Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लघुकथाः ओरालो

Posted on November 9, 2013November 9, 2013 by mysansar

saturday-fiction -उत्तम पौडेल-

हरी बाजे पुसको पारिलो घाम ताप्दै चौतारीमा पत्रिका पढ्दै के थिए, भुराभुरीहरु कुद्दै आए, र पिरोल्न थाले -“हजुरबा ! हजुरबा ! एउटा कथा भन्नु न ! ”

भुराभुरिको गाला मुसार्दै बाजेले सोधे- ” लु त लु, के को कथा सुन्छौ ?”

भुराले भने – “सुँगुरको।”

नचिताएको बिषयले बाजे एकछिन तिरिमिरी भए, एकछिनमा जुँगा मठार्दै कथा भन्न थाले- “उहिलेको कुरा हो, पण्डित विष्णुप्रसादको छोरोले पल्लो गाउँमा गएर दुई गिलास खोइलेबिर्को ठाडो घांटी लाएर खोत्याईदिएछ। गाउँलेलाई के चाहियो ? उखरमाउलो मच्चाइहाले।

नचिताएको बिषयले बाजे एकछिन तिरिमिरी भए, एकछिनमा जुँगा मठार्दै कथा भन्न थाले- “उहिलेको कुरा हो, पण्डित विष्णुप्रसादको छोरोले पल्लो गाउँमा गएर दुई गिलास खोइलेबिर्को ठाडो घांटी लाएर खोत्याईदिएछ। गाउँलेलाई के चाहियो ? उखरमाउलो मच्चाइहाले। देशमा श्री ३ को राज्य थियो, गाउँका पन्च/मुखिया पनि त्यस्तै थिए। बाहुनको छोरोले रौ’सी खायो भनेर गाउँले पुरै ऊ माथी ओइरिए। बिचरोको टाउको चारपाटा मुडेर, काँधमा सुंगुरको पाठो भिराएर, चार भन्ज्यांग कटाए। सुँगुर छुवाउनु एकदमै ठुलो सजायं थियो, बुझ्यौ ?”

” हा हा हा हा।” भुराभुरी गललल हाँसे।

“त्यसपछि के’भो बाजे ?”

” त्यसपछि त्यो तराई झर्यो, चितबनमा जंगल फाँडेर त्यतै बस्यो। देशमा पनि प्रजातन्त्र आयो। बाहुनहरु प्रजातन्त्रमा छट्टाउँदैं सुटुक्क झ्वाईँखट्टे झ्याम् पार्न थाले। सुँगुर भने छोएनन्। बाहुनहरू बाटोमा सुँगुर देख्दा पनि अर्को बाटो हिंड्थे, झुक्किएर छोईहालियो भने तात्तातै घर आएर सुनपानी छर्केर चोख्याउँथे। यसैताका म जन्मिँए। अघिका टाउको मुडुले मेरा बा थिए।”

भुराले गम्भीर हुँदै सोधे- “त्यसपछि ?”

“त्यसपछि देशमा पंचायत आयो बा ! ‘महिन्द्र’ ले बँदेल खान्छन् भन्ने निहुँमा फोकट्या बाहुनहरुले पनि बँदेल खान थाले। बाहुनले रौ’सी खानु केहि आइतबार रहेन, तर सुँगुर-बुंगुर भने खाएनन्। यसै ताका म पनि बाउ बनें, तर मेरो टाउकोमा भने टन्नै रौँ थियो है। ”

“हा हा हा….त्यसपछि ?”

“पंचेले जनताको दिमाग पंचेट पारे, जनताले ४६ सालमा टाले। त्यसपछि फुका’को साँढे झैँ भए बाहुनहरू, रक्सी र बँदेल खाएर आफुलाई ठुलाबडा ठान्न थाले। सुँगुर भने खाएनन्। यसै बेला म हजुरबाउ बनें। नाति ज्ञानी होला भनेर नाम पनि उत्तम राखें, तर सार्है बेबकुफ र फटाहा पो निस्क्यो।”

“किन र बाजे उत्तम दाइ त्यस्तो ?”

“त्यसपछि के भयो बा ?”

त्यसपछि पंक्तिकारका हजुरबा, हरिप्रसाद बाजेले मलिन स्वरमा भने-
” भो नानी ! त्यो साँइदुवाको कुरै नगर। त्यसले त घरमै पोर्क बार्बिकिउ गर्छ रे !
गणतन्त्र आ’र त होला, होटेलमा जाँदा पनि सुँगुरको साँधेको सुकुटीको सितन संगै सोमरस सर्लक्कै स्वाट् पार्छ रे !”

बाजेको आँखा सजल थिए।

२. लघुकथा: समाज

समाजशास्त्र पढाउने शिक्षकले कलेजको एउटा कक्षामा भने –“भौगोलिक अवस्था, आर्थिक अवस्था, ऐतिहासिक घटनाक्रम आदिले नै उक्त समाजको रितिरिवाज, चालचलन र संस्कार निर्धारण गरेको हुन्छ।” …..बाक्य जटिल लागेर हो या बिषय गम्भीर भएर, बिधार्थीहरु सोचमग्न भए, कक्षा चुप भयो।

पढाएको कुरा बिधार्थीहरुले कतिको बुझे या बुझेनन् भनेर जान्न उनि फेरी बोले –“ ल अब तिमीहरु भर्खरै पढाएको कुरा पुस्टि गर्ने उदाहरणहरु देउ त।”

एकछिन पछि कृष्ण बोल्यो – “चाइनामा माओले औध्योगीकरणको नाममा कृषिलाई लत्याएपछी अनिकाल लगेर लाखौ मानिसहरु मरे। आजसम्म पनि खानेकुरा फ्याँक्नेलाई उक्त समाजमा घृणा गरिन्छ।”

शिक्षकले खुशी हुँदै कृष्णलाई स्याबासी दिए।

हरिले अर्को उदाहरण दियो –“जापान र इजरायलमा प्राकृतिक श्रोत नभएको कारणले, त्याहाँको समाजमा शिक्षालाई सबैभन्दा महत्व दिइन्छ| पैसा हुनेलाई भन्दा शिक्षित व्यक्तिलाई सम्मान गरिन्छ।”

हरिले पनि स्याबासी पायो।

कैलास पनि के कम, उसले अर्को उदाहरण ठोक्यो –“बेलायत संग १०० बर्षे युद्द भएको कारणले, र जर्मनीसंग प्रतिस्पर्धा भएको कारणले गर्दा फ्रेन्च नागरिकले अंग्रेजी र जर्मन सिक्नै चाहेनन्। बिकसित देशहरुमा आजपनि फ्रान्स सबैभन्दा कम बहुभाषी भएको देश हो।”

कैलासले पनि जोड्दार स्याबासी पायो।

बबिता पनि कहाँ कम थिई र, अर्को उदाहरण आयो- “स्थापना कालदेखिनै थुप्रै देशका बासिन्दाहरु बसाँइ सरेर बनेको समाज हुनाले, अमेरिकी समाज आजसम्म पनि सबैभन्दा बलियो आप्रबासी अधिकार र स्वतन्त्रता भएको समाज हो।”

पुरै कक्षा ‘को भन्दा को कम’ को शैलीमा उदाहरण दिँदै थियो, र स्याबासी पचाउँदैथियो। तर कक्षाको अर्को तीक्ष्ण बिधार्थी रमेश भने चुपचाप थियो, गम्भीर भएर सबैको कुरा सुनिरहेको थियो।

त्यो देखेर शिक्षकले रमेशतिर नजर फ्याँक्दै सोधे-“ तिम्रो दिमागमा पनि केहि उदाहरण छन् कि रमेश ?”

रमेशले भुइँतिर हेर्दै जवाफ दियो – “इज्जत-बेइज्जतको ख्याल नभएको, बेला-न-कुबेला कर्कश बोलीमा हुँदो-नहुँदो भुक्ने, क्वार-क्वार कराउनेहरुलाई हामीले प्रभु मान्छौं। त्यसैले नेपाली समाजमा कार्तिकमा कुकुर र कागको पुजा हुन्छ।”
धन्यबाद भनुँ या नभनुँ भनेर शिक्षक बडो दोधारमा परे।

5 thoughts on “लघुकथाः ओरालो”

  1. sudhir says:
    November 14, 2013 at 6:18 am

    खासै भन्नु पर्दा के बाहुन के जात. खाने र नखाने कुरामा मान भित्रबाट आफुलाई खादा केहि फरक महसूस हुदैन भनी जे खादा पनि हुन्छ.
    खाने नहुने भए त अरु जतिले पनि खादैन थिए होलान
    बीस कुनै पनि जति या कुनै नागरिक ले खाएको थाहा त पैदैना सिवाय आत्महत्य्या गर्ने बाहेक.
    सबै कुरा उत्तमजी को राम्रो हो. कुकुर र काग पुञ्ज को सम्बन्धि कुकुर लाई पुजा हामी हाम्रो रक्षा गर्ने भएर गरिएको हो काग लाई संदेश दिने पन्छी भनेर होला.
    त्यो भन्दा पनि अल्लिक यो हाम्रो देशको रिति रिवाज र चाकरी गर्ने पर्थाले नै हामी पछाडी परेउ भन्दा खासै फरक पर्थियेना कि .

    Reply
  2. बशन्त राज says:
    November 10, 2013 at 2:21 pm

    म बाउन को छोरो हो / तर न त मेरा बाबु नै पुजारी थिए / न त पुरोहित न त सरकारी जगिरेनै थिए / दुख पुर्बक काम गरेर अलि अलि जग्गा जोडे / त्यो पनि छोरोले धितो राखेर खाडीमा काम गर्न गयो / अरु बाउनका छोराले सुँगुर, बंगुर , ममचा खाए होला / तर म अझै पनि साकाहारी जिबन मनपराउ छु / सकेसम्म साकाहारी खाना नै खोज्छु / दारु आज सम्म पनि छोएको छैन / सायद मेरो यस्तै बनि को कारण मन मिल्ने साथी छैनन् / म एकलकाक्टे भनेर चिनिन्छु / सबै बाउन को छोराले दारु सुँगुर आदि खाने होलान / तर नखाने पनि छन् / बरु कम होलान तर सबै लाई एकै तराजु मा राखेर जोख्दै सबै बाउन खराब छन् नभन्नु होला / सबैले बाउनले दारु सुँगुर बंगुर ममचा खान्चन नभन्नु होला / कथा राम्रो छ /

    Reply
    1. इश्वर चन्द्र आर. says:
      November 11, 2013 at 8:36 am

      सुँगुर मात्र होइन, बफ – बिफ – , सर्प , भ्यागुता , घोडा , कुकुर , घोंघी , गंगटा , कमिला – मुसा, बिच्छी, चीनका सहर हरु मा स्ट्रीट फूड हरु मा धमाका संग बेचिने चिज हरु हुन् ! रोस्टेड यी चिज हरु को म बाहुनै भए नि नखाई रहन सक्दिन ! हरेक पटक यी चिज हरु को स्वाद लियिरहंछु र उल्लिखित सबै खाएको छु ! यो खाने र उ नखाने भन्ने भन्दा नि नेपाल मा अब यी चिज लाइ प्रचलित गराएर खाद्ध सुरक्ष्या तर्फ ध्यान दिनु जरुरि भै सक्यो !

      Reply
  3. Bhadra says:
    November 10, 2013 at 4:28 am

    दुवै कथा राम्रो लग्यो. तर “समाज” को पछिल्लो बाक्य भने अतिनै घत लग्यो. कलम चलाउंदै गर्नु होला. धन्यवाद .

    Reply
  4. nisha says:
    November 9, 2013 at 6:07 pm

    सामाजिक चित्रण गरिएका कथाहरु को अभिबेक्ति सुन्दर लाग्यो . खैर सुँगुर को त क कुरा गर्नु र नेपाल मा रहदा बस्दा बुवा आमा ले बाहुन को छोरा छोरि सुँगुर को नजिक पर्नु हुन्न अपवित्र हुन्छ भन्नुहुन्थ्यो खैर यता आँफु KANTEEN मा काम गर्छु भान्सा सहयोगी को रुप मा अनि जब BACON (याने कि सुँगुर को मसिनो SLICE बनाएको मासु ) पाक्छ मलाई तेश को बास्ना एती मिठो लाग्छ कि संसार मा एती मिठो चिज के होला र सिवाय BAKON बाहेक .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme