Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

माइसंसार भर्चुअल मतदानको परिणाम

Posted on November 18, 2013November 20, 2013 by Salokya

नेपालमा उत्साहजनक रुपमा मतदाता सहभागी भएको संविधान सभाको दोस्रो निर्वाचन सम्पन्न भएको छ र अब परिणामको अनुमान र खुल्दुली सुरु भएको छ। माइस‌ंसारले मध्यरात १२ बजेदेखि साँझ ५ बजेसम्म खुला गरेको भर्चुअल मतदानमा नेपाली काङ्ग्रेसको रुख चिह्नलाई सबैभन्दा बढी मत परेको छ। माओवादीको हँसिया हथौडा र एमालेको सूर्य नजिक नजिक रहेका छन् भने राप्रपा नेपालको गाई चौथो भएको छ। मनाङ जिल्लाका वास्तविक मतदाता (४७९५) भन्दा बढी अर्थात् ७८२४ वटा मत परेको माइसंसारको भर्चुअल मतदानमा रुखलाई सबैभन्दा बढी ३६.२ % मत परेको छ भने माओवादी र एमालेले क्रमशः १९.४१ र १८.७४ प्रतिशत मत पाएको छ। राप्रपा नेपालको गाई १६.४९ मतका साथ चौथो भएको छ। सङ्घीय समाजवादीको छाता १.५३ प्रतिशत मतका साथ पाँचौँ भएको छ। बाँकी ११७ दलले सून्य वा एक प्रतिशतभन्दा कम मत पाए। १ करोड २१ लाख ४७ हजार ८६५ मतदाता रहेको र संभवतः इतिहासमै सबैभन्दा बढी मत खसेको वास्तविक चुनावको नतिजा योभन्दा निकै फरक हुनसक्छ वा मिल्छ? मत खसाउन नपाएका स्वदेश र विदेशमा रहेका पाठकको बाहुल्य रहेको भर्चुअल मतदानको परिणाम र वास्तविक परिणाममा के कति अन्तर आउला? परिणाम नआएसम्म यसै भन्न सकिने कुरा हैन।
namuna
तर प्रमुख तीन दलबीच पहिलो, दोस्रो र तेस्रो हुन प्रतिस्पर्धा हुने निश्चित छ। के कांग्रेस पहिलो होला ? वा एमाओवादीले आफ्नो अग्रता कायमै राख्ला ? कि पहिले तेस्रो रहेको दल एमाले अगाडि आउला ? परिणाम रोचक हुनेछ।

चौथो शक्तिको रुपमा भर्चुअल मतदानमा जस्तै वास्तविक मतपरिणाममा पनि समानुपातिकतर्फ राप्रपा नेपाल आउने लगभग निश्चित देख्छु म। त्यसो हो भने विगतको भोटबाट कसको मत काटिएर राप्रपा नेपालमा परेको हो, उसलाई असर पर्नेछ समानुपातिकको मतसंख्यामा।

मधेसी दलको स्थिति यस्ता भर्चुअल मतदानबाट प्रष्ट हुने स्थिति छैन। त्यसैले वास्तविक मत परिणाम नै कुर्नु आवश्यक छ।

यसमा समानुपातिकमा सहभागी १२२ दलहरुको निर्वाचन चिह्नमात्र राखिएको थियो। प्रत्यक्ष निर्वाचित हुने अर्थात् पहिलो हुनेले जित्ने निर्वाचन प्रणाली अन्तर्गत देशभरका २४० सिटका लागि हुने निर्वाचनको परिणाम अझ रोचक हुनेछ। शीर्ष नेताहरुको स्थिति के होला ?

पुरानो ब्लगः
माइसंसार भर्चुअल मतदान
CAElection
नेपालमा हुनुहुन्न? नेपालमा भए पनि मतदान गर्न पाउनु भएको छैन? माइसंसारमा भर्चुअल मतदान गर्नुस्। आफूलाई मन परेको निर्वाचन चिह्न रोज्नुस् र मतदान गरी चित्त बुझाउनुस्। नेपालमा मतदान सकिएपछि यसको नतिजा हामी सार्वजनिक गर्नेछौँ। निर्वाचनको नतिजा आउन अझै केही दिन लाग्नेछ तर यो नमूना मतदानले नतिजाको पूर्वानुमान गर्न सहयोग पुर्‍याउनेछ।

मत कसरी दिने ?

नेपालमा हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी दुई वटा मतपत्रमा भोट हाल्नुपर्छ। प्रत्यक्षमा निर्वाचन क्षेत्र अनुसार मतपत्र फरक फरक हुन्छ। त्यही भएर विश्वभरका मतदाताका लागि यहाँ नमूना मतदान गर्न संभव छैन। त्यसैले समानुपातिकतर्फ नेपालमा जस्तो मतपत्र वितरण गरिन्छ, त्यसमा जतिवटा चिह्न हुन्छन्, त्यही क्रम अनुसार तल निर्वाचन चिह्नहरु राखिएका छन्। हरेक चुनाव चिह्नको माथिपट्टी अङ्क र सँगै छनौट गर्न मिल्ने ठाउँ छ। त्यहाँ क्लिक गरी पेजको मुनि रहेको Vote मा क्लिक गर्नुस्, तपाईँको मत दर्ता हुन्छ। कसको चुनाव चिह्न के थाहा भएन भन्नुहोला, नेपालमै पनि धेरैलाई थाहा छैन। त्यसैले थाहा भएकोमा भोट दिनुस्।

ध्यान दिनुस्

यो नमूना मतदान मात्र हो। यहाँ दिइने मत पनि वास्तविक निर्वाचनमा झैँ गोप्य हुन्छ। कुन आइपीबाट कसलाई मत दिएको भनी पत्ता लगाउन स‌ंभव छैन। तर एउटा आइपीबाट एउटा मत मात्रै दिन सकिन्छ। दोस्रो पटक सोही आइपीबाट मत दिन खोजे सिस्टमले त्यसलाई स्वतः रोक्नेछ। नेपालमा बुथ क्याप्चरको संभावना रहे झैँ एकै व्यक्तिले थरिथरिका आइपी प्रयोग गरेर मत दिनसक्ने संभावना त छ। तर यहाँको मतपरिणामले सरकार बन्ने/ स‌ंविधान बन्ने काम नहुने हुँदा त्यस्तो दुःख गर्दैनन् भन्ने आशा राखौँ।

यस मतदानमा मतदाता नामावलीमा नाम नभएका स्वदेश र विदेशका नेपालीहरुले मत दिने हुँदा यसको परिणाम नेपालमा भएको वास्तविक निर्वाचनको परिणामसँग नमिल्न पनि सक्छ। तर स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले आफूले मत दिन नपाए पनि आफ्ना साथीभाइ र आफन्तले दिने मतमा प्रभाव पार्न सक्ने हिसाबले वास्तविक परिणामसँग मिल्न वा नजिक हुने संभावनालाई पनि नकार्न मिल्दैन।

माइसंसारको भर्चुअल मतदान नेपालमा मतदान सुरु हुनुअगावै नेपाली समय अनुसार मध्यरात १२ बजेबाट सुरु हुनेछ तर निर्वाचन आचार संहिता अनुसार मतदान जारी रहँदासम्म मतदातालाई प्रभाव पार्ने गरी नतिजा प्रकाशित गरिने छैन। नतिजा नेपालमा मतदानको अवधि सकिएपछि अर्थात् साँझ ५ बजिसकेपछिमात्रै सार्वजनिक गरिनेछ।

धेरैभन्दा धेरै सहभागिताले वास्तविक परिणामको नजिक पुग्न सक्ने संभावना बढाउँछ। त्यसैले आफ्ना साथीभाइ र परिचितलाई पनि मतदान गर्न संभव भए सूचित गर्नुहोला।

तलको निर्वाचन चिह्न समानुपातिक मतपत्रमा राखिएका चिह्न कै क्रम अनुसार छन्। कृपया एउटा मात्र छानेर मत दिनुहोस्

(अपडेटः निर्धारित समय साँझ ५ बजेसम्म आएका मतको परिणाम माथि राखिएको छ। तर मतदानलाई बन्द नगरी अझै खुला नै गरिएको छ।)

6 thoughts on “माइसंसार भर्चुअल मतदानको परिणाम”

  1. bhakta raj bhusal says:
    November 21, 2013 at 10:57 pm

    जे होस् नेपाल मा नेपालीले अहिले को मुल्यान्ग्कन १००%सहि गरेको देखियको छ.,यसमा कुनै दुइ मत छैन.सबै ले पछाडी फर्केर हेरौत अनि आफुले आफैलाई बुझ्ने कोसिस गारौता नतिजा ले तेही भनेको छ.सबैको गल्ति अनुसार जनताले मुल्यान्ग्कन गरेर भोट दिएको अनुमान छ.

    Reply
  2. binod bravo says:
    November 20, 2013 at 3:15 am

    जे सोचेको र बुझेको र मैले आफ्नो सहि मत प्रयोग गरेको पाटीले जित हात पारेको छ
    हामि सबैको आशा र बिस्वास येही छ भोलि मत गणना सुरु हुदै गर्दा हरेक क्षेत्रमा कांग्रेसको जित निश्चित छ.

    प्रवासी कतार बाट

    मन परे हरियो नपरे

    Reply
  3. बिनोद तपाई कै साथी says:
    November 20, 2013 at 2:47 am

    जे सोचेको र बुझेको र मैले आफ्नो सहि मत प्रयोग गरेको पाटीले जित हात पारेको छ
    हामि सबैको आशा र बिस्वास येही छ भोलि मत गणना सुरु हुदै गर्दा हरेक क्षेत्रमा कांग्रेसको जित निश्चित छ.

    प्रवासी कतार बाट

    Reply
  4. Asin Gurung says:
    November 20, 2013 at 2:29 am

    नेपाली काँग्रेस लाई मेरो तर्फ़ बाट भोट ………

    Reply
  5. अनुराधा पौडेल फ्रान्स says:
    November 20, 2013 at 2:10 am

    अबस्यै झ्याली भएको हुनुपर्छ किनभने मैले नै तीनपटक भोट हालेँ ।

    Reply
  6. kiran says:
    November 19, 2013 at 7:49 pm

    एमाओ बादी पहिलो पार्टी निश्चित छ . कसैले बिस्वाश गरे नगरे परिणामले प्रस्ट पार्नेछ.चेतना भया

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme