Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विज्ञापन हेर्दा पैसा पाइने !

Posted on September 6, 2013September 6, 2013 by Salokya

cashonad1 मोबाइलमा एसएमएसबाट ताइँ न तुइँका विज्ञापनहरु आएको देखेर दिक्क हुनुहुन्छ भने तपाईँलाई एउटा खराब खबर- अब तपाईँको मोबाइलमाथि उद्योगी/व्यापारीहरुको आक्रमण हुँदैछ। कम्पनीहरुले छानी-छानी तपाईँको मोबाइलमा कसैले फोन गर्ने बित्तिकै भिडियो विज्ञापन बजाइदिने छन्। तर, एउटा राम्रो खबर पनि छ- ती विज्ञापन हेरिदिएवापत् तपाईँले पैसा पनि पाउनु हुनेछ।

अडियन्सलाई लोभ्याएर, फकाएर, सम्झाएर कुनै कुरामा आकर्षित बनाई तपाईँलाई उनीहरुको उत्पादन वा सेवा उपभोग गर्न लगाउने उद्देश्य हुन्छ व्यापारिक विज्ञापनमा। त्यो वापत् विज्ञापन दिनेले विज्ञापन गर्ने (मिडिया, एजेन्सी) लाई रकम तिर्छ। बिचरा उपभोक्तालाई भने विज्ञापन जबर्जस्ती हेर्न बाध्य बनाइएको हुन्छ। अब विज्ञापनको यही परम्परागत अवधारणालाई चुनौति दिँदै विज्ञापन हेर्नेलाई समेत पैसा दिएर फकाउने नयाँ प्रयोग सुरु भएको छ। विश्वमै नौलो यो क्रान्तिकारी परिवर्तनको सुरुवात उत्साही नेपाली युवाले गरेका छन्।

यसका लागि उनीहरुले रोजेका छन् अहिलेको युगको सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मोबाइल !

मोबाइलमा अहिलेसम्म विश्वभर मानिसको ध्यान फोन गरेर आफ्नो सेवाको प्रचार गर्ने र नेपालमा समेत चलेको सिआरबिटी/पिआरबिटी अनि एसएमएसबाट विज्ञापन गर्नेमा मात्र सीमित छ। सिआरबिटी/पिआरबिटीमा रिङटोन डाउनलोड गर्दा उपभोक्ताले पैसा तिर्नुपर्छ। धेरै नाफा टेलिकम कम्पनी र रिङटोनको बजार व्यवस्थापन गर्नेले पाउँछ। थोरै चाहिँ सर्जकको हातमा पर्छ। एसएमएसबाट विज्ञापन पठाउँदा टेलिकम कम्पनीहरुलाई मात्र फाइदा हुन्छ। ती विज्ञापन जसको मोबाइलमा आउँछ, उनीहरुको हातमा केही पर्दैन। तर विश्वास ढकाल लगायतको टिमले मोबाइलमा विज्ञापन बज्दा जसको मोबाइलमा यो बज्छ, उसले पनि पैसा पाउने एउटा नयाँ अवधारणा निकाले- क्यासअनआयड केही महिनासम्मको परीक्षणपछि हिजो बिहीबारदेखि नेपालमा यो आधिकारिक रुपमा सुरु भएको घोषणा भएको छ।

प्रक्रिया यस्तो छ-

• एन्ड्रोइड स्मार्टफोन (iOs मा मिल्दैन) प्रयोग गर्नेले क्यासअनआय्‌ड आय्‌प डाउनलोड गरेर इन्सटल गर्ने।
• त्यो आय्‌पले वाइफाइमा सिङ्क भएको बेला ६०० केबी साइजका विज्ञापन आफै डाउनलोड गरेर राख्ने र इन्टरनेटको कनेक्सन नभएको अवस्थामा पनि कसैको मोबाइलमा फोन आउने बित्तिकै बज्ने रिङटोनको साटो भिडियो विज्ञापन स्क्रिनमा देखाइदिने।
• ६ सेकेन्ड त्यो विज्ञापन बजेपछि फोन उठायो भने एक अमेरिकी सेन्ट (लगभग एक रुपियाँ) मोबाइल प्रयोगकर्ताले पाउने।

हिजो र्‍याडिसन होटलमा आयोजित कार्यक्रममा नेपालको विज्ञापन बजारका एक प्रमुख खेलाडी रञ्जित आचार्यले यसबाट खस्कँदै गएको नेपालको विज्ञापन बजारमा नयाँ ऊर्जा थपिने बताए। उनले विश्वकै डिजिटल विज्ञापन बजारका लागि यो क्रान्तिकारी परिवर्तन साबित हुने दावी गरे।

केही दिनअघि विश्वास ढकाललाई भेट्दा उनले सुनाएका थिए- कसरी नेपालका मिडिया साहुहरु यो कन्सेप्ट आफूलाई बेचिदिन उनको पछि लागिरहेका छन्। नलागोस् पनि किन, गएको आर्थिक वर्षमा विज्ञापनको आम्दानी ४० प्रतिशतले घटेको तथ्याङ्क छ। विज्ञापन कै भरमा बाँच्नुपर्ने मिडियाहरुलाई यसले निकै संकटमा पारेको छ। लोडसेडिङका कारण नयाँ विज्ञापन क्याम्पेन अहिलेलाई नगर्न कम्पनीहरुले भनिरहेको त आचार्यले हिजोकै कार्यक्रममा सुनाए। संक्रमणकालीन परिस्थितिका कारण देशमा नयाँ उद्योग धन्दा स्थापना हुन सकेका छैनन्। अनि कहाँबाट आओस् विज्ञापन! “अब यसले थोरै बजेट भएकाहरुलाई पनि सस्तोमा विज्ञापन गर्ने वातावरण बन्नेछ”, आचार्यको प्रक्षेपण थियो।

क्यासअनआय्‌डका सिइओ सजत श्रेष्ठले हिजोको लञ्च कार्यक्रममा दश वर्षअघि मोबाइलमा फोन उठाउँदा पनि पैसा लाग्ने कुरा सम्झँदै भने, “पछि इनकमिङ कल फ्रि भयो। अब नेपालले विश्वलाई नयाँ सोच र प्रविधि दिंदैछौं, जहाँ तपाईं फोन रिसिभ गर्दा पैसा पनि आम्दानी गर्नुहुन्छ, यो पुरै सोचको सबैभन्दा ठूलो व्युटी नै यही हो। अर्को यसको सुन्दरता भनेको यो विश्वमा सबैभन्दा पहिले हामीले बनाएका हौँ।” उनले यस्तै प्रविधि अरुले सुरु गर्न नपाउन् भनेर यसको प्याटेन्ट समेत दर्ता गरिसकेको जानकारी दिए।

“हामी बाउबाजेले कमाइदिएर मुखमा सुनको चम्चा राखेर जन्मिएकाहरु परेनौँ। आफ्नै मेहनतले यहाँसम्म आइपुग्यौँ। नेपाल मै बसेर केही गर्छौँ भन्ने जोशजाँगर बोकेका युवाहरुको टिम बनाएर लागिपरेका छौँ”, एफ वान सफ्ट, इसेवा जस्ता कम्पनीका मास्टरमाइन्ड ढकालको योजना महत्त्वाकांक्षी छ। सिंगापुरमा दर्ता गरिएको सिरान टेक्नोलोजिजमार्फत् १८ देशमा एकै चोटी यो सेवा सुरु गर्ने सोच छ उनको। यसमा विश्वको दोस्रो ठूलो जनस‍ंख्या भएको भारतदेखि दक्षिण अमेरिकामा मोबाइल एकदमै व्यापक भएको देश ब्राजिल र विश्व महाशक्ति अमेरिकासमेत पर्छ।

अहिलेसम्म कसैले नसोचेको बिल्कुलै नौलो अवधारणा भएकोले विश्वकै ठूला कर्पोरेट संस्थाहरु गुगल, माइक्रोसफ्ट, फेसबुकको आँखा यसमा पर्ने संभावना देखिन्छ। ढकालले पनि यो संभावना नदेखेका होइनन्। यी जायन्टहरु अगाडि आए भने आफ्नो आइडिया बेच्न बाध्य हुनुपर्ने उनलाई राम्ररी थाहा छ। तर हामी पनि सक्षम छौँ भनेर देखाउने मौका यही हो भनेर उनी लागिपरेका छन्।

यद्यपि यो अवधारणा अहिले लर्निङ बाइ डुइङको प्रक्रियामा छ। नेपालमा औपचारिक रुपमा सुरु भएपछिका अनुभवहरुले उनीहरुलाई विश्व बजारका लागि रणनीति बनाउन मद्दत गर्नेछ। कम्पनीले आफ्नो वेबसाइटमा प्राइभेसी पोलिसी बारे केही पनि उल्लेख गरेको छैन। जबकि विदेशमा यसलाई निकै महत्वका साथ हेरिन्छ। तपाईँका डेटाको प्रयोग कम्पनीले कस्तो अवस्थामा र कसरी गर्छ जानकारी दिन जरुरी छ।

त्यसैगरी विज्ञापन कस्तो बजाउन दिने कस्तो नदिने भन्नेबारे कडा नीति बनाउन जरुरी छ। प्रयोगकर्तालाई झण्झट लाग्ने गरी बजाउनु ठीक हुँदैन। यसमा बज्ने ध्वनि कर्कश हुनुहुँदैन। साथै बाबुआमासँग बसिरहेको बेला कन्डमको विज्ञापन बज्ने, मिटिङमा बसिरहेको बेला चिच्याउने आवाज भएको विज्ञापन बज्ने भयो भने प्रयोगकर्ता एक रुपियाँको लोभमा यसमा टाँसिरहन्छन् भन्ने छैन। हुनत एक रुपियाँ पनि ठूलै रकम हो। किनभने फोन गर्दा उपभोक्ताले नेपाल टेलिकमको नेटवर्कमा पोस्टपेडमा एक रुपियाँ चानचुन र प्रिपेडमा साढे एक रुपियाँ चानचुन तिर्नुपर्छ। फोन आउँदा एक रुपियाँ फिर्ता आउनु उपभोक्ताको हिसाबले फाइदा कै कुरा हो। तर यी र यस्ता अनेक व्यवहारिक समस्यालाई सम्बोधन गर्दै लानु आवश्यक छ। प्रयोग गरेर हेर्न मेरो घरमा रहेको दुई वटा एन्ड्रोइड फोनमा यसलाई इन्सटल गर्न खोज्दा इन्सटल त भयो तर रजिस्टर गर्न सकिएन, समस्या देखियो।

जे भए पनि नेपाली दिमागले विश्वमै नौलो किसिमको अवधारणा जन्मिएको छ, यसको विश्वव्यापी सफलताका लागि शुभकामना !

कम्पनीको प्रेस विज्ञप्ति जस्ताको तस्तै (कम्पनीले आफ्नै नाम समेत क्यास अन आय्‌डको ठाउँमा ‘क्यास एन्ड एड’ गल्ती लेखेको रहेछ)

प्रेस विज्ञप्ति
काठमाडौं। मोवाइलमा फोनको घण्टीसँगै विज्ञापन बज्छ, फोन उठाउनुअघि विज्ञापन हेरे त्यसबाट आम्दानी हुन्छ, नेपाली कम्पनी क्यास एण्ड एडले विश्वमै नौलो यस्तो सेवा नेपालबाट सुरु गरेको छ। झण्डै एक महिनादेखि प्रयोगमा रहेको यो सेवाका अहिले नै दश हजारभन्दा बढी प्रयोगकर्ता भैसकेका छन्। आगामी केही महिना भित्र यो सेवा नेपालसँगै भारत, बंगलादेश, श्रीलंका, मलेसिया, फिलिपिन्स, इन्डोनेशिया, ब्राजिल, कम्बोडिया, अमेरिका, सिंगापुर, र संयुक्त अरब इमिरेट्स लगायतका १८ मुलुकमा पनि सुरु हुनेछ। यो सेवा लिएवापत फोन प्रयोगकर्ताले कुनै पनि रकम खर्च गर्नुपर्दैन्। सेवा सुचारु गर्न र मोवाइल विज्ञापन हेरे वापतको रकम लिनका लागि चार सामान्य प्रक्रिया छन्।
१. यो सेवा लिनका लागि एन्ड्रोइड सिस्टम भएको मोवाइल फोन चाहिन्छ, यो फोनबाट गुगल
प्ले स्टोरमा गएर एप्स डाउनलोड गर्नुपर्दछ।
२. एप्स डाउनलोड गरेपछि रजिष्टे्रशन गर्नुपर्दछ, रजिष्ट्रेशन सोधिएका प्रश्न भरेर आफै गर्न पनि
सकिन्छ भने फेसबुक लग इन गरेर पनि क्यासएण्डएडमा आफूलाई रजिष्ट्रेशन गर्नसकिन्छ।
३. रजिष्ट्रेशन भैसकेपछि फोनमा विज्ञापन देखिन थाल्छ, पैसा आम्दानी गर्नका लागि यो
विज्ञापन कम्तिमा पनि छ सेकेण्ड हुर्नुपर्दछ। एक विज्ञापन वापत एक अमेरिकी सेन्ट
खातामा थपिंदै जान्छ, जुन रकम हामीले तत्काल हेर्न सक्छौं।
४. यसरी क्यासएण्डएडमा जम्मा भएको रकम नेपालमा इ–सेवामा ट्रान्सफर गर्न सकिन्छ,
विदेशमा भने पेपल खातामा रकम ट्रान्सफर गर्नका लागि एप्समै बटनको व्यवस्था छ।
इसेवामा प्राप्त रकम मोवाइल टपअप गर्न, विद्युत, खानेपानी, टेलिफोन लगायत
युटिलिटीको महसुल तिर्न, सिनेमाको टिकट खरिद गर्न, बस, विमानको टिकट किन्न तथा
इसेवाले प्रदान गर्ने अन्य सेवाहरुमा उपयोग गर्न सकिन्छ। (इसेवाका विषयमा जानकारी
लिन क्लिक गर्नुहोस् www.esewa.com.np

क्यासएण्डएडका प्रमुख कार्यकारी अधिकृत सजत श्रेष्ठ भन्नुहुन्छ, यो सेवा प्रयोग गरेवापत उपभोक्ताले कुनै पनि रकम खर्च गर्नुपर्दैन्, सेवा लिएवापत कम्तिमा पनि टेलिफोन कम्युनिकेशनको ५० प्रतिशत खर्च भने घटाउन सकिन्छ। क्यासएण्डएडको व्यालेन्स हरेक २४ घण्टामा एक पटक इन्टरनेटमा सिंक गर्नुपर्दछ।यो सेवा प्रयोगका क्रममा टेलिफोन कम्पनीको कल काउण्ट भए पनि डाटा भने प्रयोग हुँदैन्। व्यालेन्स सिंक गर्दा एप्सले आवश्यक विज्ञापन मोवाइलमै डाउनलोड गर्दछ भने घण्टिको सट्टा एप्सले विज्ञापन बजाउँछ। फेसबुकबाट लिएको डाटालाई प्रयोग गरेर क्यासएण्डएडले विज्ञापनदाताको लक्षित समूहसम्म विज्ञापन पठाउँछ।

थप जानकारीका लागि
फेसबुकमा क्यासअनआय्‌ड
कम्पनीको वेबसाइट
गुगल प्ले स्टोरमा क्यासअनआय्‌ड
मोबाइल आय्‌‌पबाट पैसा आउने अरु पनि सेवा छन्। यहाँ क्लिक गरी हेर्नुस् केही। फोन आउँदा विज्ञापन बज्ने आइडिया भने नौलो हो।

19 thoughts on “विज्ञापन हेर्दा पैसा पाइने !”

  1. रविन says:
    September 8, 2013 at 10:46 am

    कल आएपछि बिज्ञापन बजेको बजै गर्छ फोन उठाउनलाई एकदम समस्या कल मिस भएर उल्टै आफुले गरिरहनु पर्ने झंजत लाग्यो. यो कुरोमा ध्यान पुग्ला कि?

    Reply
  2. Suman Nepal says:
    September 7, 2013 at 2:20 pm

    यो कन्सेप्ट copycat भयो check http://ringad.net/ धेरै अगाडी सुरु वको concept हो हो साथी haru

    Reply
  3. sudheer khobi says:
    September 7, 2013 at 1:02 pm

    कल रिसिभ गरिसकेपछि पनि कहिले म्युजिक बज्या बज्यै पो गर्छ कहिले बिज्ञापनको अडियो साउण्ड… मेरो सेटमा त , डिस्टर्बड लाग्यो मलाई त

    Reply
  4. अनिल says:
    September 7, 2013 at 11:45 am

    मलाई त यो ठिक लागेन/ एड आउछ भनेर आफै ले मिसकल दिएर try गरेको एड आऊदैन त बरु WHAFF र apps trailers चलाउदा बरु पैसा आउछ जस्तो लाग्यो/

    Reply
  5. निखिलसागर says:
    September 7, 2013 at 11:20 am

    धेरै फोन रिसिभ गर्नेलाइ फाइदानै हुने रहेछ । मैले त इन्सटल गरे । हुँदोरहेछ, नेपालीहरूको यस कामको प्रसंसानै गर्नुपर्छ ।

    Reply
  6. नीराजन शिरीष says:
    September 6, 2013 at 9:13 pm

    म फिनल्यान्डमा छु, हिजैमात्र मैले यो एप इन्सटल गरेको हुँ । मलार्इ चाँहि मन परेको छ । १० डलर जम्मा हुन लाग्ला २ महिनाजति । जे भएपनि खुशिकै कुरा हो । फोन उठायो पैसा पायो । 🙂 एप डेभलपरहरूलार्इ सफलताको लाखलाख शुभकामना । नेपाल र नेपालीको नाम अब प्रविधीको क्षेत्रमा पनि चम्किदै जानेछ भन्ने विश्वास लिएको छु ।

    Reply
  7. Prakash says:
    September 6, 2013 at 8:18 pm

    आइफोन बोक्ने लाइ चाई यो सुबिधा कहिले देखि नि जानकारी पाउ है:)

    Reply
  8. gyanendra says:
    September 6, 2013 at 8:14 pm

    मैले पनि यो अप्लिकेसन मोबाइल मा राखेको… फोन उठाउदा background noise ले सारै disturb गर्दो रैछ…. मलाई चै मनै परेन…. फेरी नेपाल मा पैसा निकाल्न पाउने नि sure छैन….

    Reply
  9. deepak gotame says:
    September 6, 2013 at 6:16 pm

    यो ब्लग पढेपछि मैले एप डाउन्लोड गरेर हेरें तर कुरो त अर्कै पो रहेछ त l खासमा कल आए बापत को भुक्तानी डलर मा हुने रैछ त्यो पनि सेन्ट को हिसाबले अनि एक कल आए बापत एक सेन्ट यानकी ०.००१ डलर जुन हलको बिनमयम दर का हिसाबले लगभग नेपाली एक रुपया हुन आउंछ तर २४ घन्टामा एक चोटी सिंक गर्नै पर्ने अनि एक पटक सिंक गर्नलाई कम्तिमा पनि एक डलर चाहिने l बास्तबमा एक डलर तब मात्र कामईने छ जब तपाइको फोनमा १०० कल आउनेछ l अब भन्नुस हामी मध्य कस्को फोनमा प्रति दिन १०० पटक फोन अउछ ?? यदी भनेअनुसार नै २४ घन्टामा एक पटक सिंक गर्नै पर्ने भए चाही यो पनि सोझा उपभोक्ता लुट्ने एउटा नयाँ तारिको हो l एउटा नया NCELL हो l

    Reply
    1. Sagar says:
      September 6, 2013 at 8:37 pm

      कहिलेकाहीँ अङ्ग्रेजी नबुझ्नाले अर्थको अनर्थ लगाइदिने रहेछन् ।
      सिङ्क गर्ने भनेको कम्पनीको सर्भरमा तपाईँको ब्यालेन्सको हिसाबकिताब अपडेट गर्न र नयाँ विज्ञापन भए डाउनलोड गरी राख्नलाई हो
      एक डलर भएपछि मात्र पैसा इसेवामा ट्रान्सफर गर्न सकिन्छ भनेको होला एक डलर नभएसम्म सिङ्कै गर्न नमिल्ने भनेर कहाँ लेखिएको रहेछ हेरौँ न खै
      बरु सिङ्क गर्दा वाइफाइमा मात्र गर्नु बेस हुन्छ । जीपीआरएस वा थ्रीजीमा सिङ्क गर्न थाल्नु भयो भने चाहिँ डेटाको पैसाले तपाईँको ब्यालेन्स झन् बढी काटिनेछ। अनि कमाउने हैन गुमाउने स्थिति आइपर्ला

      Reply
  10. Sunil says:
    September 6, 2013 at 4:54 pm

    समाचार भन्दा बढी बिज्ञापन हुने पत्रिका पैसा तिरेर किन्न हामी बाध्य थियौं तर यो ब्यबस्था एक दम राम्रो

    Reply
  11. Mahesh Khanal says:
    September 6, 2013 at 4:45 pm

    नेपाली युवा हरुको उत्तम सिर्जना हो यो . नेपाल मा मात्र नभएर नेपाल बाहिर पनि यो APPS ले तहल्का पिट्ने छ. यो apps का निर्माण कर्ता हरुलाई बधाई र सुभकामना ,, यो अप्प्स मार्फत नेपाल मा चाडै अर्को अरबपति को ऊदये होस् .

    Reply
    1. Tenzing Gaba says:
      September 6, 2013 at 5:03 pm

      # खनालजी तपाइको मुखमा सरस्वतीले बसुन
      # विश्वास ढकाल लगायतको टिमलाई शुभकामना
      ——————————————————-
      हिजो देखि लगातार साह्रै राम्रो राम्रो समाचार मात्र सुन्न पाइदैछ

      Reply
  12. Uttam Kumar says:
    September 6, 2013 at 3:20 pm

    ** सर्बसाधारण को हित मा जारी संदेश **
    NCELL को CUG भन्ने एउटा सेवा छ जसको माध्यम बाट सजिलै टन्न पैसा कमाउन सकिन्छ जस अन्तर्गत हामीले सिमित नम्बर मा निशुल्क फोन गर्न सक्छौ र यो एप्स मार्फत एक पटक कल गरेको एक रुपैया कमाउन सकिन्छ !

    Reply
    1. Binamra S says:
      September 6, 2013 at 3:55 pm

      यिनी फेरि NCELL को प्रवक्ता जस्तो लाग्यो, CUG activate गर्न मासिक कति तिर्नु पर्छ भन्ने पनि लेखे हुने नि !!

      Reply
    2. Alikhit says:
      September 6, 2013 at 8:28 pm

      हैन यो के हो ? लोभ लाग्दो पो छ त हौ | थप जानकारी पाउ न |

      Reply
      1. Rabindra Basnet says:
        September 6, 2013 at 8:43 pm

        यहाँ छ जानकारी 🙂
        http://www.youtube.com/watch?v=mmEqMx2rpyU

        Reply
  13. NARAYAN says:
    September 6, 2013 at 3:19 pm

    इन्फोर्मेशन को जमाना हो यो |
    राम्रो कन्सेप्ट लग्यो मलाई त |
    तपाइलाई नि ?

    Reply
  14. Chandra GC says:
    September 6, 2013 at 3:17 pm

    बल होइन पासा दिमाग लगा दिमाग .
    सफलता को धेरै धेरै शुभकामना

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme