Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चलाख चराको सम्मान

Posted on November 1, 2013November 1, 2013 by Salokya


हामीले धूमधामका साथ मनाउने रमाइलो चाड तिहार आजदेखि सुरु भएको छ। पहिलो दिन काग, दोस्रो दिन कुकुर, तेस्रो दिन गाई र लक्ष्मीपूजा, चौथो दिन गोवर्द्धन र म्हपूजा र पाँचौँ दिन भाइटीका। हिन्दू नै भए पनि नेपालमा बाहेक यसरी तिहार अरुतिर कतै मनाइँदैन। तिहारको विशेषता नै यही हो। दीपावली र दीवाली त लक्ष्मीपूजालाई मात्र जनाउने शब्द हो।

तिहार आजदेखि सुरु भयो र सुरुमा गरियो कागको पूजा। यसो हेर्दा लाग्न सक्छ, यो व्यर्थको कालो कागलाई किन पूजा गर्नुपरेको होला। तर हैन, हाम्रा पूर्वजहरुले बित्थामा कागको पूजा गरेका हैनन्। काग कति बुद्धिमान चरा हो भनेर त वैज्ञानिकहरुले अहिले गरेका अनुसन्धानले पनि प्रष्ट पारेका छन्। नपत्याए भित्रको एउटा भिडियो हेर्नुस् र आफै विचार गर्नुस्।


पहिलो पटक प्रकाशितः November 4th, 2010

यो भिडियोमा एउटा कागले कसरी ओखर खान्छ भनी देखाइएको छ। ओखर फुटाएर खान कागले आफ्नो चुच्चोले सक्ने कुरा हैन। त्यसो भए उसले के उपाय अपनाउँछ त ?

जापानको एउटा सहरमा बीबीसीले खिचेको यो भिडियोमा देख्‍न सकिन्छ, कागले विभिन्न उपाय अपनाएको छ। सुरुमा कागले ओखर आकाशबाट सडकमा बजारेर फुटाउने आइडिया निकालेको छ। अर्को कागले गाडीको पाङ्ग्राले किचेर ओखर फुटाएर खाने आइडिया निकालेको छ। गाडीको पाङ्ग्राले ओखर फुट्दा पनि त्यो खान गुडिरहेको गाडीले किच्ने डर भएकोले जेब्रा क्रसमा लगेर ओखर खसाल्ने अनि ट्राफिक लाइटमा गाडी रोकिएपछि खान जानेसम्मको बुद्धि कागले लगाएको छ।

भिडियो हेर्न तल क्लिक गर्नुस्-

देख्‍नुभो त काग कति बुद्धिमान ! त्यसो त हामीले सानोमा कथा सुनेकै हौँ- तिर्खाएको कागले कसरी भाँडामा ढुंगा राखेर पानीको सतह बढाएर पानी खाएको ! कथामा मात्र सीमित छैन कागको बुद्धि, अनुसन्धानहरुले यस्तै देखाएको छ।

कागले पछिका लागि खानेकुरा लुकाएर राख्छ र त्यस्ता कयौँ ठाउँ याद राख्‍ने कागको स्मरण शक्ति देखेर वैज्ञानिक अचम्ममा परेका छन्। बेट्टी नाम राखिएको एउटा कागले न्युक्यालेडोनियाको प्रयोगशालामा गरिएको एउटा अनुसन्धानमा ट्युबमा राखिएको मासु निकालेर खान तारको एउटा टुक्राको हुक बनाएर खाएका थिए।

जर्मन वैज्ञानिक Otto Koehler ले त एउटा कागलाई छसम्म गन्न सिकाएका थिए। एकातिर सामानहरु र अर्कोतिरका नम्बर लेखिएको बाकस। कति वटा सामान एकातिर राखिएको छ, त्यति नम्बरको बाकसभित्र खाना राखिएको हुन्थ्यो। सही जवाफ दिएर कागले खाना खान्थ्यो।

हंगेरीमा भएको सन् २००५ मा भएको एउटा सम्मेलनमा क्याम्ब्रिज युनिभर्सिटीका डाक्टर निक्की क्लेटनले कागहरुमा समेत ‘थेउरी अफ माइन्ड’ हुने प्रमाणित गरी देखाए। अर्थात् कागलाई अरु कागको बुद्धिको बारेमा थाहा हुन्छ। मानौँ एउटा कागले खाना लुकाएको अर्को कागले देखेको छ भने त्यो कागलाई अर्को कागले त्यहाँ मैले खाना लुकाएको छ र म जानेबित्तिकै अर्को कागले त्यहाँबाट खाना निकाल्न सक्छ भन्ने ज्ञान हुन्छ। त्योभन्दा अघि बाँदर, चिम्पाञ्जीहरुमा मात्र यस्तो बुद्धि रहेको भन्ने ठानिएको थियो।

आज गरिएको कागको पूजालाई त्यही चलाख चराको सम्मानका रुपमा पनि लिन सकिन्छ।

विश्वकै सबैभन्दा पुरानो साहित्यमध्ये एक मानिने मेसोपोटामियाको Gilgamesh ग्रन्थमा कागको बुद्धिको बखान गरिएको छ जसबाट कागको बुद्धि बारे हाम्रा पूर्वजहरुले थाहा पाइसकेको प्रष्ट हुन्छ।

हिन्दु धार्मिक मान्यताअनुसार कागलाई यमराजको दूतका रूपमा पूजा गरी विविध खानेकुरा दिने चलन छ। हाम्रो समाजमा कागलाई सन्देशवाहकका रूपमा पनि लिइन्छ। कसैको घरआँगनमा एकाबिहान काग कराएमा त्यस घरमा पाहुना आउने विश्वास गरिन्छ। यो दिन कागको पूजा नगरी खाएमा पापको भागी बनिन्छ भन्ने विश्वास छ।

हिन्दू धर्मग्रन्थमा मात्र हैन, बौद्ध विशेषगरी तिब्बती बौद्ध धर्ममा पनि कागको महिमा वर्णन पाइन्छ। बौद्ध ग्रन्थमा धर्मपालले कागको रुपमा पनि जन्म लिएको वर्णन छ। पहिलो दलाई लामा जन्मँदा डाँकाहरुले आक्रमण गरेको र परिवारका सदस्यहरु भाग्न बाध्य भएका रहेछन्। भोलिपल्ट घर फर्कँदा दलाई लामालाई कागको एक जोडाले हेरचाह गरिरहेको रे। अहिलेको १४ औँ दलाई लामासहित पहिलो, सातौँ, आठौँ, १२औँ दलाई लामालाई पहिचान गर्न कागले नै सघाएको विश्वास गरिन्छ।

जाँदाजाँदै कागको बुद्धि बारे यो एउटा अर्को भिडियो हेर्नुस् यहाँ क्लिक गरेर

29 thoughts on “चलाख चराको सम्मान”

  1. samrat~ says:
    November 2, 2013 at 8:58 am

    एकताका को कुरा हो. मेरो गाडी पनचट भएर टो ट्रक कुरेर बसी रहेको थिए हाइवे मा. सडक मा एउटा सानो जात को जनावर गाडी को ठक्कर ले होला किचिक्क परेको थियो. मेरो आँखा सडक को छेउमा हरियो घास मा कुरेर बसिरहेको कालो काग माथि पर्यो. घरि घरि घास बाट सडक को बीच मा ओहोर दोहर गर्दै मरेको जनावर को स्वाद चाख्दै थियो. छट्टु काग कति बाठो भने, टाढा बाट गाडी आएको देख्ने बितिक्कै बिस्तारै लस लस हिड्दै सडक बाट घास भएको ठाउ सम्म मात्र पुग्थियो फेरी गाडी पास भए पछि फर्किन्थियो. येति कुरा ग्यारन्टी साथ् थाह थियो काग लाइ कि गाडी सडक छोडेर घास मा आउन्न भनेर.

    Reply
  2. ह्नुछेरत्न says:
    November 2, 2013 at 1:34 am

    काग तिहार मा पितरी काग बनेर आउने बिस्वास काठ र भिर पाखा को जनमानस मा छ |काग तिहार कुइकेल्नि भाउजु पात मा भात लिएर बाहिर पर्खिरहनु भएको थियो ,साथ् मा सानो छोरा प्रगतिसिल पनि थियो |
    एउटा काग आयो फुर्र नजिकै बाट गयो कुइकेल्नि भाउजुको भात खाएँन, जमरकट्टेल नि भाउजुको यहा भात खायो उडेर गयो |
    कुइकेल्नि भाउजु ले चित्त दुखाउदै छोरा सग भन्नु भो , तेरो बा को जिउदो छदा देखि कै आदत थ्यो मैले पकाको भन्दा जमरकट्टेल नि भाउजुकै हात को खाना उहालाई मन पर्ने ?

    Reply
  3. madan bajracharya says:
    November 12, 2012 at 11:42 pm

    त्यो काग को थियो म बुझ्दिन
    कुरा यस्तो थियो श्राद्धको बेला पितृलाई चढाउने पुजाको सामानहरु नबोलिकन लैजानु पर्ने र तेतिबेला आफुलाई कुकुरले छुन दिनु हुँदैन भन्थ्यो/ तर मेरो बुबाको श्राद्धको बेला पितृ लाई चढाउने मेरो घरमै पालेको कुकुरले मलाई छोई दियो/ तेतिबेलानै मेरो श्रीमतिले मलाई ती पुजाको सामानहरु अपवित्र भयो फेरी अर्को ब्यबस्था गर्नु पर्छ भनेको थियो/ तर मैले तेरिन मानिन/ श्राध्ह सकिय पछी म मेरो डेरामा फर्के र बैठक कोठामै सुते/ बिहान यक्कास्सी काग करायाको आवाज सुनेर म बिउझे/ एउटा काग त् म सुतेको ठाउ नगिचै सोफामा बसेर कराई रहेको थियो/ कसरि त्यो काग बन्द कोठा भित्र आयो मलाई थाह छैन/ प्रयास कागहरु मानिसको अगाडी बस्दैनन् तर त्यो काग म उठ्दा सम्म सोफामै बसेर कराईरहेको थियो/ मेरो श्रीमति पनि त्यो काग करायाको आवाज सुनेर उठिन र उत्निखेरी मलाई भनिन ल यो काग पितृ माग्न आयको हो; हिजो तपाईंले चधायाको पितृ अशुद्ध थियो तेसैले अर्को माग्न आयको भन्दै केहि चामल कोठा बाहिरको कोसीको दिलमा राखी दियो/ त्यो कागले कोसीको दिलमा राखी दियको चामलको केहि गेडाहरु खायर उडेर गयो/

    म धेरै हद सम्म नास्तिक विचारधाराको मानिस पनि यो कुरा देखेर अल्मल्लीय/ म यस्ता कुराहरुमा बिस्वास गर्न चाहान्न तापनि हाम्रो जिबनमा कसैले उतर दिन नसक्ने घटनाहरु हुँदै गर्छ र ती कुराहरुले बैज्ञानिकहरुले पत्ता लगायको सिमा भित्रै मात्र “आस्था” को कुराहरु सिमित नहुने कुराको संकेत गर्छ/

    Reply
  4. Shishir says:
    November 12, 2012 at 6:01 pm

    त्यो त जापान को काग भएर तेस्तो बुद्धिमान भाको..

    Reply
    1. loknath says:
      November 12, 2012 at 7:34 pm

      हाम्रा नेता ले ओखर होइन देश फुटाउने र पार्टी फुटाउने दुबैमा काग लाई जित्छन

      Reply
  5. Hari Gautam says:
    November 12, 2012 at 12:20 pm

    काग त यति बुद्धिमान हुन्छ हामी मानिसहरु चाही किन पछिल्तिर आफैलाई धकेल्दै छौ I केहि सिकौ अनि सबै जनालाई तिहार को शुभकामना!

    Reply
  6. xyz says:
    November 12, 2012 at 9:27 am

    Where is the guy from Makawanpur who boasts speaking the language of the crows? He must be doubly clever than the crow.

    Reply
  7. Naba says:
    November 12, 2012 at 5:40 am

    Here is another awesome video.
    http://www.youtube.com/watch?v=JY8-gP3Sw_8&feature=youtube_gdata_player

    Reply
  8. Niran Malakar says:
    November 12, 2012 at 1:23 am

    If Dipabali or Diwali means only Laxmipuja, why do we wish for only one day of the festival ? But not for a whole festival ? STOP saying:Happy Dipabali or Diwali. Say Happy Tihar instead. It has more Nepaleseness.
    Being a Newar, We call it: Sonty.
    I wish you all:
    Nhu Dah 1133 wa Sonty ya Vintuna.
    Naya Barsha 1133 ra Tihar ko Suvakamana.
    Happy Sonty and & Happy New Year 1133.
    God Sonty och Gott Nytt År1133.
    Joyeux Sonty et Meilleur Nouvelle Année1133.

    Reply
  9. Ram Thapa, UK says:
    November 12, 2012 at 1:19 am

    कागको बारेमा राम्रो लेख पढियो, विडियो पनि हेरियो, त्यसमा कागले राम्रो बुद्धि प्रयोग गरेको देख्न पाईयो; विदेशको ट्राफिक नियम पनि कत्ति राम्रो पालन गरेछ त्यो पन्छीले | तर लेखकले भने झैं काग, कुकुर, गाइ, गोरु र भाइ तिहार नेपालमा मात्रै मनाइन्दैन, भारतमा, भूटानमा, बर्मामा जहाँ जहाँ नेपालीहरुको वस्ती छ, त्यहाँ नेपालमा भन्दा भव्य रुपमा र विधि पुर्वक ती तिहारहरु मनाइन्छन् | दार्जीलिंग, सिक्किम, भूटानको दक्षिणी र दक्षिण पूर्वी भेग, आसाम, मेघालय, नागाल्याण्ड, देहरादून, डुवर्सतिर गएर यसो तिहार मनाएर आउनु भएमा थाहा हुन्छ कि दीपावली, गाइ तिहार र भाइ टीका कस्तो भव्यरुपमा मनाइन्छ, त्यो पनि दाजु भाइ दिदी बहिनीहरुले दौरा सुरुवाल ढाकाटोपी, गुन्यु चोली पटुकी लगाएर | त्यो म्हपुजा मात्र नेपाल बाहिर कमै मनाइन्छ किनकि त्यो नेवारहरुको भाइपूजा हो र त्यसैले सिमितरुपमा मनाइन्छ भारत, भूटान र बर्मामा | जे होस्, जुन सुकै तिहार र पूजा भए पनि हामी नेपालीहरु कै हो र यसलाई भव्य रुपमा देश विदेशमा मनाउंदै जाउँ र हाम्रो संस्कृति र परम्पराको सम्बर्धन, संरक्षण र प्रबर्धन गर्दै जाउँ | धन्यवाद |

    Reply
    1. तेन्जिंग गाबा says:
      November 12, 2012 at 11:58 am

      ठिक भन्नु भो राम जी
      मेरो पनि एउटा अनुभब छ नेपाल बाहिर नेपाली संस्कृति बचाई राखेको देखेको
      ***************************************************

      ,,,,,,, सुइ
      ,,,,,सुइया
      लुतोपुतो—-जा,
      अनिकाल— जा
      सहकाल —-आइज
      ,,,,,,, सुइ
      ,,,,,सुइया
      ……………. ड्यान्ग ड्यान्ग ड्यान्ग ड्यान्ग

      के रहेछ ?
      भनेर होटेल बाहिर निस्किएर हेरेको त् मानिसहरु सुसिल्दै, नाग्लो पिट्दै मच्ची मच्ची कराउदै अगुल्टो पो झटेरो हान्दै रहेछन /

      आज भन्दा २०-२५ बर्ष अगाडी असार मशान्तको रातमा यस्तै सुने-देखेको छु मैले दार्जिलिंगमा / मशान्तको रातमा राको हान्ने-फाल्ने अनि साउने संक्रान्तिमा हरेलो बजार जाने हाम्रो शहरी क्षेत्रमा मरिसकेको संस्कृति-परम्परा उता त् जिउदै रहेछ /

      Reply
      1. Tenzing Gaba says:
        November 1, 2013 at 2:32 pm

        हिजो राति देखि नै माईसन्सार खोलेकै थियिन
        तर आफ्नो कमेन्ट देखेर एकपटक त झसंग नै भए,
        पछी येसो मिति हेरे पछि पो कुरो बुझे

        Reply
    2. Suyesh Amatya says:
      November 1, 2013 at 4:33 pm

      “त्यो म्हपुजा मात्र नेपाल बाहिर कमै मनाइन्छ किनकि त्यो नेवारहरुको भाइपूजा हो …”

      तपाईंको बुझाइ गलत रहेछ| म्ह पुजा भनेको नेवारहरुको भाइपूजा हैन| भाइपूजा छुट्टै हुन्छ भाइटिकाको दिन| म्हपूजा चाहिं आफ्नो शरिरको पूजा हो|

      पुरानै कमेन्ट भए नि सच्याउनको लागि रिप्लाई गरेको हो|

      Reply
  10. kedar says:
    November 12, 2012 at 12:56 am

    काग, कुकुर, गाइ, गोरु, भैसी, बाघ सर्प, गडुर कुनै जात जातिका पेवा जनावर होइनन | फरक के भने कसले के लाइ कति महत्व दिन्छ भन्ने कुरा हो |

    Reply
  11. Pradhyumna raj sharma says:
    November 12, 2012 at 12:01 am

    हैन यो कौवा त laastai बाठो पो हुदो रैछ ,प्रधानमन्त्री पद येसैलाई जिम्मा लाइदिनु पर्छ कि क्या हो

    Reply
  12. Nirmal Bhattarai says:
    November 11, 2012 at 9:54 pm

    हे काग

    तिमी उड्दै -सोध्दै -खोज्दै जाउँन सुनाउन संदेश(पिडा)
    शितल निवासतिर “हो” कि, बालुवाटारमा हो बस्ने भनिएको सरकार लाई
    कि निरिह निमुखा जनताले संबिधान र बजेट अनि सरकार मात्र हैन
    गास र बास र आवास अनि शिक्षाको अवसर मागेका छन् !!!!!

    हे काग

    तिमी त यमराजको दुत होऊ नि “है” एक अर्को अनुरोध छ है
    बताई देउ त अन्त्य -मृत्यु पछि को अवस्था कि त्यो कहिले फर्किदैन
    सुनाई देउन ‘न झाक्रीले” गर्दा हुन्छ न बैद्दले न त डाक्टरले नै फेरी किन?
    मेरो मरेको देश को संबिधानसभा को चिहान मा बसेर मसान बोलाउछन

    हे काग

    तिमी बरु उडिहाल ,गरिहाल अनि हेर तिम्रो दिनदिनै पुजा हुनेछ
    भोकै पहिले जस्तै होलान यहाँका जन तर तिमी टन्न हुन्छौ जहिले
    जाबो मिठो बोल्ने कोइली भन्दा केहि गर्ने कागको कै गुनगान होला
    तर
    क्षमा दिन तयार होऊ है काग, यहाँका जनताले गुण छिट्टै बिर्सन्छन,सायद तिमी लाई पनि !!!!!!!!!!!!

    (निर्मल भट्टराई——– 11 NOV 2012)

    Reply
  13. rishav says:
    November 11, 2012 at 7:46 pm

    हाम्रो हिन्दु धर्मको कति महत्वो रैछ भन्ने कुरा मलाई येहा USA मा आएर थाहा भयो I नजिक को तिर्थ हेला भनेझै हामीले आफ्नो धर्मलाइ चीनेका छैनौ I हाम्रो धर्मले हजारौ वर्ष पहेलानाई पत्ता लगाएको कुरा बल्ल बैगानिक ले बल्ल चाल पाउदै छन I our religion even discovered time travelling stories that lots of scientists are still trying to find the answers and they think its possible. Our religing teach us through meditation you can get enlightment and you will get Nirvana which is so true thats why now a days the whole world is doing meditation and is so popular here in USA too. I was so surprise to see all those people singing about RAM, Krishan, Siva’s songs. I felt so proud being a Hindu and being from,”the beautiful country in the whole entire world Nepal.”

    Reply
    1. Bikash says:
      November 12, 2012 at 10:26 pm

      हजारौ बर्ष पहिले भएको हो यो पृ्थ्वीमा र त्यही देखेर पछि हिन्दु पण्डितहरुले यसरी धर्मग्रन्थमा जोडेको हो। पहिले धर्मग्रन्थमा भएर यस्ता कार्य भएको होईन। यस्लाई भनिन्छ Retrospective Science, प्राय धर्मका कुराहरु Rertrospective नाई हुन्छ। अहिलेको आधुनिक विज्ञानलाई चाही Prospective Science भनिन्छ। Retrospective Science ले पहिले भईसकेको चिजलाई पछि आफ्नै मनगढन्ते ढंगले आफ्नै तरिकाले व्याख्या गर्दछ जस्तो की हिन्दु धर्मग्रन्थमा पहिले नै टेलिफोन अविस्कार भएको रे!! पहिलेनै अन्तरिक्षमा मान्छे पुगेको रे!! यी सबै कुरा पछि भइसकेका कुरा हरु धर्मग्रन्थमा लगेर जोडिन्छ। अमेरिकामा १ जनाले रामभजन गाउन थाल्दा हिन्दुस्थानमा १००० जनाले जिसस क्राईस्टको महिमा गाउछन। यो कुनै पनि ठुलो कुरा होइन। अझ पश्चिमा राष्ट्रहरुमा हिन्दु भन्दा पनि बौद्दमार्गीहरु धेरै छन तर के गर्नु त्यो भन्दा हजारौ गुणा बढी क्रिश्चियन हुँदैछ नेपालमा। अहिले नेपालमा ब्राह्मण क्षत्री बाहेक प्राय सबै क्रिश्चियन भईसके, यसरी क्रिश्चियनमा किन परिवर्तन भए त नेपालीहरु??? किनकी हिन्दु धर्मलाई धेरै कुरामा संशोधन गर्नुपर्नेछ। हिन्दु धर्मले महिला र जातजाती छुट्याएर ब्राह्मण र क्षत्रीहरु सबैभन्दा कथित माथिल्लो जात हुँ भनेर अरु जातजातीहरु माथि थिचोमिचो भएर अहिले नेपालमा हिन्दु धर्म प्रति बितृष्णा जागेको हो। हुन त म पनि हिन्दु नै हो तर मलाई यस्तो चालचलन मन पर्दैन। मान्छे कोही जन्मदै उच्चजातको हुने र कोही सबैभन्दा तल्लो जातको हुने अझ त्यसमाथि महिलामाथिको नजर र व्यवहार समान हुनु नै हाम्रो हिन्दुधर्मको सबैभन्दा ठुलो कमजोरी हो।

      Reply
      1. Shankar says:
        November 2, 2013 at 4:14 pm

        तपाइले त् मिल्ने भए सान सग रेत्रो साइन्स लाइ बाइबल बाट सारेको भन्नु हुने रहेछ |
        त्यो हजारौ बर्स पहिले हिन्दु पण्डित ले कसरि देख्यो ? अरु पण्डित ले कसरि देखेंन नि ?
        बास्तब मा कुनै पण्डित ले देखेको हैन |हिन्दु धर्म सनातन हो , एस्लाई जिजस, मोहम्मद ,बुद्द जस्तो व्यक्ति ले व्यख्या गरेर ,पहल गरेर ,परिमार्जन गरेर ल्याइएको हैन र परिमार्जन गर्ने र समय अनुसार बदल्ने भन्ने पनि भएँन | बरु व्यक्ति हरु बदलिए कोइ मुसलमान बने,कोइ बुद्द धर्म तिर गए , कोइ क्रिस्चियन बने | आजको इरान ,इराक , अफगानिस्तान ,पाकिस्तान ,र मध्ये पूर्वको धेरै देश का मानिस पहिला हिन्दु कै बम्सज हुन् |
        कुरान मा लखिएको नै छ कि मोहम्मद आउनु पहिला मानिस मुर्ति पुजा गर्थे |
        बिज्ञान पनि प्रकृति कै उपज हो , यहा भएकै कुरा बैज्ञानिक को आखा ले देख्ने अरु ले न देख्ने हो , जस्तो कि ग्र्यभीटी ?( न्युटन ले देख्यो मतल ब व्यख्या गर्यो )
        आफ्नो दिमाग को लिमिटेसन न देख्ने हामि , तेसै हिन्दु को खण्डन गरे यो ब्लग मा अरु ले रुचाउछन भन्दै मा जसो जसो लेख्दिने ?
        जसले अमेरिका मा हिन्दु धर्म मान्यो तेस्ले कोइला भित्रको हिरा देख्यो जसले नेपाल मा क्रिस्चियन मान्यो उ पैसामा बिकेको छ मान्नु हुन्छ तपाइँ ?
        जातीय विभेद ले जाने कमै छ |जातीय विभेद न राम्रो कुरा हो , हिन्दु धर्म ले कर्म अनुसार जात हुने कुरा मान्छ जन्म ले हैन | न बुझे पड्नु पर्छ |
        जन्मेर ब्राम्हण हुने , क्ष त्रीय हुने हिन्दु धर्म ले मान्दैन तेसैले प्रचण्ड जस्तो हिम्सक पनि ब्राम्हण देख्नु हुन्छ ? तेस्तै जसले थर को आधार मा क्ष त्रीय भन्छ त्यो पहिचान को लागि भनेको हो हिन्दुधर्म को ब्याख्या मा त्यो पर्दैन |
        मुस्लिम धर्म मा आइमाइ प्रतिको अत्याचार , र क्रिस्च्यांन मा पुरोहित को अत्याचार को बारेमा गुगल गरेर हेर्नुस |

        Reply
  14. neerose says:
    November 11, 2012 at 7:23 pm

    – काग त्यौहारको उपलक्षमा काग सहित सम्पुर्ण चराचर जगतलाई शुभ्-कामना! साथै हाम्रो आकाश र प्रकृति आनि बातावरण बाट नहराइ देउ भन्ने कामना!

    Reply
  15. बिषम नेपाली says:
    November 11, 2012 at 5:46 pm

    उमेशजी,
    तपाईले लेखेको यो बिचार हाम्रा जनजातीका नेताहरुले पढुन र बुझुन कि, काग वा कुकुर लाई सम्मान गरेर किन बिदादिइएको हो भन्नेकुरा । किन भने, केही समय अगाडिको कुराहो उनिहरुले सार्वजनिक रुपमा भाषणगर्दा “बाहुन क्षेत्रीले काग र कुकुरका नाममा सार्बजनिक बिदा दिन्छन तर हामि जनजातिका चाडपर्वमा बिदा छैन ।” भन्ने गर्थे वा भन्दैछन । हो नेपाली सवैले मान्ने आ आफ्ना चाडपर्बको आ आफ्नै महत्व छ । तर यो होईन कि कुनै पशुपंक्षी बाहुन क्षेत्री का भएकोले सरकारले सार्वजनिक बिदा दिएको हो । सायद उनिहरुको दिमागमा यो कुरा किन नआएकोहो कि, काग वा कुकुर बाहुन क्षेत्रीका मात्रै पशुपंक्षी होईनन् हामी सबैका हुन भन्नेकुरा ।
    तपाईको यस लेखले उनिहरुलाई अबस्य बोधहुने छ कि, किन काग वा कुकुरको पुजा वा सम्मान गरिएको हो भन्नेकुरा । काग वा कुकुर बाहुन क्षेत्रीका हुन कि हामी सबैका !

    Reply
  16. Bhola Ghimire says:
    November 11, 2012 at 4:54 pm

    हाम्रा नेताहरु पनि काग भन्दा त कम बुद्धिमान छैनन् है | यी नेताहरुको पनि एक दिन तिहार मनाउने कि केहि खान दिएर ????

    Reply
    1. अनिल says:
      November 2, 2013 at 5:59 am

      नेताहरुलाई काग हैन कुकुर तिहारमा पूजा गर्नू पर्छ

      Reply
  17. kedar says:
    November 11, 2012 at 4:07 pm

    कागको महत्व हिन्दुहरुले मात्र थाहा पाएको होइन रहेछ अन्य संस्कृति, सभ्यता र धर्मले पनी थाहा पाएका रहेछन भन्ने कुरा नेपालका अग्रगामी हौँ भन्ने ती दुइ चार वोटा ठेउकेहरुलाई कसले बुझाइदिने खै ?

    Reply
  18. rabin says:
    November 11, 2012 at 12:59 pm

    उम्…… तेहीं भएर होला आजको दिन मा जन्मिने पनि काग जस्तै चलाख हुने होला!! मेरी दिदी त काग पुजाको एकदिन अगाडी जन्मिएको है, तै पनि काग जस्तै कस्तो चलाख छ भने, हामीलाई त कस्तो घुमाएको घुमायै गर्छ | अनि हामी दाईभाई कुरा गर्छु की, “धन्य काग पुजाको एकदिन अघि मात्र जन्मिए!”

    Reply
  19. इमरान खान,तारुत आइल्याण्ड, साउदी अरेबिया says:
    November 11, 2012 at 12:49 pm

    काँ काँ गर्ने कौवा कालो,
    सालमा एकदिन तिम्रै पालो,,
    ३६४ दिन गायब,१ दिन मात्र हातेमालो.

    ह्याप्पी काग तिहार,सबै नेपालीलाई

    जय नेपाल आमाको

    Reply
    1. गगने says:
      November 11, 2012 at 9:11 pm

      मित्र,
      यही यह दिन मात्र होइन!
      हामि त् हरेक दिन सम्झन्छौ कागलाई के !
      हरेकदिन आमाले पकौनुभयाको भात पहिले आँगन छेउमा उभियर ‘काँ काँ’ भन्दै कागलाई बोलाइ खुवायापछिमात्र हामि खान्थेउ!
      मैले नै कति पटक तेसरी दियको थिय! अझै पनि घर जादा तेही क्रम दोहोर्यैन्छ!
      कागलाई तेसरी पहिले नखुवैकन हामि कसैले पनि खान पाउदैन थियौ यदि कुनै बेलै हामीले अघि खानै पर्ने भयमा आमाले अलिकति पहिले कागलाई छुट्यायर राखी अनि पछिमात्र खान दिनुहुन्थ्यो!
      अहिले पनि आमाले गाउमा तेसै गर्दै हुनुहुन्छ! हामिपो त सहर छिरेउ अनि कागलाई काग तिहारमा त्यो पनि इन्टरनेट मा मात्र देख्ने सौभाग्य पैयाछ त!

      Reply
    2. shailendra dk says:
      November 12, 2012 at 5:30 am

      इमरानजीको कविता शैली सारै मन पर्छ ,तपाई सबै कमेन्टहरु कविता मै लेखिदिनुहोला , मेरो तर्फबाट पनि सब नेपाली दाजुभाईहरुलाई ह्याप्पी कागतीहार

      Reply
      1. इमरान खान,तारुत आइल्याण्ड, साउदी अरेबिया says:
        November 12, 2012 at 12:18 pm

        सैलेन्द्र जी ,सुझाबको लागि धन्यबाद.सक्दो कोसिस गर्नेछु.नेटको व्यवस्था मिल्द सम्म निरन्तरता दिनेछु.

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme