Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा : भुइँचालो

Posted on December 28, 2013December 29, 2013 by mysansar

-अभय श्रेष्ठ-

saturday-fiction बिहान ४ बजे झिसमिसेमै ठूलो भुइँचालो गयो । पाँच दशमलव सात रेक्टर स्केलको । झन्डै डेढ मिनेटसम्म । कहिले खाटमा पिङ खेलेजस्तो हुन्थ्यो, कहिले तलमाथि थचारेजस्तो । सुनाकोठीको कामी बस्तीमा खाट हल्लाएको भन्दै लोग्नेहरू स्वास्नीलाई र स्वास्नीहरू लोग्नेलाई खै गरिरहेका थिए । यो क्रम नरोकिएपछि उनीहरूले थाहा पाए, भुइँचालो पो गएको रहेछ ।

पसले घिने कामी चिया पकाउन लागेको थियो । मेचमा राखेको गिलाँस नाच्न थाल्यो । बाहिर निस्कन खोज्दा उसले पाइलै चाल्न सकेन । रनमायाले चाहिँ लोग्नेलाई उठाई । भुइँचालो आएको सुन्नेबित्तिकै लोग्ने बुर्कुसी मारेर टाप कस्यो । तीनटा भुरा झुन्ड्याएर निस्कन लाग्दा छाप्रोको जस्ता खस्यो । धन्न, रनमायाको खुट्टामा अलिकतिमात्र चोट लाग्यो ।

मानिसहरू हत्त न पत्त निस्किए । कतिले लुगै लगाउन भ्याएनन् । कोही सिरकै ओढेर बाहिर निस्किए । गुहुको खाडल सोझै माथि बाँसका दुइटा नोलको पुल बाँधेर बनाइएका चर्पीमा दिसा बस्न लागेका कति जना झन्डै खसेका थिए । कतिको ट्वाक घोप्टियो । कतिको चर्पीमै खुट्टा गाडियो । धेरैजसोचाहिँ उठ्नै भ्याएका थिएनन् ।

चोकमा भेला भएका मानिसहरूको भिडमा एउटा उत्ताउलो केटो टर्च बालेर हेर्न थाल्यो । कोही कट्टु र गन्जीमात्र लगाएर, कोही गन्जीमात्र लगाएर, कोही कट्टुमात्र लगाएर निस्केका थिए । एउटा वृद्ध त पूरै नांगै थियो । आइमाईहरूको हालत त्यस्तै । कति जना पेटीकोटमात्र लगाएर निस्केका थिए ।

केटोले कोको नांगै छन्, कसले गन्जीमात्र, कसले कट्टुमात्र लगाएको छ भनेर कोरली–किशोरीको हुलमा गएर भनिदियो । तिनीहरू मुख छोपीछोपी हाँस्न थाले । हौसिएर केटोले तिनीहरूलाई नै सोधिदियो, ‘तिमारु ता नांगै चैनौ नि ?’

‘च कि चैन एर्नू नि चासो भे ।’

‘हो त ?’ केटोले तिनीहरूपट्टि टर्च बाल्यो । केटीहरूले लाजले मुख छोपे ।
‘लौ यिनारु नि नांगै रचन् ! बिह्यै नअरी नांगै सुत्चौ कि क्या हो ए चाँचरी हो ?’
‘जे पायो त्यही नबोल्नू है, कल्ले लुआ ला’ चैन ? लौ एर ।’
उता क्षत्री–बाहुन बस्तीमा कोलाहाल मच्चिइरहेको थियो ।

२
सदरमुकामबाट निकै टाढा अनकन्टार क्षेत्रमा रहेको सुनाकोठी कर्णालीबाट त अलि टाढै थियो । विकास र जीवनशैलीका हिसाबले भने यो कर्णालीका कुनै पनि अनकण्टार क्षेत्रभन्दा फरक थिएन । गाउँमा छ्यासमिस १५ घर थापा क्षत्री, २० घर बाहुनका र तीन सय मिटर पश्चिमपट्टि कामीहरूका आपसमा जोडिएका ४५ छाप्रा थिए । क्षत्री–बाहुनका सबैजसो घर पक्की, टायलका छाना, दुईतले । उब्जाउ खेतबारी प्रशस्त भएकाले कामीहरूलाई बोकाएर मङ्सिरमा भारीका भारी धान र जेठमा सदरमुकाममा गहुँ बेच्न लगिन्थ्यो ।

गाउँमा हाई स्कुल थिएन । प्राथमिक स्कुलमा क्षत्री–बाहुनका छोराछोरी कक्षामा र कामीका छोराछोरी खुला चौरमा पढ्थे । हेडमास्टर र मास्टर सबै त्यही बस्तीका क्षत्री–बाहुन थिए । मास्टरहरूबाटै यो भेदभावको पर्खाल खडा गरिएको थियो । प्राथमिक कक्षा सक्ने क्षत्री–बाहुन दुई घण्टा हिँडेर उपल्लो कटुन्जेमा पढ्न जान्थे । कामीका छोराछोरीमध्ये एकदुई जनाले मात्र प्राथमिक शिक्षा पूरा गरेका थिए । त्यसपछि हाई स्कुल पढ्ने कुरा उनीहरू सपनामा पनि चिताउँदैनथे ।

भुइँचालोले क्षत्री–बाहुनका पैँतीसै घरका भुइँतलासमेत नराम्ररी भत्केका थिए । कति घरका फलैँचासमेत बारीका पाटामा पुगेर घोप्टिएका थिए । बच्चा र बुढाबुढी गरी १५ जनाको लास भेटियो । जिउँदै उद्धार गरिएका तीन महिला पनि एकै छिनमा मरेका थिए । हतारमा फुकाउन भ्याइएका बाहेक अधिकांश गाईवस्तु मरेका थिए ।

हरेराम रिसालको पूरै परिवार भुइँचालोमा पुरिएको आशंका थियो । बाहिर कोही थिएनन् परन्तु कुनै लास भेटिएन ।

कामी बस्तीका युवक कुँडुलो लागेर क्षत्री–बाहुनका भत्केका घरअघिल्तिर उभिए । कसैले केही भन्ने हो कि भन्ने डरले उद्धारमा जुट्न तिनीहरू अन्कनाइरहेका थिए ।

हुन त क्षत्री–बाहुन र कामी आपत्मा मिलेकै देखिन्थे । मर्दापर्दा, आपत्विपत्मा कामीहरूलाई क्षत्री, बाहुन सक्दो सहयोग गर्थे । तर, धारा, पँधेरा, स्कुल र मन्दिरमा उनीहरूमाथि सधैँ भेदभाव हुन्थ्यो । ‘छोएको’ निहुँमा बारम्बार उनीहरू कुटाइ खान्थे । तैपनि, क्षत्री–बाहुनका खेतीपाती र अन्य सबै परिश्रमका काम तिनैले धानिदिएका थिए । पाँच वर्षअघि नै छुवाछुतमुक्त घोषित मुलुकमा सुनाकोठीका कामीको सामाजिक हैसियत पशुको भन्दा तल थियो । गाई, भैँसी, कुकुर, भेडा, बाख्रा मजासँग क्षत्री, बाहुनका घरभित्र बस्थे, कामीहरू भने दैलोमै टेक्न पाउँदैनथे । त्यहाँ कुनै एनजीओ पुगेको थिएन, न कुनै विकास छिरेको थियो । हो, परिवर्तनको सपना बोकेर दुई किशोर र तीन किशोरी माओवादी जनयुद्धमा हिँडेका थिए । तर, ती कहिल्यै फर्केनन् । परिवर्तनको सपना पनि सायद तिनीरूसँगै बिदा भएको थियो । माओवादी शान्ति प्रक्रियामा आएर कतिपय लडाकुले स्वैच्छिक अवकास लिइसक्दा पनि नफर्केपछि तिनका बाबुआमाले समेत माया मारिसकेका थिए ।

गाउँमा सामाजिक परिवर्तनको आवाज कुण्ठा र रिसले बाहेक संगठितरूपले कहिल्यै घन्केन । कामीहरू क्षत्री–बाहुनसामु पर्दा हजुर, विष्ट, बाजे भनेर निहुरी मुन्टी न हुन्थे। पिठिउँपछाडि भने ‘चोर विष्ट’, ‘पातकी काठा’ भन्थे । क्षत्री, बाहुन भने कामीहरूलाई खुसी पर्दा होस् वा रिसाउँदा, हाकाहाकी ‘तँ, चोर डुम’ भनेर सम्बोधन गर्थे।

‘के एरेर बस्चौ एइ तिग्रे हो, यस्तो बेलाँ नि तमासे ओन्ने हो ?’ वृद्ध हकबहादुर कामीले तमासे बनेर उभिएका कामी ठिटाहरूलाई हका¥यो ।

‘फेरि क्यार्ने हुन्, के हन्ने हुन्, उट्न (कुट्न) पो आउन्ये हुन् कि ठूलाबा ?’ आङ कन्याउँदै जिते कामीले भन्यो ।

‘लौ उटेछन् भने उट्लान् । तर, यस्तो बेलाँ आफ्नो धर्म इर्सिनुउन्न बुचिस् ? लौ सहयोग अर । तिमारलाई केही अरेचन् भने म जबास्ती भएँ ।’

हर्के आफैँ अघि स¥यो । केटाहरू सबै उनको पछि लागे ।

कसैले केही भनेनन् । क्षेत्री–बाहुनका आँखामा भनिनसक्नु वित्यासको आँधी मच्चिरहेको थियो । कामी युवकप्रति असीम कृतज्ञताले तिनीहरू बोल्नै सकिरहेका थिएनन् ।

सबै हातमा हात मिलाएर उद्धारमा जुटे । गणपति रिसालको गोठको निदालले थिचिएर भैँसी, पाडा र दुइटा बाख्रा रक्ताम्मे भएर मरिसकेका थिए । सिवाय एउटा पाठो कुनामा निसासिइरहेको थियो । बाहिर निकाल्नेबित्तिकै त्यो चिच्याउँदै, अत्तालिँदै बेतोडले दौडिएर एकै छिनमा अलप भयो । त्यसको पछि लाग्न कसैलाई फुर्सद थिएन ।

भुइँचालो प्रभावित क्षेत्रमा सेनाले उद्धार गरेको, राहत वितरण गरेको समाचार रेडियो नेपालले भनिरहेको थियो । सुनाकोठीमा न कुनै सेना उद्धार गर्न आयो, न कसैले राहत सामग्री वितरण ग¥यो । कामी बस्तीका केटाकेटी, वृद्ध, आइमाई सबैले लगातार तीन दिनसम्म उद्धार कार्यमा सघाए ।

३
दलित बस्तीमा सबैजसो घरका भित्ता नरकट, बाँस र निगालामा हिलो पोतेर ठडिएका थिए । तीन घरमात्र इँटाको एकतले थिए । तिनमा जस्ताका छाना थिए । माथि ढुंगा, बाँस र इँटाले थिचेर राखिएकाले तिनीहरूका जस्ता अलि तल सरेका थिए । एउटा घरको एउटा जस्ता खसेको थियो । बाँकी कतै कुनै क्षति भएन ।

उता, भुइँचालाले क्षत्री–बाहुन बस्ती भने कंगाल भएको थियो । पाँच जना केटाकेटीसहित १८ जना मरेका थिए । गाईवस्तु सबै सखाप । भएका अन्न सबै पुरिए । कतिले परिवारै गुमाएका थिए । जसोतसो तिनीहरू भत्केको घरकै इँटा चाङ लगाएर छाप्रो बनाएर बसेका थिए । त्यसलाई हिलोले टाँसेर गारो लगाउनसमेत कसैले भ्याएको थिएन।

कामीहरूले इँटा थुपारेर छाप्रो उठाउन क्षेत्री–बाहुनलाई सघाए । भुइँचालोअघि पनि उनीहरू लुगा सिउँदा, हातहतियारमा साँध लगाउँदा ज्याला पाउँदैनथे । त्यसबापत तिनीहरू आ–आफ्ना विष्टको घरबाट मंसिरमा तीन पाथी धान, केही चामल र तरकारी पाउँथे ।

दिनभरि काम गर्दा पुन्कीस्वरूप एक माना चामल र अलिकति आलु, मासको दाल र खुर्सानी पाउँथे । दलितहरू त्यही चामल पनि बेचेर गहुँ वा मकैको पिठो किन्थे । यसो गर्दा पूरै परिवारको एक छाक पेट भरिन्थ्यो । खेतबारीमा काम गरेबापत भने अलिकति ज्याला पनि पाउँथे । अहिले त चाहेर पनि क्षत्री–बाहुनले ज्याला दिन सक्दैनथे ।

हतियार, कुखुरा, सुँगुर, बुँगुर, हाँस कामीहरूका गुजाराका प्रमुख स्रोत थिए । त्यसबाट छाक टार्न उनीहरूलाई सधैँ हम्मे पथ्र्यो ।

चामल बेचेर पिठो किन्न नपाएका दिन कामी बस्तीमा पनि भात पाक्थ्यो । त्यसले पूरै परिवारलाई टन्न खान पुग्दैनथ्यो । यसको एउटा फाइदा पनि थियो । भात पकाउँदा माड खान पाइन्थ्यो । एक माना चामल छ भने चार माना चामल पाक्ने भाँडोमा टन्न पानी राखिन्थ्यो । उम्लेपछि त्यसको माड काढिन्थ्यो । बच्चाहरू माडमा नुन घोलेर खुब मीठो मान्दै खान्थे । यसो गर्दा बच्चाहरू झन्डै अघाइसकेका हुन्थे । तिनले भात अत्यन्त कम खान्थे र बाबुआमाले पनि खान पाउँथे । चामल अत्यन्त कम भएका बेला भने पूरै परिवारले माड खाएर गुजारा चलाउँथ्यो । जस्तो कि घरमा एक चौथाइ वा आधा मानामात्र चामल छ भने त्यसमा एक पाथीजति पानी हालिन्थ्यो र खोले बन्नेगरी बेसरी पकाइन्थ्यो । यसबाट बनेको माड अझ मीठो हुन्थ्यो । माडमा अलिकति नुन राख्दा काइदा हुन्थ्यो । त्यसमाथि अलिकति चिनी पाए दूधभन्दा मीठो ।

हकबहादुर कामीकी स्वास्नी दलमायालाई हेलाँहोचो गर्ने क्षेत्री–बाहुनसित अग्घोरै रिस उठ्थ्यो । ऊ विद्रोही थिई । मन्दिर, धारा, स्कुल, पँधेरामा सबैको समान अधिकार हुनुपर्छ भनेर क्षत्री–बाहुनसित हाकाहाकी बाझ्थी । एक पल्ट जबर्जस्ती मन्दिर छिर्न खोज्दा क्षत्री–बाहुन खलकका एक हुल आइमाई ओइरेर उसलाई बेस्सरी जगल्ट्याएका थिए । गणपतिको छोरा मणिराम र चार जना क्षत्री युवकले स्वास्नी मत्याएर राखेको भनी हकबहादुरलाई चडकन लगाएका थिए र उसकी तरुनी छोरी रमलालाई हातपात गरेका थिए । (त्यसै पनि ती युवक एकान्तमा भेट्नेबित्तिकै रमलाको छातीमा हात पु¥याउँथे र अनेक लोभ देखाएर फसाउन खोज्थे ।) त्यो बेला कामीहरू डरले तैँ चुप मै चुप थिए । कतिपयले त उल्टै दलमायालाई ‘नेता पल्टेकी’ भनेर आक्रमणकारी युवकसामु खुसामद गरेका थिए ।

क्षत्री–बाहुनका नजरमा चढेकी दलमाया कामी बस्तीमा भने अत्यन्त दयालु आइमाईका रूपमा चिनिन्थी । ऊ बस्तीभरिका बालबालिकाकी ‘ठूलीआमा’ थिई । दस–पन्ध्र दिनमा एक चोटि बस्तीभरिका बालबालिकालाई माड बनाएर टन्न खुवाउँथी । माड खुवाउने दिन बस्तीभरिका बालबालिका दसैँ आएजस्तै रमाउँथे । बालबालिका घरबाटै आल्मुनियमका ठूलो बटुको लिएर आउँथे र लाइन लागेर माड थाप्थे ।

‘ठूलीआमा, माड कहिले ख्वाउँचेउ हो ?’ जहाँ भेटिए पनि बच्चाहरू सोधिहाल्थे ।

‘पख न, चामल हुनासात ख्वाइहाल्चु नि मोरामोरी हो !’ दलमाया भन्थी । नभन्दै केही दिनमै ऊ बस्तीभरिका बच्चालाई जम्मा पारेर माड खुवाउँथी । त्यसमा हकबहादुर र उसकी छोरी रमलाले खुसीसाथ सघाउँथे । बस्तीभरिका बालबालिकाका लागि हर्कबहादुर ठूलाबा र रमला ठूल्दिदी थिए ।

४
भुइँचालोपछि क्षत्री–बाहुन बस्तीमा भोकमरी सुरु भयो । खोतलखातल पारेर निकालिएका अन्न पनि सकिएको थियो । धान पाक्न अझै दुई, साँढे दुई महिना बाँकी थियो । बारीका दुधिला मकै काँचै खाएर सकिएका थिए । कति छाक तिनले टाढाका आफन्तकहाँबाट अन्न सापटी ल्याएर छाक टारे । कतिन्जेल चल्थ्यो यसरी ? आखिर भोकमरी सुरु भइहाल्यो । क्षत्री–बाहुनहरू अब लट्टेको साग, कर्कलो, लुँडे, च्याउ,फलफूल, कन्दमूल खाएर छाक टार्न थालेका थिए । विषालु च्याउ खाँदा सोम थापाको एकमात्र सन्तान १५ वर्षे हरिहरको मृत्यु भयो । त्यसपछि उनीहरूले छानीछानी रक्तेच्याउ, बुढीच्याउमात्र खान थालेका थिए । परन्तु, च्याउकै कारण बस्तीमा आतंकारी गोपनजस्तै महामारी छिरिरहन्थ्यो ।

लट्टे र लुँडेको साग क्षत्री–बाहुनले त्यसअघि कहिल्यै खाएका थिएनन् । काले कामीले भलाद्मी भरतमणि रिसाललाई सिकाइदियो, सबैले खान थाले । नत्र, यसअघि ती गरिब कामीले मात्र खाने कुरा थिए । अब क्षत्री–बाहुनका आहाराको प्रमुख स्रोतै लट्टे र लुँडेको साग थिए । उसिनेर नुन–खुर्सानीसित साँदेको लट्टेको साग उनीहरूलाई मासुजस्तै स्वादिलो लाग्न थालेको थियो । बारीभरि लट्टेका अग्ला–अग्ला झाङ थिए । तिनका मुना चुँड्दै खाँदा ठुटै हुन्थे । राम्ररी पलाउनै नपाई फेरि चुँडिन्थ्यो । बिस्तारै अब लट्टे र लुँडेका साग पनि लोप हुन थालेका थिए । सहरबाट आफन्तले पठाएका चाउचाउ, दालमोठका पोका उहिल्यै सकिइसकेका थिए । कर्कलोका डाँठ र बेलै नभएका पिँडालु पनि सकिए ।
विपत्ति र अभावमा सबैभन्दा हेपाहा भोक नै हुँदोरहेछ । विपत्ग्रस्त क्षत्री–बाहुन बस्तीमा भोकले मानौँ हिँडेर, साइकल चढेर वा मोटरसम्म चढेर आउन सर्वथा अस्किारिदिएको थियो । मानौँ त्यो रकेट चढेर आउँथ्यो र त्यसैमा राखेर लैजान खोज्थ्यो ।

गाविस र जिविसमा ढिलो गरी सूचना पुग्यो तैपनि कुनै राहत आइपुगेन ।

क्षत्री–बाहुनलाई यस्तो संकट कहिल्यै परेको थिएन ।

५
भरतमणि रिसालकी पत्नी निर्मला तीन दिनदेखि ज्वरोले निस्लोट थिई । ज्वरोले थलिँदा पनि केही खान नपाउँदा झन्झन् गलिरहेकी थिई । दुई छोरी र एक छोरा भोकले कलह गरिरहेका थिए ।

पढेलेखेका र प्रगतिशील विचारका भरतमणि पहिलो पल्ट उग्रचण्डी गाउँमा जजमानी गर्न गएको थियो । पण्डित्याइँमा उसलाई विश्वास थिएन । परन्तु, भोक र गरिबीले के विश्वास, के अविश्वास, जेलाई पनि हतियार बनाउँदो रहेछ ।

बुढाले सिदा र दक्षिणा ल्याउँछन् भनेर निर्मला काट्ने बेला भएको बालीजस्तै भरिएकी थिई । त्यही उत्साहले ऊ ज्वरोलाई पनि मिचिरहेकी थिई । केटाकेटी छाप्रोअगाडि खेल्दाखेल्दै भोकले कलह गर्न थाले ।

जेठी छोरी कमला भुँडी थिच्दै आएर रुन थाली, ‘आमा ओक (भोक) लाग्यो हन्या।’

‘तेरो बाबा जजमानी गर्न जानुभ’को थाहा हुँदाहुँदै किन कराउँचेस् ? भाइबैनीलाई फकाइफुल्याइ गर्नु त कता हो कता, जेठीबाठी भएर आफैँ चिच्याउँचेस् ? जा चुप्पो ला’र एक छिन भाइबैनीलाई खेला ।’

‘नानी मान्दै मान्दिन, भोक लाग्यो, पापा दे दिदी भनेर हैरान पार्चे । झन् बाबुको त के कुरा गर्नू । पापा कानी, पापा कानी भनेर रोएर हैरान पार्च । अनि कसरी खेलाउनु मुइले ?’

‘त्यसो नभन्, जा न छोरी एक छिन तिनेर्लालाई मना ।’

‘हच्, अब मेरो माचु ख्वाएर तिनेर्लाई मनाउँला, उन्न (हुन्न) ? यसरी सधैँ ओकै अस्नुभन्दा त बरु मोर्न पाए हुन्त्यो नि !’

‘बढ्ता कुरा गर्चेस् ? मान्छे सानी, कुरा ठूला, उत्ताउली !’

भोकले चिच्याइरहेका माहिली छोरीलाई फकाउँदै आमाले भनी, ‘ए सानु, एक छिन दिदीसँग खेल्न जाऊ न छोरी ।’

‘आज त मलाई पनि कान (खान) दिनुुस् ऐ त ?’ माइली छोरी विमलाले भनी, ‘मलाई भने कानै नदिने ? सधैँ कान्चुले मात्र काने ?’

‘अँ, कान्छुलाई भोकै राखेर तिमेर्लाई ख्वाउनुपर्ला नि जाँठी हो !’

‘अँ, सधैँ कान्चुले मात्र काने ? हाम्रो चाहिँ मुक छैन कि क्या हो ? दिदीचाहिँ लुकिलुकी काने, मलाई भने कहिल्यै पेटभरि कान दिनुहुन्न !’

‘गाला फुट्ने गरी हान्दिन्छु, बढ्ता बोल्छे, कहिले खाई दिदीले लुकेर ? लुकेर खान खानेकुरा ’नि त हुन प¥यो नि ! तेरा बाबा र मैले पानीमात्र खा’को आज तीन दिन भइसक्यो, तँलाई भने पेटभरि खाने सुर्ता छ । ल भैगो, भाइलाई खेलाइस् भने अलिकति खान पाउलिस् ! त्याँ भाइलाई ¥वाको सुनेँ भने पापा होइन, बाक्लो च्युरा चाहिँ खालिस् नि !’

भरतमणि टुप्लुक्क आइपुग्यो । हातमा कालो पोलिथिनको सानो पोकोमात्र देखेर निर्मला निराश भई । केही बोलिन ।

‘बेकार त्याँसम्म जानुमात्र भो । भरतमणि आउन पाउँदैनन् रे भनेर कसले सुनाइदिएछ, अर्कै बाहुन खोजेर लगाइसकेछन् । नपुगी त्यसै फर्केँ ।’

‘तपैँले चा’को र उनेर्ले ग¥या ठीक्क भो, मोरिहालून्, अर्कालाई सित्तैमा दुःख दे’र ! को रैछ नि त्यो कुरा पु¥याउने असती ?’

‘के थाहा ! दुःखमा दुःखैले पनि जिस्क्याउँछ भनेको यही रहेछ ।’

‘यी बच्चाले भोक लाग्यो भनेर मेरो मासु खान लागिसके । बाबाले खानेकुरा ल्याउनुहुन्छ भनेर सधैँ मैले यिनेर्लाई कति ढाँट्नू ! यिनलाई के ख्वाएर बचाउनू ! कस्तो मरेको जुनी पाइएछ भगवान् !’ अत्यास नाप्ने कुनै फित्ता थिएन । नत्र त्यो निर्मलाको पूरै जिन्दगीभन्दा लामो हुन्थ्यो । लोग्ने चुप्पो लागेको देखेर रिसले गुम्लुङ्ग मुख छोपेर सुती ।

खल्तीबाट एक पुरिया बिस्कुट निकालेर भरतमणिले छोराछोरीलाई बाँडिदियो । एकै छिनमा भान्छामा छिरेर भाँडा बजाउन थाल्यो । पन्ध्र मिनेटपछि मगमग मासुको बास्ना आउन थाल्यो । एक घण्टा जतिपछि भरतमणिले निर्मला र छोराछोरीलाई टन्न ‘खसी’ को सुरुवा खुवायो । सुरुवाले सबैको फुर्ती बेग्लै भयो ।

खासमा त्यो काले कामीले भरतमणिलाई दिएको सुँगरको मासु थियो ।

भरतमणिले धन्न यति भए पनि चलाखी ग¥यो । क्षत्री–बाहुनका सबैजसो परिवार तातो पानी खाएर, कुइँकुइँ गरिरहेको पेट थिचेर दिन गुजारिरहेका थिए । धान पाक्न अझै डेढ महिना बाँकी रहेको सम्झँदा उनीहरू अत्यासको फित्ताले जिन्दगी र मृत्युको दुरी नाप्न थाल्थे ।

६

भुइँचालोपछि माड खुवाउने तेस्रो पालि अचम्मको दृश्य देखियो । कामी बालबालिकाको भिडमा एउटा बाहुनचरी मिसिएर माड थाप्न अघि स¥यो । त्यो राममणि रिसालको छोरो शंकरदेव थियो । दलमायाको छोरी रमलाले चिनिहाली । बित्यास पर्ला भनेर त्यसलाई फकाएर घर पठाउन खोजी । त्यो भोक लाग्यो भन्दै घोप्टो परेर रुन थाल्यो ।
दलमायाले कामी बालबालिकालाई एक छिन रोकेर त्यसलाई टन्न माड खुवाइदिई । त्यसको माडमा नुनमात्र होइन, अलिकति चिनी पनि राखिदिई । बालक तृप्त भएर गयो ।

एकै छिनमा क्षत्री–बाहुन बस्तीबाट थप चार बालक बटुको लिएर लाइनमा उभिए । दलमायाले तिनीहरूलाई पनि अगाडि ल्याएर टन्न खुवाइदिई । तिनीहरूका भागमा पनि रमलाले चिनी थपिदिई । तिनीहरू टन्न पेट भरेर हाँस्दै बिदा भए ।

‘हाम्रो पालो कहिले आउँच टूलीआमा ?’ कामीका बालबालिकाले सोधे ।

‘तिमारु भनेका सधैँ खाइरका त औ नि, पख न !’ दलमायाले भनी ।

हेर्दाहेर्दै एकै छिनमा क्षत्री–बाहुन बस्तीका सारा बालबालिका बटुको बोकेर सलहको बथानझैँ ओइरिए । अब कामी बालबालिका स्वयं खुसीसाथ तिनीहरूलाई पालो छाडिरहेका थिए । कति बालबालिकाले आ–आफ्ना घरबाट सुकुल, चकटी ल्याएर तिनलाई बसाले । तिनका बटुकामा माड थप्न बालबालिकाले नै सहयोग गरे ।

दलित बालबालिकालाई दलमायाले आज माड खुवाउन पाइन । तैपनि ऊ त खुसीको मान्दै्र फिँजारेर बसिरहेकी थिई । बालबालिकाको अनुहारमा ऊ ईश्वरको रूप देख्थी । आफूलाई छिःछिः दुरदुर गर्ने र दागा धर्ने क्षत्री–बाहुनका छोराछोरीलाई आज उसले अरु नभए पनि टन्न माड खुवाएर पठाउन पाएकी थिई ।

एकै छिनमा हकबहादुरका पुराना विष्ट थापा खलकका रघु, दयाबहादुर, कर्ण र रिसाल खलकका राममणि, श्याममणि र पढेलेखेका भलाद्मी भरतमणि पनि झुल्किए । दलमाया र रमलाका आँखामा आतंकको आँधी ओहोरदोहोर गर्न थाल्यो ।

क्षेत्री–बाहुन आएका देख्नासाथ कमिनी र बालबालिका छाडिएका सुँगुर, बुँगुर र कुखुरा धपाउँदै खोरभित्र हुल्न थाले ।

फेरि एकै छिनमा मणिराम रिसाल, शंकर रिसाल, रुद्र रिसाल, पुष्प थापा, खड्गबहादुर थापा, हर्ष थापा, रमेश थापा, शिवमणि रिसाललगायत दस युवक थपिए । कामी समुदायका लागि क्षत्री–बाहुन जति सबै एकै थिए । कुनै बेला मन्दिर पस्न लागेको निहुँमा यिनैका बुढियाहरूले दलमायालाई भुत्ल्याएर लछारपछार गरेका थिए । अनि यिनै मणिराम, पुष्प, खड्ग र रमेश घरैमा आएर हकबहादुरलाई ‘स्वास्नी थान्कोमा राख्न नसकेको’ भनी कुटपिट गरेका थिए ।

रमला आत्तिई । क्षत्री–बाहुनका बच्चोलाई अछुत भएर माड खुवाएको भन्दै झगडा गर्ने भए भन्ने ठानेर भित्र पसी । मानौ पाठाको बथानमा चितुवा छिरेको थियो । कुनै दिन उसलाई गैरीखेतको कान्लामा अडेस लगाएर छाती थिच्दै हातपात गर्न खोज्ने यिनै रुद्र, पुष्प र खड्ग थिए । धन्य, चिच्याएर गुहार मागेपछि तिनले कुलेलम ठोकेका थिए ।
दलमाया बेचैन भई । अचम्भित भएर तिनीहरूलाई हेर्न थाली । हकबहादुर पनि शून्यशून्य आँखाले तिनीहरूलाई हेर्न थाल्यो । तिनीहरू सबै ढुंगाको होचो पर्खालमा टुसुक्क बसे । सबैका अनुहारमा भोक, थकाइ, निराशा, पछुतो र भनिनसक्नु दुःखको चित्र प्रस्टै देखिन्थ्यो । तैपनि कामीहरू त्यहाँ रिस र घमण्डकै छायाँ देखिरहेका थिए ।

‘होइन दलमाया भाउजू, के खुवाएर पठायौ केटाकेटीलाई ?’ भरतमणिले सोध्यो ।
दलमाया थर्थरी काम्न थाली । केही बोल्न सकिन ।

‘यी बच्चाहरू यति खुसी भएको मैले कहिल्यै देखेको थिइनँ’, मणिरामले भन्यो ।

‘रमला दिदीकहाँ माड खाएको भन्थे । कस्तो रहेछ यो माड भन्या ?’ पुष्पमणिले रमलालाई हेर्दै भन्यो ।

‘के उनु हजुर, गरिपले खाने उइ भातको माड त ओ नि ! असाध्यै भोकाका रचन्, यिनारुले त्यही ख्वा’र पठाइदे । गल्ती भो । माप पाऊँ,’ हकबहादुरले हात जोड्यो ।

‘किन माफी माग्छौ हकबहादुर दाइ, तिमीले के बिरायौ र ? ठूलीआमा र रमला दिदीले खुवाएको भनेर कस्तो खुसी छन् !’ भरतमणिले विनम्र भएर भन्यो ।

‘तिनारु ओकाएका देखेर सारै दया लाग्यो । गल्ती भएको भए माप पाऊँ हजुर’, दलमायाले भनी ।

‘भैगो माफी माग्नुपर्दैन, भाउजू । छ भने अलिकति माड हामीलाई पनि देऊ, तीन दिनदेखि पानीबाहेक मुखमा केही परेको छैन’, कलेटी परेको ओठ थुकले भिजाउँदै श्याममणिले मुख फो¥यो । भोकले तिनका अनुहार चाउरिएका थिए । दलमायाले तिनका अनुहारमा दुःख र पछुतोको छायाँ प्रस्टै देखी । एक्कासि ऊभित्र दयाको समुद्र उर्लियो । कुनै दिन उसलाई, उसको लोग्नेलाई कुटपिट गर्ने र छोरीको छाती निमोठ्न आउने यिनै हुन् भन्ने भुसुक्कै बिर्सी । एक्कासि ऊभित्र प्रतिशोधको भावना सिमेन्टको भुइँबाट कसिंगरजस्तै सिनित्त बढारियो ।

पानी थप्दाथप्दा भातसमेत खोले भएर सकिइसकेको थियो । अब के गर्ने ? भाँडा हेरी, चामल एक माना पनि बाँकी छैन । त्यै सोहोरसाहार पारेर ल्याई र डेक्चीमा खन्याई । आमाको मनसाय बुझेर रमला पल्लो घरमा छिरी । एकै छिनमा रनमायाले आधा मानाजति चामल ल्याएर दिई । अर्को बालकले बुसर्टको फेरमा थापेर ल्याएको चामल खन्याइदियो । एकै छिनमा एकएक गरेर हरेक कामी परिवार जतिसक्दो चामल, नुन, दाल, तेल, मसला लिएर दलमायाको अगाडि उभिए ।

कामीहरूका आँखामा असीम हर्ष र उत्साहको ज्योति फैलिएको थियो ।

दलमाया चुलोमा दाउरा कोच्न थाली । ठूलो डेक्चीमा आलु र दाल तेलमा भुटी, मसला राखी । अनि त्यसमा चामल राखेर बेसरी पानी हाली । बाहुन–क्षत्रीका लागि बन्न लागेको यो स्पेसल माड थियो । नत्र कामी बालबालिकालाई ख्वाउने माडमा नुनबाहेक अरु केही हुन्नथ्यो ।

●●●
कामी बालबालिका र आइमाईहरूले घरघरबाट कुचो, सुकुल, चकटी र पिर्का लिएर आए । आँगन सफा गरेर सुकुल, चकटी र पिर्का राखिदिए । क्षत्री–बाहुनका भागमा माड थप्न सबैले सघाए ।

क्षत्री–बाहुन तृप्त भए ।

जाने बेला भलाद्मी भरतमणि असीम कृतज्ञताले हकबहादुरको हात समाएर उभियो ।
‘हकबहादुर दाइ, विपत्ति र भोकले कुनै जात भन्दोरहेनछ । तपैँ र तपैँको परिवारमाथि भएको अत्याचारका लागि माफ गरिदिनू । भाउजू, छोरी रमला, सबै दलित दाजुभाइ, दिदीबहिनी, तिमीहरूसँग पनि म सबै क्षत्री–बाहुनका तर्फबाट माफी माग्छु ।’

बाहुनले पहिलो पल्ट आफूलाई ‘तपैँ’ भनेको सुन्दा हकबहादुर भावविह्वल भयो र भरतमणिको हात समाएर रुन थाल्यो । ‘के अनिअक्स्या हजुर यस्तो, मलाई पापको भारी किन ओकाइअक्सेको ? हजुरअर्ले के इराइअक्स्या छ र ? आम्रै हाग्य (भाग्य) यस्तो रच त के लाग्च !’

हकबहादुर रोएको देखेर दलमाया र रमला पनि सुँक्कसुँक्क गर्न थाले । तिनीहरूसँगै अरु आइमाई पनि रुन थाले । यो सानोतिनो रुवावासी देख्न नसकेर क्षत्री–बाहुन युवकहरू अर्कोतिर फर्किए । त्यसै पनि तिनीहरू अभ्यन्तरमा नजानिँदो अपराधबोधले रमलासँग आँखा जुधाउन सकिरहेका थिएनन् ! कामी बस्तीका आइमाई, केटाकेटी, युवायुवती र वृद्ध सबै जना भाषण गर्न उभिएको नेतालाई जस्तै क्षत्री–बाहुनलाई घेरेर उभिए ।
हात जोड्दै भरतमणि अघि लाग्यो । कार्यकर्ताजस्तै बाँकी सबै क्षत्री–बाहुन पछि लागे ।
तिनीहरू जाँदाजाँदै भरतमणिलाई बोलाएर दलमायाले भनी, ‘हजुरअर्त लोग्नेमान्चे, जाँ ऐर नि पेट अरिअक्सिन्छ, विचरी बज्यै–विष्टिनीअर्काे के अति (गति) ओला ! अठाइदिअक्से वाँहेर्को पनि सेवा अथ्र्यौँ !’

स्तब्ध भएर भरतमणिले एक छिनसम्म दलमायालाई हेरिरह्यो । यो कस्ती दयालु कमिनी रहिछ जो आफूमाथि भएको सारा अपमान र अत्याचार बिर्सेर तिनै अपमानकारी, आक्रमणकारीको सेवा गर्छु भन्छे ! विनम्र स्वरमा भरतमणिले भन्यो, ‘हुन्छ भाउजू, तपैँका कुरा म सप्पैलाई भन्दिन्छु । आउनचाहिँ के गर्लान् कुन्नि !’
‘हस् । अन्दिनुस् ऐ त सप्पैलाई ?’ आकष्मिक खुसी र उत्साहले झुसी भएर भन्न त दलमायाले प्वाक्कै भनिदिई । तर, तिनीहरू आए कसरी ख्वाउने भन्ने दुबिधाको ओडारले उसलाई च्याप्न थाल्यो ।

‘चिन्ता नअर्नू’, टोलका सबैले दलमायालाई आश्वस्त पारे । सबै जना आवश्यक परे फेरि पनि उसलाई सघाउन तयार थिए ।

कामीहरूका आँखा अपूर्व उल्लासले चम्किरहेका थिए । माड खान नपाए पनि बालबालिकासमेत भोक बिर्सेर अचम्मैसित रमाइरहेका थिए ।

(गरिमा सम्मानप्राप्त कथा)

6 thoughts on “कथा : भुइँचालो”

  1. Mahesh tamangmahesh says:
    January 1, 2014 at 12:06 am

    यो कथा पदै गर्दा फिल्म हेरे जस्तै भो .. अहिले सम्म कै ramro स्टोरी ..बयान गरेर नै न सकिनी .. Thanks for the स्टोरी.

    Reply
  2. bibek dhakal says:
    December 31, 2013 at 8:09 pm

    लामो भएपनि सारै राम्रो लाग्यो! खै, बयान नै गर्न आएन; तर एकदम चित्त बुझ्यो….

    Reply
  3. Gita Adhikari says:
    December 31, 2013 at 1:07 pm

    राम्रो कथा
    बिषय बस्तु
    संद्रबिक छ
    तागाधारी ले
    मात्रै
    हैन
    सबले
    पढदा
    राम्रो हुन्छ

    Reply
  4. kumar Gotame says:
    December 30, 2013 at 12:56 pm

    Heart Touching Story, simple language. Concept of the story is really heart touching. Good Job. Everybody must appreciate.

    Reply
  5. डा छेत्री says:
    December 29, 2013 at 7:42 pm

    पढ्दा आँखा रसायो ! हुन तः म पनि छेत्री भए पनि कामि साथि हरु संग खेल्ने उनि हरु को मा खाने गर्थे र मलाई कैले पनि त्येस्तो भावना आएन. मेरो बिहे मा पनि म घर कुटुम्ब संग बिरोध गरेर नै बाहुन कामि सबै को लागि एउतै भान्सा को बेवास्था गरेको थिए.. परिवर्तन आफै बाट सुरु गर्नु पर्छ! धेरै राम्रो कथा !!

    Reply
  6. sham says:
    December 29, 2013 at 4:14 am

    नेपाली समाज को वास्तविकता झल्कने उत्कृस्ट कथा …..चलन चल्ती को पश्चिमेली गाउले बोलीमा प्रयोग गरिने शब्दहरु….पढ्दै जादा सारै मज्जा आउने ….जातिय भेदभाब र थिचो मिचो गर्ने हरु, तागाधारीहरुले एकचोटी पढ्नै पर्ने कथा….!!!!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme