Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दुई वर्षभित्र के देख्नु पर्‍यो !

Posted on September 24, 2013 by Salokya

2 year हाम्रा प्रधानमन्त्रीहरु, मन्त्रीहरु अनि नेताहरु भाषणमा के के भन्दै हिँड्छन्, त्यसको लेखाजोखा कसैले राख्या छैन होला। जसले राख्छ, ऊ पागल हुन बेर लाउँदैन। कहिले के बोलिदिन्छन् कहिले के! अस्ति भर्खरैको त कुरा, ड्यास माओवादी निर्वाचनमा आउने भए मिति सार्न सकिन्छ भन्ने सुनिएको थियो। अनि केही दिनपछि त धर्तीको कुनै शक्तिले पनि तोकिएको निर्वाचनको मिति सार्न सक्दैन भन्ने पो सुनियो। बोलेको कुराको लेखाजोखा नभए पनि लेखेको कुरा अर्थात् मन्त्रिपरिषद्को निर्णयको त केही वजन हुनुपर्ने नि! त्यही मन्त्रिपरिषद्‌मा जान अर्थात् प्रधानमन्त्री र मन्त्री बन्न के-केसम्म गर्छन् नेताहरु। अनि त्यही मन्त्रिपरिषद्को निर्णय नै यस्तो हचुवा हुन गयो भने त, के भन्नु। हेर्नुस् एउटा त्यस्तै निर्णयको के गति भो !

यो निर्णय हो एमाले अध्यक्ष श्री झलनाथ खनालज्यु प्रधानमन्त्री भएपछिको पहिलो मन्त्रिपरिषद्को बैठकको। मन्त्रिपरिषद्को बैठकको निर्णय यसरी अभिलेखमा बसेको छ-

२०६७ साल माघ २७ गते बिहीबारका दिन बसेको मन्त्रिपरिषद्को बैठकबाट देहायका मन्त्रालयहरूबाट प्राप्त प्रस्तावका सम्वन्धमा गरेको निर्णयको मुख्य व्यहोरा देहायबमोजिम छ –

भौतिक योजना तथा निर्माण मन्त्रालय — काठमाडौबाट पश्चिम जाने त्रिभुवन राजपथको नागढुङ्गा-नौविसे खण्डमा हाल सवारी चापमा अत्यधिक वृद्धिका कारण हालको सवारीको गति सरदर १० कि.मि. प्रतिघण्टा भन्दा कम भएको अवस्था रहेको छ । उक्त सडक खण्डमा नेपाल आयल निगमको डिपो रहेको स्थानबाट झप्ले खोलासम्म सुरूङ मार्ग (Tunnel) निर्माण गरी सवारी आवागमनमा सुधारका साथै काठमाडौ-नौविसेको दूरीमा कमी आउने प्रारम्भिक प्रतिवेदनअनुसार भौतिक योजना तथा निर्माण मन्त्रालयले देहायबमोजिम गर्ने –
(क) एसियाली विकास वैंक (ADB) को सहयोगमा Project Preparatory Facility अन्तर्गत प्राप्त अनुदान सहयोगबाट योजना छनौट तथा अध्ययनको कार्य सडक विभागबाट भइरहेको र हाल परामर्शदात्री छनौटको लागि Request for Proposal (RFP) समेत दिइसकेको अवस्था हुँदा उक्त प्रस्तावित योजनाको सम्भाव्यता अध्ययन (Feasibility Study) कार्य त्यसैअन्तर्गत गर्न समन्वय गर्ने र चार महिनाभित्र अध्ययन सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाउने ।
(ख) उपर्युक्त अध्ययनको आधारमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराई Turnkey Contract (Design & Build) को आधारमा दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने ।

यो विषयमा समाचार पनि यसरी छापिएका थिए।

समाचार छापियो, मान्छेले पढे। त्यसपछि न समाचार छाप्नेले यसको मतलब गर्‍यो, न पढ्नेले। सबैले बिर्सिए। मैले पनि बिर्सिसक्या रैछु। आज तत्कालीन सरकारका प्रवक्ता गंगालाल तुलाधरले एउटा प्रेस विज्ञप्ति निकालेपछि पो सम्झिएँ त। वक्तव्यमा उनले एमाले अध्यक्ष झलनाथ खनालको नेतृत्वमा गठित सरकारले ‘त्रिभुवन राजपथको नागढुङ्गा क्षेत्रमा हुने अत्याधिक ट्राफिक जाम हटाउन नेपाल आयल निगमको डिपो थानकोटबाट धादिङको झाप्रेखोला छिचोल्ने सुरुङ मार्ग अविलम्ब निर्माण गर्ने’ निर्णय गरेको सम्झँदै अहिले जाम बढेकोले जनतामा परेको यो समस्या तुरुन्त सम्बोधन गर्न माग गरेका रहेछन्।

०४८ र ०५१ मा धादिङ २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित तुलाधर संविधानसभा निर्वाचनमा भने त्यही क्षेत्रबाट पराजित भएका थिए। अहिले दोस्रो संविधान सभा निर्वाचनको मिति नजिकिँदै गर्दा उनले अकस्मात् आफ्नो सरकारले गरेको निर्णय सम्झिएछन्।

नत्र त दुई वर्षमा हुने भनेको काम तीन वर्ष पुग्नै आँट्दा पनि सुरुसम्म नहुनुले के देखाउँछ त ? भने अनुसार भएको भए त यतिबेला त्यो सुरुङ मार्गमा गाडी आवतजावत गरिरहेको हुन्थ्यो। जनताले सब बुझेका छन्।

रामकृष्ण ढकालले त्यसै यो गीत गाएका हैनन्-

यो त सब भन्ने कुरा न हो !

6 thoughts on “दुई वर्षभित्र के देख्नु पर्‍यो !”

  1. shersingh Nepali says:
    September 26, 2013 at 4:30 pm

    यस्ता फोस्रो आस्वासन दिएर जनता झुक्काउनेहरुलाई गाऊ पसनदिनु हुदैन !

    Reply
  2. रबिन् says:
    September 25, 2013 at 1:04 am

    जुन दिन यो देशका नेता र कर्मचारीहरुले भ्रष्टाचार गर्नु हुदैन बरु खालि पेट नै किन बस्नु नपरोस भनि अनि जनताहरुले बरु महिनौ दिन लागोस तर घुस दिएर काम गराउदिन भनेर बुझ्छन तब बिकाश हुन्छ नेपालमा ।

    Reply
  3. shree basanta says:
    September 25, 2013 at 1:02 am

    पार्टी र नेताहरु त्यसै झारे भनेको होइन | एमालेलाई त्यसै यता न उताको भनेको होइन | निर्णय गर्यो बनाउने कुरो छाड्यो | नेताहरु एकातिर हस्ताक्षर गर्दै हिड्छन कार्यकर्ता अर्कातिर बिरोध गर्दै हिड्छन | येस्ता पार्टी फेरी निर्बाचनमा हामि सबभन्दा ठुलो पार्टी हुन्छु भन्दछन | देश बिगार्यो गिरिजा को महत्वोकांछाले, प्रचण्डको उग्र चलाखी र धुर्त्याईले, एमालेका नेताहरुको यता न उताको छक्का प्रवृतिले | त्यसैले अब चुनाब भैहाले जनताले पार्टीलाई भोट नदिएर दिएको जति सबै स्वतन्त्रको पक्ष्यमा गयो भने बरु राम्रो हुन्छ | पार्टी, तिनका नेता र कार्यकर्ता, डन, गुण्डा मिलेर देशका स्रोत आम्दानीमा जरो गाडेको, आफ्नो स्वार्थमा सरकारी प्रसासन हिंडाएको र भैराख्या सिस्टम पनि बिगारेको सबै जनताले स्वयम् आफ्नै आँखाले देखिसकेका छन | त्यसैले अहिले चुनाब भन्दै हिडेका पार्टीमात्र हुन् जनता मौन छन |

    Reply
  4. द्रोण says:
    September 24, 2013 at 10:36 pm

    मंत्रिपरिसाद को निर्णय पढदा त् सम्भायता अध्यान को नाउमा करोडौ को घोटाला गर्ने मन साय स्पस्ट हुदैन र भन्या ?

    Reply
  5. बशन्त राज says:
    September 24, 2013 at 7:43 pm

    नेपालमा कहिले विकास होला त ?
    जुन दिन वाई. सी. एल. ले नेताको पछाडी लाग्न छाडी कुखुरा पालन गर्छ / अनि त्यो कुखुरा को मासु बाट नेपाल मा के. एफ. सी., म्य्कडोनाल्ड जस्ता रेस्टुरेन्ट चल्छ तब नेपाल बन्छ / / तरुण दल जुन दिन गाईपालन गरेर दुध उत्पादन गर्छ अनि अनमोलजस्तो दुध पैक गरेर भारत पडाउछ तब नेपाल बन्छ / प्रजातान्त्रिक युबा संघ बाख्रा / भेडा/ चंग्ग्रा पालन गरेर दशैँमा मटन सपलाई गर्छ तब विकास हुन्छ / जुनदिन युथ फोर्ष तरकारी खेति गरेर तरकारी चीनमा सपलाई तब विकास हुन्छ / जून दिन ने. बी. संघ जुम्ला हुम्लामा गयर बर्षाले बीगारेको स्कुल बनाउछ तब नेपालमा विकास हुन्छ / जुनदिन अनेरासबियु गोबर ग्यास तथा बैकल्पिक उर्जा बारे खोजबिन गर्छ तब नेपालमा विकास हुन्छ / जुन दिन नेपालमा एमाओबादीले आफ्ना कार्यकर्तालाई प्रीथीबि राजमार्ग मर्मत गर्न कुटो ,कोदालो, साबेल, हसिया, हतोडा आदि दीयर पडाउ छ तब नेपाल मा विकास हुन्छ / जुनदिन कांग्रेश कोइरालाको दाग हटाएर सिचाईका लागि खोलामा बाध बनौन जान्छ तब नेपालमा विकास हुन्छ / जुनदिन एमाले आफै गाउ गएर आफ्नो गाउ आफै बनाउछ तब विकास हुन्छ / जुनदिन फोरम झोला बोरा बोकेर गाउ गाउ मा जुत्ता,फलामको पता, प्लास्टिक, पुराना कागज आदि जम्मा गरेर पुनरप्रायोग (रीसाईकल) गरछ तब नेपालमा विकास हुन्छ /

    Reply
  6. avaya says:
    September 24, 2013 at 7:18 pm

    नानी देखि लागेको बानी! नेपाललाई १५ वर्ष भित्र एसियन मापदण्डमा पुर्याउने भनेर एक ताका पन्च्यात कालमा मन्त्रि खुब खोकते तर देसको हालत यो छ! हुनत पन्च्यात काल र ऐले मा के नै पो फरक छ र?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme