Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथाः प्रेम प्रस्ताव (भाग- २)

Posted on October 5, 2013September 28, 2013 by mysansar

-सुरेश ‘समान’-

saturday-fiction (भाग १ छुटाउनु भएको यहाँ छ। अहिले सम्म हामीले रबीका कुरा सुन्यौ – अब पालो कब्तेको कुरा सुन्ने! कब्तेको मनमा चै के छ त? सुनौ उसैको मुखबाट)
…
क.
कब्ते – मलाई डर लायो अनी म दौडेर घर पुगेँ। ममीले के भो भनेर सोध्नुभयो। मैले ‘त्यो रबिले मलाई आइ लभ यु भन्यो’ भने – काँप्दै। भोलीपल्ट ममिले रबिलाई कराइदिनु भयो। म भित्रबाट सुनिरा’थे। मनमनै ‘खुच्चिङ’ भने। रबिको अनुहार हेर्न लायकको थियो त्यो बेला। ममीले “नडरा त्यस केटाले मज्नुगिरी उत्रिनेगरी मुखभरी गाली खाइसक्यो” भन्नुभयो भित्र आएर। मलाई ढुक्क भयो। हाम्रो घरको बाटो तर्केर स्कुल जान थालेछ अनी त।

क्लास फोर देखी क्लास टेनसम्म म नै फस्ट भएँ। ममीले क्लास एटमा छोरी फस्ट भा’को उपलक्ष्यमा रातो कुर्तासुरुवाल, सेतो सल किनिदिनु भयो। मैले त्यस्मा फोटो नि खिचे। क्लास सिक्समा मेरो आँखा कम्जोर भएकोले चस्मा लाउन थालेँ – चस्मा लाउने ठुलो रहर पुरा भयो।
“के हो कब्ते फस्ट हुने तँ, खुशी हुने अरु” प्यारएन्टस डे पछी रितुले जिस्क्याइ।
“के रे? को खुशी भयो?” मैले सोधेँ
“को रे? था नभा जस्तो गर्छे चस्मिस”
“साच्चै भन न” मैले ढिपी गरेँ।
“रबी हौ, तेरो फुरौलो” उस्ले मस्किदै भनी। “तेरो नाम स्टेजमा बोलाउना साथ रबी खुब स्वीइइ… सिठ्ठी बजाउँछ, खुब ताली पड्काउँछ, एभ्री यर!”
मैले नपत्याउँदै ओठ लोप्र्याएँ। उस्ले फेरी भनी -“नपत्याए प्रतिज्ञालाई सोध”
“हो ब्यारे, हो” प्रतिज्ञाले रितुको सपोर्ट गरी। मैले पुलुक्क टाउको उठाएर अल्ली पर बसीरा’को रबीतिर हेरेँ। उस्ले हत्तनपत्त टाउको अर्कैतिर बटार्यो।

अक्टोबरमा रबीको बड्डे रे’छ। क्लास टिचरले ‘ल आज रबीको जन्मदिनको उपलक्ष्यमा उस्ले चक्लेट बाँड्दैछ जम्मैलाई’ भनेर सुनाउनुभयो। रबी चक्लेट बाड्नथाल्यो डेस्क-डेस्कमा गएर। अरु जम्मैलाई दुईदुइ ओटा राख्दै हिड्यो-मेरो डेस्कमा चारओटा ‘वाइट र्याबिट’ चक्लेट छोडेर गयो। केटीहरुलाई के चाहियो-साउती मार्न थालीहाले, कुरै छैन! मैले त देखेको छैन तर उस्को डेस्कमा रबिले ‘R + K’ लेखेको छ रे – श्रध्दाले सुनाकी। त्यस्तै एकपल्ट क्लास टेन पिकनिक जाने प्लान मनिटर राकेशले बनायो। जम्मैजनाले ५०-५० रुपैयाँ उठाएर दक्षिणकाली जाने कुरो भयो। घरमा सुनाएँ। ममिले-“सर मिस पनि जान्छन कि तिमीहरुमात्र?” सोध्नुभयो। सरमिस पनी जान्छन भनेपछी बल्लतल्ल ३० रुपैयाँ दिनुभयो। मैले राकेशलाई पुरा पैसा छैन भने। उस्ले ‘केही छैन, बाँकी पछी देउ” भन्यो। तर मैले पछी था पाएँ बाँकीको २० रुपैयाँ रबिले ‘कब्तेलाई नभन है’ भनेर रितुको हातमा देकोरे’छ। नजानिदो पाराले, अरुको आँखा छल्दै रबिले मलाई हेरेको मैले ख्याल गर्न थालेँ। म पनि अब त उस्ले मलाई हेरिरा छ कि भनेर खुसुक्क हेर्न थालेँ छिनछिनमा। निकै बेर सम्म पनि हेरेन भने कस्तो कस्तो नरमाइलो पो लाग्न थाल्यो-किन नहेरेको होला? उस्को ‘हेर्ने रोग’ अब मलाई पो सर्यो! उ कुनै दिन स्कुल आएन भने पनि खल्लो लाग्न थाल्यो – तरकारीमा नुन नपुगेझैँ। शुक्रबार हाफछुट्टी नि नभए हुन्थ्यो जस्तो लाग्थ्यो।

एकपल्ट केटीपार्टीहरुको मिटिङ भयो – प्रतिज्ञाको घरमा। प्रतिज्ञाको घरमा सत्तेनारनको पूजा ला’को थियो र जम्मै केटीहरुलाई बोलाकीथी प्रशाद खान। रबी पनि आ’को छ कि भनेर एताउता हेरेँ तर क्लासको केटाहरुमा राकेशलाई मात्र देखेँ। खैर जे होस्, हामी केटीहरु प्रतिज्ञाको कोठामा पस्यौँ। त्याँ धेरै त केटाहरुकै कुरा भए। कुरैकुरामा रबीको र मेरो कुरा निस्कियो। मलाई जम्मैले टिक्नखान दिएनन। जम्मैले एकमुख लाएर भन्नथाले – “तँ र रबी किन नबोलेका?” “तलाई त्यो फुरौलो मनपर्छ?”, “तलाई त खुब हेर्छ बाइ तेस्ले”, “मन नपर्ने भा तलाई चै किन ४-४ ओटा चक्लेट?” आदीआदी। रितुले मलाई त्यो पिक्निकको २० रुपैयाको कुरा पनि त्यही सुनाइ। मैले त्यो क्लास फाएभको कुरा बताएँ। त्यो कुरा सुने पछी जम्मै केटीहरु घोप्टो परेर लडीलडी हाँस्न पो थाले। बल्ल था भो किन केटाहरुले रबिलाई ‘फुरौलो’ भनेको भन्दै निकैबेर हासे। म पनि तालमा ताल मिलाउदै हाँसिदिए। केटीहरुले त्यो मिटिङबाट मेरो लागि एउटा फैसला सुनाए – ‘भोली टिफिनमा कब्तेले रबिलाई सरी भन्नुपर्छ’। यो फैसला सर्वसम्मतीले पारीत भो। जम्मैले ‘हो हो सरी भन्नै पर्छ’ भनेर कोकोहोलो मच्चाए। अब भो त! ‘ल ल’ भन्नैपर्‍यो।

रातभर मेरो दिमागमा अनेक द्रिस्यहरु घुमे। कुनै द्रिस्यमा म अली नरम भएर ‘रबी सरी ल प्लिज’ भन्दैहुन्थे, कुनै द्रिस्यमा अली रुखो ‘केटिहरुको करले मात्र भन्दैछु -सरी’ भनेर ठम्ठम निस्कन्थे। फिलिम सुटिङ गर्दाको जस्तो एक्सन-कट धेरै चल्यो मस्तिस्कमा। भोलीपल्ट रबी क्लासमै थियो टिफिनमा। भट्टाभट सार्दैथियो होम्वर्क। ‘जा जा’ भन्दै घचेट्न थाले केटीहरुले। बिस्तारै पाइला अघी बढाएँ। लाग्छ मेरो जुत्तामा बिस बिस किलोको फलामको ढक फिट गरिएकोछ – कस्तो भारी भा’को पाइला। उ घोप्टेर लेखिराथ्यो। मैले बिस्तारै ‘सरी ल’ भने। उस्ले पुलुक्क हेर्यो र फेरी घोप्टियो। उस्ले पनि सरी भन्यो ‘आइ हेट यु’ भनेकोमा रे! म हाँसे। उ नि हाँस्यो। हामी दुबै हाँस्यौँ। बिचराले होम्वर्क सक्न पाएन। फेरी मुर्गा बन्यो त्यो दिन नि!

रितुले रबिको घरको फोन नम्बर दि ‘ब्लफ कल’ हान्न कहिलेकाही भनेर। मैले लुकी लुकी मिस कल दिनथालेँ। मेरोमा पनि दुइ रिङ् आउन थाल्यो। फोन न एता उठ्यो, न उता। तर फेरी एक्कासी खै किन हो फोन आउनै छोड्यो। मैले सोचेँ-अब अटो बनाउनुपर्‍यो अनी रबिलाई पनि भर्न दिन्छु। मैले धेरै फोन गरेर रिसायो कि न! पैला केटीहरुलाई भर्न दिएँ अनी केटाहरुले पनि भरीसके पछी रबीलाई दिएँ। उस्ले मेरो अटो ब्यागभित्र हालेर ओ. के. मात्र भन्यो। उस्लाई ढिला भर्न दिएँ भनेर न रिसायो कि-मलाई नरमाइलो लाग्यो! न मैले गर्दा मुर्गा भन्नु पर्‍यो भनेर रिसायो? आँफै देखी रिस उठ्यो। किन जान्ने भएर होम्वर्क गरिराको मान्छेलाई डिस्टर्ब गर्न गा’की होला? किन मिस कलका मिस कल दिएर हैरान होला? किन उसैलाई चैँ लास्ट्मा अटो भर्न दे’की? सुरुमै किन नदेकी होला? किन? किन? जती सोच्यो त्यती रिस उठ्ने।

एकदिन टिफिनमा क्लासको एक कुनामा बसेर पढिरा’थे। नेपाली सरले भोली लक्ष्मी प्रशाद देबकोटाको ‘के नेपाल सानो छ?’ भन्ने पढेर आओ भन्नुभाथ्यो। त्यै पढ्दैथे। केटाहरुको ग्याङ क्लासको अर्को कुनामा थिए। सेक्सन बि को कुल्दिप देसाइ मेरो ड्याडीको मिल्ने साथीको छोरा हो। उ इन्डियाबाट आ’को थियो, नेपाली खासै राम्रो थिएन। उस्को ड्याडिले ‘कबिता बेटी, मेरो बेटालाई पनि नेपाली सिकाइदेउ है’ भन्नुभाथ्यो। कहिलेकाहीँ सिकाइदिन्थे! तर आज आफ्नै पढ्नुपर्ने भा’कोले म क्लासमै थिएँ। केटाहरुले शायद नोटिस गरेनन। उनिहरु एउटा कागज तानातान गर्दै पढ्दैथे। राकेशको स्वर सुने। उ कागज हेर्दै चिच्याउँदैथियो – “वा क्या सायरी लेख्या छ रे यस्ले यो लेटरमा”। बिजय भन्दैथियो “यो लगेर दिस भने त सिओर पट्टिन्छे। जा लगेर दे सेक्सन बि मा।” जितेन भन्दैथियो -“तैले आँफै लेखिस यस्तो? वा लेटर प्याड नि खतरा रे’छ यार।” रबिले भन्यो -“हे मुलाहरु के र्याग गरिरा, उ मन्जितलाई दे त्यो लेटर।” मन्जित रिसाँउदै क्लास बाहिर निस्कियो। जम्मै गलल हाँसे। मलाई लाग्यो पक्कै पनि कसैको लभलेटरको कुरा हुँदैछ त्याँ। फेरी एक्कासी चिसो पस्यो मुटुमा – ‘कतै रबिले त सेक्सन बि को कसैलाई लेखेको हैन?’ पछी हेड्सरले केटाहरुलाई अफिसमा बोलाए भनेको सुन्दा त झनै डरलाग्यो। के भयो होला हेड्सरको अफिसमा? सेक्सन बि सँगको अन्ताक्षरीमा पनि रबी निकै खुशी देखिथ्यो। खुब मच्ची-मच्ची गीत भट्याइरा’थ्यो। हाम्रो सेक्सनले जित्दा पनि उ खुशी देखिएन। के उस्लाई हाम्रो सेक्सनले नजितोस भन्ने थियो? त्यतिकैमा अनाहक मेरो मनबाट एउटा आवाज आयो – रबिलाई आफ्नो कुरा खुलस्त भनेर लेटर लेख! मैले संकल्प गरेँ – आजै लेख्छु, भरै नै लेख्छु अनी भोली नै दिन्छु!

ख.

डियर रबी,
यो केटी त कस्ती रै’छ भन्लाउ तर हेरन मन थाम्नै सकिन त्यै भएर यो लेटर लेख्दैछु -तिमिलाई। एउटै गाँउ, एउटै स्कुल अनी एउटै क्लासमा पढ्छौ हामी त्यै पनि अपरिचित जस्तो छौँ है – तिमीलाई लाग्दैन त्यस्तो? मैले कत्ती कोशीस गरेँ तिमीसँग बोल्न, अझै गर्छु तर खै किन किन सक्दैसक्दिन भन्या। त्यै भएर यो लेटर मार्फत आफ्ना मनका कुरा तिमीसँग खोल्दै छु, माइन्ड गर्दैनौ होला! अब त स्कुल पनि सक्किन लाग्यो। मेरो ड्याडिलेले मलाई IT पढ्न बेङ्लोर पठाउने कुरा गर्दैहुनुन्छ तर मलाई साच्चै भन्नुपर्दा जानै मन छैन। तिमी जाँ पढ्छौ, जे पढ्छौ, त्यँही, त्यै पढ्न मन छ। एस. एल. सि. को भन्दा पनि बढी मलाई त स्कुल छोड्नुपर्ने डर छ। अनी त्यो भन्दा पनि बढी तिमीबाट टाढा हुनुपर्ने दिन आउला भन्ने डर छ।
तिमीले नयाँबर्षमा पठाको पोस्कार्ड मैले जतनसाथ राखेकोछु, कहिलेकाहीँ सुटुक्क हेर्छु। आसा छ तिमीलाई पनि मैले पठाको मनपर्‍यो होला। क्लासका केटीहरुले मलाई खुब जिस्क्याउछन तिम्रो नाम लिएर। रितुले तिम्रो घरको नम्बरदे’की थि। मैले थुप्रै मिस कल गरेँ भनेर रिसाका त छैनौ नि? रिसाका छौ भने सरी ल। मैले गर्दा तिम्रो होम्वर्कपनी सकिएन, त्यसको लागि पनि सरी। मेरो कारणले तिमीले ऐलेसम्म खाली कि त गाली खानुपर्‍यो कि कस्ट सहनुपर्‍यो। तर साच्चै म माया देखाउन खोज्छु, भइदिन्छ उल्टो। के गर्नु माया लाउने फर्मुला नहुँदोरै’छ। हुने भा भे म त घोकेर कन्ठ पार्नेथे।
तिमी हाँसेको मलाई एकदम मनपर्छ। तिमी बोलेको सुनीरहुँजस्तो लाग्छ। आँट भैदेको’भे -‘तिमी हाँसेर बोली राख, म सुनी राख्छु नि ल’ भन्ने थिएँ। अस्ती नै एकपल्ट धरानजाँदा बुढासुब्बा मन्दिरको बाँसमा तिम्रो नाम लेखेकीथेँ। भन्छन आफुलाई मनपर्नेको नाम लेख्यो भने छिट्टै मिल्छ! त्यस्तो भनाइको पछाडि कत्तीको सत्यता छ त्यो भविस्यले बताउला नै! तिमीले पनि मलाई माया गर्छौ भन्ने गाइँगुइँ सुनेको छु। तर फेरी सोच्छु – माया गर्ने भाको भए, तिमी त केटा मान्छे, भनीहाल्थ्यौ नि! साथीहरुले त्यतिकै उडाका हुन जस्तो लाग्छ। फेरी हामी बोल्दा पनी बोल्दैनौ। मलाई पो तिमीसँग बोल्दै नबोली माया बस्यो – तिमीलाई पनि मलाई जस्तै हुनुपर्छ भन्ने के ग्यारेन्टी छ र? अरुले भनेको भरमा माया हुन्छ र? जस्ले भन्नुपर्ने हो उसैले पो भन्नुपर्‍यो नि हैन र? फेरी कोइ नपाएर म जस्ती चस्मिसलाई के हेर्थ्यौहोला र जस्तोलाग्छ। मनका कुरा कसरी भनु, के गरी पोखुँ भएर साह्रै छट्पटी भयो। अनी आज यो कलमको साहाराले मुटुका कुरा यो कागजमा उतार्दैछु। हो म तिमीलाई मनपराउँछु, माया गर्छु! मैले दिनसक्ने भनेकै त्यती हो। यदी तिमीलाई स्विकार्यछ भने प्लिज यो लेटरको जवाफ पठाउ है! र यदी छैन भने पनि मलाई ‘नादान कब्ते’ ठानेर माफ गरिदेउ। अहिलेलाई यतीमै टुङ्याउदैछु।

उही,
कबिता मैनाली
रोल नं. १
…

ग.
१० बर्ष पछी…

“हेलो!” रबीले फोन उठायो।
“हेलो मित्र! मलाई चिन्यो?”
“को हो? मैले त चिनिन नि! कस्लाई खोज्नु भा’को?”
“रबी हैन यो? आइ मिन ‘फुरौलो’… हा हा हा” उताबाट बोल्नेले भन्यो। रबी झसँग भयो। ‘फुरौलो’ त उस्लाई उस्का स्कुलका दिनको साथीहरुले मात्र भन्थे।
“फुरौलो रे? को हो भन्या? कस्तो सस्पेन्स राखेको। भनन” रबिले भन्यो।
“म हौ म, मन्जित… साले बिर्सिस साथीहरुलाई?”
“ओ माइ गड” ठुलो स्वरमा रबिले चिच्यायो। “साले चट्याङ तँ? काँ बाट? कसरी? काँ छस? नेपालमै छस? भेट्न आ’म? कुन ठाउँमा आम?” बरर एकै सासमा रबिले भनीसक्यो। उस्का आँखा चम्किला भए। अझै के के भन्न खोज्दैथियो मन्जितले बिचैमा रोक्यो र भयो -“पख पख धेर हतार नगर। म दुई दिन भो आ’को US बाट। याँ आउनु अघी देखी नै मैले सबलाई कन्ट्याक्ट गरेकोथेँ। तेरो त घरको फोन पनि चेन्ज भएछ अनी ठाउँ पनि सेरेर कपनमा बस्छौ रे हैन?”
“हो, अनी कसरी पत्तालाइस त?” रबिले भन्यो।
“साले तलाई त म पानी मुनी भा’भे नि खोजेर निकाल्थे। खैर! तैले लेखेको एउटा आर्टिकल अस्ती पत्रीकामा देखेँ। अनी त्यो पत्रीकामा फोन गरेरे बल्लबल्ल तेरो नम्बर पाएँ। कस्तो दुर्लभ प्राणी भाको यार तँ त!” मन्जितले भन्यो।
“ए अनी को-कस्लाई फोन गरिस त अरु?” रबिले सोध्यो।
“अब पर्सी saturday हाम्रो ‘गेट टुगेदर’ छ याँ बेकरी क्याफेमा। त्याँ आइज अनी सबलाई भेटहुन्छ।”
“ए ल ल यार! म त एकदमै एक्साइटेड छु भेट्न।” रबिले भन्यो।
फोन राख्नेबेलामा मन्जितले भन्यो – ‘ए सुन् त फुरौलो, तलाईँ एउटा सर्प्राइज छ। make that two.. तलाईँ दुईटा सप्राइज छ। पर्सी नै था पाउलास!” रबी के भन्न खोज्दैथियो मन्जितले फोन राखिसकेको थियो।
…
ङ.
रातीको तीन बज्न लाग्यो तै पनि आज रबीलाई निद्रा परेको छैन। उस्लाई भोली कैले होला र गेट टुगेदरमा जाँउ जस्तो लागिरा’छ। छिन छिनमा आफ्नो मोबाइलमा समय हेर्दै बल्लबल्ल ६ बजायो। आफ्नो नित्यकर्म सकेर उस्ले मन्जितलाई फोन गर्छ – “हेलो चट्याङ, के छ यार?”
“ठिकै छ।” उताबाट मन्जितले भन्छ। “भर्खर ७:३० भएछ, किन फोन गरिस यार? म त ओछ्यानमै छु।”
“ए सरी यार! भरे कती बजे आउने हो भनेर सोध्न गरेको।”
“त्यै ५:३०-६ तिर आइज न! कती हतार हो केटोलाई!”
“एत्रो बर्षपछी भेट्दैछु, म त एकदम एक्साइटेड छु यार! ल ल तँ सुत। भरे भेटुँला।”
दुबैले फोन राख्छन। फोन राखेपछी रबी टोलाउँदै बिगतमा पुग्छ। स्कुल, टिचर, साथीहरु, क्यान्टिन, पिक्निक, क्लास अनी कब्ते उस्को मस्तिस्कमा नाच्न थाल्छन।
…
मोटरसाइकल पार्क गरेर रबी रेस्टुराँमा छिर्नमात्र लागेको हुन्छ-पछाडीबाट कसैले उस्लाई गम्लङ्ग आङालो हालेर बुइ चड्छ। “ओ फुरौलो, तँ आइ पुगिस!” पछाडी मन्जित हुन्छ।
“ओ हो! चट्याङ! हेर्त यो कस्तो ज्याङ्गो भएछ!” रबि हर्सित हुँदै ठुलो स्वरमा भन्छ।
“अनी के त साले! जैले तँ जस्तो फुरौलो हुने त? हा हा हा!”
“के छ यार, कत्ती पछी देख्दैछु! मलाई त विश्वाश गर्नै गाह्रो भै’राछ!” रबिले अङालो मार्दै भन्छ!
“I am very good मित्र! ल भित्र हिँड ५-७ जना आइसके, अरु आँउदैछन।”
“ल हिंड”
भित्र पस्नासाथ एउटै स्वरमा जम्मैले हुटिङ गर्छन् – “फुरौलो, फुरौलो, फुरौलो।” त्याँ राकेश हुन्छ। बिनोद हुन्छ। प्रसुन हुन्छ। बिजय हुन्छ। राज हुन्छ। माल्स्मा। प्रतिज्ञा। श्रध्दा। जम्मैजना पालैसँग उठेर अङालो मार्छन। जम्मै भावुक। जम्मै खुशी। कस्तो रमाइलो! राकेशले बियर मगाँउछ। बियर र म:म: खाँदै जम्मैले आ-आफ्नो कुरो बताउन थाल्छन। राकेशलाई लागिसकेजस्तो देखिन्थ्यो। उस्को बोली लर्बराउन थालीसकेका थिए। राकेश सिङगापुरको बैँकमा काम गर्दैछ रे। बिनोद फिजिक्समा पिएचडी गर्दैछ रे-जापानमा। प्रसुन टेक्ससमा IT मा मास्टर्स गर्दैछ रे। मन्जित US मा बायोमेडिसिन पढ्दैछ रे। बिजय पनि US मा एमबिए गर्दै छ रे। माल्स्माले पब्लिक हेल्थमा काम गर्छिन रे US मा। प्रतिज्ञा र श्रध्दा सँगै तिलगंगामा नर्स छन रे। राजले त बिहे नि गरीसकेर पोखरामा रेस्टुराँ खोलेर बसेकोछ रे। रबिले पनि आफु नेपाली टिचर भएर पढाउन थालेको बताउँछ। एकछिन पछी रितु आइपुग्छे। उस्को पछीपछी जितेन र गोपाल पनि आइपुग्छन। रितुको पनि बिहे भइसकेको रहेछ। उ ऐले ‘सान्ती मन्त्रालय’ मा काम गर्छे रे।
“अनी अमेरिकामा त साह्रै बिजी हुन्छन रे मान्छे-कसरी तिमीहरु जम्मैको एक्कैपल्ट मिल्यो नेपाल आउन?” प्रतिज्ञाले एक्मुस्ट सोधिन।
“यो सब मिलाको यो चट्याङले हो।” राकेशले लर्बराउँदै भन्यो। “एक बर्ष अघी देखी किचकिच गरेर बल्लबल्ल बिदा मिलाएर आको नि हामी।”
जम्मै जना हातहातमा बियर वाइन लिएर २-३ जनाको ग्रुप ग्रुपमा उभिएर कुरा गर्न थाले। मन्जित, राकेश र रबीको एउटा ग्रुप बन्यो।
“अनी के सर्पाइज भन्थिस नि चट्याङ? खै त के हो?” रबिले मन्जितको पिठ्युमा ढ्याप्पा हान्दै सोध्छ।
“ए म भन्दिउँ?” राकेश बिचमा बोल्छ।
“साले एस्लाई लागि सक्यो” मन्जितले राकेशलाई हेर्दै भन्छ। “ल भन भन तैँ भन।”
“यो चट्याङ को छ नि, को सँग लभ परेको छ तलाई था छ?” ठुल्ठुला आँखा पार्दै रबिलाई सोध्छ।
“को सँग?”
“गेस गर न गेस।”
“को करिना कपुर हो?” रबिले हाँस्दै भन्छ।
“हैन साले संगीतासँग, संगीते, क्लास टेन बि”
रबीका आँखापनी ठुला हुन्छन। “त्यो लभलेटर हेड्सरलाई देखाइदिने वाली संगिता?” उस्ले अच्चम्म मान्दै सोध्छ।
मन्जितले टाउको हल्लाउदै ‘एस’ भन्छ-मन्द मुस्कानका साथ। रबिको आँखामा प्रश्नवाचक चिन्ह देखेर मन्जितले भन्छ -“अमेरिकामा एउटै युनिभर्सिटीमा पुगेछौँ, खै कसरी कसरी? अनी त त्यही पर्‍यो यार। उस्को चै थेसिस बाँकी छ, सो आउन मिलेन।”
“ल बधाई छ यार। झापड पनि खाइस, पापड पनि खाइस उसो भे संगीताको लागि। हा हा हा!” रबिले भन्यो। तिनैजना गललल हासें।
“तँ जस्तो फुल देखी डराउने भवराँ हो र म फुरौलो?” मन्जितले रबिलाई जिस्क्याउँछ।
“भन भन! अनी अर्को सर्प्राइज चै?” रबिले सोध्छ। फेरी राकेश बिचमा बोल्छ -“एउटा कुरा भन्छु है केटाहरु आज सुटुक्क।”
“के हो भन न, तँ त मनिटर पेरिस-तेरो कुरा सुन्नै पर्‍यो नि” मन्जितले भन्छ।
मातेको स्वरमा राकेशले भन्छ -“हेर रबी त्यो कब्तेलाई मैले पनि मन चै पराको हुँ यार। हुन त म सब केटीहरुसँग जिस्कन्थे तै भएर कब्तेले मलाई ‘लाइटली’ लि बुझीस केटा हो। साह्रै मन पर्थी- डन्ट माइन्ड है रबी ।” रबी र मन्जित एकछिन जिल्ल परे। एकछिन पछी रबिले फेरी सोध्यो – “के हो अर्को सर्प्राइज, भन न चट्याङ।”
“उ त्याँ हेर” मन्जितले ढोकातिर देखाउँदै भन्छ।
“कब्ते!” हठात रबिको मुखबाट फुत्किन्छ। जम्मैजना रबितिर हेर्दै हाँस्छन। कब्तेको पक्कै पनि मनपर्ने रङ रातो हुनु पर्छ। आज पनि उ त्यो अटोको फोटोमा जस्तै रातो कुर्थासुरुवालमा थि। रबी उस्लाई एकनास हेरेकोहेरै हुन्छ – कस्ती राम्री! कस्ती उज्याली! कबितालाई सबैले न्यानो स्वागत गर्छन्। केटीहरुको आँखा रसाउँछन। पालैपालो जम्मैसँग भेट्दैहुन्छे उ। रबी फेरी बिगतमा पुग्छ!
“हेलो रबी”
“हाइ कबिता”
“तिमी त उस्तै पो देख्छु नि रबी?”
“म बद्लेको छैन” रबिले मन्द मुस्कान छोड्दै भन्छ। “तिमी चैँ चेन्ज भएछौ, खै चस्मा?”
“ए, आज्कल कन्ट्याक् लाँउछु” उस्ले भनी। “ए बाइ द वे… उ चै मेरो ‘फ्योन्से'” उसँगै उभिएको मान्छेलाई परिचय गराउँदै भनी।
“हाइ म रबिन्द्र। तिमी चैँ रबी होला हैन? कबिताले सुनाइरा’हुन्छिन ‘मेरो स्कुलको साथीको नाम पनि रबी हो’ भनेर। खुशी लाग्यो भेटेर।”
रबीले हात मिलाउँदै “हाइ नाइस टु मिट यु” भन्छ। रबिन्द्र चाडै घुलमिल हुनेखाल्को मान्छे रै’छ। जम्मैजनासँग आँफै परिचय गर्दै हिड्दैथ्यो। मन्जित मातिसकेको राकेशलाई सम्हाल्दै एउटा कुनामा बसाउन लिएर जान्छ। रबी र कबिता मात्र बाँकी हुन्छन अब त्यो ग्रुपमा। एकछिन दुबै मौन बस्छन। सायद दुबैलाई अफ्टेरो लागेको हुनुपर्छ।
“अक्वर्ड त भा’को छैन नि तिमीलाई” रबिले मौनता भङ्गगर्दै सोध्छ।
“अली अली” कबिताले वाइनको गिलासभित्र हेर्दै बिस्तारै भन्छे। “तिमिलाई?”
“मलाई नि अली अली।” रबिले उस्लाई हेर्दै भन्छ। “अनी काँ थियौ? काँ छौ त आजकल?”
“म बेङ्लोरमा थिएँ। पढाई सकेर काम गर्नथालेँ। अनी अब कामबाट क्यानाडा ट्रान्स्फर हुँदैछ। हामी दुबैजना एउटै कम्पनीमा छौँ। अर्‍को महिनाको फ्लाइट छ।” कबिताले भनी। “अनी तिमी चैँ?”
“मेरो पनि पढाई सकियो। ऐले सानोतिनो टिचर छु। नेपाली पढाउँछु। एउटा लोकल पत्रीकाको स्तम्भकार पनि छु। राम्रै चलीरा’छ।” रबिले आफ्ना कुरा सुनायो।
“को को काँ काँ पुगियो है साथीहरु?” कबिताले रबिलाई हेर्दै भनी।
रबिले भन्यो – “त्यै त! जे होस् आज जम्मैलाई भेट्न पाइयो, खुशी लागिरा’छ।”
“अँ है! मलाई नि मन्जितले फोन गरेर भन्यो।” कबिताले अली सहज हुँदैँ भनी। “तिमिलाई स्कुलको दिनहरु कत्तीको याद आउँछ त रबी?”
“आँउछ नि याद। अझ म त टिचर भा’छु – स्कुलका केटाकेटीहरुलाई हेरेर आफ्ना दिनहरु कत्ती सम्झन्छु कत्ती।”
“माइन्ड गर्दैनौ भने एउटा कुरा सोधुँ?” मासिनो मुस्कानमा कबिताले सोधी।
“के हो भनन, किन माइन्ड गर्नु?” रबिले पनि हाँस्तै जवाफ फर्काउँछ।
“क्लासमा चलेको हल्ला, हल्लै मात्र थियो कि साच्चै?” कबिताले अनकनाउदै सोध्छे।
“साच्चै नभाको भए तिमीलाई लेटर किन लेख्थे?” रबिले हाँस्तै भन्छ। “लेटरको जवाफ नदिने तिमी त हौ नि!”
“तिम्रो लेटर?” कबिता झसँग हुन्छे। “कुन लेटर? कस्तो लेटर? बरु तिमीले चैँ दिएनौ, मेरो लेटरको रिप्लाइ!”
“तिम्रो कुन लेटर?” रबी रातो हुन्छ।
“तिम्रो कुन लेटर?” कबिता निली हुन्छे। “तिमिले कैले लेख्यौ?”
“त्यो तिमीले अटो भर्न देको बेलातिर लेखेकोथिएँ। राकेसले ‘दिएँ’ भन्थ्यो त!” रबी अधैर्य हुँदै सोध्छ।
“ओ एम जि” कबिता आफ्ना गालामा दुबै हात राख्दै चकित हुन्छे। उस्को हातको माइली औंलामा सुनको औठी टल्कन्छ। “मैले पनि उसैलाई दे’को थिएँ ‘दिएँ’ भन्थ्यो।”
रबी र कबिता दुवै मौन भए। सायद ‘अक्वर्ड’ यसैलाई भन्छन। दुवैले एकअर्कालाई हेरीरहे-निकैबेर। दुवैलाई मनमा लाग्यो – “यदी त्यो चिठ्ठी उस्ले पा’को भए?”
रबिलाई राकेशसँग खुब रिस उठ्यो। कबिताका आँखामा पनि क्रोध स्पस्ट देखिन्थ्यो तर अब रिसाएर हुनेवाला केही थिएन। आफ्ना मनमा एकअर्काप्रती गुम्सिएका तरङ्गहरु खुलस्त रुपमा फुकाउन नसक्नु मुलत: रबी र कबिताको नै गल्ती थियो। हिमाल आरोहण गर्छु भन्नेले पैलो पाइला त फेदीमा नै हाल्नुपर्छ। अब अफ्सोच गरेर बितेका पललाई सपार्न मिल्दैन – जिन्दगी न ‘रिवाइन्ड’ हुँदोरै’छ न ‘फास्ट’। यो त आफ्नै तालमा ‘प्ले’ हुने कुरो हो।
‘भावीको लेखा’ लाई दोश दिनु सिवाय उपाए नै के थियो र अब। समय उनिहरु भन्दा धेरै अगाडि गै’सकेको थियो बस अब त बिगतको मिठो स्‍मृतिहरु बाँकी भए। रबी र कबिताको चिनो अब क्लास टेनको डेस्कमा R+K मै सिमित हुनेछ। कबिताले बुढासुब्बाको बाँसमा ‘रबी’ लेखेकीथी। उस्ले आफ्नो ‘रबी’ पाइसकीथि।
निकै अबेर भै’सकेको थियो। जम्मैजनाले एकअर्काको फोन, इमेल साटासाट गरे र फेरी भेट्ने बाचाका साथ बिदा भए। राकेश मातेर झल्लु भाथ्यो। ट्याक्सीमा चढाएर मन्जितले आफ्नो घर लग्यो। जानेबेलामा रबिन्द्रले रबिलाई -“It was nice to meet you” भन्यो र बिदा माग्यो। कबिता अघीनै गाडीमा चढि सकेकीरै’छ – रबि सँग कुरा भएन।
…
च.
भोलीपल्ट रबी पढाउन स्कुल गयो।
जम्मै विद्यार्थीले लयबद्द “गूड् मर्निङ सरssss” भन्दै उठे उ क्लास छिर्नासाथ।
“गूड् मर्निङ, सिट डाउन” भन्यो रबिले। “ल आज हामी लेखनाथ पौड्यालको कबिता पढ्दै छौँ।”
क्लास सकिएपछी उ बाहिर निस्कियो। उस्को पछाडि ३-४ जना केटीहरु ‘रबी सर, रबी सर’ भन्दै आए। रबीले “के भो?” सोध्यो।
“सर यो बिस्नेले सब्तेलाई दे’को,” ति मध्ये एउटी केटीले उ तिर कागज तेर्स्याउँदै भनी।
“के हो यो?” रबिले सोध्यो।
“सर त्यो बिस्नेले के के लेखेको छ यो कागजमा मलाई। कम्ले लाई दिन ला’को रै’छ तेस्ले” अर्कीले बोली।
“हो सर, मलाई ‘यो लगेर सब्तेलाई दे’ भन्यो तेस्ले”
“ल ठीक छ, म हेर्छु। बिष्नुलाई टिफिनमा मलाई भेट भन्द्याओ।” रबिले कागज गोजीमा हाल्दै भन्यो।
…
“सरले मलाई बोलाउनु भा’को हो?” बिष्नु लुरुक्क पर्दै ढोकामा उभिन्छ।
“हो, के यो तैले लेखेका हौ?” रबिले सोध्छ। बिस्नु चुपचाप, राता कान पारेर भुइँतिर हेर्छ, बोल्दैन।
“कस्ले सिकायो एस्तो लेख्न? भर्खर सातमा पुग्यौ, यस्तो लेख्नेबेला भइसक्यो?” बिष्नु चुप्चाप!
“खै एता आइज” रबिले बोलाउँछ। बिस्तारै डराइ-डराइ बिष्नु अगाडि बड्छ।
“मैले तिमीलाई पिट्न बोलाको हैन।“ बिस्नुको हातमा कागज थमाउदैँ रबिले भन्छ। “ला यो पक्डी – एस्मा धेरै ह्रस्व-दिर्ग मिलेका छैनन। यो सच्याएर क्लास टेनमा पुगेपछी दिनु, बुझीस?”
बिष्नुको अनुहार एकाएक खुल्छ। उस्ले ‘हुन्छ’ को टाउको हल्लाउँछ अनी कागज गोजीमा हालेर निस्कन्छ।
“ए सुन त” रबिले अली पर पुगिसकेको बिष्नुलाई बोलाउँछ। बिष्नु पछाडि फर्कन्छ…..
“आफैँ लगेर दिने, अरुको हातमा पठाउने हैन…”
समाप्त।
(यो कथा काल्पनिक हो! तर कसैको वास्तविक जीवनमा मेल खान गए, जाओस 🙂

[तपाईँ पनि आफ्ना कथा, लघुकथा माइसंसारमार्फत् बाँड्नका लागि पठाउन चाहनुहुन्छ भने पठाउनुस् [email protected] मा। प्रकाशनयोग्य कथाहरु स्टकमा नरहेकोले तपाईँको कथा तुरुन्तै प्रकाशित हुनसक्छ। कथाहरु सम्पादन नगरी जस्ताको तस्तै छापिने भएकोले कृपया शुद्धाशुद्धिसहित आफैले वा जानेका कसैलाई देखाएर आफ्नोतर्फबाट सबै मिलाएर कथा पठाउनु होला। ]

45 thoughts on “कथाः प्रेम प्रस्ताव (भाग- २)”

  1. Sonam yangzom says:
    October 15, 2013 at 2:32 am

    कथा सार्है नै राम्रो लाग्यो ा लेखकले सार्है असल शैलीमा कथालाई प्रस्तुत गर्नु भएको छ ा
    कथा पढेर मलाई आफ्नो school को समय याद आयो ा कथा जत्तिको रोमन्चक त थिएन तरा
    जीवनको सभै भन्दा मीठो समय चाही पकै थियो ा लेखकलाई धेरै धेरै बधाई र धन्यबाद छ ा

    Reply
  2. Bijay(HK) says:
    October 12, 2013 at 6:50 am

    कथाले २५ वर्ष पुरानो दुनियामा लगेर एउटा सुन्दर संसारको सयर गरायो बिगतका दिनलाई सम्झना गरायो, आखा बाट केहि मोतिका दानाहरु खसे, पुराना दिनहरु निकै रमाइला हुँदा हुन् सबैका ! Thanx!

    Reply
  3. Devsh says:
    October 9, 2013 at 10:44 am

    मैले मेरो कथा कसैलाई भनेको छैन. तर खाली नाम मात्र फरक छ. आज २५ वर्ष पछि पनि ति कुराहरु हिजो जस्तो लाग्छ. आफ्नो मुर्खई प्रति दुख लाग्छ. मेरो best friend ले गरेको धोखा म कसरि बिर्सनु.
    आज एउटी प्यारी छोरिको बुबा म,
    कहिले कहिँ आफैलाई सोध्छु येदि उनि मेरो जीवनसाथी भएको भए …… …

    Reply
  4. utthan silawal says:
    October 9, 2013 at 8:47 am

    first time i got to read a real life story with a beautiful presentation……it has been years that i have not met with my childhood friends but this story takes me back to my school life….really touched and got emotional …thank you very much….it shows how different and how beautiful a nepalese art can be…..hope to read more in future by the writer thank you very much…..

    Reply
  5. bibek dhakal says:
    October 9, 2013 at 7:22 am

    भाग २ ले आखिरमा न्याय नै गर्यो –
    समग्रमा कथा राम्रो लाग्यो, त्रुटी औंल्याउने ठाउँ भेटिंन !!

    Reply
  6. srijana says:
    October 9, 2013 at 12:48 am

    स्कुले जीवनको याद सरर दिलायो |फ्लाश्बैक !!!!!!!

    Reply
  7. क्षीर धोज says:
    October 8, 2013 at 3:08 pm

    कथा मार्मिक लाग्यो !!!
    SLC को परिक्षा पछि भेटेर प्रेम अभिब्यक्त गर्ने मेरो इच्छा …. अधुरै रहेको कथा जस्तै भो !

    Reply
  8. R. Kumar says:
    October 7, 2013 at 6:26 pm

    एक दमै राम्रो लग्यो , आखा बाट आसु आयो . आफ्नै school life सम्झेर . र कथा को ending maan पर्यो.

    Reply
  9. Peshal says:
    October 7, 2013 at 12:25 pm

    “आफैँ लगेर दिने, अरुको हातमा पठाउने हैन…”
    Wow…..Perfect..!! 5 Stars…
    आफुलाई कथाको ‘रबि’ सम्झे मैले !!!

    Reply
  10. Kamal says:
    October 7, 2013 at 9:35 am

    हरेक सब्द दोहोरयारा पधु जस्तो हरिक सब्दमा जिबन्त कहिले समाप्त नहोस जस्तो लाग्ने कलमले निरन्तरता पाई राखोस. बधाई छ तपाइलाई

    Reply
  11. Hari says:
    October 7, 2013 at 9:33 am

    यो कथा पढेपछि मलाई नि मेरो स्कूलको क्लास १० को घटना र हाल अस्ट्रेलिया मा coputer software कम्पनीमा काम गर्दै आएको मेरो साथि निरज को सम्झना आयो/ विचरा निरजलाइ हामी ले उक्साएर valentine day को दिन मा नितुलाई त्यो गुलाफ को फूल दिन लगाएको थियौ/ तर नितुले त्यो गुलाफ को फूल लाई कचाक्कुचुक बनाएर निरज को मुख मा फiल्देलिन भन्ने हामीले सोचेको नि थिएन/ तर त्यति मात्र हैन उसले त हाम्रो Principal “टाउके” लाई complain गरेर निर्देइ हिसाब संग पिट्न लगाएकी थिई / यो कुरा सम्झेर अझ नि रिस उठ्छ भने विचरा मेरो निरज को माया लागेर आउछ / विचरा निरज कुटाइ खान भन्दा अगाडी त फिदा भएको थियो एकोहोरो नितु को प्यारमा …………….. निरज तैले नि यो पढिस होला नि तेरो जीवन मा मेल खाने कथा रैछ नि त हो ………..

    Reply
  12. Abhyankar says:
    October 7, 2013 at 1:56 am

    स्कूलका तिदिनहरु मस्तिस्कमा येसरी भरिएर आएकी आँखा रसाएर आए , जति जति उमेर बढ्दै जान्छ उति उति बोझ बढ्दो छ, स्याबास जीन्दगी….

    Reply
  13. tsirag nepali says:
    October 7, 2013 at 1:41 am

    राम्रो लागेर पो आयो त एक्कासी . धेरथोर लेख्न मलाई नि मन लाग्यो . यस्तै घटना चैं मेरो स्कुलमा नि घटेको थियो हौ . ऊ नआउंदा सार्है खल्लो लाग्ने . चटक्कै मेरो मनको कुरा लेख्नुभाको छ . शुभकामना भन्छु म

    Reply
  14. krish says:
    October 7, 2013 at 12:39 am

    मैले नि कक्ष ४ मा पढ्दा ५ मा पढ़नी एउटी केटि लै चिट्टी लेखेको थिए. स्चूल मा २ घण्टा इटा मा घुडा टेकेर उबिनु परेको थियो. ५ क्लास सके पछि त्यो केटि आन्तई गइ. कहिलै देख्न पिना. धेरै वर्ष पछि तेस लै खोज्नु पारो र बिहे को कुरो गर्नु पारो भनेको तेस्को त बिहे भै वोरी बच्चा नि भए छ. र आहिले सम्म नि कहिलै देख्न पाएको छैन.

    Reply
  15. Anil Cpg says:
    October 7, 2013 at 12:38 am

    मैले त मेरा साथीहरु सम्झेर अनि मेरो नि स्कुले लवको यादले आशु नै पो आएछ . धन्यवाद कथाकार ज्यु लाई.

    Reply
  16. धौलबीर राई says:
    October 6, 2013 at 8:24 pm

    अरुको सहाराले लक्षमा पुगिदैन भन्ने संदेश बोकेको यो वियोगान्त कथा सान्दर्भिक र सत्यपरकछ, लेखकको कलमले निरन्तरता पावस ….

    Reply
  17. Nabaraj Sapkota says:
    October 6, 2013 at 1:42 pm

    सायद, कल्पना गरे जस्तो रिवाईन्ड गरेर जिन्दगि मिलाउन पाएको भए फरबार्ड गरेर अझ अगाडी जान पाए कस्तो हुन्थ्यो होला । हुन हुन लागेको मिलन र अन्तमा भएको बिछोडको मर्मस्पर्सी स‌गम भएको छ कथामा । लेखक ज्यू धन्यबाद जिन्दगीको एउटा अबस्थाको जानकारी गराई दिनु भयो ।

    Reply
  18. sanu maya says:
    October 6, 2013 at 12:33 pm

    We want short stories book by Sure jee.
    Only one suggestion – give proper time for editing.
    Wonderful stories should not have small mistakes of any kind.

    Reply
  19. C Dahal says:
    October 6, 2013 at 10:53 am

    भाग १ को तुलना मा तेती मन परेन, साएद कब्ते र रबि को बिछोड ले गरेर होला, तर सबै साथी हरु को भन्दा रबि को चै कम प्रगति किन भाको होला??
    यो चिठी नपाएर मिलन न भाको भन्दा, चिठी पाएर एक आर्क प्रति आफ्नो भावना प्रस्ट परेर समय, पारिबारिक कारण हरु ले बिछोड हुनु परेको को र १० वर्ष पछि भेट भाको भए अज्जै राम्रो हुन्थियो…..यो नितान्त मेरो धारणा हो, बाँकि लेखक ले मलाई सचिनै मेरो स्कूल दिन मा पूराई दिनु भए को मा धन्यवाद…………..

    Reply
  20. rohan dhakal says:
    October 6, 2013 at 8:48 am

    कस्तो राम्रो कथा एकदमै मन पर्यो.

    Reply
  21. अभागी कान्छा "गाउले" says:
    October 6, 2013 at 3:30 am

    यो रातको एक बज्ने बेलामा पढी रहेको कथा हो आज अन्तिम भाग, बडो गज्जब अनि अब्बल बनेको छ कथा ! कथाले धेरै पाठ सिकाउछ !

    एउटा कुरा तपाईहरु माइ संसारका पाठकहरुमा क-कसले बुढा सुब्बाको बासमा नाम लेख्नु भएको छ ल कमेन्टमा नाम लेखम त !!!

    Reply
  22. Raaz says:
    October 6, 2013 at 2:33 am

    भाग १ जति सरस लागेन, a bit disappointed!

    Reply
  23. sam sundar says:
    October 6, 2013 at 12:36 am

    A very good read – Keep it up !

    Reply
  24. Gyanendra Raj Kaphle says:
    October 6, 2013 at 12:14 am

    कति राम्रो इमाजिनेसन. सुरेसजी, शोर्ट स्टोरी को बुक निकल्नोस न है. मलाई किन हो यो कथा ले अलि अलि रुवायो.

    Reply
  25. Ramji Pandey says:
    October 5, 2013 at 10:59 pm

    बबाल कथा, सार्है मन छोयो स्कूल life को 99% flashback. धन्यवाद मित्र !!

    Reply
  26. Lalit Narayan says:
    October 5, 2013 at 10:30 pm

    ‘भेरी गुड सुरे’ भन्न मन लाग्यो l

    Reply
  27. बासु says:
    October 5, 2013 at 10:23 pm

    कथा यथार्थपरक छ | जो कसैको जीवनसँग मिल्न सक्छ | त्यसैले Disclimer मा ‘यो कथा वास्तविकतामा आधारित हो, कसैसँग मिल्न नगए क्षमा प्रार्थी छु’ भने होला जस्तो पो लाग्यो त |
    तर अन्त्यमा रबि सरले विष्णुलाई कैले तँ, कैले तिमिको सम्बोधनले कथा अन्त्य गर्न कथाकारलाइ हतार भए जस्तोपनि लाग्यो |
    जे होस् शुभकामना अनि धन्यवाद कथाकोलागी |

    Reply
  28. Kabte says:
    October 5, 2013 at 6:37 pm

    कति मिठो वियोग / It was a wonderful but sad life story. But, everything can’t go the way you want it to. Somebody (Rabi) loses for someone (Ravindra) else to win. I really wish everyone wins but that would not be a reality; it will be just another Hindi movie. Cheers to Suresh ‘Samaan’ for bringing us all together by the means of his extra ordinary talent of story telling.

    Reply
  29. nisha says:
    October 5, 2013 at 5:27 pm

    तर मैले पछी था पाएँ बाँकीको २० रुपैयाँ रबिले ‘कब्तेलाई नभन है’ भनेर रितुको हातमा देकोरे’छ। खैर यो सब्द ले त मेरो आँखा मा आँसु थाम्न सकिन साएद यो कथा मा लेखीएका धेर थोर कुरा सबै को जीबन मा घट्दा रहिछन कि जस्तो पो लग्यो त . धेरै राम्रो उत्कृष्ट कथा.

    Reply
  30. tara thapa magar, UAE says:
    October 5, 2013 at 5:05 pm

    बिचरा रबि सर ! आफ्नै देशमा रोजगार गरिरहेछन निरिह बनेर, कब्तेले अर्कै रबि भेताएछन, उता सबै साथीहरुले विदेश तिर डलरको खेति गर्दै धनाड्य बनिसकेछन, बिचार रबिसरले अर्की कब्ते पाएकी पाएनन होला ? कुल्दुलिपो लागिरह्यो नि

    Reply
  31. Nakul Gautam says:
    October 5, 2013 at 4:32 pm

    “अफ्सोच गरेर बितेका पललाई सपार्न मिल्दैन – जिन्दगी न ‘रिवाइन्ड’ हुँदोरै’छ न ‘फास्ट’।” यो त आफ्नै तालमा ‘प्ले’ हुने कुरो हो।

    राम्रो लाग्यो!!

    Reply
  32. kumar,japan says:
    October 5, 2013 at 3:29 pm

    साच्ची एक हप्ता कुर्दाको पल मिठो बनायो कथाले

    Reply
  33. Jeevan Thapa says:
    October 5, 2013 at 1:42 pm

    कथा राम्रो , भन्न खोजिएको कुराहरु पनि धेरै राम्रो तर स्तम्भकार अलि धेरै नै कल्पनामा डुब्नाले कथा अलि बढी नै काल्पनिक लाग्यो !!!

    Reply
  34. Ashis Raj says:
    October 5, 2013 at 12:41 pm

    मलाई आफ्नो school को दिनहरु याद आयो. धेरै राम्रो कथा.

    Reply
  35. ojhel says:
    October 5, 2013 at 12:37 pm

    हाहाहाहा यो कथा काल्पनिक हो तर कसैको वास्तविक जीवन संग मेल खान गए जाओस ले सै हसायो !

    Reply
  36. aadil says:
    October 5, 2013 at 12:21 pm

    एक दम राम्रो कथा !!!

    Reply
  37. Ramesh says:
    October 5, 2013 at 12:02 pm

    आफ्नो स्कुले दिनहरु आँखै अगाडि ल्याइदियो यो कथाले , धन्यवाद

    Reply
  38. सन्तोष थापा मगर says:
    October 5, 2013 at 11:55 am

    अाँहा ! सरल भाषा र कथन शैली तर कथामा म नै छु कि जस्तो लागि रहने ! व्यवहारिक टुंग्यान् ! सरररर पढ्दै गर्दा र सकिदा मनमा आनन्द लाग्ने, क्याबात् !!!

    Reply
  39. Sailendra Thapa says:
    October 5, 2013 at 11:42 am

    गुड टायम पास .

    Reply
  40. BT Malla says:
    October 5, 2013 at 11:34 am

    कथा को अन्त सारै खल्लो लागो तर केटा केटिमा गरेको प्रेमको नियति येस्तै हुन्छ भनेर चित्त बुझाउनु बाहेक अर्को विकल्प छैन ……

    Reply
  41. मनोज says:
    October 5, 2013 at 11:12 am

    “मैले तिमीलाई पिट्न बोलाको हैन।“ बिस्नुको हातमा कागज थमाउदैँ
    रबिले भन्छ। “ला यो पक्डी – एस्मा धेरै ह्रस्व-दिर्ग मिलेका छैनन।
    यो सच्याएर क्लास टेनमा पुगेपछी दिनु, बुझीस?”
    सही छ यो चैँ ।
    भाग एक राम्रो लाग्यो भाग दुई भन्दा त ।

    Reply
    1. Tanka says:
      October 20, 2013 at 5:57 pm

      “ए सुन त” रबिले अली पर पुगिसकेको बिष्नुलाई बोलाउँछ। बिष्नु पछाडि फर्कन्छ…..“आफैँ लगेर दिने, अरुको हातमा पठाउने हैन…”

      अझ main point त यो लाग्यो …सबै कथा यसैमा छ .

      Reply
  42. नयन says:
    October 5, 2013 at 10:19 am

    सोचेको भन्दा फरक अन्त्य, मज्जा आयो, साना तिन सम्पादन गल्ति हरु सजिलै नजर अन्दाज गर्न सकिन्छ,

    Reply
  43. D. Bhandari says:
    October 5, 2013 at 10:05 am

    Nice one! साह्रै मनपर्यो/ यथार्थ र कल्पना को रसिलो समिश्रण पस्कनु भए जस्तो लग्यो जुन साह्रै प्रसंसनीय छ/

    Reply
  44. Nirozz says:
    October 5, 2013 at 10:01 am

    यो धेरै नै कथा मलाई धेरै नै सुन्दर लाग्यो मेरो school life पनि येस्तै घटना भाको थियो |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme