Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तत्कालिन माले, वर्तमान माओवादी र राष्ट्रियता

Posted on November 1, 2013 by परिवर्तन

परिवर्तन

बामदेव गौतम, अशोक राईको नेतृत्वमा एमालेबाट माले टुक्रियो। राष्ट्रियताको चर्को नारा बोकेर हातमा झण्डा बोक्दै योगेश भट्टराई, रविन्द्र अधिकारी, ठाकुर गैरे लगायतका आलाकाँचा युवाहरू कालापानी पुगे र भारतीय विस्तारवादका विरूद्ध आन्दोलन गरेको नाटक गरे। एमाले पूर्णत: भ्रष्ट भएको, राष्ट्रियता कमजोर बनाएको, महाकाली बेचेको लगायतका अनेकौं आरोप लगाए। उता माउ पार्टीले फुटेर गएकाहरूलाई सुरासुन्दरीको आरोप मात्र लगाएन सुन तस्करीको आरोप पनि लगायो। एक आपसमा भन्न हुने, नहुने गरी गाली गलौजमा उत्रिए, हात हाला हाल र पानी बारा बारको स्थिति देखियो। यसरी पार्टी विभाजन हुँदाको मूल मुद्दा भने राष्ट्रियताको थियो।

चुनाव भयो। एमालेले मालेका कुनै एक उम्मेदवारले जिते पनि उसको राजनीतिक हैसियत बढ्ने ठानेर काङग्रेसलाई भोट हाल्न लगाएर भए पनि मालेलाई हरायो। बामदेव गौतम यसै कर्तुतको शिकार भएका थिए। एमाले यस मामलामा सफल भयो भलै ऊ देशभर चुनाव हार्यो र काङग्रेसले बहुमत प्राप्त गर्यो। एमाले नेतृत्व अन्य कम्युनिष्ट पार्टी वा आफ्नो भोट तान्न सक्ने पार्टीहरूप्रति सदैव असहिष्णु छ। उसको विशेषता नै अरूको अस्तित्व नस्वीकार्ने खालको छ। त्यसैले पनि कम्युनिष्टहरू माझ एकता हुँदा कांग्रेसलाई जित्ने ठाउँमा पनि ऊ हार्न तयार छ तर अर्को कम्युनिष्ट पार्टीको उम्मेदवारले जितेको सहँदैन। एमालेले आफ्नो अस्तित्वका लागि रूपचन्द्र विष्टलाई बदनाम गरायो भने मजदुर किसान पार्टीको राम्रो सम्भावना रहेका दैलेख, जुम्ला जस्ता जिल्लामा उसको पार्टी संयन्त्रलाई ध्वस्त पार्यो र बाग्लुङ, अर्घाखाँची, प्युठानमै पनि उसले जनमोर्चाका सहयात्रीहरूलाई जिताउनु भन्दा त्यहाँ उनीहरूलाई कमजोर पारे आफ्नो संगठन बलियो हुने निष्कर्ष अनुरूप काम गरिरह्यो। अब एमालेले अन्य कम्युनिष्ट पार्टीलाई हराउन वा असफल पार्न बाँकी रहेको ठाउँ भक्तपुर मात्र हो। मिल्यो भने त्यहाँ पनि उसले काङ्ग्रेसलाई जिताउने गरी मतदान गर्न बाँकी राख्दैन।

आफ्नै वरिपरिका शक्तिहरू नास्दै र निर्मुल पार्दै एमाले शक्तिशाली बन्दै जाँदा बामदेवहरूको अस्तित्व पनि खतरामा पर्यो र पुन: एमालेमा फर्किए। उनीहरूका लागि सेटलाइटबाट बिजुली बेच्ने माधव नेपालको हावा गफ वा महाकाली सन्धीमा हस्ताक्षर गर्न प्रमुख भूमिका खेल्ने खड्‌ग वली मात्र होइन भारतीय राजदूत मार्फत् भारतमा आफ्ना छोरा-छोरी पढाउने सबै नेताहरू आफ्नै लागे, राष्ट्रियताका प्रवर्तक लागे। राष्ट्रियताको खोक्रो नारा समाप्त भयो र एमाले नै सबैभन्दा राष्ट्रियता भएको, राष्ट्रिय हित हेर्ने स्वाभिमानीहरूको पार्टी बन्यो। कालापानीमा मार्चपास गर्न गएका युवाहरू पनि पुन: यसै राष्ट्रियताभित्र हराए तर उनीहरूको राष्ट्रियताको नारा भने अहिले पनि हराएको छैन। भाषण गर्दा अहिले पनि उनीहरू नै सबैभन्दा चर्कोसँग राष्ट्रियताको कुरा उठाउँछन्। यसरी माले र एमाले मिसियो र राष्ट्रियताको खोक्रो आदर्शबाट दुई खेमा मुक्त भए। तर, यसरी विभक्त भएपछि विरक्तिएका थुप्रै कार्यकर्ता र नेताहरू भने पुराना पार्टीमा फर्किएनन्। कोही आफ्नै पार्टी खोलेर बसिरहे भने कोही माओवादीमा छिरे र कोही राजनीति छोडेर स्वतन्त्र बनेर बसिरहे।

अहिले यस्तै-यस्तै अवस्था एमाओवादी र माओवादीमा देखिन्छ। माओवादीले चुनाव नलड्ने निर्णय गर्यो तर उसको मन भने चुनावमै छ। उसले एमाओवादीले चुनाव जितेको देख्‍न चाहन्न वा कम्तिमा उसका केही नेताहरूलाई चुनाव हराउने धुनमा छ। यो आफैमा चुनावप्रति चासो हुनु हो र चुनावलाई मान्यता दिनु पनि हो। तत्कालिन मालेले जस्तै माओवादीले पनि खोक्रो राष्ट्रियताको खोल ओडेको छ र देशभर यसैबाट आफ्नो अस्तित्व बनाउने र आफू शक्तिशाली हुने सपना देखेको छ। १२ वर्ष सँगै जनयुद्धमा रहँदा वा त्यसपछिको १२ बुँदे हुँदै अघिल्लो चुनावसम्म पनि उसले माओवादीभित्र रहेको राष्ट्रियता विरोधी तत्व चिन्न सकेन। यदि २० वर्ष सँगै रहेका आफ्नै साथी-भाइ, नेतृत्व र सहपाठीहरू को बाट परिचालित भइरहेका छन् वा कसको स्वार्थमा परिचालित छन् भनेर थाहा नपाउने हो भने त्यस्ता व्यक्तिहरूले राजनीति गर्नुहुन्न। वा उनीहरूले राजनीतिका नाममा जनतालाई ढाँट्नु हुन्न। आफ्नै कार्यकर्ता वा नेतृत्वका विषयमा विश्लेषण गर्न नसक्ने वा उनीहरू खराब हुँदा-हुँदै बेलैमा पहिचान नगरी उनीहरूको पछि लाग्ने र त्यस्ता राष्ट्रविरोधीहरूलाई साथ दिनु भनेको जनतालाई धोका दिनु हो। यदि वैद्य, चन्द वा थापाले बाबुराम भट्टराई वा प्रचण्ड राष्ट्रियता विरोधी छन् भन्ने वेलैमा चिनेको भए यति धेरै नेपाली मारिने थिएनन् त्यसैले युद्धका सबै असल तथा खराब पक्षको जिम्मेवारी माओवादीले पनि लिनै पर्छ। यदि एमाओवादीले कतै दलाली गरिरहेको छ भने, यदि राष्ट्रियता कमजोर पारिरहेको छ भने त्यसलाई त्यो ठाउँमा पुर्याएकोमा माओवादीले पनि माफी माग्नुपर्छ। र आफूले आफ्नै साथीहरूलाई बेलैमा चिन्न नसकेकोमा लाज मान्नुपर्छ र आफैलाई धिक्कार्नुपर्छ। यदि उनीहरूले राष्ट्रविरोधी शक्तिलाई वेलैमा चिनेको भए देशले अहिलेको भोगिरहेका कैयौं सङ्कट भोग्नुपर्ने थिएन त्यसैले देशको वर्तमान सङ्कटको एउटा कारक तत्त्व माओवादी पनि हो।

राजनीति जहिले पनि अनिश्चिताको खेल हो। यदि एमाओवादीले चुनाव हार्यो भने उसले अहिले बोकिरहेको राष्ट्रियताका परिभाषाहरू फेरिन सक्छन् र त्यो माओवादीसँग नजिक हुन पनि सक्छ तर माओवादीले जति नै बल गर्दा पनि एमाओवादीले चुनाव जित्यो भने माओवादीको भविष्य के हुन्छ भन्ने प्रश्नको जवाफ खोज्न भने माले-एमालेको मिलन एउटा उदाहरण हुन सक्छ। यदि माओवादीले आफ्नो बाटो फेरेको भए ऊसलाई अहिलेको चुनावसँग खासै मतलब हुने थिएन र उसलाइ कसैको विजय वा पराजयसँग त्यति धेरै टाउको दुख्ने थिएन तर अहिले त्यस्तो अवस्था छैन। यस अर्थमा सबैभन्दा बढी चुनाव नेकपा माओवादीलाई नै लागेको छ। चुनावी प्रकृयाबाट हुने कसैको हार वा जितमा कुनै पार्टीको अस्तित्व जोडिन्छ भने त्यो पक्कै पनि चुनावप्रति निरपेक्ष रहन सक्दैन। त्यसैले नै माओवादीले चुनावलाई यति धेरै महत्त्व दिइरहेको छ र उसले चाहे अनुसार चुनावमा खास व्यक्ति वा सङ्गठनलाई हराउने उद्देश्यका साथ ऊ चुनावी मैदानमा उत्रिएको छ। उसले “संसदीय वा संविधान सभाको चुनाव हाम्रो सरोकारको विषय होइन, यसमा जसले जिते पनि हारे पनि हाम्रो सरोकार छैन” भन्न सकेको छैन त्यसैले ऊ चुनावसँग सँगै बगिरहेको छ।

माओवादीलाई चुनावले असर पारेको छ र ऊ चुनावको प्रभावबाट मुक्त हुन सक्दैन। एमाओवादी, काङग्रेस वा एमाले र अन्य पार्टीलाई जति चुनाव लागेको छ त्यो भन्दा धेरै चुनाव माओवादीलाई लागेको छ। त्यसैले नै ऊ सबैभन्दा सक्रिय तरिकाले चुनावको विरोध वा वहिष्कारका नाममा चुनावको प्रचार-प्रसारमा लागिरहेको छ। ऊ निष्कृय बसेको भए उसले के गर्छ? वा उसको रणनीति के होला भनेर धेरैको चासो हुन सक्ने थियो तर ऊ सक्रिय रूपमा चुनावको वहिष्कारमा लागेपछि चुनावमा भाग लिने वा नलिने भन्‍ने विषयमा जनता दुई कित्तामा विभाजित हुनेछन् र धेरै जनताले चुनावमा भाग लिनेछन्। चुनावमा बहुसंख्यकले जनताले भाग लिनु भनेको नै माओवादीको नीति अस्वीकार गर्नु हो। चुनावमा माओवादीले चाहे जस्तै एमाओवादीले हारे पनि अन्य कुनै पार्टीले वा संसदीय व्यस्थाले हार्ने छैन र संविधान सभाबाट संविधान बन्‍न पनि रोकिने छैन। भलै एमाओवादी कमजोर बनेपछि माओवादी मूल प्रवाहमा आउला वा उसले धेरै मान्यता पाउला तर उसले भनेका परिवर्तका एजेण्डाहरूले भने हारिसक्नेछन्। मधेशी, दलित, संघीयता, र जनजातिका धेरै मुद्दाहरूले हारिसक्नेछन्। उसले चर्कोसँग उठाएको राष्ट्रियताकै मुद्दा पनि त्यतिवेलासम्म माले एमालेमा मिसिएर बिलाए जस्तै कतै बिलाइसक्नेछ र देशले उसकै परिभाषा अनुसारको नयाँ “राष्ट्रियता विरोधी” शक्तिको नेतृत्व पाइसक्नेछ।

19 thoughts on “तत्कालिन माले, वर्तमान माओवादी र राष्ट्रियता”

  1. suvash thapa magar says:
    November 12, 2013 at 1:09 pm

    बिश्वमा कहि नभएको दोस्रो संबिधानशभाको चुनाब नेपालमा भईरहेको छ ।यो नेपालको बिशेषता भनौ या बाध्याता तैपनि तत्कालिन आव्शयक्ता नेपालको यहिनै हो । देशलाई नया संबिधान दिने र अग्रगामि नेपालको भबिशयसँग जोडिएको यो संबिधानशभआ-२ लाई सफलतासँग सम्पन्न गराऊनेर यसको ऊदेश्य पु्र्तिको लागि केहि नगरि नहुने शर्त पनि रहेका छन । संबिधान सम्झोताको दस्ताबेज भएको कारण आगामि बन्ने संबिधान पनि त्यो भन्दा पृथक हुनै सक्तैन । त्यस्तो सम्झोता भनेको एमाअोबादि र काग्रेश बिचको सम्झोता हो । जुन एमालेको स्वार्थ अनुरुप कुनै पनि बेला अनिश्चित हुन सक्छ । त्यसकारण एमाअोबादिले एमालेले चाल चल्नु अगाडिनै नया संबिधानको सुनिश्चितासँगै काग्रेशसँग सहकार्य गर्नु जरुरि छ । फेरि एमाअोबादिको बर्ग सत्रु भनेको एमालेनै हो । यो यथार्थलाई मद्य नजर गरि जसको जँहा बर्चश्व छ त्यहा ऊसैलाई सहयोग गरि एमाअोबादि र काग्रेश बिचको तालमेल बाट दुई तिहाई मत प्राप्त गरे मात्र आगामि दिनमा संबिधान बनाउन सकिनेछ । होईन भने फेरि अघिल्लो संबिधान जस्तै एकले अर्कोलाई दोश थोपर्नुको बिक्लप हुने छैन । स्मरण रहोस २०५६ को संसदिय चुनाबमा एमाले फुटेर बनेको मालेलाई हराऊन अघोशित तालमेल एमालेले काग्रेशसँग गरकै हो । फेरि पनि ऊसको स्वार्थ पूर्तिको लागि एमाअोबादिलाई हराऊन काग्रेशसँग तालमेल नगर्ला भन्न सकिन्न ।

    Reply
  2. madan bajracharya says:
    November 3, 2013 at 8:26 am

    परिबर्तनज्युले माथिको लेख मार्फत “भारतको बिरोध गर्ने कुनै पनि दल तथा नेता नेपालमा सफल नहुने” संदेश दिन खोजेको स्पस्ट देखिन्छ/

    परिबर्तनज्युले बिगतको लेखमा नेपालको तराइ भारतको बिन्द्याचल सम्म फैलियको “मध्यदेस” भनिने भूभाग भयको भन्नु र इस्ट इन्डियाको भारतको कब्जामा परि सकेको नेपालको कैलाली कन्चनपुरलाइ पुन नेपालमा फर्कायकोमा जंगबहादुरलै “साला” भनेर गालि गर्नु बाटै स्पस्ट हुन्छ कि परिबर्तनज्युले महाकाली सन्धि गरेकोमा बिरोध गर्ने बामदेवहरुको माले र अहिले भारतको अगाडी घुंडा टेक्ने यमावोबादिको बिरोध गर्ने किरण बैद्यहरुको रास्त्रवादलाई किन खिज्यायो भनेर/

    कैलाली कन्चनपुर् पुन नेपालमा फर्केकोमा आक्रोशित हुने परिबर्तनज्युले बिगतको लेखमा पृथ्बी नारायण शाहले तराइ नेपालमा गाभेकोमा पनि आक्रोश पोख्नु भयको थियो/ यस बात सिद्ध हुन्छ कि परिबर्तनज्युले नेपालमा खोजेको परिबर्तन के हो भनेर/

    भारतले नेपालको कालापानी दावेर बसेको र नेपालको तराइ सिट जोदियको भूभागमा ८४ स्थानमा ६४ हजार हेक्टर भुमि भारतले मिचेकोमा यक सब्द लेख्नु भयको छैन/ भारतले “फलाना प्रधान मन्त्रि भयमा भारतलाई स्विकार्य नहुने” भन्नु गलत हो यो पनि परिबर्तनज्युले कहिले लेख्नु भयको छैन/ परिबर्तनज्युले अस्ति सम्म तराइमा रहेका नेपालका अन्य जातिका नेपालीलाई “पहाडी” मा दर्याउन्दै तराइ बात हट्न धम्कि मात्रै होइन हतियार समेत उठायर अपराधिक तथा देस द्रोही काम गर्ने र तराइ नेपाल बात अलग्याउनु पर्छ भनेर मधेशबादी राजनीतिको सुरुवात गर्ने कुनै दल तथा नेताको पनि आलोचना गर्नु भयको छैन/

    हो नेपालको रास्त्र्वाद “भारतीय विस्तारवादी अतिक्रमणकारी हेपाह मिचाह प्रवितिको विरोधमै केन्द्रित छन्/ आजको भारत जसरि अंग्रेजले अनेकौ देसहरु कब्जा गरेरै बनायको थियो तेसरिनै पृथ्बी नारायण शाहले आजको नेपाल बनायो/ जसरि अंग्रेजले अनेकौं देसहरु कब्जा गरेर बनायको भारतलाई सन् १९४५मा अंग्रेजले संयुक्त रास्ट्र संघको मान्यता दिलाय तेसरिनै पृथ्बी नारायण शाहले तराइ लगायतको भूभागलाई पुनयकिकृत गरेर बनायको आजको नेपाललाई बिक्रम सम्बत २०१३मा राजा महेन्द्रले संयुक्त रास्ट्र संघको मान्यता दिलायर सदस्य बनायो/ त् परिबर्तनज्युहरु नेपाल बनेको मा मात्रै किन असन्तुस्ट हुने गर्छ?

    आजको भारतको सिमाना भागलाई भारत बात अलग्याउन खोज्ने व्यक्ति, दल, समुह तथा समुदायलाइ भारतको सरकारले देस द्रोही तथा आतंकबादी घोसित गरेकोमा परिबरत्नज्युले “बिरोध गरेको छैन तर परिबर्तनज्युले पृथ्बीनारायण शाह र जंगबहादुरले इतिहासको कुनै कालमा पनि भारतको कुनै राजा तथा देसको भूभाग नरहेको तराइको भूभाग नेपालमा यकिकृत गरेकोमा तितो असन्तुस्टी मात्रै व्यक्त गरेको छैन साला भनेर (कैलाली-कन्चनपुर् नेपालमै फर्काउने जंगबहादुरलाई) समेत गर्दै आज बिस्व समुदाय संयुक्त रास्ट्र संघ र भारतले समेत नेपालकै भूभाग भयको मानेको तराइको भूभाग पृथ्बीनारायणशाह र जंगबहादुरले जवर्जस्ती कब्जा गरेको “मधेसी को मध्यदेस” हो भनेर अनेकौं कुतर्क गर्ने परिबर्तनज्युले माले तथा मावोबादीको रास्त्रवादलाइ खिज्याउनु भन्दा पहिले आफ्नो रास्त्र्वाद प्रस्ट्याउनु पर्छ/

    भारतको बिरोध गरे रास्त्र्वादी भइने अबधारणा भारतकै कारणले बनेको हो परिबर्तनज्यु/ जवसम्म भारतले नेपालको राजनीतिमा अनैतिक दवाव र हस्त्छ्याप गर्दै नेपाल लुट्ने नीति त्याग्दैन त् भारतको बिरोध गरे रास्त्र्वादी भइने अबधारणा नेपालमा रही रहन्छ/

    Reply
    1. sanu says:
      November 3, 2013 at 7:32 pm

      मदन जी ,
      अरु त सबै राम्रै लेख्नु भाको छ ..मलाई तपाई को लेखाई शैली मन पर्यो तर ६४००० हेक्टर इंडियाले खाएको भन्नु त हावा गफ्फ हो …६४००० hectare भनेको करिब ६४० square किलोमिटर बराबर जमिन हो ..अलि अलि यता उता पिल्लर हटाएर खान्छन …६४००० हेक्टर खाने त सानातिना १०-२० गाउ नै लगेर गए जस्तो हो ..

      Reply
      1. madan bajracharya says:
        November 4, 2013 at 3:28 am

        सानुज्यु/
        यो भनाइ मेरो होइन नेपालको मानियको सिमाबिद बुद्धिनारायणश्रेष्ठज्युको हो/ ६४हजार हेक्टर भुमि भित्र कालापानी र सुस्ताको भुमि पनि पर्छ/ मलाइ ठ्याक्कै त् याद भयन तर भारतले दावेको कालापानी को सेरो फेरो पनि ३० हज्जार हेक्टर भन्दा बढीनै छ/ भारतले ६४हजार हेक्टर मिचेको विवरण सानुज्युले इन्टर नेटमा अहिले पनि हेर्न पढ्न सक्नु हुन्छ/ तेसैले मैले साइटको विवरण खोजेर उल्लेख गरिन/

        Reply
  3. nanda bahadur Nepali says:
    November 2, 2013 at 1:56 pm

    यस प।ली चुन।व म। प।र्टी न हेरेर व्यक्तित्व हेर्ने छन जनत। ले । जति नै भुके पनी कसै को केही चल्ने छैन । ह।मी सबै च।हन्छौं अर्कों दुइ बर्ष भित्र सँविध।न प।रित भएको हुनु पर्छ । दलिय र।जनीति ले गर्द। नेप।ल देश ले जनतं।त्रिक सँविध।न प।उन नसकेको हो समय म। र ह।मी ले बुझ्न सके अनुस।र, संपूर्ण मुलुक म। एउट। पोलिटिकल उन्देर्चुर्रेंत चलेको छ जसले परिवर्तन अवश्य ल्य।उने छ ह।मी ले सोचे जस्तो ।

    Reply
  4. Dr. Lila Raj Dahal, Letang, Morang (now Toledo, Ohio, USA) says:
    November 2, 2013 at 5:00 am

    लेखक एमाले प्रति धेरै नै पुर्वाग्रहि देखियो | मैले नेपालको राजनीति २०४८ साल देखि नै नजिकबाट नियालेको छु तर अहिले सम्म कसैले पनि २०५६ सालमा एमालेले कांग्रेशलाइ भोट हालेर मालेलाइ हराएको भनेको थिएन, वहाँलाइ त्यो ब्रह्मज्ञान कसरि भएछ थाहा भएन | एमालेले अरु कम्युनिस्टहरुलाई कमजोर बनायो भनिरहँदा वहांले एउटा कुरा के बिर्सनु भयो भने नेपालमा यत्तिका धेरै कम्युनिस्ट पार्टीहरु किन चाहिए ? अरुलाई कमजोरै बनाएको थियो भने पनि एउटै कम्युनिस्ट पार्टी बनाउने उद्धेस्यले थियो भने त राम्रै थियो नि, हैन र ? फेरि बाग्लुङ्गमा कमजोर बनायो भन्नु हुन्छ तर त्यहाँ एमालेको सधैं (यो पटक बाहेक ) रास्ट्रिय जनमोर्चासंग तालमेल हुँदै आएको छ | एमाओबादीसंग त सैधान्तिक रुपमैं असहमति छ, त्यसैले प्रतिस्पर्धा हुने भैहाल्यो | यसअर्थमा त एमाले, बरु एमाओबादीभन्दा कांग्रेशसंग नजिक छ | अन्त्यमा, नेपालका कम्युनिस्टहरु सधैं विभाजनबाट ग्रस्त छन र न कांग्रेशले बेला-बेला सत्तामा पुग्ने मौका पाउँछ | सबै कम्युनिस्टहरु मिल्ने हो भने त कांग्रेशको अस्तित्व कहाँ हुन्थ्यो, अनुमान मात्र गर्न सकिन्छ | धन्यबाद |

    Reply
    1. Suman Sharma says:
      November 2, 2013 at 7:12 pm

      डा. दाहाल, तपाई त्यसरी तर्सिनु पर्ने कारण खासै छैन, तपाइलाई म उदाहरण दिन पनि सक्छु एमालेले चुनाबमा के गरे भनेर | यो भन्दा अघिल्लो स्थानीय निर्बाचन (शायद २०५४ मा होला) एमालेका अन्चलस्तरीय नेता (शायद अहिले केन्द्रिय नेता पनि हुन सक्छ) कमरेड कृष्ण पाठक को निर्देशनमा एमाले ले बाग्लुंगको केहि गा. बि. स. हरुमा कांग्रेससंग संयुक्त प्यानल बनाएर राष्ट्रिय जनमोर्चा बिरुद्ध चुनाब लडेको कुरा तपैले बाग्लुंगको कसैसंग पनि बुझ्न सक्नुहुन्छ | मैले यो प्रत्यक्ष देखे भोगेको छु | यो स्थानीय स्तरमा भए पनि एमालेका नेताको निर्देशनमा भएको हो त्यसैले एमाले यसमा जिम्मेवार हुदैन भन्न मिल्दैन | एमालेको नीतिअनुसार नभएको भए केन्द्रले त्यो तालमेललाई सच्याउन सक्थ्यो वा तालमेल गर्नेलाई कारबाही गर्न सक्थ्यो, वा तालमेल गलत थियो भन्न सक्थ्यो, त्यो कहिल्यै भएन | प्युठानमा पनि त्यस प्रकारका तालमेल भए भन्ने कुरा त्यतिबेला प्रचारमा आएका हुन् तर म त्यसको प्रत्यक्ष साँची भने होइन | अरु पनि खोज्दै जानु भयो भने लेखकले भने जस्तो ब्यबहार एमालेले धेरै ठाउमा गरेको कुरा गलत हुने छैन | शायद यी कुराको ज्ञान लेखकमा थियो होला जसलाई तपाइले ब्रह्म ज्ञान भनिदिनुभयो | एस्तो काम अरुले गर्दैनन्, अरु दुधले नुहाएका हुन् एमालले ले मात्र गर्छ वा गर्यो भन्ने मेरो भनाइ होइन तर एमाले माओबादि भन्दा कम बेइमान तर अडान, विचार र कमन सेन्स पनि नभएको, फाइदाको लागि जे पनि गर्न सक्ने जस्तोकि पैसाको चलखेल गरेर महाकाली सम्झौता गर्ने, मन्त्रि खान प्रतिगमन आधा सचियो भनेर राजाको सरकारमा जाने आदि इत्यादी गनेर र भनेर नसकिने काम गर्ने पत्रु पार्टी हो भन्ने पनि लोकले चाल पाइसकेको कुरा हो | हिजो मलाई आज तपाइलाइ जस्तै लाग्थ्यो तर मैले त्यो एमाले चस्मा खोलेर स्वतन्त्र भएर हेर्न खोज्छु अहिले | तपाइले पनि एमाले को चस्मा फालेर स्वतन्त्र ढंगले घटना र दुनियालाई हेर्ने कि ?

      Reply
      1. sabin lama says:
        November 3, 2013 at 4:00 am

        कृष्ण पाठक ले तेस्तो गरे वने कुरा साचो हो. अगिल्लो चुनाब मा पनि नेकपा( एकिकृत ) लाई एमाले ले येस्तरी नै धोका दिएको थिओ. ताल मेल गर्ने अनि भोट अर्कै लाई दिन भन्ने

        Reply
    2. Keshab says:
      November 6, 2013 at 4:44 am

      म साक्षी छु है एमालेले बामदेव लाई हराउन कांग्रेसलाई भोट हालेको / हाल्न लगाएको देख्ने !!!

      Reply
  5. राजु says:
    November 2, 2013 at 3:21 am

    जय होस् !!!
    “बास्तवमा गरिबीको मल हालेर कम्युनिस्टको खेति सपार्नेहरु नेपाल र नेपालीका सत्रु हुन |”
    विवाद चाहे जुनसुकै कारणले होस् त्यसलाई नीति र सिद्दान्त को जलप ले टल्काएर राजनीतिको बजारमा बेच्न निकाल्नु “नेपाली कम्युनिस्ट मान्छे” को खुबी नै हो |
    एउटा साथीले भन्थे :-” एउटा व्यक्ति कि मान्छे हुन्छ कि कम्युनिस्ट हुन्छ |” तर नेपालका कम्युनिस्ट नेता कम्युनिस्ट हैनन् कम्युनिस्ट बनाउने मान्छे हुन भन्छु म |
    नेपालमा भोक छ, रोग छ, गरिबी छ, असन्तोष छ, भावना छ र बहकिने खालको छ अर्थात् कम्युनिस्टको खेति गर्न उत्तम बाताबरण छ : ………………………………………………………………………………..
    आज को बैद्य मावोबादी संगठन हिजोको जनयुद्द थाल्ने समुह ( कुन-कुन कम्युनिस्ट हुन कोनि ) भन्दा निकै ठुलो र शक्तिसाली छ , अर्थात् सकिन्छ भनेर भन्नु भन्दा उनिहरुल्लाई समेट्नु पर्छ, मान्छे बनाउन एउटा सुक्रकिट र आगो लाउन लाइ एउटा झिल्को भए पुग्छ | (हिजो कांग्रेसीले तेसै भन्दा चण्ड, मुण्ड प्रचण्ड हरु जन्मिए )| मिलेर-मिलाएर जानु नेपाल र नेपालीको हितमा हुने छ | अब नेपालमा फेरि अर्को द्वन्द निम्त्याउने खेल नहोस |
    जय होस् |

    Reply
  6. kedar says:
    November 2, 2013 at 12:51 am

    छन् चोक्टा सबै चोखा … छैनन् चोक्टा सबै धोका |
    आफ्ना भागमा मासु भरिएका चोक्टा झरुन्जेल मात्रै हो, खलल झोल खनिन थाले पछि कु…र को पनि राष्ट्रियेता लुटिएको याद आउने ठाउँ संसारमा नेपाल मात्रै हो / सबैथोक चोक्टामा निर्भर छ |

    Reply
  7. Man Limbu says:
    November 1, 2013 at 9:53 pm

    ड्यास माओबादी ले अफुनो खुट्टा मा आफै बन्चरो हान्दै छ
    सुनिन्छ कांग्रेस एमाले संग मिलेर एमाओबादीलाई हराउन लागेको छ
    यदि यसो गरेर कथन कदाचित एमाओबादी हार्यो भने
    यो एमाले कांग्रेस ले बिगत जनयुद्दको मुद्दा लाई बिउझाएर यहि ड्यास मओबदिलाई पनि भाका भक जेल मा हालेर सिद्दाई दिन्छन यो कुरा ड्यास माओबादीले बुझ्नु पर्छ .

    Reply
  8. Manahari Maharjan, Kirtipur says:
    November 1, 2013 at 1:27 pm

    एकीकृत माओवादी के चाहन्छ भने चुनावमा वैद्य माओवादीले आफ्नो निशाना कांग्रेस र एमालेसँगमात्रै सोझ्याओस् र आफूमाथि नरम नीति लिइदेओस् । कतिपय चुनाव क्षेत्रमा त वैद्यको भेषमा कांग्रेस र एमालेको कार्यक्रम बिथोल्न पाइयोस् भन्ने चाहना पनि एमाओवादीका नेताहरुले राख्ने गरेको सूचना छ । तर, प्रचण्ड र एमाओवादी नेताहरुको यो चाहना पूरा गरिदिने पक्षमा माओवादी नेता, कार्यकर्ताहरु देखिँदैनन् । उनीहरु देशैभरिबाट एमाओवादीलाई कमजोर बनाउन र चुनाव हारेको देख्न चाहन्छन्, जसले गर्दा चुनावपछि आफ्नो राजनीतिक श्रेष्ठता कायम गर्न सकियोस् । चुनाबमा एमोबदी कम्जोर भए त्यसका धेरै कार्यकर्ता आफूतिर वा एमाले तिर जना सक्ने उसको हिसाबकिताब छ.

    आक्रमणको जिम्मा आफूले नलिने तर जसले जुन दलमाथि आक्रमण गरे पनि चुनावमा संकट उत्पन्न भई त्यसको फाइदा वैद्य माओवादीकै पोल्टामा पर्ने छ । एमाओवादीमाथि एमाले, कांंग्रेस या पूर्वराजावादी जो सुकैले आक्रमण गरे पनि त्यो वैद्यका लागि चिन्ताको विषय बनेको छैन । किनभने वैद्य पक्षले एमाओवादीलाई नजिक र अन्य तीन दललाई टाढाको शक्तिका रुपमा विश्लेषण गरेको छैन । अझ उसले सहमतिको सबैभन्दा ठूलो बाधक भन्दै प्रचण्डविरुद्ध प्रहार केन्दि्रत गर्ने नीति लिएको छ । यो अवस्थामा वैद्यको नाम लिएरजसले चुनावमा हिंसा मच्चाए पनि वैद्यलाई भन्दा बढी घाटा चार दल, एमाओवादी र रेग्मी सरकारलाई नै हुने छ । यो अवस्था राम्रोसँग बुझेको माओवादीले चुनावमा भएका सबै घटनापिच्छे प्रेस वक्तव्य निकाल्दै आफूले गरेको र अरुले गरेको छुट्याइदेओस् भन्ने एमाओवादीको इच्छा पूरा गर्ने कुनै सम्भावना देखिन्न ।

    घटनाक्रमले यस्तो देखाउन थालेको छ कि वैद्य पक्षका नेताहरु कानमा तेल हालेर सुते भने पनि उनीहरुका नाममा देशैभरि आगजनीलगायतका गतिविधि भइरहने छन् । र, ती घटनामा कतै एमाओवादीको, कतै कांग्रेसको, कतै एमाले त कतै राजावादी वा अन्य गैर राजनीतिक समूहको सहभागिता हुन सक्ने छ ।चुनावपछि वैद्य माओवादी सिद्धिने एमाओवादी नेताहरुले दाबी गर्न थालेका छन् । यसैगरी हिंसात्मक घटना बढ्दै गए वैद्यलाई घाटा हुने उनीहरुको विश्लेषण छ । तर, मुलुकमा अस्थिरता बढ्दा विद्रोहीलाई घाटा हुँदैन । अझ छापामार शैलीमा गरिने घटनामा विद्रोहीलाई चिन्न नसकिने हुँदा प्रहार गर्न गाह्रो हुन्छ ।सुतिरहेका बेला वैद्यका कार्यकर्ता वा नेतालाई उठाएर जेलमा हालेर चुनाव त सफल पार्न सकिएला तर, यसले लोकतन्त्रमा राम्रो सन्देश दिँदैन र भोलि निर्जाचनको वैधानकितामाथि प्रश्न उठ्न सक्छ । वैद्य समूहका नेताहरुले यो कुराको पक्कै विश्लेषण गरेका छन् । उनीहरु वातावरणलाई उत्तेजक बनाउन र आफूहरुलाई सरकारले जेलसम्म पुर्‍याओस् भन्न चाहन्छन् ।

    Reply
  9. Manahari Maharjan, Kirtipur says:
    November 1, 2013 at 1:18 pm

    एमाले लाई गालि गर्ने त फेसन नै हो अहिले पत्रकार हरुको. जुनसुकै मिडिया मा पनि एमाले लाई गालि नगरेका लेख छापिदैन. प्रचण्ड को त बिस्लेसन नै के हो भने एमाले कम्जोर नपरी एमोबदी बलियो हुन सक्दैन. आजिवन बामपन्थी रहेको मान्छे बाम बिकल्प हुन्जेल अन्यत्र जादैन. त्यसैले एमोबदी क मुख्पत्रहरु एमाले प्रतिको निक्रिस्ट्स गालि ले भरिएका छन् अहिले. मलाई एमाले को कुनै तरफदारी गर्नु छैन, तर उमेद्वारी, संबैधानिक इस्सु पार्टीभित्रको अन्तरिक गुटबन्दीको ब्यबस्थापन मा एमाले ले सन्तुलित उपाय निकालेको छ यसपल्ट. उसका उमेद्वारहरु पनि तुलनात्मक रुपले राम्रा देखिन्छन.

    Reply
  10. kiran says:
    November 1, 2013 at 12:45 pm

    अनाबस्यक एउटा व्यक्तिको राजिनामालाइ मुख्य मुद्धा बनाउनु अनि निर्वाचन बहिस्कार भन्नु र आगजनी,बन्द हड्ताल गर्नु / कति मुर्ख रहेछन बैध्य बा. दुख लग्यो उनको विद्वता सग.

    Reply
  11. sushil paudel says:
    November 1, 2013 at 12:39 pm

    लेखक महोदय पनि भ्रममा हुनुहुदो रहेछ, आखिर क्रान्ति लाइ धोका दिएका भनिनेहरु र फुट को औचित्य पुष्टि नभएका हरुलाई हराउनु नै ठिक हो जस्तो लाग्छ …पैसा खाएर (बामदेव ले खुमबहादुर को र अशोक राइ ले पुष्पकमल को ) पाटी फोर्ने हरुलाई सहानुभूति राख्नु पर्छ जस्तो त लाग्दैन..माफ गर्नु होला अहिले को बि मौबादी चाहि नीतिगत असहमति भएर फुटेको हो जस्तो लाग्छ भलै उसको नीति हावा मा महल बनाउने खालको किन नहोस ?

    Reply
  12. Shiva says:
    November 1, 2013 at 12:10 pm

    अत्यन्त सान्दर्भिक लेख ! एउटा संबिधान लेख्न अरबौ खर्च गरेर ६०१ जनाको भाड-भैलो जमात तयार गर्यो, हुनु खानु केहि हैन | चुनाव त होला तर यो पटक पनि संबिधान लेखिएला भन्ने शंकै छ | ताई न तुइ संग माओबादी ले पनि पौठे जोरी खोजि राखेको छ | बिना-सित्ति जनतालाइ दुख दिइराखेको छ | कि संबिधान सभा हैन गोल मेच गरेर केहि विज्ञहरु जम्मा पारेर संबिधान लेख्न जोड दिनु पर्यो, कि त खुरुक्क चुनावमा जानु पर्यो | यस्तो भए चुनावमा जान्छु उस्तो भए जान्न भन्नु घुर्की र दम्भ देखाउनु मात्र हो, यसमा राष्ट्रियता-सश्त्रियता केहि छैन | एउटा न एउटा निहु खोज्यो बस्यो, कहिलेइ नेपाललाइ उभो लाग्न नदिने भए यी उपबुज्रुकहरुले |

    Reply
    1. ram koirala says:
      November 1, 2013 at 1:21 pm

      शिवजी तपैन्को भनाइ ज्यादैनै उपर्युक्त लाग्यो

      वैद्य समुदाय सर्पको मुखमा छुचुन्द्रोनै भए के गर्ने बित्यासै भयो

      Reply
      1. dev says:
        November 1, 2013 at 2:43 pm

        हैन ,शिव जि माओवादिले त गोलमेच सम्मेलन गरौ भनेर त भनेकै हो नि । त्यो प्रस्तव नमान्ने त प्रचन्ड त हो नि ।

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme