Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

“मोन्सान्टो” रिझाउने वाध्यतामा परेका लेखकहरू

Posted on December 20, 2013 by परिवर्तन

परिवर्तन

मोन्सान्टोको विवादलाई केही विज्ञ, सरकारी कर्मचारी तथा पत्रकारहरूले सामान्य हाइब्रिड विउ हो र यसको प्रयोग हुँदै आएको र कानूनी हिसाबले पनि यो आउनु गल्ति नभएको भनेर बुझाउने कोशिस गरिरहेका छन्। उनीहरूको यो तर्क बुझ्नका लागि उनीहरूको नेटवर्क र नेपालमा मोन्सान्टो भित्र्याउन खोजेको कम्पनीबीचको व्यापारिक तथा आर्थिक सम्बन्धका विषय पनि सँगै बुझिनुपर्छ। विज्ञापन दिएर मात्र होइन, व्यापार विस्तारका लागि आफूले गरेका छल-छाम, धम्की, राजश्च छलीका सबै घटनाक्रमलाई नेपालको सबैभन्दा धनी मान्छेको “संघर्ष र परिश्रमको कथा” बनाइदिने, लेखिदिने, प्रकाशित गरिदिने, त्यसको प्रवर्धन गरिदिने र त्यसैलाई आदर्श मानेर पढिदिने र पछ्याइदिने हाम्रा परम्पराले आम समुदायका मान्छे वा किसानका पीर-मर्का र वाध्यता महत्त्व दिंदैनौं र व्यापारिक हित तथा चिन्ताका पक्षमा बोल्छौं वा लेख्छौं।

मोन्सान्टो सिधै राम्रो छ र नेपाल भित्रिनुपर्छ भन्ने तर्क नगरिएपनि मोन्सान्टोको खराब पक्षलाई भन्दा यसको राम्रो पक्षलाई बढाई चढाई गर्ने लेखहरूको सङ्कलन र नियमित प्रकाशनले त्यसै कुराको सङ्केत गर्छ। मोन्सान्टोको विरोध गर्नेहरूले कुनै व्यापारिक घरानाको होइन मोन्सान्टो कम्पनीका आचरण, नियत र कामहरूको विरोध गरिरहेका छन् भन्ने कुरा विर्सनु हुँदैन तर यहाँ हाइब्रिड विउको कुराले मात्र यत्रो विवाद भएको होइन भन्ने कुरा उनीहरूले बुझेर पनि बुझ पचाइरहेका छन् र विरोधलाई गलत दिशातर्फ मोड्ने कोशिस गरिरहेका छन्। शायद यसैमा उनीहरूको भलो छ। नेपालमा जीवनभर सरकारी जागिरे भएर सरकारी पैसामा अनुसन्धान गरेपछि त्यही अनुसन्धानको नतिजालाई ‘व्यक्तिगत अनुसन्धान’ भनेर हाइब्रिड विउ उत्पादन बेच्ने कृषि विज्ञहरू पनि छन् र उनीहरूका वारेमा कसैले कुरा उठाएको छैन र प्रश्न पनि गरेका छैनन्। हाइब्रिड विउको नै विरोध गरेको भए उनीहरूको पनि विरोध हुन्थ्यो, गरिन्थ्यो।

कुरा नीतिको होइन नियतको हो। मोन्सान्टोको अहिलेसम्मको अनुभवले उसको नियत खराब छ, उसको उद्देश्य खराब छ र यो नेपाल जस्तो मुलुकका थोरै थोरै बारी-खेतमा उब्जनी गर्ने गरिब किसानहरूको हितमा छैन भन्ने आधारमा नै यसको विरोध भएको हो।

विउ कृषकको अधिकारको कुरा हो। यो हजारौं वर्षदेखि चलिआएको परम्परा हो र यो अधिकार केही व्यापारिक कम्पनीले आफ्नो स्वार्थ र फाइदाका लागि खोस्नु हुँदैन भन्ने मान्यता हो।

मैले मेरो बारीमा मकैको रैथाने विउबाट मकै उत्पादन गरिरहेको छु, तर छिमेकीले मोन्सान्टो विउ मार्फत् मकै लगाइरहेको छ। हावा, पुतली वा कुनै आधारमा उक्त मकै र मेरो बारीको मकैका बीचमा परागसेचन भएर मेरो बारीमा मोन्सान्टोको उत्पादन देखियो भने त्यसको अधिकार मोन्सान्टो कम्पनीसँग रहन्छ वा मोन्सान्टोको कुनै पनि विउबाट जानेर वा अन्जानमा उत्पादित सबैमाथि उसको प्याटेन्ट राइट कायम रहन्छ। यसरी हेर्दा उसले विउ मात्र बेच्ने होइन कि मैले परम्परागत रूपमा खेती गरिरहेको छु भने त्यसमाथिको अधिकार पनि उसँग जाने सम्भावना हुन्छ। अझ उसले नै “तैंले मेरो विउ चोरिस्? वा मेरो पेटेन्ट राइट हनन भयो” भनेर मुद्दा हाल्न र क्षतिपुर्ति भराउन सक्छ। एउटा किसानका लागि यो मुद्दा लाग्नु र क्षतिपुर्ति तिर्न नसक्नु तैंले “आत्महत्या” गर भनेर उक्साउनु नै हो।

के अमेरिकामा मात्रै पेटेन्ट राइट हनन गरेको भन्दै २७ वटा राज्यका ४२० कृषक तथा ५६ साना व्पापारिक घरानामामाथि मोन्सान्टोले मुद्दा हालेको प्रसङ्गलाई नेपालको परिवेशमा ख्याल राख्नु पर्दैन? यस्ता अनगिन्ति उदाहरणहरूले नै कम्पनीको नियत खराब छ वा कम्पनी दुष्ट छ भनेर यसका विरूद्धमा संसारभर आक्रोश देखिएको हो। नेपाल पनि यसमा अछुतो रहन सक्ने कुरा होइन तर नेपालको समस्या के पर्यो भने नेपालमा जसको मानो खाँदै आइएको छ वा खाने आशा गरिएको छ उसैले बिउ ल्याइदियो। अब, सरकारी कर्मचारी, विज्ञ वा पत्रकारले नुनको सोझो गर्नु नै पर्यो।

एउटा सत्य कुरा के हो भने चौधरी समुह बाहेक अन्यले विउ ल्याउन खोजेको भए मोन्सान्टोका विरूद्ध नेपाली पत्रिकाहरू रङ्गिएका हुन्थे, अनलाइनहरूमा लेख र प्रतिकृयाका बाढी आउँथे र विउको ‘व’ उच्चारण गर्ने नेपाली कम्पनी वा एजेन्टको हुर्मत लिइन्थ्यो र सरकारसँग कम्पनी बन्द गर्ने दवावै पर्थ्यो। यस्ता समूहका लागि यसपटक समस्या आइलाग्यो। उनीहरूलाई मोन्सान्टोको सबै करतुतहरू थाहा छ त्यसैले त्यसको पूर्ण समर्थन पनि गर्न सक्दैनन् अनि, नेपालभित्र यो विउ भित्र्याउन खोज्ने रिसाउला भन्ने डरले विरोध नै पनि गर्न सक्दैनन्।
त्यसैले उनीहरूले विस्तारै मोन्सान्टोको पक्षमा आवाजहरू उठाइरहेका छन् र आफूले सबै पक्षको विचार राख्ने व्यावसायिक धर्म निभाएको भ्रम दिन खोजिरहेका छन्।

यो जुनसुकै माध्यमबाट पनि सामान्य किसानहरूले जे गरिरहेका छन् वा हजारौं वर्षदेखि जुन परम्परामा बाँचेका छन् त्यसलाई लथालिङ्ग बनाउने वा अपाङ्ग बनाउने प्रकृयाको शुरूवात मात्र हो र यसमा प्रत्यक्ष-अप्रत्यक्ष/जानेर-नजानेर धेरैले सहयोग पुर्याइरहेका छन्।

उन्नत विउ छनौट र सङ्कलन संसारभरका किसानहरूले हजारौं वर्षदेखि गर्दै आएकै कृषि कार्य हो। तर, ठूला कम्पनीले उत्पादन गरेको हाइब्रिड वा उन्नत विउले मात्रै धेरै फल्छ वा उत्पादनमा वृद्धि हुन्छ भन्ने भ्रम सन् १९५० देखि नेपाल छिरेका अमेरिकन विज्ञहरू दिन थालेका हुन् र फलस्वरूप अहिले आएर नेपाल कृषि उत्पादन निर्यात गर्ने मुलुकबाट कृषि उत्पादन आयात गर्ने मुलुकका रूपमा परिणत भएको उदाहरण धेरैलाई थाहा छ। तर यस्ता कुराहरू जसले बुझेका वा जानेका छन् उनीहरू नै अमेरिकन संस्थाहरूमा काम गर्छन् वा विज्ञका रूपमा उनीहरूकै पैसामा बाँचीरहेका छन्। त्यसैले उनीहरूले यस्ता कामका विरूद्धमा लेख्ने आँट नगर्नु स्वाभाविक नै हुन्छ।

आधुनिकता वा बढी उत्पादनको कुरा गरिरहँदा हामीले नबुझेको कुरा के हो भने कुनै बारी वा खेतमा वार्षिक पचास हजार आम्दानी भइरहेको छ भने यस्ता प्रविधीले पहिलो वर्षका लागि उक्त आम्दानी बढाएर १ लाख पुर्याउन सक्छ तर त्यसपछि भने यो क्रमश: घट्न थाल्छ र २० वर्षमा पुग्दा त्यहाँ उत्पादन गर्नुभन्दा त्यसै खाली छाड्नु फाइदाजनक हुन्छ। त्यतिवेला सम्ममा सामान्य उत्पादन लिनका लागि पनि विउ, मलखादको मूल्य तिर्न सकिंदैन। अर्को तर्फ हाम्रो परम्परागत खेतीले पचास हजारको आम्दानीलाई केही बढाउन सकिन्छ तर १ लाख पुर्याउन सकिंदैन। तर, यो आम्दानी २० वर्षका लागि समान रहन्छ। यसरी दीर्घकालीन हिसाब गर्ने हो भने मोन्सान्टो मात्र होइन कैयौं खेती प्रणालीमै समस्या देखिन्छ। यसको मतलब खेती प्रणालीमा सुधार गर्नु हुन्न वा विकसित गर्नु हुन्न भन्ने होइन तर त्यो नेपालको हावापानीसँग सुहाउँदो अनि नेपालमा परीक्षण भएकै हुनुपर्छ। त्यो दीर्घकालीन हुन सक्छ। हामीले नेपालमै उन्नत विउ उत्पादन गर्न सक्छौं तर अहिलेलाई त्यो नभएकोले मोन्सान्टोको प्रयोग गरौं भन्ने हावा सुझाव दिनेले खेती गर्नुपर्दैन र भोलिका दिनमा अर्काको भर पनि पर्नुपर्दैन। न त उनीहरू ऋणको चिन्ताले वा खानै नपुगेर आत्महत्या गर्ने स्थितिमा पुग्छन्। उनीहरू त बरू फेरि पहिले गल्ति गरिएको रहेछ, अब फेरि “पुरानै पद्दतीमा वा अर्ग्यानिक खेतीमा जानुपर्छ” भनेर नयाँ प्रोजेक्ट लिएर आउन सक्छन्।

कुनैपनि ठाउँको रैथाने वालीनाली, वोटविरूवा हजारौं वा सैयौं वर्ष देखिको विकासक्रमबाट खारिएर एउटा इक्विलिब्रियममा आएको हुन्छ र झ्वाट्ट हेर्दा उत्पादकत्व बढी नदेखिएपनि यसमा कमै मात्र रोग कीराहरूको संक्रमण हुन्छ। यो स्थीरताले गर्दा किसानको खेतमा मकै, वा धान तुलनात्मक रूपमा कम फल्छ होला तर मकै वा धानमा दानै नलागेर किसानको लगानी खेर जाने र भोकमरी लाग्ने वा ऋणमा डुबेर आत्महत्या गर्नुपर्ने अवस्था आउँदैन। शक्तिशाली कर्पोरेटहरूले उत्पादन गरेका विउ प्रकृतिको सन्तुलनलाई ध्यानमा राखेर भन्दा ‘बिज्नेस मोडल’ को आधारमा बनेको हुन्छ र यिनलाई किसानले १० वा १५ वर्षपछि के गरून् मतलब हुँदैन।

मानौं यस्ता विउले नेपालका परम्परागत विउ नाश्यो र नयाँ प्रयोग पनि सफल भएन वा उत्पादन बढेन भने नेपाली किसानले के गर्ने? के उनीहरूले चौधरी ग्रुपसँग क्षतिपुर्ति माग्ने? के तराईमा मकै नफलेकोमा, भक्तपुरमा धान नफलेकोमा सधै सरकारले क्षतिपुर्ति दिएर बस्नुपर्ने। नेपालीलाई छिटो कमाउनुपर्ने तर परिश्रम नगर्ने बानी लागेको छ त्यसैको फाइदा मोन्सान्टो वा चौधरी ग्रुप जस्ता धुर्तहरूले उठाउने हुन् र त्यसका सहयोगी हामीहरू बनिरहेका छौं।

4 thoughts on ““मोन्सान्टो” रिझाउने वाध्यतामा परेका लेखकहरू”

  1. Abhi says:
    December 22, 2013 at 1:34 am

    आफ्नो विचार राख्ने स्वतन्त्रता सबैलाई छ| त्यो विचार राख्दा कहिले मोंसान्टो को समर्थन हुनु वा बिरोध हुनु लाइ दलाली देख्नु हुन्न | त्यो असहिष्णुता हो | तर्क को तर्क ले खण्डन गरिनु पर्छ | तेसो त म पनि मोंसान्टो को बिरोधि हुँ | तर कुरा बुझेर, कम बुझेर र नबुझेर आफ्नो विचार राख्ने र त्यस्तो बिचारमा मोंसान्टो को समर्थन गर्ने वा बिरोध गर्ने कसैलाई पनि मैले दलाल, ब्यापारीको दानापानी मा बाच्ने परजीबी भनेर ब्याख्या गर्न सक्दिन | अर्को कुरा अहिले पनि मेडिया मा यो बिषयमा त्यो बिषय को समर्थन र बिरोध गरेर विचार पोख्ने हरु प्राय सबै कृषि का बिद्यार्थी या कृषि संग सम्बन्धित व्यक्ति हरु छन् | तिनीहरुमा पनि केहि ज्ञान छ र त आफ्ना विचार राखेका होलान, भलै उनीहरु को ज्ञान को सिमा होला, र उनीहरुको ज्ञान मा फरक school of thought को प्रभाव होला | तेसो हुदैमा उनीहरु कसैको दलाल हुदैनन् |

    तेसो त मैले पनि तपाइलाई मोंसान्टो को प्रतिस्प्रधी कम्पनीको दलाल भन्न सक्छु, तर म भन्दिन | ढुक्क हुनुस म तेती असहिष्णु छैन |

    रह्यो कुरा तपाइको मोंसान्टो को बारेमा राखेको विचार, तेस्मा मा मुलत: सहमत छु | मेरो असहमति खाली तपाइको बिचारमा सहमत नहुने सबैलाई दलाल देख्ने नेपाली प्रवृति प्रति हो | दोष तपाइको होइन, हामि प्राय नेपाली को खै किन हो यो तुच्छ वानी छ |

    Reply
  2. डिल्ली says:
    December 21, 2013 at 8:46 am

    मोनसान्टो र ठूला व्यापारी घरानाले गरेको लुटमा सरकारले कति क्षतिपूर्ति दिने ? यो साह्रै सोचनीय पक्ष हो । वास्तबमा केही अघि बर्डफ्लु विरुद्ध लगाइएको भ्याक्सिनका कारण बर्डफ्लु फैलिएर कुखुरा पालन व्यवसाय चौपट भयो । सरकारले करौडौंको क्षतिपूर्ति भर्यो । केही वर्ष अघि हाइब्रिड मकैको नाममा तराईका विभिन्न स्थानमा मकै फलेन किसान ऋणमा डुबे सरकारले केही क्षतिपूर्ति दियो । उक्त विउ बेच्ने र वेच्न सरदर स्वीकृति दिनेले कमाए उनीहरूको आम्दानी चोखै वस्यो । आखिर घाटामा किसान र अन्त्यमा फेरि किसान नै ? सरकारले तिर्ने भनेको पनि उठाएको करबाट हो । कर पनि अरुको तुलनामा किसानकै भागमा अप्रत्यक्षरुपमा बढी पर्छ ।

    ठूला व्यापारीहरू कमाइ रहन्छन् । प्रशासनका निर्णायकहरू कमाइ रहन्छन् । तर उपभोक्ता र किसान सधैँ गुमाइ रहन्छन् । सरकार पनि तिरि रहन्छ । यो खेल कतिसम्म लम्व्याउने हो ?

    यसरी हुने घाटामा वीऊबिजन भित्र्याउने ठूला व्यापारी र विना परीक्षण द्रव्यखञ्चुवा स्वीकृति दिने कर्मचारी वा सिफारीष गर्ने विज्ञबाट क्षतिपूर्ति भराउने व्यवस्था हुनु जरुरी देखिन्छ । वास्तबमा हामीले फेरि देखिका यस्ता पिडा दिने विरुद्ध सिंहदरवार घेरेर क्षतिपूर्ति लिने भन्दा आयात कर्ता ठूलाघरानाको घर घेरेर क्षतिपूर्ति उठाउनु श्रेयस्कर होला । राज्य पनि आखिर तिनीहरूबाट ठगिएकै त छ ।

    जसलाई खेतिको ख जानकारी छैन उही विज्ञ भएर गर्ने सिफारिष पनि कम प्रत्युतपादक छैन ।

    धेरै पत्रकारको रासन पानी नै ती ठूला व्यापारीक घरानाले दिन्छन् । विज्ञापनको लोभले ठूला पत्रिकालाई गाँजेको छ । किन लेख्थे अन्नदाताका विरुद्धमा ?

    Reply
  3. सिर्जने says:
    December 20, 2013 at 10:05 pm

    परिवर्तन को लेखमा दम छ कुरो जायज हो / मैले यो बिसयमा पहिलो लेख माइसंसारले छापेकै दिन कमेन्ट गरेर भनेको थिए: जुनै जातको मकै लगाएपनि मकैले नेपाली किसानलाइ धनी बनाउन सक्दैन / मकै मात्रै होइन धान कोदो गहु जे लगाएपनि त्यस्तो धेरै आम्दानी हुने देखिदैन / कुरो बिउमा पनि छैन / कुरो संसाधनको अधिकतम उपयोगितामा र तेस्को प्रतिफलको दरमा आएर अडिन्छ /

    केहि उदाहरणहरु हेरौ –
    (१) कति समयमा प्रतिफल पाईन्छ: मकै रोपेदेखी पाक्न तिन महिना लाग्छ, त्योभन्दा छिटो बाली दिने अरु के के कृषि उत्पादन हुन सक्छन? तोरीको साग २ हप्तामा खान तयार हुन्छ, बजार छ भने थोरै जग्गा हुनेले तोरीको साग नै किन नलाउने? बढी भयो भने गुन्द्रुक बनाएर बेचे पनि भो।
    (२) मलको मात्रा: मकैको बोट पाँच फुटभन्दा अग्लो हुन्छ, तेत्रो बोट हुर्किनलाई मल पनि सोही अनुसारको चाहिन्छ / चनाको बोट कति सानु हुन्छ, तेसलाई मल पनि त उस्तो धेरै चहिदैन / तोरी, सर्स्यु, आलस, मुसुरो जस्ता बालीको बोट सानु हुने भा’को ले तिनीहरुलाई धेरै मल चाँहिदैन।
    (३) परिश्रम: मकै दुइचोटी गोडिन्छ (कुनै कुनै जातलाई एकचोटि मात्रै गोडे पुग्छ), गहुँलाई गोड्नु पर्दैन, माथि भनिएका चना, तोरी, सर्स्यु, मुसुरो लाई’नि गोडिदैन। फलफुल खेतिमा धेरै गोडमेल चाहिंदैन। बाली उठाउने बेलामा कुन बालीलाई धेरै खेताला चाहिन्छ, खर्च कति हुन्छ त्यो पनि बिचार गर्नुपर्छ।
    (४) घुसुवा बालीबाट आम्दानी: पहाडी भेगमा मकै लगाउदा सिमि, भटमास, बोडी वा फर्सी जस्ता बाली मकैबारी भित्र लगाइन्छ, त्यस्तै तराइमा धान काट्ने बेलामा मुसुरो छरिन्छ / यी घुसुवा बाली हुन र तिन्ले थप आम्दानी दिन्छन्।
    (५) बजारमुल्य: सबै भन्दा महत्वपुर्ण कुरो बालीको बजार मुल्य हो। अलैंचीको भाउ र मकै को भाउमा धेरै अन्तर छ। नेपाली साना किसानहरूले अन्तरराष्ट्रिय स्तरका किसान हरूसँग प्रतिस्पर्धा गर्ने मकैबाट होईन अलैची, अदुवा, बेसार, जिरा-मरिच आदिबाट सम्भब छ। फेरी तेसो भन्दैमा सबै ठाँउमा अलैंची फल्दैन।
    (६) जग्गाको उपयोगिता: हिउदमा नेपालमा पानी नपर्ने हुनाले सिचाइ नभएको स्थानहरुमा सिचाइ गर्नुपर्ने बालीहरू लगाउन सकिदैंन। जाडो समयमा नेपालका अधिकाँश जग्गामा बाली लगाइदैन। ठाउँ अनुसारका सिचाइ नचाहिने बालीहरू (जस्तै: बेसार) को पहिचान गरि जग्गा खाली राख्नुभन्दा त्यस्ता बाली लगाउने हो भने थप आम्दानी हुन्छ /

    यी माथिका कुरा बाहेक स्थानिय बजारभाउ, यातायात सुबिधा, बाली संरक्षणको सम्भावना (जस्तै: स्याउ, सुन्तला चिसो भण्डारमा राख्न सकिने) आदिले किसान हरूको आम्दानीमा धेरै असर पार्छ।

    यी सबै गन्थनको मुल मर्म मकैमै मात्रै ध्यान दिनु भएन भन्न खोजेको हुँ /

    Reply
  4. Diwas says:
    December 20, 2013 at 7:23 pm

    मलाई त पहिला देखि नै नेपालको धेरै बुद्धि जिबिहरुको विश्वास पनि छैन र आशा पनि छैन. यिनीहरु कलम चलाउन शिपालु छन्, यिनीहरु संग दृस्टीकोण पनि छ तर यसको प्रयोग चाहिं आफ्नो निजि स्वार्थको लागि, गरिब जन्तालाई लुट्न अनि ढाँटन मात्र प्रयोग हुन्छ, नैतिकता भन्ने त यिनीहरु को लागि कुन चराको नाम हो थाहा छैन, कुनै पनि पार्टीको नेताको सुरालको ईन्जार नसमाती यिनीहरुको लेखको प्रस्फुटन नै हुन्दैन. दलाली, भ्रस्टचारी, तस्करको आदेश बिना यिनीहरु क ख पनि लेख्दैन, यस्ता दासहरुबाट नेपालीको लागि भलो हुने लेख, खोज अनुसन्धान होला भन्नु मुर्खता मात्र हो,यिनीहरु त certified दलाल हरु हो( university graduated). पैसा पाए भ्यागुता ट्यार ट्यार गरेको पनि हट न्युज बनाउँछ , पैसा नपाए देशै जले पनि यिनीहरुलाई सरोकार छैन,

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme