Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

शिवाको ‘लेक्चर’, किसान र बौद्धिक जमात

Posted on December 23, 2013December 23, 2013 by परिवर्तन

परिवर्तन

सुन्दर बुट्टा कुँदिएका भित्ता, सिलिङ, उज्यालो बत्तीमा चम्किएका पर्दासँगै सजिएको बैठक कोठा। कुनै बेला यो राजा महाराजाको बैठक कोठा थियो होला। सिंहासनमा राजा बसेर उर्दी दिने वरिपरि भलाद्‍मी, सन्त, महन्त लगायत हुक्के, बैठके र कारिन्दाहरूको जमघट हुन्थ्यो होला। शंकर होटलको एउटा हल यस्तै लाग्छ। यस होटलको इतिहास मलाई थाहा छैन, त्यहाँ यस्तो बैठक हुन्थ्यो हुन्थेन मेरो चासोको विषय पनि होइन तर शंकर होटलको यसै बैठकमा हिजो काठमाडौंका चिरपरिचित मान्छेहरूको भेला भयो। सिंहासन थिएन तर मञ्चमा राजाको सट्टा बौद्धिक व्यक्तित्वहरू विराजमान थिए। आकर्षकको केन्द्र ‘वन्दना शिवा’ थिइन्। त्यसका ठीक अगाडि ताली ठोक्ने नेपाली तथा विदेशी भलाद्मी, पढेलेखेका, जान्‍ने सुन्ने, पत्रकार तथा बौद्धिक वर्ग थिए। कुरा विउ, किसान, खानेकुरा तथा त्यसमा परिरहेको भूमण्डलीकरणको दुष्प्रभाव थियो। तर, जसका विषयमा बोलिंदै थियो, जसका विषयमा चिन्ता जाहेर गरिंदै थियो र जसका विषयमा दु:ख मनाउ गर्दै उनीहरूको हितको विषयमा बोल्दै गर्दा ताली बज्दै थियो, स्वयं उनीहरू कोही थिएनन्, उनीहरूको चासोको विषय पनि थिएन र शायद भविष्यमा उनीहरूले उनीहरूकै पक्षमा कसैले बोलिरेका छन् भन्ने कुरा पनि थाहा पाउने छैनन्।  

वास्तवमै शिवाको तर्क वेजोड थियो। यसले कैयौंलाई नयाँ विचार दियो, कैयौंलाई आफूले गरिरहेको काम वा आफूले सोचेका सोचाईहरू गलत रहेको भान दियो। कतिले त आफू अहिले काठमाडौंमा विषले भरिएका खानेकुराहरू खाइरहेको बिर्सेर गाउँमै आफूले उत्पादन गरेको, शुद्ध फलफुल खाएको सपना पनि देखे होलान्। सबै कुरा राम्रो थियो। अत्यावश्यक थियो। केवल उनीहरू थिएनन् जसले जान्नु पर्ने थियो वा जसका विषयमा बोलिदै थियो। आएका सबैले अंग्रेजी बुझ्थे। कम्तिमा ५०% ले त्यो भन्दा पहिले नै बन्दना शिवाका विषयमा जानेका, पढेका र बुझेका थिए। तर उनीहरूले न त यस भन्दा पहिले कहिल्यै यसका विषयमा बोलेका/लेखेका थिए न त भविष्यमा नै यसका विषयमा बोल्नेछन् वा कम्तिमा किसानहरूलाई बुझाउने गरी बोल्नेछन् वा त्यस्तो कोशिस गर्नेछन्।

यसो भन्नुका केही आधार छन्। जुन संस्थाले यस्तो कार्यक्रम गर्यो उसले शिवाका विचारलाई अंग्रेजी भाषामा अनलाइन राख्‍नेछ। सानो पुस्तिका छापिसकेको छ र बाँडिसकेको छ। तर, यो ती मान्छेको हातमा परेको छ जसले शिवाका कैयौं विचार उनको http://www.navdanya.org/ बाट निशुल्क डाउनलोड गर्न सक्नेछन् वा गरेर पढिसकेका छन्। अब, प्राज्ञिक हिसाबले नेपाली भाषामा छाप्यो भने अन्य भाषाको अपमान वा अन्याय होला त्यसैले नेपालीमा मात्र छाप्नु पनि राम्रो होइन (केही पत्रकारलाई जाँगर चलेमा अनुवाद गरेर छाप्न सक्लान् तर आजको मूलधारे पत्रिकाले यसलाई समाचार नठानेको देख्दा त्यस्तो हुने सम्भावना पनि कमै छ (अपवाद बाहेक))। त्यसैले यस्ता कुराहरू अंग्रेजीमै छापिन्छन्, बाँडिन्छन्। त्यसमाथि प्राज्ञिक क्षेत्रको काम यस्तै होटलमा बोलाएर “लेक्चर” दिनु, छलफल गर्नु वा केही जमघटमा प्रश्न उत्तर गर्नु र छाड्नु मात्र हो। उसले कुनै विषयको वकालत गर्न सक्दैन वा कुनै विषयको “एक्टिभिज्म” पनि गर्न सक्दैन। तर, रमाइलो कुरा के छ भने यी र यस्तै संस्थाका कैयौं प्राज्ञिकहरूले वर्ल्ड बैङ्क वा अन्य अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले अंग्रेजी भाषामा निकालेका प्रतिवेदन जुन देशको हो त्यो देशमा अधिकांशले बुझ्ने भाषामा प्रकाशित नगरेको र त्यहाँका जनतालाई सुसूचित हुने अधिकारबाट वञ्चित गरेकोमा कडा आलोचना गर्छन्। उस्तै परेमा उनीहरूले भाषाले जानकारी वा सूचनामा पहुँच नपुगेको विषयमा लेख लेख्छन् वा ‘जर्नल आर्टिकल’मा विश्लेषण गर्न सक्छन्। दुर्भाग्य, किसानसँग जोडिएको यस्तो विषयवस्तु लगभग अग्रेजी भाषा नबुझ्ने र काठमाडौंको यो जमातसँग कम पहुँच हुने किसानहरूका लागि भनेर होला १०००(?) प्रति प्रकाशित गरेर बाँडियो अनि अडियो अनलाइनमा राखिनेछ। जागिर पनि खाने, जागिरको आलोचना पनि गर्ने, कन्सल्टेन्सी पनि गर्ने, कन्सल्टेन्सीले प्राज्ञिक क्षेत्र विगार्यो पनि भन्ने, गैरसरकारी संस्थाले रिपोर्ट, सेमिनार वा वर्कशप गरेर पैसा खर्छ गर्छ पनि भन्ने तर आफूले पनि त्यसै गर्ने, यस्ता संस्थाको जानकारी तल्लो तहमा पुगेन भनेर बहस चलाउने आलोचना गर्ने तर आफ्नै बहस वा आलोचना भने आफ्नै भाषामा, आफ्नै समूहमा हुने। शायद पञ्चायत भएको भए यस समूहलाई “मुठ्ठीभर” भन्ने थियो तर प्रजातन्त्रमा यिनैको वरिपरि देश चलिरहेछ, प्राज्ञिक अभ्यास फैलिरहेछ, विचार-बहस र छलफल भइरहेछ।

यो कुनै एक संस्था वा केही प्राज्ञिक क्षेत्रको जिम्मेवारीको कुरा पनि होइन र चासोको कुरा पनि होइन। उनीहरूको उद्देश्य, उनीहरूको जिम्मेवारीको कुरा पनि होइन। शायद थप कामका लागि उनीहरूले कतैबाट सहयोग पनि पाएका थिएनन्। तर, समाजलाई फाइदा नै नहुने वा समाजले जान्नु नै नपर्ने तर काठमाडौंका जुनसुकै कुनामा हुने जुनसुकै कार्यक्रममा भेटिने १०० जनाको एउटै अनुहारलाई भने चाहिने यस्ता बौद्धिक खुराक दिने-लिने काम वा अझ बौद्धिक विलास गर्ने काम भने कुनै वेलामा राजा-महाराजाको कोठामा हुने गरेका बौद्धिक विलासका कार्यक्रमहरू भन्दा धेरै अर्थमा फरक छैनन्। यस्ता प्राज्ञिक संस्थाले गर्ने अनुसन्धान के का लागि हो? यस्ता लेक्चर के का लागि हो? कसका लागि हो? अनि किन हो? अनुसन्धान वा लेक्चरका माध्यमबाट आउने सुझाव, सल्लाह वा अन्य कुराहरू कुनै पोलिसिका लागि सहयोगी हुने हुन् र त्यसका आधारमै पोलिसी बन्ने हुन् भने जसका वारेमा अनुसन्धान गरिएको छ, जसका वारेमा बोलिएको छ, जसका वारेमा लेखिएको छ वा जसको चिन्ता लिइएको छ, उनीहरूले थाहा पाउनु पर्छ कि पर्दैन? उनीहरूले पनि त्यसमा प्रतिकृया दिन पाउनु पर्छ कि पर्दैन? के उनीहरू “दास उन्मुलन” भयो भनेर महाराजले भाषण दिएपछि “दास उन्मुलन” हुने जमानामै छन्?

यस्ता लेक्चर, अध्ययन-अनुसन्धान, वादविवाद, छलफल वा बहस हुनु नराम्रो होइन। त्यो प्रयास आफैमा उल्लेखनीय हो, सह्राहनीय हो तर जब मोन्सान्टोको विषयमा कुरा हुन्छ, जव दैनिक जीवनमा यसको प्रभावको कुरा हुन्छ वा जव कृषकको जीवन, जमिन र विउप्रतिको अधिकारको कुरा गरिन्छ तब, कृषि पेशा छोडेर राजधानी पुगेका र यस्तै बौद्धिक विलासमा रमाउनेहरूको जमघट माझ भएको बहसले समाजमा कुनै परिवर्तनको आश गर्न सकिंदैन। यस्ता बहस, छलफल पहिले पनि भएका थिए, अब पनि हुनेछन्। रमाइलो कुरा त जुन कर्पोरेट कम्पनी, सरकार वा उनीहरूका नीतिका विषयमा आलोचना गरिन्छ, बहस गरिन्छ उनीहरूकै स्पोन्सरमा अतिथि ल्याइन्छ, संस्था चलाइन्छ र प्राज्ञिक कार्य गरिन्छ। अझै पर गएर भन्नुपर्दा, प्राज्ञिक क्षेत्रले जहाँको विषयमा अनुसन्धान गर्न सक्छन्, विश्लेषण गर्न सक्छन् वा आलोचना गरेर समाजलाई बाटो देखाउन सक्छन् त्यसैको तलब खाएर वा त्यसैको सल्लाहकार भएर स्वतन्त्र प्राज्ञिक अभ्यासको गफ हान्नु आफैमा विडम्बना बाहेक केही होइन।

डा. वन्दना शिवको लेक्चर सुन्नुहोस्

  • Lecture 
  • 5 thoughts on “शिवाको ‘लेक्चर’, किसान र बौद्धिक जमात”

    1. राम राज says:
      December 25, 2013 at 2:33 pm

      यस्ता सेमिनार मा सके त सबै सम्बन्धित किसान हरु उपस्थित हुनु पर्ने हो तर ब्यबहार मा यो सम्भव हुदैन तेसैले विभिन्न संदेश बाहेक हरु जस्तो कि किसान बिभिन्न संघ संस्था का सामाजिक परिचालान्कर्ता, बिद्यार्थी , सरकारी कर्मचारी, हरुलाई आमन्त्रण गर्नु उपयुक्त हुन्छ र तिनले सम्बन्धित समुदाय मा यो संदेश पुर्याउन सकुन सायद तपाइँ पनि तेसी आधार मा तेहा पुग्नु भएको होला | तर समस्याको कुरा तेहा जाने सहभागी हरु सहि रुप ले चुनिदैनन र चुनिएका ले त्यो संदेश फैलाउन चाहदैनन् | यहा पनि ‘वन्दना शिवा’ के भनिन उनको भनाइ कतिका जायज छन्, तेस्ले हामि लाइ के प्रभाब पर्छन तेस्को बारेमा केहि लेख्न सक्या छैन |

      Reply
    2. कमल थापा says:
      December 25, 2013 at 1:06 pm

      जसका लागि हो त्यसका लागि पुर्याउने कसले भन्ने प्रश्न प्रमुख भएको छ l परिबर्तन भनाई र लेखकीय मा सिमित छ l खेति र किसान को कुरा दिन रात हलो, कोदालो गर्ने मानिसका कानमा कसले पुर्याउने ? भोको पेटमा पटुकी कसेर दिन रात काम गर्ने किसानका नाम मा गरिने सिमिनार बौद्धिक बर्गको समय उपयोगको साधन मात्र नहोस l

      Reply
    3. Sunitamaya says:
      December 24, 2013 at 3:17 am

      लेख बिल्कुलै सत्ते छ ; हाम्रो देश को सबै भन्दा ठुलो समस्या भनौ या विडम्बना नै यहिहो:/ यसै ले गर्दा जतिपनि गर्न खोजिएका राम्रा काम हरु हुन्छन ; प्राय सबै नै अर्थ हिन हुन्छन र हावामा उडेर जान्छन बिन सित्तिका गफ ले पैसा र समय को नोक्सानी मात्रै हुन्छ / दु:ख लाग्छ के गर्नु ?

      Reply
    4. सुगतश्री शरण says:
      December 23, 2013 at 11:21 pm

      त्यसैले भन्न मन लाग्छ –
      प्राज्ञ = प्र (विशेष , बढी) + अज्ञ (अनाडी , अन्जान)
      प्र+अज्ञ = प्राज्ञ …यस्ता लाजमर्दो ‘विद्वान’ को चर्तीकला देखेर ,सुनेर !

      Reply
    5. सिर्जने says:
      December 23, 2013 at 11:12 pm

      परिवर्तनको कुरो ठिक हो / सबै सेमिनार, लेक्चर आयोजना गर्नेहरु संग त्यो सेमिनारमा छलफल भएका उपयोगी कुराहरु कसरि उपभोक्ता सम्म पुर्याउने भन्ने योजना हुनु जरुरि छ /

      Reply

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    माइसंसारलाई सहयोग गर्नुस्

    माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

    Links

    • गृहपृष्ठ (Home)
    • मेरो बारेमा (About me)
    • पुरानो ब्लग (Archives)
    • माइसंसार इमेल

    यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
    © 2025 MySansar | Powered by Superbs Personal Blog theme