Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सन् २०१३ का १३ अनौठा खबर

Posted on December 31, 2013January 1, 2014 by Salokya

सन् २०१३ ले बिदा लिएर गइसक्यो। गएको वर्षका १३ वटा अनौठा खबर यसो बुझिराखम् न-

cup १) भाँडाको रङ्गले स्वादमा असर पार्दो रैछ
भोक मिठो कि भोजन भन्नेबारे स्कूलमा हामीले धेरै वादविवाद गर्‍यौँ। अब भाँडाको रङ्ग मिठो कि त्यसमा भएको खानेकुरा मिठो भन्ने बहस गरौँ। युरोपका वैज्ञानिकहरुले भाँडाको रङ्गले त्यसमा राखिएका खानेकुराको स्वादमा असर पर्ने प्रमाण भेट्टाएका छन्। उनीहरुले सेतो, क्रिम, रातो र सुन्तले रङ्गका प्लास्टिकका कपमा एउटै किसिमका हट चकलेट हालेर स्वयंसेवकहरुलाई खुवाए। स्वयंसेवकहरुले सुन्तले वा क्रिम कलरको कपमा खाँदा बढी स्वादिलो पाएछन्। जर्नल अफ सेन्सरी स्टडिजमा यो अध्ययन छापिएको छ। थप जानकारीका लागि यहाँ हेर्नुस्।

२) बुधबार साढे ३ बजे केटीहरु सबैभन्दा बूढी देखिँदा रैछन्
केटीहरु सबैभन्दा बूढी कहिले देखिँदा रैछन् ? हरेक बुधबार दिउँसो साढे ३ बजे रे। यो पनि युरोपमै गरिएको एउटा अध्ययनको नतिजा हो। यतातिर कतिको मिल्दो रैछ वा मिल्दो रैनछ तपाईँ आफै हेर्नुस्। उताको अध्ययन अनुसार बुधबारको दिन कामको तनाव चरमचुलीमा हुँदो रैछ। बिहीबारका दिन उनीहरुले आफ्ना साथीसँग ‘उ गरेर उ’ गर्दा रहेछन्। शुक्रबारका दिन चाहिँ उनीहरु सबभन्दा खुसी हुँदा रैछन्। यो अध्ययनबारे खबर टेलिग्राफमा छापिएको छ।

३)अन्तरिक्ष यात्री भएर रुनु हुन्न
लोग्नेमान्छे भएर रुनु हुन्न रे भन्ने एउटा गीत हाम्रा योगेश्वर अमात्य दाइले गाउनु भाको छ। तर अब यसलाई अलि परिवर्तन गरेर अन्तरिक्ष यात्री भएर रुनु हुन्न रे भन्ने बनाउनु पर्ला जस्तो छ। रोएर के गर्नु, अन्तरिक्षमा आँसु नै झर्दो रैनछ त नि। अन्तर्राष्ट्रिय अन्तरिक्ष एजेन्सीमा रहेका क्यानाडेली अन्तरिक्ष यात्री क्रिस ह‌्याडफिल्डले रुँदा के हुँदो रैछ भनी भिडियो खिचेर देखाएका छन्। उनले आँसुका रुपमा पानी आँखामा राख्दा यता पृथ्वीमा जस्तो आँसु तलतिर बगेन, बरु आँखा मुनि र गालातिर जम्मा भइरह्यो। लु भिडियो हेरम्

४) न्युजिल्यान्डमा लुसिफर नाम राख्न पाइन्न
नाममा के राख्या छ र भन्थे महान् साहित्यकार। तर नाममा धेरै थोक रैछ। नेपालमा त जसले जे नाम राखे पनि पाइन्छ। तर न्युजिल्यान्डमा भने जथाभावी नाम राख्न पाइन्न। लुसिफर भन्ने नाम तपाईँहामीलाई ठीकै लाग्ला। तर अहँ न्युजिल्यान्डमा त्यो नाम राख्न पाइन्न। यो वर्ष त्यहाँको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले ७७ वटा नामको सूची सार्वजनिक गरेको थियो जसलाई अस्वीकृत गरिएको थियो। लुसिफर बाहेक अरु केही नाम यस्ता छन्- अनल, . (फूल स्टप), ४रियल, भी८, क्विन भिक्टोरिया, जस्टिस। बिचराहरुलाई नामै राख्ने पनि स्वतन्त्रता रैनछ। थप जानकारी यहाँ हेर्नुस्।

५) ६ एकान ६ हैन, छ आठं कति ?
छ एकान छ बोलको गीतले वाक्कै लगाइसक्यो हामीलाई। तर बच्चाहरु सबैभन्दा बढी झुक्किने गणना चाहिँ ६X८ कति भन्नेमा रैछ। बेलायतको एउटा स्मार्टफोन एप्सबाट लिइएको तथ्याङ्क अनुसार ६X८ मा बच्चाहरु बढी झुक्किने रैछन्। अनि ९X१२ को गुणन गर्न चाहिँ धेरै समय लगाउँदा रहेछन्। हाम्रोतिर पनि यस्तै हुन्छ कि हुँदैन- यसो बच्चाहरु भेट्दा सोधिहेरम् त बाबुनानी हो, ६X८ कति भनेर। थप जानकारी हेर्नुस्।

६) केटीहरु हो, निद्रा नपुगेका केटाहरुदेखि सावधान
sleep
निद्रा नपुगेका केटाहरु आफूप्रति इन्ट्रेस्टै नदिने केटीहरुलाई पनि आफूप्रति आकर्षित भएको ठान्दा रैछन्। केटीहरुमा भने यस्तो असर देखिएन। रक्सी खाँदाको जस्तो असर निद्रा नपुगेका केटाहरुमा देखिँदो रहेछ। अध्ययनबारे थप जानकारी यो समाचारमा छ।

७) वैज्ञानिकहरुलाई साइकल कसरी चल्छ भन्ने कुरा अझसम्म थाहा रैनछ
विज्ञानले यो गर्‍यो, त्यो गर्‍यो, यो रहस्य पत्ता लगाउँछ, त्यो रहस्य पत्ता लगाउँछ भनेर भन्नेहरुको कुरा छाडिदिउँ। खासमा वैज्ञानिकहरुलाई साइकल कसरी चल्छ भन्ने कुरा पनि अझसम्म थाहा रहेनछ। साइकलको आविस्कार भएको कति भइसक्यो, मान्छे आकाशमा उडिसके, चन्द्रमामा पुगिसके। तर धर्तीमा चल्ने साइकल दुई पाङ्ग्राको भरमा कसरी गुड्छ नलडिकन ? थप जानकारी यो खबरमा।

८) कट्टुमा चम्चा राख्ने सल्लाह किन?
जबर्जस्ती बिहे गराइन लागेकी केटीहरुलाई एउटा एनजिओले कट्टुमा चम्चा लुकाउन सल्लाह दिएछ। किन त ? कारण अलि रोचक छ। खासमा कर्मा निर्वाणा नामको एनजिओले यस्तो सुझाव यसको हेल्पलाइनमा फोन गर्ने केटीहरुलाई विमानस्थलमा यसो गर्न सुझाव दिने गरेको हो। किनभने यसरी कट्टुमा चम्चा लुकाउँदा एयरपोर्टको मेटल डिटेक्टर बज्छ। त्यसपछि छानबिनका लागि केही समय लागिहाल्छ। उनीहरुलाई एकान्त स्थलमा लगेर छानबिन गरिने हुनाले त्यही बेला लौ न मलाई त जबर्जस्ती बिहे गराउन लागिएको छ मद्दत गर्नुस् भन्न पाइयो। यसबारे खबर यहाँ पढ‌्नुस्।

९) लभ पर्‍या केटो ढिलो हिँड्छ
लभ पर्‍या केटीसँगै हिँड्दा केटा ढिलो हिँड्छ भन्ने तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन्। खासमा केटीहरुभन्दा केटाहरु छिटो हिँड्छन्। सियाटल प्यासिफिक युनिभर्सिटीमा गरिएको अध्ययन अनुसार मन परेकी केटीसँग हिँड्दा केटाहरुले आफ्नो गति करिब सात प्रतिशतले घटाउँछन्। केटा साथीसँग हिँड्दा वा अरु लभ नपरेका केटीहरुसँग हिँड्दा भने त्यस्तो हुन्न। थप खबर यहाँ पढ्नुस्।

१०) स्वार्थी मान्छेलाई बाँदरले पनि मन पराउँदैन
नेचर कम्युनिकेसन्समा छापिएको एक अध्ययन अनुसार बाँदरले स्वार्थी मान्छेलाई मन पराउँदैन। थप जानकारी यहाँ छ।

११) छोटकरी नामले नबोलाउन अनुरोध
हामीकहाँ माधवकुमार नेपाललाई माकुने, पुष्पकमल दाहाललाई पुकदा आदि भनेर अनौपचारिक रुपमा लेख्ने/भन्ने चलन छ। तर दक्षिण कोरियामा त राष्ट्रपति लगायतका उच्च पदस्थ अधिकारीहरुलाई छोटकरीमा नै लेख्ने/भन्ने चलन रहेछ मिडियामा। पूर्व राष्ट्रपतिहरु किम यङ सामलाई वाइएस, किम डे जुङलाई डिजे, लि म्युङ बाकलाई एमबी लेखिएको थियो। अहिलेकी राष्ट्रपति पार्क गियुन हाइलाई जिएच वा पिपी भन्नुपर्ने हुन्थ्यो। तर उनी आफैले त्यसो नभनी प्रेसिडेन्ट पार्क भन्न अनुरोध गरिन्।

१२) कान्छो छोरालाई आमाले सँधै सानै देख्छिन्
जेठो छोरा बाउको, कान्छो छोरा आमाको भन्ने जमाना थियो हाम्रो। अहिले त महँगीले सहरियाहरु एउटा बच्चा जन्माएपछि अर्को जन्माउनै मान्दैनन्। त्यसैले सहरिया कति बच्चाको दाजुभाइ वा दिदीबहिनी नै हुँदैनन्। त्यो अर्कै कुरा भो। वैज्ञानिकहरुका अनुसार आमाहरुमा एउटा बेबी इलुजन हुन्छ- त्यो हो कान्छो छोरा जतिसुकै अग्लो भए पनि आमाले अरुभन्दा सानै देख्छिन्। थप जानकारी यहाँ।

१३) सेकुवा पोलेर विरोध
विरोध गर्दा के गरिन्छ ? हामीकहाँ टायर बाल्ने चलन छ। अलि अघि माओवादीहरुले सडकमा नाचगान गरेर विरोध गर्न सुरु गरेका थिए। ब्राजिलमा भने सडकमा सेकुवा पोलेर खाँदै विरोध गर्ने गरिँदो रहेछ। लौ यस्तो चलन त हामीकहाँ पनि सुरु गर्ने कि, सित्तैमा खान पाइने भएर भिड पनि राम्रै हुन्छ होला। म जस्तो शाकाहारीलाई पो गन्धले पिरोल्ने भो त। थप खबर यहाँ छ।

सन् २०१४ सुरु भइसकेको छ। तपाईँहरु सबैलाई शुभकामना। मंगल होस्।

7 thoughts on “सन् २०१३ का १३ अनौठा खबर”

  1. sajan says:
    January 1, 2014 at 10:47 pm

    ११) छोटकरी नामले नबोलाउन अनुरोध
    चिरन्जीबि कुमार वाग्ले को पनि छोटकरीमा नाम नाबोलौन्दा राम्रो होला

    Reply
    1. Subhash Neupane says:
      January 2, 2014 at 4:21 pm

      कसैलाई नाम वा थरको पछाडी ‘जी’ राखेर सम्बोधन पनि गर्नु नहुने रहेछ ! जस्तै: रामु(नाम), तमु(थर) !

      Reply
  2. dharmendra says:
    January 1, 2014 at 7:05 pm

    एउटा अनौठो खबर छुटेछ
    माओबादीको सर्मनाक पराजय

    Reply
  3. Ganesh says:
    January 1, 2014 at 11:36 am

    हाम्रो लागि सन् २०१४ को अनौठो खबर चाहि अनुहार नपरेको सुशील कोईराला प्रधान मन्त्रि हुनु अनि दुख र अनौठो खबर चाहि सुजाता, आरजु र मिसेस खुम बहादुर संबिधान सभामा मनोनित भएर एक कौडीको पनि प्रतिनिधित्व नगर्नुमा हुनेछ|

    Reply
  4. Ang phurba says:
    January 1, 2014 at 7:11 am

    सन् २०१४ मा चाही नेपालमा नया संबिधान बनेको अनौठो खबर सुन्न पाओस!

    Reply
  5. दिप श्रेष्ठ says:
    January 1, 2014 at 12:58 am

    १०) “स्वार्थी मान्छेलाई बाँदरले पनि मन पराउँदैन”

    स्वार्थी नेताहरुलाई चाही अझैपनि हनुमानहरुले सेवा प्रदान गरिरकै छ त?

    Reply
    1. Shankar says:
      January 1, 2014 at 2:07 pm

      ति सब नक्कली हनुमान हुन् नि , फाइदा लिउञ्जेल हनुमान बनेका , फाइदा सकिएपछि जुम्रा ले मोरेको जिउ छोडे जस्तो छोड छन् |

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme