Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बलिप्रथाबारे हिन्दु शास्त्रमा के छ?

Posted on October 12, 2013October 12, 2013 by mysansar

3913616032_7362f72192 दशैँमा वर्षेनी उठ्ने बहस हो- बलि दिनु धर्म हो कि हैन? प्राणीलाई काटेर त्यसको रगत चढाएर कसरी धर्म हुन्छ ? यो धर्म हो भने हिन्दु शास्त्रमा बलिको कस्तो व्यवस्था गरिएको छ ? आचार्य कुशलकुमार निरौलाले आफ्नो ब्लगमा लेखेका छन्, ‘पशुबलि आस्थासँग जोडिएको विषय हो। जहाँ आस्था हुन्छ, त्यहाँ कुनै नियम, कानुन र प्रमाणहरु चल्दैनन्। यो पशुबलि पनि आस्थासँग जोडिएको एउटा प्रथा हो। हामी देवताको पूजा-अर्चना गर्छौ, त्यो पनि आस्थाको नै पर्याय हो।’ कसरी सुरु भयो त यस्तो आस्था ? बलि दिनु ठीक हो त ? यसबारे उनको विश्लेषण रोचक भएकोले यहाँ साभार गरिएको छ।

हिन्दु धर्ममा बलिप्रथा : एक विवेचना

-आचार्य कुशलकुमार निरौला-

सात्विक, राजसी र तामसी गरेर तीन प्रकारका गुणहरु हुन्छन्। गीताका अनुसार “भूतानि यान्ति भूतेज्या यान्ति मद्याजिनोऽपि माम्”। भूत, प्रेत आदिको पूजा गर्ने व्यक्ति अन्त्यमा भूत, प्रेत आदिकै योनीमा जाने र सात्विक भावनाले पूजा गर्ने व्यक्ति देवतालाई प्राप्त गर्ने गर्दछन्। भावनाको नै सम्बन्ध भएता पनि हिंसा गर्नु र बलि चढाउनु तामसी पूजा अन्तर्गत पर्दछन्।

‘अहिंसा परमो धर्म ’ भन्ने मूल मन्त्रको आडमा हिन्दु धर्म अडिएको छ। यहाँ हिंसा गर्नुलाई धर्मको संज्ञा दिइँदैन।

“ धर्मस्य तत्वं निहितं गुहाया माहाजनो येन: गता: सा: पन्था:’’।

धर्म भन्ने बित्तिकै धारण गर्नु, सेवा गर्नु, भलाई गर्नु भन्ने बुझिन्छ। धर्मले हत्या हिंसाको पक्ष लिँदैन भन्ने बुझ्नुपर्छ। धर्म शब्द कुनै हिंसाको द्योतक हैन। मन, वचन र कर्मले कसैको हिंसा-हत्या नगर्नु, प्राणीमात्रमा सद्भाव राख्नु, अर्काको कुभलो नचिताउनु नै धार्मिक प्रवृत्तिका लक्षणहरु हुन्।

हिन्दु धर्ममा मुख्य गरेर तीन प्रकारका सुकृत कर्महरु हुन्छन् :
(१) नित्य (२) नैमित्तिक (३) काम्य।

(१) नित्य – शौच, सन्ध्या, तर्पण आदि नित्य कर्म अन्तर्गत पर्दछन्। नित्य कर्म गर्नाले शरीर एवं मन शुद्ध हुने तथा देवपूजन, हवन, यज्ञ आदि गर्नलाई अधिकार प्राप्त हुन्छ भने नगर्नाले प्रत्यवाय नामको दोष लाग्छ।

(२) नैमित्तिक – ग्रहण आदिको विशेष अवसरमा हवन, यज्ञ, देवपूजन आदि गर्नु नैमित्तिक कर्म अन्तर्गत पर्दछन्। नैमित्तिक कर्म गर्दा अपार लाभ हुन्छ नगर्दा प्रत्यवाय नामको दोष लाग्छ।

(३) काम्य – कुनै कामनापूर्तिका निमित्त गरिने कर्म काम्य कर्म अन्तर्गत पर्दछन्। जसलाई गर्नाले कामनाको पूर्ति हुन्छ भने नगर्नाले कुनै पनि दोष लाग्दैन।

गृहस्थाश्रममा रहने क्रममा मनुष्य जानेर या अन्जानमा नै हिंसा गरिरहन्छ। दाउरा बाल्दा, घर सफाई गर्दा, लुगा धुँदा, ढिकी-जातो गर्दा आदि कार्य जीवको हिंसा नभई हुन सक्दैन। त्यसको प्रायश्चित गर्नलाई पञ्चमहायज्ञ गर्ने आदेश शास्त्रहरुले दिएका छन्। ती पञ्चमहायज्ञ हुन् :

(१) ब्रह्म यज्ञ :- वेद, पुराण, इतिहास, धर्मशास्त्र, रामायण, महाभारत आदिको पठन-पाठन गर्नु।

(२) पितृ यज्ञ :- जीवित माता-पिता आदिको मान-सम्मान, सेवा र मरेपछि तर्पण, श्राद्ध आदि गर्नु।

(३) देव यज्ञ :- समय समयमा हवन, देव-पूजन, तीर्थ यात्रा आदि गर्नु।

(४) भूत यज्ञ :- भोजन गर्नु भन्दा पहिले वैश्वदेव, भूत, गाई, कुकुर, काग आदिलाई बलि दिनु।

(५) नृयज्ञ :- घरमा अतिथि, अभ्यागत आदिको आगमन भएमा स्वागत-सत्कार गर्नु।

यसरी पाँच प्रकारका यज्ञको विवेचन हाम्रा धर्मशास्त्रमा भएको छ भने पाँच प्रकारका बलिको पनि व्यवस्था गरिएको छ। यी पन्चबलि निम्न प्रकार छन् :-

(१) गोबलि :- गाईका निमित्त गोग्रासका रुपमा पकाइएको भोजन पातमा गाईलाई दिने।

(२) श्वानबलि :- कुकुरलाई खाना दिने।

(३) काकबलि :- पृथ्वीमा कागलाई बलि दिने।

(४) देवादिबलि :- पातमा देवतालाई बलि दिने।

(५) पिपीलिकादिबलि:- कीरा-फट्यांग्रा, कमिला आदिलाई पातमा बलि दिने।

यसप्रकारले नित्य पञ्चमहाबलि दिनुपर्ने विधान शास्त्रमा वर्णित छ। जसरी सन्ध्या आदि नित्यकर्म नगर्दा प्रत्यवाय नामको दोष लाग्छ त्यसैगरी पञ्चबलि नगर्दा पनि दोष लाग्छ भन्ने शास्त्रको निर्णय छ। यहाँ ‘बलि’ शब्द कुनै हत्या हिंसा, मार-काट गरेर रगत चढाउनु भन्ने अर्थमा प्रयोग भएको हैन। भोजनका लागि जुन हविष्यान्न घरमा पकाइन्छ त्यसैले बलि दिनुपर्दछ (अभावमा साग-पात, फल-फूल, गहुँ, चामल, तिल, मूंग, जौं आदिलाई पात ओछ्याएर पातमा बलि दिने विधान छ)।

प्रश्न उठ्छ – के शास्त्रमा पशुबलिको विधान छ त ?

समयको काल–चक्रानुसार मानवको घनत्व बढ्दै जानु स्वाभाविक हो। बासस्थान खोज्ने र नयाँ ठाउमा जाने क्रमसंगै हिमाली, पहाडी भेगमा गएर मानिसहरु बसोबास गर्न थाले। अन्नको अभाव, अत्यधिक जाडो हुने हुँदा शरीरलाई तताउन जाँगर बढाउन पशु–पंक्षीलाई मारेर खान थाले। तान्त्रिक युग संग-संगै तन्त्र-साधना गर्ने धामी, झाँक्रीहरुले पनि पशु-पंक्षीको बलि दिनुलाई पनि धर्म मान्न थाले। आखिर मासु खानु नै छ त देवताको पूजा गरेर नै किन न खाने ? भन्ने धारणा मानसमा बढ्यो, फलत: पशुबलि पूजाको एउटा अभिन्न अङ्गका रुपमा विकसित भयो।

हिन्दुधर्मानुसार देवतालाई रिझाउने तीन पद्दति प्रचलित छन् – (१) यान्त्रिक (२)तान्त्रिक (३) याज्ञिक। बलि दिनु तान्त्रिक पद्दति अन्तर्गत पर्दछ, तर तान्त्रिक पद्दतिको पूजा गर्ने अधिकार ब्राम्हण, क्षत्रीयलाई हुँदैन। त्यसैले दुर्गा शप्तसतिको विकृतिकम् रहस्यम्को २८ श्लोकमा “रुधिराक्तेंन बलिना मांसेन सुरया नृप। बलिमांसादिपूजेयं विप्रवर्ज्या मयेरिता।।” आदि शब्दको प्रयोग भएको छ। जो तामसिक जनहरु मासुको प्रयोग गर्ने गर्छन् उनीहरुलाई मात्र तामसिक पूजा गर्ने अधिकार छ।

हिन्दु धर्मका कुनै पनि धर्म ग्रन्थहरुले पशुको बलि दिने, मासु खाने जस्ता हिंसाका कुरालाई पुष्टि गरेको छैन। “अहिंसा परमो धर्म:” भनेर अहिंसालाई नै ठूलो धर्म मान्ने हाम्रो धर्मले वेद आदि शास्त्रमा बलि दिनु भनेको छ र हिंसा गर्ने अनुमति दिन्छ भनेर भन्नु या गलत तर्क गर्न खोज्नु अल्पज्ञताको नै परिचय हो।

प्राचीन कालमा बलि
प्राचिन कालमा अश्वमेध यज्ञ हुने गर्थे, जसमा अश्वको मेध हुने गर्थ्यो। यँहा अश्व भनेको घोडा नभएर अभिमान हो र मेध = वध अर्थात् अभिमान रुपी घोडाको बध गरिन्थ्यो। अभिमानको प्रतिक घोडालाई यज्ञमा ल्याइन्थ्यो र त्यसलाई स्पर्श गरेर छोड्ने गरिन्थ्यो। कयौँ स्थानमा अश्वमेध यज्ञलाई घोडाको बलि दिने भनेर गलत अर्थले परिभाषित गरेको पाइन्छ, तर त्यो अर्थको अनर्थ मात्रै हो। त्यस्तै कयौं मानिसहरु जिज्ञासा गर्छन् : यज्ञ गरेर सुरा, मदिरा पान गर्नु, पशुको बलि दिनु, यो हिंसा हैन भनेर शास्त्रमा भनिएको छ आदि। तर स्मरण रहोस्, पहिले नै भनिसकिएको छ कि हिन्दु धर्मले अहिंसा नै ठूलो धर्म हो भनेर मानेको छ। त्यसैले कुनै श्लोक, कुनै पदको पनि हिंसापरक अर्थ लाग्दैन। जस्तै भनिएको छ –
“यद् घ्राणभक्षो विहित:सुरायास्तथा पशोरालाभनं न हिंसा।
एवं व्यवाया प्रजया न रत्या इमं विशुद्धम् न विदु: स्वधर्मम्।।“
( श्रीमद्भागवत ११ -५-१३ )

अर्थात् जो यज्ञ सम्बन्धित नियम छन्, त्यसअनुसार यज्ञ गरिएपछि सुरालाई संसावन प्रासनका रुपमा सुघिन्छ, त्यसपछाडि अभिमानरुपी पशुलाई आलम्भन (स्पर्श, स्मरण) गरेर सदासर्वदाका लागि टाढा भगाइन्छ, न कि पशुको हिंसा नै गर्नु भनेको हो। तर अज्ञानतावश शास्त्रमा मदिरा खाने र पशुको बलि दिने दुवै कुरा लेखिएको छ भनेर कु-तर्क प्रस्तुत गर्ने गरिन्छ।

कतै-कतै टीकाकारहरुले आलभेत, आलम्भनको अर्थ मार्नु, हिंसा गर्नु भन्ने लगाएको पाईन्छ, तर यदि आलभेत, आलम्भनको अर्थ मार्नु, हिंसा गर्नु हुने हो भने विवाह पद्दतिमा “तत: बर:कन्या हृदयं आलभेत” लेखिएको अर्थ के होला ? त्यसैले संस्कृतका एउटा शब्दको अनेक ठाउँमा अलग-अलग अर्थ लाग्छ भन्ने कुरालाई कहिल्यै बिर्सनु हुँदैन। भनिएको पनि छ : “अर्धमात्रा लाघवेन पुत्रोत्सवं मन्यन्ते वैयाकरणा” अर्थात् व्याकरणकारहरुले आधा मात्रा मात्रै पनि पाए भने पनि पुत्रोत्सव मनाउछन् रे।

त्यति मात्र नभएर रामायण, महाभारत आदि ग्रन्थको कयौं ठाउँमा मांस शब्दको प्रयोग भएको छ। जस्तै- वाल्मीकि रामायण अयोध्या कांड ५३|२, १६| १ आदि ठाउँमा फलको भित्रि गुदीलाई पनि मांस भनिएको छ। त्यसैले भगवान् श्री रामले सीताका निमित्त “यो मांस पाकेको र उपर्युक्त छ, तिमी यसलाई खाऊ” भन्नुभएको हो।

नेपालको सन्दर्भमा बलि
नेपाल तीन भाग पहाडी र एक भाग मात्रै तराई भएको देश हो। देशमा धेरै पहाडी भेग भएको हुँदा यहाँका बासिन्दाले मासु खानु साधारण कुरा नै हो। भनिएको छ : “दक्षिणे मातुली कन्या उत्तरे मांस भोजनी” अर्थात् दक्षिण प्रान्तमा मामाकी छोरीसंग पनि विवाह हुन्छ भने उत्तरी भेगमा बस्ने मानिसहरुले मासु खान्छन्। नेपाल मात्रै नभएर भारतको उत्तरी भेग (गढवाल, कुमाउ, हिमाञ्चल, जम्मु, काश्मिर, आसाम) मा बस्ने मानिसहरु पनि प्राय: मासु खाने गर्छन्। आसामको कामाख्या मन्दिरमा त दैनिक हजारौं बोका, राँगा आदिको बलि दिने गरिन्छ। अनादिकालदेखि नै हाम्रो देश नेपालमा पनि तान्त्रिक पद्दतिले प्रश्रय पाएको छ। बाहुन, क्षेत्रीदेखि लिएर राई, लिम्बू, मगर, नेवार तथा अन्य किरात, मंगोलिन सबैले प्राय: मासु खाने र देवी-देवतालाई पनि रगत-मासु चढाउन थाले। दशैँ आदि चाडको बेलामा त झन् हजारौ बोका, पाठा, हाँस, कुखुरा, राँगा आदिको बलि दिन थालियो। बाबु-बाजेले यही नियम बसाए, छोरा-नातिले पनि यही सिके, फलत: दशैंको बेलामा प्रत्येक घरमा बलि दिनु नै पर्छ भन्ने सबैमा भान पर्न गयो र अहिले यो एउटा अभिन्न अंगको रुपमा विकसित भयो। बलि दिनु राम्रो होईन, यो प्रथा गलत हो, बलिप्रथा बन्द हुनुपर्छ भनेर अहिले आवाज उठ्न थालेको छ। यसलाई सकारात्मक सोचको विकास भएको मान्नु पर्छ। नयाँ सोच ,नयाँ विचार , नयाँ भावनाको विकाश हुदै जानु समयको माग,परिवर्तन एवं विकास क्रमको नियम पनि हो र शास्त्र सम्मत निर्णय पनि यही नै हो।

खुनको बलिले हैन नरिवल ,कुभिन्डो,आदिको बलि दिएर यज्ञलाई पूर्ण गर्न सकिन्छ, देवतालाई प्रसन्न गर्न सकिन्छ। देवताहरु सात्विक हुने हुँदा कसैको खुनको भोका अवश्यमेव देवताहरु हुँदैनन्। झन् दशैँको बेलामा लाखौ पशुहरुको बलि दिने गरिन्छ यो प्रथालाई पनि अब सुधार गर्दै जानु पर्छ पशुको ठाउमा नरिवल ,कुभिन्डो,आदिको बलिदिने चलन बसाल्नु पर्छ शास्त्रमा पनि नारिकेल एवं कुश्मांड बलिको नै विधान छ। अस्तु ……। (साभारः आचार्य कुशलकुमार निरौलाको ब्लग)

26 thoughts on “बलिप्रथाबारे हिन्दु शास्त्रमा के छ?”

  1. om anandam says:
    October 19, 2013 at 4:09 pm

    अहिंसा परमोधर्म: ‘ नैं ले सबको कल्याण गर्ने वैकोले यसैलाई मूल मन्त्र र कर्म नतिजा मानेर सब प्रकारका हिंसा त्याग्नु नैं उपकार भएकाले बिस्व धर्म एहिहो/ स्वार्थी र अहंकारीको प्रचार प्रसार र क्रियन्वयन्मा पुरुषार्थ हुन्न / तेसैले सर्बे भबन्तु सुखिनः’ नैं अनुसरण गर्नु विस्वका सबै मानब जातिको कर्तव्य र अधिकार हुन्छन/

    Reply
  2. निरोज says:
    October 15, 2013 at 11:01 pm

    धर्मको प्रतिद्वान्दिता र कटाक्ष तर्फ कुरा गर्दा तपाइको कुरा ठिक हो!
    तर अरुले के गरेको छ र अरु धर्मले के भनेको छ अनि के गरेको छ भन्नेकुरा भन्दा हिन्दु धर्ममा के छ र हिन्दु धर्मले के भन्दछ भन्नेकुरा यहा गरियको हुनुपर्दछ हामि हिन्दु धर्मलाई उत्क्रिस्ट बनाउन र तेस्को सहि तरिकाको ब्याख्या र परिभाषित गर्ने तर्फ लागु कि!

    आकुनी को कुरा राम्रो छ र पढेर एउटा बुद्दि पाइयो त्यो के भने बलि भन्नाले काटमार र प्राणी हत्या होइन रहेछ!
    पाँच बलि बहाली भन्दा मैले के बुझेको थिय भने पाच थरिको प्राणीको इहलिला स्वाहा, तर त्यो हॊइन रहेछ पंचावाली भन्नाले त ति पांच प्रकारको प्राणिको सेवा वा तिनीहरुलाई खुशी पार्नु रहेछ!
    अश्वामेघा भनेको घोडाको हत्या गर्नु नभयर घोडालाई मुक्त गरिदिनु रहेछ!
    यसको मतलव हाम्रो धर्मको धेरै फुरौला हरु समयक्रममा जानेर नजानेर अज्ञानता वा स्वार्थबस अप्रभ्रम्स भयर उफ्रौला भयको रहेछ!
    बल्लापो कुरा बुझियो गाठे!
    बलीको मैले जहिले पनि भनि आयको र भनिरहेको अनि भनि रहने कुरा केहो भने ,
    बलि भनेको धार्मिक नभयर सामाजिक, नितान्त सामाजिक,
    तेसैले यो समाज अनुसार फरक फरक छ यसको प्रथा र चलन फरक फरक छ!
    यसलाई धर्म संग जोडिदिनुमा पनि एउटा सामाजिक र मानबिय अनि अध्यात्मिक कारण हुन सक्छ किनकि,
    मान्छे मांशाहारी हुन् र श्रिस्टिको आदिमकाल देखि मान्छेले प्राणिको माशु उपभोग भोजन गर्दै आयको हो र यो कसैले रोकेर रोकिन्न र रोक्न सक्दैन!
    अब माशु खानलाई प्राणीको हत्या हुनै वा गर्ने पर्दछ चाहे त्यो स्लटर हाउसमा हुन् या मन्दिरमा हुन् या करेसा बारी घर आगनमा हुन् वा कौसीमा हुन् प्राणीको हत्या हुनै पर्दछ गर्ने पर्दछ चाहे त्यो तरबारले चट्ट छिनालेर गरोस या करेण्ट लगायर गरोस वा भिरमा लगेर धकालेर गरुन!
    यदि कसैले माशु नै खादैनन् भने त्यो छुट्टै कुरा तर कसैले माशु खान्छ भने ति मानब परोक्ष वा प्रत्यक्ष प्राणि हत्यामा सरोकार संग्लग्नता राख्दछ नै अब कसैले प्राणिको हत्या नगरी चट्ट एउटा फिला चिमोटेर वा काटेर खाने अनि तेसबाट बनेको घाउमा मलहम पट्टि लगायर निको बनाइदिने अनि अर्को दिन वा अर्को पटक अर्को पट्टिको गर्धनको सानोटुक्रा काटेर खाने तेसैगरी अर्को पटक छातीको टुक्रा काटेर खाने अनि प्रत्यक पटक घाउ उपचार गरि निको बनाउने र तेही एउटा पशुको पटक पटक माशु खाइ रहने कुरा त हुदैन!
    तेसोभय प्राणि हत्या त गर्दै पर्यो माशु उपभोगको लागि! कि बारीमा आलु उमारेको जसरि उमार्नु पर्यो माशु पनि अब हाललाई त्यो त सम्भब छैन त पशुवालिमा यत्रो हङ्गामा किन?
    यसलाई धर्मसंग जोडेर मन्दिरमा पशु वली दिनु त अझै राम्रो कुरा हो म भन्दछु र संगसंगै यो पनि भन्दछु कि यो परापुर्वकाल देखिको कुरा अहिलेको समयमा समयानुकुल छैन र अब्यबस्थित छ तेसलाई ब्यबस्थित गर्नु पर्दछ किनकि समय संगसंगै जनसंख्या बढेको छ समाज बढेको छ आबस्यकता बढेको छ त यसको पूर्ति ब्याबस्थित हुनुपर्यो र पूर्ति र यसको कार्यविधि ब्याबस्थित हुनुपर्यो!
    कुरा यत्ति हो!
    अहिले जुन प्रकारले मन्दिर वा देवास्थानामा पशुहरुको बलि दिने कार्य सम्पादन गरिन्छ त्यो हजारौ बर्ष अघिका प्रथाहरु हुन् र त्यो प्रथा तेतिबेला को आबस्यकता र तत्समयाको साधन श्रोत र प्राप्ति अनि तत्परिवेसको उपयुक्तातामा आधारित रहेर सम्पादन गरियो अनि त्यो चलन बनिगायो! तेतिबेलाको आबस्यकता अहिलेको पनि आबस्यकता हुन सक्दछ वा अझै कतिपय अबस्थामा त तेतिबेलाको आबस्यकता अहिले झनै बढी आबस्यकता हुन सक्दछ तर समयले श्रोत साधन र प्रयोग अनि प्रबिध आदिकुरामा परिवर्तन गरेको छ तेसैले तत्कालिन प्रथा वा चलन हरु हालको अबस्थामा समयानुकुल र ब्याबस्थित गरिनु नितान्त जरुरि छ!
    जसले जेसुकै भनुन तर बलि (प्राणीको हत्या गर्नु) को मुख्य उदेश्य माशुको खपत परिपूर्ति गर्नु नै हो तेसैले उत्सब हरुमा बलि बढी दिने गर्नुको कारण पनि यहि हो! माशु बिनाको उत्सब केहि सिमित शाकाहारिलाई त मजै होला तर अधिकांस मान्छेलाई खल्लोंई हुनेछ!
    आलुले भोक त मिटाउला तर माशुको पूर्ति गर्न सक्दैन तेसो हुदो हो त श्रिस्टिकर्ताले पनि कुखुरा र बोका हरु आलुकै बनाउथ्यो होला!
    मन्दिर वा देवास्थान मा दिने वली के कति कारणले राम्रो मान्न सकिन्छ त?
    मन्दिर वा देवस्थल एउटा समाजको सबैभन्दा पबित्र स्थल हो! त एउटा पबित्र स्थानमा एउटा पशुले आफ्नो इहलिला समाप्त हुनुलाई यदि आध्यात्मिक द्रिस्ट्रि र कुरासंग जोड्ने हो भने सो पशुको पशुत्वो बाट मुक्ति प्राप्त गरेको वा स्वोर्ग (भंनेकुनै ठाउ स्थान छ भने) प्राप्त गर्ने कुरा मान्न सकिन्छ!
    पारिवारिक र सामाजिक आबस्यकताको पूर्तिको लागि गरिने पशुहत्या मन्दिर, भगवानको आँगनमा देवतालाई साक्षी राखेर (चडाउनुलाइ देवासाक्षी मान्नु उचित हुने छ)गरिदा हत्यागारने मान्छेले पाप मोचन गर्ने छ वा आत्माग्लानी बाट मुक्त हुनेछ किनकि उसले यी कार्यहरु गर्नु अगाडि वा गरि रहदा इश्वोर संग माफी मागी सकेको बिश्वाश गर्न सकिन्छ!
    मन्दिरमा लगेर बलिस्वोरुपमा गरिने प्राणि हत्यामा प्रयोगहुने प्राणि हरु स्वोस्था र पुर्ण हुन्छन, तेहा कुनै रोगि वा खण्डित अपाङ्ग साथै संक्रमित प्राणिहरुलाइ बलि दिंदैनन तेसैले यो प्रथा उचित छ! स्लटर हाउसमा काटिने पशुपंक्षी हाम्रो मन्दिरमा काटिने पशुपंक्षी जस्तै स्वोस्था र पुर्ण छ भनेर कसले भन्न सक्छ?
    मन्दिरमा बलि (बलिको परिभाषा पहिले हामीले बुझेकै जस्सरी मान्दा) दियर पूर्ति गरिने माशु रागो हो भने रागोकै हुन्छ बोकाहो भने बोकाकै हुन्छ टेस्को मा स्लटर हाउस वा बुत्चारकाहा वा बगरेकहा जसरि गाइ भनेर घोडा बोका भनेर कुकुर वा बाख्रा आदिको हुदैन, हुनै सक्दैन!
    मन्दिरमा दियको बलिले मानब समुदाय वा समाजमा मानबियता, सामाजिक भाइचारा, आत्मियता, समानाजस्यता, सहयोगिता आदि प्रबाह गर्दछ यो कुरा कुनै बगरे बुत्चार वा स्लटार हाउसमा गरियको प्राणि हत्याले गर्न सक्दैन!
    मन्दिरमा बलिको रुपमा गरियको प्राणी हत्याले मानबिय समाजमा कामको बाडफाड हुने नहुने सबैलाई प्रत्यक्ष वा परोक्ष बाशुको आपूर्ति आदि गर्दछ! स्लटर हाउसमा गरियको ले जोसंग पैसाछ तेस्लाई मात्र माशुको स्वाद दिन्छ माशु पूर्ति गराउदछ नहुनेलाई छैन!
    मन्दिरमा दिने बलि वा देवास्थानामा गरिने प्राणीहरुको त्यागले समाज वा उत्वाबमा उत्साह उत्सर्जन गर्दछ त्यो स्लटर हाउस वा बगरेकहा गरिने ले गर्दैन!
    बलिले माशुको आपूर्ति गर्दछ उत्सबमा उत्साहोर्जन गर्दछ समाजमा धेरै सकारात्मक सहास्तित्वो सम्बन्ध सरोकार संचार गर्दछ हो यिनै सकारात्मक कुराहरु नै धर्म हुन्!
    धर्म भनेको राम्रो कुरा राम्रो कार्य हुन् र यिनै अधिकांश कुरा हरु मन्दिर वा देवास्थानामा गरियको बलि वा प्राणि दाहाले प्रवाहित गर्दछ भनेरनै बलि वा मन्दिरमा गरिने प्राणि दहसंग धर्म जोडियको हुन सक्दछ!
    मा त यसैलाई मान्छु! धर्म भनेको नराम्रो कुराको त्याग र राम्रो कुराको खोजि हो!
    पशुत्वोको अन्त र समाजिकताको उत्सर्जन हो!
    तेसैले मंधिरमा धर्मको नाममा दिने पशुवालिलाई मा अन्यथा र नराम्रो मान्दिन हो तर भन्छु यो अलि ब्याबस्थित र समयानुकुल परिमार्जित हुनुपर्यो क्या!

    Reply
    1. surya says:
      October 17, 2013 at 4:17 pm

      “पारिवारिक र सामाजिक आबस्यकताको पूर्तिको लागि गरिने पशुहत्या मन्दिर, भगवानको आँगनमा देवतालाई साक्षी राखेर (चडाउनुलाइ देवासाक्षी मान्नु उचित हुने छ)गरिदा हत्यागारने मान्छेले पाप मोचन गर्ने छ वा आत्माग्लानी बाट मुक्त हुनेछ किनकि उसले यी कार्यहरु गर्नु अगाडि वा गरि रहदा इश्वोर संग माफी मागी सकेको बिश्वाश गर्न सकिन्छ!” खासमा यो कारणले मन्दिर अनि देवस्थल मा बलि दिएको हो जसले गर्दा हत्या जस्तो पाप कर्म गर्नु भन्दा अगाडी भगवान सग माफी माग्न सकिएको हो न कि भगवानलाइ पशुको रगत दिएको हो/ गलत परिभाषा र अर्थ लागेकै हुनु पर्छ/

      Reply
  3. shyam pandey (sydney) says:
    October 15, 2013 at 12:19 pm

    नेपाल मा दसैँ र तिहार मा दिने बलि को यत्रो बबाल ?? यी पशु बचाऊ र पशु को पनि ज्यान हुन्छ भनि मानव अधिकार पशु अधिकार क कुरा उठाउने हरु लै नेपाल मा काटिएका केहि बलि दियेयेका राँगा र बोका मात्र देखिन्छ.अलिकति नजर उठाएर हेर बदमास धर्म छाडा हरु .आज सबै भन्दा बडी पिडा दियेक मृतु स्पेन मा bullfight मा गोरु हुन्छ .. बकर इद मा पाकिस्तान बंगलादेश लगायत ५२ मुस्लिम देश मा हुने उँट गाई र भेडा बाख्रा को बलि दिएको देखिदैन ??इटाली फ्रान्स अमेरिका मा मारिने सुँगुर र गाई कुखरा देखिदैन ??संसार मा सबै भन्दा बडी हत्या इसाई र मुसलमान ले गर्छन पशु को अधिकार को कुरा गर्ने कुकुर हरु अमेरिका ले अफगानिस्तान इराक मा मारेको मान्छे को पिडा देखिदैन >?तालिबान ले भारत लगायत निर्दोष हिन्दु हरु लै मारेको देखिदैन>?सिरिया मा असद र अल काइदा को बीच भएको लडाई मा २ लाख भन्दा बडी मारिएका मनुष्य को पिडा बुझ्न सकिदैन ?जहाँ हिन्दु हरु को आस्था को सवाल छ धर्म मा कुनै बलि प्रथ छैन भन्ने सबै लै थाहा छ .. कट मार नेपाल मा पसेको मुगल हरु भारत पसे पछि मात्र सुरु भएको थियो.इसाई हरु ले त् अझै पनि मानव को मासु खान्छ युरोप तिर.तेस कारण हिन्दु धर्म को बिशेष दिन लै लिएर यस्तो अनावस्यक कुरा हरु न लेख्नु न सोच्नु ..बाइबल मा येशु को बारेमा लेखेको छ यो जिजस संसार मा बिकृति ल्याउने छ उसको बाउ जोसेफं ले नै भनेको छ कि यस मानव रुपी सैतान ले अति पिडा दयाक मृतु पाउने छ स्वयम लै भगवान मान्ने यस लाई मनुष्य ले नै मारने छन् .. राम्रो सित बाइबल पढ्नु अनि पापी धर्म छाडी आफ्नो भगवान को एक मात्र प्रिय धर्म हिन्दु मा बिश्वास गर्नु ..तेस पछि सबै को पिडा बुझ्न सकिन्छ र सबै लाई सम्मान गर्न सकिन्छ .. लेखक ज्यु लाई धन्यबाद माई संसार लाई धन्यबाद

    Reply
  4. hom pant says:
    October 14, 2013 at 9:40 am

    बलि प्रथा बारे छलफल हुन जरुरि छ। केहि बर्ष अघि मलाई पनि यस बिषयमा आफ्नो बिचार राख्ने अबसर मिलेको थियो। त्यतिखेर तैयार गरेको सामाग्रि यो लिंक बाट हेर्न सक्नु हुन्छ: http://wenepali.org/wp-content/upLoads/2013/10/Religious-Sacrifices-of-Animals.pdf

    अरु पछि।

    Reply
  5. Akash says:
    October 13, 2013 at 1:45 pm

    वेद र उपनिषद् भनेका धेरै तरिकाबाट interpret गर्न मिल्ने काब्यहरु हुन्. ओशोले वेदिक कालमा गाई पनि बलि दिन्थे, पछि उपनिषद् काल मा मात्र गाई लै पूजा गर्न थालिएको भन्छन. सिद्धि नरसिंह मल्ल को पाला सम्म पाटनमा नर बलि दिएको कुरा स्पस्ट छ हाम्रो इतिहासमा. Bengal, North east India, Nepal मा तन्त्रको प्रवाभ पछि सम्म थियो र त्यस अन्तर्गत बलि दियिन्थ्यो. एउटा कुरा क बुझ्नु जरुरि छ भने हिन्दु धर्म एउटा मात्र set of rules, regulations, ideals होइन. यसमा भिन्न भिन्न sect थिए. अहिले आएर मात्र एक सम्पूर्ण धर्म जस्तो भान परेको हो मान्छेहरुलाइ. धर्म का पण्डितहरु ले हाम्रो धर्म अति नै उत्तम भनेर इतिहास बांगो पार्न खोज्छन. अनि नास्तिकहरु धर्मको सबै कुरा वाइयात देखाउन खोज्छन. अहिले आएर के गर्ने के नगर्ने, के ठिक के गलत भन्ने हामीले समय सपेक्ष्य र अन्तर्मनबाट सहि गलत छुट्याएर निर्णय गर्ने हैन र? इतिहास र पुर्खा लै दोष दिएर काम छ र?

    Reply
  6. Rajesh Kecy says:
    October 13, 2013 at 12:03 pm

    बलि प्रथा..जे जस्तो भए पनि …यदि बलि प्रथाको बिरोध गर्ने नै हो भने …लेखेर ..पढेर मात्र हुदैन ..यदि कोहि गर्न नै चाहन्छन भने …आफुले खाने मासु त्यागे मात्र पुग्छ…मासु न खाए पछि…मासुको खपत हुदैन …मासु को खपत नभए पछि…मासुको कारोबार को साथ साथै …बलि प्रथा को अन्त नै नभई हाले पनि कमसे कम ..यो प्रथा मा कमी त् आउँछ

    Reply
  7. शशांक लामा says:
    October 13, 2013 at 1:28 am

    जनावरलाई नकाटी मासु खान पाइन्न भन्ने कुरा त घाम झैँ छर्लंग छ, तर काटदाखेरि देविथानमा देवीको मुहारलाई रगतको पिचकारी हानी नकाटौ पो भनेको त!

    Reply
    1. Vijay says:
      October 13, 2013 at 12:24 pm

      हो, प्राणीहत्यालाइ धर्म र रितिथिति संग जोड्नु भएन !

      Reply
  8. Pingback: ठूलाठालुहरुलाई फोकटमा मासु « Mysansar
  9. Soul of Aryan says:
    October 12, 2013 at 9:33 pm

    न हि प्राणात् प्रियतरं लोके किंचन विद्यते ।
    तस्माद् दयां नर: कुर्यात् यथात्मनि तथा परे।

    एस जगत मा हामी हरु लाई आफ्नो प्राण भन्दा प्यारो अर्को कुनै बस्तु छैन, त्यस कारण मनुष्य आफु माथि जस्तो दया चाहन्छ त्यस्तै अरु प्रति पनि दया गरोस….

    Reply
  10. सनम लिंग्देल says:
    October 12, 2013 at 8:06 pm

    स्नायू पाईजा जी
    सबै लेख पढ्नुस न वास्तवमा मेरो विचारमा अत्यन्त उचित र प्रमाणिक तर्कहरु पेश भएकाछन् “हिन्दु धर्ममा वली प्रथा ” शिर्षक नै हिन्दु धर्मलाई अंगालेको छ अब तर्कहरु त संस्कृत ग्रन्थका हुने नै भएनी अब त्यो पनि तपाई हामी लाई ग्रन्थका प्रमाण जुटाउन आउदैन
    अब उहाँ कै शब्दमा हेर्नुस्- “हिन्दुधर्मानुसार देवतालाई रिझाउने तीन पद्दति प्रचलित छन् – (१) यान्त्रिक (२)तान्त्रिक (३) याज्ञिक। बलि दिनु तान्त्रिक पद्दति अन्तर्गत पर्दछ, तर तान्त्रिक पद्दतिको पूजा गर्ने अधिकार ब्राम्हण, क्षत्रीयलाई हुँदैन। त्यसैले दुर्गा शप्तसतिको विकृतिकम् रहस्यम्को २८ श्लोकमा “रुधिराक्तेंन बलिना मांसेन सुरया नृप। बलिमांसादिपूजेयं विप्रवर्ज्या मयेरिता।।” आदि शब्दको प्रयोग भएको छ। जो तामसिक जनहरु मासुको प्रयोग गर्ने गर्छन् उनीहरुलाई मात्र तामसिक पूजा गर्ने अधिकार छ।

    हिन्दु धर्मका कुनै पनि धर्म ग्रन्थहरुले पशुको बलि दिने, मासु खाने जस्ता हिंसाका कुरालाई पुष्टि गरेको छैन। “अहिंसा परमो धर्म:” भनेर अहिंसालाई नै ठूलो धर्म मान्ने हाम्रो धर्मले वेद आदि शास्त्रमा बलि दिनु भनेको छ र हिंसा गर्ने अनुमति दिन्छ भनेर भन्नु या गलत तर्क गर्न खोज्नु अल्पज्ञताको नै परिचय हो।”

    त्यसैले मेरो वाचारमा लेख सफल र सार्थक नै छ ,र आखिर हामीहरुले प्रमाणहरु त जान्न पायौ नि हैन र ?
    लेखकलाई मेरो तर्फबाट हार्दिक शुभकामना सहित यस्तै अन्य प्रामाणिक लेखको अपेक्षा सहित
    -सनम

    Reply
  11. Ang Passang Lama says:
    October 12, 2013 at 7:53 pm

    पशुहरुको पनि प्राण छ .चेतना छ ,बिबेक छ लामो समय सम्मा जीवित रहु
    भन्ने चाहना हुन्छा तेसैले पशु बलि महा पाप हो यस प्रथालाई रोक्नु पर्छ

    Reply
  12. ओम रोका says:
    October 12, 2013 at 7:37 pm

    हिन्दु धर्ममा चार जात छन् १/ ब्रहमण २/ क्षेत्रि ३/ बैस्य र ४/ शुद्र | एदी वेदमा बलि दिने चलन छ भने किन ब्रहमण हरुले बलि दिदैन खालि अरु जातिले मात्र बलि दिनु पर्ने धर्म चाहि आफुलाई पाप चाहि अरुलाई यो कुरामा पक्का पनि स्वार्थ लुकेको हुनु पर्छ | हिन्दु धर्ममा बलि दिनु पर्नेनै हो भने पहिला ब्रहमण (बाहुन) आफैले रागो / बोका काटेर बलि चढाउनु पर्छ वेद पढ्ने मात्र हैन |

    Reply
  13. Bikash Tamang says:
    October 12, 2013 at 5:08 pm

    पशुवली दिनु मानवता,संस्कृति र धर्म हैन् ।यो धार्मिक आस्था भित्रको विकृति हो ।यसलाई परित्याग गर्नु जरुरी छ ।पशुवली रोकौ#

    Reply
  14. indra pd thapa says:
    October 12, 2013 at 4:18 pm

    यी सबै पशु बलि दिएर मानिसले ‘ हात रातो पेट तातो ‘ गर्ने स्वार्थ संग सम्बन्धित भै बिकास भएका प्रथा हुन् | राम्रो र नराम्रो भन्ने कुरा त आ -आफ्नो मान्यता का कुरा मात्र हुन् |

    Reply
  15. Dr.Suneel says:
    October 12, 2013 at 4:05 pm

    वेदका मन्त्र सम्हिता, शत्पथ ब्रहमण,कात्यन श्रोत सुत्रमा छागादि( बोका) को बली दिने र यज्ञ मा होम्ने स्पस्ट विधान छ। तेस्तै बाइबालमा पनि बली दिने र होम्ने विधान छ। मुसलामअनहरुको त बकर इद नै छ। अनी के भो त कुरो ? के यि धर्म शास्त्र गलत हुन त ? यदी धर्म शास्त्र गलत हुदो हो त अमेरिकाले २५% बजेड बाइबाल्को प्रचार -प्रसार मा खर्च गर्दैन थियो होला !! सबैलाई चेतना भया !!!

    Reply
    1. shankar dhakal says:
      October 12, 2013 at 8:32 pm

      अमेरिका ले एक पैसा पनि बाइबल को प्रचार – प्रसार मा खर्च गर्दैन कृपया नोट गर्नुहोला |

      Reply
    2. suzee says:
      October 12, 2013 at 9:21 pm

      २५% बजेट बा इ ब ल मा खर्च रे !!!!!!!! खै कुन बजेट मा रे !! ओबामा ले प्रस्न सोध्ने भए अब ! लु २५% बजेट त ओबामा हेअल्थ पोलिसी को लागि चाहिएको छ अरे
      २५% बजेट बा इ ब ल मा खर्च रे!!!!!!!!!!!!!!गफ नदीम न हो साथी हो !!! कि स्रोत खुलाउनु पर्यो !! कहाँ लेखेको छ हो एस्तो हावा तआल को खबर !

      अमेरिका मा चै हैन VATICAN CITY मा चै होला हो !!!

      Reply
    3. Tenzing Gaba says:
      October 12, 2013 at 10:20 pm

      डाक्टर साब
      शिवरात्रिमा खाने कुरो दशैमा खाएर कमेन्ट लेख्नु त भएन नि

      Reply
    4. navin says:
      October 12, 2013 at 11:16 pm

      हा .हा .हा . वेदमा वली दिने मन्त्र छ रे लौन त हामी पनि जानौ कुन वेदको मन्त्रले वली दिनु भन्दो रहेछ ? आफूलाई डा. भन्ने अनि बाईबल र मुसलमान को कुरो लगेर पावन वेदका मन्त्रलाई दुषित गर्न खोज्ने ? अब त मलाई तपाईको डा.मा पनि शंका पो लाग्न थाल्यो ।
      कति हास्नु होला मो ता हासेरै मर्ने भयो यो नेपालका डा. हरुलाई देखेर पनि ………

      Reply
    5. Harendra says:
      October 12, 2013 at 11:50 pm

      यस्तो अर्थ न बर्थको कुरा लेख्ने ले झुटको डाक्टरी उपाधि आफै लिएछन| हाम्रो नेपालमा दिम्सै अन्धकार फैलाउने यस्तैहरु हुन्|

      Reply
    6. raman says:
      October 13, 2013 at 3:22 pm

      हे भगवान कति ओटा बोकाको बलि चढेपछि यो डा.भनाउदो जन्मिएछ।यो सुनील भन्नेले पंडितहरुको वेईज्जत नै गर्यो ।अर्को कुरा डा.सुनील भनाउदाको फेसवुक स्टाटस हेरौ त पंडित भएर हिजो खसिको भुटुवा र चिउरा खायो अरे अरुलाई भने मासु खानु हुदैन ,जीव हिंसा गर्नु हुदैन भन्ने ले यस्तो पनि के को ज्योतिषी अझ नेपाल कै ठूलो ज्योतिषी भनेर आफ्नो साईट पनि खोलेको रछ । इमेज च्यानेल बाट सीधा साधा जनतालाई खुबै भविष्य वेत्ता पपल्टिने? यस्ता ठग पंडितलाई बहिस्कार गर्दा लाग्दैन ।सबैलाई चेतना भया।।।।

      Reply
  16. स्यानु पाईजा says:
    October 12, 2013 at 3:24 pm

    प्रश्न उठ्छ – के शास्त्रमा पशुबलिको विधान छ त ?

    समयको काल–चक्रानुसार मानवको घनत्व बढ्दै जानु स्वाभाविक हो। बासस्थान खोज्ने र नयाँ ठाउमा जाने क्रमसंगै हिमाली, पहाडी भेगमा गएर मानिसहरु बसोबास गर्न थाले। अन्नको अभाव, अत्यधिक जाडो हुने हुँदा शरीरलाई तताउन जाँगर बढाउन पशु–पंक्षीलाई मारेर खान थाले। तान्त्रिक युग संग-संगै तन्त्र-साधना गर्ने धामी, झाँक्रीहरुले पनि पशु-पंक्षीको बलि दिनुलाई पनि धर्म मान्न थाले। आखिर मासु खानु नै छ त देवताको पूजा गरेर नै किन न खाने ? भन्ने धारणा मानसमा बढ्यो, फलत: पशुबलि पूजाको एउटा अभिन्न अङ्गका रुपमा विकसित भयो।
    (साभार-http://www.mysansar.com/2013/10/7962/#more-7962)

    यसरी ब्याख्या हुन्छ हेर्नुहोस। मानिस शिकार युग बाटै खेती पाती युग मा आएका हुन। तर यहाँ हेर्नुहोस कसरी ब्याख्या गरिन्छ। अहिले को युगमा पनि सरासर आफ्नो तर्क बलियो पार्न झुट बोल्न सक्ने हरुले कसैले पनि अक्षर नजान्ने युगमा युग को ब्याख्या कसरी गरे होला र कति सत्य होला?
    धर्म र सँस्कार भन्ने कुरा मानिस सामजिक जीवनयापन सुरु गरे पछि मात्र शुरु भएका चलनहरु हुन। तर यहा धर्म पहिले बन्यो र पछि समाज जस्तो ब्याख्या छ।

    Reply
  17. Tenzing Gaba says:
    October 12, 2013 at 3:19 pm

    धर्मशास्त्रमा “बलिप्रथा” छ नै भने पनि त्यो परिबर्तन गरिनु पर्ने आजको सचेत युगको माग हो /
    “धर्मशास्त्र” हरु भनेको पनि “आकासबाट फ़ुत्त खसेको” होइन नि तिनीहरु हिजो समयको माग अनुसार रचना गरिएको पुरानो खालको “समाजको निर्देशक सिद्दान्त वा पुरानो ढर्राको संबिधान” त् हो नि /
    “भाषा-सस्कार-सस्कृति-धर्म” मानब समाज अनुसार परिबर्तन हुदै जान्छन वा परिबर्तन गर्दै लानु पनि पर्छ /

    Reply
    1. Gita says:
      October 12, 2013 at 11:28 pm

      हाम्रा धर्म शास्त्रहरुलाइ समयको माग अनुसार परिवर्तन होइन परिमार्जित गरिनु पर्छ तर मान्छेहरुको आफ्नो आफ्नो सजिलोपनाको आधारमा होइन | चाडपर्ब हरुको अनि यो पूजाको के उद्देह्स्य हो उ यो किन गरिन्छ र यसको के महिमा छ भन्ने मर्म लाइ कायमै राखेर यसो रे उसो रे भन्ने मात्र जस्ता कुराहरु लाइ हटाउनु जरुरि छ तर आफ्नो जीवन शैलीमा पुरै पूजापाठका बिधि बिधान हरु ढालेर त्यसको अर्थ र महिमा नै आफ्नो आफ्नै आफ्नै सुबिधा अनुसार व्याख्या गर्न थाल्यो भने चाही राम्रो हुदैन |

      उदाहरण को लागि, बलिप्रथा र बाहुनवादको सिङ्ग न पुच्छरको व्याख्या राम्रो होइन भन्दै मा हिन्दु धर्म नै नराम्रो भनेर तथानाम फलाक्नु हुदैन | धर्म नराम्रो होइन धर्म लाइ केहि अगुवा भनाउदाहरुको पहिले देखी नै गलत प्रचार प्रसारले गर्दा हिन्दु धर्मले नकारात्मक नाम कमायको छ | हामी सबैले यसलाई बुझ्ने प्रयास गर्नु पर्छ र सबै मिलि हाम्रो यो पौराणिक धर्मलाई आबश्यकता अनुसार परिमार्जित गरि सबैलाइ भलो हुने मूल मन्त्र यसबाट सिक्ने प्रयास गर्नु पर्छ केवल गाली मात्रै गरि रहने होइन जस्तो मलाई लाग्छ |

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme