Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा : अभियुक्त

Posted on December 21, 2013 by mysansar

-दीपेन्द्र दोङ तामाङ-

“सर यसले मलाई एकोहोरो पछ्याएर हैरान पार्यो ।”

प्रहरी चौकीमा पुग्ने वित्तिकै उनले मौखिक जाहेरी गरिन् । उनी अर्थात मनिला शर्मा ।

“के हो तैंले एकोहोरो पछ्याएको होस् ?”

मनिलाको मौखिक जाहेरी पछि प्रहरीले अलि कडा स्वरमा उसलाई प्रश्न तेस्र्यायो । उ अर्थात दिल गुरुङ ।

आफ्नै प्रेमिकाको जाहेरीले अल्मलमा परेको दिल प्रहरीको प्रश्नले झन् असमञ्जस्यमा पर्यो ।

“हो”

उसले सहर्ष स्वीकार गर्यो ।

“किन त्यसो गरिस् ?”

प्रहरीले अझ कडा स्वर बनायो ।

“किन कि म उनलाई प्रेम गर्छु ।”

उसले सहज उत्तर दियो ।

“सुन्नुभयो त सर ? कसरी यसले आफ्नो कर्तुत सहर्ष स्वीकार गरिरहेको छ ? हुँदा हुँदा आज त यो मेरो घरसम्मै आइपुग्यो । शायद मलाई जवर्जस्ती गर्ने नियतले आएको होला ।”

उनले अझै संगीन आरोप लगाइन् । उनको त्यो आरोपको संगीनको सुइरोले दिलको मुटुमै रोपियो–च्वास्स । तैपनि घायल मुटुलाई सम्हाल्दै अर्को प्रश्न वा आरोपको सामना गर्न तयारी पोजिशनमा बसिरह्यो उ ।

“एइ साले,कहिलेदेखि मन पराइस् तैंले उनलाई ?”

प्रहरीले आफ्नो पेशागत जात जनायो ।

“एक वर्ष भयो ।”

कुनै अन्तर्वार्ताकारसँग अन्तर्वार्ता दिए जस्तै उसले फेरि सहज उत्तर दियो ।

“उनले नै इन्कार गरेपछि किन पछि लागिरहन्छस् ? तैंले प्रेम गर्न अरु कुनै केटी भेटिनस् ?”

अर्को प्रहरी तम्सियो अन्तर्वार्ता लिन । सके उसलाई आफ्नो बोलीको कडाकले तर्साउँन चाहन्थ्यो–त्यो प्रहरी । तर दिल कति पनि डराएको थिएन । न त अपराधबोधको कुनै लेश छनक नै थियो उसको मुहारमा । वरु त्यो अप्रत्यासित घट्नाबाट उसलाई मनमनै हाँसो उठिरहेको थियो । त्यसैले उ मुसुमुसु हाँसिरहेको थियो ।

“हेर्नुस् त सर,यो अझै कति शानसँग मुस्कुराइरहेको छ ? यसलाई सख्त कारवाही गरिपाऊँ हजुर ।”

मनिलाले फेरि जाहेरी गरिन् ।

“ल तपाई निवेदन लेखेर उजुरी गर्नुस् यसको विरुद्ध । त्यसपछि यसलाई के गर्नुपर्छ हामी गर्छौं ।”

दिललाई प्रहरी हिरासत कक्षमा लैजान आदेश दिदैं अघिल्लो प्रहरीले मनिलालाई कानूनी बाटो देखाइदियो ।

अब दिल प्रहरी हिरासतमा थियो । जीवनमा कहिल्यै नदेखेको ठाउँमा,त्यो पनि गर्दै नगरेको अपराधमा अभियुक्त भएर उ त्यहाँ पुगेको थियो । अर्थात पुर्याइएको थियो ।

उसलाई त्यहाँ पुर्याउँने अरु कोही भए त चित्ता बुझाउँने ठाउँ रहन्थ्यो । तर हिजोसम्म आफ्नै अंगालोमा रहेर जीवनभरका लागि सुख दुख बाँड्ने कसम खाएकी आफ्नै साथीको त्यो कदमले उसलाई मनमा कता कता चिसो पार्यो । एकछिन त दुख्यो पनि । तर उसले एकैछिनमा आफूलाई सम्हाल्यो ।

“गुरुङको छोरो भएर वाहुनकी छोरीलाई ताक्ने ? त्यसलाई कानूनको हावा नचखाइ कहाँ छोडूँला र ?”

वाहिर उसकै प्रिय साथी मनिला कसैसँग च्याँठिदै गरेकी आवाज उसको कानमै आएर ठोकियो ।

“ओइ,मतवालीको छोरो भएर वाहुनकी छोरीलाई ताकिस् ? भन् के के गरिस् ? कति रात रंगीन पारिस् ?”

हिरासतमा सेन्ट्री बसेको प्रहरी जवानको यस्तो थप प्रश्नले उसलाई झन् नाजवाफ बनायो । त्यसैले उ चुपचाप बस्यो ।

“एइ सुनिनस् ?”

“मैले के सोधें ? ”

त्यो जवान रिसायो ।

“सुनें”

दिलले सोझो उत्तर दियो ।

“अनि किन चुपचाप बसिस् त ? मलाई नटेरेको ? लगाइदिउँ थर्ड डिग्री ? पत्रकार रहेछस्,थर्ड डिग्री भनेको त थाहा होलास् नि ।”

जवानको फूर्ति अझ बढ्दो थियो ।

“तपाईको प्रश्नको जवाफ मसँगै छैन त म के भनेर जवाफ दिउँ ? मैले प्रेम गर्दा जात हेरिनँ,मन र मायालाई हेरें । माया गरे वापत माया खोजें,अरु स्वार्थमा लागिनँ । यस्तो अवस्थामा तपाई मबाट कस्तो उत्तर चाहनुहुन्थ्यो ?”

उसको यो जवाफले त्यो जवानको आक्रोशलाई केही मत्थर बनायो ।

निरपराधी नै भए पनि यतिखेर भने दिल प्रहरी हिरासतमा थियो । थरिथरिका अनुहार र दर्जाका प्रहरीहरु आउँथे । उसको कसूर थाहा पाएर हाँसोमा उडाउँदै जान्थे । मानौं मनिलालाई प्रेम गरेर उसले ठूलो अपराध गरेको थियो ।

एकाएक दिल दुई वर्ष अघिको त्यही दिनमा फर्कियो,जुन दिन मनिलासँग उसको पहिलो भेट भएको थियो ।

…………………………………………….

“तपाईको नाम धेरैपटक सुनेकी छु । तपाईसँग काम गर्न पाउँनु मेरो अहोभाग्य हुनेछ । म आफ्नो सबै क्षमता खर्चेर भए पनि तपाईले चाहे जस्तै काम गरेर देखाउँनेछु सर ।”

अन्तर्वार्ता दिदै गरेकी मनिलाको यी कुराले भन्दा पनि उनमा देखिएको उर्जा र उत्साहले दिलको मन यसै यसै उतैतिर खिचिरहेको थियो । यसअघि पनि थुप्रै मनिलाहरुसँग सहकार्य गरिसकेका दिलको अनुभवी आँखाले मनिलासँग लुकेर रहेको क्षमता र प्रतिभा अघि नै पहिचान गरिसकेको थियो ।

“तपाईलाई जागीर मात्रै चाहिएको हो ?”

दिलले अलिकति डिप्लोम्याटिक प्रश्न गर्यो । उनले बुझिनन् क्यारे -त्यसैले इमान्दारीतापूर्वक त्यसबारे प्रष्ट्याइदिन आग्रह गरिन् ।

“मलाई त कर्मचारी भन्दा साथी चाहिएको छ । तपाई मेरो साथी बन्न सक्नुहुन्छ ?”

दिलको यो प्रश्नले पनि उनी फेरि अलमलमा परिन् ।

“हामी यहाँ सबैजना हाकिम र कर्मचारी भन्दा पनि साथीत्वको व्यवहार र वातावरणमा काम गछौं,त्यसैले त्यसमा तपाई तयार हुनुहुन्छ ? भन्न खोजेको हूँ मैले ।”

दिल आफैले आफ्नो आशय प्रष्ट पार्यो ।

त्यसको भोलि पल्टदेखि नै मनिलाले पनि दिलको टिम ज्वाइन् गरिन् ।

………………………………….

जिल्लाबाटै भर्खरै स्नातक पढ्ने शिलशिलामा राजधानी छिरेकी थिइन् मनिला । पत्रकारिता उनको नसा जस्तै थियो । त्यसैमा केही गरेर केही बन्ने सपना थियो उनको । मनिलाले आफ्ना यस्तै सपनाका बारेमा समेत अवगत गराइसकेकी थिइन्–दिललाई । गाउँमै जन्मेको भए पनि राजधानीमै हुर्केर बढेको दिल पनि आफूले केही सहयोग गरेर हुने भए मनिलाको त्यो सपनालाई मूर्ततः दिन चाहन्थ्यो । त्यही भएर पनि होला उनीहरुबीचको घनिष्ठता बढ्दै गयो ।

उनीहरुबीचको त्यो घनिष्ठता कतिखेर प्रेममा रुपान्तारित भएछन्,दुवै जनाले पत्तै पाएनन् । जव उनीहरुले थाहा पाए त्यतिखेर सम्म उनीहरु दुवै एक अर्काबाट एक पल पनि टाढा रहन नसक्ने भैसकेका थिए ।

पातलो शरीर,औसत उचाइ र मुहारकी मनिलाको वाहिरी सौन्दर्य भन्दा उनको फरक सोंच र प्रतिभाबाट प्राभावित भएको थियो दिल । उता मनिला भने दिलको सानो सानो कुरामा पनि आफूलाई ख्याल गर्ने र मायालु व्यवहारबाट रत्तिएकी थिइन् ।

“तपाईलाई आज म एउटा कुरा भन्छु ल ? रिसाउँन चाहिं पाउँनुहुन्न नि ।”

अफिस छुटेपछि कफी पिउँन दिलसँगै क्याफेमा पुगेकी मनिलाले कफीको चुस्की लिदै भनिन् ।

“के कुरा हो ? भनन । म रिसाउँन्न ।”

दिलले पनि कफीको मग उचाल्दै भन्यो ।

“तपाईलाई एक दिन मात्र नभेट्दा नि मलाई हिजो आज खै किन हो कस्तो छट्पटी हुन्छ । कतै म तपाईको प्रेममा त परिनँ ?”

मनिलाले आफ्नो कुरा सीधै भनिन् ।

उनको त्यही प्रष्ट विचारधाराबाटै दिल प्रभावित थियो । त्यसैले मनिलाको कुराबाट उसलाई खासै आश्चर्यमा पार्न सकेन । अर्को कुरा के पनि हो भने दुवै जना एक अर्कालाई मन पराउँथे,खाली मुखले भन्न मात्र बाँकी थियो । त्यही कुरा आज मनिलाले भनेकी थिइन् ।

“माया भन्ने कुरा होइन,महसूस गर्ने कुरा हो । र, मैले त तिमीलाई पहिलो दिनदेखि नै माया गर्न थालिसकेको थिएँ ।”

दिलले प्रत्युत्तर दियो ।

उसको जवाफले मनिला निकै खुशी भइन् । शायद त्यही खुशीको प्वाँख हालेर सपनाको आकाशमा बतासिदै उड्न थालिसकेको थियो उनको मन । उनको मुहारको भाव भांगीले त्यो स्पष्टै देखाइरहेको थियो ।

त्यसपछिका दिनहरु झनै प्रेमिल रहे ।

हुन त धेरै जसो समय उनीहरु आ आफ्नै काममा व्यस्त रहन्थे । तर मुस्किलले मिलेको फुर्सदका पलहरु उनीहरु एकापसका लागि खर्च गर्न पाउँदा दंग हुन्थे ।

तर त्यस्तैमा एकदिन मनिलाले आफू दिलभन्दा पहिले अर्कै एकजनालाई माया गर्ने गरेको कुरा सुनाइन् । तर त्यो साथीले आफ्नो प्रस्तावलाई अझै स्वीकार नगरेको पनि सुनाइन् उनले । मतलवी,घमण्डी..खै के के उपनाम दिएर गाली गरिरहिन् उनले त्यो साथीलाई ।

प्राप्तिमा रमाउँनु र नपाउँदा दुखी हुनु मानवीय स्वभाव हो भनेर राम्रैसँग बुझेका दिलले मनिलाको कुरालाई सहजै लियो । उनको विगत जे भए पनि वर्तमान त आफैंसँग थियो,त्यसैले मनिलाको कुराहरुले खासै फरक पारेन उसलाई ।

तर अचानक मनिलाको व्यवहारमा केही परिवर्तन आउँन थाल्यो । सानो सानो निहूँ झिकेर उनी दिलसँग रिसाउँन र झर्किन थालिन् । उनको त्यो हरकतलाई पनि मायाकै एउटा पाटो ठानेर बसिरह्यो दिल । मनिलामाथि शंका गर्नु आफ्नै माया माथि शंका गर्नु थियो । त्यसैले पनि दिल मनिलाको वेवास्ताको वावजुद पनि माया गरि नै रह्यो ।

…………………………………………………………….

“मेरो पहिलेको साथीले मेरो प्रस्ताव स्वीकार गर्यो । त्यसैले अब हाम्रो सम्बन्ध यही अन्त गरौं है ?”

एकदिन मनिलाले दिलका सामू कति सहजताका साथ यस्तो प्रस्ताव राखिन्,त्यो सुनेर दिलले टेकेको धर्ती भित्रै भासियो ।

“मलाई यस्तो ठट्टा पटक्कै मन पर्दैन काली । ”

दिलले मनिलासँग गुनासो पोख्यो ।

“यो ठट्टा होइन, यथार्थ हो । अब मलाई विर्सिदिनुस् । मैले त सुरु पनि गरिसकें ।”
यी कुराहरु भनिरहँदा उनमा कति पनि संकोच र हिनतावोध देखिदैन थियो ।

मनिलाको यो अप्रत्यासित निर्णयमा दिलले केही निर्णय गर्नै सकेन । हुन पनि उसले जिन्दगीमा कहिले पनि यस्तो मोड आउला भनेर सोचेको पनि थिएन । किन कि उसलाई आफ्नो प्रेममाथि एकदम विश्वास थियो । तर आज उसको त्यही विश्वासले उसलाई लोप्प ख्वाइरहेको थियो ।

त्यसपछि मनिला दिलसँग बोल्नै छोडिन् । एउटै सिफ्टमा र कार्यालयमा काम गर्ने भएर पनि उनीहरु अब विल्कुलै अपरिचित जस्तै थिए । कुनै काम अह्राउँने र सो काम सम्पन्न गरेर बुझाउँने बाहेक उनीहरुबीच अरु कुराकानी नै हुन छोड्यो । मनिलाको त्यस्तो कठोर निर्णयले दिलको कमलो मन भित्रभित्रै भत्किदै गएको थियो ।

मन किन रुन्छ र मुटु कसरी दुख्छ ? भनेर दिलले बल्ल महसुस गर्न थालेको थियो ।

“तिमी यसरी कसरी बद्लियौ काली ?”

एकदिन मनिलालाई आफ्नै क्याविनमा बोलाएर उसले सोध्यो ।

“म बद्लिएकी होइन सर । बरु तपाईको बुझाइ फरक भएको हुन सक्छ ।”

मनिलाको जवाफमा कुनै ग्लानी थिएन ।

“अनि यो सब ? किन ?”

दिलले प्रष्ट हुन चाह्यो ।

“त्यो तपाईको गलत बुझाइ थियो । तपाईसँग नजिक भएँ भन्दैमा र तपाईलाई माया गरें भन्दैमा जिन्दगी नै तपाईसँग विताउँनुपर्छ भन्ने मलाई लाग्दैन । माया त म तपाईलाई अझै पनि गर्छु । तर जीवन विताउँन सक्दिनँ । फेरि, किन भनेर चाहिं नसोध्नुहोला ।”

यति भनिसकेर मनिला कक्षबाट निस्केर गइन् । दिल किम्कर्तव्यविमूढ बनेको थियो,त्यसवेला ।

त्यसपछि पनि आफ्नो कुरा राख्ने धेरै प्रयास गर्यो दिलले । तर मनिलाले एकोहोरो छलिरहिन् । अझ कतिपटक त आफ्नो बाटोमा आउँन नछोडे,टेलिफोन र इमेल लेखेर मानसिक टर्चर दिए वैकल्पिक उपाय अपनाउँन बाध्य हुनेसम्मको चेतावनी पनि दिइन्,मनिलाले दिललाई ।

“उनलाई मैले मायाले गरेका व्यवहारहरु सबै सिर्फ टर्चर लाग्छन् ?”

यस्तो सोचेर दिलको मुटु अनायसै टुक्रा टुक्रामा विभाजित हुन्थ्यो ।

तैपनि दिल आफ्नी मनिलालाई निस्वार्थ र एकोहोरो माया गरि नै रह्यो ।

…………………………….

त्यसदिन पनि दिल मनिलालाई जन्म दिनको बधाइ दिन गएकी थिइन् । त्यही पनि विहानभरि मोवाइल र फोनबाट बधाइ दिने कोशिस असफल भएपछि ।

“तँ मेरो घरसम्म कसरी आइस् ? तँलाई कसले बोलाएको थियो र ?”

थुप्रै उमंग बोकेर गएको दिललाई बाहिर गेटमै रोकेर मनिला कड्किइन् । मनिलाको यो स्वरुप अहिलेसम्म नदेखेको दिल एकछिन त अक्क न बक्कमा पर्यो । त्यसपछि आफ्नो कुरा राख्न चाह्यो उसले तर सुन्ने तत्परता पटक्कै थिएन,मनिलामा ।

शायद अपमानको बोधले होला गुरुङको छोरो दिल पहिलो चोटि मनिलासँग रिसायो ।

“म आफ्नो कुरा नराखी जान्नँ मनिला । तिमीले मेरो कुरा आज सुन्नै पर्छ । मलाई मेरो प्रश्नको जवाफ आज चाहिन्छ । आखिर किन तिमीले मेरो मायालाई खेलौना बनायौ ?”

“तपाईको प्रश्नको जवाफ छैन मसँग र जवाफ दिनुपर्छ भन्ने पनि लाग्दैन मलाई । किन कि म अरु कसैको हुनेवाला छु ।”

“तिमी यो सब कसरी गर्न सक्छ्यौ काली ? यति धेरै निष्ठुर नबन तिमी ।”

दिलले लगभग अनुयय नै गर्यो ।

“मेरो साथी अहिले यही आउँदैछ,प्लिज तपाई अहिले गइहाल्नुस् त ।”

यसपटक तपाई नै भनेर सम्बोधन गरिन् उनले ।

उनको कुराले दिलको मन झन् साह्रै दुख्यो । अपमानबोधले पोल्यो पनि । त्यसैले आज एउटा निष्कर्षमा नपुगी त्यहाँवाट नहट्ने अड्डी कस्यो उसले ।

“राम्रो मुखले नमान्नेलाई के गर्नुपर्छ भन्ने मलाई पनि राम्रैसँग थाहा छ ।”

यति भन्दै उसले एउटा नम्बरमा फोन गरिन् । त्यसको १५ मिनेटमै प्रहरीको भ्यान आयो । किन र के भैरहेको छ भनेर पत्तो हुन नपाउँदै प्रहरीले दिललाई भ्यानमा हाल्यो र चौकीमा पुर्यायो ।

………………………………………………………………………………

“ओइ आशिक पत्रकार । ल हिंड् अब भित्र । मिलापत्रमा हस्ताक्षर गर्न ।”

प्रहरी जवानको आवाजले सपनाको तान्द्राबाट व्यूँझे झैं झसँग भयो उ ।

प्रहरीको आदेश बमोजिम उसैको पछि लागेर गयो दिल । मुद्दा फाँटमा उसको अफिसको साथी र मनिलाको दिदी र भाउजू पनि आएकी रहेछिन् ।

“ल पहिलो पटकको गल्ती सम्झेर मनिलाजीले माफी दिनुभएको छ तपाईलाई । तर अब आइन्दा यस्तो गल्ती गर्नुभयो भने प्रहरीको सीदा खान तयार हुनुभए हुन्छ । बुझ्नुभयो त पत्रकारज्यू ?”

लेखनदास प्रहरीले चेतावनीयुक्त खबर सुनायो । उसले कुनै प्रतिक्रिया जनाएन र खुरुखुरु हस्ताक्षर गरिदियो ।

तर भित्र भित्रै उ आफ्नो अपराध खोज्दै थियो । उसलाई अभियुक्त बनाइनुका कारणहरु खोतल्दै थियो ।

‘शायद मनिलालाई साँचो र धेरै माया गर्नु नै उसको ठूलो अपराध थियो । उनलाई दिलमा सजाउँनु अनि उनले गरेका वाचा र उनको अभिनयलाई साँचो ठान्नु उसको महाभूल थियो । त्यही अपराधका कारण आज उ अभियुक्त बन्यो ।’ उसको मनको एउटा कुनाबाट यस्तै उत्तर आयो । तर यसले पनि उसको अधैर्य मनलाई आश्वस्त पार्न सकेन । दुखेको मन पग्लेर निकास खोज्दै कतिखेर आँखाबाट बग्न थालेछ,उसले हेक्कै पाएन ।

20 thoughts on “कथा : अभियुक्त”

  1. sarita says:
    December 24, 2013 at 8:28 am

    यो त सुबिन भट्टराई को ”समर लभ” को सारम्स हो जस्तो लाग्यो ?

    Reply
  2. jhalakmaan says:
    December 24, 2013 at 4:05 am

    यो कथा अति नै हावा लाग्यो, धेरै कुरा मनिलालाइ नराम्रो देखाउन बढाई-चढाई गरेजस्तो देखिन्छ. अब केटिले नै माया लाग्दैन भनिसकेपछि केटाले पिछा गरेर हुने चाही के? केटोलाई सास्ती, अनि केटीलाई टेन्सन! दुवै आ-आफ्नो बाटो लागे त कुरै खत्तम नि! काली गए गोरी आउँछे भन्देउ दिललाइ, अनि आइन्दा अलि गतिलो कथा लेख्दा पढ्नेहरुलाई नि आफ्नो समय बर्बाद भएको जस्तो लाग्दैन थियो होला लेखक महोदय! यो कथा त एकोहोरो, अपुरो, अनि हिन्दि फिलिमको कहानी जस्तो पो छ त गाँठे!

    Reply
  3. rama says:
    December 23, 2013 at 3:11 pm

    मेरो जिवनमा पनि कता कता यस्तै भएको थियो ।

    Reply
  4. bikash shrestha says:
    December 23, 2013 at 11:55 am

    यो कथा मात्र होइन मलाई पनि साचै नै एस्तो भयो . दसौ वर्षा सम्म माया को ढोंग रचेर आखिर मलाई मर्नु र बाच्नु बनाएर गयो. नाना किसिम को धम्कि दिन थाल्यो . यहाँ आइमाई हरु ले जे गरे नि हुने . सबै आइमाई को पक्छे मा हुन्छ हामी हरु त आइमाई को खेलौना मात्रै हो . आज खेल्यो भोलि अर्को संग खेल रच्यो . यो कुरा भोग्ने ले मात्रै थाहा हुन्छ

    Reply
  5. Bishwaraj says:
    December 22, 2013 at 3:21 pm

    कथा छोटो मीठो छ- दुई जीब्रेको भरोशा पर्दाको नतीजा येस्तै हुन्छ-

    Reply
    1. bikash shrestha says:
      December 23, 2013 at 11:57 am

      यो कथा मा रातो मा टिक लगाउने तेस्तै धोकेवाज हुनु पर्छ . जसलाई धोखा दिनु मजाक थान्छा

      Reply
  6. unishaa rai says:
    December 22, 2013 at 1:51 pm

    कथाको सार निकै राम्रो लाग्यो समय र हालको मानव चरित्र परिवर्तनले माया ,ममता,खुसि जस्ता कुरामा धोका धेरै सस्तो बनेको छ तर हामी मर्ने चोला को जीवनले कसैलाई धोका दिनुचै राम्रो होइन ………..सवर्थीलाई चिनुहोस साबधान ///////////////////////////

    Reply
  7. ramesh says:
    December 22, 2013 at 12:32 pm

    “”त्यसदिन पनि दिल मनिलालाई जन्म दिनको बधाइ दिन गएकी थिइन्”” यति कुरा त ख्याल गर्नुपर्छ नि हावामा ..

    Reply
  8. suzee says:
    December 22, 2013 at 12:26 pm

    पिरेम कथा !!! कि सत्य कथा !!!

    Reply
  9. अनाम झापाली says:
    December 22, 2013 at 11:53 am

    अनावश्यक रुपमा दिल प्रति सेन्टिमेन्ट जगाए जस्तो लाग्यो । अबका दिनका लब स्टोरी यस्तै यस्तै नै हुनेछन । मनिलाले मन नपराए पछि दिलले त्यसलाई स्वीकार गर्नु पर्छ । बाँकी, कथा शैली छोटो मिठो राम्रो छ ।

    Reply
    1. bikash shrestha says:
      December 23, 2013 at 12:00 pm

      अनाम जी लाई माया भनेको केहि थाहा छैन रहेछ . आफुलाई एस्तो चोट लागे को भए पो थाहा हुन्छ

      Reply
  10. सिर्जने says:
    December 22, 2013 at 9:38 am

    अलिअलि राजनीतिको गन्ध आउने अडमिल्दो कथा /

    Reply
  11. Bishnu Adhikari says:
    December 22, 2013 at 7:08 am

    कथाको लागि कथाकार लाई धन्यवाद / कथाका दिल गुरुङ भाई बास्तबमा तिमि अभियुक्त होइनौ / तिमि मा धर्य गर्न सक्ने क्षमता छदैछ / पर्खि बस एकदिन त्यो स्वार्थी तथा दुइजिब्रे मनिला शर्मा जसलाई तिमीले आफ्नो पबित्र माया दिइ रहेका थिऔ, लाई पहिला को साथीले अहिले जसरि स्वीकार गरेको छ तेसै गरि अस्विकार गरेको दिन तिमि समक्ष “दिल दाई मैले तपाई लाई चिन्न सकिन, तपाई महान हुनुहुदो रहेछ, मलाई क्षमा दिनुस ” भन्दै तिम्रो शरणमा आउने छन् तेस बेला मात्र मनिलाको आँखामा तिमि अभियुक्त होइनौ भन्ने पुस्टि हुन्छा
    बिष्णु अधिकारी
    चितवन

    Reply
  12. Debu says:
    December 21, 2013 at 11:08 pm

    एस्तो ताई न तुयी को नि कथा हुञ्छ? केटि ले अर्को केटा मन परेयो भनदा बितिकै कथा सिधि हालेयो नि हैन र लेखक जिऊ?

    Reply
  13. Alikhit says:
    December 21, 2013 at 10:33 pm

    वाहियात कथा | पुरै हिन्दि फिल्म बाट प्रभावित जस्तो छ | बिना कारण कसैले कसैलाई किन प्रहरी कहाँ लैजान्छ ?

    Reply
  14. nisha says:
    December 21, 2013 at 9:34 pm

    कथा मार्मिक लाग्यो भलै अभियुक्त हरु महिला मात्रै होइन पुरुस हरु पनि हुन्छन येति भन्दैमा सबै लै एउतै कोटी मा राख्न त नमिल्ला जे होस् स्वार्थ पूर्ति को लागि कसैले कसैलाई प्रेम गर्छ भने तेश्को परिणाम एस्तो हुन सक्छ भन्ने गतिलो सिक्चा दीएको जस्तो लाग्यो मलाई कथाले तेसैले
    प्रेम गर्नुस सोचेर विचार गरेर भावना बुझेर गरौ सधै सुखी रहु खुशी रहु.

    Reply
    1. bikash shrestha says:
      December 23, 2013 at 12:03 pm

      निशा जी लाइ कति को ज्ञान छ आज कल केटा ले भन्दा केटि ले धेरै धोखा दिन्छ भनेर . ?

      Reply
  15. saroj says:
    December 21, 2013 at 8:35 pm

    मेरो कहानी संग मेल खादा रहेछ यो कहानी त …………………

    Reply
  16. Prince says:
    December 21, 2013 at 7:56 pm

    ताई न तुइ हातमा लाग्यो दुइ भनेको येही हो …
    कथा कथा भएन
    व्यथा व्यथा भएन
    …

    Reply
  17. gurash says:
    December 21, 2013 at 6:11 pm

    आइमाइको चरित्र दैबले पनी बुझ्दैनन् रे भन्छन तेस्तै भाको त होलानी यो कथाको दिलजीलाई

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme