Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रत्यक्षको अन्तिम सिट माओवादीको पोल्टामा, समानुपातिकमा कांग्रेसको एक सिटले अग्रता

Posted on November 25, 2013November 26, 2013 by Salokya

मंसिर ४ मा देशभर भएको संविधान सभा निर्वाचन भाग २ अन्तर्गत प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने प्रणाली)तर्फका सबै २४० निर्वाचन क्षेत्रको मतपरिणाम ६ दिनपछि आज सार्वजनिक भएको छ। ४ गते स्थगित भएको सप्तरी २ को एउटा केन्द्रको निर्वाचन शनिबार भएको थियो। आज अर्थात् मंसिर १० सोमबार मतगणना सकियो। यो अन्तिम सिट माओवादीको पोल्टामा गयो। सप्तरी क्षेत्र नम्बर २ बाट एकीकृत नेकपा (माओवादी) का उम्मेदवार अशोककुमार मण्डल ६ हजार ५७ मत प्राप्त गरी विजयी भए। निकटतम प्रतिस्पर्धी सद्भावना पार्टीका नवलकिशोर साह सुडीले ५ हजार ६२४ मत मधेसी जनअधिकार फोरम नेपालका चन्द्रनारायण यादवले ४ हजार ८३५ मत पाए।

यसै अनुसार अन्तिम परिणाम यस्तो रह्यो- नेपाली कांग्रेस १०५, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ९१, एकीकृत नेकपा (माओवादी) २६, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) ४, तराई–मधेस लोकतान्त्रिक पार्टी ४, राष्ट्रिय प्रजातन्त्र पार्टी ३, मधेसी जनअधिकार फोरम नेपाल २, नेपाल मजदुर किसान पार्टी १, सद्भावना पार्टी १ र तराई–मधेस सद्भावना पार्टी नेपाल १, स्वतन्त्र २।

समानुपातिक प्रणालीतर्फ ७९ क्षेत्रमा मतगणना सम्पन्न
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना भने जारी छ। सोमबार साँझ साढे ५ सम्ममा ७९ वटा निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भइसकेको छ।

निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीतर्फको मतगणना सम्पन्न भएका जिल्ला र निर्वाचन क्षेत्र यस प्रकार छन् :

• पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, रसुवा, धादिङ्ग, नुवाकोट, मनाङ, कास्की, तनहुँ, मुस्ताङ, म्याग्दी, रुकुम, रोल्पा, डोल्पा, हुम्ला, डोटी, दैलेख, डडेल्धुरा, खोटाङ, पर्सा, गोरखा, प्यूठान, बर्दिया र बैतडी गरी २५ जिल्लाका सबै निर्वाचन क्षेत्र।

• त्यसैगरी, मोरङ क्षेत्र नम्बर ४, ६ र ९, गुल्मी क्षेत्र नम्बर १ र ३, रुपन्देही क्षेत्र नम्बर १, २ र ६, वाग्लुङ क्षेत्र नम्बर २ र ३, दाङ क्षेत्र नम्बर १, २ र ४, मकवानपुर क्षेत्र नम्बर १ र ३, रौतहट क्षेत्र नम्बर १, काठमाडौ क्षेत्र नम्बर ८, झापा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २, कपिलवस्तु क्षेत्र नम्बर ३, पाल्पा क्षेत्र नम्बर ३, सिरहा क्षेत्र नम्बर २, उदयपुर क्षेत्र नम्बर २, कञ्चनपुर क्षेत्र नम्बर ३ र ४ तथा संखुवासभा क्षेत्र नम्बर १ को पनि समानुपातिक प्रणालीतर्फको मतगणना सकिएको छ।

• हाल सप्तरी क्षेत्र नम्बर २ बाहेकका निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी छ।

[प्रोजेक्सन अपडेट साँझ ६:१०] समानुपातिकमा एक सिटले कांग्रेसको अग्रता
अघिल्लो अपडेटभन्दा सिट संख्यामा खासै परिवर्तन भएको छैन। ६:१० सम्म ३८ लाख १० हजार १८६ मत गनिसकिएको छ। पहिलोमा कांग्रेस रहेको छ। उसको मत १० लाख पुग्न लागेको छ। समानुपातिकमा सुरुदेखि अग्रता लिइरहेको एमाले कांग्रेसको पछिपछि छ। तेस्रोमा माओवादी छ भने चौथोमा राप्रपा नेपाल छ। यति मतमा कति सिट पाइएला भन्ने अनुमान यसअघि ५२० मा गरिएको प्रोजेक्सनभन्दा खासै फरक छैन।

[प्रोजेक्सन अपडेट साँझ ५:२०] समानुपातिकमा एक सिटले कांग्रेसको अग्रता
प्रत्यक्षतर्फ १४ सिटले एमालेलाई उछिनेको कांग्रेस समानुपातिकमा चाहिँ पछाडि परिरहेको भए पनि आजदेखि यसमा पनि कांग्रेसले अग्रता लिन थालेको छ। देशका २४० मध्ये १५२ क्षेत्रमा भइरहेको मतगणनाका परिणाम आएपछि कांग्रेसको समानुपातिक मत स‌ंख्या बढेको हो। साँझ ५२० बजे आयोगले उपलब्ध गराएको ३७ लाख ८७ हजार ३४५ मतलाई अन्तिम मान्ने हो भने समानुपातिकमा कांग्रेसले एमालेलाई १ सिटले मात्रै उछिनेको हुनेछ। कांग्रेस ९२ सिट र एमाले ९१ सिटमा छ। अघिल्लो संविधान सभामा १०० समानुपातिक सिट पाएको माओवादीले अहिलेको मतगणनालाई अन्तिम मान्ने हो भने ५७ सिट मात्रै पाउनेछ। अघिल्लोमा ४ सिट मात्रै भएको राप्रपा नेपालले चाहिँ २६ सिट पाउनेछ। मतगणनाको थप परिणाम आएसँगै यो सिट संख्यामा घटबढ हुनसक्नेछ। अरु साना दलहरुले कति सिट ल्याउलान् त ? हेर्नुस् सूचि।

अरु मिडियामा कुन पार्टीले कति मत पाए भन्नेमात्रै दिइएको छ, हामी भने निर्वाचन आयोगले गणना गर्ने विधि अनुसार नै त्यति भोटबाट आउने सिटको प्रोजेक्सन गर्दैछौँ। यो नै अन्तिम भने हैन। मतगणनासँगै पाइने मत अनुसार यो सिट संख्या घटबढ हुनसक्नेछ। अर्थात् कुनै क्षेत्रमा कांग्रेसले ह्वात्तै मत बढायो भने केही समयको लागि कांग्रेसको बढी सिट देखिन सक्छ। कतै एमालेले ह्वात्तै बढायो भने एमाले अघि देखिन सक्छ। प्रत्यक्षतर्फ २४० र समानुपातिकमा ३३५ सिट रहेका छन्। हालसम्मको तथ्याङ्क अनुसार समानुपातिकमा सहभागी १२२ पार्टीमध्ये कुन पार्टीले कति सिट ल्याउनेछ प्रोजेक्सनको पूर्ण विवरण

7 thoughts on “प्रत्यक्षको अन्तिम सिट माओवादीको पोल्टामा, समानुपातिकमा कांग्रेसको एक सिटले अग्रता”

  1. dharmendra says:
    November 26, 2013 at 8:50 pm

    ओ साथी हो ठुला सानाको कुरा छाडौ , रोचक त के पनि छ भने कुनै पार्टीले १ मत मात्र प्राप्त गरे रे/ ल मानौ त्यो स्वयम् उमेद्वारको मत थियो /तर कुनै पार्टीको त 0 / उमेद्वार आफैले पनि आफुलाई भोट नहाल्ने / आठौ अस्चार्य होइन त ???????????

    Reply
  2. Raj bikram, doha says:
    November 26, 2013 at 9:30 am

    कांग्रेस र एमालेको बिचारमा खासै भिन्नता देखिदैन यी दुवै उस्तै हुन् l जनताले ज्यान मारलाई जिताउनु भन्दा चोरलाई जिताउनु राम्रो मानेर काग्रेस र एमालेलाई भोटे दिएको हो l यिनी हरुले पनि संबिधान नबनाए जनताले माओबादीको हैकमलाई जसरि खतम परे अर्को चुनाबमा यिनको पनि हालत पातला बने दिन्छ

    Reply
  3. laxman says:
    November 26, 2013 at 7:06 am

    बहुमतकै लागि पनि मुख्य ३ दल मध्ये कुनै दुई दल मिल्नै पर्ने भयो . भनेपछि संबिधान बन्ने सम्भावना पहिले भन्दा अलि बढी छ कि ?

    Reply
  4. sandip kharel says:
    November 26, 2013 at 5:41 am

    कांग्रेस -ए मा ले उस्तै उस्तै पार्टी हुन् ,दुइटा पार्टी मिलाएर २/३ मज्जले भैहाल्छ अब मिलेर ६ महिना मै सम्भिदान जारी गर्नु ….

    Reply
  5. prem gurung says:
    November 26, 2013 at 3:42 am

    यो लास्ट को मत पेटिका चै साट्ने मौका पाएन छ / बिचरा नत्र १०६ वा ९२ हुन्थियो कि ?

    Reply
  6. दिप श्रेष्ठ says:
    November 25, 2013 at 9:23 pm

    सरकार त खिचडी नै हुने होला त नि।

    Reply
  7. Bhim subedi says:
    November 25, 2013 at 8:14 pm

    प्रोजेक्सनको डाटा इरर देखाएको छ एक घण्टा देखि प्रयास गर्दा पनि खुलेन कृपया अपडेट गरिदिनुहुन अनुरोध छ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme