Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लोग्ने विदेसिए, परिवार बिरानो भो

Posted on December 28, 2013 by mysansar

-उषा पौडेल-
रोजगारीको सिलसिलामा बिदेसिएका नेपाली विवाहित पुरुष उतै रमाउन थालेपछि यता महिलाका लागि परिवार र समाज नै बिरानो बन्न थालेको छ।

रोजगारीको सिलसिलामा बिदेसिएका थुप्रै नेपाली विवाहित पुरुष विदेशमै रमाउन थालेपछि नेपालमा रहेका तिनका श्रीमती र छोराछोरीको बिचल्ली हुन थालेको छ। १३ वर्षअघि १९ वर्षको उमेरमा सविताको (नाम परिवर्तन) बाग्लुङ गल्कोटका जयवीर (नाम परिवर्तन) सँग विवाह भएको थियो। विवाहको एक वर्षसम्म उनको वैवाहिक जीवन सुखमय रूपमा बित्यो। उनका श्रीमान् धन कमाउन भन्दै विदेश गए। त्यसपछि उनको जीवनमा कहिल्यै खुसी फर्केको छैन। विदेश गएको केही समयसम्म टेलिफोनमा कुराकानी भए पनि अहिले १२ वर्ष भइसक्यो सविताले श्रीमान्को आवाज सुन्न नपाएको। ‘व्यर्थैौमा जोवन गयो,’ सबिताले भनिन्। कसको मुख हेरेर बस्ने त्यो घरमा। बढ्दो उमेरसँगै सविताले थुप्रै वर्ष श्रीमान्को पर्खाइमा बिताइन्, तर उनका श्रीमान् फर्केनन्। सविताले भनिन्, ‘धेरै कोसिस गरेँ उहाँलाई नेपाल फर्काउन, तर सकिनँ।’

सविताका अनुसार उनका श्रीमान्को परिवारसँग सम्पर्क हुने गर्छ। ‘आँखाले देखेको छैन,’ सविताले भनिन् ‘उहीँ बिहे गरेर बसेका छन् रे।’ ‘सासूससुराले रूखमा चढेको मान्छे भुइँमा झरिहाल्छ, धैर्य गर भन्छन्। यत्तिका वर्ष उनलाई पर्खंदैमा बिताएँ, ढल्कँदो उमेरसँगै सहाराको खाँचो हुँदो रै’छ,’ अल्पकालीन सेवा केन्द्रमा श्रीमान्को सत्यतथ्य बुझी न्याय पाऊँ भन्दै उजुरीका लागि आएकी सविताले भनिन्, ‘मैले पहिले नै उनको–मेरो सम्बन्धबारे छिनोफानो गर्नुपर्ने थियो, आमाबाबुकी एक्ली छोरी घर बिग्रियो भने इष्टमित्रले कुरा काट्लान्, एक दिन त फर्कनुहोला नि भन्दै कुर्दै गर्दा यत्तिका वर्ष बितिसक्यो, तर उहाँ आउनुभएन।’ सविताले गला अवरुद्ध पार्दै भनिन्, ‘श्रीमान्सँगको सम्बन्ध राम्रो नभएपछि घरपरिवारबाट पनि हेला भइँदो रै’छ।’ उनका श्रीमान् अहिले हङकङमा छन्।

देशमा बढ्दो बेरोजगारीका कारण बिदेसिने पुरुष थुप्रै छन्। कतिपय आफ्नो घरपरिवार सम्झेर फर्कन्छन् त कतिपय उतै विवाह गरेर बसेका कारण नेपालमा रहेका उनका श्रीमती र छोराछोरीको बिचल्ली भएको छ। बाग्लुङकी झरना (नाम परिवर्तन)का दुई छोरा छन्। नेपालमा बसेर दैनिक छाक टार्न समस्या भएपछि झरनाका श्रीमान् ऋण गरेर बिदेसिए। उनलाई विदेश पठाउनकै लागि झरनाले थुप्रै ठाउँमा आफू जमानी बसेर ऋण खोजेकी थिइन्। उनका श्रीमान् पोर्चुगल गएको चार वर्ष भइसक्यो। विदेश गएको दुई वर्षसम्म श्रीमान्ले पैसा पठाए। ‘टेलिफोनमा थुप्रै सुखदुःखका गफ हुन्थे,’ झरनाले श्रीमान्सँगको टेलिफोन कुराकानी सम्झँदै भनिन्, ‘थुप्रैपटक फोन गर्न कोसिस गरेँ, तर उनको मोबाइल आजभोलि केटीले उठाउँछे, उनीसँग सम्पर्क भएको छैन।’

बिदेसिएका श्रीमान्बाट भएको यस्ता व्यवहारका कारण थुप्रै महिला मानसिक रोगको सिकार भएका छन्। लाउन–खान नदिने, घर निकाला गर्ने, कुटपिट गर्नेजस्ता अमानवीय व्यवहार समाजमा प्रस्ट रूपमा देखिए पनि महिलाले भोग्ने मानसिक समस्याबारे समाज पनि बेखबर रहन्छ। बिदेसिएका श्रीमान्को बेवास्ताकै कारण पाँच वर्षीया छोरी सहजताकी आमा गीता (नाम परिवर्तन) अहिले सदरमुकामका होटलमा भाँडा माझ्न विवश छिन्। बाग्लुङ ताराखोलाकी गीताले सात वर्ष पहिले म्याग्दीका डोलबहादुरसँग विवाह गरेकी थिइन्। विवाहलगत्तै बिदेसिएका श्रीमान्ले सदरमुकाम आएर बस्न भनेपछि गीता पनि काखकी छोरीसँगै सदरमुकाममै बस्न थालिन्। ‘सुरुसुरुमा श्रीमान्ले पैसा पनि पठाए, बेलाबेलामा फोन सम्पर्क पनि हुने गर्थ्यो,’ गीताले भनिन्। तर, अहिले उनीहरूबीचमा कुनै सम्पर्क छैन। न पैसा पठाउँछन् न त फोन नै गर्छन्।

श्रीमान्ले बेवास्ता गर्न थालेपछि छोरी अनि आफ्नो पेट भर्नकै लागि गीता अहिले सदरमुकामका दुईवटा होटलका भाँडा माझ्ने काम गर्छिन्। ‘घर फर्केर जाऊँ भने पनि ज्यालामजदुरी नगरी खान पुग्दैन,’ छोरी पनि स्कुल जान थालेको बताउ“दै तीन कक्षा पढेकी गीताले छोरीको भविष्यका लागि पनि सदरमुकाममै सङ्घर्ष गर्ने बताइन्। श्रीमान्को र आफ्नो सम्बन्ध राम्रो छैन भन्ने थाहा पाएपछि छिमेकीले पनि हेप्ने गरेको गीताले गुनासो गरिन्। भनिन्, ‘सहयोग गर्ने ठाउँमा उल्टै नानाथरी कुरा मात्र काट्छन्।’ तिज, दसैँ, तिहारजस्ता ठूला चाडपर्वमा पनि न माइत जान मन लाग्छ न घर। चाडबाडको दिन सदरमुकाममा लिएको एउटा अँध्यारो कोठामा छोरी र आफूले दिन काट्ने गरेको गीताले बताइन्। श्रीमान्सँग गीताको सम्पर्क नभए पनि परिवारसँग कुराकानी हुने गरेको र सासूससुरा अहिले पोखरामा बस्दै आएका छन्। गीतालाई पहिलापहिला त श्रीमान् आउ“छन् जस्तो लाग्थ्यो, आजभोलि त आसै मरेको छ।

महिला विकास कार्यालयअन्तर्गतको अल्पकालीन सेवा केन्द्र बाग्लुङमा आजभोलि बिदेसिएका श्रीमान्ले बेवास्ता गरेका महिला उजुरीका लागि आउने गरेको सेवा केन्द्रकी प्रमुख शर्मिला भण्डारीले बताइन्। भनिन्, ‘यस्ता मुद्दा पछिल्लो समयमा मात्र आउन थालेका छन्, यसको कारण उनीहरूमा आएको चेतना हो, हाम्रो समाजका अधिकांश पुरुष रोजगारीको सिलसिलामा बिदेसिएका छन्,’ भण्डारीले भनिन्, ‘तिनीहरूमध्येबाट कतिपयले यस्तो व्यवहार गर्ने गरेका छन्।’ समाजमा अझै थुप्रै यस्ता मुद्दा छन्। तर, समाज र परिवारबाट यस्ता महिलालाई हेर्ने दृष्टिकोण नराम्रो हुने भएकाले ती महिला खुल्न सकेका छैनन्। सेवा केन्द्रले पीडकको परिवारसँग सोधपुछ गरी यस्ता मुद्दामा पीडित महिलाको इच्छाअनुसार उनीहरूलाई न्याय दिलाउन पहल गर्छ। भण्डारीका भनाइमा यस्ता मुद्दा दर्ता हुने क्रम बढ्दै छ।

यस्ता घटनाले समाजमा विखण्डन ल्याउने महिला अधिकारकर्मी सकुन्तला शर्माको भनाइ छ। शर्माले भनिन्, ‘श्रीमान्को यस्तै व्यवहारका कारण थुप्रै महिला अलपत्र परेका र केहीले आत्महत्या गरेका छन्।’ शर्माका भनाइमा अरूको जिन्दगी बर्बाद पार्ने दोषी जुनसुकै देशमा भए पनि खोजेर कारबाही गरिनुपर्छ।

महिला विकास अधिकृत लक्ष्मी जीसी कार्कीले पीडित महिला अब खुलेर बाहिर आउनुपर्ने बताइन्। मानिस सुविधाभोगी हुने भएकाले सेवा, सुविधा युरोपियन देशमा बढी हुने कारण तिनै देशबाट घर नफर्कनेको सङ्ख्या बढी रहेको जीसीको भनाइ छ। यस्तोखालको हिंसाबाट पीडित महिलाको सङ्ख्या बढी भए पनि जिल्लामा उजुरी गर्ने महिलाको सङ्ख्या ५–६ वटा मात्र रहेको उनको भनाइ छ। श्रीमान्बाट हुने यस्तै व्यवहारका कारण महिलाको आधारभूत अधिकार खोसिएको भन्दै कार्कीले राज्यले यस्ता पीडकलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताइन्। भनिन्, ‘यस्ता मुद्दा लुकाइँदा पीडकलार्ई प्रोत्साहन मिल्छ पीडितलाई झन पीडा।’ घरेलु हिंसासम्बन्धी उजुरी प्रहरी कार्यालय वा राष्ट्रिय महिला आयोग वा स्थानीय निकाय अथवा सीधै अदालतमा पनि दिन सकिने कार्कीले बताइन्।

पुनरावेदन अदालत बार इकाइ बाग्लुङका अध्यक्ष राम शर्माले यस्ताखालको हिंसा नियोजित घरेलु हिंसाभित्रको मानसिक हिंसा भएको बताए। बढीजसो बिदेसिएका पुरुषबाट यस्तोखालको हिंसा हुने भन्दै शर्माले महिलाको न्यायका लागि सरकारले पीडकलाई फिर्ता बोलाउन पहल गर्नुपर्ने बताए। अहिलेसम्म सरकारले गम्भीर प्रकृतिका मुद्दामा बाहेक पीडकलाई नेपाल झिकाउन पहल नगरेको शर्माको भनाइ छ। यस्ता प्रकृतिका सबै पीडित खुल्न नसकेका कारण जिल्लामा यति नै पीडित छन् भनेर भन्न नसकिए पनि बाग्लुङमा विदेश जानेको सङ्ख्या अत्यधिक भएका कारण यस्ता पीडित बढी भएको अनुमान छ। कानुनअनुसार यसरी महिलालाई शारीरिक र मानसिक हिसाबले हिंसा गर्ने पीडकलाई दुई हजार पाँच सयदेखि पाँच हजार रुपैयाँ जरिवाना गर्ने र ६ महिनासम्म कैद हुनसक्ने कानुनी व्यवस्था छ। नेपालको अन्तरिम संविधान २०६३ को धारा २०(३) मा कुनै पनि महिलाविरुद्ध शारीरिक, मानसिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य गरिने छैन र त्यस्तो कार्य कानुनद्वारा दण्डनीय हुनेछ भन्ने उल्लेख छ।

उषा बाग्लुङ एफएमका कार्यक्रम उत्पादक हुन्।

(सञ्चारिका फिचर सेवा)

15 thoughts on “लोग्ने विदेसिए, परिवार बिरानो भो”

  1. sanjay adhikari says:
    January 2, 2014 at 11:06 am

    पैसा नकमाउने छोरोलाई आमा बाबुले निन्दा गर्छन् दाजुभाई त बोल्नै छोड्छन्। छोरो र नोकरले टेदैंनन् स्वास्नी अंगालोमा आउन मान्दिन मितको घरमा जादा पैसा माग्नै… आयो होला भनेर … मित नबोली बाहिर निस्कन्छन। त्यस कारण साथी हो पैसा कमाउने उपाय सोच । दुनियाँ द्रब्यको वशमा छ.!!!…….

    Reply
  2. raj says:
    December 30, 2013 at 1:22 am

    खाडी मुलुकको तिर भन्दा युरोपमा आउने नेपालीमा के हुन सक्छ भने नेपाल बाट #अनेकौ सपना देखेर युरोपमा आएका हुन्छन्# अनि नेपाल बाट आउदा लाखौ ऋण लिएर दलाललाई बुझाएका हुन्छन् तर बास्तमा युरोपतिर नेपाल बाट जति सजिलो सोचेर यहा आउछन् नेपालीहरु त्यती सजिलो छैन किनकि दुई तिन बर्ष झुट मुटको केश गर्दा बित्छ #कमाई सुको हुन्न अनि केश सकिएपछी #पोर्तुगल चा स्पेनमा पेपर बनाउने सोचले नेपाली त्यतै जान्छन #जाहा सोचे जस्तो सजिलो छैन पेपर बनाउन रात दिन काम गरेर ४, ५ सय युरो कमाई हुन्छ नेपालमा साहुको ऋणको ब्याज १० लाखको २० पुगेको हुन्छ त्यही टेन्सनले रक्सी हलका दिन पर्यो ४,५ बर्ष घरपरीवारबाट टाढा हल्का दिए पछी रेडलाईट एरिया जान पर्यो यसो गर्दैमा ७,८ बर्ष बित्छ उता * नेपालमा श्रीमती काहा छ बुढो युरोप सके काठमान्डु नत्र सदरमुकाममा बसेर *गफ लगाउदै हाईफाई लाईफ जिउनै पर्यो अनि यस्तो हाईफाई लाईफमा एउटा बाईक भएको ( तोरी लाहुरेलाई ) भाई बनाएर तेल अनि खर्च दिएर पाल्नै पर्यो बुढो युरोप छ भनेपछी कसैले मेरो बाल पनि हल्लाउन सक्दैन पेपर भए युरो सोर्ने जान्छु जे भने पनि भनोस समाजले भनेर हल्का बियरको चुस्की दिनै पर्यो यही अनि यस्तै सोचले नेपालमा धेरै बिक्रिती आएको छ जे भए पनि नेपाली समाजले अव के सोच्नु पर्छ भने युरोप भनेर ऋण काढेर आउन भन्दा दुवाई मलेसियामा ३० ,४० हजारको जागीर बेस्ट हो त्यो मनले मन्देन भने धुर्मुसेले झै बङ्गुर पाल्नु बेश हो जस्तो लाग्छ

    Reply
  3. Amrit Garbuja says:
    December 28, 2013 at 8:47 pm

    श्रीमान बिदेशिएर यस्ता प्रकृतिका घटनाहरु घटेको धेरै छन,तर मिडियामा आउन सकेको छैन,यसमा अधिकांश महिलाहरु पीडित होलान तर पुरुषहरु पनि पीडित छैनन् भन्न मिल्दैन,कतिपय बिदेशमा आफ्नो पसिना र रगत खर्च गरेर कमाएको सम्पत्ति नेपाल पठाएर पछि नेपाल फर्कदा न त सम्पत्ति न त श्रीमती भएका पुरुष साथीहरु पनि थुप्रै छन् | यसमा दुवै लिङ्गको उत्तदायित्व हुनु आवस्यक छ |

    Reply
  4. kaji godar says:
    December 28, 2013 at 5:33 pm

    अरूको जिन्दगी बर्बाद पार्ने दोषी जुनसुकै देशमा भए पनि खोजेर कारबाही गरिनुपर्छ। येस्था श्रीमान लाई >>>>>>>>

    Reply
  5. Prakash(Alaska) says:
    December 28, 2013 at 2:35 pm

    मेरो आफ्नै आफन्त नातेदार पर्ने हरु २,३ जना विदेश मा भएको बेला उनीहरु को श्रीमती हरु अरु संग पोइलो भागी कसैको त बालबच्चा हरु पनि बिचल्ली परे र उनि हरुले श्रीमती फर्केर आए पनि स्विकार्ने मनस्थिति मा छन् / त्यसो भए तपाइँ हरु ले ति पोइला भागेका महिला हरु लाइ फर्काएर मिलाउन सक्नु हुन्छ ? अनि कारबाही गर्न सक्नु हुन्छ ? कस्तो खाल को कारबाही गर्न सक्नु हुन्छ ? जसका श्रीमान हरु विदेश मा दिन रात पसिना बगाई रहेका छन् श्रीमती अनि बालबच्चा हरुको लालन पालन को लागि..आखिर खोइ त यी पिडित पुरुष हरुको लागि न्याय ?

    Reply
  6. Pra-Crash says:
    December 28, 2013 at 2:19 pm

    देशमै केहि गरेर बस्ने मिल्ने हो भने यो सबै सामाजिक, आर्थिक र मानसिक समस्याहरु आफै समाधान हुन्छ |

    Reply
  7. RAZZ, Romania says:
    December 28, 2013 at 12:01 pm

    नेपालमा श्रीमती पनि कम छैनन अब कति पुरुष त श्रीमती कै कारण नेपाल न आएका पनि छन् समग्रमा भन्दा समझदारी र शिक्षा चाहियो तेस्ले केहि सम धन हुन्छ भन्ने जस्तो लग्छ

    Reply
  8. बशन्त राज says:
    December 28, 2013 at 11:58 am

    दुबाई कतार आदि खाडी राष्ट्रमा चाही काम गर्न आको अनि घरमा श्रीमती भाकोहरु घर पैसा नपाडाई फीलीपीनी, इन्डोनेसीयन आदि केटीहरु संग पैसा सक्ने हरु छन् / कतिपय हरु घरमा बच्चा छ भन्छन तर घरमा पैसा पठाउदैनन् यतै रक्सिमा र केटीमा सक्ने हरु पनि छन् / नेपाल तिरै रोजगारी को बाताबरण श्रीजना गरि यो विदेशमा रोजगारीको लागि जाने प्रचलन कम गर्दै हटाउनु पर्छ / यो निर्बाचन पछि देशले शम्बिधन पाउछ / देशमा स्थाई सरकार बन्छ / लगानी मैत्री बाताबरण बन्छ अनि देश मै रोजगारी श्रीजना होला भन्या त्यो पनि यो सपना मात्रै होला जस्तो छ / कसलाई दोष दीने ?? खै के के ???

    Reply
  9. Sanjeev says:
    December 28, 2013 at 9:28 am

    झरनाले श्रीमान्सँगको टेलिफोन कुराकानी सम्झँदै भनिन्, ‘थुप्रैपटक फोन गर्न कोसिस गरेँ, तर उनको मोबाइल आजभोलि केटीले उठाउँछे, उनीसँग सम्पर्क भएको छैन।’

    भोइसमेलमा गएजस्तो छ.

    Reply
  10. Abhyankar says:
    December 28, 2013 at 6:28 am

    बाग्लुंग वा अन्य जिल्ला सहर बाट बिदेशमा गएर येसरी आफ्नो श्रीमती र आफ्नै बाल बच्चाको बिजोग तपाईबाट तभएको छैन ??
    यदि हो भने उनीहरुको दुखि मन र आसुका धाराले दिनरात तपाइलाई सम्झिरहेका छन् पर्खिरहेका छन् , कसरि बाच्दैछन वा मुस्किलले बच्न वा मर्न धोदारमा छन् एकपटक अन्तिम सम्पर्कत गर्नुहोस नत्र जिन्दगीभर पछुतोमा छटपटिमा तपाइको पनि जीवन ब्यर्थ हुनेछ

    Reply
  11. Pralhad says:
    December 28, 2013 at 6:22 am

    मलेसिया र युरोप तिर जाने लोग्ने मान्छे को हक मा यो लागु हुन्छ खाडी मुलुक तिर त अलि गारै छ , सुबिधा सम्पन्न भए भन्दैमा लोग्ने मान्छे हरुले आफ्नु कर्तब्य बाट भाग्नु नामर्द पन हो
    कतिपय महिलाको हक मा पनि लागु हुन्छ खोजि गर्यो भने महिला बिदेस गएर नफर्केका कयेउ घटना फेला पार्न सकिन्छ /

    Reply
  12. kedar says:
    December 28, 2013 at 4:54 am

    युरोप अमेरिका तिरका पीडकहरु फर्काउने भनेको नेपालमै कुनै कारण बनाएर दबाब सिर्जना नगर्ने हो भने कानुनि र ब्यबहारिक रुपमा गाह्रो छ | एस्तो खालको श्रीमती वा श्रीमती सहित छोरा छोरी बिजोक पार्ने पीडक मध्धे धेरै जसोको बाउ आमा सहित दाजु भाइ तथा दिदी बहिनिहरु संग भने सम्बन्ध निरन्तर सम्बन्ध रहिरहेको हुन्छ | अत: नेपालमै भएका पीडकका परिवारमै दबाब सिर्जना गरेर वा पीडकको भागीदार बनाएर न्याय दिलाउन सक्दा राम्रो हुन्छ | येस्ता समस्याहरु धेरै उजागर हुन सके बाँकीले सोच्न बाध्य हुने थिए |

    Reply
  13. Pratap says:
    December 28, 2013 at 1:37 am

    One sited article.. only blamed men. Women are also equally responsible. You forgot illicit relation of women whose husband’s are abroad. They miss – use the properties and finally chose another husband.

    Reply
    1. Ale says:
      December 29, 2013 at 1:44 am

      लाज मर्दो अंग्रेजी लेख्नु भन्दा त नेपाली मा कमेन्ट लेखे हुदैन?

      Reply
  14. Abhi, Belgium says:
    December 28, 2013 at 1:07 am

    यो सबै को समाधान महिला लाई पनि शिक्षा दिक्षा दियर पुरुष जत्तिकै आत्मनिर्भर बनाउनु हो ; जहिले सुकै महिला लाई निरिह बनायर व्यथा सुनेर कति बस्ने ; आर्थिक रुप मा अरु को आश र भर मा बस्न नपरे समाज मा हेपिने धेरै कम हुन्छ; विदेश गको भन्ने बित्तिकै बिहे गर्न , गराउन हाम्फाल्ने पनि साबधान हुन् जरुरि छ ;

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme