Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कामदारको भिडियो खिच्ने कतार पुलिसको फन्दामा

Posted on October 17, 2013 by mysansar

कतारमा आप्रवासी कामदारहरुलाई दाससरह व्यवहार गरी काममा लगाइएको खुलासा बेलायती पत्रिका गार्डियनले गर्‍यो। विश्वभर यो खबर फैलियो,कतारको आलोचना भयो। सबभन्दा पीडित नेपाली कामदार थिए। नेपालमा पनि यो खबरलाई निकै चासोका साथ हेरियो।कतार ड्यामेज कन्ट्रोल गर्न तर्फ लाग्यो। त्यसलाई साथ दिए नेपालकै ‘सप्लाइ’ धन्दावालाहरुले। कतार एनआरएनका अगुवाले विरोध गर्दागर्दै पनि लन्डन र अमेरिकामा विरोध प्रदर्शन भयो।

यस‍ैबीच कतारले फेरि एउटा नचाहिने काम गरेको छ। कामदारको भिडियो खिच्ने दुई जना जर्मनलाई त्यहाँको प्रहरीले पक्रेर २७ घण्टा हिरासतमा राखेको छ।

उनीहरुले दोहाको मर्क्योर ग्रान्ड होटलको बरन्डाबाट २०२२ विश्वकपका लागि पूर्वाधार निर्माण गरिरहेका आप्रवासी कामदारहरुको भिडियो खिचेका थिए।

म्युनिखमा कार्यालय रहेको प्रोडक्सन कम्पनीका प्रमुख तथा फिल्म निर्माता पिटर गिसेल र क्यामेराम्यान रबिन आहनेलाई भिडियो खिचेको आरोपमा प्रहरीले २७ घण्टा नियन्त्रणमा राखेर छाडेका थिए।

गार्डियनसँग कुरा गर्दै गिसेलले आफूहरुले कामदारहरुसँग कुरा गरेर दङ्गा भड्काएको भन्दै जेलमा राखिएको बताए। हिरासतमा रहँदा राम्रो व्यवहार गरिएको बताउँदै उनले अनुमति बिना खिचेको भन्दै उपकरणहरु भने जफत गरिएको बताए।

उनीहरुले नेपाली दूतावासमा केही भिडियो दृश्य खिचेका थिए। त्यहाँ कामदारहरुको हुल आफ्ना पासपोर्ट र कागजात फिर्ता लिन लाम लागेका थिए। कतारी अधिकारीहरुले त्यहाँका केही भिडियो मेट्न लगाउँदै केहीलाई म्यानिपुलेट गर्न लगाउने प्रयास गरे। खासमा उनीहरुले सुटिङ नै सकाइसकेका थिएनन्। तर त्यस्तो व्यवहार भएपछि उनी अब काम गर्ने जाँगरै मरेको बताउँछन्।

उनीहरुका साथी र आफन्तले कतारको जर्मन दूतावासमा खबर गरेपछि जर्मन सरकारको मानवअधिकार आयोगले चासो दिएपछि बल्ल हिरासतमुक्त भए।

कतार आफ्ना गल्ती लुकाउन चाहन्छ भन्ने त यसबाट झनै प्रष्ट भएको छ। खासमा कतारमा आप्रवासी कामदारहरु बस्ने लेबर क्याम्पमा जान निकै कडाइ गरिन्छ। पत्रकारहरुलाई त त्यहाँ जानै दिइँदैन। पत्रकार भन्ने बित्तिकै भिसामा पनि कडाइ गरिन्छ। साझा सवालका नारायण श्रेष्ठ लगायतको टिम कतारमा पत्रकारको भिसामा गएका थिएनन्। यसबारे कतार सरकारले स्पष्टिकरण लिएपछि उनीहरुको टिमलाई कालो सूचिमा राख्ने जानकारी दिइएको राजदूत मायाकुमारी शर्माले परराष्ट्र मन्त्रालयलाई खबर गरेकी थिइन्।

कतारमा रहेका नेपाली पत्रकारहरु पनि पत्रकारको भिसामा छैनन्। कान्तिपुर कतारका लागि केही वर्ष रिपोर्टिङ गरेका देवेन्द्र भट्टराई त्यहाँ इलेक्ट्रिसियन भिसामा थिए। यसबारे उनले आफ्नो अनुभव रेगिस्तान डायरीमा लेखेका छन्। लेखकको अनुमतिमा यहाँ त्यसका केही अंश साभार गरिएको छ-

म एक विद्युत प्राविधिक!

‘ए बिजुली बाजे…के छ?’

एक बिहान दोहाको नेपाल चोकमा सुलेमानी पिइरहेका बेला मोबाइलमा एउटा चिने झैं स्वर गुन्जियो। ‘हजुर, हेल्लो’ केही भन्न नपाई फेरि चर्को स्वर सुनियो-‘ओ, बिजुली बाजे…!’

त्यही नेपालचोक रेष्टुराका नेपाली बाजे(पदमपाणी खरेल)को फोन पो कतै मेरोमा झुक्किएर आएछ कि भन्ने सुरुमा लाग्यो। तर होइन रहेछ। फ्रान्सेली समाचार संस्था एएफपीमा काम गर्ने पत्रकार मित्र सुवेल भण्डारीले मेरो हैसियत पत्तो पाएर काठमाडौंबाट फोन गरेका रहेछन्।

कत्रो सान र चिनारीसहित दोहास्थित पत्रकारको ‘पताका’ (परिचय पत्र) लिउँला भन्ने थियो। तर सुरुमा आफूले पाएको अस्थायी भिसामा ‘इलेक्ट्रिक टेक्निसियन’ उल्लेख रहेकाले त्यहीअनुसार म कतार हानिएको थिएँ। स्थायी भिसामा पेशा परिवर्तन हुने आश्वासनका भरमा दोहा उत्रिएको थिएँ।

खाडी पुग्नासाथ गल्फ टाइम्समा काम गर्ने मित्र सुमन मल्लले आश्वस्त तुल्याएका थिए-‘धन्न तिमी इलेक्ट्रिक टेक्निसियन रहेछौ, म त लेबर भिसामा यता झरेको…!’
Electric Techinician PATAKAA
यसरी अनौठो हैसियतमा काम गर्नु थियो। एक महिनापछि मेडिकल चेक(अप सहितका प्रकृया टुङ्गिएपछि पनि त्यही पहिलेकै हैसियतमा पताका आयो। किनभने पेशागत हैसियत बदल्नलाई सम्बन्धीत रोजगारदाता कम्पनीले छ महिनासम्म श्रमिकको खातामा तोकिएको तलब(सुविधा डिपोजिट गरिदिएको बैंक स्टेटमेन्ट पनि जरुरी पर्ने रहेछ। त्यो स्टेटमेन्ट लिएर श्रम बिभागमा दर्ता गर्दै सबै प्रकृया पुरा गरेपछि प्रोफेसन फेरिने रहेछ। त्यसमा पनि यो पत्रकारको हैसियत पाउन सबैभन्दा बढी प्रकृया पार गर्नुपर्ने रहेछ। गल्फ टाइम्सका पत्रकार सुमन त्यही पत्रिकाको स्थानीय कामदार भएकाले उनको पेशा परिवर्तन सहजै भयो पनि तर, मेरा हकमा स्पोन्सर मात्रै कतारी कम्पनी भएकाले र तलब आफ्नो खातामा हाल्ने अथवा स्टेटमेन्ट तयार गर्नेसम्मको सम्भावनै थिएन। यसकारण खाडी बसाइभर ‘इलेक्ट्रिक टेक्निसियन’ पदमैं पत्रकारिता गरिरहें।

कतारसहितका खाडी मुलुकको नियममा पताकामा व्यवसायको हैसियत एउटा भएर अर्कै काम गरेको पाइएमा समेत जेल सजायसहितका दण्ड/जरिवाना बेहोर्नु पर्ने रहेछ। ‘इलेक्ट्रिक टेक्निसियन’ पत्रकार भएको धेरैपछि मात्रै मलाई यो कडाइ प्रावधान भएको थियो। त्यसपछि भने सकेसम्म सार्वजनिक स्थल अथवा भीडभाडमा कुरा गर्ने, हस्पिटललगायतका क्षेत्रमा जादा फ्लायस नबाली तस्वीर खिच्नेसम्मका उपायहरु सिक्दै गएँ। अस्पताल र सार्वजनिक स्थलमा तस्वीर लिंदा सकेसम्म फ्लायस नबाली र बिशेषत मित्र श्यामसुन्दर शशीले गोप्य तवरमा तस्वीर लिइरहेका थिए। किनभने मभन्दा छ महिनापछि कतार छिरेका शशीको हालत पनि उही थियो, उनी पनि एक पत्रकार होइन, प्रशासक थिए-भिसा र पताकामा।

यसकारण ठूला होटलमा भएका कार्यक्रमको सूचना डेस्कमा म ‘पताका’ दिन सक्दिनथे। बरु ड्राइभिङ लाइसेन्स र पत्रकारको भिजिटिङ कार्ड दिएर ‘आइ वर्क फर न्युजपेपर’ भन्दै उम्किन्थें। बिशेषत ठूला होटल र बिशिष्ट सार्वजनिक स्थलमा हुने कार्यक्रमहरुबारे जानकारी गराएर आन्तरिक मामिला मन्त्रालयका सुचना अधिकृत फैजल हुन्डाइले निकै सहयोग गरेका थिए।

कहिलेकाहीं के लाग्थ्यो भने म पनि कतै गैर कानूनी हैसियतमा बसिरहेको त छैन? जस्तो ‘इलिगल स्टाटस’मा भएका कामदारहरु प्रहरी(प्रशासनको नजरमा छलिएर हिंड्नुपर्थ्यो, आफ्नो पत्रकारिता कर्म धानिरहेका बेला आफ्नो पताका हैसिययतका कारण धेरैपटक खुम्चेर काम गर्नुपर्थ्यो। एकपटक गधा चढ्ने धुनमा समालको मरुभूमीमा पुगेका थियौं। ‘खाडी आएका बेला गधा र उँट चढ्ने अनुभव सँगालेर जाऔं न त’ भनेर पाल्पाका मित्र छत्रबहादुरको सहयोगमा मरुभूमीमा गधा यात्राको कार्यक्रम राखेका थियौं। त्यही हुलमा मजरा(बगैंचा)मा काम गर्ने गोर्खाका साथी दीपक ‘टेन्सन’ पनि थिए जो भिसा(पताकाबिना गैर कानूनी हैसियतमा रहेछन्। हाम्रो दुर्भाग्य कस्तो रह्यो भने गधा चढ्ने अभ्यासमा मरुभुमीमा गधाले बुर्कुसी मार्दा भुई लडेर दीपकको हात ठोकिएको थियो। ‘खासै केही भएको छैन’ भनेपछि हामी त रातसाँझ दोहा शहर फिर्यौं। तर दीपकको हात सुनिंदै गएर भोलीपल्ट हलचल गर्नै नमिल्ने भएको रहेछ। अब के गर्ने?

यता दाहेामा भारतको केरला घर भएका एक स्थानीय डाक्टर केएमआर म्याथ्युसँग मेरो व्यक्तिगत चिनजान भएको थियो। चिनजानको कारण पनि उनको छोरो केएम म्याथ्यु भने काठमाडौंको एक मेडिकल कलेजमा एमबीबीएस पढिरहेका कारण काठमाडौंकैं पत्रकारसँग निकटता राख्न चाहेको बहानामा मेरो डाक्टर म्याथ्युसँग नजिकैको हायहेल्लो थियो। उता आफूसँगै गधा चढ्ने दीपकलाई जसरी पनि दोहामा उपचारमा ल्याउनु थियो। दोहाबाट झण्डै सय किलोमिटर टाढाको समाल मरुभूमीबाट कान्तिपुर कार्यालयमा झिकाएर उनलाई डाक्टर म्याथ्युले नै लुकिछिपी मलमपट्टी गरिदिएका थिए। दीपकजस्तै समाल, जमेलिया, दुःखान, उमबब, सहानियातिरका धेरै गैर कानूनी हैसियतका दुःखीया नेपाली कामदारहरुलाई मलमपट्टी बाँढ्दै हिंड्नुपरेको अनुभव अहिले सम्झदा आफैंमा बिरक्तिभावले भरिएको थियो। किनभने खाडी नियममा गैर कानूनी हैसियतमा जो कोही, जहिल्यै पनि प्रहरी(प्रशासनको निगरानीमा भैरहेका हुन्थे। अस्पतालमा गएर उपचार गर्नै पनि कि पासपोर्ट, मेडिकल कार्ड अथवा पताका जरुरी हुन्थ्यो। अथवा बिशेष असहज अवस्थामा कुनै कागजात बिना पनि उपचार त हुन्थ्यो। तर उपचारलगत्तै उसलाई जेल चलान गरिन्थ्यो।

यस्ता थुप्रै घटना आँखैसामु देखिएका थिए। कतिपय कम्पनीमा महिनौं र बर्षौदेखि गैर कानूनी बनाइएका कामदारलाई बिरामी पर्दा उपचारका लागि सरकारी अस्पतालमा ल्याउने र त्यहींबाट पक्राउ गराएर जेल पुर्‍याउने नेपाली मालिकहरुलाई पनि चिन्न पाइएको थियो। यसकारण पनि ‘इलेक्ट्रिक टेक्निसियन’ पताका हैसियतमा पत्रकारको काम गरिरहँदा मनमा बारम्बार डर उब्जिरहेको हुन्थ्यो। तर कान्तिपुर प्रकाशनको प्रभावकारी पहुँच, बीबीसी नेपाली सेवामा गरिने रिपोर्टिङ, नेपाली दुतावासको पहँुच र आन्तरिक मामिला मन्त्रालयका दृष्टिमा म पूर्ण व्यवसायिक पत्रकार भएकाले कुनै अप्ठ्यारो बेहोर्नुपरेन।

व्यवसायिक धर्म निभाएकै कारण हुन सक्छ, कहिले इराक त कहिले इजरायलको गाजा क्षेत्रबाट नेपाली दाजुभाइहरु कान्तिपुर अथवा बीबीसीको नाम लिएर फोन गरिरहन्थे। लेबनानदेखि ओमानसम्मका समाचार स्रोतहरु परेका बेला सधैं जागा रहन्थे। अझ म्यानपावर कम्पनीहरुले गर्ने गरेको मानव तस्करीको बिरुद्धमा सधैं लागीपर्ने भएकाले मध्य पुर्वका सबैजसो र बिशेषत पीडित कामदारहरु आफ्नो ब्यथा सुनाउन हत्ते गरिरहेका हुन्थे। एकपटक इराकमा कामदार लैजाने गिरोहलाई संयुक्त अरब इमिरेट्सको आबुधावीस्थित नेपाली नियोगले पक्राउ गरेको खबर तस्करको तस्वीरसहित प्रकाशनमा ल्याएपछि इराकको कोड नम्बरबाट तत्कालै फोन आएको थियो। मोबाइलमा ती इराकस्थित मित्र बोलिरहेका थिए-‘तपाईको पुरानो घर ताप्लेजुङ होइन? तपाईहरु ७ दाजुभाइ होइन? अहिले झापा, दमकमा घर छ होइन? तपाईले पत्रकारिता गरेको दश बर्ष होइन? ठीक छ, सबै कुरा हामीलाई पनि थाहा छ। कुनै दिन त नेपाल फिर्नुहोला नि…!’ अनि फोन काटियो पनि। जे होस, ती इराकस्थित मेरा शुभचिन्तक मित्रलाई मेरो पत्रकारिता कर्मबारे राम्रै जानकारी रहेछ भन्ने लाग्यो।

यसकारण पनि ‘बिजुली बाजे’को मेरो व्यवसायिक हैसियत छिनभरको अथवा परिबन्दकारी थियो कि भन्ने लाग्छ। तर काठमाडौंबाट एएफपीका सुवेलजस्ता दिग्गज र जानिफकार मित्रहरुले यति टाढाबाट सम्झेर फोन गर्दा पनि यही बिरोधाभाषपूर्ण सम्बोधन गरिरहेका बेला भने लाग्थ्यो-‘अचानाको चोट खुकुरीलाई थाहा हुँदैन।’

(पत्रकार देवेन्द्र भट्टराईको रत्न पुस्तक भण्डारबाट तीन वर्षअघि प्रकाशित ‘रेगिस्तान डायरी’ पुस्तकबाट साभार अंश।)

5 thoughts on “कामदारको भिडियो खिच्ने कतार पुलिसको फन्दामा”

  1. satroj says:
    October 17, 2013 at 3:45 pm

    मैले पनि हिजो rt.com(russian english channel)austrian,swiss channel बाट हेरे को थिए.कामदार हरु लाई फिफा को प्रेसिडेन्ट ले भेट्न जानी भन्नि कुरा समाचार मा सुने को थिए.कामदार हरु ले तेस्तो फोटो,भिडीयो youtube मा upload गरे हुन्छ नि.documentry बनाउदा तेस्ता भिडीयो महत्व हुन्छन्.

    Reply
    1. Gopal Niure says:
      October 20, 2013 at 7:17 am

      हा हा हा satroj जी ,कमाएर भात खान नपुग्ने कामदार संग भिडिओ खिच्ने क्यामरा , यू तिउब मा अपलोड गर्ने computer चै कहाँ बाट आउछ नि ???

      Reply
  2. Nab says:
    October 17, 2013 at 9:49 am

    हे प्यारा दाजु भाई तथा दीदी बहिनीहरू हो , यसरी कती दीन, महीना र बर्षौ बर्षौ सम्मन नेपाली युवा युवतीहरू पराई देशमा गई अमानविय ताल ले काम गरी पेटको लागी कती दीन बाच्नु हुन्छ ? यसरी दीनदीनै हजारौ हजारौ को सँ्ख्यामा भयभर को युवा युवतीहरूलाई बिदेशमा रोज़गारी भन्दै भेड़ा बाख्रा ताल ले पठाउने, अनी केही भयो भने आँखा चिम्लेर बस्ने, सार्रै दास सरह गर्ने यो सबै नेपाल सरकारको ठुलो मनमानी, ठगी अनी सार्रै हेलचक्र्याई हो । नेपालको ढुकुटी अैले बिकाश र रोज़गारी कामहरू गर्नका लागी पर्याप्त छ तर यी नालायक सरकार र यी सबै भ्रष्ट नेताहरू र यीनका आसे पासेले लुटनु सम्म लुटदै ठीक्कै छ त्यसैले देशमा बिकाशका या रोज़गारी मुलक कामहरू को योजना निकाले भने त आफुहरूको सम्पती जोड़न गारो हुने भयकोले भयभर का युवा युवतीहरूलाई देश पलायन गरे भने त ती बिकाशमा लगानी गर्ने बजेट देखी लीएर कानुन र राजनीति पनी सबै आफनै मुठी भित्रै राख्न पाईयो । अब यी सबै नेता भनौदाहरूको घाटी नसमाई हुदैन, यीनीहरू ले नै गर्दा देश झन झन खत्तमै भइराखेको छ । युवाहरूको भबिश्य बनाउन नसक्ने यस्ता नालायक भ्रष्ट सरकार र नेताहरू जती सबैलाई हतकडी लगाई आजीवन जेलमा नहाले सम्म कहीले यी गरीव युवाहरूले शास्ती पाउने छैनन् ल । अव नेपाल मा एउटै आन्दोलन गर्नु छ त्यो हो…यो भ्रष्ट सरकार र नेताहरू लाई एउटै खाल्डो मा हालेर पुर्नु ।

    Reply
  3. ramesh babu says:
    October 17, 2013 at 7:35 am

    कति सम्म ज्यादती र अत्त्याचार होलत भन्ने आफै अनुमान लागाउनु होस् ? त्यहा रहेका नेपाली हरुलेत केहि बोल्न चल्न सक्दैनन् हामी बाहिर रहेका नेपाली समुदाय बिसेष गरि बिकसित मुलुकमा रहनु भएका साथी हरुले कुन रुपले हुन्छ केहि गर्नेकि ? अनि ओ बिजुली बाजे खै त ति नेपाली ठुलाबडा भनाउदा मानब तस्कर ठग दलाल हरुले आफु लै धम्क्याएको कुरा ? खै त तिनीहरु ले नै कतारी हरु लै चुक्ली लागे हाम्रा मान्छे फसाएको कुरा हरु ?

    Reply
  4. बशन्त राज says:
    October 17, 2013 at 3:44 am

    कतार मा मात्र होईन गल्फ राष्ट्र कहिँ पनि कामदार बस्ने स्थान, कामदारले काम गर्ने ठाउ काही पनि फोटो खिच्न, वा त समाचार रिपोर्ट बनाउन पाईदैन या त दीईदैन यहाँ सम्म कि कामदार लाई जुन पायो त्यो कुरा नबोल्न भनिएको हुन्छा / मीडीयासंग डील गर्न एक अलगै मान्छे तोकीएको हुन्छा / या त पी अर ओ भन्ने ले मेडीया संग डील गर्छ / केही समय आगाडी बी बी सी ले चीनमा त्यहाको पाचतारे होटलमा हुने यौन व्यपार को लुकेर समाचार विवरण बनाएको थियो / कतारमा पनि त्यसै गर्नु पर्छ / कतार को अल जजीरा ले त्यसै गरि समाचार बनौछा अनि अरु देशको बदनाम गर्छ अनि पत्रकारिता को दुहाई दीदै अफ्फ्ना पत्रकार लाई छुड़ाउछ / कतारको पनि यसै गरि गलत काम को पर्दा फास गर्नु पर्छ /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme