नेपाल अहिले विश्व क्रिकेटमा एउटा नयाँ इतिहास रच्ने मनसायका साथ न्युजिल्यान्डमा छ। एक दिवसीय क्रिकेटको विश्वकपमा खेल्न नेपाली टोली आउँदा दिनमा महत्त्वपूर्ण खेलहरु खेल्दैछन्। त्यसअघि भएका दुई वटा अभ्यास खेलमा नेपाल झिनो अन्तरले पराजित भएको छ। के नेपाल विश्वकपका लागि छनौट होला ? असम्भव केही छैन। श्रीलंकाली प्रशिक्षक दासानायकेको नेतृत्वमा हाम्रा खेलाडीले सक्नेजति तयारी गरेका छन्। अब तपाईँको साथ पनि जरुरी छ। न्युजिल्यान्डकै भूमिमा युवा विश्वकप क्रिकेटमा नेपाली टोलीले टेस्ट स्तरको मान्यताप्राप्त पाकिस्तानलाई पराजित गर्दा मैदानमा रिपोर्टिङका लागि थिए तत्कालीन कान्तिपुर खेल संवाददाता राजेन्द्र ज्ञवाली। त्यही क्षणलाई सम्झँदै उनले लेखेको ब्लग-
-राजेन्द्र ज्ञवाली-
कप्तान विनोद दासको भनाइले मलाई रोमाञ्चित तुल्याएको थियो। मैले आफू अलि तनावमा समेत भएको अनुभव गरेँ। त्यसपछि म हलबाट बाहिर गएँ र वरण्डा जस्तो स्थानमा उभिएर सडक तिर हेरेँ। त्यतिबेला हलुका पानी परिरहेको थियो। मेरो अघिल्तिर कागजमा कुनै चित्रकारले बडो मनयोगले बनाएको सुन्दर तस्बिर जस्तो कालोपत्रे गरिएको सडक थियो। त्यहाँ एक दुई जना हिँडिरहेका देखिन्थे।
विनोद भाइले भन्न त भने तर यो सम्भव होला र? मेरो मनमा बारम्बार त्यही प्रश्न उब्जिएको थियो।
कुरा हो न्युजिल्यान्डको। समय थियो सन् २००२ को जनवरी महिना। स्थान न्युजिल्यान्डको क्राइसचर्च। नेपाली युवा क्रिकेट टोली (१९ वर्षभन्दा कम उमेरको नेपाली युवा टोली) युवा विश्वकप क्रिकेटमा सहभागी हुन त्यहाँ गएको थियो। अनि म र हेमन्त काफ्ले समाचार संकलन गर्न नेपाली टोलीसँगै थियौँ।
प्रतियोगिताभन्दा लगभग दुई दिन अघि क्राइस्टचर्चमा स्थायी, अस्थायी रुपमा बस्दै आएका नेपालीहरूले नेपाली टोलीसँग औपचारिक भेटघाटको कार्यक्रम राखेका थिए। त्यस कार्यक्रममा आफ्नो मन्तब्य राख्दै नेपाली टोलीका कप्तान विनोद दासले ‘हामी तपाइँहरूको अपेक्षा पूरा गर्नेछौँ’ भनेपछि मैले आफूभित्र हर्षमिश्रित तनावको अनुभव गरेको थिएँ। एकातर्फ कप्तानको भनाइले मेरो मनमा पनि जोश भरिएको थियो भने अर्कोतर्फ वास्तविकतालाई सम्झँदा अलि कस्तोकस्तो समेत लागिरहेको थियो।
अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल बामे सर्दै गरेको अवस्था थियो त्यो। त्यसअघि नेपाली टोलीले अन्तर्राष्ट्रिय स्तरमा खासै पहिचान बनाइसकेको थिएन।
दुई दिनपछि सुरु हुने प्रतियोगिता अन्तर्गत नेपालको पहिलो खेल इंग्ल्यान्ड विरुद्ध थियो। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले इंग्ल्यान्डलाई पराजित गर्ने कल्पना पनि त्यति सहज थिएन, त्यतिबेला। त्यसबाहेक नेपालको समूहमा पाकिस्तान र पपुवान्युगिनी थिए।
हुनत क्रिकेट खेललाई रोचक र रोमाञ्चकका साथै लोकप्रिय बनाउनुमा यसमा निहित अपार अनिश्चितताको प्रमुख भूमिका रहेको छ। र एउटा खेल पत्रकारका रुपमा भलाद्मीको खेलमा निहित त्यस अनिश्चित्ताका बारेमा मैले त्यसअघि धेरै पटक कागज रंगाइसकेको थिएँ। मनको एउटा कुनाले भन्थ्यो–यदि हाम्रा खेलाडीले सतप्रतिसत प्रदर्शन गर्न सके र यस खेलमा निहित अनिश्चितताले हलुका रुपमा भए पनि हामीलाई अंगालो मार्यो् भने कप्तान विनोद दासको दावीले मूर्त रुप लिनेछ। तर अर्कोतर्फ वास्तविकतालाई केलाउँदा त्यो सम्भावना कतै देखिदैन थियो।
इंग्ल्यान्ड र पाकिस्तान जस्ता टेष्ट स्तरप्राप्त टोलीलाई विश्वकप जस्तो प्रतियोगितामा पराजित गर्नु नेपाल जस्तो नवप्रवेशी टोलीका लागि कुनै पनि कोणबाट सहज थिएन। हो, पापुवा न्युगिनीको टिम बारे खासै जानकारी थिएन।
जानकारी त त्यहाँका नेपालीलाई पनि हाम्रो टिम बारे खासै भए जस्तो मलाई लागेको थिएन। उनीहरू सबैले नेपाली टोलीलाई पनि बलियो ठानेका थिए र प्रतियोगितामा राम्रो गर्ने अपेक्षा राखेका थिए। तर वास्तविकता बेग्लै थियो। त्यसैले मलाई तनावमा पारेको थियो।
प्रतियोगिता सुरु भएपछि नेपाली टोलीले उनीहरूको अपेक्षा पूरा गर्न नसकेको खण्डमा त्यहाँका सबै नेपालीहरूलाई दुःखी तुल्याउने पक्का थियो र यही सोचाइले मलाई अप्ठेरो अनुभव भइरहेको थियो। मैले मनमनै ईश्वरलाई पुकारी रहेको थिए। ‘हे भगवान हाम्रा खेलाडीहरू प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सक्षम हुन्।’
कार्यक्रम सकिएपछि पनि मेरो मनभित्र प्रतियोगितालाई लिएर विभिन्न तर्कना आइरहेका थिए। म सहज हुन सकिरहेको थिइनँ।
दुई दिनपछि बिहान नौ बजेबाट नेपालको खेल इंग्ल्यान्डविरुद्ध थियो। हामी सबै मैदानमा थियौँ। इंग्ल्यान्डविरुद्धको त्यस खेलमा नेपालमा कुनै किसिमको अनिश्चितता देखिएन र नेपाल पराजित भयो। राहतको कुरा के थियो भने नेपाली टोली कुनै विशाल अन्तरले पराजित भएको थिएन।
त्यसको दुई दिनपछि नेपालको दोस्रो खेल पाकिस्तानविरुद्ध थियो। पाकिस्तानका प्रशिक्षक हारुन राशिद नेपालका पूर्व प्रशिक्षक थिए। त्यसैले नेपाली टोलीसँग पाकिस्तानी खेलाडी एवं स्वयं प्रशिक्षक राशिदको पनि कुराकानी हुँदै आएको थियो। त्यसक्रममा हेमन्त र मेरो परिचय पाकिस्तानी पत्रकारसँग भएको थियो। निकै ठट्टा गर्नु पर्ने उनको बोली अलि ठाडो थियो।
पाकिस्तानसँगको खेलको दिन। कसलाई थाहा थियो, नेपाली युवा तेन्जिङ शेर्पासँगै सगरमाथा विजय गरेर इतिहास बनाएका सर एडमन्ड हिलारीकै भूमिमा दशकौँपछि नेपाली किशोरहरूले अर्को इतिहास कोर्नेछन् भनेर।
पाकिस्तान विरुद्धको खेलमा हामीले एउटै कुराको अपेक्षा गरेका थियौँ–नेपाली टोलीले कडा प्रतिस्पर्धा गरोस्। नेपाली टोलीले एकतर्फी पराजय भोग्न नपरे नै नेपालको जित सरह हुने हेमन्त र मेरो छलफलको विषय हुन्थ्यो।
पाकिस्तानी टोली अलि बढी नै आत्मविश्वासयुक्त देखिएको थियो र त्यो स्वाभाविक पनि थियो। खेलको लगभग दुई तीन दिनअघि केही पाकिस्तानी खेलाडीसँग मेरो कुरा भएको थियो। उनीहरू निकै विश्वस्त देखिएका थिए। कुराकानीका क्रममा उनीहरूले आफूलाई भारतीय टिमसँग तुलना गर्न रुचाउँथे। भारतीय टिमभन्दा राम्रा तिब्र बलर आफूहरूसँग भएकोमा उनीहरूमा गुमान थियो।
पहिला व्याटिङ गर्दै नेपाली टोलीले निर्धारित ५० ओभरमा लगभग १ सय ५० रनको हाराहारीमा योगफल तयार पारेको थियो। त्यतिबेलासम्म नेपाली टोलीको कमजोर पक्ष भनेकै व्याटिङ भएको हामीलाई अन्दाज भइसकेको थियो। अन्तर्राष्ट्रिय खेलमा ५० ओभरको खेलमा १ सय ५० को हाराहारीको योगफल कुनै पनि कोणबाट राम्रो तथा प्रतिस्पर्धात्मक मानिन्न। त्यसैले अब हामीहरूको अपेक्षा बलरहरूले केही राम्रो प्रदर्शन गरेर खेललाई अन्तिम बलसम्म रोमाञ्चक बनाउन् भन्ने मात्र थियो।
मेरो मनमा त्यतिबेला सन् १९८३ को विश्वकप क्रिकेट फाइनलको स्थितिका बारेमा सम्झना आएको थियो। त्यतिबेलासम्म भारतलाई एक दिने क्रिकेटको लायक पनि मानिन्थेन। तर त्यो टिम तेस्रो विश्वकप क्रिकेटको फाइनलमा पुगेको थियो। त्यस अघि लगातार पहिलो र दोस्रो विश्वकप जितेको वेष्टइण्डिज टिम विरुद्ध उ फाइनलमा खेल्दै थियो। अनि क्लाइब हरबर्ट लायडको टोली विरुद्ध पहिला व्याटिङ गर्दै कपिलदेव निखञ्जको भारतीय युवा टोली लगभग १ सय ६० रनको हाराहारीमा आउट भएको थियो। त्यतिबेला एक दिने खेल ६० ओभरको हुन्थ्यो। तर त्यस फाइनलमा कसरी क्रिकेटको अनिश्चितताले चरम सिमा छुदै इतिहास बनायो त्यो सबैलाई थाहा नै छ। मेरो मनको कुनाबाट एउटा आश जागिरहेको थियो–त्यस्तै केही भए हुन्थ्यो नि आज पनि!
नेपालको इनिङ सकिएपछि पाकिस्तानी पत्रकार हाम्रो पेभेलियनमा आएर भनेका थिए–तिमीहरूले राम्रो खेलेका छौँ। तिमीहरूले बनाएको योगफल एउटा टेष्ट स्तरप्राप्त राष्ट्रविरुद्ध बनाएको हो। त्यसलाई कुनै पनि हालतमा कम मान्न सकिन्न।
उनको त्यो उद्गारमा प्रशंसाभन्दा सान्त्वना बढी भएको हामीले महसुस गरेका थियौँ। पाकिस्तानी इनिङ जारी रहदा उनी बेला बेलामा हाम्रो शिविरमा आइरहन्थे। तर जब पाकिस्तानका ब्याट्सम्यानहरू एकपछि अर्को गर्दै पेभेलियन फर्कदै गए, ती पत्रकारको नेपाली शिविरमा आउने क्रम पनि कम हुदै गयो। अन्तमा बरदान चालिसेले एउटा उत्कृष्ट क्याच समाएपछि पाकिस्तानी इनिङ १ सय ३० रनको हाराहारीमा रोकियो र विदेशी भूमिमा सम्भवतः पहिलो पटक नेपाली झण्डा उन्मुक्ताकासाथ फहरायो। नेपालको त्यो जित वास्तवमा आउँदा दिनका लागि अगाडि चालिएको एउटा कदम थियो। एउटा इतिहास निर्माण गरेका थिए नेपाली किशोरहरूले त्यस जितसँगै।
मैले नजिकै रहेको पाकिस्तानी शिविर तर्फ नजर पुर्याशएँ। ती पत्रकारको अत्तोपत्तो थिएन। पाकिस्तानी खेलाडी र अधिकारी सबै चिन्तित् मुद्रामा थिए। हामी विजयोत्सव मनाउन व्यस्त थियौँ। नेपाली समर्थकहरू राष्ट्रिय झण्डा बोकेर मैदानमै छिरेका थिए। मलाई लाग्यो हिलारीको देशले नेपालको ऋण तिरेको थियो। कुनै समय हिलारीले नेपालमा इतिहास बनाएका थिए अनि उनको देशले नेपाली टोलीलाई आफ्नो भूमिमा इतिहास निर्माण गर्ने अवसर दिएको थियो।
एकै छिनपछि पाकिस्तानका प्रशिक्षक राशिद आए र नेपालका व्यवस्थापक प्रमोद उपाध्यायलाई भने–बधाइ छ। राम्रो खेले तपाइँका खेलाडीहरूले।
प्रमोदले जवाफ दिए– सबै तपाइँकै केटाकेटीहरू हुन्। उनको जवाफमा लुकेको आशय मैले बुझेको थिए। आखिर तिनै राशिदले नेपाली टोलीलाई प्रशिक्षण दिइसकेका थिए।
त्यो बेला देखि अहिले सम्मको नेपाल को स्तर धेरै राम्रो भएको छ, त्यो बेलामा समाचार पनि छिन् छिन् मै सुनिन्थियो र नेपालको जितले धेरै नै खुसि बनाएको थियो!
स्कोर :
Nepal Under-19s won by 30 runs
Nepal Under-19s innings (all out 151; 48.5 overs; )
Pakistan Under-19s innings (all out 121 ; 45.4 overs; )
यिनको नीति त महाभारतमा कृष्ण-नीति जस्तै भएन र ?
आफ्नो सेना कौरवलाइ , आफु चाँही पाण्डवको सारथी …जो जिते पनि आफ्नै जीत …अर्थात् ,’दुवै हातमा लड्डु ; तोल्हाई बस्ने ढेडु !’