Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अलविदा ! दयानन्द सर

Posted on November 13, 2013November 13, 2013 by उत्तम बाबु श्रेष्ठ

उत्तमबाबु श्रेष्ठ

24466_117582434920790_5874083_n दयानन्द सरको बारेमा अस्कल क्याम्पसमा विएस्सी पढ्दाताका धेरै सुनिन्थ्यो तर उहाँसँग प्रत्यक्ष कुराकानी हुने मौका कहिल्यै भएन उहाँ र मेरो बिषय उस्तै भएतापनि । विएस्सी सकेर त्रिभुवन विश्वविद्यालयको केन्द्रिय वनस्पति विभागमा एमएस्सीको विद्यार्थी बनेर जाँदा उहाँ त्यस विभाग छोडेर तात्कालिन रोनाष्ट (हालको नाष्टको) उपकुलपति भएर गइसक्नु भएको रहेछ । वनस्पति विभागको कार्यक्रममा आक्कल झुल्कल उहाँलाई देखिन्थ्यो तर उहाँसँग बोल्ने साहास कहिल्यै भएन । उहाँ आउने भनेपछि वनस्पति विभागमा अर्कौ किसिमको बातावरण तयार भएको महसुस मैले पछिसम्म पनि गरेको छु । घर छोडेर गएको अभिभावक धेरैपछि घर आउँदा घरमा हुने वातावरण जस्तो उत्सुकता, रोमान्चकता र अलिकती डर । उहाँ वनस्पति विभागको कुशल अभिभावकको रुपमा सम्मानित हुनुहुन्थ्यो ।

वनस्पति विभागमा दुईवर्ष पढ्दा उहाँको बारेमा वनस्पति विभागमा औपचारिक अनौपचारिक धेरै किस्साहरु पनि सुनिन्थ्यो अग्रजहरुबाट । किस्साहरु उहाँले गर्नुभएको माइटोकोन्ड्रियाको उत्पत्ति र विकास सम्वन्धी उहाँको पिएचडी सोध विश्वविख्यात भएकोदेखि वनस्पति विभागको विद्यार्थी र शिक्षकहरुसँग उहाँको सम्वन्धसम्मका हुन्थे । एउटा किस्सा यस्तो थियो । उहाँ विभागिय प्रमुख हुँदा त्यहाँको विद्यार्थी नेताले एकजना विद्यार्थीलाई भर्ना गर्न दवाव दिएछ । उहाँले मान्नु भएनछ । त्यसपछि त्यो विद्यार्थी नेताले भए भरको गमला फोरेर देखाउँदै सरकोे टाउको पनि यसरी नै फोरी दिउँ भनेछ । दयानन्द सरले पनि सक्छौं भने लौ फोर भन्नु भएछ । भनाभन बढ्दै गएपछि त त्यो नेताले वनस्पति विभाग जलाइदिन्छु भन्दै जर्किनभरी पेटोल ल्याएर छर्न थालेछ । तनाव बढ्दै गएपछि क्लास लिइरहेका वनस्पति विभागका विद्यार्थीहरु वाहिर आएर प्रतिकार गरेपछि त्यो विद्यार्थी नेता कुलेलाम ठोकेछ । सायद विद्यार्थीले राजनिति गर्ने मात्रै होइन संगठीत पनि हुनुहुन्न भन्ने मान्यता राख्नुहुन्थ्यो दयानन्द सर । त्यसैले होला अन्य त्रिविविका केन्द्रिय विभागहरुमा विद्यार्थीहरुको स्वतन्त्र संस्था थियो तर वनस्पति विभागमा थिएन । सरको कारण त्यो संभव नभएको भन्नेहरु पनि थिए । तर हाम्रो पालादेखि वोटानिकल स्टुडेन्ट सोसाइटीलाई पुर्नजिवित भएको थियो ।

अर्को किस्सा वनस्पति विभागको प्राद्यापकहरुसँग सम्वन्धित थियो । दयानन्द सर त्रिविविको रेक्टर हुँदा त्यसै वनस्पति विभागमा प्राद्यापक हुनुहुन्थ्यो त्रिविविका पूर्व उपकुलपति कमलकृष्ण जोशी सर पनि । कमल सर राजनितिमा सक्रिय हुनुहुन्थ्यो । २०४६ सालको आन्दोलनताका प्राद्यापक संघले अडिटोरियमा सभा गर्नको लागि कमलसरले चावी माग्दा दयानन्द सरले नदिएको र पछि कमलसरले अडिटोरियम वाहिर नै सभा गर्ने भनेपछि चावी दिएको भन्ने किस्सासँगै उहाँले अप्रत्यक्ष पंचायतलाई सहयोग गरेको अनौपचारीक आरोप पनि लाग्थ्यो । तर यस्ता किस्साहरु दशौं पुस्तापछि वनस्पति विभागमा गुन्जीरहेर हामीसँग आउँदा त्यसमा सत्यताको अंश कति बाँकी रहन्थ्यो हामीले जाच्दैनथ्यौं बरु उहाँको बारेमा एउटा धारणा बनाउथ्यौं । समग्रमा उहाँप्रतिको मेरो धारणा यस्तो थियो–विषयगत दक्षतामा कतै कमि नभएको विज्ञानको विकासमा लागिपर्ने एउटा निर्भिक र कडा मिजासको व्यक्ति जो राजनैतिक रुपमा राजसंस्थाप्रति उदार छ ।

पछिल्लो पटक उहाँको प्रवचन मैले हिमालयन जर्नल अफ साइन्स को विमोचनको क्रममा त्रिविवि केन्द्रिय पुस्तकालयमा सुनेको हो सन् २००३ मा । उहाँले वैज्ञानिक प्रकाशनको बारेमा निकै विचारोत्तेजक भाषण गर्नुभएको थियो । उक्त जर्नलका सम्पादक कुमार मैनाली दाईले भनेको अझै संझना छ, वनस्पति विभागको महिनावारी भित्तेपत्रिका बोटानिका ओरियन्ट्यालीस निकाल्नको लागि एक अंकको लागि रुपैयाँ माग्न जाँदा उहाँले एकवर्ष भरिको एकमुष्ट पैसा दिएको कुरा । उहाँले नेपालको विज्ञान क्षेत्रको विकास हुन बैज्ञानिक प्रकाशनहरु हुनपर्दछ भन्ने मान्यता राख्नुहुन्थ्यो । नेपाली वैज्ञानिक जर्नलहरुमा उत्कृष्ट मानिने र साजसज्जाको हिसावले पनि अन्तराष्ट्रिय स्तरको हिमालयन जर्नल अफ साइन्सको पहिलो अंकमा उहाँले सम्पादकिय पनि लेख्नु भएको छ । उहाँ त्यसको सल्लाहाकार पनि हुनुहुन्थ्यो तर पछि के कारणले गर्दा हो उहाँ त्यो जर्नलबाट टाढा हुनु भयो ।

नेपालमा विज्ञानको महत्व समाजमा फैलाउन उहाँले जति मेहनत र योगदान सायद कसैले पनि गरेको छैन् । पहिले कान्तिपुर र पछि नागरिक पत्रिकामा उहाँ नियमित लेख्नुहुन्थ्यो । नागरिकमा छापिने उहाँको लेख धेरै पढिने लेखहरुमा पर्दथ्यो । नोवेल पुरस्कारको घोषणा हुँदा होस् या मंगलग्रहमा यान पुग्दा उहाँको लेख प्रसंग मिलाएर आउथ्यो । व्रम्हाणदेखि शरिरको कोषसम्म, जलवायु परिवर्तनदेखि मानव जातिको अस्तित्वसम्मको बारेमा समेत सर्वसाधारणले वुझ्ने भाषामा बैज्ञानिक लेख लेख्न सक्ने अदभुत क्षमता थियो दयानन्द सरसँग । त्यसै क्षमताको कारण उहाँ नेपालको वैज्ञानिक सेलिवे्रटी वा आइकन बन्नुभयो । नेपालमा विज्ञानको कुरा हुँदा दयानन्द सरको नाम पर्याय जस्तै बन्यो । तर विज्ञान विषयको विकाशमा यति मरिमेटेर लागेको व्यक्तिले वनस्पति विभागको प्रमुख हुँदा एक दशकसम्म पनि एकजना पिएचडी सोधकर्ता पनि किन उत्पादन गर्न उहाँले सक्नु भएन होला ? जवकी पिएचडी सोध भनेको विज्ञानको विकासको जग र मापन दुवै हो । मेरो मनमा सधै यस प्रश्नले घचघचाइ रहन्थ्यो । उहाँसगँ भेट भएमा सायद मैले सोध्ने प्रश्न त्यहि हुन्थ्यो होला तर व्यक्तिगत रुपमा उहाँले भेट्ने घोको अधुरै रह्यो ।

व्यक्तिगत रुपमा प्रत्यक्ष भेटघाट नभएपनि दयानन्द सरले पहिले कान्तिपुर र पछि नागरिकमा लेख्ने कोलमको अधैर्य पाठक म । उहाँ पनि मैले लेखेका विज्ञानसम्वन्धी लेखको नियमित पाठक हुनुहुन्थ्यो । सन् २००५ अप्रिल ९ मा कान्तिपुर दैनिकमा ‘डस्टरमै सिमित नेपाली बैज्ञानिक’ भन्ने मेरो छापिएको थियो दयानन्दसर त्यतिवेला नाष्टको उपकुलपति हुनुहुन्थ्यो । नाष्टबाट आएको उक्त लेखको प्रतिकृया पनि छापिएको थियो त्यसवेला । नोभेम्बर २००८ मा नयाँ पत्रिकामा विज्ञान सम्वन्धि मेरो लेख छापिएपछि उहाँले मलाई वधाई भन्दै इमेल गर्नुभएको थियो र विदेशिएका वैज्ञानिक भन्ने कान्तिपुरको आफ्नो लेख पढ्ने सुझाव सहित । उहाँले यसै ब्लगमा विज्ञानसम्वन्धी लेखिएका मेरा ब्लगहरु पढेर मलाई हौसलाका इमेलहरु पठाइ रहनुहुन्थ्यो । हामी विचको सम्पर्कको पुल तात्कालिन वनस्पति विभागका प्रमुख प्रा कृष्णकुमार श्रेष्ठ बन्नु भएको थियो । पछिल्लो पटक सन् २०१२ मा विश्वप्रसिद्ध बैज्ञानिक जर्नल साइन्समा नेपालमा विज्ञान प्रविधीको विकासमा छिमेकीको भुमीका सम्वन्धी छापिएको मेरो लेख सरलाई पठाएपछि बधाई सन्देशको इमेल आएको थियो । अब मेरो इन वक्समा डिवज्राएटडब्लुलिकंडटकमडटएनपी बाट हौसलाले भरिएका त्यस्ता इमेल कहिल्यै आउने छैनन् । अलविदा ! दयानन्द सर !

12 thoughts on “अलविदा ! दयानन्द सर”

  1. deen shrestha says:
    November 15, 2013 at 7:56 am

    त्यो लिखुरे मान्छे टेलिभिजन, सभा समारोहको फोटोहरुमा देखि रहन्थे र को होला भन्ने कौतुहल त लाग्थ्यो साथै पत्रपत्रिकामा लेखहरु देख्थे तर आफ्नो बिषय र चाहनाको नभएर उहाको लेख कहिले पनि पढियेन |

    उहाको व्यक्तित्व बारेमा उहाको निधन पछि मात्र थाहा पाए | उहा त् देशको लागि मरिमेट्ने देशकै गहना पो रहेछ, उहाको निधनले देशमा एउटा अपुरणीय छ्यति भएको छ | हार्दिक समबेदना |

    Reply
  2. Kishan says:
    November 13, 2013 at 2:05 pm

    औपचारिक रुपमा मा उहाको बिध्यार्थी नभए पनि बिज्ञानको बिध्यार्थी भयको नाताले उहालाई श्रदान्जली ब्यक्त गर्न चाहन्छु

    Reply
  3. harihar sharma says:
    November 13, 2013 at 11:35 am

    Looking for another “Dayanada”, is there anyone who can fill his Gap.

    Reply
  4. बिपिन says:
    November 13, 2013 at 11:07 am

    स्वर्गीय दयानन्द सरप्रति हार्दिक श्रद्धाञ्जली । वहाँको बारेमा केही कुरा जान्ने र बुझ्ने अवसर दिनुभएकोमा लेखक महोदयप्रति साधुवाद ।

    Reply
  5. Divas says:
    November 13, 2013 at 10:27 am

    Death is as natural as life, therefore i donot comment on obituaries generally .. however, i must say that Prof Bajracharya was really a devoted scientist & academician..

    Reply
  6. डिल्ली says:
    November 13, 2013 at 9:43 am

    दयानन्द सर! आज हामी बीच नरहे पनि वहाँले पढाएका चेलाचेलीहरू देश विदेशमा सम्झदै छन् । कम उमेरमा विश्वविद्यालयमा पढाउन छिर्ने दयानन्द सर कम उमेरमा प्राद्यापक हुनेमा पनि पर्नु हुन्थ्यो । दरवार र पञ्चायत नजिक हुँदा हुँदै बहुदलकालमा पनि नाष्ट (पहिले रोनाष्ट)मा नियुक्तहुन सक्नु क्षमता भएर नै हो । वहाँको नियुक्ति अघि भाडामा बसेको नाष्टले आफ्नै भवन पनि वहाँकै पालामा पाएको हो । कर्मचारी पनि नतमस्तक बने नाष्टमा किनकी वर्षौँको अस्थाइलाई वहाँकै पालामा स्थाई बनाइएको थियो । बहुदलको उदयसँगै अधोगति लागेको देशमा वहाँले नाष्ट सम्हाल्दैमा विज्ञान तथा प्रविधिले छलाङ हान्ने पनि कुरा भएन जसमा राज्यको प्राथमिकता नै परेन ।

    वहाँसँगका स्मरणका क्षणहरू धेरै भए पनि वहाँलाई पहिलो पटक देख्दा लिखुरे ज्यान काँधमा ज्याकेट हाली हँसाउँदै ओजिलो स्वरले पढाएको सम्झनामा मात्र सिमित रहने भयो । प्रयोगात्म कक्षाहरू रचनात्मक रुपमा पढाउन सक्ने र गहिरो बुझाइ भएका वहाँ सिर्जनशील व्यक्तित्वका धनी दयानन्द सर ! अलविदा !!

    Reply
  7. rajendra adhikari says:
    November 13, 2013 at 8:07 am

    Richard Ernst (नोबेल laureate of physical chemistry ) RONAST को conference मा guest scientist थिय, त्यसबेला conference को उद्घाटन समारोहमा किङ्ग ज्ञानेन्द्र कुलपतिको हैसियतले सहभागी थिय / दयानन्द sir को NAST को बारेमा ब्रिएफ़िङ्ग गर्दा पटक पटक(आबस्यकभन्द बढी ) “महाराजधिराज ” भनेको सुन्दा दिक्क लाग्ने देखिन्थ्यो /त्यो देखेर रिचार्ड Ernst पनि दङ्ग परेका थिय /सायद उनि राजसंस्था प्रति लोयल थिय / जे भयपनी बिसयाबस्तुमा दछय मान्छे जसको primary job research थियो त्यो निकै ठुलो कुरा थियो /उहा प्रति हार्दिक स्रदान्जली /

    Reply
    1. Shankar says:
      November 13, 2013 at 10:15 am

      जसरि कुमारी भनेर एउटी नेवार किसोरिलाई देबी मानेर पुजिन्छ तेस्तै त्यो राजा भन्ने पदवी हो | तेस्को आगे उनि झुकेको हुन् , आज ज्ञानेन्द्र लाइ कसले पुस्छ ?
      किसोरिलाई देबी मान्ने , राजा भनेर हेड ओफ स्टेट लाइ सम्मान गर्ने हाम्रो आफ्नै बिसिस्ट परम्परा हो तेस्मा सर्मिन्दा किन हुनु पर्यो , दयानन्द बिद्द्वन थिए तेसैले गरे , बिद्द्वान बात सकिन्छ , सिक्ने , न सके फलो गर्ने तर क्रितिसाइज न गर्ने ल |

      Reply
  8. आनन्द कुमार श्रेष्ठ says:
    November 13, 2013 at 7:52 am

    उत्तम जी धन्यवाद । केहि बर्ष अघि एउटा भिडियो बनाका थियौ, समय पाए हेर्नुहोला नि । http://www.youtube.com/watch?v=40Cc5ToZ7W0

    Reply
  9. माधब पाण्डे says:
    November 13, 2013 at 7:14 am

    दयानन्द सरको बारेमा किस्सा नै सुनेर एउटा धारणा बनाएको म उहाँलाई भेट्ने अवसर भने बनस्पति बिभाग मैं बिध्यार्थी को रूपमा आएपछि मिल्यो । पातलो र अग्लो कमजोर देखिने शरीर मैले बनाएको काल्पनिक चित्रसंग नमिल्दो थियो । तर ओजपूर्ण ब्यक्तित्वको कारण बिभागमा भएका कार्यक्रममा बिध्यार्थीहरू मात्र होईन प्रोफेसरहरू पनि अति उत्साहित देखिन्थे वहाँको प्रवचन सुन्न । धाराप्रवाह र अति शिलसिलेवार तरिकाले दिएका प्रवचनमा सबै मन्त्रमुग्ध हुन्थे ।
    बनस्पति बिभागबाट आफ्नो बिदाईमा गरिएको कार्यक्रममा उहाँले दिनुभएको आफ्नो जीवन कथाको पावर पोईण्ट प्रस्तुतीकरण सबैलाई उत्प्रेरित थियो । त्रिचन्द्र कलेजमा रहेको साईकसको बोटको हुर्काईसंग आफ्नो क्यारियर को तुलना गरिएको उक्त प्रस्तुतीकरण वास्तवमै अतुलनीय थियो ।
    यी सबै अब केवल संझनामैं सिमित रहे !
    शब्दश्रध्दा दयानन्द सर !!!

    Reply
  10. Shyam says:
    November 13, 2013 at 3:19 am

    अलविदा सर!

    Reply
  11. suzee says:
    November 13, 2013 at 2:39 am

    हार्दिक समबेदना !!!
    श्रदान्जली !!!!!!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme