Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथाः जीवनको नयाँ गारेटो

Posted on October 26, 2013 by mysansar

-गणेश भट्ट-

saturday-fiction “प्लिज केही त बोल न।”

एनको निकैबेर अघि देखिको मौनता चिर्ने प्रयास विफल भयो। उनी बोलिनन्।

पहिला भन्दा नितान्त उनी। अनुहारमा चमकताका रेशाहरु पाताला हुदैं गइरहेका। उमेरले पनि हो कि अरु पनि धेरै परिवर्तनहरु। गत हप्ता एकैछिन भेटेको। एक्लै होइन, उनका परिवारका सबैसंग। झण्डै १० वर्ष अघि भेट हुदाँ अली–अली कुरा गरेका थियौं परिचय संगसंगै। साथी पल्लवीको बर्थ डेले जुराएको थियो त्यो संयोग।

“हजुरले कहिल्यै यो समयको कल्पना गरिसेको थ्यो?” केहीबेरको अनुरोधपछि ओठ खोलिन्।

“मैले सधैं कल्पना गरेको थिएँ, यो पल।” प्रश्न नसकिदैं भनें।

“आज हामी यसरि सगैं हुनेछौं भनेर हजुरलाई कहिल्यै लागेको थियो?” उनले सच्याएर सोधिन्।

“थियो।”

प्रश्नहरु मेरा लागि त्यति जटिल थिएनन्। प्रश्न, प्रश्न जस्तै लागेको थिएन मलाई। लाग्थ्यो मेरा बर्षाैंदेखिका अनुत्तरित प्रश्नहरुको जवाफ उनले सोधेका प्रश्नहरु आफैं थिए। धेरै वर्षदेखि आफ्नै मनले सोधेका प्रश्नहरुवाहेक अरु केही असहज लागेको थिएन मलाई। घरी–घरी आफ्नै मनले प्रश्न सोध्थ्यो तर म नाजवाफ हुन्थें। आज बल्ल जीवनका सबै प्रश्नहरुको उत्तर पाएको छु।

“के भयो? केही बोलिस्यो न!”

केही बेर अघि के के न भन्नु छ झैं उनलाई बोल्न अनुनय गर्ने म मौन भएर बसेकोले होला।

“हैन, केही भएको छैन।”

“मलाई झुट नबोलिस्यो है, केही त सोचिसेको छ, मलाई भनिस्यो न।”

टाउकोलाई केही माथि उठाउँदै आँखामा मायालु हेराई छर्दै थिइन् उनी। लाग्थ्यो, मैले सोचेका सबै कुराहरु उनलाई एक–एक थाहा छ। म यति धेरै खुशी थिएँ कि मसंग बोल्ने शन्दहरु नै केही थिएनन्। मात्र, उनीसंग बसिरहुँ र एकटकले उनलाई हेरिरहुँ , बस्, यही सोचेको थिएँ मैले। तर भनिन।

“यति धेरै माया गर्ने मान्छे मसंगै छ, मैले किन केही सोच्नुपर्‍यो र?”

लजाउन खोजे झैं गरिन्। मुस्कुराउन पनि खोजिन्। सकिनन्। मौन रहिन फेरि। निर्धक्कसंग उनलाई हेर्ने यो सुनौलो अवसर बन्यो मेरो लागि।

“अब भनिस्यो, म जस्तो मान्छेलाई किन एसेप्ट गरिस्यो हजुरले?”

मलाई उनको अतीतमा ठोक्याएर प्रश्नहरले हमला गर्न खोजेकी रहेछन। चेत भयो मलाई।

“कस्तो म जस्तो?” सोध्न मन लागेको थिएन तर सोधेछु।

“यही कुराले ममीसंग पनि एक साता बोलचाल भएन। एक चोटी धोका खाइसकेपछि सबै मान्छेलाई धोकेवाज देखिदोरहेछ। कसले ग्यारेण्टी लिइदिन सक्छ कि मेरो जीवन पहिला झैं रङ वेमा जादैंन भनेर। न मेरो ममी, ड्याडी न परिवार र मेरो समाजले नै सक्छ। सक्ने भए पहिलै त्यस्तो हुदैनथ्यो। झन् हजुर त अर्कै समाजको मान्छे। त्यही पनि पुरुष। ”

अतीतले बनाएको घाउ चहर्‍याइरहेको थियो सायद। त्यो सत्यसंग प्रतिबाद गर्ने कुनै शब्द दिएनन् मसंग। बोलिन केही।

“म त धेरै हण्डर टक्कर खाएको मान्छे। दोवाटोको ढुङ्गा जस्तै। कहिले यता र कहिले उता पल्टिएर बेबारिशे जीवन बिताइरहेकै थिएँ। मरेको लाशले हजुरको जिबनमा दुर्गन्ध फैलाउँछ जस्तो लागेन?”

“सट् अप्। तिमीलाई मैले जति धेरै अरु कसैले बुझेको होला र तिमीले अहिले नानाथरी ब्याख्या गरेर सुनाउनुपर्छ?” म झर्किदिएँ। तर मेरो आवाजको प्रभाव मेघ झैं एकछिनमै हरायो।

“एकपटक जुन बाटोवाट मलाई खुशी मिलेन, फेरि त्यही बाटोमा जबर्जस्ती किन हिंड्न लगाइयो मलाई?” मैले जवाफ दिने खालको लाग्यो यो पश्न। मौन स्वीकृति भङ्ग गर्न उपयुक्त सम्झेँ।

“यो तिमीले अनि मैले भनेर हिड्ने र हिडाउने कुरा होइन। यो सबै भाग्य र समयको खेल हो।”

“मेरो भाग्य नै खोटो छ र म दुखेरै बाँच्न चाहन्छु। भाग्यमा नभएको सुख खोज्ने प्रयास हजुरहरुले किन गरिसेको?” प्रस्टीकरण सहितको प्रश्न आयो।

“समयलाई हामी आफैंले सही बाटोमा लैजान सक्यौं भने भाग्यलाई उछिन्न सकिन्छ। त्यस्ता कैयौं उदाहरणहरु छन्। म फुर्सदमा तिमीलाई बताउँला। तर, अव हिजोका कुरा छोड।”

परेलीको डिलवाट वर्सिएको झरीले अव त आजावको वाटो नै बन्द गरिदिएछ। केहीबेर सन्नाटा छायो। मेरा दुबै हात केहीबेर उनका आँखाका डिलहरुमा चल्मलाए।

“हामी संगै हुन केही बर्ष ढिला भयो, यति मात्रै हो। अरु केही भएको छैन। र, त्यो तिम्रो बिगत कुनै पनि हालतमा दोहेरिने छैन। संसारका सबै देउताको कसम। नत्र समाजलाई नसुनी मेरो मन र तिम्रो वर्तमानलाई मात्रै मैले सुनेँ, बुझैँ। किन?” अघिका उनका सबै प्रश्नहरुको सामुहिक जवाफ प्रश्नमै दिएँ।

“हजुरलाई बिश्वाश गर्नु र भोलीको समयको प्रतिक्षा गनुृ बाहेक अरु के नै बिकल्प छ र।”

अतित भुलेर अव वर्तमान र भविक्ष्यतर्फ अग्रसर हुनुपर्छ भन्ने भाव झल्कायो जवाफले।

“तर, म भन्दा सबै आस्पेटले राम्रा केटहिरु पाइसिन्थ्यो हजुरले। आफ्नो फेमेलीको पनि मन दुखाइस्यो अनि किन मलाई एसेप्ट गरिस्यो होला है?”

“मेरो जीवन मैले कसरि जीउने त्यो मेरो कुरा हो। पहिला त फेमेलीलाई कन्भिन्स् गर्न धेरै नै गाह्रो भयो नि। तर अहिले सबै जना कन्भिन्स् हुनुभयो। सकियो। ”

प्रश्न उनले आधा आफैंलाई अनि आधा मलाई सोधे जस्तो थियो। तर मैले पूरै जवाफ दिएँ।

त्यति नै बेला खोइ कतावाट एउटा जुनकिरी कोठाभित्र पसेछ। जुन नदेखिंदा जुनकिरीलाई हेर्नु भन्छन्। नामको अगाडि जुन भएर होला। अथवा अँधेरी रातमा थोरै नै भए पनि उज्यालो दिने भएर पनि होला। मैले सोच्न भ्याएँ। खैर, मैले जुनकिरीतिर त्यती ध्यान दिइन। निधारमा मायाको आभाष दिलाएपछि मसंगैको चन्द्रमा अब उदाइसकेकी थिइन्।

“मलाई त पूरा बिश्वाश थियो एकदिन हामी एक अर्काको भएरै छोड्नेछौं। तिम्रो लास्ट् टेक्स्ट् वाहेक हाम्रा सबै बिगतले मलाई खुशी नै बनाउँथ्यो।”

“लास्ट् टेक्स्ट्?”

“आइ एम् सो सरि।” सायद उनले पनि सम्भि्कइछन् क्यारे।

“नो मेन्सन्। “थाह छ मलाई।” उनकै सपोर्टमा बोलेँ म।

“कसरि थाह पाइस्यो?”

“तिमीले भनेर नि।”

“मैले सबै भनेको थिएँ र?”

“हामी बिचमा नभएको कुरा नै के थियो र?”

“सरि भनेँ नि त। त्यो बेला त्यस्तै पर्‍यो। हजुरलाई पनि थाहा छ नि।”

पाँच दिनदेखि उनको कुनै पनि मेसेज पाएको थिइन। मैले धेरै लेखेँ, धेरै सोधेँ तर उनी जवाफमा केही बोलिनन्। सम्झेँ, बिजी भइन् होला। अनि, अब मेसेज आउँदैन हो मलाई? भनेर सोधेँ। जबाफ नआउनुपर्ने मेसेजको जबाफ आयो। त्यो पनि “हो अब आउँदैन, मेसेज नगरिस्यो है” भनेर।

“साचैं, त्यो दिन किन तिमीले त्यस्तो मेसेज गरेको?” उनको मौनता तोड्न चाहेँ।

“ब्याइफ्रेण्डले फेसबुकको पासओर्ड मागिस्यो। अनि दिएँ। त्यसैले।”

“तिम्रो ब्याइफेण्ड भएको कुरा के साँचो थियो? त्यही पनि ब्याइफ्रेण्ड हुनु र नहुनुले हाम्रो फ्रेण्डसिपमा त्यस्तो नेगेटिभ इम्प्याक्ट पार्छ जस्तो मलाई लाग्दैनथ्यो।”

“हजुरलाई पहिल्यै भनेको थिएँ नि मैले, बिलिभ गरिसेन।”

“पहिला त ब्याइफ्रेण्ड छैन भन्थ्यौ। पछि एक्कासी छ भन्यौ, त्यसैले।”

“हामी संगै प्लस टू पढेको। उसले मलाई प्रपोज् गरेको थियो त्यो बेला। जातभात मिल्थ्यो। ह्याण्ड्सम नै थियो। पढ्नमा पनि ठिकै थियो। तर, खै के सोचेँ मैले त्यति सिरियस्ली लिइन। तैपनि साथीको रुपमा हाम्रो कन्ट्याक्ट भैरहन्थ्यो। म स्टडीको लागि वाहिर गएपछि पनि सम्टाइम्स् कन्ट्याक्ट हुन्थ्यो। पछि थाह पाएँ–उसले मलाई अझै पहिलाकै जस्तो चाहन्छ, अझै धेरै माया गर्छ अनि ऊ मेरै लागि भनेर पर्खेर बसेको छ।”

“यो कुरा तिमीले मलाई पहिल्यै भनेकी थियौ। त्यतिबेला सम्म तिमी क्यानडाको पि.आर्. भैसकेकी थियौ। लामो समयसम्म ऊ तिम्रै लागि पर्खेर बसेको भएर उसको मायाप्रति तिम्रो बिश्वाश बढेर गयो अनि उसलाई स्वीकार गर्‍यौ र त्यही वर्ष तिमी नेपाल आएर बिहे गर्‍यौ अनि संगै फर्केर गयौ, होइन?”

“हजुर। तर यो सब त मैले भनेको थिइन।”

“भनेकी थिइनौ तर मैले थाहा पाएँ। अनि त्यती धेरै माया गर्ने मान्छेको साथ पायौ है तिम्ले? मेसेजमै भएपनि मैले बधाई दिन्थें, तर पाइन। कसरि चटक्कै बिर्सन सकेको मलाई? कुनै बेलाको साथी त थिएँ नि म, होइन र?” नभन्नुपर्ने कुरा भनेछु, भनिसकेपछि महशुश भयो।

आँशु प्रश्न भन्दा पहिल्यै भुइँमा खस्न शुरु गरिसकेको रहेछ। सुँक्क सुँक्क रुवाइसंगै के जवाफ आयो मैले बुिझन तर दोहोर्‍याएर सोध्न आवश्यक थिएन किनकी त्यसको जवाफ उनी आफैं थिइन् मेरो अगाडि। यसलाई उनको जीवनको अन्तिम रुवाई बनाउने चाहना थियो मेरो।

“मेरो हिजो र आजको डिफरेन्स् आकाश र पाताल भन्दा नि बढी छ। सबै चीज आफूले सोचे जस्तो हुने भए पृथ्वीलाई सवैले स्वर्ग भन्नेथिए होला।” खोइ के प्रसङ्ग निकालिन् उनले, मैले बुझिन।

“सोचे जस्तो हुदैंन, आफू अनुकुल आफैंले बनाउनुपर्छ। बरु के भन्न खोजेको भन न।”

“धेरै समयदेखि पर्खेको छ भनेकै भरमा कसैले माया गर्छ भन्ने भ्रमको खेती गरेँ मैले। अनि उसकै पछि आफ्नो सारा खुशीलाई तिलान्जली दिएँ। हजुरलाई समयमै चिन्न नसकेर पछुतो छ।”

“सबैका कमी–कमजोरी हुन्छन्। अरुले तिमीलाई स्वीकार्नु तिम्रो असल मात्रै होइन, खराख आचरणलाई पनि स्वीकार गर्नु हो र तिमीले पनि। त्यसैलाई भनिन्छ, कम्प्रमाइज्। तर कम्प्रमाइजको पनि हद हुन्छ अनि सबै विषयमा एकल कम्प्रपाइज गर्नुभन्दा संबन्ध तोड्नु नै सहज हुन्छ। एउटा गित पनि छ नि— टुटे नाता हुन्न फेरि जोड्न सजिलो, मन नपरे सम्बन्ध नै तोड्न सजिलो।”

उनको प्रसङ्गलाई थोरै मोडेर केही आदर्शका कुरा जोडिदिएँ मैले। उनले चाहेको संभावित जवाफ म उनीवाटै सुन्न चाहन्थें।

“ऊ मैले सोचे भन्दा बहुत फरक रहेछ। पछि थाहा भयो उसले त पढाइ पनि प्लस टुमै ब्रेक गरेछ, बिजनेसको कुरा पनि कुरा मात्रै रहेछ। अनि आनी–बानी सबै चेन्ज भइसकेको। पहिलाको पवन अहिले त हावा बनिसकेछ।”

नभन्दै मैले सोचे जस्तै उनी आफैंले कुरा खोल्दै गइन्। महिलाहरु पहिला भाउ खोजेर बोल्दा पनि पैसा पर्छ जस्तो गर्छन् तर नजिक भएपछि मनका कुराहरु सबै श्यर गर्छन् भन्ने सुनेको थिएँ, हो जस्तै लाग्यो।

“त्यति मात्रै हो र, उसको त ३ जनासंग अफेअर चलेर नि छुटेको रे। पछि उसैले भनेको। पहिला जोसंग जे भएपनि केही थिएन, अव मेरो श्रीमान भएपछि ऊ मेरो मात्रै हुनुपर्छ भन्ने चाहेको थिएँ मैले। तर पाईन। के कुनै श्रीमतिले श्रीमान्वाट यस्तो चाह राख्नु गल्ती हो? केटामान्छेहरु वाहिर देखिए भन्दा टोटल्ली अपोजिट हुदा रहेछन्।”

“सही भन्यौ। केटामान्छेहरु मात्रै होइन, केटीहरु पनि कम्ता हुदैंनन्। त्यसो त, सुनेर, देखेर को कस्तो थाहा हुदैन। ब्यबहार गरेपछि चाल पाइने कुरा हो यो।”

“होइन, केटा मान्छेहरु त्यस्ता हुन्।” उनको मायालु जिद्धी मैले हाँसेरै टारिदिएँ।

“नत्र, किन उसले मलाई खेलौना र पाइतालाको धुलो जत्ति पनि महत्व दिएन अनि किन बाहिर अरु केटीहरुसंग सम्बन्ध गाँस्दै हिंड्यो? मलाई भनिस्यो त।”

“त्यो मलाई होइन, उसैलाई गएर सोध।” जस्तालाई त्यस्तै उत्तर दिएँ मैले।

“हजुर पनि केटा न हो।”

“म केटी हुँ भनेको छु र?”

“हजुर चुप लागिस्यो।”

म एकछिन आज्ञाकारी बनिदिएँ।

केटाहरु आफूले मन पराएको केटी आफ्नो बनाउन हजार फर्मुला युज् गर्छन्। केटीहरुले यो बुझ्दैनन् र मिठा कुराको पछि दौडन्छन् अनि दुख पाउँछन्। सोचेँ मात्रै। भनिन।

यतिबेलासम्म उनीभित्रको संकोच बिस्तारै हट्दै थियो र बिश्वाशले ठाउँ लिइसकेको थियो। हातको घडीले बिहानको ३ बजाइसक्दा पनि निन्द्रादेवी भने कोठामा प्रबेश गर्न सकेकी थिइनन् त्यो रात।

“ममीले केही भनिसेन तिम्लाई?” आफ्नो मौनता आफैंले तोडेँ।

“सबै भनिसेको थियो। गएको दशैंमा हजुरहरुको भेट भएको थियो रे नि।”

“हो। म पल्लवीसंग गएको थिएँ।” मैले थपेँ।

“अनि, ममीको कुरा नमानेर सुखै पाइन। अनि उसंग अलग भएको।”

फेरि अतीतको समयले डसेछ उनलाई। अव कहिल्यै फर्काउन नसकिने पास्ट्लाई यहीँ छोडिदिऔं भने। तर यो पटक मायाको अघिनैको शैलीले मात्रै उनको अनुहारको मुस्कान फर्काउन सकिन।

“तिमी अहिले अफिस जाने बेला हुन्थ्यो है?”

“हजुर। सबै सम्भि्कसेको छ है हजुरले? मैले त कत्ति कुराहरु बिर्सें होला।”

“अलि अलि सम्झेको छु।” जिस्किए झैं गरें।

“यति बेला हजुर निन्द्रामा होइसिन्थ्यो। अनि मरो ब्रेक टाइममा हजुरको उठ्ने टाइम हुन्थ्यो। त्यो बेला मेसेज गर्दा डेलिभर्ड रिपर्टसंगै रिप्लाई पनि आउँथ्यो।”

केहीबेर देखिको नरमाइलो क्षणहरु बिर्साउन म मिठा पलहरु स्मरण गराउन चाहन्थेँ। स्मृतिका पानाहरु एक पछि अर्को पल्टिदैं गए।

“एक अर्काको उठ्ने, सुत्ने, खाने, अफिस जाने सबै समय हामीलाई कण्ठै थियो नि होइन?”

मुस्कानले सहमति जनाइदियो।

“बेष्ट कलर, बेष्ट फुड, बेष्ट ड्रेस, ठाउँ अनि मन नपर्ने कुराहरु पनि थाहा थियो। तिमीलाई मैले “मिस्” भनेर सम्बोधन गरेको मन पर्दैनथ्यो, किन?”

“धेरै नजिस्क्याइस्यो है। फेसबुकमा फोटो अपलोड हुनु भन्दा पहिल्यै लाइक गर्ने चाहिँ को नि?”

“तिमी अफिसवाट फर्किने बेला म ट्रेन स्टेशनसम्म लिन जान्थें नि, याद छ ?”

“एक दिन त मैले साँच्चिकै हजुर आइसेको भन्ठानेर हेरेको नि। हि..हि..हि..”

“म साँच्चै गएको त हो नि तर तिमीले मलाई देखिनौ अनि फर्केर आएँ।” मैले ठट्टा गरिदिएँ।

“अनि अरु पनि भनिस्यो न। हजुरले बोलिसेको सुन्न आनन्द आएको छ।”

“मेसेज नआएको दिन मन भारी हुन्थ्यो। कारण भनेर १ हप्ता मेसेज नआए पनि केही फरक पर्दैन्थ्यो तर केही नभनी १ घण्टा हरायौ भने १ बर्ष जस्तो लाग्थ्यो। के गर्नु मलाई मात्र त्यस्तो लागेर नहुनेरहेछ।” उनी केही बोल्छिन् कि भन्ने आशयले अलि घुमाउरो कुरा गरिदिएँ।

“हजुरलाई मात्रै हो र? मलाई पनि त्यस्तै हुन्थ्यो नि। एक चोटी मेरोमा नेट नहुदाँ अर्को एक जना दाइकोवाट कुरा गरेको बिर्सिस्यो?”

बिर्सेको छैन भन्ने जनाउन फेरि टाउकोे हल्लाएँ।

अरु केही भन्नै पर्दैनथ्यो। गुड मर्निङ्। ह्याभ् अ नाइस् डे। टेक् केअर् मात्रै भनिदिए पनि दिनभरीलाई पुग्थ्यो। दुबै जनालाई।

उनले धेरैपटक कोल्टे फेरिसकेकी थिइन्। आफ्नो मान्छेको साथमा भएपछि ओठले केही बोल्नै नपर्ने रहेछ, बोल्दो रहेछ त केवल ढुकढुकीले। ढुकढुकीको आवाज कानले होइन ढुकढुकीले नै सुन्दो रहेछ। मैले त्यही क्षण सोचेको। मेरो ढुकढुकीले उनको मन धैरै सुनिरह्यो, बुझिरह्यो सायद उनको ढुकढुकीले पनि त्यसै गर्दै थियो। यो बेला त ओठले बोल्नैपर्ने भएर मात्रै बोलेको।

“साँच्चै, हजुरले मलाई पहिला किन केही नभनिसेको?”

सुदुर पूर्बको एउटा जिज्ञाशा राखिन् उनले।

“भन्नु पर्ने नै के थियो र? अनि तिम्ले चैं किन नभनेको नि?” कुरा लुकाउन खोजें तर उनले बुझिन्।

“मैले त यस्तो केही सोचेकै थिइन त्यो बेला। कहिलेकाहीँ चैं हाम्रो रिलेसन फ्रेण्डसिप भन्दा केही अलग छ भन्ने लाग्थ्यो तर मैले सोध्ने र भन्ने कुनै आँट गरिन।” उनको जवाफ मलाई चित्तबुझ्दो नै लाग्यो।

“म चाहीँ त्यत्तिमै रमाइरा’को हुन्थें। पछि भनौंला अहिल्यै के हतार जस्तो लाग्थ्यो तर समय दौडेर धेरै टाढा पुग्यो। समयको पाईला पछ्याउँदै दगुरें र आज समयलाई भेट्टाएरै छोडें।”

“यही क्षण हाम्रो जीवनमा त्यतिबेला आउन सकेको भए……………….”

वाक्य टुङ्ग्याउनै लाग्दा उनको गला अबरद्ध भयो।

“ढिलै भएपनि आयो, सुमी। हाचीले आफ्नो मालिकलाई अरु ९ वर्षसम्म पर्खेर पनि पाउन सकेको थिएन र अन्तिममा वेटिङ् स्पटमै प्राण त्याग्नु परेको थियो। रोमियो र जुलियट मृत्युपछि चिहानमा केहीवेरका लागि मात्रै संगै हुन पाएका थिए। हामीले त केही वर्षको प्रतिक्षापछि एक अर्कालाई पाएका छौं, त्यो पनि वाँकी जीवन संगै जिउने गरी। यही नै सब् भन्दा ठूलो कुरा हो। म कति भाग्यमानी रहेछु।”

नाटकका केही पात्रहरुसंग आफ्नै तुलना गर्दै थपें।

“कत्ति कुरा गर्न आउँछ है हजुरलाई? यो त मैले भन्नुपर्ने कुरा हो।”

“जसले भने पनि एउटै त हो नि।” मेरो जबाफ उनको प्रश्नसंगै टुङि्गयो।

समयको पदचापले बनाएको पहिलेको बाटोलाई केरेर अब जीवनको नयाँ गारेटो कोर्नु थियो हामीले। साँच्चै भन्ने हो भने क्षितिजलाई छोएका थियौं हामीले त्यो बेला। र अव हाम्रो जिन्दगीको बास्तविक शुरुवात भएको थियो।

“उठ्ने बेला भैसकेछ है?” कोट्याउँदैै भनिन्।

बाहिरको उज्यालो कोठाभित्र प्रबेश गरेसंगै हाम्रो साथको पहिलो रात बितिसकेछ।

“अव भुलेर पनि पहिलेका कुराहरु नगरौं। नयाँ जीवन र नयाँ संसार पाएका छौं हामीले। एउटा रात सकिएको हो अझै……………….।”

वाक्य पूरा हुने गरि बोल्न सकिन। यो पटक मायाको आभाष दिलाउने पालो उनको परेको रहेछ।

(यस कथाका पात्र र घटना सबै काल्पनिक हुन्। कसैको जीवनमा मिल्न गएमा संयोग मात्र हुनेछ )

13 thoughts on “कथाः जीवनको नयाँ गारेटो”

  1. Mina says:
    November 3, 2013 at 1:16 pm

    कथा लामो भए पनि संयोगान्त भएकोले पढ्दा थकाइ लागेन । आफ्नो मान्छेको साथमा भएपछि ओठले केही बोल्नै नपर्ने रहेछ, बोल्दो रहेछ त केवल ढुकढुकीले। ढुकढुकीको आवाज कानले होइन ढुकढुकीले नै सुन्दो रहेछ।

    Reply
  2. Anisha says:
    October 30, 2013 at 9:14 am

    सर्वप्रथम त कथाकार लाई मुरी मुरी बधाइ दिन चाहन्छु । कथाकार को कल्पना शक्ती तथा उहाको लेखन सैलिको पनि प्रशसा नगरि रहन सकिन । तर कथामा दुइ ब्यक्तिको सबाद कम र कथाकार को मनोबाद बढी देखिएको छ जसले कथामा मिठास थपे पनि कोही साधरण ब्यक्तिलाई बुझ्न कठिन हुन्छ । तर कथा को समग्र कथाबस्तु राम्रो छ । उहलाई अझै सफलताको कामना गर्दछु ।

    Reply
  3. Saugat says:
    October 29, 2013 at 10:29 pm

    सुन्दर कल्पनामा बुनिएको यो कथाले माया पुरानो हुदैन भन्ने आशय दिए पनि ठ्याक्कै वास्तविक जीवनमा चाही यस्तो नहोस्. कथाभित्रको पहिलो कथाको जस्तो असफल प्रेम त झन् हुदै नहोस् बरु कथाकै दोस्रो कथामा जस्तो प्रेमले सधैं जितोस… अनि लेखनिय सफलताको शुभकामना कथाका शिल्पकारलाई

    Reply
  4. Mausam says:
    October 29, 2013 at 10:27 pm

    सुन्दर कल्पनामा बुनिएको यो कथाले माया पुरानो हुदैन भन्ने आशय दिए पनि ठ्याक्कै वास्तविक जीवनमा चाही यस्तो नहोस्. कथाभित्रको पहिलो कथाको जस्तो असफल प्रेम त झन् हुदै नहोस् बरु कथाकै दोस्रो कथामा जस्तो प्रेमले सधैं जितोस… अनि लेखनिय सफलताको शुभकामना कथाका शिल्पकारलाई

    Reply
  5. Mausam says:
    October 29, 2013 at 6:38 pm

    कथामा समाबिस्ट भएको दुवै पक्षको बास्तबिक जीवनमा यस्तो नहोस, प्रेम सबै को सफल होस् .. तर, एकपटक असफल भएकाहरु पनि कथामा जस्तै सफल होउन,,, अत्यन्तै सुन्दर कल्पनासंग कथामा खेलिएको रहेछ.. कथाकारको लेखनिय यात्रालाइ अझै सफलताको सुभकामना,,,

    Reply
  6. Bishnu gautam says:
    October 28, 2013 at 7:30 pm

    आफ्नो मान्छेको साथमा भएपछि ओठले केही बोल्नै नपर्ने रहेछ, बोल्दो रहेछ त केवल ढुकढुकीले। ढुकढुकीको आवाज कानले होइन ढुकढुकीले नै सुन्दो रहेछ। मैले त्यही क्षण सोचेको। मेरो ढुकढुकीले उनको मन धैरै सुनिरह्यो, बुझिरह्यो सायद उनको ढुकढुकीले पनि त्यसै गर्दै थियो। यो बेला त ओठले बोल्नैपर्ने भएर मात्रै बोलेको।

    Reply
  7. salina says:
    October 28, 2013 at 12:28 pm

    धेरै राम्रो लाग्यो…!!

    Reply
  8. salina says:
    October 28, 2013 at 12:25 pm

    त्यति मात्रै हो र, उसको त ३ जनासंग अफेअर चलेर नि छुटेको रे। पछि उसैले भनेको। पहिला जोसंग जे भएपनि केही थिएन, अव मेरो श्रीमान भएपछि ऊ मेरो मात्रै हुनुपर्छ भन्ने चाहेको थिएँ मैले। तर पाईन। के कुनै श्रीमतिले श्रीमान्वाट यस्तो चाह राख्नु गल्ती हो? केटामान्छेहरु वाहिर देखिए भन्दा टोटल्ली अपोजिट हुदा रहेछन्।”

    Reply
  9. hem says:
    October 27, 2013 at 5:05 pm

    agreed to Andy… बिथोलिएको मनले पहिलेकॆ गहिराइबाट माया गर्न चाह्योभनेपनी जान्दॆन र जंकीहरु एस्तोकुरा मान्दॆनन् भनुँ विश्वास गर्दॆनन्। so यो कथालाई जोकोहीले अाफ्नो जीवनमा अनुसरण गर्न उपयुक्त ठन्छ त्यसले राम्रो पूर्व तयारी गरे वेस होला।

    Reply
  10. bishnu adhiakri says:
    October 27, 2013 at 12:52 am

    कथा लाई नराम्रो भनेमा कथाकार माथि अन्याय गरेको ठहर्छा तर कथाको लामोपन जति छ सोहि अनुसारको रस भने कता कता नपाएको महसुस भयो मलाई अरुलाई कस्तो भो कुन्नि
    बिष्णु अधिकारी
    Appleton

    Reply
  11. andy says:
    October 26, 2013 at 7:01 pm

    Matched with my life story but Ending is different. I was not able to accept her. I think its really eg to accept it on story but not in real life.

    Reply
  12. nisha says:
    October 26, 2013 at 3:35 pm

    सुन्दर प्रतीकात्मक कथा केटाहरु आफूले मन पराएको केटी आफ्नो बनाउन हजार फर्मुला युज् गर्छन्। केटीहरुले यो बुझ्दैनन् र मिठा कुराको पछि दौडन्छन् अनि दुख पाउँछन् .

    Reply
  13. isho says:
    October 26, 2013 at 11:50 am

    क्या दामी कथा. मेरो जीवन संग पनि मेल खानी रहेछ ..धन्यवाद लेखक लाई…..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme