Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रामबहादुरलाई समयले कता लग्ला?

Posted on December 10, 2013December 10, 2013 by mysansar

-चर्चित ढुंगेल/अनन्त पोखरेल-

यसअघिको रामबहादुरको रामकहानी नपढ्नुभएको भए क्लिक गर्नुस्‌

दोहा–सात वर्षसम्म मजरामा एउटै दैनिकी भोग्दैआएका रामबहादुर नेपाली अघिल्लो शनिबार रातको साढे दस बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए। बाहिर निस्कँदा उनको स्वागतार्थ नुवाकोट चैनपुरदेखि श्रीमती, ज्वाई र कान्छो छोरो ब्यग्र प्रतिक्षामा थिए।
rambahadur
घाँस काट्दा र पानी ओसार्दा कतारको घामले कालो भइसकेको उनको अनुहार खुसीले जुन उदाएझै भयो। छोरालाई एकनिमेष हेरे। लाठे भैसकेछ। श्रीमतीको अनुहारमा आखा दौडाए। अनुहार चाउरिएको देखे। अनि सोचे ‘चिन्ताले खाएछ’। ज्वाईलाई देखेकै थिएनन्– मनभरि हेरे।

ढोगभेट गरेर आरामकुसलताको खबर सोधुन्जेलसम्म उनलाई वर्षौँको घाँसे गोठालोबाट मुक्ति दिलाएर ल्याएको कतार एयरवेज उनीजस्तै थुप्रै रामबहादुरहरुलाई बोकेर चर्को आवाज निकाल्दै पिलिकपिलिक बत्ति बाल्दै आकासमा कावा खायो। मझरामा हुञ्जेल तिनै विमान गन्दै आशातित नजरले आकाशतिर फर्किने उनले आज यति नजिकबाट उडेको विमानलाई हेर्दै हेरेनन् र हेर्न पनि चाहेनन्। तर मनमा मझराको घाँसले घोच्यो अनि मस्जिदको चिसो पानीले काठमाण्डौंको चिसो मौसममा थप चिसो थोपरीदियो।

कतारको जमेलियास्थित एउटा मझरामा सातबर्Èसम्म नङग्रा खियाएर कति घास हुर्काए, बढाए? उनैले रोपेको बयरको बोटले गर्मीमा शितल दियो तर घास जति पनि तलब बढेन। न मनमा शान्ति नै दियो। कहिल्यै नबढ्ने जरुवा तलब र सधै बढेर दुःख दिने हाईब्रिड घास चटक्क छाडेर उम्किन खोजे। तर भनेजस्तो सजिलो कहा थियो र? बिमान चढेर जानुपर्ने, ख्रुज, टिकट र पासपोर्ट चाहिने।

मालिकलाई कुरा राखे। ‘म तरतिप गर्छु’ भनेर गएको ऊ एक महिना फर्किएन। पछि फेरि कुरा कोट्याएपछि ‘विदामा गएको बंगाली आएपछि पठाउछु’ भन्ने आश्वाशन पाए। दसैमै जाने भनेर सारा तयारी गरेका उनले बंगाली आएपछि पनि पैतिस दिनपछि बल्ल जान पाए। ‘मजबुत बक्सिस दिन्छु’ भन्दै तीन महिना झुले तर फर्किने बेला ‘मजबुत’ मात्रै पाएछन्, ‘बक्सिस’ पाएनछन्।

हाल घरमै बसेर माईला ज्वाई खोज्ने तरखरमा रहेका उनी फर्केर कतार नआउने निधोमा पुगेका छन्। बरु जानै परे अरु नै कुनै देश जाने योजना बनाउदै रहेछन्। ड्यूटिसहित अठार घण्टाबढि काम गर्ने र दुई किलोमिटर टाढाबाट पन्चट भएको साईकलमा पानी ओसारेर मात्र छ सय तलब थाप्छन् भन्ने कुरा उनको परिवारलाई थाहा भएपछि कुनै पनि हालतमा कतार नपठाउने उनकी माइली छोरीले बताइन्। घरमै बसेर गर्दै आएको सुचिकारी काम अनि आङ्खनै खेतीबारी स्याहारेर बसुन् भन्ने संयुक्त चाहना परिवारको रहेको पनि छोरीले बताइन्।

आफ्नी माइली छोरीलाई ज्वाईको जिम्मा लगाएर उनी कुन गन्तब्यतिर लाग्छन् वा घरै बस्छन्? उनलाई नै थाहा छैन। टेलिफोन कुराकानीमा भन्छन् ‘समयले कता लान्छ, त्यतै लाग्ने हो।’

13 thoughts on “रामबहादुरलाई समयले कता लग्ला?”

  1. मेक says:
    December 12, 2013 at 1:15 am

    ए ! एन आर एन ए का टाऊके हरु तिमीरू को भाषामा भन्ने हो भने राम बहादुर नामको एउटा एन आर एन ए घटेछ।

    Reply
  2. gaury s adhikary says:
    December 12, 2013 at 12:38 am

    धर्मेन्द्रजी

    अब को नेपाल मा युवा हरुलाई रोजगार दिने योजना बनाउने लै मात्र वोट पाउनु पार्छ.
    नेपाली ले प्रबाश मा धेरै पुस्ता देखि दूख पाका छन् तर अबको नेपाल मा अर्थ नीति लै प्राथमिकता दिएर योजना हरु लागु गरेमा आम नेपालीको मुहारमा हाँसो देखिने थियो.

    गौरी शंकर

    Reply
  3. शशांक लामा, न्युयोर्क says:
    December 11, 2013 at 12:05 am

    राम बहादुरको रामकहानी पढेर फेरी मन भक्कानियो! चर्चित र अनन्त द्वयको मिठो प्रस्तुतिले मनै छुयो| लेखन कला होस् त यस्तो! शब्द चयन, प्रतिक, भाषा, बिम्ब सबै नै बिछट्ट राम्रा छन्| दोष दिने केवल एउटै कुरो छ,- त्यो हो, राम बहादुरलाई बिजोग बनाउने हाम्रो देशको बजिया व्यवस्था !!!!

    Reply
  4. dharmendra says:
    December 10, 2013 at 7:16 pm

    राम बहादुर जी , मातृभूमिमा स्वागत छ / जिन्दगि भनेको यस्तै रैछ ,संघर्ष , तेस्पछि संघर्ष , फेरी पनि संघर्ष र अनन्त काल सम्म संघर्ष / हामीहरु जस्तोसुकै संघर्ष गर्न पनि तयार छौ र गरिपनि रहेका छौ / तर रोजगारी को अति धेरै सम्भावना भएको हाम्रो देशमा किन सरकार हरु रोजगारीको बिषय मा ध्यान दिदैनन/ सत्ताको लागि होइन रोजगारको लागि संघर्स गर , रगतको लागि होइन उद्योगको लागि क्रान्ति गर / युवा शक्तिलाई चुनाबको मोटर साइकल र्याली ;ढुंगा मुढामा होइन कामको विकास निर्माण मा सदुपयोग गर / अनि हेरौ सधै भरिभराउ कामदार बोकेर जाने कतार एरओयेज कति खाली हुन्छा /

    Reply
  5. ज्ञानु कटुवाल says:
    December 10, 2013 at 6:40 pm

    मजबुत मात्र पाए ,बकशिस पाएनन बिचरा ……

    Reply
  6. Narayan says:
    December 10, 2013 at 9:26 am

    खुशी लग्यो राम बहादुर ले दुख बाट मुक्ति पाय़ेछन
    मरुभूमि को घाम लै बिदा गरेछन
    अब यो दुखमा डुबुल्की मर्न झुक्किएर पनि नफर्कनु है राम बहादुर जी धन्यबाद

    Reply
  7. योगेश आदी says:
    December 10, 2013 at 9:12 am

    चर्चित/अनन्तजी, लेखनशैली र शब्द संयोजनले साह्रै मन छोयो / खराब चाँही के लाग्यो भने यस्तो किसिमको लेखले पात्रलाई नै ओझेलमा पर्दो रहेछ ! तपाइँनै एकपटक पढ्नुस त कति मिठास छ; “उनीजस्तै थुप्रै रामबहादुरहरुलाई बोकेर चर्को आवाज निकाल्दै पिलिकपिलिक बत्ति बाल्दै आकासमा कावा खायो। मझरामा हुञ्जेल तिनै विमान गन्दै आशातित नजरले आकाशतिर फर्किने उनले आज यति नजिकबाट उडेको विमानलाई हेर्दै हेरेनन् र हेर्न पनि चाहेनन्।”

    Reply
  8. Ananta says:
    December 10, 2013 at 8:55 am

    येही हो जीवन.येसैमा बाच्न सिकौं साथी.

    Reply
  9. bishnu adhikari says:
    December 10, 2013 at 5:23 am

    यो एउट राम बहादुर को मात्र कथा होइन कि लाखौ नेपाली जो बाध्यता बस बिदेसमा तेस्रो नागरिक भएर जीवन यापन गरी रहेका छन् को कथा हो/ स्वद्श फर्किएका राम बहादुर लई येदि Nepal सरकारले आबस्येक कम गेंर बाताबरण मिलैदियेमा लाखौ राम बहादुर हरु आफ्नो मातृभूमि फर्कन तयार छन्
    बिष्णु अधिकारी

    Reply
  10. सिर्जने says:
    December 10, 2013 at 3:40 am

    रामबहादुरजी लाइ कतारी “खुला जेल” बाट “मुक्ति” मिलेकोमा मलाई धेरै खुशी लागेको छ / अरु धेरै नेपाली युवा हरुलाइ यसैगरि मुक्ति मिल्दै जाओस अनि आफ्नै गाउघरमा बसेर कतारमा गरेजत्तिनै मिहिनेत गरेर, खाडीको भन्दा धेरै कमाइ नेपालमै गर्न सकुन, मेरो हृदय देखिको शुभकामना ……..

    Reply
  11. bishnu pd subedi says:
    December 10, 2013 at 2:14 am

    खै मेरो हालत पनि तेस्तै छ / साउदी बसेको 5 बर्ष भैसक्यो तर सोचे जति केहि गर्न र जोड्न सकेको छैन …….अझै कति बस्नु पर्ने यो बिरानो मुलुक मा/ नेपाल मा सानो छोरो कहिले आउने बा भनेर सोधी रहन्छ, सँधै छिट्टै आउंछु भनेर ढाट्नु बाहेक अरु कुनै विकल्प छैन मेरो/ अब नेपाल फर्किएर पनि केहि गर्न सकिएला जस्तो छैन………. कहिले कहिँ त म किन नेपाली भएर जन्मे जस्तो लाग्छ, उफ़्फ़्फ़्फ़्फ़्फ़ मेरो जिन्दगि…………

    Reply
    1. raghubir says:
      December 11, 2013 at 7:37 pm

      साउदीमा नअल्झिनुस्, नेपाल फर्कनूस्, गर्नेलाई यहाँ पनि धेरै छ, ‘घरको तिर्थ हेलाँ’ भन्थे बुढापाका, तपाईंलाई त्यहि भएको हो।

      Reply
    2. Aayush says:
      December 16, 2013 at 10:57 pm

      एउटा नान्ग्लो किन्नुस ५ हजार जतिको चुरोट, पराग, कुरकुरे, मिनरल वाटर जस्ता समान किन्नुस र नया बानेस्वर चोक मा ब्यापार गर्न बस्नुस त्यो भन्दा बढी कमाई हुन्छ आफ्नो देसमा काम गर्न लाज नमान्नुस फाइदा यसमै छ

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme