसले मलाई हेरीरही मात्र। आठ दश सेकेन्ड सबैथोक रोकिए झैं भएको थियो। कुरा अन्तै मोड्न वालेटबाट पाँच सय पर्ने दुईवटा रिचार्ज कार्ड निकालेर टेबलमा राख्दै भनेको थिएँ: “मेरोपनि रिचार्ज गरिदेऊ है?”

त्यस रात, उ सुतेपछी, किचनमा आएर म पहिलो पटक भित्ताहरु सँग बोलेको थिएँ। एक तर्फी भएपनि प्रतक्ष्य। म सँग प्रश्नहरु थिएनन्। धेरै नजिकको साथी जस्तै गरी सान्त्वना दिदैं थिएँ म। त्यहि समय थियो, जब ऊ उठेर किचनमा आई। बिहापछी पहिलो पटक उसले मलाई “पागल” भनेकी थिई त्यो बेला।

बिहा अघि त म धेरै पटक पागल कहलिएको थिएँ। भ्यालेन्टाइन्स् डे मा उसको घरै अघि गुलाब बोकेर पुग्दा। अफिसमा बैठकबाट हरेक मिनेट बोसहरुकै पिक्चर उसलाई पठाउँदै बस्दा। बिहानको चारबजे गजल लेखेर उसलाई टेक्स्ट पठाउँदा। टोलका सो कल्ड स्पिरिचुअल आमाहरुको समूहले गरेको किर्तन टोलीमा योङ्गेस्ट मेम्बर भएर भजन गाउँदा। आदि आदि।

भित्ताहरु, क्रमशः बनाईन्छन्। बिशेष ख्याल राखिन्छ यिनको, बन्दै गर्दा। प्रेमपुर्बक । र जब बनिसक्छ, प्रेमको बदला यिनीबाट भयङ्कर सुरक्षाको आश गरिन्छ। कुकुर संसारमा आईपर्न सक्ने हरेक खतराको बिरुद्द। सर्बोत्कृष्ट सुन्दरताको आशा पनि गरिन्छ, कुकुर-संसारका सबैलाई आकर्षित गर्न सक्ने गरी।

आफ्नो रङ्ग आफैले थाहा नपाउनु, ठुलो पिडा हो। हलचल गर्न नसक्नु झन् ठुलो पिडा। हाँस्न नसक्नु, बोल्न नसक्नु, मनपरेको गीत गुन्गुनाउन नपाउनु, यी सहिनसक्नु हुन्छन्। कस्तो महसुस हुन्छ होला? जब आफ्नै रङ्ग अरुले निर्णय गरेर पोतीदिन्छ्न्। समय सँगै, एकपछि अर्को रङ्ग पोत्छन्।
यी भित्ताहरु, पनि अनेक रङ्गहरु ट्राई गर्न चाहन्छन् होला। ऐना अगाडी उभिएर। त्यो भन्दा पहिला, सर्बाङ्ग नाङ्गै भएर आफ्नो वास्तविक रङ्ग हेर्न चाहन्छन् होला।

एक मध्यरात, हाम्रो बेडको देब्रेपट्टी म अर्धनग्न बिउँझिएको थिएँ। अचानक। ऊ निदाईरहेको मौका छोपेर मैले सधैं भन्दा लामो साक्षात्कारको मौका पाएको थिएँ, भित्ताहरु सँग। म चुपचाप बोल्थें, र उनीहरु चुपचाप सुन्थे।

“भित्ताको पनि कान हुन्छ” भन्ने उखान, उखान हैन, तथ्य हो। आजकल लाग्छ, त्यता धेरै तथ्यहरु छन्, जसलाई उखान बनाईनु कुकुर-संसारले कहिल्यै आबश्यक ठानेन। नत्र केहि उखान बन्ने थिए:

“मान्छे स्वतन्त्र रहँदा मात्र खुशी हुन्छ।”

“कुकुर-संबिधानमा पनि आत्मनिर्णयको अधिकार सुनिश्चित गरिएको छ।”

“श्वास फेर्न सक्ने शरीरले मात्र बाँसुरी बजाउन सक्छ” आदि आदि..

त्यो रातपनि, भित्ताहरु अजिबले शान्त बसिरहे। उनीहरु मलाई सुन्न चाहन्थे। पिन् ड्रप साइलेन्स थियो। उसले श्वास फेरिरहेको मात्र सुनिन्थ्यो। मैले केहि अघि बिताएको समय सम्झिएँ। अघिल्ला रातहरु। एउटा श्रीमानका कर्तब्यहरु पनि। हिजो, अस्ति, अझ अघि, अघिल्लो साल…आदि आदि गर्दै म पछाडी जाँदै थिएँ। सायद, हेर्बेर्टजर्ज वेल्सले बनाइदिएको टाईम मसिन् मा “समय सयर” गर्दै थिएँ म अचानक।

लगभग मध्यरातमा, सुनसानमा, चुपचाप भित्ताहरुको माझमा, डबल बेडको देब्रेपट्टिबाट, म आफ्नै बिगत हेर्दै थिएँ: जँहा म थिईन, कतै पनि। श्रीमती थिई, छोरी थिई, बिरामी बाबाआमा हुनहुन्थ्यो। मलाई “रोगी”को आरोप लगाएर परिवार संगको मिलेमतोमा छोड्न लगाइएको जागिर थियो। केहि भयानक मृत्युहरु थिए। केहि प्रेमकथाहरु पनि। केहि जंगलहरु रक्ताम्य थिए। कतै, मृत शरीरहरुको मुचुल्का उठाउँदै थियो प्रहरीले। त्यो बेला, धेरै

प्रियजनहरु रहेछन् मेरा। कोहि काममा, कोहि युनिभर्सिटीमा, कोहि कुनै चियापसलमै भेटिएर पनि साथी बनेकाहरु।

छेवैमा उसले लामो सास फेर्दै कोल्टो फेरी। मलाई लाग्यो, मैले भुलेका धेरै साथी पो रहेछन मेरो बिगतमा। आजकल यिनीहरु खोई?

म अझ बिगतमा जाँदै थिएँ। एकपछि अर्को गर्दै एउटा मृत्यु आउँथ्यो; त्यसपछि कुनै हत्या, आत्महत्या, दुर्घटना, बिष्फोट र त्यसपछि देखिन्थ्यो, जिन्दगी बाँचीरहेको एउटा बिल्कुल जिउँदो मान्छे, जो म संग धेरै धेरै नजिक थियो। पटकपटक यस्तो भयो: मृत्यु, घटना..अनि एउटा प्रिय मान्छे।
मैले यस्ता धेरै मान्छेहरु गुमाएको रहेछु। कहाँ? कहिले? किन?

त्यो बिगत र आजको बर्तमान बीचमा कहाँनेर यस्तो कायापलट भयो? कहाँनेर म एक्लिएँ? ति उज्ज्याला अनुहारहरु मध्ये कोहिपनि जीवित छैनन् त?
आजकल किन म संग मेरी श्रीमती र छोरी मात्र छन्? आफ्नो जिन्दगीको अन्तिम केहि बर्ष बाँच्दै गरेका मेरा रोगी बाबाआमाहरु किन यो फ्ल्याटमा नबसेर गाउँमै बस्न रुचाउनु भयो?

मैले देश बनाउने नाराहरु देखें। उत्पीडन, शोषण र साम्राज्यबाद सम्मलाई दुश्मन बनाएर लागिपरेका उज्ज्याला अनुहारहरु देखेँ। केहि सङ्गीतप्रेमीहरु। केहि पागलप्रेमीहरु। केहि रगतले लेखिएका प्रेमपत्रहरु। केहि पत्रकारहरु। केहि बिध्यार्थीहरु। केहि खुद्रा पसलेहरु। केहि शिक्षकहरु। केहि कोदालो चलाउनेहरु। सबैको एउटा लक्ष्य थियो। सबै उज्ज्याला थिए। दुर्भाग्य, हरेकलाई देख्नु अघि एउटा भयानक मृत्यु देख्न पर्थ्यो मैले।

मलाई उज्ज्याला अनुहारहरु मनपर्छ। तिनले हिप्नोटाईज् गर्न सक्छन् मलाई। र मलाई त्यहि मनपर्छ।

त्यो बिगतमा अर्को अचम्म देखेँ मैले: त्यहाँमेरो बाबाआमाको अनुहारमा पनि उस्तै चमक थियो। श्रीमती बन्नु अघि कि उसको अनुहारमा पनि त्यस्तै चमक थियो।

मृत्यु सत्य हो। अहिले गुमनाम बनेका, मेरा बिगतका ति सबै प्रिय पात्रहरुलाई यो थाहा थियो। तर ति मध्ये कोहिपनि मृत्यु सँग डराएर बाँचीरहेका थिएनन्। हिजोको जीबन देखेर मलाई आज देखि डर लाग्यो।

मेरो निधारमा चिट्चिट् पसिना आईसकेको थियो।

मौनता भित्रबाट, मैले भित्ताहरुलाई सोधें: “ए! तिमीहरुलाई थाहा छ? केहि साल अघि सम्म त यो संसारमा मान्छेहरुको आधिपत्य रहेछ त!”
उनीहरु चुप बसे। छेउमा श्रीमती निदाइरहेकी थिई।

“यहाँ के भईरहेको हो, जान्ने अधिकार मलाई छैन? ”

भित्ताहरु यन्त्रवत उभिईरहे।

कुकुर-संसारमा मैले साथीहरु मान्ने यिनै भित्ताहरु हुन्। यिनले मेरो स्वतन्त्रतामा तगारो हाल्दैनन्। अरु त कोहि योग्य नै छैन। कस्तो पिडा हुन्छ, जब एकमात्र साथी आफ्नो आबश्यकतामा मौन बसिदिन्छ? यिनीहरु किन बुझेर पनि बोल्दैनन्?

यिनले मलाई मैले यिनलाई चिन्नु अघि देखि नै हेरिरहेका छन्। यिनले मलाई बुझेका छन् र सुनेका छन्। कुकुर-संसारमा एकले अर्कोलाई देख्छ मात्र, हेर्दैन। सुनाउँछ मात्र, सुन्दैन। चिनाउँछ मात्र, चिन्दैन। बुझाउँछ मात्र र बुझ्दैन। यी भित्ताहरुमा मात्र त्यो सम्बेदनशीलता छ। सभ्यता छ। सम्मान दिने र लिने प्रबृत्ति छ। त्यसैले म यिनैलाई सोध्दैछु: कहाँनेर गल्ति भयो? कहाँनेर यो दुर्घटना भयो? म त ति उज्ज्याला अनुहारहरु सँग हुनु पर्ने हैन? म कसरी गलत ठाउँमा आइपुगें?

भित्ताहरु पूर्णत: मौन बसिदिन्छन्।

भोगेर, देखेर, सहेर, मैले जस्तै परिपक्वता यी भित्ताहरुले पनि प्राप्त गरेका छन्। कुकुर-संसारमा मैले प्रश्न गर्नु भन्दा, अघि हाँसो सुन्नुपर्छ। सम्भबत, यसै कारणले यी भित्ताहरु पनि चुप बसेका हुनुपर्छ। मैले त धेरै अघि बाट प्रश्न गर्न नै छोडेको छु।

यो एउटा ´सपोरटिंग क्लू´ पनि हो, कि यी भित्ताहरु र म, कुकुर-संसारमा एक्लो छौं।

तर म संग चाँही किन चुप बस्छन यी भित्ताहरु?

यिनलाई सबै थाहा छ।

मैले एस् एल सी मा फर्स्ट डिभिजन ल्याएको रिजल्ट आएको साँझ, बाबाले हामी सबैको लागी फलफुल किनेर ल्याउनु भएको थियो। प्रेम वा खुशी ब्यक्त गर्ने मान्छेहरुका थुप्रै थुप्रै तरिकाहरु भित्ताहरुले देखेका होलान्, तर त्यो साँझ, धेरै पछि मेरो आँखामा आँशु देखेका थिए यिनले। एक्कासी चुहिएका आँशुका केहि थोपाहरु थिए ति जसलाई बाबाले चैं देख्नु नै भएन। मैले लुकाएँ।

दोहामा कन्स्ट्रक्सन कम्पनीको काम मिलाईदिन्छु भन्ने म्यानपावर कम्पनीको मान्छे म लगायत धेरैको रकम लिएर कुलेलम ठोकेको दिन, साँझमा काठमान्डौको मेरो साँगुरो कोठामा पहिलोपटक रोएको थिएँ, रित्तो ग्याँस सिलिन्डरमाथि बसेर। भित्ताहरुलाई सबै थाहा छ।
अस्पतालमा आमाको डाईलाईसिस गर्न तलबले पुग्न छोडेपछी, जिल्लाको एउटा सहकारीको म्यानेजर संग अलिकति भएको खेत राखेर ऋण माग्न हात जोडेको थिएँ मैले। भित्ताहरुले त्यो देखेका छन्।

लेबर रुममा श्रीमती हुँदा, बाहिर म छटपटीएको पनि यिनैले देखेका छन्। पहिलो पटक छोरी बोक्न पाउँदा आँखा भरिएको पनि।
ति भन्दा अघिल्ला मेरा धेरै हाँसो र भ्रमहरु देखेका छन् यी भित्ताहरुले। मलाई पूर्णत: नाङ्गो पनि देखेका छन्। अनेक व्यक्तिगत क्रियाकलापमा देखेका छन्। रक्सि वा प्रेमको मातमा, क्षणिक उन्मादहरुमा, धेरै अबस्थामा देखेका छन्। होस् मा रहँदा देखेका छन्, बेहोसीमा पनि देखेका छन्। यिनलाई थाहा छ, त्यसैले यिनले जवाफ दिनैपर्छ, म जानुपर्ने कहाँ हो र कहाँ छु?

म बिगतबाट फर्किएकै थिईन। अचानक धेरै शान्त मान्छेहरु को अघिल्तिर कुनै परिचित लाग्ने बुढोमान्छे देखें। उसको अनुहार अत्यन्त उज्ज्यालो र चमकदार थियो। त्यो मान्छे, नम्र स्वरमा भन्दै थियो: “मान्छेको शरीर नश्वर हुन्छ र आत्मा अमर!”

मैले देबकोटा सम्झिएँ। अलिकति तर्सिएँ पनि। एकछिनमा उसले तर्क गर्दै थियो, “जँहा मान्छे खुशी हुन्छ, त्यो नै स्वर्ग हो।”

मेरो दिमागमा अनेक भाइब्रेसनहरु पैदा हुन थालिसकेको थिए।

मैले भित्ताहरुलाई सोधें: “त्यसो भए खै त? ति उज्ज्याला मान्छेहरुका जीवित आत्माहरु?”
भित्ताहरु बोलेनन्। मैले फेरी सोधें: “स्वर्ग खै त? कता छ?”

पसिनाले भिजेको अनुहार सहित, म जुरुक्क उठें र भित्ताहरुलाई सोधेँ:

“आऊ, एउटा मुक्ति संग्राम लडौं। हामी त्यहीं जाऔं, जहाँ ति उज्ज्याला अनुहारहरु छन्। के तिमीहरु तयार छौ?”
मलाई लागेको थियो, उनीहरु बोल्नेछन्। तर, यी कायरहरु अन्तिम प्रश्नमा पनि चुप रहे।

सत्य हो, कायरहरु संग मोर्चाबन्दी गरेर मुक्तियुद्द लडीदैन।

ति भित्ताहरु नरक रोजेर बस्न चाहन्थे त्यतै।

कुनै जोडीहरुले तस्बिर खिचाउनेछन् र यी भित्ताहरु माथि किला ठोकेर त्यो तस्बिर झुन्डाउने छन्। कुनै पेन्टरले आफैलाई क्यानभास भरी पोख्नेछ, र त्यो पेन्टीङ्ग खरिद गर्नेले फेरी यिनै भित्ताहरुमा किला ठोक्नेछ। कसैको रहर बदलिनेछ र यी भित्ताहरुको स्वरूप परिवर्तन गरिनेछ। कसैको सौख बदलिनेछ र यै भित्ताहरुमा संगिन रोपिनेछ। तोडिनेछ, फोडीनेछ।

मलाई दुख लाग्यो!

सहानुभूति स्वरूप, मैले भित्तामा फ्रेम गरेर राखिएका केहि तस्बिरहरु निकालेर तिनको पिडा कम गर्ने निर्णय गरें।

मधुरो प्रकाशमा बिबाहका दुईवटा ठुला तस्बिर भित्ताहरुमा ठोकिएको किलाहरुबाट झिकेर सोफामा राखें। छोरीको एउटा तस्बिर पनि तल टेबलमा राखें। बाबाआमा संग भएको हाम्रो तस्बिर पनि। मेरै आफ्नै एउटा तस्बिर जसमा म कुनै साहित्यिक पुरस्कार ग्रहण गर्दै थिएँ। अनि केहि सर्टिफिकेटहरु। र चे ग्वेभाराको ठुलो तस्बिर पनि। सबै।

मधुरो प्रकाशमा केहि बेर भित्ताहरुलाई अन्तिम पटक हेरेको हुँ मैले। मेरो नियतीका असली साक्षीहरु थिए यी।
अघि भर्खरै गरेको बिगतको सयरपछि मलाई लागीसकेको थियो, मैले जीबनमा धेरै धेरै असल मान्छेहरु पाएको रहेछु। आजसम्म मैले किन बिर्सिएँ तिनलाई, मलाई थाहा छैन। यो तरिका फिल्मी हुन्छ होला, तर मैले कुकुर-संसार छोड्नु अघि आफ्नै जिन्दगीको सुन्दर गीत लेखेर यी भित्ताहरुको लागी छोड्ने निर्णय गरेको छु। अब लेख्छु पनि।

त्यो फ्ल्याटमा पढ्नलाई कुनै पुस्तक थिएनन्। भएका केहि ब्यबस्थापन र अर्थशास्त्रका केहि पुस्तकहरुमा मलाई इन्ट्रेस्ट थिएन। मलाई लेख्न पनि दिईदैन थियो। श्रीमतीले अरु नै अनेक अनेक तिर ब्यस्त राख्न खोज्थी मलाई। भन्थी: “डाक्टरले लेख्न नदिनु भन्नु भएको छ”।
ऊ सुतिरहेकै बेला, मैले कोठाको कुनामा रहेको लगेज ब्यागको बाहिरी खल्ती भित्र लुकाएर राखेको कलम र केहि खाली पानाहरु लिएर म निस्किएको हुँ।
छोरी त्यै बेला रोएकी हो र म उसलाई सुताएर निस्किएको हुँ।

यहाँको हावामा, लाशहरु डढेको गन्ध अझै छ। यिनै घाटहरुमा धेरै उज्ज्याला अनुहारहरु पोलिएका हुनुपर्छ।

देख्दैछु, फोहोरी बागमतीपारी मुर्दाघरका भित्ताहरु अझैपनि चुपचाप छन्।

9 thoughts on “कथा: कन्फेसन, पागलपन र भित्ताहरु”

  1. dipendra rokaha says:
    January 24, 2014 at 3:19 pm

    मैले यो कथा बुझे वा बुझिन यसै भन्न सक्दिन तर कथाकार ज्यु रिसानी माफ होस् ..तर कथा अलि बढी नै मन गढ़नते झैँ लाग्यो …म यसै भन्न सक्दिन यो कथा बाट मैले के सिके अनि यो कथा पाठक ले किन पढ्ने …यो कथाको निस्कर्ष के हो ??? मात्र शब्द हरु को चाङ्ग लगाएजस्तो लाग्यो ..कथा कसका लागि लेखिएको हो अनि के सुझाव दिन्छ …हुन त बुझ्ने ले मिलाएर बुझे होलान …तरपनि लेख्ने प्रयाश राम्रो छ ….प्रयाश जारि राख्नुहोला ….

    Reply
  2. Dhruba says:
    January 20, 2014 at 8:21 pm

    रबिन जी सार्है राम्रो कथा, आफ्नै मन भित्र रुमलिएका कल्पना, कुण्ठा, संका, भ्रम, द्विविधा, पागलपन आदि इत्यादी मन पढेर कसैले लेखिदिए जस्तो, शिर्सक पढ्दा अर्कै सोचेको, पढी सकेपछि अर्कै, येदि आफैले नै लेखेको भए, अझ भनौ येति मार्मिक लेख्न सक्ने भए सायद शिर्सक चाँही ” कुकुर संसार र भित्ता हरु” राख्ने थिए होला.

    Reply
  3. Atihi says:
    January 20, 2014 at 2:21 pm

    जे होस् कथा पढ्दा कसरि समय गयो पत्तै भएन ……राम्रो छ…..सर्जकलाई धन्यवाद!!!

    Reply
  4. saroj says:
    January 20, 2014 at 1:23 pm

    आर्टिकल अलि depressive जस्तो लाग्यो.खैर आफ्नो आफ्नो अनुभव् हो जिन्दगी.यदि यो अर्टिकल साहित्यिक परिकल्पनाको उपज मात्र हो भने चई इट्स नत ब्याड.

    Reply
  5. Shailendra Dhakal (म्याउ ) says:
    January 19, 2014 at 3:52 pm

    आधा पढेर नै कमेन्ट गर्न मन लग्यो. अहिले अलि हतार मा छु , यो लेख शान्त दिमागले राम्रो संग पढ्ने विचार गरेको छु. केहि खास नै छ जस्तो लाग्दैछ

    Reply
  6. Manoj says:
    January 19, 2014 at 3:06 pm

    सारै गहकिलो साहित्य र जिवन यथार्थ हरु. बिम्ब र प्रतिबिम्बहरु उत्तिकै ससक्त, र मन्त्रमुग्ध पारिरहने. पढीरहु सदै जस्तो; सलल इन्द्रावती जस्तै. तारे भीरले देखेको हेरेको मेरो उज्यालो बिगतमा; पुरानो तर आफ्नो सन्सारमा कसरि फर्काइदियो यो कथाले; सुस्तरी; सम्पूर्ण.

    Reply
  7. Rd Shrestha says:
    January 19, 2014 at 1:46 pm

    वहा वहा …अति रोचक लेख दुइ पटक पढे मैले दोहोर्याएर l

    Reply
  8. Bhadra says:
    January 19, 2014 at 6:53 am

    कथामा नौलो खालको प्रयोग भएको छ/ मनोबैज्ञानिक छ अनि कल्पनाशील पनि / तर लेखकले “कुकुर संसार ” भन्ने शब्द बारम्बार प्रयोग गर्नुको मतलब ठम्याउन सकिन / कुकुरै किन अरु जनावर पनि त छन नि !

    Reply
  9. __rupan__ says:
    January 18, 2014 at 7:25 pm

    …………………..त्यसैले कताकता लाग्छ, डिस्को, इन्टरनेट, रेमिटेन्स, सेक्स टोईज् आदि आदि बारे केहिपनि जान्दै नजानेका अघिल्लो शताब्दीका गँवार मान्छेको ब्रेन वाश गरेर ति लक्ष्मीप्रसाद, “महाकवि” बनेका हुन्। तिनको आउटडेटेड शिलोक “देह र आत्मा” को प्रबचनले कुनै तरुण/तरुनीलाई इम्प्रेस गर्न सकिदैंन अब उप्रान्त।

    पढे पछि एकछिन लै सोच्न बाध्य बनायो …………….

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme