–राजेन्द्र ज्ञवाली-
उसको जवाफ सुरुमा मैले बुझिनँ। त्यसैले मैले दोहोर्याएर भने–गाडी त ठूलै रहेछ नि! निकै महंगो होला, राम्रै प्रगति गर्नुभएको रहेछ होइन? उसले पनि सम्भवतः त्यही जवाफ दोहोर्या्एको थियो तर बडो ठट्यौली पारामा– आफ्नो दुःख आफैलाई थाहा छ। उसको जवाफले गाडीमा भएका हामी चार जनालाई मज्जाले हँसायो।
गत वर्ष अमेरिका आएको बेला एक जना भारतीयसँग चिनजान भएको थियो। अलबामामा राम्रै खाले व्यवसाय गरेका बसेका ती भारतीयले हामीलाई एक पटक आफ्नो घरमा आउने निम्तो दिएका थिए।
उनको नाम के थियो कुन्नि तर सबैले उनलाई श्याम भाइ भनेर बोलाउँथे। अनि मसँगको परिचयपछि मेरा लागि पनि उनी श्याम भाइ नै भएका थिए। वास्तवमा गाडीको प्रसङ्ग त दोस्रो पटक आएको थियो। पहिलो पटक उनको पसल हेरेर मैले निकै प्रगती गरेको रहेछौँ नि भन्दा पनि उनको जवाफ त्यही थियो–के गर्नु! आफ्नो दुःख आफैलाई थाहा छ।
पहिलो पटक उनले जवाफ दिँदा मैले उनको अनुहारमा हेरेको थिएन। तर दोस्रो पटक भने मैले हेर्न भ्याएँ। जवाफ दिँदा उनको अनुहारमा भने कुनै किसिमको हाँसो अथवा मुस्कान तथा ठट्यौलीपन मैले देखेको थिइनँ। तर उनी आफैमा ठट्यौली स्वभावका भएको हुनाले त्यतातिर सम्भवतः हामी कसैले पनि ध्यान दिएनौँ।
म बस्ने अपार्टमेन्टको अलि पर बस्थे श्याम भाइ। एक दिन बिहान म एक जना
मित्रसँग बजारबाट फर्किरहेको बेला पहिलो पटक उनी पार्किङ लटमा भेटिएका थिए।
लगभग ४५ वर्षका श्याम भाइ हाफ प्यान्ट र टि सर्टमा जगिङ्ग गरिरहेका थिए। परिचय भएपछि मैले गाडीको झ्यालबाटै हात निकालेर मिलाएको थिएँ उनीसँग। पहिलो भेटमै श्याम भाइ मलाई रमाइलो बानी भएको व्यक्ति लागेका थिए।
त्यसपछि धेरै पटक उनीसँग त्यही पार्किङ लटमा भेट भएको थियो। उनले पटक पटक आफूकहाँ आउने निम्तो दिएका थिए। तर अनुकूल मिलेको थिएन। एक दिन त्यही पार्किङ लटमा भएको भेटमा उनले अलि कर गरेर भनेपछि त्यस बेलुका उनको घरमा आउने कुरा निश्चित भएको थियो। अनि त्यस दिन बेलुका म एक जना आफन्तिसँगै अन्य एक जनासाथीलाई लिएर सोझै उनको पसलमा पुगेको थिएँ। उनको पसल ठूलै थियो। अमेरिकामा त्यतिको पसल गरेर बस्नु भनेको चानचुने कुरो थिएन।
बाटो भरी उनलाई नै थाहा भएको उनको दुःख को कुरालाई लिएर हाँसो भइरह्यो। एकै छिनमा हामी उनको घर नजिकै पुग्यौँ। अमेरिकाको हिसाबले हेर्दा घर निकै ठूलो थियो। परैबाट घर हेर्नासाथ मेरो मुखबाट ‘वाह घर त गजबको रहेछ नि! भन्ने वाक्य निस्क्यो। जवाफमा उनले त्यही भने– हो, हो, घर त ठूलै नै छ। तर यहाँ आफ्नो दुःख आफैलाई थाहा छ।
ग्यारेज बाहिर आंगन जस्तो स्थानमा अर्को गाडी ठाडिएको थियो। हेर्दा निकै महंगो जस्तो लाग्ने गाडीलाई हेर्नासाथ मेरो मुखबाट फेरि निस्क्यो। वाह! गाडी त अर्को पनि रहेछ त! सँगै उसको जवाफ सुनेँ– छ! छ! तर आफ्नो दुःख पनि यहाँ आफैलाई थाहा छ।
घर निकै भव्य देखिन्थ्यो। अझ भित्री भागको भव्यताले हामी सबैलाई प्रभावित पारेको थियो। भित्र ग्यारेजको छेउबाट प्रवेश गर्दा ग्यारेजमा अर्को एउटा जीप देखेपछि मैले फेरि भनेको थिए–वाह! जीप! हैन कतिवटा गाडी छन् हँ तपाइँसँग? पैसा कमाएँ भन्दैमा कति गाडी किनेको हो?
उनीबाट जवाफ आयो– ल! ल! नकराउ। आफ्नो दुःख यहाँ आफैलाई थाहा छ। यस पटक भने उनको अनुहार अलि अर्कै भएको थियो। त्यसमा अलिकति पनि ठट्टा थिएन। तर फेरि उनको स्वभावलाई सम्झेर त्यसलाई हामीले ठट्टाको रुपमा लियौँ।
उनकी श्रीमतीले हामी सबैलाई निकै हार्दिकतापूर्वक स्वागत गरेकी थिइन्। डिनरका लागि विशेषगरी हामीलाई मन पर्ने पकवानहरू थिए।
खाना खाइ सकेपछि फेरि एक पटक वाइन पिउन थाले श्याम भाइले। उनलाई खाना खानु अघि नै अलि अलि लागिसकेको थियो।
त्यसपछि मैले कुरै कुरामा यो आफ्नो दुःख आफैलाई थाहा छ भन्ने थेगोको बारेमा सोधे।
यतिबेला भने उनी अली ठट्यौली पारामा आइसकेका थिए। तर त्यसको जवाफ दिँदा उनको मुद्रा अलि गम्भिर भए जस्तो मलाई लाग्यो।
अनि के भन्ने त यार– उनले भने, यहाँ मान्छेले बाहिरबाट हेरेर नानाथरी भन्छन्। मित्र मान्छेलाई कसरी मिलाउनु परिरहेको छ अरु कसैलाई थाहा हुन्छ?
आज मेरा छोरीहरूले आइफोन ५ बोकेर हिड्छन्। तर म सुरुमा आउँदा मैले कत्तिको संघर्ष गरे भन्ने यिनीहरूलाई के थाहा? उनले आफ्ना लगभग १३–१४ वर्षका छोरीहरूतर्फ इंगित गर्दै भने।
त्यसपछ वार्तालापमा उनकी श्रीमती पनि सामेल भइन्। अनि बल्ल सबै कुरा खुल्दै आयो। वास्तवमा भएको के रहेछ भने श्याम भाइलाई एक्कासी एक दुई वटा ठूलो आर्थिक भार बोक्नु पर्ने स्थिति आएको रहेछ।
आफ्नो दाइसँग मिलेर बसेको घर छुट्टिएपछि दाइले उनकै जिम्मा लगाएर हिँडेछन्। घरको ऋणको ठूलो रकम महिना महिनामा बैंकलाई तिर्नु पर्दो रहेछ।
त्यस बाहेक आफूभन्दा पहिले अमेरिका आएका साथीले मिलेर पसल खोल्ने प्रस्ताव राखेपछि उनले सहमति जनाएका रहेछन्। तर पसल खोल्ने निश्चित भएर भाडामा लिइसकेपछि साथीले नै आँट गर्न नसकेर हिँडेछन्। अनि उनलाई पसलको पनि आर्थिक भार बोक्नु परेको रहेछ। आफूसँग भएको जमा पूंजी सबै लगाएर। भएन भनेर भारतमा रहेको आफ्नो बाँकी सम्पत्ति समेत बेच विखन गरेर जसोतसो पसल लिएका रहेछन्। नयाँ भएको हुनाले पसल राम्ररी चलिसकेको रहेनछ। त्यसमाथि घरमा भएका गाडीको बीमा तिर्दातिर्दा पनि हैरान भएका रहेछन्।
त्यसमाथि घर, छोराछोरीको खर्च।
‘पहिला सोखमा किनी हालियो। अहिले विमा तिर्दा थाहा भएको छ।’ उनले भने।
अनि उनी पसल बन्द भएपछि आफै पनि राति काम गर्न जाँदा रहेछन्।
‘अनि मेरो यो दुःख अरु कसैलाई थाहा छ त? त्यसैले भनेको आफ्नो दुःख आफैलाई थाहा छ।’ यस पटक भने उनले सक्दो ठट्यौली पारा ल्याउँदै भने। तर हामी कोही पनि हाँस्न सकेनौँ Ñ-š:Á‚mz