Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बन्दले अमेरिकामा बिजोग

Posted on October 5, 2013October 5, 2013 by Salokya

अपडेटः विकेन्डको विदामा विरलै बस्ने प्रतिनिधि सभाको शनिबारको बैठकले एकमतले विधेयक पास गरेको छ, जसले आठ लाख सरकारी कर्मचारीलाई जति दिन बन्द भए पनि तलब दिने ग्यारेन्टी गर्नेछ।
delisi सन् २०११ मा नेपालमा एउटा दलले बन्द गर्न आह्वान गर्दैगर्दा तत्कालीन अमेरिकी राजदूत स्कट एच डेलिसीले फेसबुकमा सार्वजनिक रुपमा आलोचना गरे। बन्द गर्नेहरुलाई भिसा नदिने कुरा पनि सुनिएको थियो। बन्ददेखि वाक्कदिक्क भइसकेका नेपालीहरुलाई अर्कै देशको राजदूतले यस्तो बोल्दा कूटनीतिक मर्यादा उल्लङ्घन भएकोतर्फ ध्यानै गएन। वाहवाही सुरु भयो उनको। आज उनकै देशमा ‘अमेरिका बन्द’ हुँदा बिचरालाई एक शब्द लेख्ने आँट छैन। हाम्रोमा जस्तो सरकारी कर्मचारीले सरकारलाई वा विपक्षीलाई नानाभाँती भन्न गाह्रो छ त्यहाँ। अमेरिकामा अहिले भइरहेको बन्द नेपालमा दलहरुले गर्ने जस्तो पसल र गाडी रोकेर गर्ने ‘नेपाल बन्द’ चाहिँ हैन। तर झण्डैझण्डै यस्तै समस्या केही वर्षअघिदेखि नेपालमा पनि देखिएको थियो। सत्तापक्ष र विपक्षीबीच कुरा नमिलेर बजेट पास गर्न नदिएर झण्डै अमेरिकाको हालतमा पुग्न आँटेको भए पनि नेपालमा कुरो मिलाइछाडे। अध्यादेश वा पूरक बजेट ल्याएर भए पनि हाम्रोमा काम चलाइयो। अहिले अमेरिकामा त बिजोग छ। अत्यावश्यक कामका बाहेक सरकारी कर्मचारीहरु अक्टोबर १ देखि बेतलबी विदामा गएका छन्। सरकारी वेबसाइट बन्द छन्। हाम्रोमा जस्तै त्यहाँ पनि मार पर्ने भने बिचरा जनता नै। राष्ट्रपति र सांसदहरुले भने तलब पाउने रहेछन्। कस्तो बिजोग भइरहेको छ त अमेरिकामा अहिले ? केही उदाहरण हेरौँ-

क्यान्सरपीडित बच्चाहरुको बिजोग
बन्दका कारण न्यासनल इन्स्टिच्युट अफ हेल्थ (NIH)ले ७५ प्रतिशत कर्मचारी कटौति गर्नुपरेको छ। यसको अर्थ- क्यान्सर उपचारको लागि नयाँ क्लिनिकल ट्रायलहरु गर्ने काम पनि बन्द। यसको अर्थ क्यान्सरपीडित बिरामी र बिरामी बच्चाहरुलेसमेत औषधि पाउने छैनन्। एबीसी न्युजका अनुसार सरकार बन्द जति हप्ता लम्बिँदै जान्छ, क्यान्सरपीडित १० बच्चाले क्लिनिकल ट्रायल गर्न पाउने छैनन्।
आम्मै नि, यस्तो भयावह पीडा हुने काम त गर्नुभएन नि भनी विपक्षी रिपब्लिकनहरुले NIH सहित अरु स्वतन्त्र संघीय एजेन्सीलाई चाहिँ बजेट हुने गरी एउटा विधेयक पास गर्न खोजेका थिए संसदमा। तर सत्तारुढ डेमोक्रेटहरुले सरकारको कुन अङ्ग खोल्ने कुन नखोल्ने भनेर तिमेरुले निर्णय गर्ने? खुरुक्कसँग गर्ने भए सबै बजेट पास गर शैलिमा प्रस्तुत हुँदै त्यसलाई रोकिदिए।

बूढी आमै हराएको हरायै
जो इलियोट ब्लेकस्ली ६३ वर्षकी बूढी आमै हुन्। इडाहोको क्रेटर्स अफ दि मुन न्यासनल प्रिजर्भमा हाइकिङ गएकी थिइन् एमी लिङ्केर्टसँग। सेप्टेम्बर २३ देखि बेपत्ता छिन्। लिङ्केर्टको शव दुई दिनपछि फेला पर्‍यो तर ब्लेकस्लीको अझै अत्तोपत्तो छैन। सुरुमा उनीहरुलाई खोज्न ७० सरकारी कर्मचारी, कुकुरसहितको टिम र हेलिकप्टरहरु प्रयोग गरिएका थिए। यो सरकार बन्दका कारण अब जम्माजम्मी १० जना पार्क रेन्जरहरु खोजी कार्यमा जुटेका छन्। केही दर्जन रिपब्लिकन सांसदहरुले राष्ट्रपतिको ओबामाकेयरको विरोधमा उत्रँदा बूढीआमै बाँचेकी भए मर्ने बेला र मरेकी भए लाश कुहिने बेला भइसक्यो।

बिहे नै गर्न नपाउने, कत्रो आपत !
अमेरिकाको राजधानी वासिङटन डीसीमा धेरैजसो नगर सेवाहरु सुचारु छन् तर म्यारिज ब्युरो भने बन्द भएको छ। कानुनी रुपमा त्यहाँका बासिन्दाहरुले अब बिहेको मान्यता पाउन लामै समय कुर्नु पर्ने भएको छ।

न्यासनल पार्क नजिकैका व्यापार सुख्खा
सरकार बन्दले म्युजियम, स्टायच्यु अफ लिबर्टी, न्यासनल पार्कहरु बन्द भएका छन्। ती ठाउँ नजिकै बसेर व्यापार गर्नेहरु, टुर गाइडहरु, सौभिनेयर बेच्नेहरु, मोटलहरुलाई त यो बन्दले बिजोग बनाएको छ। त्यहीँको आम्दानीमा भर पर्नुपर्नेलाई अहिले मर्नु न बाँच्नु भएको छ। यी साना व्यापारीहरुका लागि हजारौँ डलर आम्दानी गुमाउनु भनेको चानचुने कुरा है।
ओहायोबाट सेन्ट अगाथा क्याथोलिक स्कूलका २७ जना विद्यार्थीहरु १४ हजार डलर चन्दा उठाएर जति बेला डिसी पुगेका थिए, ठ्याक्कै सरकार बन्द भइदियो। उनीहरु खासमा म्युजियम र मोन्युमेन्टहरु घुमी ज्ञान बढाउन आएका थिए। तर उनीहरु अहिले अमेरिकाको घटिया राजनीतिबारे बुझ्ने मौका पाइरहेका छन्। (स्रोतः भाइस)

बिचरा कर्मचारीहरु
लाखौँ अमेरिकी कर्मचारीहरु अक्टोबर १ मा बिहान उठ्दा आफू तलब नआउने गरी विदामा रहने खबर सुने। अर्को अर्थमा उनीहरु बेरोजगार भइसकेका थिए अनिश्चितकालका लागि। यो बन्द सेप्टेम्बर ३० को मध्यरात ११ बजेर ५९ मिनेटसम्म उनीहरुको जागिर थियो। अक्टोबर १ मा त्यहाँको नयाँ आर्थिक वर्ष सुरु भएपछि उनीहरु बेरोजगार भए। यो बन्द कतिसम्म हुन्छ भन्ने पनि उनीहरुलाई थाहा छैन। कानुनी रुपमा त उनीहरु बेतलबी विदामा हुन् तर नियमित आइरहने रकम नआउने गरी बन्द भएपछि असर त जसलाई पनि परिहाल्छ नि।

अमेरिकामा के बन्द छ, के खुला छ ? थाहा पाउन यहाँ क्लिक गर्नुस्

बन्द किन भाको रैछ त ?

किन बन्द भयो त भन्ने प्रश्नको सजिलो जवाफ छ राजनीतिले। जुँगाको लडाइँले। अमेरिकामा जम्मा दुइटा पार्टी छन् रिपब्लिकन र डेमोक्रेटिक। राष्ट्रपति डेमोक्रेटिक पार्टीका हुन्। तल्लो सदन अर्थात्‌ प्रतिनिधि सभामा भने बहुमत विपक्षी रिपब्लिकन पार्टीको छ। राष्ट्रपति ओबामाले ल्याएको स्वास्थ्य बीमासम्बन्धी विधेयक जसलाई ओबामाकेयर नामले समेत चिनिन्छ, रिपब्लिकन पार्टी त्यसको विरोध गर्छ। केही रिपब्लिकन सांसदहरुलाई त्यो फुट्या आँखाले पनि हेर्न मन लाग्दैन। त्यस्तै सांसदहरुको टि पार्टी मुभमेन्ट र त्यो जसरी पनि पास गर्नैपर्छ भन्ने सत्तापक्षका सांसदहरुले मेरो गोरुको बाह्रै टका गरेपछि यो स्थिति आएको हो। हाम्रोतिर ल्याएका थिए नि केही अघि पुरानै बजेटका कार्यक्रम जारी राख्ने गरी ल्याइने अध्यादेश, हो त्यस्तै खालको रुटिन कन्टिन्युइङ रेजोल्युसन (सिआर) समेत पास गर्न पनि ओबामाकेयरको फन्ड हटाउनु पर्ने माग राख्दै ती रिपब्लिकन सांसदहरुले अड्डी कसेपछि संघीय सरकारको बजेट पास भएन र संसदबाट पास नभएसम्म सरकारले खर्च गर्ने वैधानिक अधिकार पाउँदैन। ती रिपब्लिकनहरुले केही अघि मात्रै ओबामाकेयरका केही भाग अस्वीकृत हुने खालको विधेयक प्रतिनिधि सभाबाट पास गरी पठाए। जबकि त्यो माथिल्लो सदन सिनेटबाट पास हुने वा राष्ट्रपतिले साइन गर्ने संभावनै छैन। सिनेटमा राष्ट्रपतिको पार्टीको बहुमत छ।

अब यहाँ जुँगाको लडाइँ हेर्नुस् न- डेमोक्रेटहरु ठान्छन्, मुला रिपब्लिकने, तिमेरुकै कारण सरकार ठप्प भएपछि जनताले सबै दोष तिमेरुलाई दिनेछन्। रिपब्लिकनहरु ठान्छन्- मुला डेमोक्रेटे, हामीले हार खाएर अन्ततः सिआर पास गर्छौँ र ओबामाकेयर जारी राखौँला भन्ने ठान्या होला हैन तिमेरुले !
बीचको बाटो निकाल्ने भनेर कयौँ प्रयास गरे। तर सहमति भएन। सहमति नभएरै मध्यरात १२ बज्यो, नयाँ आर्थिक वर्ष सुरु भयो। उहिले हाम्रोमा सहमति नभएर जेठ १४ बितेर संविधान सभा भंग भए जस्तो क्या। नयाँ आर्थिक वर्ष सुरु भयो तर सरकारलाई पैसा खर्च गर्ने वैधानिक अधिकार छैन।

यही साँढेहरुको जुधाईमा बिचरा बाच्छाको मिचाइ भो आठ लाख सरकारी कर्मचारीको जो बेतलबी विदामा छन्। अर्का १३ लाख सरकारी कर्मचारी काममा त जानु पर्छ तर उचित बजेट संसदले पास नगरेसम्म तलब पाउँदैनन्।

सन् १९९५/९६ पछि यो पहिलो पटक बन्द भएको हो। बिल क्लिन्टनको पालामा २८ दिनसम्म यो विवाद जारी भएको थियो। यसअघि १७ पटक यस्तो भइसकेको छ।

हामीले के शिक्षा लिने?
अहिले संविधान सभाको दोस्रो निर्वाचन हुँदैछ नेपालमा र समानुपातिकमा सहभागी हुने दलहरुको संख्या १२२ पुगेको छ। स‍ंविधानका प्रत्येक धारा दुई तिहाई बहुमतले पास गर्नुपर्ने व्यवस्था रहेकोले जति साना साना दलहरु समानुपातिकमा निर्वाचित भएर आउँछन्, त्यसले समस्या मात्रै उब्जाउनेछ। कसैको बहुमत नआए सरकार बनाउने र गिराउने खेल फेरि पनि जारी रहनेछ र यी समानुपातिकबाट आउने एक दुई सिट भएका पार्टीका व्यक्तिहरु मन्त्री पद पाउन यता र उता गठबन्धनको समर्थनमा लागिरहनेछन्। अमेरिका जस्तो दुई दल भएको देशमा त राष्ट्रप्रमुख र संघीय सरकारप्रमुख एकै हुने व्यवस्थाका कारण संसदमा बहुमत नभएर यस्तो अप्ठेरो परिरहेको छ भने संविधान निर्माण र सरकारसमेत चलाउनु पर्ने हाम्रो देशको संक्रमणकालीन स्थितिमा बहुमत नहुँदा के हालत होला? दर्जनौँ पटक निर्वाचन हुँदा पनि संविधान बन्ने छैन। विगतको अनुभवले देखायो त्यस्तै। त्यसैले यस पटकको निर्वाचनमा उसको नीति, कार्यक्रम र विगत हेरेर जसलाई मत दिउँ, बहुमत आउने संभावना भएकालाई मात्र दिउँ।

बन्द जता पनि दुर्भाग्यपूर्ण नै

delisi १८ डिसेम्बर २०११ मा बिहान पौने १२ बजे डेलिसीले लेखेको त्यो स्टायटसलाई उनी आफैले डिलिट गरिसके जस्तो छ। उनको फेसबुक पेजमा १५ डिसेम्बरको पोस्टपछि एकै पटक २२ डिसेम्बरको पोस्ट छ। अहिले उनी अफ्रिकी देश युगान्डामा राजदूत छन्।

नेपालमा जस्तो बन्द होस् कि अमेरिकामा जस्तो, दुःख पाउने सर्वसाधारण जनता नै हुन्। त्यसैले जताको भए पनि बन्द दुर्भाग्यपूर्ण नै हुन्छ। फरक यति हो कि हाम्रा राजदूतले अमेरिकामा बन्द दुर्भाग्यपूर्ण भन्दै हिँड्न सक्दैनन्। राजदूतको त कुरै छाडौँ, नेपालमा बन्द हुँदा तीन हात उफ्रेर फेसबुक र ट्विटरमा विरोध गर्न हतारिने अमेरिकावासी नेपालीहरु पनि आफै बसेको देशको सरकार बन्दको दुर्भाग्यपूर्ण पक्ष देख्दैनन् वा देख्न चाहँदैनन्, देखे पनि लेख्न चाहँदैनन्।

26 thoughts on “बन्दले अमेरिकामा बिजोग”

  1. Sisir, USA says:
    October 7, 2013 at 5:49 am

    update
    : Everyone has been called back to work from monday morning ( 7th of oct. )

    Reply
    1. जमरकट्टेल भाउजु (भेन्कुवर, क्यानाडा) says:
      October 8, 2013 at 12:08 am

      सिसिर ज्यु, अब आर्लिङ्ग्टन को पाँच कुने भबन मा जानुस काम गर्न. तपाई त काम मा फर्कनु हुन्छ डिओडि मा, तर अरु सर्खारी कर्मचारी हरु चै कहिले फर्केलान बरै? अम्रिका पनि नेपाल जस्तै रैच, सधै कच् कच्.

      Reply
      1. Sisir, USA says:
        October 8, 2013 at 5:29 pm

        हैन हौ भाउजु. के सारो भन्या हो ! सप्पैलाई बोला छन्. सप्पोई जना ले काम सुरु गरिसके नि त . सारै त नभन्नुस के. त्यत्ति सरो कच् कच् त हुन्न हो.

        Reply
        1. जमरकट्टेल भाउजु (क्यानाडा) says:
          October 9, 2013 at 9:53 am

          सोझी महिला भनेर उडाउनु भा जस्तो लाग्यो है मलाई त. मेरो लियो को बुवा ले भन्सेको त्यो के रे पेन्टागन भन्छ कि के भन्छ त्यहाको कर्मचारी हरु लाई मात्र फिर्ता बोलाको रे. खै भित्रि कुरो त मलाई के था?

          ए साँच्ची, अम्रिका को मुन्त्री लाई किन सेक्रेटरी भन्छन, हँ? नेपालाँ त सेक्रेटरी भनेसी अफिसमा काम गर्ने मसक्क मस्किने तरुनी हरु लाइ भन्छन, हैन र?

          Reply
          1. Sisir, USA says:
            October 9, 2013 at 10:26 pm

            आच्या हो भाउजु ,
            के खाएर उडाउनु नि आफ्नै भाउजु लाई. हजुर को लियो को बा ले अलिकति राम्रसी सुन्सेन छ के. खाट्टी भित्रि कुरो हो केरे. आफ्नै भाउजु भनेर मात्रै भन्देको. सबैलाई त भनि हिड्नु पनि कहाँ हुन्छ र एस्तो गोप्य जस्तो कुरो. बोला हुन् बोला हुन्. सबै लाइ बोला हुन्.
            अब यहाँ को मुन्त्री लाई चै त्यहि आधार मा सेक्रेटरी भन्छन जुन आधार मा नेपालाँ पर्धान मुन्त्री लाई मंतिरी मण्डल को अ- दक्ष्य भन्छन कि जस्तो लाग्छ . मसक्क त यहाँ तरुना पनि मस्कनछन हौ.

            Reply
            1. जमरकट्टेल भाउजु (क्यानाडा) says:
              October 13, 2013 at 7:58 am

              सिसिरज्यु, मेरो लेयो को बुवाले राम्ररी सुन्सेको हो. तपाई गलत हुनु हुञ्छ. मेरो भतिजी स्टेट डिपार्टमेन्ट मा काम गर्छिन फग्गी बटम मा. उसलाई त बोलाको छैन काम मा. मेरो फुपुको छोरो युएसडिए फोरेस्ट सर्विस मा काम गर्छ नर्थ क्यरोलाइना मा. उसलाई पनि फिर्ता बोलाको छैन. मेरो धादिंग को साथि को दाजु … ल भो सप्पैको राम कथा किन बताई रहनु पर्यो र, आशा छ तपाइले बुझ्नु नै भयो होला.

              तपाई अर्कै दुनिया मा हुनुहुन्च. डिफेन्स डिपर्ट्मेण्ट्को सिविलियन स्टाफ लाइ मात्र फिर्ता बोलाको हो सेक्रेटरी चक हेगल ले. कि तपाइँले डिफेन्स डिपार्टमेन्ट नै अमरिकाको पुरै फेडरल गवर्नमेण्ट भन्ठान्नु भो कि कसो.

              Reply
  2. Tee yes says:
    October 7, 2013 at 5:40 am

    तेज जी तपाइले एकदम ठिक लेख्नु भो !मलाइ पनि brooklyn मा एकचोटी एकहूल
    हिस्पेनिक केटाहरुले ग्रोसेरी बाहिर बेलुका आठ बजे नै मेरो purse लुट्ने प्रयाश गर्दा मा भागेर गइ धन्न बचेको थियो !मलाइ अहिले पनि काले भन्द हिस्पेनिक देख्दा एकदम डर लाग्छ !

    Reply
  3. बासु says:
    October 6, 2013 at 7:16 pm

    उमेशजी,
    तपाईंले अपडेटमा भन्नु भएको ‘८ लाख कर्मचारीमध्ये ४ लाखमात्र त रक्षा निकायसंग सम्बन्धित छन्’ भन्ने कुरा थप्न चाहन्छु |
    यो हेर्नुस्:
    CNN Breaking News ‏@cnnbrk 4 Oct Pentagon may bring back up to 400,000 furloughed civilian employees. http://on.cnn.com/GD90pv

    Reply
  4. Raj Kumar` says:
    October 6, 2013 at 2:56 pm

    ल ! कति हामीमात्र अरुको देखासिकी गर्ने ? हाम्रो देखासिकी गर्ने पनि त रहेछन्, त्यो पनि अम्रिका !!

    Reply
  5. achut says:
    October 6, 2013 at 9:42 am

    मार मा त जनता नै हुन् नि अम्रिकाने भएनी नेपाली भएनी हामी कहाँ त बन्द हुदा (१९ दिने) चिउरा तरकारी बाटो मै बाडेका थियौ ‘बिचरा अम्रिकाने’ हरु लाई कल्ले देला…….बरु येतै आओ ‘दुख को मानो’ संगै खाउला यो दसैँ मा…….

    Reply
  6. Sisir , USA says:
    October 6, 2013 at 4:55 am

    हिजो मात्रै एसिस्टेण्ट सेक्रेट्र री अफ डिफेन्स ब्रिफींग गर्न आको थियो अफिस मा. दुइ हप्ता मा यो समस्या समाधान हुने सम्भावना छ भनेको छ .हेरु के हुन्छ । सिविलियन्स हरु कटौती मा पर्दा काम को चाप बढेको छ। नेपाल मा जस्तै यहाँ पनि टाउके हरुकै हाना हान र तान तान ले गर्दा यो स्थिति आएको हो /

    Reply
  7. शशांक लामा says:
    October 5, 2013 at 10:29 pm

    नेपालाँ जस्तो अम्रिकाको बन्दमा तोडफोड,आगजनी भएर ल्याउन्दैन| जागिरेले टेममा तलब नपाउन सक्छ| पैसो संचय गर्ने बानी नभएका र सरकारी हण्डिमा बाँचेकाहरुलाई चाहिं केहि अप्ठ्यारो पर्न सक्छ| यो अर्थोक केहि नभएर मध्यम वर्गीय जनताको लागी राम्रो गर्न खोजेको ओबामाको कार्यक्रमलाई रीपब्लिकनहरुले देखी नसहेको हो| संघियताको बिरोध गरेर हाम्रा नेपाले रीपब्लीकनहरुले पनि भाँजो हाल्ने काम सिवाय अरु के नै गरेको छ र ????

    Reply
    1. जमरकट्टेल भाउजु (भेन्कुवर, क्यानाडा) says:
      October 5, 2013 at 10:57 pm

      तपैले टिपब्लिकन भन्नु भा होला. मेरो ज्याक्सन हाइट्स मा बस्ने जेठाजु ले भन्स्या, अम्रिका मा अब रिपब्लिकन पार्टी छैन रेन्त. उनीहरु त सबै चिया पान गर्दै फुर्सद छैन रे, वहाँले भन्सेको.

      Reply
      1. samrat~ says:
        October 6, 2013 at 6:15 am

        ओ भाउजु

        तपाइले भंस्या गर्स्या भनेर भन्न खोजेको अथवा तपाइँ को जेठाजु ले के भंस्या को होला भन्ने देखि , मेरो कुरा बुझाइ को अनुसार यी रिपब्लिकन पार्टी बाला हरु सबै याहा को राइट विङ्ग कंजर्भेतिव Tea पार्टी वाला हरु को कठ पुतली भै सक्यो अब जस्तै हाम्रो नेता हरु धोत्ति को कठ पुतली क्या. तेसैले तपाइँ को जेठाजु ले भन्न खोजिस्या के हो भने यिनी हरु को रिपब्लिकन नाम फेरिएर त्यो tea पार्टी को नाम जोडेर Tea पुब्लिकन भन्न खोजिस्या जस्तो लाग्छ भाउजु. यो हैन कि चिया पान धेरै गरेको भएर..यिनी हरु चिया पान भन्दा कफी पान गर्ने जात हुन्. बुजिस्यो हजुर ले भाउजु 🙂 न रिसाइस्योस है फेरी !

        Reply
        1. जमरकट्टेल भाउजु (भेन्कुवर, क्यानाडा) says:
          October 6, 2013 at 1:19 pm

          सम्राट बाबु, तपैले भन्नु भाको सोर्है आना सहि हो जस्तो लाग्च मलाई. तर म धादिंग बेसी मा जन्मेहुर्केकी अबला नारीलाई टी-पब्लिकन कि कफी-पब्लिकन के था? मैले त जे सुन्या तेइ भन्द्या पो त, मेरो ह्वां र ह्वां को दाजुको बीच फोनाँ गफ भईरा बेलाँ मैले सुन्या के. म त ति रिपब्लिने हरु नेपालाँ कांग्रेस, एमाले, माउबादी ले दशैं ताका चियापान समारोह गर्या जस्तै गर्या भन्ठान्या क्या.

          बरु सुन्नुन, तपाइको नाम औधि राम्रो लाग्यो. मेरो फुच्चे लियो को भाइ भो भने उसको नाम सम्राट राखनु पर्च.

          तपाई संग किन रिसाउनु बरै?

          Reply
    2. Tej(Tj) says:
      October 6, 2013 at 3:01 am

      अमेरिका को जस्तो नेपालमा columbine high ,virginia tech ,red lake high massacre आदि इतादी जस्ता घटना हुदैन नि , school मा पदन गा होकी war मा गा हो पत्तै नहुने . नेपाल अबिकषित भएपनि यहाँ east st. luis , flint ,detroit , camden(nj) , new orleans ,oakland , philadelphia( aka killadelphia), baltimore आदि इतादी सहरहरु जहाँ हिड्नु त के drive by गर्दा पनि एक पल्ट सोच्नु पर्छ. काले र लटिनोले कुन बेला १० dollor लागि ठोक्ने हो पताई हुदैन. अनि white community मा घुलमिल भनेको आकाश को फाल आखा तरी मर हो , white ले अरु race लाई हेय को द्रिस्थी ले हेरछ यिनी को आफ्नै white circle हुन्छ .

      तेसैले हरेक देशको राम्रो र न राम्रो दुवै पाटो हुन्छ

      तेसैले धरै न खोकौ शासंक लामा जी कम्युनिष्ट भएर , यो नेपालमा बन्द तोडफोड आगजनी गर्ने तपाई कै महान पार्टी (खाओबादी ) हो . हामी आम नेपाली बन्द को घोर बिरोधि हौ ,कहिले पनि तोडफोडमा विश्वास गर्दैनूउ

      Reply
    3. Shree... says:
      October 6, 2013 at 7:24 pm

      येंह त गोलि चल्छन् क्यारे, ढुंगा मुठाको के कुरा गर्नु, ढुंगा पाउनु पर्यो नि पहिले!

      Reply
  8. bhawanee tiwari says:
    October 5, 2013 at 6:17 pm

    हन अस्ति भर्खर हो जस्तो लग्छ, नेपालीले पनि अमेरिकामा राजनीति गर्न त्यहाँको राजनैतिक पार्टीको सदस्य हुन् गईरहेको छ भनेर यहि माइसंसारमा पढ्या जस्तो लाग्छ /
    मोरा हरुले यति चाँडो नै अमेरिकालाई नेपाल जस्तो बनाऊछन होला भन्ने त सोचेको थिइन / आखिर नेपाली राजनीतिको प्रभाव त पारि छाडेछन नि अमिरिकी राजनीतिमा /

    Reply
  9. द्रोण says:
    October 5, 2013 at 6:02 pm

    सरकार ठप्प पार्ने , बन्द कसरि गर्ने ,जनतालाई कसरि लाचार मजबुर पार्ने आदि बिसय मा तालिम लिन अमेरिकीहरु नेपाल आए हुन्छ |

    Reply
  10. Madhab Bhattarai says:
    October 5, 2013 at 4:00 pm

    राष्ट्रपति बाराक ओबामा पनि नेपाल आएका छैनन् / बिपक्षि दल रिपब्लिकन पार्टीका कुनै नेता पनि यहाँ आएका छैनन् / तर हलो अड्काएर गोरु चुट्ने, साँढेको जुधाई बाच्छाको मिचाई भने जस्तै यो वा त्यो बहानामा येसरी वा तेसरी जसरि हुन्छ जनतालाई सकेसम्म दुख दिने र आफ्नो दुनो सोझ्याउने नेपाली फर्मुला यी मूला डेमोक्रेट र रिपब्लिकनहरुले कसरी पत्ता लगाएछन / नेपालमा पनि एउटा आयोग गठन गर्नु परेयो / सत्य तथ्य पत्ता लगाउनु परेयो / नेपाली स्टाइल तेतिकै चोर्न त् पाइन्न है ………………….

    Reply
    1. Rajan Upriti says:
      October 5, 2013 at 11:23 pm

      हाम्रा नेतामोराको “patent” दर्ता छ यो प्रविधिमा त, उनीहरुलाई रोयल्टी चाहिन्छ 🙂

      Reply
    2. Lohani Indra says:
      October 6, 2013 at 12:54 am

      उनीहरु नै किन आउनु पर्यो र यति जाबो patent लिनलाइ नि. नेपाल बाटै हरेक चोटी सभा र सम्मेलनमा १ जना गए हुने ठाउँमा ११ जना जान्छन. २ जना गए हुने ठाउँमा २२ जना जान्छन. यिनीहरुले नै उपहार बोकेर लागेका होलान् नि.

      Reply
  11. पुष्प says:
    October 5, 2013 at 3:35 pm

    हामीलाई जतिसुकै हस्तक्षेप गरेनि हामीले नि त्यस्तै किन गर्नू ! बालै भएन नि ! बरू यस्ता बन्दबाट भएको क्षति कसरी पूरा गर्ने हुन् उनीहरूले; अरूका लागि अत्यासलाग्दो कुरो त यो पो छ त । उनीहरूलाई त केको टनक-टनक, मज्जाले भ्याकेशन मनाइरा होलान् !

    Reply
    1. kedar says:
      October 5, 2013 at 9:59 pm

      बिहान बेलुकाको छाक देखि मोज मस्ती आफ्नै पाखुरीको कमाइले मात्रै हन्छ पुष्प जी, नेपालमा जस्तो केहि भएन भने बाउ त् छंदै छन् नि भन्न पाइदैन / भ्याकेशन त् ६ महिना वा बर्ष दिन पछि पाउने एक्स्ट्रा तलबले मात्रै मनाउन सकिन्छ, बिना तलबको यो बन्दले त् हात मुखले चैं भ्याकेशन पाउलान जस्तो छ टनक – टनक /

      Reply
  12. Nigam NH USA says:
    October 5, 2013 at 3:29 pm

    नेपाल बन्द हुँदा साहिलीको मुस्कान बन्द भएको थिएंन.
    चौतारीमा हावा चलेकै थियो,
    साहिली को चिया पसल खुलेकै थियो,
    साथी भाई संग ठट्टा गरिदै थियो,
    नेता हरु लाई निकम्मा भनिएकै थियो,
    अहिले यो पातालमुलुक बन्द हुँदा होस् वा खुल्दा,
    हतार बन्द भएको छैन,
    साहिलीलाई त ल्याए तर उनले मुस्कान नेपालमै छोडी छिन
    चौतारी त पाए तर शितल हावा को सत्ता हिंउ को शिरिटो पाए छु
    डलर त कमाए, तर साथी-भाई अनी बा-आमाका माया गुमाए छु,
    खै यो बन्द को के कुरा गराई भो र?

    Reply
    1. सिर्जन says:
      October 7, 2013 at 9:18 am

      निगम जी,
      साहिली को मुस्कान नभएर के भो र, माहिली (Miley ) छदै छिन नि जिउ मर्काइ मर्काइ, आखा कर्काइ कर्काइ नाच्ने /

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme