Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

समाचार छाप्दा हथकडी लगाइएका सम्पादकको बकपत्र

Posted on October 10, 2013October 10, 2013 by mysansar

-दिनेश आचार्य-

dinesh तीन महिनाको मानसिक यातना, एकदिनको प्रहरी हिरासत र कानुनी लडाइँपछि रिहा भएको मैले नसोचेको साथ र सहयोग पाएँ। अर्थात् सत्य र न्यायको पक्षमा लाग्दा कहिल्यै एक्लो ठान्नु नपर्ने महसुस गरेको छु। तर, मेरा मात्र हैनन, समग्र पत्रकारिताजगतकै अगाडि एउटा अजङ्गको पहाड उभिएको छ। अर्थात, कानुनी दाउपेचका हजारौं सिङहरु लगाएर अभिव्यक्ति स्वतन्त्रतालाई निल्ने मुख थुन्ने बाटो झनै भिरालो बनेको छ।

म यो आर्टिकल लेख्ने पक्षमा थिइनँ। अनलाइन सञ्चालकहरु र थुप्रै पत्रिकाबाट पनि नेपाली पत्रकारितालाई पुलिसको बुटमुनि राख्ने प्रयासको विषयमा लेख्न आग्रह गरे पनि मैले अदालतमा विचाराधीन मुद्दामा दोहोरी नखेल्ने बरु अदालती निर्णयलाई स्वीकार्ने जवाफ दिएको थिएँ। केही मिडियासम्बद्ध संस्थाको जर्नल र बुलेटिनमा अन्तवार्ता दिनेबाहेक आफैले केही लेखेको थिइनँ।

असार ९ गतेको पत्रिकामा प्रकाशित भएको समाचारको विषयमा १२ गते मिति राखेर १३ गते प्रहरीमा उजुरी दिइएको रहेछ। त्यसपछिका दिनमा केही हण्डी खाने पत्रिकाहरुले मेराविरुद्ध समाचार लेखेर मालिकको धेरै सेवा गरे। पूर्णकालीन पत्रकारिता गरेको १५ वर्ष पुगेपछि मैले थाहा पाएँ, हामीले कुनै दिन ‘दाजु’ भनेर सम्मान गरेका पत्रकारहरु पैसाको लोभमा कति घृणित भैसकेछन्।

प्रहरीले वारेन्ट काटेको थाहा पाएपछि मैले प्रेस काउन्सिलमा उजुरी दिएँ। प्रेस काउन्सिलले प्रहरीलाई छापिएको समाचारबारे छानबिन गरी कारबाहीको सिफारिश गर्न सरकारले तोकेको अर्ध न्यायिक निकाय प्रेस काउन्सिल भएकोले उजुरीवालालाई काउन्सिलमा पठाइदिनु भनेर पत्रसहित आफ्नो कानुन अधिकृत सोमराज सुवेदीलाई पठायो। तर, प्रहरीले त्यो पत्र दर्ता समेत नगरी राख्यो।

प्रहरी र घट्नाक्रम
गत साताको आइतबार म सम्पादक रहेको पत्रिकामा चौधरी समूहकै लगानी रहेको युनाइटेड इन्स्योरेन्सबाट चौधरी समूहका अन्य ३ कम्पनीले करिब ६० करोड बिमा दाबी लिएको समाचार छापिएको थियो। सोही दिन तीन महिनाअघिको उजुरी र अदालतको म्याद तामेली बिना नै मलाई पक्राउ गर्न पुलिस आयो। त्यस दिन मेरो विदा भएकाले नभेटेर फर्किको प्रहरी भोलिपल्ट म अफिस छिरेको १० मिनेटमै आयो र हनुमानढोका लग्यो।

त्यसो त प्रहरीले दुई साताअघि पनि यसै केसमा मलाई पत्रिकाको कार्यालयबाटै पक्रेको थियो। साथीहरुले आईजिपीलाई भनेपछि भर्‍याङ नओराल्दै मलाई छाडियो। तर, यसपटक हथकडी लगाइयो र समात्नासाथ मोबाइल फोन समेत खोसियो। जुन मोबाइल मैले अदालतबाट छुटेको केही घन्टापछि साथी केपी ढुंगानाको सहयोगमा फिर्ता पाएँ।

अहिले परिवार, साथीभाइ र शुभचिन्तकहरुको एउटै चिन्ता छ, मेरो भौतिक सुरक्षाको। ‘नेपालमा पैसाले जे पनि किन्न सकिन्छ, त्यसै यता आइजे’ भनेर अमेरिका, बेलायत र अष्ट्रेलियाबाट बोलाउनेहरु धेरै छन्। पार्टीमा बोलाएर करेन्ट लगाएर मारिदिने, अपहरण गर्ने र छतबाट खसाल्ने अपराधलाई भवितव्य दुर्घटना प्रमाणित गराउन सफल भएको उदाहरण पनि छन्। त्यही सुनाएर मलाई डर देखाउनेहरु पनि धेरै छन्। तर, म आफूले गर्दै नगरेको गल्तीमा कालोधनले उन्मत्तहरुको डर मानेर न्यायालयलाई विश्वासै नगरी देशै छाडेर भाग्ने पक्षमा छैन। बरु, तिनीहरु भागुन् जसले नेपालमा थुपारेको अर्बौँ कालोधन युरोप र अफ्रिका लगेर लुकाइसकेका छन्।

यो काण्डको पृष्ठभूमि
सेयर बजार साप्ताहिकमा चौधरी समूहका विषयमा जम्मा ४/५ वटा समाचार छापिएका छन। शुरुमा नक्कली भ्याट बिल काण्डको विषयमा हामीले २ वर्षअघि नै समाचार छापेका थियौं। त्यसमा चौधरी मात्र नभई मुछिएका सबैजसो कम्पनीको नाम थिए। भलै मूलधारका भनिने मिडियाहरुले यो समाचार कहिल्यै छापेनन् र छापे पनि आफूलाई विज्ञापन नदिने केही कम्पनीहरुको मात्र नाम छापे।

दोस्रोपटक चौधरी समूहका एक कर्मचारी मारिएको विषयको अनुसन्धान प्रतिवेदन छापिएको थियो, जसमा मायोज चाउचाउमा जागिर खान जान लागेका वाईवाईका एक कर्मचारीको हत्या भएको थियो। त्यस्तै बैंकको खाताको जानकारी दिने लेखापाल मारिएका थिए।

विनोद चौधरी फोर्ब्स पत्रिकाको अर्बपतिको सूचीमा पर्ने कुराको ब्रेकिङ हामीले नै गरेका थियौं। उनले कसरी र कहा कहाँ सम्पत्ति थुपारेर अर्बपति भए भन्ने कुरा पनि खोतलेका थियौं। लेखेका थियौँ- “चौधरीलाई तत्कालीन रानी ऐश्वर्यले आफ्नो अर्बौ सम्पत्ति व्यापारमा लगानी गर्न दिएकी थिइन्। दरवार काण्डपछि उनले सबै पचाइदिए। ज्ञानेन्द्र राजा भएपछि उनले त्यो सम्पत्ति फिर्ता मागेका थिए, तर चौधरीले दिएनन। त्यसपछि दरवारको वक्रदृष्टिमा परेका उनी सम्पत्ति जोगाउन राजनीतिमा लागेका हुन्।”

त्यस्तै भारतीय कम्पनी कोस्टलको नाममा हिमाल हाइड्रोको सेयर किनिएको समाचार पनि प्रमाणसहित छपिएको थियो। जुन पछि चौधरी समूहले नै स्वीकार्‍यो।

यी समाचार विश्वस्त स्रोतका आधारमा छापेका थियौं। मलाई अझ पनि विश्वास छ, यो समाचार गलत हो भनेर चौधरी समूहले प्रतिवाद समेत गरेको छैन। बरु पत्रिकाको सम्पादकलाई फँसाउन अनेक प्रपञ्च गरिरहेको छ।

पछिल्लो पटक छापिएको निर्वाण चौधरीको सम्बन्ध विच्छेद हुन लागेको समाचार अनलाइन पत्रिकाहरुले छापेका हुन्। त्यसलाई हामीले साभारमात्र गरेका हौँ र त्यो समाचार आर्थिक समाचार नै थियो भन्ने मलाई लाग्छ। भारतमा अम्बानी दाजुभाइको झगडा र कुटाकुटको समाचार संसारभरकै मिडियाको चासो बनेको थियो। इण्डिया टुडे म्यागाजिनले समेत अम्बानी दाजुभाइको झगडालाई चारपटक कभर स्टोरी बनाएको थियो। यस्तै फोर्ब्समा सूचिकृत एकमात्र टाइकुनको सम्बन्ध बिच्छेदमा अर्बौको रुपैंयाको अंश माग गरेको विषय मिडियाको चासोकै क्षेत्र हो।

साभार गरे पनि यो समाचारको पुष्टि गर्ने कुरामा पनि म दृढ छु। यद्यपि समाचार लेख्नेलाई पो पुष्टि गर्ने दायित्व हुन्छ, साभार गर्नेले पुष्टि गर्नुपर्ने कहाँको नियम हो ? निर्वाणपत्नी स्वस्ती मित्तलले चौधरीसँग सम्बन्ध बिच्छेदको लागि कति करोड मागेकी छिन् भन्ने कुरा चाँडै नै भारतीय मिडियाहरुले खोल्नेछन्। मैले पनि मेरा भारतीय मित्रहरुको सहयोगमा स्वस्ती मित्तलको अन्तवार्ता लिने तयारी गरिसकेको थिएँ, तर पारिवारीक समस्याका कारण भारत यात्रा रोकिएर सकिएन। आशा गर्नुस्, यो रहस्यको चाँडै नै पर्दाफास हुनेछ।

म आफै पत्रकारितामा मास्टर्स गरेको व्यक्ति हुँ। विगत १६ वर्षदेखि यो पेशामा छु। गोर्खापत्रबाट व्यवसायिक पत्रकारिता शुरु गरेको मैले राजधानी दैनिक, नयाँ पत्रिका दैनिक, सगरमाथा टिभी हुँदै विगत साढे ५ वर्षदेखि सेयर बजार साप्ताहिकको सम्पादकत्व निर्वाह गरिरहेको छु। पत्रकारिता पढाउने व्यक्ति समेत भएकाले मलाई आचारसंहिता र यसको प्रभावबारे पनि जानकार छु। कुनै विज्ञापन उठाउन हिँड्ने र कुनै भ्रष्ट नेता वा व्यापारीको पैसा लिएर पत्रिका चलाउने पत्रकार म हैन। मैले अहिलेसम्म पत्रकारिता जीवनमा कोही कसैसँग व्यवसायिक धर्म चुकाएको छु भने प्रमाण दिए हुन्छ, कारवाही भोग्न तयार छु।

सुनिएको छ, महासयहरुले पैसा मागेको, व्ल्याकमेल गरेका आदि बकवास गरी बदनाम गर्ने प्रयास गरेका छन् रे। तर म चुनौति दिन्छु, ‘सेयर बजार’ले ब्ल्याकमेल गर्ने त परै जाओस्, चौधरी समूहका कुनै पनि कम्पनीमा विज्ञापन मागेर एउटै पत्र पठाएको देखाएमा म पत्रकारिताबाटै सन्यास लिन्छु। म घमण्ड गर्छु, मैले मेरो डेढ दशकको पत्रकारिता जीवनमा पैसा त के, एउटा विज्ञापन पनि कसैसँग मागेको छैन। ‘सेयर बजार’ बाहेकका पत्रिकामा म नितान्त जागिरे रिपोर्टर थिएँ। ‘सेयर बजार’मा सम्पादक भएपछि यसमा कोही कसैले गैरव्यवसायिक आचरण देखाएको भए फेसबुक वा यही लेखको कमेन्टमा लेखिदिए हुन्छ। नत्र मेरो अपमान र बेइज्जत गर्नेमाथि म पनि कानुनी कारवाहीमा जान्छु।

ममाथि गरिएका आक्रमणको केही फेहरिस्त

१) मलाई प्रहरीले पटक पटक धरपकड गरेको छ। कार्यालयमा पसेर कर्मचारीहरुलाई अनेक मानसिक यातना दिएको छ। मेरो घर परिवार र आफन्तको विषयमा अनेक सूचना संकलन गरेर प्रतिवादीलाई दिएको छ। ल क्याम्पसमा अधिवक्ताको परिक्षाको तयारीमा जाँदा प्रहरी र गुण्डाहरुले गेट अगाडि आक्रमणको प्रयास गरे। म पर्खाल नाघेर आरआर क्याम्पस छिरेर भागेँ।

२) मेरो मोवाइल नं. ह्याक गरिएको छ। टेलिकमबाट मेरो मोवाइलको स्टेटमेन्ट चौधरी समूहमा पुगेको छ। मैले चलाउने मोबाइल नम्बरबाट मेरो मित्रहरुलाई अनेकथरी एसएमएस गएको छ। मैले टेलिकमका निर्देशक सुरेन्द्र थिकेसहित चारजना इन्जिनियरहरु राखेर मेरो वकिलको सामुन्ने सबै प्रमाणसहित निवेदन दिएको छु। तर पनि टेलिकमले व्यक्तिगत सूचना बेच्नेमाथि कारवाही गरेन। त्यसकारण मैले मोबाइल नम्बर नै परिवर्तन गर्नुपर्‍यो।

३) आफूले हण्डी खुवाउने गरेका पत्रिकाका सम्पादकहरुलाई फोन गरी मेराविरुद्ध समाचार लेखिदिन पटक पटक आग्रह गरिएको छ। कतिपयले आफू नछाप्ने बताउँदा विज्ञापन रोकिदिने धम्की दिइएको केही मित्रहरुले बताएका छन। कान्तिपुर प्रकाशनको साप्ताहिक, दृष्टि लगायतका केही पत्रिकाले चौधरीको समाचार छाप्ने अपराधी भन्दै मलाई गाली गरेर समाचार लेखेका छन्। साप्ताहिकले त निर्वाणको आधा पेज अन्तवार्ता नै छापेको छ, जसमा मेराविरुद्ध मात्रै प्रश्न सोधिएको छ तर मसँग केही बुझिएको छैन।

४) मिडिया बुझेका र चौधरी समूहसँग पनि राम्रो सम्बन्ध रहेका केही पत्रकार, विज्ञ र राजनीतिज्ञहरुले यस विषयमा विवाद नगरी मिलाउन पहल गर्दा धम्कीको भाषा प्रयोग गरी गुण्डा लगाएर ठिक पारिदिन्छु भन्ने जवाफ दिइएको छ। उनीहरुमार्फत् मलाई पत्रकारिता छाड्न दवाब दिइएको छ।

५) प्रहरीले सरकारी वकिलमार्फत अदालतमा मुद्दा दर्ता गरेपछि कानुन अनुसार मलाई अदालतबाट आउनुपर्ने म्याद नै आएको छैन। म्याद बुझाएको ३५ दिनभित्र हाजिर हुनुपर्ने कानुनी प्रावधान भए पनि म्याद नै नबुझाई मलाई पक्राउ गरिएको छ। जबकि अदालतमा बुझ्दा म्याद गैसकेको भनिएको छ। कसले लग्यो भन्दा देखाइएन। पछि चौधरीसम्बद्ध कानुन व्यवसायीको नाम दिइयो। जबकि उजुरीमा नै मेरो इमेल ठेगाना लेखिएको छ, पत्रिकाको पोस्ट बक्स नम्बर छ, कार्यालयको ठेगाना छ। कहीँ पनि म्याद तामेलि गरिएको छैन।

६) पक्राउ गर्नु ३ दिन अगाडि सेयर बजारको फेसबुक पेजमा श्रीराम प्याकुरेल नाम गरेको नक्कली आइडीबाट म्याद बुझेको भर्पाइ ट्याग गरिएको छ। जबकि दिनेश आचार्यको नामको म्याद बुझ्ने उनी को हुन् भन्ने न प्रहरीले अनुसन्धान गरेको छ न बुझाउने अदालतले नै चिनेको छ। सबैलाई थाहा छ, एफएनसीसीआईको बेस्ट ब्राण्ड अवार्डका लागि वाईवाई चाउचाउले फेसबुकमा बढी लाईक गर्नको लागि कति हजार वटा नक्कली आईडी बनाएको थियो। र, ती नक्कली एकाउन्टहरु कसका विरुद्ध कसरी प्रयोग हुँदैछन भन्ने बिस्तारै खुल्न थालेको छ। मलाई विभिन्न नक्कली फेसबुक आईडीमार्फत अनेक गाली गर्ने र धम्काउने क्रम जारी छ।

७) चौधरी समूहले कोस्टलको नाममा हिमाल हाइड्रोपावरको सेयर किनेको समाचार हामीले छापेका थियौं। अरु सबै पत्रिकाले भारतीय कम्पनीले किनेको लेखे पनि हामीले भारतीय कम्पनीको नाममा चौधरीले किनेको भनेर लेखेका थियौं। त्यो समाचार फेसबुकमा पोस्ट भएपछि राहुल चौधरी, जो निर्वाणका भाइ हुन्, उनले सिंगापुरबाट मेल गरेका थिए। उनले धम्की नदिई सभ्य भाषामा कुरा गरेका थिए। मैले जवाफमा त्यसको प्रमाण आफूसँग रहेको जवाफ दिएको थिएँ। पछि उनले फेसबुक ब्लक गरे। अन्ततः हाम्रो समाचार पुष्टि गर्दै तीन महिनापछि चौधरी समूहले त्यो सेयर आफ्नो नाममा सारे।

८) निर्वाणसम्बन्धी समाचार आउनुभन्दा ५ महिनाअघि नै चौधरी समूहका एक वरिष्ट कर्मचारी डा. रामशरण महतलाई भेट्न पुगेका थिए। महतलाई भनेर ‘सेयर बजार’मा आउने समाचार रोकाइदिन आग्रह गरिएको थियो। तर, महतले ‘समाचार रोकाउन नसक्ने र दिनेशले आफूले भनेको नमान्ने’ भन्दै फिर्ता पठाइदिएका थिए। यो कुरा महतले नै मलाई सोही बेला भनेका हुन्।

९) उजुरीपछि मेरा केही शुभचिन्तकहरुले विवाद नलम्ब्याउन पहल गरेका थिए। यसैबीच चौधरी समूहका एक प्रतिनिधि मेरो कार्यालय नजिक आएर फोन गरे। उनीसँगको कुराकानीमा मलाई फँसाउनको लागि ६ महिनादेखि प्रयास भैरहेको खुल्यो। उनले भने, ‘तपाइँको पत्रिकामा हाम्रा भित्री कुराहरु आइरहेका छन्। परिवारभित्रकै मान्छेले समाचार दिएका छन्। समाचार स्रोतको नाम खुलाइदिने हो भने हामी उजुरी फिर्ता लिन्छौं।’ त्यसबेला उनले समाचार रोकाउन धेरै प्रयास गरेको तर नसक्ने देखिएपछि वकिलसँग सल्लाह गरेर ‘बल्ल साइबर क्राइममा फसाइएको’ बताए। उनले बोलेको कुरा मैले रेकर्ड गरेको छु। त्यसबाहेक विनोद चौधरी स्वयंले पनि धेरैजनासँग कुरा गर्दा समाचारको स्रोत खोल्न दवाब दिएका थिए।

मलाई व्यक्तिगत रुपमा चौधरी समुह र निर्वाण चौधरीप्रति कुनै द्वेष र इर्ष्या छैन। चिनजान नै नभएको र अहिलेसम्म प्रत्यक्ष नदेखेको व्यक्तिलाई लखेट्नुपर्ने कारण छैन। उनले नेपालमा व्यवसाय गरेर रोजगारी सिर्जना गरेमा म खुशी नै हुनेछु। राम्रो कामको सदैव प्रशंसा गर्छु।

अर्को कुरा समाचार छापिएपछि एक पटक पनि उनीहरुले खण्डन गरेका छैनन्। एक कल फोन गरेका छैनन्, न इमेल नै गरेका छन्। यदि खण्डन गर्न खोजिएको भए हामी सहर्ष यथोचित स्थान दिनेथियौं। समाचारको विषयमा पक्षलाई नसोधिएको भनिएको छ, तर उनीहरुले कुनै पत्रकारको फोन उठाउँदैनन, कसरी प्रतिक्रिया लिने? कतिसम्म भने मेरो विषयमा केही वरिष्ठ सरकारी अधिकारी, राजनीतिज्ञहरुले गरेको फोन समेत उनीहरुले उठाएका छैनन्।

उनले मविरुद्ध उजुरी गरेपछि मलाई उनीविरुद्धका समाचार दिनेहरुको लर्को लाग्यो। लाँकुरीभन्ज्याङको ट्रान्सपार्टीदेखि नक्सालको क्राउप्लाजा होटलको भिडिओ रेकर्डसमेत मेरो कार्यालय आइपुग्यो। विभिन्न प्रतिवेदन, उजुरी र राजस्वका अनेकन समाचार आयो। तर, मैले त्यसलाई इबी साँध्ने हतियार ठान्दै आफू उपयोग हुन चाहिनँ र मैले आफ्नो पत्रिकामा समेत केही लेखिनँ।

‘सेयर बजार’ नेपालको कर्पोरेट सेक्टरमा चर्चित पत्रिका हो। त्यसैले सोही समाचार ‘विमर्श’ साप्ताहिक र ‘हाम्राकुरा’मा आउँदा उजुर नगरेका उनले मलाई उजुर गरे। यदि कानुनसम्मत उजुरी भए ठिकै थियो, तर समाचार छाप्नेलाई फौजदारी मुद्दा लगाउने कानुन संसारको कुनै पनि लोकतान्त्रिक मुलुकमा छैन।

म मेरा शत्रुहरु छैनन् भन्दिनँ तर पक्कै पनि मेराभन्दा निर्वाणकै शत्रुहरु धेरै छन् र रहेको मैले पनि फेला पारेँ र त उनीविरुद्धका प्रमाणको लर्को लाग्यो। म ब्याकअफिसमा गुमनाम बसेर लेख्ने एक पत्रकार हुँ। उनीसँग न प्रतिस्पर्धा न रिसइबी। कानुनको पनि बिद्यार्थी भएको नाताले मुद्दामामिलासँग डर लाग्दैन। किनभने अदालतप्रति मेरो पूर्ण विश्वास र भरोसा छ।

मेरो पक्राउपछि पत्रकारिता र साइबर कानुनबिचको विरोधाभासबारे नयाँ बहस शुरु भएको छ। यसले सायद कुनै निचोड देला। यद्यपि प्रेस फ्रिडमसँग जोडिएको मुद्दामा कारक हुन पाएकोमा मलाई गर्व नै छ। यसबीचमा देश विदेशका अनेकन मिडियाले मसँग सम्पर्क गरेका छन्। मेराबारेमा चिन्ता जाहेर गर्दै समाचार छापेका छन, विज्ञप्ति निकालेका छन्।

निर्वाणको बारेमा पनि खोजी भएको छ। ‘हाम्राकुरा’ डटकममा भएको सो समाचार ट्वीटरमा मात्र ११ सयभन्दा धेरैले सेयर गरेका छन्। फेसबुकमा सेयर गर्नेहरु धेरै छन्। २ दर्जनभन्दा बढी अनलाइनले साभार गरेका छन्। मैले त पत्रिकामा साभार गरेको थिएँ। तर, उनको उजुरीले यो समाचारको हजारौं पाठक बढाएको छ। अहिले पनि लिंक खोज्दै इमेल लेख्नेहरु धेरै छन्।

आखिर जे भए पनि परिणाम सुखद हुँदैन। म आफैमा कसैको मन दुःखाएर खुशी हुन सक्दिनँ। तर, मुख्य कुरा नियत र प्रवृत्तिको हो। यदि मेरो कारण चौधरीलाई चोट पुगेको भए म पनि दुःखी छु। तर, आशुतोष तिवारीले फेसबुकमा लेखेजस्तै पैसाको बलमा लामखुट्टे मार्न एके ४७ को आक्रमण गर्न खोज्नेले उल्टो परिणाम पनि भोग्नुपर्ने हुनसक्छ। थाहा छ, अहिलेको नेपाल निकै चेतनशील भैसकेको छ। जनताले ठिक बेठिक छुट्याउन सहजै सक्छन। भ्रम कतिन्जेल टिक्छ र ?

22 thoughts on “समाचार छाप्दा हथकडी लगाइएका सम्पादकको बकपत्र”

  1. kedar tripathi says:
    October 11, 2013 at 1:32 pm

    दिनेशजी ,चौधरीजिको पुस्तक पनि पढियो /उहाँको पुस्तकमा कसरि पैसा कमाये भन्ने कुटिलता बाहेक केहि छैन /अक्सर मारवाडी समुदाय पैसा मात्र हेर्छ /उनीहरुलै समाजमा केहि आर्थिक सुधर्होस भनेर सामाजिक उत्तरदेत्व कदापी छैन./ तपाई धेरै महसुर हुनु हुँदो रहेछ /धन्न्यबाद /मेरो सलाम

    Reply
  2. सन्तोष लामिछाने, म्याडिसन, विस्कनसिन says:
    October 11, 2013 at 1:51 am

    “आफ्नो थैलीको मुख बन्द गर्नु अरुलाई चोर दोस नलगाउनु” यो उखान चौधरी परिवारले मनन गर्नु राम्रो ! अर्को कुरा, दिनेश आचार्य जी को साहसको म कदर गर्छु र र शुभकामना दिन चाहन्छु ! चौधरी परिवार साँच्चै असल हुन् भने तिनले दिनेशजी जस्ता पत्रकारलाई दुख नदिएकै राम्रो ! नत्र “तरवार भन्दा कलम बलियो” कसरी हुन्छ त्येसको पुस्टि हुनेछ ! आशा छ नेपाली दाजुभाई दिदीबहिनीहरू ले एउटा असल पत्रकार को समर्थन गर्नु हुनेछ !

    Reply
  3. sundip says:
    October 11, 2013 at 12:10 am

    मैले त चौधरी ग्रुपको समान प्रयोग गर्ने बन्ध गरि सके…कुरै खत्तम! फटहाहरु, हाम्रो नै सम्पति लुटेर अनि हामी माथि राज गर्छन

    Reply
  4. gyan says:
    October 10, 2013 at 11:19 pm

    दिनेश जी ले चौधरी समूह को बारेमा लेखेको अनुसन्धानात्मक लेखहरु को मा सलुत गर्छु तर व्यक्तिगत कुरा लेखेको मा मेरो बिरोध छ \ त्यो चाहे सेलेब्रेती नै किन नहोस नितान्त व्यक्तिगत कुरा हरुको बारेमा पत्रकार हरुले जसको बारेमा लेखेपनि वा लेख्दै आएपनि तेस्को त बिरोद गर्ने पर्छ है \

    Reply
  5. Diwakar Khadka says:
    October 10, 2013 at 10:43 pm

    “चौधरीलाई तत्कालीन रानी ऐश्वर्यले आफ्नो अर्बौ सम्पत्ति व्यापारमा लगानी गर्न दिएकी थिइन्। दरवार काण्डपछि उनले सबै पचाइदिए। ज्ञानेन्द्र राजा भएपछि उनले त्यो सम्पत्ति फिर्ता मागेका थिए, तर चौधरीले दिएनन। त्यसपछि दरवारको वक्रदृष्टिमा परेका उनी सम्पत्ति जोगाउन राजनीतिमा लागेका हुन्।”
    यो कुराको न्यायिक छानबिन हुनुपर्छ, यदि प्रमाणित भएमा बिनोद चौधरीको सम्पत्ति पनि पूर्ब राजपरिवारकै सम्पत्ति ठानी त्यसलाई पनि राष्ट्रियकरण गर्नुपर्छ। ए सरकारी अधिकारी हो(चार दल सहित)! तिमीहरूले यति आँट त देखाउनै पर्छ, यो तिमीहरुका लागि धमिलिएको छबि सुधार्ने राम्रो मौका हो.

    Reply
    1. कृश्णकुमार केसी says:
      October 11, 2013 at 12:51 am

      पैसा छ भन्दैमा सत्यलाई दबाउनी दिन गए अब जीत स़त्यको नै हुनेछ ।

      Reply
  6. binod raj shrestha says:
    October 10, 2013 at 10:23 pm

    समाचार लेख्ने लाई भन्दा समाचार सेयर गर्ने लाई मुद्दा अचम्मै छ त !चौधरी ग्रुप को उत्तराधिकारी लाई यो काम सुहाउँदो जस्तो लागेन है मलाई त ,पक्कै पनि चौधरी ग्रुप नेपाल कै गर्ब गर्न लायक को ग्रुप हो ,नक्कली भ्याट बिल को कुरा त कारबाही नहुन्जेल गर्नु बेकार छ ,हुन पनि सक्छ नहुन पनि सक्छ ,तर देश कै ठुलो मान्छे को कुरा त पत्रिका मा आई नै हाल्छ आउन पनि पर्छ ,राम्री पनि नराम्रो पनि ! ,खैर सबै ठुलो मान्छे को पारिवारिक सम्बन्ध राम्रो नै हुञ्छ भन्ने छैन ,यो त एक हिसाब ले भाग्य को कुरा पनि हो !जे भए नि चौधरी ठुलो मान्छे भयको भएर समाचार बनेको हो नत्र त्योस्तै सम्बन्ध नेपाल को धेरै दम्पति को होला ,अरु को त समाचार बन्दैन |सबै ले आफ्नो आफ्नो धर्म निभाउने हो,यो समस्या जति बढ्छ उति घाटा जस्तो लाग्छा दुवै लाई ,बरु टुंग्याउने पो हो कि ?कि कसो ?

    Reply
    1. bibek dhakal says:
      October 11, 2013 at 10:53 am

      पैसा बटुलेर कुम्ल्याउदैमा र अरबपतिको सुचिमा पर्दैमा मान्छे ठुलो, इज्जतदार र गर्व गर्न लायक को हुदैन “बिनोद” जी !

      Reply
  7. Mahesh Mahaseth says:
    October 10, 2013 at 8:51 pm

    हुन त पत्रकार हरु पनि अहिले २ पैसा मा बिक्ने भएको छ./ खोज पत्रकारिता गर्न सबैभन्दा उत्तम हो/ तर कतिपय पत्रकार हरु सुनेको भरमा, हो रे को भरमा समाचार लेखिरहेको हुन्छा/ अनि कतिपय एक्पक्षिय समाचार हरु लेखिरहेको हुन्छा/ म पनि यस्तो प्रकारको पत्रकारहरुको चंगुल मा फसेको छु, हुँदै नभएको कुरालाई मनपरी लेखेर मानहानी गर्न खोज्ने र कहिले कहिँ कानुनि रुपमै फसाउन खोज्छ/ मलाई त कानुनि रुपमै झन्डै फसाएको थियो, अनि त्यो पत्रकारले ६० हजार दिनुहोस कुरा मिलिहल्छा भन्यो, म र मेरो साथीहरु संग बर्गैनिंग गर्दै अन्तिममा २० हजार दिए पुग्छ वन्यो, हामीले त्यो सबै घटना हरु गोप्य रुपले video खिचेको थियौं, त्यसपछि हामीले पनि मुद्दा लड़छुम तर पैसा मरिगए दिन्नम भन्यौ हामि संग पनि प्रमाण छ भनेपछि त्यो पत्रकार पछि हट्न बाध्य भयो/ यस्तै हो Nepal मा, पित्पत्रकारिता हावी छ/

    Reply
  8. Kumar Lama says:
    October 10, 2013 at 6:10 pm

    दिनेश दाई, यो समाचार पढेर धेरै दुख लाग्यो, हुन त हाम्रो देशमा सत्यको पक्षमा लाग्ने र राम्रो काम गर्नेको कहिल्यै प्रशंसा हुदैन, तपाई पनि त्यहि मध्येमा एक पर्नु भएछ, जे-जस्तै भए पनि सत्यको सधै जित हुन्छ दाई चिन्ता नगर्नु, तपाईको lastai भाई सदैब मेरो lastai दाईको साथमा हुनेछ, सधै सत्यको पक्षमा लागिरहनु यहि नै मेरो शुभकामना !
    अनि दाई हजुरलाई आउदै गरेको शुभ विजय दशमी तथा शुभ-दीपावलीको हार्दिक मंगलमय शुभकामना !!!

    Reply
  9. Sagar says:
    October 10, 2013 at 3:58 pm

    — पूर्णकालीन पत्रकारिता गरेको १५ वर्ष पुगेपछि मैले थाहा पाएँ, हामीले कुनै दिन ‘दाजु’ भनेर सम्मान गरेका पत्रकारहरु पैसाको लोभमा कति घृणित भैसकेछन्।
    — कान्तिपुर प्रकाशनको साप्ताहिक, दृष्टि लगायतका केही पत्रिकाले चौधरीको समाचार छाप्ने अपराधी भन्दै मलाई गाली गरेर समाचार लेखेका छन्।

    यो सब हण्डी को कमाल हो | ठुलो भुडी र चिल्ला गाडी चड्ने र स्वघोषित बरिस्ठ पत्रकार भन्ने महासयहरुलाई समाज ले नचिनेको होइन तर बाध्यता जनता को आवाज दब्छ संधै |

    — प्रहरीले त्यो पत्र दर्ता समेत नगरी राख्यो
    Police पैसा ले चल्छ | जनता संग पैसा हुदैन त्यहि भएर Police जनता को हुदैन |

    लेख मा धेरै गम्भीर बिषय उठाउनु भएको छ के यो सरकार चौधरी माथि छानबिन गर्न सक्छ ?

    Reply
  10. robei says:
    October 10, 2013 at 3:19 pm

    चोरलाई चौतारो, साधुलाई सुलि।
    जो त भ्याट मारा उसैको हालिमुलि?

    Reply
  11. bnakta says:
    October 10, 2013 at 3:18 pm

    मन पर्यो !
    पैसाको बलमा लामखुट्टे मार्न एके ४७ को आक्रमण गर्न खोज्नेले उल्टो परिणाम पनि भोग्नुपर्ने हुनसक्छ। थाहा छ, अहिलेको नेपाल निकै चेतनशील भैसकेको छ। जनताले ठिक बेठिक छुट्याउन सहजै सक्छन।

    Reply
  12. Raju Rai says:
    October 10, 2013 at 2:49 pm

    तपाईंको स्वतन्त्र पत्रकारिताले निरन्तर्तापाइ रहुन यही हामी सबैको शुभकामना ।। Hats off to you, your reliable sources and your true journalism…Bravo !!!!

    Reply
  13. Umesh Raj Satyal says:
    October 10, 2013 at 1:25 pm

    व्यक्तिगत स्वतन्त्रता को नि कुरा हुन्छ ! साभार नै गरे पनि तपाइले चरित्र हत्या गर्ने उद्येश्य ले नै साभार गर्नु भएको हो भन्ने त्यस भित्र को कन्टेन्ट ले प्रस्टै गर्छ ! श्रीमान – श्रीमती को झगडा उनको नितान्त व्यक्तिगत कुरा हो ! तपाई को घर भित्र छिरेर तपाई को श्रीमान – श्रीमती बीच को सम्बन्ध लाई बाहिर ल्याउछ भने तपाई लाई पनि पक्कै नै नराम्रो लाग्छ होला ! राम्रा कुरा को सिको गर्ने हो भारतीय मेडिया ले अम्बानी को झगडा लेखे भन्दै मा हामी ले कुनै घर भित्र को श्रीमान – श्रीमती को झगडा उचाल्नु पर्छ भन्ने केहि छैन ! बाकी — तपाई को जय होस् !!!

    Reply
    1. C Dahal says:
      October 10, 2013 at 4:22 pm

      खासै कमेन्ट मा मुख फर्काउने मान्छे त होएन मा तर तपाईं को कमेन्ट पढेर मुख फर्कौना मन लग्यो……साएद तपाईं पनि माथि उलेख गरेअ जस्ती चौधरी ग्रोउप ले बनको एक फेक ईड मध्ये कै एक होला….

      नेपाल कै सब भन्दा धनि बक्ति को जेस्त सुपुत्र tesmathi business tycoon Mr. Nirwan Chaudhary ko पेर्सोनल life को बारेमा जान्न पाउनु ठुलो कुरा होएन……बिस्वो को इतिहास पल्टाएर हेर्नुस, बिल clinton प्रिन्सेस Diyena के उनीहरु को पेर्सोंल life को समाचार पत्र पत्रिका मा आएन र???

      Celebrity hu vhandai Facebook ma aafnoparcharparsar aafai gardai hidne, uthe dekhi sutne bela samma ko ek ek activity chin chin ma post garne n afno bare ma kasaile man na parene kura lekhyo vhaner sue garne…its double standard…….

      राम्रो काम को सराहना गर्न सिक्नुस…….

      Reply
    2. Sanjay says:
      October 10, 2013 at 5:20 pm

      तपाइको कुरो ठिकै हो. तर चुरो कुरो बुझ्दा त यो त राज्श्वो छली, नक्कली भ्याट बिल अनि सोझो जनता ठगेको कुरा हरु बाहिर आयो भनेर अब खत्तम भयो है भनेर तर्सेको जस्तो बुजियो नि त. फेरी मलाई पनि ‘चार लाइन’ कमेन्ट को चार करोड तिर भन्लान. त्यसकै कारण ले डराएर हो कि सबै जना MySansar मा पनि थोरै नै कमेन्ट हरु देखियो आज त 😀

      Reply
  14. Devendra Basnet says:
    October 10, 2013 at 12:45 pm

    सत्येको उजागर गर्दै जानुस दाई, हाम्रो साथ् र शुभकामना छ.

    Reply
  15. Sherpa says:
    October 10, 2013 at 12:31 pm

    दिनेशजी
    Hats off to you for your courage.

    Reply
  16. sajan says:
    October 10, 2013 at 12:29 pm

    के हो के हो यो देश भनेको ! जसको शक्ति उसैको भक्ति !

    Reply
  17. अनिल says:
    October 10, 2013 at 12:17 pm

    नेपालीहरुलाई सत्य कहाँ पच्छ कि त तेही खोर बहादुर खड्का जस्तो हुनु पर्छ १०१ किलोको माला लगाएर गुनगान गाउनलाई कि त तेही चौधरी ग्रुप हुनु पर्छ नत्र त दुख पाईन्छ.

    Reply
    1. Ritesh says:
      October 10, 2013 at 7:54 pm

      खुमबहादुर छुट्दा खुसी हुने र चैधरीले कर छल्दा फाइदालिने को समुह ठुलै छ ।

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme