-अतुल पोखरेल-
एक दिनको कुरा हो, एउटा कछुवा आफ्नै गतिमा बिस्तारै हिडिरहेको बेला एउटा दौडिरहेको खरायोको आँखा कछुवामा पर्यो। खरायो अडियो र कछुवाको नजिकै आएर भयो – “तिम्रो गति अति सुस्त छ। तिमी अली छिटो हिंडने अभ्यास किन गर्दैनौ ?”
कछुवाले भन्यो – “हेर खरायो, आफ्नोआफ्नो बिशेषताको कुरा हो। तिमीले दौडिन जानेको अभ्यासले हो र ? भलै अभ्यासले गर्दा तिमी हिजो भन्दा आज बढी तेज दौडिन सक्ने भएको होलाउ, तर पनि आधारभूत रुपमा त्यो त तिम्रो जन्मजात क्षमता हो। म आफ्नो गतिमा सन्तुष्ट छु।”
खरायोले भन्यो- “हेर, आफ्नो कमजोरीलाई कुराले छल्ने प्रयास नगर। आफ्नो गतिमा सन्तुष्ट छौ भने लौ न त एकचोटी फेरी दौड गरौँ। ”
“भयो, मलाई तिमी संग त्यही पुरानो दौड फेरी गर्नु छैन। मलाई आइन्स्टाइनले भनेको एउटा कुरा याद आयो – हरकोही प्रतिभावान हुन्छ तर -”
“आइन्स्टाइनबारे तिमीले मात्र जानेको छौ र ?” खरायोले बिचैमा रोकेर भन्यो, “आइन्स्टाइनको त्यो e = mc 2 को फर्मुला धेरै अरु विद्वानहरुद्वारा समयसमयमा गलत साबित भैसकेको छ। आइन्स्टाइन केही पनि होइन।”
“होइन,” कछुवाले भन्यो, “मलाई आइन्स्टाइनको त्यो e = mc 2 फर्मुला बारे गहिरोसंग केही थाहा छैन र त्यसबारे मैले कुरा गरेको होइन। मैले उल्लेख गरेको त आइन्स्टाइनको त्यो भनाइ हो – हरकोही प्रतिभावान हुन्छ तर यदि तिमी एउटा माछालाई रुख चढ्ने क्षमताको आधारमा मूल्यांकन गर्छौ भने बिचराले आफू स्वाँठ रहेछु भन्ने विश्वासमा जीवन बिताउनु पर्ने हुन्छ। आइन्स्टाइनले सरल शब्दमा भनेको यो कुरा सामान्य ज्ञान जस्तो लाग्छ तर हामी सामान्य प्राणीहरु बीच प्रायजसो यही कुरा असामान्य ज्ञान भईरहेको देखिन्छ।”
“ओहो, तिमीले तर्क गर्न चाहीं अलिअलि जानेको रहेछौ तर कुरा घुमाएर गरेको तर्कले आँखा अगाडिको वास्तविकता लुक्तैन। तिमीलाई आफ्नो क्षमताको मूल्यांकन गर्ने एउटा अवसर छ- आँट छ भने आऊ म संग दौड गर।” ”
“एउटा अवसरले कसैको वास्ताविक क्षमता अवश्य दर्शाउँछ,” कछुवाले भन्यो, “तर यदि गायकलाई नाच्न र नृतकलाई गाउन लगाइन्छ भने त्यो अवसरको अर्थ बारे असमझदारी भएको ठहर्छ।”
“हेर कछुवा, गायकलाई नाच्न र नृतकलाई गाउन लगाएर हुँदैन भन्नेजस्तो सजिलो कुरा तिमीले मलाई सिकाइरहनु पर्छ ? मलाई पनि थाहा छ। तर मलाई यस्ता साहित्यिक र दार्शनिक शब्दहरु संग कुनै लगाब छैन ,” खरायोले भन्यो। “सिधा र सपाट बिज्ञान भनेको एउटा प्रतिष्पर्धा हो। हिम्मत छ भने म संग दौडेर देखाउ।”
कछुवा र खरायो आफ्नो आफ्नो बिचारको अडानमा गफिएर हिंडदाहिंडदै एउटा उकालो थुम्काको टुप्पामा पुगे। त्यहाँ भन्दा पर्तिर बाटो थिएन बरु बाह्रपन्ध्र फीट जतिको ठाडो भीर थियो। कछुवाले भन्यो – “ल न त, प्रतिष्पर्धा नै गर्ने हो भने यता तलतिर हामफालौँ। ”
खरायोले तल तिर हेर्यो र भन्यो, “आज तिमीसंग कुरा गर्दागर्दा मलाई धेरै ढिलो भैसक्यो। पछि कुनै दिन हामफालौँला।” यति भनेर ऊ लुसुक्क अघिको बाटो फर्कियो।
[तपाईँ पनि आफ्ना कथा, लघुकथा माइसंसारमार्फत् बाँड्नका लागि पठाउन चाहनुहुन्छ भने पठाउनुस् [email protected] मा। प्रकाशनयोग्य कथाहरु स्टकमा नरहेकोले तपाईँको कथा तुरुन्तै प्रकाशित हुनसक्छ। कथाहरु सम्पादन नगरी जस्ताको तस्तै छापिने भएकोले कृपया शुद्धाशुद्धिसहित आफैले वा जानेका कसैलाई देखाएर आफ्नोतर्फबाट सबै मिलाएर कथा पठाउनु होला। ]
यो कथा मध्येम हो | उत्तम चाहि होइन |
कथा साह्रै रमाइलो र उपयोगी लाग्यो l पुरानो सानो कथाबाट सन्देशमुलक प्यारोडी बनाइएको रहेछ l कथाले दिएको संदेश सबैले जानेको कुरो भएपनि सबैले बेवास्ता गर्ने संदेश भएकोले जोडदार र कलात्मक ढंगले संदेश सम्झाईएको छ l साना नानीहरुले कथाभित्रको सम्बाद सबै बुझ्ने किसिमको छैन l नानीहरुको लागि भन्दा पनि नानीका अभिभावकहरुले आफ्नै लागि पढ्नु पर्ने कथा हो रैछ भन्ने टुंगोमा पुगें है म चाहीं l
राम्रो लाग्यो/ आज राति मेरो छोरो लाइ bedtime स्टोरी भन्न काम लाग्छ/
खोइ मलाई त सार्है झूर नै लग्यो… सायद म गलत भए होला… mysansar पहिला पहिला कस्ता राम्रा राम्रा कथा आउथे … ऐले त हरेश छ हो!!!!!!!!!
कथाको अन्तिम भाग अलि कम्जोर लाग्यो।त्यसरी भिरबाट हामफाल्ने हो भने खरायो संगै कछुवाको पनि ज्यान जान सक्छ।बरु नदी या ताल तर्नलाई कछुवाले च्यालेन्ज गरेको हुन्थ्यो भने यो बलियो पक्ष हुने थियो।किनकी कछुवा पानीभित्र पनि जिउन सक्छ र नडी या तालमा कछुवा सजिलै वारको पार गर्न सक्छ।
मलाई पनि कथाको अन्त्यमा ” त्यहाँ भन्दा पर्तिर बाटो थिएन बरु बाह्रपन्ध्र फीट जतिको ठाडो भीर थियो भीरको तल नदि थियो” भएको भए अलि सान्दर्भिक हुन्थ्यो कि जस्तो लाग्यो |
अनिलजी सायद कछुवा हामफाल्नु अगाडी उसको लुक्ने कुरो (शेल) मा लुकेर बच्ने सोचेको होला नि | तेसै खरायोको challenge स्वीकारेको छ दोश्रो पटक, बाठो पो छ त यो कछुवा पनि !!
कछुवाको बिशेषता भनेको नै कडा खबटा हो जसभित्र लुकेर उसले ज्यान जोगाउँछ l पन्ध्र फीटको भीरमा झर्दा कछुवा कहाँ मर्छ र ! मलाई चाहीं यो कुरो त्यति नबुझिने जस्तो लागेन है – कुरो प्रस्टै छ l
सबै मानिस मा आ आफ्नो क्षमता हुन्छ |