Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भारतले नेपाल सामु घुँडा टेक्यो, नेपाल २ भारत १

Posted on September 5, 2013September 5, 2013 by Salokya

रातोमा नेपाल र नीलोमा भारत। फोटोः योपेश प्रधान
रातोमा नेपाल र नीलोमा भारत। फोटोः योपेश प्रधान

अनिल गुरुङ र जुमानु राईको गोलले २० वर्षपछि साफमा नेपालले चीर प्रतिद्वन्द्वी तथा डिफेन्डिङ च्याम्पियन भारतलाई फुटबलमा पराजित गर्ने गौरव प्राप्त गरेको छ। (पछिल्लो पटक सार्क देशमात्र सम्मिलित क्षेत्रीय प्रतियोगितामा नेपालले १९९३ मा भारतलाई हराएको थियो। साफ प्रतियोगिताबाहेक पनि नेपालले पछिल्लो पटक भारतलाई हराएको सात वर्षअघि अर्थात् २००६ को एएफसी च्यालेन्ज कपमा हो। त्यतिबेला नेपालले भारतलाई ३-० ले हराएको थियो) दशरथ रङ्गशालामा भएको समूह चरणको अन्तिम खेलमा नेपालले २-० को अग्रता कायम गरेको भए पनि इन्जुरी टाइममा भारतले एक गोल गरेर लाज बचाउन सफल भयो। अन्तिम नतिजा रह्यो नेपाल २ भारत १। समूह चरणको विजेता बन्दै नेपाल सेमिफाइनलमा पुग्यो भने सुरुदेखि नै भाग्यमानी रहँदै आएको भारत पनि उता अर्को खेलमा पाकिस्तानले बंगलादेशलाई २-१ ले हराएकोले हेड टु हेड अर्थात् भारतले पहिला पाकिस्तानलाई हराइसकेको भएर सेमिफाइनलमा पुग्न सफल भयो। बधाई छ टिम नेपाल र सबै समर्थकलाई। हो, हामीले गरी देखायौँ। अब उपाधि जित्नु पर्नेछ। चारैतिरको निराशाले दिक्दार भएका नेपालीको मुहारमा कम्तिमा फुटबलले खुसी ल्याउनेछ।

सुरुमा सन्दीप राईको प्रहार बारमा ठोक्किएर फर्किएपछि अनिल गुरुङले जाली चुमाएको अनि पछि जुमानु राईको वन टच गोल हेर्न छुटाउनु भएको भए र हेरिसक्नुभएको भए पनि दोहोर्‍याइ तेहर्‍याइ हेर्नुस्, आखिर कसरी जित्न सफल भयो नेपालले भारतलाई? भिडियो-

नेपाल र भारतबीचको यो ऐतिहासिक खेल हेर्न छुटाउनु भयो कि ? हेर्नुस् पूरा खेलको भिडियो-

नेपाल Vs भारत (पूरा खेल)


खेल हुनुअघिको पुरानो अपडेट (Sep 5, 2013 @ 11:00) नेपाल र भारतको घमासान आज, सेमिफाइनल पुग्ने/नपुग्ने आज टुङ्गो लाग्ने
साफ च्याम्पियनसिप अन्तर्गत आज घरेलु मैदानमा नेपालले डिफेन्डिङ च्याम्पियन भारतको सामना गर्दैछ। आज हुने यही समूह चरणको अन्तिम खेलले नेपाल समूह सेमिफाइनलमा पुग्छ कि पुग्दैन, टुङ्गो लाग्नेछ। अहिलेसम्म समूह ‘ए’बाट को-को सेमिफाइनलमा पुग्ने निश्चित भइसकेको छैन। नेपाल र भारतसँगै बंगलादेश र पाकिस्तान पनि आज भिड्दै छन्। समूह ‘ए’का महत्त्वपूर्ण दुवै खेल एकै समयमा गर्नुपर्ने भएकोले आज नेपालको खेल हिजोअस्ति जस्तो साढे ६ बजे फ्लडलाइटमा नखेलाई साढे ३ बजे नै सुरु हुनेछन्। यी खेलमा कस्तो नतिजा आयो भने के हुनसक्छ त ?

रातो र चन्द्र सूर्यका समर्थक। फोटोः योपेश प्रधान
रातो र चन्द्र सूर्यका समर्थक। फोटोः योपेश प्रधान


मानौँ,
नेपालले जित्यो
समूह एको शीर्ष स्थानमा रहँदै नेपालले सेमिफाइनलमा अफगानिस्तानसँग खेल्नेछ। भारतलाई भने टेन्सन हुनेछ। भारत सेमिफाइनलमा जाने/नजाने बंगलादेश र पाकिस्तानबीचको अर्को खेलको नतिजाबाट थाहा हुनेछ। अहिलेसम्म भारतसँग भएका १३ खेलमा २ खेल नेपालले जितेको छ।

नेपाल-भारत बराबरी भयो
नेपाल र भारत दुवै सेमिफाइनलमा पुग्नेछन्। समूह एको शीर्ष स्थानमा रहँदै नेपालले सेमिफाइनलमा अफगानिस्तानसँग खेल्नेछ। अहिलेसम्म भारतसँग भएका १३ खेलमा एक खेल बराबरी भएको छ।

भारतले जित्यो भने
सेमिफाइनलमा पुग्न नेपाल भाग्यको भर पर्नुपर्नेछ। पाकिस्तान र बंगलादेशबीच त्यही समयमा भइरहेको अर्को खेलको नतिजाले नेपालको भविष्य टुङ्गो लगाउनेछ। त्यो खेलमा के भयो भने के हुनेछ ?

अर्को खेलमा बंगलादेशले जित्यो भने
बंगलादेशलाई नेपालले हराइसकेको भएर (हेड टु हेड नियम) नेपाल भारतसँग हारे पनि सेमिफाइनल पुग्नेछ। अहिलेसम्म १८ गोल गरिसकेको बलियो टोली माल्दिभ्ससँग सेमिफाइनलमा खेल्नेछ।

बंगलादेश र पाकिस्तान बराबरी भयो भने
नेपाल र भारत सेमिफाइनल पुग्नेछन्।

पाकिस्तानले जित्यो भने
नेपाललाई गाह्रो हुनसक्छ। गोल अन्तरबाट नेपाल सेमिफाइनलमा जाने कि पाकिस्तान जाने टुङ्गो लाग्नेछ। नेपालको गोल अन्तर +२ रहेको छ भने पाकिस्तानको -१ । पाकिस्तानले बंगलादेशलाई ३ गोलको अन्तरले पराजित गर्‍यो भने नेपाल सेमिफाइनल पुग्न सक्दैन। मानौँ गोल अन्तर पनि बराबर भयो यस्तो अवस्थामा नेपाल र पाकिस्तानमध्ये कसले बढी गोल हानेको हो, त्यो सेमिफाइनल पुग्छ। नेपालले अहिलेसम्म ३ गोल गरेको छ भने पाकिस्तानले १ गोलमात्र।

पाकिस्तानले बंगलादेशलाई ३-१ ले हरायो भने र नेपाल भारतसँग १-० ले पराजित भयो भने पाकिस्तान सेमिफाइनल पुग्नेछ।

मानौँ पाकिस्तानले बंगलादेशलाई २-० ले हरायो र भारतसँग नेपाल २-० ले पराजित भयो भने गोल अन्तर पनि बराबर हुनेछ। यस्तोमा नेपालले गोल गरेको ३ खाएको ३ हुन्छ भने पाकिस्तानको गरेको ३ खाएको २ हुन्छ र पाकिस्तान छनौट हुन्छ।

मानौँ पाकिस्तानले बंगलादेशलाई २-१ ले हरायो भने र भारतसँग नेपाल २-० ले पराजित भयो भने दुवै टिमले गोल गरेको र खाएको पनि बराबर हुनेछ। यस्तो अवस्थामा टस गरेर सेमिफाइनल पुग्ने टुङ्गो लाग्नेछ।

त्यसैले आज नेपाली समर्थकको चाहना भारतलाई जसरी भए पनि जित्नु हुनेछ। त्यो नभए कम्तिमा बराबरीले नेपाल सेमिफाइनल पुग्नेछ। भारतसँग हारिहाले पनि आत्तिनु पर्दैन, विश्वमा नेपाली दर्शकको हुल्याहा छवि देखाउन जरुरी छैन। फुटबल खेल भावनाका साथ एकताका लागि हो, विभाजनका लागि हैन। कथंकदाचित हारिहाले पनि नेपाल सेमिफाइनल पुग्न सक्ने प्रशस्त संभावना छ। रंगशालामा ‘व्यहोरा’ देखाउन थाले देशको इज्जतका लागि आफै अग्रसर भई त्यस्तालाई नियन्त्रण गरौँ।

हेर्नुस् आजका खेलको लाइभ भिडियो
(सार्क क्षेत्रका आठ देशमा यो लाइभ हेर्न सकिन्न। अरु देशहरुमा हेर्न सकिन्छ। सार्क देशहरुमा हेर्ने भए प्रोक्सी चलाएर हेर्न सकिन्छ)

नेपाल Vs भारत (नेपाली समय साढे ३ बजे सुरु)

बंगलादेश Vs पाकिस्तान (नेपाली समय साढे ३ बजे सुरु)


nepal-saff

लाइभ ट्विट (#SAFF)

Tweets about “#SAFF”

पाकिस्तानविरुद्धको खेलमा नेपालका समर्थक। फोटोः योपेश प्रधान
पाकिस्तानविरुद्धको खेलमा नेपालका समर्थक। फोटोः योपेश प्रधान
फोटोः योपेश प्रधान
फोटोः योपेश प्रधान

फुटबल होस् या क्रिकेट। नेपालीहरु आफ्नो देशलाई समर्थन गर्न पुगिहाल्छन्। नेपालले खेल्दा रंगशालाका प्यारापिटमा खुट्टा टेक्ने ठाउँ हुँदैन। फोटोः योपेश प्रधान
फुटबल होस् या क्रिकेट। नेपालीहरु आफ्नो देशलाई समर्थन गर्न पुगिहाल्छन्। नेपालले खेल्दा रंगशालाका प्यारापिटमा खुट्टा टेक्ने ठाउँ हुँदैन। फोटोः योपेश प्रधान

आफ्ना राम्रा फोटो प्रयोग गर्न अनुमति दिएकोमा योपेश प्रधानलाई धन्यवाद।

40 thoughts on “भारतले नेपाल सामु घुँडा टेक्यो, नेपाल २ भारत १”

  1. sushil bhatta says:
    September 6, 2013 at 10:26 pm

    नेपाली नेपाली मिले पछि कस्को के लाग्छ र
    त त म म भन्न थाले देश् कहाँ जाग्छ र

    धन्न आज गोर्खे खेलाडी ले इज्जत राखेछन
    यस्तै गरि सबै मिले हस्तछेपकारी भाग्नेछन

    Reply
  2. Ngwang Sonam says:
    September 6, 2013 at 8:50 pm

    नेपाल अब आफगानिस्तान संग सेमिफाईनलमा भेट्ने भएको छ रणनीतिक दंगले पहिलाको भन्दा अझ सुझबुझले खेलुन बधाई तथा पूर्ण सफलताको शुभकामना २०११ को बदला लिनु जरुरि छ .

    Reply
  3. ashok says:
    September 5, 2013 at 11:12 pm

    माथि सिया राईजीको लेख साह्रै नै अर्थपूर्ण लाग्यो धन्याबाद..तर मैले जान्न खोजेको टीमहरु कति ग्रुपमा बिभाजन भएका छन् र बाकी को संग को खेल्दै छन् ,खेलिसके . अर्को चरणको खेलहरुको सम्भावना र कल्पना गर्न पाइन्थ्योकि यसमा माई संसारका सम्पादक उमेशजिलाई या पाठक वर्गहरु संग अनुरोध गर्दछु !!अर्को कुरा हाम्रो नेपालि टिमले भारतीय टिमलाई दिनदहाडै रंगशालाको आँगनमा दुई लाट खुलायो हामि सबैले देख्या हो तर हाम्रो नेताहरुले भारतीय नेताहरुलाई लाट हान्ने दिन कहिले हेर्न लेख्या हो !!

    Reply
    1. Sagar says:
      September 6, 2013 at 1:21 am

      घोडाको आँखामा दायाँबायाँ पट्टी बाँध्या जस्तो दायाँ बायाँ हेर्न जान्नु हुन्न कि क्या हो अशोक जी, बायाँतिर त्यत्रो साफ च्याम्पियनसिपको लोगो राखेको देख्नुभएन ? त्यहाँ क्लिक गर्नुस‌् अहिलेसम्मका सबै खेलका भिडियो, कहिले कोसँग गेम हुन्छ सबै जानकारी छ
      सोझो मात्र हेर्ने बानी छ भने यी यहाँ क्लिक गरेर हेर्नुस http://www.mysansar.com/saff-championship-football-2013/

      Reply
      1. Vijay says:
        September 6, 2013 at 9:55 am

        तपाई ले देख्नुभयेछ, खुसि लाग्यो, तर अरुलाई सल्लाह दिदा नम्र भएर दिदा उत्तम हुन्थ्यो होला, त्यसो गर्दा तपाइको ब्लडप्रेसर पनि नबढ्ने, पढ्नेको मन पनि खुसि हुने….यसो गरे कसो होला ? पठान हरुको जस्तो जंगी रिस त नराम्रो पो !!

        Reply
  4. Anil ktm says:
    September 5, 2013 at 11:06 pm

    आज को खेलको नतिजा हेर्दा त खेलाडी हरुलाई फ्लात होइन बंगलो नै दिनु पर्छ जस्तो लाग्छ/ खेलाडी को स्तर धेरै राम्रो छ/ कृपया यसरी जित हासिल गर्दै गर्नु होस्… सारा नेपाली जनताको तरफ बात शुभकामना …………

    Reply
  5. dawa finjok nepali says:
    September 5, 2013 at 9:10 pm

    नेपाल र भारत दुवै लाइ बदाई , फरक यति हो कि नेपाल जितेर सेमीफाइनल पुग्यो भने भारत हारेर… अब अफगानिस्तानसंग को खेलको लागि नेपाल लाइ अग्रिम शुभकामना

    Reply
  6. Seeya Rai, Nakhipot says:
    September 5, 2013 at 9:02 pm

    फुटबलमा नेपालले भारतलाई जित्नुको अर्थ

    सन् १९८६ को विश्वकप फुटबलमा अर्जेन्टिनाले बेलायतलाई फाइनलमा हराएर उपाधि कब्जा गरेको थियो । त्यो जितको खास अर्थ के थियो भने फकल्यान्डको युद्धमा ब्रिटिसले अर्जेन्टिनीहरुलाई मारेको बदला फुटबलबाट अर्जेन्टिनाले लिएको थियो । अर्जेन्टिनाले बेलायतलाई हार चखाउने बदलाको भावना भएकैले ईश्वरको हातको उपमा पाएको म्याराडोनाले हातले समेत गोल गरेका थिए ।
    दुई साल अघि जापानमा विनाशकारी सुनामी आयो । त्यो विपत्तिले जापानलाई मात्र स्तब्ध पारेन अपितु संसारलाई समेत मर्माहत बनायो । त्यसको केही समय पछि महिला विश्वकप फुटबल जर्मनीमा आयोजना हुन लाग्दैथ्यो । आफ्नो देशमा भएको विनाशलाई भुलाउन जापानले आफ्नो देशका सहभागी महिला टिमलाई जिम्मा दियो । अमेरिकालाई हराएर जापानले विश्वकप महिला फुटबलको उपाधि जित्यो । जिते पछि खेलाडीहरुले यसो भने– ‘हामीले हाम्रो देशको जनताको दुःख सम्झिरह्यौँ । हामी उनीहरुको दुःख भुलाउनको लागि हाम्रो देशलाई विश्वकपमा जिताउन लागिप¥यौं ।’
    आज नेपालले भारतलाई फुटबलमा हराएको छ । यसले नेपाली माझ खुशीको वर्षा गराउनुको खास कारण पनि छ । नेपालको राजनीति र सार्वभौमसत्तामा जैले बुट बजार्ने भारत आज खेलमा नेपालसँग हार्नुसँग नेपालीहरुले त्यै भारतको हेपाहा प्रवृत्तिमाथिको जवाफका रुपमा पनि खुशीयाली मनाइहेका छन् भन्ने मलाई लाग्छ ।
    गोटी हल्लाएर खेलिने खेल लुडोको आवरण गातामा अक्सर एउटा चित्र हुन्छ, सिंहले अजंगको हात्तीलाई चिथोरेर रगताम्य पारेको चित्र । त्यसको अर्थ खेलमा सानो ज्यानले पनि ठूलोलाई सुम्ल्याउन सक्छ भन्ने हो । विश्वकै दोस्रो ठूलो जनसंख्या भएको हेपाहा भारतको लागि नेपालसँगको हार उसको लागि निकै खराब समाचार हो । नेपालले भारतलाई दिने यस्तो जवाफमा खुशीले चिच्याउनुमा राष्ट्रियताको भावना छचल्किएको मैले पाएको छु ।

    Reply
  7. Kamal says:
    September 5, 2013 at 8:53 pm

    नेपालले भारत लाइ फुटबलमा जित्यो, त्यो भन्दा नि नेपाली फरवार्डहरुले गोल गर्न सुरु गरे! गोल हान्नालाई अब डिफेन्स आइदिनु परेन!!!!

    Reply
  8. सार्थक says:
    September 5, 2013 at 8:15 pm

    बधाई हामी सबै नेपालीलाई ।
    अब आउने गेममा पनि ईन्डियालाई तीन चित पछार्नु पर्छ ।

    Reply
  9. Ram says:
    September 5, 2013 at 7:56 pm

    हामी नेपालीहरुलाई एकताको डोरीमा बाधी राष्ट्रियताको भावना जागृत गराउन सफल नेपाली टिमले नेपाली दर्शकलाई भविस्यमा पनि यसैगरी खुशी प्रदान गर्दै जाओस, शुभकामना !!!

    Reply
  10. द्रोण says:
    September 5, 2013 at 7:48 pm

    आफ़ुलॆ निकै जान्ने सुन्ने ,ठान्ने , ठुलो , १ अरब २१ करोड को जनसंख्या भएको देश ले ३ करोड को जनसंख्या बाट पराजित हुनु लाज हुनेको लागि भएको भए सरम को कुरा हो |

    अब राजनीति खेलाडी ले पनि तेस्तै खेलेर हरावोस त् |

    Reply
  11. c sherpa says:
    September 5, 2013 at 7:45 pm

    आज धोति हरुले साँच्चै बाउको मुख देखे !

    Reply
  12. Chetan Nepali says:
    September 5, 2013 at 7:36 pm

    ठुलो दाइलाई भाइले हराएछ ! सधै हेप्ने बानि भएको ठुलो दाइलाई भाइले गतिलो जवाफ दियो !!

    नेपालको खेल प्रदर्शन हेर्न लायकको रहेछ ! बधाई र शुभ कामाना नेपाली टीमलाई !

    Reply
  13. Rakesh says:
    September 5, 2013 at 7:20 pm

    हटिहैन डटी लड्ने नेपालीको बानि हुन्छ

    Reply
  14. DEV says:
    September 5, 2013 at 7:18 pm

    बेकारमा इंडिया लाइ हराएर हाम्रा नेताहरुलाई गार्हो हुने भयो. अब फेरी एक एक गरि नेताहरुलाई अन्तर्वार्ता लिने होला प्रभुले .

    Reply
  15. ashok says:
    September 5, 2013 at 7:17 pm

    अपिल:

    नेपाल जितोस भनर नागको पुजा गरौ, नागको !

    Reply
  16. krishna says:
    September 5, 2013 at 7:02 pm

    बल्ल मज्जा आयो, नेताहरुले घुडा टेकेको टेकेइ गरे पनि खेलाडीहरुले भारतलाइ घुडा टेकाए ,हरेक कुरामा भारतलाइ यसरी नै घुडा टेकाउनु पर्छ, अनि नेपाली भुमी मिच्न त परै जाओस हेर्न सम्म नपाउने गरेर जंगे पर्खालले घेर्नु पर्छ !!! जय गोर्खाली!!

    Reply
  17. anil pun says:
    September 5, 2013 at 7:02 pm

    आज छुट्टी लिएरै फुटबल हेरियो।भारतलाई हराएकोमा म सार्है खुशी भएको छु।नेपालका टिमबाट सबैले राम्रो खेले तापनि अनिल गुरुङले सबै भन्दा राम्रो खले।आफू त नेपालले धोतीहरुलाई धोबी पिटाई गरेको खुशीमा आज बियर र मासु टन्न खाईन्छ।रिसराग आनि राजनीतिक पूर्बाग्रह बिर्सेर साथीहरु पनि आज खुशीयाली मनाउनु होला।

    Reply
  18. SURENDRA hongkong says:
    September 5, 2013 at 6:54 pm

    इंडिया लाई यसरी नै पछि पार्ने दिन कहिले आउला हाम्रो? सधै ठुल्दाई को खटन ,पटन को अन्त्य कहिले होला?

    Reply
  19. sunil says:
    September 5, 2013 at 6:53 pm

    धन्यवाद छ सम्पूर्ण नेपाली राष्ट्रिय फूटबल टिमलाई इज्जत राखिदिएकोमा |
    आशा छ यो हाम्रो जित जस्तै आगामी दिन को खेल मा पनि इज्जत राखिदिने छौ |
    जय नेपाल |

    Reply
  20. kushal khadka says:
    September 5, 2013 at 6:27 pm

    ल अब अपार्टमेन्ट को लागि सामान हरु किन्दै गरे भयो है खेलाडीहरु…दिने चाही कसले हो, धनि ANFA कि गरिब सरकार…

    Reply
  21. शरद-क्षितिज पारीबाट says:
    September 5, 2013 at 6:23 pm

    हाम्रो टिम हाम्रो गौरभ…… फेरी एक पटक नेपाली खेलाडीले हाम्रो शिर उच्च बनाएका छन् अब त तिमीहरुले ५० गोल खाए पनि गुनासो छैन मलाइ त ! मेरो लागि हाम्रो टिमले भारतलाई ठोक्नु भन्दा ठुलो गौरभ त केहि छैन….आज मा आफैले संसार जितेको छु जत्तिकै भएको छ मलाइ त ……. आज त म २० मिनेट सास रोके पनि मर्दैन शत्रु दंग्रंग सिनो जस्तै पल्टिएको छ……. धन्य हौ हाम्रा महान खेलाडी…. हृदय देखि बधाई अनि शुभ-कामना !!! ******** हाम्रा नेताले धम्क्याउलान है खेलाडीलाई भारत लाइ जितेकोमा , मिडियाको बिशेष निगरानी रहोस है…..!!!

    Reply
  22. vijay says:
    September 5, 2013 at 6:11 pm

    No,we defeated India in ACC quarterfinal 2006 by 2-0.
    anyway Huge congratulation to NEPAL NATIONAL TEAM.
    LORD PASHUPATINATH bless U !

    Reply
  23. सगुन says:
    September 5, 2013 at 6:08 pm

    नबुझेको कुरा: ईन्डिया र पाकिस्तानले बराबर खेल खेलेर बराबर हार्-जित, बराबर गोल गरेर/खाएर पनि कसरी ईन्डिया अगाडि भयो?

    Reply
    1. Abhi says:
      September 5, 2013 at 6:20 pm

      तेस्तो अबस्थामा आफु संग खेल्दा कसले जित्यो (Head to head), जित्ने अगाडी बढ्छ ;

      Reply
      1. सगुन says:
        September 5, 2013 at 6:37 pm

        धन्यबाद अभि जी!

        Reply
    2. सगुन says:
      September 5, 2013 at 6:35 pm

      जवाफ ट्वीटरमा भेटे! धन्यवाद उमेशजी! नेपालले जितेकोमा सबैलाई बधाई है!

      Reply
  24. Ngwang Sonam says:
    September 5, 2013 at 5:59 pm

    नेपाली फुटबलका स्टार खेलाडी अनिल गुरुङ १० र जुमानु राई ११ ले खेलको मध्यान्तर पछि भारत बिरुद्ध २-१ गोल गरेर रंगशालाको २० हजार खेलाडीलाई खुशी मात्र पारेनन सेमिफ़ाईनलको यात्र सुखद रुपमा तय गरे । सन्दिप राईको फ्री किकमा हानेको बल बिक्रम लामाले हेड गरेको बल बारमा ठोक्किएर लागेको बल अनिलले सहि सदुपयोग गरेर गोल गरे। अर्का बल रविल श्रेष्ठले तेज गतिमा लगेर डि बक्स मा लगेर जुमानु राईलाइ दिएको पास जुमानुले दर्शनीय वान टचमा हानेर गोल गरे
    सधै गोलको खडेरीको आरोप खेपेको नेपालि टिमले आज ज्यानको बाजी लागेर खेले साथै सफल पनि भयो . अर्को खेलको लागि अझ रणनीतिक रुपमा तयार होस् गोर्खालीको झुझारुपना देखियोस हरेक खेलमा सफल होस् ट्रफी चुमोस यहि कामना
    यो नेपालले सात बर्ष पछाडी हराएको गेम हो
    नेपालि टोलीलाई बधाई तथा शुभकामना। .

    Reply
  25. अनिल says:
    September 5, 2013 at 5:56 pm

    २० हो कि ७ बर्ष हो?

    Reply
  26. ashok says:
    September 5, 2013 at 2:42 pm

    हे नागराजा! नेपालीहरुले गरेको आशा पुरा गरिदे !

    Reply
  27. jiten says:
    September 5, 2013 at 2:29 pm

    नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल

    Reply
  28. Raju Rana - Mahendra says:
    September 5, 2013 at 2:09 pm

    अहिले सम्म को गेम हेर्दा नेपाल ले जित्नु पर्ने हो भारत लाई—-यसपाली केहि मा नाभायानी सानो कान्छो दाई लाई ल्वाप्पा खुलाउने हो फुटबल मा त के को —युवा हरु लाई प्रथिम्कता दिनु पर्छ आज को खेल मा

    Reply
  29. बशन्त राज says:
    September 5, 2013 at 1:48 pm

    २ जना छिमेकिको आगन जोडीएको घर रहेछ / नेपाल र भारत जस्तो / एक छीमेकिले (नेपाल) कुखुरा पालेको रछ / अर्को छीमेकि अलि धुर्त रहेछ / एकदिन छीमेकिको कुखुरा धुर्त छिमेकीको आगन मा चर्न गयछ / धुर्त छिमेकीले त्यो कुखुरा को मासु बनायर खाने योजना बनाएछ / कुखुरा समाएर काटकुट परेर भुत्ला छिमेकी को बारीमा फाल्दीएछ / अनि स्याल कारए जस्तो कराएछ / हु हु ई ई ई ………………………/ कुखुरा पाल्ने छिमेकीलाई कुखुराको स्यालले कुखुरा लाग्ला भने डर लगेर आफनो कुखुरा बोलाउन थालेछ / त्रु आ त्रु आ त्रु आ आ ………. / हतपत्त धुर्त छेमकी लुकेर घर भित्र गएछ / झयालबाट बाहिर हेर्दै भनेछ के भो छेमकी मित्र ? छिमेकिले भनेछ हर्नुसन स्याल करायो कुखुरा लैजाला भनेर बोलको कुखुरा नै आउदैन / धुर्त छिमेकीले भने बारी मा जानुस र हेर्नुस / ल पख्नुस म पनि आए भन्दै बारीमा दुई छिमकी गएछन् / अनि धुर्त छेमेकी ले भुत्ला देखाएर उ त्याहा हेर्नुस त ? भुत्ला ? यो तपाई को कुखुरा को भुत्ला हो ? छिमेकि ले हो भनेछ / धुर्त छीमेकीले भनेछ / स्याल कराउनु कुखुरा हराउनु / कुखुरा त स्याल ले नै लागेको हो / छीमेकिले हो भनेर विश्वास गरेछ / नेपाल भारत छेमेकी जस्तो क्या ?

    Reply
  30. man limbu says:
    September 5, 2013 at 1:30 pm

    मेरो व्यक्तिगत प्रक्षेपण :

    शिर्षक : नेपाल VS भारत फूटबल खेल (साफ चम्पिओन्शिप)

    नेपालले भारतलाई १ गोलको बिरुद्द २ गोलले जित्ने हाम्लाई लाईरहेछ .

    यसका मद्दतले नेपाल समुह ए बाट ७ अंक सहित शिर्ष स्थान सहित सेमीफैनल चरणमा प्रवेश गर्ने निश्चित देखिएको छ

    Reply
  31. Naylak says:
    September 5, 2013 at 1:10 pm

    Its the right time to kick India now…they have been dominating Nepal for a very long time…hope our players will do their best…

    Reply
  32. aryan says:
    September 5, 2013 at 1:04 pm

    NEPAL MUST WIN THIS GAME. THIS IS A QUESTION OF LIFE AND DEATH.

    Reply
  33. neeraj says:
    September 5, 2013 at 12:53 pm

    नेपाललाई जित्न अवस्य गाह्रो छ – भलै हाम्रो मनले नेपाल जितोस् भन्ने कामना गर्छ। तर जित्नै पर्ने दवाव छैन, ड्र मात्र गरे पनि पुग्ने स्थिती छ – तर जितेको जति मजा आउन्न।
    नेपालका समस्या भनेको मुख्यतः स्ट्राइकरहरुले पाएको अवसर उपयोग गर्न नसक्नु हो – डिफेन्स राम्रै छ, मिडफिल्ड पनि अस्ति पाकिस्तानको खेलमा सुध्रिएको छ, तर फरवार्डले पाएको अवसर तुरुन्त उपयोग गर्नुपर्छ – अलिकति पनि कुर्दा विपक्षीले बल खोसिहाल्छ वा गोलकिपरले बचाइहाल्छ। युरोप, साउथ अमेरिकाका स्ट्राइकरहरु कस्ता हुन्छन् , पायो कि हान्यो गर्ने।
    आजको खेलमा भारतले दह्रो चुनौति दिन्छ। डिफेन्सले एक मात्र गल्ति गर्‍यो भने गोल खाइन्छ, गल्ति एउटा पनि गर्न भएन। मिडफिल्ड संयमित भएर सटिक पास दिएर खेल्न पर्‍यो। र फर्वाडहरुले पाएको बल जसरी हुन्छ गोलमा परिणत गर्नु पर्‍यो – कहिले सुट हान्न उपयुक्त हुन्छ, कहिले अर्को फर्वाडलाई पास दिँदा राम्रो हुन्छ त कहिले छलाएर पोस्ट तिर बल गुडाउनु ठिक हुन्छ। के गर्ने भनेर त खेलाडिले निर्क्यौल गर्ने हो, त्यो पनि १ सेकेन्ड भन्दा कम समयमा – त्यहि चिजले नै खेलाडिको स्तर निर्धारण गर्छ।
    मेरो बिचारमा बिमललाई सुरु देखि नै वा त्यो नभए २५-३० मिनेट पछि खेलाउनु पर्छ। Killer Instinct भएको नेपाली फर्वाड उनै एक हुन , सानो उमेरकै भए पनि।
    नेपालले जितोस् ,त्यो पनि भारतलाई, र बब्बाल उफ्रने कराउने मौका पाइयोस, भोली छुट्टी नै लिएर खुशी मनाउन पाइयोस्, — शुभकामना।

    Reply
  34. Bimal says:
    September 5, 2013 at 12:04 pm

    जसले जसरि खेलोस तर जित चहि नेपालको नै हुनुपर्छा!……जय नेपाल ….!!!

    Reply
  35. Tenzing Gaba says:
    September 5, 2013 at 11:36 am

    अतिथि देवो भब:
    ———————
    “अतिथि” त्यो माथि “छिमेकी” हाम्रा देशाँ आएका छन्,
    मुख जुठो नगराई पठाउनु त् भएन,
    अब रंगशालामा उपलब्ध भनेको त्येही “GOAL” मात्र हो
    अब त्येही “GOAL” नै टन्न खुवाएर पठाऊ है केटाज़ !!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme