Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कतारमा नेपालीको दुःख – गधालाई नेपालीले जोतेको हो कि ‘गधा’हरुले नेपालीलाई जोताएका ?

Posted on October 4, 2013October 4, 2013 by Salokya

gadha विश्वव्यापी प्रभाव रहेको बेलायती पत्रिका गार्डियनले ‘आधुनिक दासता’ सम्बन्धी समाचार सामाग्री शृङ्खला तयार पार्ने क्रममा अहिले कतारमा नेपाली आप्रवासी कामदारहरुले पाइरहेको दुःख खुलासा गरिरहेको छ। युएनमा सम्म यो कुरा उठेको छ। गार्डियनले ती सत्य उजागर गर्नुअघि पनि नेपाली छापामा यस्ता दुःख आएकै थिए। तर यसले अहिले जस्तो विश्वव्यापी प्रभाव पार्न सक्दैन थियो। अहिले कतारलाई विश्वकप आयोजना गर्न नदिन यस्तो मिसन चलाइएको भन्नेहरु पनि छन्। होला, तर नेपालीलाई दासको व्यवहार गरिएको, असुरक्षित काममा लगाइएको र तलब नदिई ठगिएका कुरा झुटा हैनन्। निमुखा नेपालीको पीडामा विश्वको ध्यान जानु सकारात्मक कुरा हो। तैपनि केही नेपालीलाई तातो न भुत्लोसँग कतारको विश्वकपको माया लागेको देखेर सहन नसकी एक जना पाठक राजले यस्तो जवाफ फर्काएका छन्– ‘ए दाजै, कतार वा कुनै देशमा फूट्बल वर्ल्डकप आउँदैन भने तिम्रो किन टाउको दुख्छ? त्यो आवोस् वा नआवोस्, हाम्रो सरोकारको विषय होइन। तिमी एक नेपाली हौ भने नेपालीको सरोकारको बिषयलाई ध्यानमा राख।’


कतारमै इलेक्ट्रिसियन भिसा लिएर त्यहीँ बसेर केही वर्ष पत्रकारिता गरेका कान्तिपुरका पत्रकार देवेन्द्र भट्टराईले धेरै समाचार त्यहाँका कामदारले पाएको दुःख बारे लेखे। इलेक्ट्रिसियन भिसा किन भन्नुहोला, पत्रकारको भिसा नदिएर नि। लुकिछिपी पत्रकारिताको काम गर्नुपर्थ्यो उनले।

त्यतिबेला कतारमै रहेका रमेशबाबु श्रेष्ठ भन्छन्-

तपाइँहरुको आशय खाली वर्ल्ड कप हुन नदिन मात्र गार्डियनले यो अतिरन्जित समाचारहरु बनाइरहेका हुन्, यसमा कुनै सत्यता छैन भन्ने छ ? कृपया वास्तविकता नलुकाउनुस, माटोले सराप्छ, रगतले भिजाउँछ, आमाले धिक्कार्छ!

हाम्रो श्रमिकहरुको बेहाल मैले आफै देखेको भोगेको छु र कतिपय प्रमाणहरु अहिलेसम्म हामीसँग सुरक्षित छ। के गर्ने, जति शोसित, पीडित भएनि आवाज उठाउन पाइँदैन। पासपोर्ट साहुले नै राखेको हुन्छ। अलिकति बोल्न खोज्यो डिपोर्ट गर्ने धम्की आउन थाल्छ। एम्बेसी गयो सुनुवाई नै हुन्न। नेपाली समुदायका ठूला भनाउँदाहरुलाई भन्न गयो – उनीहरु नै दलाल र कतारीहरुसँग नजिकिन उनीहरुले नै पोल लगाई जेलमा पुर्‍याई दिने आदि आदि। जब कान्तिपुर प्रवास कतारबाट सुरु भयो, तब सुरु हुन्छ विभिन्न खाले समस्या लिएर आउने थरिथरि नेपाली दुखियाहरुको लर्को। देवेन्द्र भटराई कान्तिपुर संवाददाता हुनुहुन्थ्यो, जो बडो निडर भै समाचार लेख्नुहुन्थ्यो। तर बिस्तारैबिस्तारै उहाँलाई हाम्रै समाजका ठूला भनाउँदा दलालहरुबाट धम्क्याउने काम सुरु भयो। त्यसपछि हामी २-४ जना उहाँलाई सहयोग गर्न तत्पर भयौँ। र, सहयोगीको रुपमा विभिन्न क्षेत्रमा काम गर्ने दु:ख पाएका नेपालीहरु माझ लुकीलुकी पुग्न थाल्यौँ।

स्मरण रहोस्, कतारमा यसरी कार्यक्षेत्र क्याम्पमा गएर समाचार संकलन र प्रकाशन गर्न गैरकानुनी मानिन्छ। फिर्ता गरिएका नेपाली राजदूत मायाकुमारी शर्माले पनि एक पटक एउटा मात्रै क्याम्पमा गएको अन्तर्वार्तामै बताएकी छिन्। क्याम्पमा जाँदा त्यो बीचमा मैले जे जे देखेँ, त्यो वर्णन गरिसाध्य छैन। कृपया देवेन्द्र भटराईद्वारा लिखित “रेगिस्तान डायरी” किताब र केसाङ छेतेनद्वारा निर्मित ‘इन सर्च अफ रियाल” डकुमेन्ट्री हेर्नु होला।

त्यहाँकै कथाव्यथा समेटेर उनले तीन वर्षअघि ‘रेगिस्तान डायरी’ पुस्तक निकालेका थिए। लेखकको अनुमतिमा त्यही पुस्तकमा रहेको एक नेपालीको पीडा यहाँ साभार गर्दैछु-

गधा जोत्दैछु यतातिर !

book cover मध्यरातमा भ्यागुत्ता कराएको एकोहोरो ट्वार-ट्वार आवाज सुनियो। छिनभरमा गधा कराएको हिंक-हिंक सुनिन थाल्यो। कतारको भित्री कुनोजस्तो लाग्ने जमलियाको एउटा मजरामा हामी छिरेका थियौं। गोर्खा जिल्लाबाट आएका दाजुभाइका माझ सानोतिनो कटेरोमा लाम लागेर सुतेका बेला आफ्नो गाउँघर पुगेको झल्को मिल्यो। साउने संक्रान्तीको भोलीपल्ट भेट भएका दाजुभाइहरु केही हँसिला देखिन्थे, दुरोदेशमा भर्खरै संक्रान्ती मनाएकोमा। उनीहरुले अघिल्लो दिन मात्रै १० जनाको भेलामा ४ केजी खशीको शिकार र पेय पदार्थहरु खाएर संक्रान्ती मनाएका रहेछन्।

रातमा बाहिर निस्कँदा सिजर र खजुरका बोटहरु मास्तिर जूनको उज्यालो छाएको थियो। मजरामा पानी लगाउन खनिएको खाल्डो वरपर गाउँको साउने झरी भुलाउने गरी भ्यागुता कराइरहेका थिए। हाम्रातिर भए पर्तिरको गोठमा हल गोरु र गाई हुने थिए, यहाँ भने जुनेली छायाँमा गधाको आकृति देखियो।

‘हजूर मैं हुँ, यो गधाको हली–रेसम रोकाया नेपाली। बर्ष ३५। घर- गोर्खा, अश्राङ’,परिचयको पंक्तिमा भोलीपल्ट बिहान गठिलो ज्यानका दारीवाल रेसम सामुन्नेमा आए। रेसम कतार छिरेको डेढ बर्ष भएको रहेछ। सुरुका सात महिना उनी एक कम्पनीमा लेबर बने जहाँ उनलाई न भिसा लाग्यो, न मेडिकल भयो। सात महिनामा मुश्किलले ४ महिनाको मात्रै तलव पाए। आफ्नै दाइले निकालिदिएको तनुवा भिसामा यता आएका रेसमले जमलियाको मजरामा आफ्ना गोर्खाली दाजुभाइहरु रहेको पत्तो पाए र, यता आए। ‘त्यही हो हजूर, बिहानभर शब्जी बगैंचामा गोडमेल, उखेल्ने, गाडीमा हाल्ने काम गर्छु। दिउँसो १ बजेदेखि भने ४/५ घण्टाजति गधा जोत्छु,’उनले संक्षेपमा सुनाए। भगौडा कामदारका रुपमा मासिक ७ सय रियाल तलव तथा खानाका भरमा उनी गधा-हली बनेका छन्।

‘म खासमा कार्पेन्टर काममा आएको हुँ, त्यो काम देख्न समेत पनि पाइएन,’रेसमले सुनाए। अश्राङ गाउँमा बसेका चार छोराछोरी, श्रीमतीसहितको परिवारलाई थोरैतिनो सुख दिलाउन खाडी छिरेका रेसमले कुनै दिन परिबन्दमा परेर यसरी गधा समेत जोत्नुपर्ला भन्ने सोचेका थिएनन्। उतातिर जिल्ला, देश र गैर आवासीय नेपालीमाझका प्रतिष्ठित बद्री पाण्डे खलकको खेतीमा जोतखन गर्ने बाबुबाजेको सन्तान भएपनि रेसम बढी आफ्नो लेखान्तमा विश्वास गर्छन्। ‘पढालेखा भइएन, जागिर पनि थिएन,’उनी सम्झन्छन्–‘कर्म र भाग्यभन्दा पनि गरिवीका कारण यो मरुभूमीमा गधा जोतिरहेको छु हजूर!’

एक बर्षदेखि गधा-जोताइको अनुभव बोकेका रेसमलाई सोधियो–‘पहाडी पाखोमा गोरु जोत्नु र यता गधा जोत्नुमा कुन सजिलो छ?’
gadha
‘गोरु वा गधा, जे को भएपनि हली बन्नु उस्तै हो’ भन्दै उनले सुरुमा हातभरि उठेका ठेला देखाए। त्यसपछि सुनाए–‘पहाडी भिरपाखामा गोरु जोत्नु नै सजिलो हो नि!’ किन त? ‘गधाको खराबी के छ भने यसले आफ्नो-पराइ छुट्ट्याउँदैन। मैंले एक बर्षजति भयो यो गधालाई जोत्न थालेको, तर मलाई टोक्छ पनि। लात्ती पनि हान्छ। यसलाई रोटी र घाँस पनि नित्य ख्वाउछु तर यसले गुन कहिल्यै सम्झेको छैन’,उनले भने। उनको अनुभवमा गोरुले सधैंजसो ठीक्क मेलो लिएर हिंड्छ। तर गधा भने उसलाई अलिक भार पर्‍यो कि त मेलो छाडिहाल्छ। ‘नामै त गधा’, खिसिक्क हाँस्दै रेसमले थपे–‘फेरि यो गधा एकदमैं हरामी छ के सर! मेलोबाट भाग्दा १५/२० किलोमिटर भागीदिन्छ, यो गरममा कुद्दाको दास्ती हुन्छ।’

जमलियाको यो मजरा वरपर अचम्मको संयोग पनि फेला पर्‍यो। मजराका मुदिर गोर्खा, ताप्लेका रामप्रसाद पनेरु पुर्व प्रहरी पेशाका जवान थिए भने दिपक घर्ती नेपाली सेनाका भगौडा जवान थिए। उनै रामप्रसाद पछिल्ला बर्षमा माओवादी कार्यकर्ता बनेका थिए भने सँगै भेटिएका बर्दियाका कविराम कँडेल सरकार-माओवादी द्वन्द्वको चपेटामा परेर डेढ बर्षजति जेल परेका पात्र थिए। ‘शायद नेपालमैं भएको भए द्वन्द्वको चेपुवामा परेर मरिसकिन्थ्यो होला,’४४ बर्षिय कँडेलले भने।

अब फेरि रेसम रोकायाकै गाउँघर र घरपरिवारका कुरा गरौं न। न पासपोर्ट, न भिसा न अरु केही कागजात आफूसँग रहेको फुक्काफालको अवस्थामा रहेछन् रेसम। खाडी छिर्न गाउँबाट लिएको ऋण, ऋणको ब्याज र ब्याजको स्याज तिरिसक्न पनि अझै बाँकी रहेछ। कतिसम्म हैरानीको कुरा भने उनीसँग भएको पाखाबारी, गाइबस्तु, कुखुरा र घर बेच्दा समेत पनि यता आएको ८० हजार रुपैंयाको जेथो नउठ्ने अवस्था रहेछ। ‘अरु सबै कुराहरु यताको दुःखले भुलाउँछ हजूर,’उनी भन्छन्–‘अब आफ्नो घर कसरी, कहिले, कुन ताकमा फिरिएला– केही पत्तो छैन।’

रेसमका लागि अब बिदेशको यात्रा ‘फस्ट’ पनि र ‘लास्ट’ पनि हो। विदेशको यो हैरानी उनी झुक्किएर पनि दोहोर्‍याउन चाहँदैनन्। उसो त मजरामा भएका सबै नेपाली दाजुभाइहरु हरेक साँझ एउटै भाँडोको खान्की खान्छन्। उनीहरु आफूहरुसँग रहेका उस्तै लाग्ने धेरै दुःख र थोरै सुखका कथाहरु एकअर्कामा सुनाउँछन्। अनि बढो दुःखले भरिएको मनमुटु लिएर ओछ्यान छिर्छन्। ‘अब कतारले बाइबाइ गरेको छ सर’,रेसमले फेरि पनि गह्ौं स्वरमा सुनाए–‘यो मनमा खजुरको काँडासरी खिल गढेको छ। कुन दिनदशा लागेर यो मरुभूमीमा गधा-हली बन्न आइयो नि भन्ने भैरहन्छ।’

पर्तिरको मजरामा गोर्खाली दाजुभाइको एउटा अर्को हुल पाकेको खजुर टिप्नमा व्यस्त थियो। ‘यो मरुभूमीको एउटै गतिलो स्वाद भनेको यही हो,’गोर्खाकै मेघप्रसाद पनेरु भन्दै थिए। खजुरको रुखबाट तल वर्लिदा तिनको हात महसरी रसले भिजेको थियो। खजुरको फेदमा मोरङ लक्ष्मीमार्गका दिनेश चौधरी पानी हाल्दै थिए भने सनपाटको हरियो तरकारी केलाउने हतार पनि सुरु भैसकेको थियो।

मजराको बिहानीमा जब दाजुभाइहरु पदिना काटिरहेका थिए, त्यहीबेला यो संवाद जारी थियो। त्यो हुलमा पुर्व आर्मीका जवान दीपक घर्ती केही बोल्न चाहिरहेका थिए। गोर्खादेखि बझाङसम्मका सैन्य अनुभव उनीसँग थिए, तिनमा थोरै सुखद र धेरै दुःखद थिए। अविवाहित दीपकले गाउँले मायालुका कुरा पनि सुनाए। यो मरुभूमी र मजराबाट कुनै दिन घर फिरेर घरजम गरिएला भन्ने सपना उनीसँग ज्यूदो थियो। उँटको बथान हुँदै उँट-रेसबाट उम्केर यो मजरामा आइपुगेका उनले आफ्नो नाममा ‘टेन्सन’ टाइटल राखेका रहेछन्। स्वभाविक थियो– यसरी टाइटल राखेपछि यिभित्र केही न केही ‘राज’ लुकेकै हुनुपर्छ भन्ने लागेको थियो। हो रहेछ। पसिनाले भिजेको भित्री खल्तीबाट एउटा चिकर्टो झिके तिनले र, भने–‘सर यसो मिलाएर छापिदिनुहोला है।’

‘प्रेम अनि बैंश भनेको लुतो हो

जो बेला-कुबेला चिलाउँछ

अनि जतिजति कन्यायो

उतिउति आनन्द आउँछ।’

(पत्रकार देवेन्द्र भट्टराईको रत्न पुस्तक भण्डारबाट तीन वर्षअघि प्रकाशित ‘रेगिस्तान डायरी’ पुस्तकबाट साभार अंश।)

10 thoughts on “कतारमा नेपालीको दुःख – गधालाई नेपालीले जोतेको हो कि ‘गधा’हरुले नेपालीलाई जोताएका ?”

  1. krishna says:
    October 7, 2013 at 12:05 am

    धनि गरीब लाइ जोत्छन गरीब गधालाई …..

    Reply
  2. jhalak says:
    October 4, 2013 at 6:24 pm

    मा दोहा कतार मा काम गरेको १० वर्ष पुग्न लगेय्को छ. घर जना दिनु भनेर रेसिग्न गरेको पनि ३ महिना बी सकियो. विस सकिएको झन्डै १.५ महिना भयो. जना दिदैनन. क यो मानौ अधिकार को हनन होइन र सोसन होइन.

    Reply
  3. kusum says:
    October 4, 2013 at 12:09 pm

    ५० इन्चको टि.भी. अगाडी बसेर खसिका ह्य्कुला र व्हिस्की पिउदै विकेन्ड मनाउने बहानामा इस्पोर्ट्स च्यानल हेर्नेहरुको कथा होइन नि यो सर !!!! रात-दिन दस नंग्रा खियाउदै पसिनाको धारो बगाउदा नि आफ्नो ज्याला नपाउने धेरै पिडित नेपालीहरुको बास्तबिकता हो. पुगी सरि आए कसलाई रहर छ र विदेशिने!!!

    Reply
  4. Raju Rana - Mahendra says:
    October 4, 2013 at 10:00 am

    पैसा का दलाली हरु अनि जसले कतार मा “हामी जोड दिएर भन्न चाहन्छौँ कि सबै नेपाली कामदारहरु सुरक्षित र पूर्ण सम्मानित छन्।”भन्ने हरु ले बिसय बस्तु को धरातल मा गयर अनुशन्धान पछि मात्र निस्पक्ष्य भयर कुरा गरि दिया मा मजदुरी गरेर आफ्नो पेट पाल्ने लाखौ श्रमिक हरु को भलो हुने थियो. अस्ति कतार सरकार र २ ४ जना नेपाली दलाल हरु ले जुन बिज्ञप्ति निकाले त्यसमा कुनै सत्य्टता छैन …नमरी स्वर्ग देखिदैन भने झैँ जसले दुख र पिडा को एक चौती अनुभब छैन तिन ले मेरै गोरु को बार्ह टक्का भने कुरा गर्ने यसमा नेपाल सरकार ले छिटो भन्दा छिटो आफ्नो ध्यान लैजानु जरुरि छ

    Reply
  5. Tenzing Gaba says:
    October 4, 2013 at 9:58 am

    हामी संसारको जुन सुकै कुनामा गए पनि प्रताडित भईरहेको छौ वा हुन्छौ,
    त्येसको एक मात्र कारण हो ……………………………. …… “हाम्रो गरीबी”

    जब सम्म हामीले हाम्रो गरीबीको उपचार आफै गर्न सक्दैनौ तब सम्म प्रताडनाबाट उन्मुक्तीको कल्पना नगरे पनि हुन्छ /
    संसारमा आज सम्म कुनै पनि संघ-सस्था-रास्ट्रले मित्ररास्ट्र-वा-छिमेकी रास्ट्रको गरिबी निवारण गरिदिएको रेकर्ड नै छैन र ग्यारेन्टीको साथ भन्न सक्छु भबिष्यमा पनि त्येस्तो रेकर्ड कायम हुने छैन /

    त्येसको लागी बकम्फुसे गफ छोडेर हामी आफैले गर्नु पर्छ ………….आर्थिक क्रान्ती !!!

    Reply
    1. Tenzing Gaba says:
      October 4, 2013 at 10:30 am

      “आर्थिक क्रान्ति”
      राजा महाराजा देखि नेता-जननेता भनाउदाहरुले नेपाललाई बिकसित एबम सम्पन्न बनाउने भाषण ठोक्नु थालेको आधा शताब्दी भन्दा बढी भैसक्यो र अझै घोषणाहरु अनवरत रुपमा भै नै रहेको छ तर यहि अबधिमा हिजो हाम्रो भन्दा नाजुक आर्थिक अवस्था रहेको मुलुकमा, आज हामी चौकीदार-कुल्ली जस्तो काम गर्नु जानु पाउदा आफुलाई भाग्यमानी ठान्छौ, त्येस्तो “चौकीदार-कुल्ली” बन्ने हजार कोटा आएमा लाखौ आवेदकको भिड नियन्त्रण गर्नु प्रहरी नै परिचालन गर्नु परेको कसलाई थाहा छैन होला ?
      आर्थिक उन्नति रहितको अन्य उन्नतिहरुको जति नै लामो फेहरिस्त तयार भए पनि आर्थिक दुर्गतिले त्यी उपलब्धिहरुलाई सजिलै ओझेल पार्न सक्छ / यो तथ्य लगभग सबैले बुझेको नै छन् तर पनि आर्थिक अबस्था निरन्तर किन खस्की रहेको छ त् ? उत्तर बडो सरल छ, हामीसंग आर्थिक क्रान्तिको अबधारणा नै छैन / “आर्थिक क्रान्तिको अबधारणा” को नाममा हामी संग सुगा रटाई मात्र छ,
      जस्तो:
      # जल-बिद्युत
      # पर्यटन
      # औधगीकरण गर्न बिदेशी लगानीलाइ आकर्षित गर्ने

      जल-बिद्युत:
      बिद्युत उत्पादन गरेर विदेशीलाई (भारत) बेच्ने हाम्रो आर्थिक योजना प्राय सबैको मुखमा झुन्डिएको हुन्छ तर यो कत्तिको सम्भब छ ? देशको नेता अनि योजनाबिदहरु मेरो २ प्रश्नको उत्तर कृपया दिनुहोला
      १. बिदेशी (भारत) ले हाम्रो विद्युत् खरिद गरिदिएनन भने के गर्ने ? (भारतको चरित्र हेर्दा यसको उच्च सम्भावना छ)
      २.जल बिद्युतको प्रभावकारी बिकल्प निस्चय पनि सम्भब छ / यसको विकल्पको निमित्त बिश्वब्यापी रुपमा नै कैयन खोज-अनुसन्धान भै रहेको छ, ढिलो-चाडो मात्र हो, यसको बिकल्प जन्मन्छ-जन्मन्छ / भोलि जल बिद्युत भन्दा सस्तो-सुलभ -सहज उर्जाको श्रोत खुल्यो भने ? हामीलाई देखाइएको सपनाको बिकल्प के हुने ?

      पर्यटन:
      नेपालको प्राकृतिक सुन्दरता, भौगालिक-जैविक-सास्कृतिक बिबिधता पर्यटनको लागी अत्यन्त उपयुक्त छन् तर तिनको अबलोकन गराएर हामीले फाइदा लिन सकिने सम्भावना कत्तिको छ त् वा त्यी मनमोहक दृश्य अनि अनुभब लिन एउटा पर्यटकले के कस्तो मुल्य चुकाउनु पर्छ ? के त्यी मुल्य चुकाउनु पर्यटकहरु राजी होलान त् ? आउनुस यस बिषयमा पनि चर्चा गरौ / सामान्यतया एउटा पर्यटक भन्नाले दैनिकीवाट तनाबग्रस्त भएर त्येस्बाट उन्मुक्ति पाउन वा उच्चाट लाग्दो एकाग्रतालाई तोड्नु आफ्नो थात-थलो छोडेर हिडेको मनुवाहरु भन्ने बुझ्नु जरुरि छ र मुख्य कुरो उनीहरुको उदेश्य दैनिकीबाट उत्पन्न तनाबवाट उन्मुक्ति हो भन्ने बुझ्नु पर्छ / अब भन्नुस एउटा पर्यटक नेपाल भित्रिए पछी के कस्ता तनाब बेहोर्न बाध्य छन् ?
      # असुरक्ष्या,
      # फिर्ती मितिको अनिश्चितता,
      # फोहोर मैलोद्वारा संक्रमित हुने खतरा
      यस्ता जोखिमहरु नेपाल आउने हरेक पर्यटकले बेहोर्नु पर्ने हुन्छ र यस्तो जोखिम मोल्न कति पर्यटक तयार होलान ? यो प्रश्न अत्यन्तै मननीय छ / यसको अलावा अर्को कुरो सामान्यतया एउटा कामदारले बर्षमा २-३ हप्ताको हाराहारीमा मात्र बिदा पाउछ र त्येसको केहि समय उनले आफनै घरमा आराम गर्ने, मित्र-नातागोता भेटघाट गर्ने, अन्य घरायशी चाजो-पाजो मिलाउने समय कटाएर बचत भएको समयमा उ घुम्न निस्कन्छ अर्थात् उ संग घुम्ने समय बर्षमा एक पटक मात्र एकमुस्ट बिदा लिदा पनि १ हप्ताको हाराहारीमा मात्र हुन्छ / त्यो एक हप्ता समयमा नेपाल भ्रमण गर्न पर्याप्त छ कि छैन ? संसार धेरै नै गतीशील छ त्येसैले “समयको सवाल” धेरै ठुलो कुरो हो , यो धेरै गहन प्रश्न बारेमा हामीले खै सोचेको ? अर्को कुरो, समान समय र द्रब्य खर्च गर्दा एउटा पर्यटकले नेपालमा प्राप्त गर्ने सेवा सुबिधा मनोरंजन र अर्को गन्तब्य पाउने सेवा सुबिधा मनोरंजनको बारेमा के उनीहरुले तुलना नगर्लान ? सधै सगरमाथाको चुचुरो र लुम्बिनीको मैदान देखाएर मात्र पर्यटन फस्टाउदैन भनेर हामीले कहिले बुझ्ने ?

      औधगीकरण गर्न बिदेशी लगानीलाइ आकर्षित गर्ने:
      लगानी भन्ने बित्तिक्कै मुनाफा को कुरो आउछ, जब नाफा हुदैन लगानी गर्न कोहि पनि आउदैन / अझ त्यति मात्र होइन जता धेरै मुनाफा आर्जन हुन्छ लगानी त्येतै जान्छ यो सामान्य सिधान्त हो / अब भन्नुस, भारत-चीन-बंगलादेश-वियतनाममा लगानी गर्नु भन्दा नेपालमा लगानी गर्यो भने लगानी-कर्ताले के फाइदा बढी पाउछ ? जब सम्म सरकारले “यो यो फाइदा हुन्छ” भनेर लगानीकर्तालाई सम्भावना देखाएर बिश्वाश दिलाउनु सक्दैन, लगानी भित्रिने कुरो फगत गफ बाहेक केहि पनि होइन/ आज हामी “यो-यो फाइदा हुन्छ” भनेर भन्न सक्ने अवस्थामा छौ ? होइन भने बेतुकको गफ भनेको जनतालाई ढाटेको हो कि होइन?

      उपर्युक्त यस्ता बकम्फुसे गफ (आर्थिक अबधारणा) ले गर्दा नै देशको आर्थिक स्थिति जर्जर अबस्थामा छ / यस्ता सुगा रटाइ नाराहरुले मात्र कदापी हाम्रो अर्थतन्त्र सुध्रदैन, हामीले नया अबधारणा ल्याउनु सक्नु पर्छ, नया सम्भावना पहिल्याउनु सक्नु पर्छ वा कम्तिमा पनि माथिको अबधारणाहरुलाई ठोस योजना सहित पुनर्विचार गरिनु पर्छ / फेद न टुप्पोको भाषण अनि विकासे बकम्फुसे गफको सट्टा केहि नया परियोजनाको अबधारणा आजको आवस्यकताको हो /

      कैयन सम्भावना मध्ये धेरैपटक उच्चारण गरियको पर्यटन प्रबर्धनको गफलाई “गफ” मा मात्र सिमित नगर्न पर्यटन ब्यबसायलाइ नया शीरा बाट सोच्नु पर्ने आजको आवस्यकता हो / धार्मिक,सास्कृतिक,व्यवशायिक, स्वास्थ्य पर्यटनको अपार सम्भावना बोकेको हाम्रो देशमा अहिलेको लागी मात्र प्राकृतिक पर्यटनमा मात्र केन्द्रित भएर एउटा सानो अबधारणा प्रस्तुत गर्ने अनुमति चाहन्छु :

      Great Himalayan Trail पर्यटनको मेरुदण्ड :
      ******************************************
      पर्यटक त्येतिकै कहिँ पनि आउदैन,
      त्येसको लागी केहि बिशेष आकर्षण चाहिन्छ / सकेसम्म अरु तिर उपलब्ध नभएको आकर्षण /
      अरु संग नभएको हामि संग के छ त् त्येस्तो ?
      त्येसको सरल उत्तर हो ….. उचाई (altitude).
      संसारमा प्राय जसो सबै मुलुकमा ४०००-५००० मिटरको उचाईमा अत्यन्त आकर्षक मानिएको HIKING सम्भब छैन किनकी ३००० मि भन्दा माथि सधै हिउ जम्ने गर्दछ तर हिमालयको दक्षिण तर्फ ५००० मिटर सम्म ६ महिना सम्म हिउ जम्दैन यो प्रकृतिको बरदान नै हो भन्दा हुन्छ / नेपाल-भारत-पकिस्तान-अफगानिस्तान-भुटानमा मात्र यो सम्भब छ / तर भुटानको भौतिक पूर्वाधार नेपालको भन्दा नाजुक भएकोले भुटानमा त्यो हाललाई सम्भब छैन भने भारतमा जम्मु-कास्मीर युद्द ले गर्दा त्येता कोहि पनि जान रुचाउदैनन / अफगानिस्तान-पाकिस्तानको कुरो मैले भनिराख्नु नपर्ला / त्येसैले high altitude hiking को अत्यन्त ठुलो सम्भावना बोकेको छ नेपालले किनकी यसको सम्भावना अन्यत्र छदै छैन/

      त्येसैले Great Himalayan Trail को अबधारणालाई महत्वकोसाथ अघि सारियो भने मात्र १ वटा योजनाले देशमा ठुलो परिवर्तन आउन सक्छ / त्येसको लागि पुर्ब मेची देखि पश्चिम महाकाली सम्म “उच्च-पहाडी गोरेटो मार्ग” को निर्माण गरिनु पर्छ जसमा पदयात्रा गर्दा हाम्रो उच्च हिमाली श्रीखलाहरुलाई नजिक बाट अबलोकन गर्न अनि उच्च हिमाली पर्यावरण अनुभब गर्न सकियोस / यी मार्गमा हरेक खोला-नालाहरुमा पुल-पुलेसा निर्माण गरिनु पर्छ र अत्यन्त जोखिम युक्त स्थानहरुमा छेकबार (railing) हरुको निर्माण गरिनु पर्छ / छिचोल्न करिब १००-१५० दिन लाग्ने यो मार्गमा हरेक स्थानमा सुचना प्रबाह-बोर्डहरु, नक्सा,दुरीसूचक पाटी राख्ने व्यवस्था मिलाउनु पर्छ /
      यति एउटा गोरेटो बाटो निर्माण गर्न हामीले कसैको मुख ताक्नु पर्दैन आफ्नै श्रोत-साधन पर्याप्त छन् / माथि उल्लेख गरिएको जस्तो गोरेटो निर्माण गर्नु खासै गार्हो छैन अनि मुख्य कुरो त्यो गोरेटो मात्र आफैमा केहि पनि होइन / त्यति १ वटा गोरेटो निर्माणले मात्र केहि पनि हुदैन अर्थात् बर्तमान अवस्थामा जति पदयात्री (नेपाल आउने पर्यटकको ठुलो हिस्सा) नेपाल आइरहेको छन् त्येसको संख्यामा १-२ प्रतिशत पनि ब्रिद्दि हुदैन / त्येसको निमित्त सबै भन्दा महत्वपूर्ण हुन्छ “समानान्तर-सडक” /
      के हो “समानान्तर सडक” भनेको ?
      उच्च-पहाडी गोरेटो मार्ग संग-संगै लगभग समानान्तर “पक्कि मोटर बाटो” नै “समानान्तर सडक” हो र यो “उच्च-पहाडी गोरेटो मार्ग” अबधारणाको सर्बाधिक महत्वपुण पाटो पनि हो / यो “समानान्तर सडक” उक्त “उच्च-पहाडी गोरेटो मार्ग” संग-संगै पुर्ब मेची देखि पश्चिम महाकाली सम्म नै निर्माण गरिनु पर्छ तर ३ वटा महत्वपूर्ण कुरो के भने
      १. यी गोरेटो र मोटर बाटो एक अर्कामा हरेक २-३ घन्टाको दुरीमा एक-आपसमा भेट्टीनु र छुट्टिने (intersect and divert) हुनु पर्छ /
      २. यी गोरेटो र मोटर बाटोको बिचमा उपयुक्त दुरी कायम हुनु पर्छ अर्थात् मोटर बाटोले प्राकृतिक स्वादमा कुनै पनि प्रकारको तिक्तता उत्पन्न हुनु दिनु हुदैन /
      ३.”समानान्तर सडक” लाई उत्तर दक्षिण मोटर बाटोहरुले ठाउ ठाउमा भेटेको हुनु पर्छ जुन चाही अन्तराट्रिय आवागमन केन्द्रसंग जोडिएको हुनु पर्छ / अर्थात् कुनै पनि पर्यटकले जुनै कुनै स्थानबाट पनि यात्रा सुरु गर्न सकोस वा यात्रा समाप्त गर्न सकुन /

      यति एउटा पूर्ण “उच्च-पहाडी गोरेटो मार्ग” को निर्माण गर्नु असम्भब पक्कै पनि छैन तर एउटा मात्र यो सडकले सम्पूर्ण नेपालको पर्यटन क्षेत्रमा अझ भनौ नेपालकै आर्थिक बिकाशमा कायापलट हुन्छ /
      कसरी ?
      १. छिचोल्न करिब १००-१५० दिन लाग्ने यो पद -मार्गमा हजारौ-हजार Intersection and Diversion point (बाटो भेटिने र छुट्टिने केन्द्र) हुनेछन अनि त्यी प्रत्येक केन्द्रहरु पर्यटन ब्यबसायको लागि उपयुक्त हुन्छन / त्यहा होटेल, रेस्टुरा, स्वास्थ्य केन्द्र जस्ता ब्यबसायले राम्रो आम्दानी गर्ने कुरोमा ढुक्क हुन् सकिन्छ / त्यी स्थानहरुमा लगानी गर्न न त् ठुलो लगानी कर्ता नै चाहिदैन / सानै लगानी अझ स्थानीय स्तरमा खोलिएको होटेल, रेस्टुराहरुले धेरै अवसर प्राप्त गर्न सक्छन /
      २. “समानान्तर सडक” मा “मोटर-बस” वाट उच्च-हिमाली अनुभब सहित दृश्याबलोकन गर्ने ब्यबस्था मिलाउनु सकिन्छ (हाल को mountain flight जस्तै)/ यसको लागि निश्चित सुल्क लगाएर मनग्य अर्थोपार्जन हुनु सक्छ / अनि यी ब्यबसायको निमित्त ठुलो अनि अन्तर रास्ट्रिय लगानी कुर्नु पनि पर्दैन / यस्ता खालको ब्यबसायको निमित्त हाम्रै देशको मध्यम बर्गीय -निम्न मध्यम बर्गीयहरुको पुजी परिचालन येथेस्ट हुन् सक्छ र पुजी परिचालनले अर्थ तन्त्रमा कत्तिको ठुलो महत्व राख्छ त्यो त् भनि राख्ने पर्दैन /
      ३. यो पद -मार्गमा हजारौ-हजार Intersection and Diversion point हरुमा संचालित होटल-रेस्टुरा ब्यबसायहरुमा स्थानीय उत्पादनले राम्रो र सहज बजार पाउनेछन्, परिणाम स्वरुप त्यी उत्पादक किसान बर्गले पनि पर्यटन उद्योगको फाइदा लिन पाउनेछन /
      ४. Paris-Dakar Rally अनि Tour de France जस्ता साहसिक खेलहरु जस्तै Himalayan Rally / Himalayan tour / Cross -Himalayan mega marathon आदि जस्ता कार्यक्रम त्यी “समानान्तर सडक” अनि गोरेटोमा आयोजना गरेर रास्ट्रिय गौरब अनि ख्याति प्राप्त गर्न सकिन्छ /

      यी यस्ता सम्भावनाहरु अबशम्भाबी छन्,
      लन्डन शहरमा मात्र लगभग २ करोड, पेरिसमा ३ करोड, हंगकंगमा ४ करोड पर्यटक बर्षेनी भित्रिन्छन / हामी त्यति नै भित्राउन त् नसकौला तर २०-२५ लाख मात्र पर्यटक भित्राउनु सक्यौ भने (जुन सम्भब अनि सहज नै छ) पनि हाम्रो देशको कायापलट हुन्छ/
      लौ पर्यटक ब्रिद्दि नै भएनन् भने पनि के भो त् ? देशमा पूर्वाधार त् बन्यो नि घ्यिउ कहा पोखियो ? आफ्नै भातमा /

      जदौ
      तेन्जिंग गाबा

      Reply
  6. बशन्त राज says:
    October 4, 2013 at 9:54 am

    यी खाडी अनि अरबका मुसलमानहरु अन्य देश को मुसलमान माथि अलकति छानबिन या त आतंकबाद सम्बंदी अनुसन्धान गर्न सोधपुछ गर्यो भने धर्मको अधारमा मुस्लिम माथि अन्नाय गरेको उत्पिडन दीयको आरोप लागौचन अनि यु एनमा गयर हल्ला गर्ने गर्छन / उदाहरण बर्मा को मुस्लिम को कुरा बारम्बार कतार अनि साउदी अरेवीया अंग्रेजी चयनल अल अरबिया अनि अल जजीरामा बारम्बार रोहगिया मुस्लिमलाई बर्माको सरकारले अन्नाया गरेको समाचार आउछ / तर बंगालदेशमा हिन्दुहरु अनि बुद्ध धर्म को मन्दिर तोडफोड गरेको समचारले स्थान पाउदैन / यी राष्ट्रका समाचार चयनल ‘अरुको जीउ को जुम्रा देख्ने तर आफ्नो आगनको भैसी नदेख्ने” नेपाली उखान चरितार्थ गर्छन / आफ्नो देशमा बिदेशी कामदार को श्रम सोसन गर्ने अनि अरुले तिमीहरुले श्रम सोसन गर्यो भनेर प्रमाण सहित समाचार दिदा सडयन्त्र देख्ने / यदि सत्य समाचार दिनु सडयन्त्र भन्छ भने हो? सडयन्त्र नै हो / बरु नेपाले पनि यो नेपालीको श्रम सोसनको कुरा यु एनमा उडाएर हल्ला गर्नु पर्छः / बोल्नेको पिड़ो बिक्छ / कतारले पनि अल जजीरा मार्पथ दुनियामा पिड़ो बेचेको हो क्या रे / कति लाई मेरो प्रतिक्रिया अलिकै धार्मिक लाग्ला तर धर्म मात्र हैन / खाडीमा जसले जे भने पनि ३ कुरा हेर्छन त्यो हो / राष्ट्र, राजनीति अबस्था अनि धर्म / त्यसैको आधारमा काम कुरा, तलब, हेप्ने आचरण साम्म हुन्छ / यो नै तितो सत्य हो /

    Reply
  7. Damodar Dhungel says:
    October 4, 2013 at 7:36 am

    हाम्रा दाजु भाइ दिदि बहिनि हरुले कतार मा पाएको दुख का बारेमा अब बिस्व ब्यापी चर्चा पाए पछि केहि उपकार हुन्छ कि त ? केहि कमाएर ल्याउला भनेर नेपाल मा आशा गरेर बस्ने परिवारका सदस्येहरू ले अकाल मा मरेको आफन्त को लास देख्नु नपर्ला कि त ?

    Reply
  8. अभागी कान्छा "गाउले" says:
    October 4, 2013 at 4:58 am

    याँहा यस्तै छ ! के गर्नु नेता मात्रा भन्दा पनि हामि नेपाली नेपाली नै गतिला छैनौ ! कहिल्यी मिल्न सकिनौ ……..

    Reply
  9. Narayan says:
    October 4, 2013 at 3:33 am

    कुर्शी मा बसेर पैसा र भिसा को हिसाब गर्ने मान्छे लाई कसरि पो थाह हुन्छ र आशु हासो अनि पसिनाको मूल्य के हुन्छ भनेर ? ? ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme