Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथाः प्रेम प्रस्ताव

Posted on September 28, 2013September 28, 2013 by mysansar

-सुरेश ‘समान’-

saturday-fiction क.
“आइ लभ यु कब्ते!”
“पख मेरो ममीलाई भन्दिन्छु।” कबिताले कालो मुख लाएर धम्की दिइ। मेरो सातोपुत्लो उढ्यो। हतार हतार “हैन हैन आइ हेट यु,आइ हेट यु… नभन्दे है” भने।
एकदिन स्कुल जाँदै गर्दा कब्तेको ममीले साफ झाटिन बाटैमा – “एत्रो फुरौलो जस्त्रो छ, खुब लभ गर्ने हँ? कती किलास पुगिस?”
मैले “क्लास फाएभ” भने बिस्तारै।
“खुब आफुलाई ‘अम्ता बचन’ भन ठान्छेस तेरिमा गुइँठे। हेड्सरलाई भनेर तलाई रेस्टिकेट गरिदिउँ कि अब देखी कब्तेलाई आइ लभ यु भन्दिनस?”
“नाइ अब देखी भन्दिन अन्टी। हेड्सरलाई नभन्दिनोस।” मैले रुन्छे स्वरमा भने।
भोली देखी कब्तेको घरको बाटो छोडेर लामो बाटो स्कुल जान थालें। कब्ते पढाइमा तिखी थि। हरेक बर्ष ‘प्यारेन्टस डे’ मा पुरस्कार थाप्थी। सबैले उस्लाई ‘फस्ट गल’ भन्थे। स्कुलमा कताबाट हो हल्ला फैलिसकेछ। मलाई ‘फस्ट गलको ब्वाइ’ भनेर जिस्काउन थाले। म रिसाइ दिन्थे। ति के चुप लाग्थे-जिस्काइरहे।
त्यस्को पाँच बर्ष न म कब्तेसँग बोलेँ न कब्ते मसँग बोली।


…
एकदिन टिफिनमा पाँचौ घन्टीको होम्वर्क भटाभट सार्दै थिए – मन्जितको कापीबाट।
“सरी है”
टाउको उठाएर हेरेँ। पातलो मुस्कान छोड्दै कब्ते अगाडी ठिङ्ग उभिएकीथि। मेरो नौ नाडी गलेर आयो। धामीले ढ्याङ्रो ठट्टाए भन्दा जोडले मेरो मुटु ढ्याङ्रिन थाल्यो। निधार र कन्चटतिरबाट पसिना उम्रिन थाले – चिट चिट। दिसा लाग्ला जस्तो भयो। पिसाब च्याप्यो। तै कसो कसो रोकेँ। अनेक तरङ्ग, प्रश्न, उत्तर ठेलमठेल गर्दै दिमागमा आए। त्यसतो डर त मलाई त्यो पुरानी हवेली भन्ने भुतको फिलिम हेर्दा पनि लागेको थिएन। म किन डराको तर? खै, किन किन! मेरा दुबै आँखा पेनको टुप्पोमा गएर अडिए, अडिइरहे।
“साइन्सको होमवर्क सारिरा?” उस्ले सोधी।
“अँ, होम्वर्क कापी घरमा छुटेछ, सो…” मैले बाहना बनाए। मेरा आँखाहरु पेन को निबमै थिए। मनमा यो केटी यहाँबाट गएहुन्थ्योझै लागिरहेको थियो- ऐले कसैले देख्यो भने म त बर्बाद हुन्छु। फेरी कता कता मनभित्रको पनि मनमा चै कौतुहलता थियो। उस्लाई पनि पक्कै अफ्टेरो भएको हुनुपर्छ। हातमा लाएका पित्तलका औठी घुमाउदैथी जोडजोडले। अफ्टेरो भए किन आइ त यो पाँच-पाँच बर्षपछी मसँग बोल्न एक्कासी?
“त्यै सरी भन्न आकी, सरी ल!” उस्ले भनी।
मैले पनि हिम्मत जुटाएर भने “के को सरी हो, मलाई त था पनि छैन।” तर मलाई था थियो।
“मैले गर्दा तिमीले ममीको गाली खानुपर्‍यो” उस्ले दबेको स्वरमा भनी। म चुप रहेँ-अझै था न’भा जस्तो गरेर पुलुक्क हेरेँ।
“क्लास फाएभमा के त” उस्ले फेरी भनी।
“ए अँ, मैले त बिर्सी पनि सकेको थेँ” मैले स्वाङ पारे।
“ए हो र?” उस्ले भनी। “म त तै भएर तिमी मसँग नबोलेको होला भन्ठानेको। म सँग रिसाको त छैन नि?”
“छैन, त्यो बच्चाबेलाको कुरा अब के….” मैले भने।
उ पनि डराएकीजस्ती देखिन्थी। हातको औठी छोडेर अब उ टाइ बटार्न थालेकी थि। बोलीमा पनि एक किसिमको कम्पन थियो। उ डराएकी देखेर मलाई हौसला आयो-कस्तो अचम्म! म भन्दा बढी उ डराएकोले म निडर भए क्यार!
“मेरो पनि सरी है” मैले उस्लाई हेर्दै भने।
“तिमिले चै के को सरी नि?” अचम्म मान्दै उस्ले सोधी।
“आइ हेट यु भनेकोमा” मैले भने। उ हासी। म पनि हाँसे। हामी दुबै हाँस्यौ। टिफिन सकिएको घन्टी बज्यो -टिङटिङटिङटिङटिङटिङ। उ दौडेर आफ्नो बेन्चमा गइ। मेरो आधा होमवर्क सार्नै बाँकी थियो। सरले पुरा होमवर्क नगरेकोमा मुर्गा बनाए। यो पल्ट मुर्गा बन्दा जस्तो खुशी कहिलै लागेकोथिएन।
…
ख.

घरको फोन बेल्का बेल्का बज्न थाल्यो – दुई रिङ् बज्थ्यो, फेरी बन्द हुन्थ्यो। दौडेर उठाउन गयो फोनले दम तोडिसकेको हुन्थियो। मैले पनि दुई रिङ्ग दिन थालेँ। रिङ् धेरै बजे तर फोन उठेन-न एता न उता। आहा! फोन को रिङ् पनि मिठो संगीत लाग्नथाल्यो। उता फोन उठिहाल्यो भने मैले के भन्ने? किन फोन गरेको सोधी भने, किन भन्नु? कुरा गर्ने कुरै नहुँदा पनि खै के सोचेर फोन डाएल गर्थें कुन्नी! एकपल्ट कब्तेको आमाले एक रिङ्मै उठाइन र पड्किन -“को हो हँ? काम पाएन अर्थोक? मर्ननसकेका असती।” मैले हत्तपत्त फोन राखेँ। कब्तेका साथीहरु मिलेर ‘ब्लफ कल’ गर्थे कैलेकैले। ‘तिमी त क्या ह्यान्सी’ भन्दै मलाई फुरुङग पार्थे। म पनि ‘तिम्रै लागि हो’ भनेर जिस्किदिन्थे -बालै भो!

नयाँ बर्ष मुखैमा थियो। सबैले सबैलाई शुभकामना आदानप्रदान गर्नथाले – ह्यापी न्यु यर २०५७! मेरो लागि यो आउन लागेको नयाँ बर्ष अली बिशेष भयो। कबिताको पोस्कार्ड पाएँ- पहिलोपल्ट। पोस्कार्डमा ह्रितिक रोशन बाइसेप फुलाएर हाँसीराथ्यो। पछाडि लेखिएकोथियो –

“Be always happy, not sad
Be always good, not bad”
Happy New Year 2057.

From: Kabita Mainali
To: Ravi Devkota

मैलेपनी उत्तर उत्तर प्रगतीको कामना गर्छु भनेर शुभकामना सन्देश पठाएँ। आफुलाई मन पर्ने हिरोइन करिसमा कपुरको पोस्ट्कार्डमा। उस्को कार्ड पाको बेलुका रामबिलास हजामकोमा गएर ‘रितिक कट’ भने। रामबिलासले बुझ्यो र आफ्नो कला मेरो टाउकोमा उतार्यो। राती घर फर्केर ‘एक पलका जिना, फिर तो हे जाना’ कहो ना प्यार हे फिलिमको गीतमा ढोका थुनेर गोडा फट्टाउँदै नाचेँ – ऐना हेर्दै। पछी ‘ह्रितिक काण्ड’ हुँदा स्कुलको क्यान्टिनमा साथीहरु मिलेर पोस्कार्ड धुजाधुजा पारे र अगेनोमा हुर्याइदिए। केटाहरुको अगाडि ठीक्क पार्दै ‘अँ हो, नेपाललाई हेला गर्ने। जलाओ केटा हो यस्लाई’ भनेर खोक्रो राष्ट्रभक्ती देखाएँ। अरुअरुले पनि धेरै फोटाहरु जलाए। कतीले जुत्तामा टाँसेर हिंडे। तर साच्चै भन्नु पर्दा उता ह्रितिकको फोटो धुजाधुजा हुँदैथियो, एता मेरो मन। उता ह्रितिक अगेनोमा जल्दैथियो, एता म जल्दैथेँ भित्र भित्र। कब्तेले पोस्कार्ड पछाडि लेखेको सम्झे ‘Be always happy, not sad…’ र मात्र अल्ली शान्त भयो मन!
…
“जा न जा, कस्ती डर्पोक्नी! जा के जा कब्ते, दे गएर”
कबिताका साथीहरुले उस्लाई भनेको सुने। म केटाहरु लुडो खेलेको हेर्दैथे क्लास कै एक कुनामा बसेर। मेरो आँखा लुडोमा भएनी कान केटीहरुको गफमा थियो। केटीहरुमध्दे पनि कब्तेले के बोल्ली भन्नेमा थियो। कब्तेले सरी भनेको मैले गोपाल (गोफ्ले) लाई ‘कस्सैलाई नभन है’ भनेर भनेको थिएँ। मोरोले ‘ल यार’ भनेर सब्बै कुरा सुन्यो र पछी बिनोद (कोपरा), अनुप (तोरी), जितेन (हगुवा) अनी मन्जित (चट्याङ) हुँदै क्लासभरी फैलाएछ। अब त खुल्लमखुला ‘रभी इज फर कबी’ भन्दै जिस्काउन थाले। म रिसाइदिन्थे, जस्तो गर्थे। गोफ्ले र तोरीले जिस्काउन सुरु गर्थे अनी बाँकीले साथदिन्थे। एकदिन चट्याङले उक्सायो -“ज्यामिती बक्स भित्र लभलेटर हालेर दे फुरौलो! म सँग लभलेटर प्याड नि छ टाइटेनिकको हिरोहिरोनी वाला, चाहिन्छ?”
“उत जा!” म झर्केँ। लेटर लेखिन, के लेख्ने? ममीलाई देखाइदी भने फेरी?
…
निकैबेर उस्का साथीहरु (रितु, श्रध्दा, माल्स्मा, प्रतिज्ञा)ले करकर गरपछी कब्ते म भएतिर लम्की। मेरो छाती ढक्क फुल्यो। तोरीले ‘ओइ फुरौलो, कब्ते आइ’ मलाई कोट्याउदै भन्यो। मैले नसुनेझै गरेँ। तर मैले उस्को प्रतेक पाइला पाइला सुनीरा’थेँ।
“रबी”
मैले पुलुक्क हेरेँ। केटाहरु उठेर ‘ल हाम्रो त्यो काम छ’ भनेर नभाको काम बनाएर मस्किदै क्लासबाहिर निस्के। म एक्लो भए त्या अब।
“एस” भने कब्तेलाई पुलुक्क हेर्दै। केटीहरुको जथ्थाको मसिनो खितीती प्रस्ट सुनिन्थ्यो। कब्तेको हातमा एउटा डाइरीजस्तो खै के थियो।
“इ यो,” दिउँ कि नदीउँ जस्तो गरी उस्ले एउटा डाइरी मेरो तर्फ बडाइ।
…
ग.
“के हो यो?” मैले सोधेँ
“अटोबुक… भर्दिन्छौ कि भनेर… ” उस्ले अनकनाउँदौ भनी। मैले टाउको हल्लाएर हुन्छको इसारा गरेँ।
“फोटो नि हाल है प्लिज” उस्ले भनी।
“ओ. के.” भनेर ब्यागभित्र हालेँ।
“जान्छु ल?” उस्ले सोधी। मैले केही भन्न नपाउँदै घन्टी बज्यो -टिफिन सकिएको। घन्टी नबजेको भए शायद “एक छिन बस न” भन्थेँ होला तर घन्टी बज्यो अनी उ दौडेर आफ्नो बेन्चमा पुगी। साइन्स टिचर कोठामा छिरे। टिचरले ‘माइटोसिस’, ‘मियोसिस’, ‘सेल डिभीजन’ के के जाती पढाउदैथे- फिट्टो बुझेको हैन, ब्लाक्बोर्डमा ध्यान भा पो बुझ्नु! एनिमल अनी प्लान्टको सेल भित्र ‘क्रोमोजोम’ होस् कि ‘क्रोलोफिल’- जे सुकै होस् मलाई छु मत्लब? मलाई त त्यो कब्तेको अटो भित्र के छ त्यो पढ्नुथियो। कब्तेको अटोमा कुन फोटो राख्ने होला त्यो खोज्नुथियो। उस्लाई के मनपर्छ त्यो बुझ्नुथियो! बाँकी जम्मै गौण।
घर पुग्नासाथ ब्याग खोतलेर अटो निकाले। बास्ना आउने वाला अटो रै’छ। बाहिर कभरमा मिकीमाउस, डोनाल्डक, अनी बार्बापापा का स्टिकर थिए। भित्र पल्टाएर हेरेँ – कब्ते हासीँराथी। कब्तेलाई मैले प्राय सधैं त्यै स्कुलको ड्रेसमामात्र त देख्थेँ नि – कालो जुत्ता, घुँडासम्म निलो मोजा, निलो फ्रक, सेतो सर्ट, रातो टाइ अनी सेतो रिबन कपालमा। तर यो फोटोमा कब्ते रातो कुर्थासुरुवालमा सेतो सल लाएर घरको भर्र्याङ्मा टुसुक्क बसेकीथी। छोटो कपाल भए नि हेरबिन लाएकीथी टाउकोमा। आँखा कम्जोर भएकोले चस्मा त उ जहिले लाँउथी। उस्लाई ‘चार आँखी’ ‘चस्मिस’ भनेर जिस्काउँथे साथीहरु। मलाई नि जिस्काउन मन त थियो नै तर हुनुपर्‍यो नि आँट! उस्को अर्को पनि फोटो थियो त्यो अटोमा। त्यो दोस्रो फोटोको छेउमा लेखिएको थियो- ‘दीस इज मी इन क्लास फाएभ!’ “King loves golden ship, queen loves silver ship, But I love friendship” भनेर लेखेकीरै’छ टुप्पोमा। अली मुन्तिर लेखेकीथी -‘Auto is मोटो, Don’t forget फोटो’।
मन पर्ने फिलिम – डि डि एल जे। मन पर्ने हिरो – ह्रितिक रोशन। मन पर्ने हिरोइन – काजोल। गित – सेन्टिमेन्टल।
हब्बी – सिङगीङ, डान्सिङ…..। अरुले पनि भरेका रै’छन कब्तेको अटो। रितु, श्रध्दा, माल्स्मा, प्रतिज्ञा, मन्जित, अनुप, बिजय, प्रसुन, राज, जितेनहरु जम्मैले आ-आफ्नो फोटो राखेकारे’छन। मैले पनि आफ्नो सिङ्गल फोटो टासिदिए कब्तेको अटोमा। ‘Thank you for giving me this opportunity to jot down my words in your golden autograph….’ भनेर धन्यवाद दिएँ। आफुलाई मनपर्ने हिरो, हिरोनी आदी लेखिदिए। अटोको अन्तिमतिर ह्रितिकको सानो फोटो नि टासिदिए-बाइसेप फुलाएर हाँसेको। ह्रितिकको फोटोको छेउमा ‘कर्सिभ हेन्डराइटिङ’ मा लेखेँ – ‘I have a pen that is blue, I have a friend that is you.’ साइन्स पनि कब्तेको अटो जत्तिकै रोचक – हेरिरहुँ, पढिरहुँ लाग्ने भा’को भे मलाई कसैले जित्छु भनेर नोसोचे नि हुन्थियो होला!
कोही ठुला मान्छे मरे भने एक मिनेट मौनधारण गरेर स्कुल छुट्टी हुन्थ्यो। चक्काजाम, हड्ताल, नेपालबन्द त कती हुन्थ्यो कती। जाडोको, गर्मीको, चाडपर्वको बिदा त छदैँ थियो त्यसमाथी। अझ त्यतीले नपुगेर कैले शनिबार आउला जस्तो लाग्थियो। तर कब्तेले ‘सरी है’ भनेको दिन देखी मलाई कोही नमरे नि हुन्थ्यो जस्तो लाग्न थाल्यो। शनिबार नै नआए नि हुन्थियो, कुनै दिन पनि बिदा नपरे हुन्थियो जस्तो लाग्न थालेको थियो। झन यो नेपालबन्द, हड्ताल, चक्काजाम गर्नेहरुसँग त रिसले चुर हुन्थे।
क्लासमा एउटा दुधभात थियो-राकेश। राकेश केटाहरु, केटीहरु दुबैको माझ ‘पपुलर’ थियो। पिक्निक, पार्क, स्विमिङ, आदी घुम्न जाने प्लान उसैले बनाउथ्यो। केटीहरु पनि अरु केटाहरुभन्दा उसँग चै खुलस्त जिस्किन्थे, मस्किन्थे। उ क्लास मनिटर पनिथियो। केटीहरुको कुरा एता आएर केटाहरुलाई सुनाउथ्यो। कुन केटीले कस्लाई मनपराउछे उस्लाई सब था थियो। केटाहरुको कुरा पनि भन्थियो होला केटीहरुलाई तर हाम्लाई चै ‘म केही भन्दिन’ भनेर ठीक्क पार्थ्यो। चट्याङको लभलेटर उसैले लगेर अर्को सेक्सनकी संगीतेलाई दे’को त हो नि! बिचरा चट्याङको लेटर त हेड्सरको अफिसमा पुगेछ। रामधुलाई भेट्यो केटोले!
“ओइ फुरौलो, तेरो त्यो चस्मिसलाई सेक्सन बि को कुल्दिपसँग कुरा गरिरा देखेँको थेँ, होस गर है” एकदिन राकेसले सुनायो। “दुबैजना खुब हाँसीहाँसी कुरा गर्दैथे।”
“मलाई बाल!” म झर्किएँ। “जस्ले जो सुकै सँग कुरा गरोस”
“कुल्दिपेले उडाइदेला है साले” राकेशले भन्यो। “कब्तेले हातमा लाएकी फ्रेन्डसिप ब्यान्ड कुल्दिपेले नै दे’को रे!”
“उडाए उडाओस” मैले मुटुमाथी ढुङ्गा राखेर भने। मनमा अनेक तरङग उठे। राकेसको कुरा सुनेदेखी कब्तेलाई धेरैजसो सेक्सन बि मा देख्न थालेँ टिफिनमा। एकपल्ट हाम्रो सेक्सन र सेक्सन बि अन्ताक्क्षरी खेल्ने भयौँ। ‘त’ बाट कुल्दिपेले -तु चिज बडी हे मस्त मस्त, तु चिज बडी हे मस्त- कब्तेलाई हेर्दै गा’यो। कब्तेले नि कुल्दिपेलाई हेर्दै ‘ह’ बाट – हम्को सिर्फ तुम्से प्यार हे, हम्को सिर्फ तुम्से प्यार हे- गाइदी। मलाई उकुसमुकुस भयो। रिस उठ्यो – कुल्दिपेसँग अनी कब्तेसँग त झनै रिस उठ्यो। भित्रभित्र मुर्मुरिएँ, बाहिर जस्तो देखिएपनी। अन्ताक्क्षरीमा हाम्रो सेक्सनले जित्यो तर मैले हारेँ-कब्तेलाई। मसी सकिएको पेन जस्तो सुख्खा भए म। कागजको हावाइजहाज जस्तो उड्नै नपाई क्रास भयो मेरो सपना। हिसाब नमिलेर अड्केजस्तो… बिचमै अड्के म। किताब भित्र राखेको गुलाबको फुलको पात जस्तै मेरो ओठमुख सुके। कतै कब्तेले गा’को गीत साच्चै कुल्दिपेको लागि त हैन? म झस्किन्छु। त्यो रात कोल्टे फेर्दै बित्यो।
भोली भयो।
“ओ चट्याङ तँ सँग त्यो टाइटेनिकको फोटोवाला लेटर लेख्ने छ?” मैले मन्जितलाई सुटुक्क सोधेँ।
“ल ल के हो फुरौलो, कस्लाई हो?” उस्ले छिल्लिदै सोध्यो।
“छ कि छैन भन न, मेरो एक जना साथीले मागीराथ्यो क्या सो…” मैले कुरो दबाउन खोज्दै भने। तर मोरोले के पत्याउथ्यो! चट्याङले फेरी हेड्सरको झापड खाने डरले हो क्यार ‘छैन’ भन्यो। झापड खानु परे नि खाँउला-मैले निर्णय गरेँ। चट्याङले मलाई लेटर प्याड किन्ने ठाउँको नाम बतायो – श्री स्टेसनरी। मैले लेटर लेख्ने सोच त बनाएँ तर त्यो लेटरप्याड किन्ने पैसा थिएन। माया लाउन पैसा नि चाहिनेरै’छ, बल्ल बुझ्दैथेँ। जे पर्ला पर्ला भनेर खुत्रुके फुटाएँ त चिल्लरहरु भेलापारेँ। पचास रुपैयाँ रै’छ। दौडेर पुगे श्री स्टेसनरी र चट्याङले भनेजस्तै खाल्को लभलेटर प्याड लेर आएँ। राती घरमा जम्मै सुतीसकेपछी ब्यागबाट लेटरप्याड निकालेँ। एफ एम खुल्लै थियो अनी हिन्दी फिलिमको मिठो गीत बज्दैथियो – ‘प्यार कि कागज पे, दिल कि कलम से… पेहेली बार सलाम लिखा… मेने खत मेहेबुव कि नाम लिखा…..’

घ.
____ कबिता,

म रबी देबकोटा, तिम्रो क्लासको रबी। कबिताको अगाडि प्रिय, प्यारी, मेरी… के भनेर संबोधन गर्ने था नभएर ‘____ कबिता’ लेखेको हुँ। त्यो खाली ठाउँ भर्ने जिम्मा तिम्रै भो! यो लेटर तिम्रो मम्मी, हेड्सर अनी तिम्रो मिल्ने साथीहरु-कस्सैलाई पनि नदेखाउ है, please! बरु पढिसकेपछी मनपरेन भने च्यातेर हुर्याइदिए नि हुन्छ। मैले यस्तो ‘लभ लेटर’ पैला कहिलै लेखेकोछैन, यो नै पहिलो हो। नेपाली सब्जेक्टमा ‘छात्रव्रितीको लागि निवेदन’, ‘बुवा-आमालाई चिठ्ठी’ जस्ता ५ मार्क्सको चिठ्ठी मात्र लेखेकोछु। एकपल्ट मन्जितले संगितेलाई लेखेको ‘लभ लेटर’ पढेको थिएँ, त्यती हो। फेरी मलाई एस्तो खाल्को माया पहिला कसैसित पनि लागेको थिएन, तिमी नै पहिलो हो – सत्ते। यादै होला क्लास फाएभ – त्यो बेला त माया के हो नि था थिएन। तै पनि माया गर्दोरै’छु तिमीलाई उ बेला। तिमीसँग बोल्न कत्ती कोशीस गरेँ तर अँह हिम्मत जुटाउनै सकिन। तिम्रो उधुम डरलाग्थ्यो। फेरी तिम्रो मम्मीले रेस्टिकेट गराइदिन्छु नि भन्नुभाथ्यो। तै भएर चुप बसेँ। शायद तिमीले ख्याल गरेकीछैनौ होला तर म तिमीलाई अरुको आँखा छलीछली हेरीरा’हुन्छु। मलाई तिमी एकदम मनपर्छ्यौ। तिमी त्यसरी पाँच-पाँच बर्षपछी म सँग बोल्न आउँदा मलाई विश्वास नै भएन सुरुमा त। त्यो दिन आजसम्मको मेरो सब्बै भन्दा खुशीको दिन होला। नयाँबर्षको पोस्कार्ड पाउँदा पनि मेरो खुशीले भुइँमा खुट्टा थिएन। साथीहरुले नि खुब जिस्काउछन तिम्रो नाँउ लिएर। शायद तिमीलाई पनि जिस्काउँदा हुन। म तिमीलाई साच्चैको मन पराउँछु। त्यै भएर I Love You भन्नको लागि यो लेटर लेखेको हुँ। मबाट तिमीले कहिल्यै धोका पाउनेछैनौ कबिता! म भित्र सिर्फ मायै माया छ तिम्रोलागी। यदी तिमीलाई पनि म मनपर्छु भने भोली बेलुका छ बजे मेरो घरको फोनमा दुई रिङ् मिसकल देउ है, म बुझ्ने छु। फोन बजेन भने पनि बुझ्नेछु। अहिलेलाई यो कलम बन्द गर्दैछु! Bye.

तिमीलाई माया गर्ने,
रबी देबकोटा (क्लास टेन, सेक्सन A)
रोल नं. ३८
****

(बाँकी भाग-२ अर्को हप्ता)

47 thoughts on “कथाः प्रेम प्रस्ताव”

  1. Pingback: कथाः प्रेम प्रस्ताव (भाग- २) « Mysansar
  2. Suchita says:
    October 3, 2013 at 7:49 am

    नोस्ताल्गिया……..
    सारै राम्रो कथा ,स्कूल क दिन याद आए……….
    अर्को हप्ता कहिले आउने होला है, कथाले क मोड लिने हो??????????

    Reply
  3. bibek dhakal says:
    October 2, 2013 at 6:54 pm

    अहिलेसम्म रमाइलो, जीवन्त, ओरिजिनल र यथार्थपरक लाग्यो! समग्र मुल्यांकन चाही भाग दुइ पछि गर्नु ठीक होला, आशा छ सन्तुष्ट भएर कमेन्ट गर्न पाइनेछ अर्को हप्ता!
    लेख्दै जानुहोला 🙂

    Reply
  4. Narendra Ojha says:
    October 1, 2013 at 10:50 pm

    माई-सन्सार मा अहिले सम्म पढेको कथा हरु मा उत्कृष्ट लाग्यो मलाई त । लेखन शैली सरल तर मन छुने छ । अर्को अङ्क पनि यत्तिकै प्रभावकारी होला भन्ने आशा छ । राम्रो कथा पस्किनु भएको मा लेखक लाई धन्यवाद ।

    Reply
  5. B. Adhikari says:
    October 1, 2013 at 6:53 pm

    मेरो विचारमा

    कथाको बाँकी भाग पढे पछि मात्र कथा बारे धारणा बनाउन एवं समालोचना गर्न उपयुक्त होला। अहिलेसम्मको स्थितिमा भने कथा लेखन शैली, प्रस्तुति एवं विचार प्रक्षेपण प्रभावकारी नै छ। भाषागत त्रुटीमा भने ध्यान पुर्याउनु पर्ने देखिन्छ।

    बधाइ एवं शुभ कामना सहित

    बी अधिकारी

    Reply
  6. SUREN says:
    October 1, 2013 at 4:26 pm

    कहिले आउला अर्को हफ्ता अनि के होला कब्ते को जवाफ ………………निकै रमाइलो कथा ….

    Reply
  7. wise says:
    October 1, 2013 at 2:40 pm

    रमाइलो लाग्यो कथा पढेर धन्यवत लेखक जिउलाई l

    Reply
  8. Nabaraj says:
    October 1, 2013 at 10:13 am

    म आज ३० ‍औ बसन्त पार गरिसकेको छु तर यो कथा पढ्दा म १३/१४ बर्ष हुदाको अबस्थाको याद आयो धन्यबाद मेरो सं‌सार

    Reply
  9. कब्ते says:
    October 1, 2013 at 3:33 am

    माइ संसार लाई अनि बिशेष गरि सुरेश ‘समान’ जी लाइ धेरै धेरै धन्यबाद यो कथाको लागि . धेरै पछि केहि मन छुने पढेजस्तो लाग्यो . शब्द चयन, लेखन शैली, स-साना डिटेल हरु आदिले गर्दा यो कथाले म लगायत धेरै मित्रहरुलाई ‘नस्टाल्जिक’ बनाएकोछ . कथा भनेको त यस्तो पो हुनु पर्छ त – पाठकको मन छुने, पाठकले आफुमा पात्र देख्ने . ‘_____ कबिता’ मा अब कब्तेले के सम्बोधन राख्छेहोला त ?. म त बाकि भाग पढ्न नपाएर भट्याक-भट्याक पो हुन लागे लौन . म कब्ते भा’को भए त खुसिले कति उफ़्रिन्थे होला . त्यो जमानामा मैले चै एउटा ‘फुरौलो’ लाइ मन पराकीथिए . मन को मनै रह्यो . कैले काही ‘अटो’ पल्टाएर हेर्छु र बिगतमा रुमल्लिन पुग्छु . ल झट्टै अर्को भाग पनि पस्किनु होला .
    ‘कब्ते’

    Reply
  10. Bhadra says:
    September 30, 2013 at 10:11 pm

    साहित्य समाजको दर्पण भनछन, यो कथा ज्यादै मार्मिक यथार्थ र मनोबैज्ञानिक छ / सबै पाठकलाई छुने खालको छ / भाषा पनि ज्यादै सरस, सरल र उपयुक्त लाग्यो / जस्तै ‘छु मतलब ‘, अनि पात्रहरु को नाम चयन पनि राम्रो छ /

    सुरेशजी को कलम चलि रहोस / म त दोश्रो भाग मात्र होइन अरु धेरै कथाहरु को आशा गर्छु
    ‘मेरो संसार’ लाई पनि धन्यवाद /

    Reply
  11. sandy says:
    September 30, 2013 at 11:28 am

    सारै राम्रो लाग्यो, मेरो बिगत मा भोगेका कुरा हरु झल् झली याद आयो..कस्तो मिलेको १०० मा ९० %……
    मैले त उसको फोटो मात्र पाउन का लागि आफै ले पैला auto भर्न दीएको thea तर पछि उनि बाट नी आएको थ्यो auto भर्न को लागि…
    Thank you so much for flashback and waiting the 2nd part.

    Reply
  12. D.R magar says:
    September 30, 2013 at 6:32 am

    ओ हो सोल्टी यो त मेरो real life को कथा हो , कहाँ बाट थाहा पाउनु भयो हो , मात्र त्यहा लेखेको पात्रहरुको नाम मात्र फरक छ . तर यो संयोग ले मिलेको मात्र पनि हुन सक्छ / धेरै राम्रो लेखाई छ . यो कथा पढेर मलाई मेरो पुरानो दिन हरुका प्रतेक पल हरुको झझल्को आयो. धान्नेबाध छ तपाइलाई . keep it up man

    Reply
  13. Bishnu Adhikari says:
    September 30, 2013 at 3:45 am

    पात्र हरु मात्र फरक हुन् तर इतिहास भनाइ उस्तै लग्यो फुरौलो को जस्तै / अतितको याद गराए फुरौलो ले / लेखन राम्रो छ /

    Reply
  14. Abhyankar says:
    September 30, 2013 at 3:36 am

    हा हा हा हा …“खुब आफुलाई ‘अम्ता बचन’ भन ठान्छेस तेरिमा गुइँठे…|
    …टाउको उठाएर हेरेँ। पातलो मुस्कान छोड्दै कब्ते अगाडी ठिङ्ग उभिएकीथि। मेरो नौ नाडी गलेर आयो। धामीले ढ्याङ्रो ठट्टाए भन्दा जोडले मेरो मुटु ढ्याङ्रिन थाल्यो। निधार र कन्चटतिरबाट पसिना उम्रिन थाले – चिट चिट। दिसा लाग्ला जस्तो भयो। पिसाब च्याप्यो।
    मजा आयो पढेर | Thank you फुरौलो

    Reply
  15. Rabi says:
    September 30, 2013 at 12:18 am

    ओहो !!!
    एकदमै राम्रो !!!

    Reply
  16. कमल शर्मा यु ए इ says:
    September 29, 2013 at 10:32 pm

    एउटा रमाइलो इतिहास !!! सायद अब ति दिन नया पुस्ताले नभोग्ला है |

    Reply
  17. Shishir Boston says:
    September 29, 2013 at 9:58 pm

    ओहो! सारै मन छोयो यो कथाले । कती राम्रो लेखाइ हो सुरेशजी । स्कुल पढ्दाका दिन झल्झली आँखामा आए । मैले पनि एउटिको अटो भर्दा लेखेको याद आयो – Some luv one, some luv two. but I luv one, that is you… (कक्षा छको कुरो हो, luv को अर्थ नि थाहा थिएन राम्रोसँग)……
    यो वाक्यको त कुरै छोडौं, आहा! – ” यो पल्ट मुर्गा बन्दा जस्तो खुशी कहिलै लागेकोथिएन”

    Reply
  18. Ramesh babu says:
    September 29, 2013 at 9:50 pm

    हा हा हा मैलेनी ८ क्लास पढ्दा एउटा केटि लाइ लेखेको थिए मलाई त भक्कु गाली पो गर्यो र तेस्पछि उसलाई देख्योकि मत टाप ! ६ वर्ष अघि १५-१६ वर्ष पछि धुलिखेल हस्पिटल कामबिसेस ले गएको थिए तेही पो काम गर्दी रैछ खुब सहयोग गर्यो ! उसको अनुहारमा सरि को भाब देखिंथियो, बिहे नभएको रैछ , पछि २-३ पटक फोन मा कुरा त भयो पछि कता कता…..

    Reply
  19. मनोज says:
    September 29, 2013 at 9:20 pm

    सँयोग नै मान्नुपर्छ, नयाँ बर्ष २०५७ त मलाई पनी लाग्या थ्यो यसै गरी 🙂

    Reply
  20. Ashok says:
    September 29, 2013 at 7:24 pm

    सारै मन पर्यो. आज नि तेती नै माया लाग्छ मोरीको तर के गर्नु माया सात समुन्द्र पारि भै हाल्यो.

    Reply
  21. Raaz says:
    September 29, 2013 at 5:57 pm

    Extremely beautiful……….keenly awaiting the remaining episode!

    Reply
  22. Anjaan says:
    September 29, 2013 at 5:29 pm

    एकदम राम्रो कथा!! सार्है नै मन पर्यो! स्कूल लेवलको सबै कुराहरु झल्झली आँखामा आए! बाँकी अंशको प्रतिक्षामा !!!

    Reply
  23. NARAYAN says:
    September 29, 2013 at 5:07 pm

    मैले पढेको अटो मा लेखेको एउटा लाइन याद आयो
    नेतालाई भासण गर्न माइक चाहिन्छ
    केटि फकाउन पल्सर बाइक चाहिन्छ

    Reply
  24. Wagle says:
    September 29, 2013 at 3:52 pm

    कस्ता मिठा सम्झनाहरु, झल्झली भएर आए | एउटा तेस्तै युग थियो, माया गर्ने हरुको जहाँ पोस्टकार्ड, अटो, फोटो जस्ता चिजहरुको सहारा लिइन्थ्यो माया ब्यक्त गर्न, आजकलको जस्तो एस. एम. एस., चाट, इ-मैल, स्काईपहरु कहाँ थिए र | सबै यादहरु ताजा भएर आए |

    Reply
  25. sanu maya says:
    September 29, 2013 at 2:41 pm

    Very original story. The writer has good future in Nepali literature. Go ahead. Excellent.

    Reply
  26. Vijay says:
    September 29, 2013 at 2:05 pm

    ए फुरौला, पुराना दिनको सम्झना दिलाइस नि त गाँठे !!

    Reply
  27. Binod says:
    September 29, 2013 at 1:04 pm

    सारै राम्रो लाग्यो, मुख्यतय: सरल र प्रयोगात्मक नेपाली भाषाको निकैनै राम्रोसंग समायोजन गरिएको छ, साथै व्यवहारिक भाषाहरुको प्रयोग….
    तेसैले कथामा आफ्नै जीवनमा घटेको घटनाको जस्तै एउटा मिठो आभास पाईन्छ…

    Reply
  28. Hari Gautam (UAE) says:
    September 29, 2013 at 1:04 pm

    कक्षा १० मा पढ्दा मलाई पनि एक जना अटो भर्न दिएकी थिइन् ! त्यो बेला सम्म मेरो एउटा पनि फोटो नभएकोले म पनि फोटो स्टुडियो मा फोटो खिच्न गएको थिए! पछि फोटो नै राम्रो आएन तर पनि tehi फोटो मैले अटो मा राखिदिए पछि त मलाई बबाल गाली पो आको हौ फोटो किन नराम्रो हालिदिएको भनेर ….जमाना नै अचम्म को थ्यो भने नि !!! अहिले त क्लिक डिलिट क्या मज्जा है ….

    Reply
  29. पुष्प says:
    September 29, 2013 at 12:46 pm

    छुट्टी मन नपर्ने ती दिनहरू पनि थिए है ! आनन्द आयो ! अर्को भागको प्रतिक्षामा …

    Reply
  30. नयन says:
    September 29, 2013 at 12:09 pm

    मलाई त्यति साहित्य को बारेमा थाहा छैन तैपनि, यो निकै पुरै समसामयिक, त्यो बेला साएद मपनि नौ, दस, कक्षा मा थिए, हो येस्तै हुन्थ्यो, झगडा गर्ने नबोल्ने , सानो सानो कुरामा ममी, बाबा ,सर लाइ भन्दिने. समसामयिक भाषा बाचन सैली जस्तै कब्बे, फुरौलो, डर्पोक्नि ले आफ्नो पन दिन्छ र पिर्थकता थपेको छ तर बीच मा छिरेको
    “राती घरमा जम्मै सुतीसकेपछी ब्यागबाट लेटरप्याड निकालेँ। एफ एम खुल्लै थियो अनी हिन्दी फिलिमको मिठो गीत बज्दैथियो – ‘प्यार कि कागज पे, दिल कि कलम से… पेहेली बार सलाम लिखा… मेने खत मेहेबुव कि नाम लिखा…..’” ले कथा लाइ हदै फिल्मी र नासुहदो बनाएको छ.

    नमस्ते सम्पादक हरु, नाम परिवर्तन गर्ने आज्ञ चाहन्छु
    नयन – कमल को संख्या बढी नै भयेछ तेही भएर.

    Reply
  31. Saroj says:
    September 29, 2013 at 11:56 am

    एकदम राम्रो लाग्यो, मन परेन त त्यो एउटा कुरा : बाँकी भाग-२ अर्को हप्ता भन्ने .

    Reply
  32. bhawana says:
    September 29, 2013 at 11:23 am

    अटो को कुरा चै एकदम राम्रो लग्यो , exactly, the same lines, same poems were used to b written. it reminded us the school days…………
    hahaha …..tea is hot, forget me not, date for ever forget me never….etc

    Reply
  33. suren zee says:
    September 29, 2013 at 8:11 am

    मेरा पनि पुराना दिन हरु को यो कथा ले याद दिलायो
    कथा कार धन्यबाद

    Reply
  34. Kamal says:
    September 29, 2013 at 7:51 am

    सारै मजा आयो पुरानो दिन हरु याद आयो
    अनि यो दिनहरु सम्झी रुन मन लग्यो.
    बाकी भय कथा यसको अरु
    धरै धरै पढ्न मन लग्यो

    Reply
  35. Jeevan Thapa says:
    September 29, 2013 at 7:46 am

    म क्लास १० पढ्ने बेलाको याद आयो ! साथी हरुले जिस्काउदा जिस्काउदै सरको छोरी संग माया बसेको , अटो भरेको, लुम्बिनी घुम्न जाँदा आलु चिउरा खाएको, हिन्दि फिल्मी इस्टाइलमा फोटो खिचेको आदि आदि !!
    त्यो बेला सबैको लाइफ़ मा यस्तै हुन्छ होला !!! के गर्नु केटा केटि को माया ३ वर्ष भन्दा बढी टिकेन … आफु पढ्न भनि विदेश लागियो, उनि नेपालमा नै बिहे गरिन …

    Reply
  36. Chandra says:
    September 29, 2013 at 7:33 am

    यो बेला न कुबेला टिफिन को घन्टी चाही कति बज्दो रहेछ भने !
    मलाई चाही कथा मुन परो !

    Reply
  37. shyam shrestha says:
    September 29, 2013 at 7:33 am

    wow!! Just remind my school days.. So familiar language, words, beautifully portrayed situations etc thanks 4 the beautiful story n waitin 4 next part..

    Reply
  38. BT Malla says:
    September 29, 2013 at 6:14 am

    कथा साचिकै स्वादिलो जस्तो छ …. auto लेख्ने बेलाको उमेरको सम्झना आयो …….

    Reply
  39. Ashish says:
    September 29, 2013 at 5:26 am

    दामी लाग्यो !

    Reply
  40. बासु says:
    September 29, 2013 at 3:32 am

    रोचक र आकर्षक छ | तर अन्त्य चाहिं त्यति आकर्षक भएन | हुन त दोश्रो भाग हेर्ने बाँकि छ |

    Reply
  41. rupa says:
    September 29, 2013 at 2:15 am

    सार्है रमाइलो कथा रैछ, स्कूले बेला को याद आयो. दोश्रो भाग पढ्न हतार भै सक्यो

    Reply
  42. kedar says:
    September 29, 2013 at 1:54 am

    फुरौलो लाइ कहिलेइ स्कुल बन्द नभई दिए हुन्थ्यो जस्तो भाको बेला मलाइ चैं अर्को हप्ता कहिले आउला जस्तै पो बनायो यो कथाले त /

    Reply
  43. sham says:
    September 29, 2013 at 1:30 am

    सहि कथा रहेछ .. मेरो क्लास मा पनि कब्ते जस्तै थि एउटी तर अर्कैले उडायो म चाहि हेरेको हेरै चिल्लै … हात लाग्यो सुन्ने ….अनि त्यो राकेश को भूमिका मा चै राजेश भन्ने थियो… अहिले सम्झिदा बडो रोमान्चक लाग्छ ति दिनहरु …………..

    Reply
  44. Sanjaya says:
    September 29, 2013 at 12:34 am

    धेरै राम्रो आर्को भाग को प्रतीछा मा……………………

    Reply
  45. bikash says:
    September 29, 2013 at 12:20 am

    मिठो लेखाईको प्रशंसा नगरी रहन सकिन ……..

    Reply
  46. द्रोण says:
    September 29, 2013 at 12:17 am

    अगिल्लो हप्ता कथा सानो भएर भोक न मरेका साथी हरुलाई माइसंसार ले भोक मर्ने गरि कथा पस्किदिएको छ |
    स्वाद लिदै खानुहोला , स्वादिलो जस्तो छ |

    Reply
  47. मुक्ति अधिकारी says:
    September 28, 2013 at 11:42 pm

    आहा……
    अहिले त मलाई पनि स्कुल पढ्दा को याद आयो गाठे…..!
    फेरी बल्झाई दियो त्यो घाउ………

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme