Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अमेरिकामा डलर टिप्ने धुनमा पाएको दुःख

Posted on August 25, 2013August 25, 2013 by Salokya

costa-rica
कोस्टा रिकाको नाम अधिकांश नेपालीहरुले विश्वकप फुटबल हुँदामात्रै सुन्छन्। त्यसबाहेक कोस्टा रिका न कुनै समाचारमा आउँछ, न नेपालीले नै चासो दिन्छन्। तर होइन, एउटा अर्को समूह छ, जसलाई कोस्टा रिका एकदमै महत्त्वपूर्ण छ। उही एनी हाउ पैसा कमाउ, पैसा कमाउन एनि हाउ अमेरिका जाउवालाहरुको समूह। सक्ने र पहुँच भएकाहरु त सेमिनार, पढाइ अनेक बहानामा भिसा लगाएर कानुनी रुपमै अमेरिका छिर्छन्, नसक्नेहरुलाई लाखौँलाख रुपियाँ लिएर मानव तस्करहरुको समूहले विभिन्न देशको जोखिमपूर्ण यात्रा गर्दै अमेरिका छिराउने वाचा गर्छन्। त्यही अवैध बाटोबाट अमेरिका छिर्ने सञ्जालको बाटोमा पर्छ कोस्टा रिका। माथिको फोटो आठ जना नेपालीको हो। केही हप्ताअगाडि त्यहाँको पब्लिक सेक्युरिटी मिनिस्ट्रीले सार्वजनिक गरेको हो यो फोटो। कोस्टा रिकाबाट निकारागुआ पुर्‍याउन लागेका बेला त्यहाँको पुलिसले उनीहरुलाई लैजाने दुई आफ्नै देशका मानव तस्करसहित नियन्त्रणमा लिएको थियो। ती नेपालीहरु को हुन्, कहाँका हुन्, अहिले उनीहरुको अवस्था के छ ? कोस्टा रिकामै छन् कि नेपाल फर्किए ? केही हप्ताअघिदेखि उनीहरुको स्थिति बुझ्न खोजे पनि प्रयास सफल हुन सकेन।

एउटा कुरा भने प्रष्ट छ- उनीहरु ऋण गरी वा घरखेत धितोमा राखी २५/३० लाख रुपियाँसम्म दलाललाई बुझाई डलर कमाउने मिठो सपना देखेर अमेरिकातिर लागेकाहरु हुन्। बीचमा कयौँ हन्डर खाएर उनीहरु कोस्टा रिकासम्म पुगेका हुन्। तर अचेल कोस्टा रिकामा भएको कडाइका कारण उनीहरुको प्रयास सफल हुन सकेन।

मानव तस्करहरुको सञ्जाल तपाईँले सोचेभन्दा बृहत् छ। हरेक देशमा सेटिङ मिलेको हुन्छ र हरेक देशमा लोकल दलालहरु हुन्छ। पनामातिरबाट लोकल दलाले ती आठ नेपालीलाई कोस्टा रिकाको दलालाई जिम्मा लगाएको हुनुपर्छ। अनि यी कोस्टा रिकाको दलालको काम निकारागुवाको सीमासम्म पुर्‍याइदिनु हुन्छ।

उनीहरुलाई लिएर दुई वटा कार गइरहेको रहेछ। अकस्मात् हाइवे पेट्रोलिङमा रहेको पुलिस देखेपछि दुई वटा कारले स्पिड बढाएछ। झन् शंका भइहाल्यो पुलिसलाई। पछ्याउँदा त कारबाट गोली चल्न थाल्यो। गोली हानाहानपछि उनीहरुलाई आखिरमा प्रहरीले उनीहरुलाई पक्रेरै छाड्यो।

कोस्टा रिकामा उनीहरु अवैध रुपमै जमिनबाटै प्रवेश गरेको त्यहाँको जुडिसियल इन्भेस्टिगेसन पुलिस बताउँछ। पुलिसले दुई जना उसकै देशका लोक दलाल ४३ वर्षका कोरिया र २० वर्षका लारालाई पक्रेको छ। कोरिया त त्यहाँको नामी ड्रग र मानव तस्कर रहेछ। अभियोग प्रमाणित भए उनीहरुलाई १० वर्षसम्मको जेल सजाय हुनसक्छ।

ती आठ नेपालीलाई भने प्रोसेक्युटरको अफिसले हिरासतमा राखेको थियो अपराधका प्रत्यक्षदर्शी र शिकारका रुपमा। अध्यागमन विभागले उनीहरुलाई नेपाल फर्काउने कि कोस्टा रिकामै राखेर अपराधीविरुद्ध बयान सयान दिन लगाउने भन्ने निर्णय गर्ने भनिएको थियो। अवैध रुपमा कोस्टा रिका छिरेको हुनाले उनीहरु अध्यागमन कानुन अनुसार पनि दोषी हुन्छन्।

चार नेपाली बेपत्ता

कोस्टा रिकाका प्रहरी/प्रशासन नेपाली भन्ने बित्तिकै चनाखो हुन थालिसकेका छन्। त्यहाँका मिडियामा पनि नेपालीको नाम आउनु नौलो नभइसकेको छ। गएको जुलाई १३ मा पनि युनिभर्सिटी अफ कोस्टा रिकाको निमन्त्रणामा आएका चार नेपाली भागेर बेपत्ता भएका थिए। उनीहरु जुलाई १० मा त्यहाँ पुगेका थिए। तेस्रो दिनमा बेपत्ता भएकोले अमेरिकातिर लाग्न नियोजित रुपमै त्यहाँ गएको शंका गर्न सकिन्छ। ती नेपाली भागेको कान्ड बारे अर्को ब्लगमा विस्तृत लेखौँला।

कोस्टा रिका नाघ्दैमा अमेरिका पुग्ने हैन

कोस्टा रिका त अमेरिका अवैध रुपमा प्रवेश गर्ने लामो तर जोखिमपूर्ण यात्राको एउटा बिसौनी मात्र हो। सान्दर्भिक भएकोले पुरानै ब्लगका केही अंश फेरि पनि यहाँ राख्दैछु।

सभासम्मेलनमा भाग लिन, कुनै सांस्कृतिक कार्यक्रममा सहभागी हुन अमेरिका वैधानिक बाटोबाट पुग्ने र त्यहाँ पुगेपछि अवैधानिक रुपमा लुक्ने सजिलो बाटो हो। अमेरिकी दूतावासबाट निश्चित अवधिको अनुमति (भिसा) त्यसका लागि जरुरी हुन्छ। तर भिसा लगाउन गाह्रो छ। त्यसो भए अमेरिका पुग्ने अर्को बाटो के छ त ? चोर बाटो ! अमेरिकाको सीमा जोडिएको मेक्सिकोबाट चोरबाटोबाट त्यहाँ छिर्न पाइयो भने भिसा पनि लगाउनु परेन। अमेरिका छिर्नुमात्र पर्छ, काम फालाफाल। डलरै डलर। अनि टन्न कमाउनुस् न, अहिले अलि अलि पैसा खर्च गर्नुपरेकोमा लोभ नगर्नुस्- यस्तै भन्दै दलालहरु फकाउने गर्छन्।

तर दलालहरुले फकाए जस्तो चोरबाटोबाट अमेरिका पुग्न सजिलो भने छैन। महिनौँ समय लाग्छ। अनेक देशहरुमा लोकल दलालहरु एजेन्ट हुन्छन्। कुनै एक ठाउँमा सेटिङ बिग्रियो भने कुरो बिग्रियो। अनि बाटैमा अलपत्र पर्ने संभावना पनि हुन्छ। खल्तीमा पैसा भए त ठीकै छ, भएन भने र दलालहरुले छाडेर भागे भने गुमनाम देशमा गुमनाम मृत्यु कुर्नुबाहेक अरु विकल्प हुन्न।

कस्तो छ बाटो ?
चोर बाटोबाट यसरी लाखौँ खर्च गरेर यात्रा गर्नेहरुलाई थाहा नहुन सक्छ- उनीहरु अन्तर्राष्ट्रिय संगठित अपराधका सदस्य बन्दैछन्। ह्युमन स्मगलिङलाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय संगठित अपराधका रुपमा पहिचान गरेको छ। हुन पनि एउटा नेपाली चोर बाटोबाट अमेरिका प्रवेश गर्न एउटा देशका मात्र दलाल सहभागी हुँदैनन्, कयौँ देशका दलाल त्यसमा सहभागी हुनुपर्छ।

चोर बाटोबाट अमेरिका पुग्न विमान, सडक र जल तीनैथरिका यात्रा गर्नुपर्छ। अमेरिका गएर डलर कमाउने भयो भनेर काठमाडौँ विमानस्थलमा फूलमाला पहिर्‍याएर विदा गरेकै दिनदेखि दुःखको एउटा लामो यात्रा सुरु हुन्छ। कम्तिमा १२ देश हुँदै यात्रा गर्नुपर्छ उसले।

सुरुमा काठमाडौँबाट दलालले उसलाई कतारको दोहा पुर्‍याउँछ। यो पहिलो गन्तव्य भयो। दोस्रो महत्त्वपूर्ण गन्तव्य हो ब्राजिल। दोहाबाट विमानमा १४ घण्टा उडेपछि आइपुग्छ नेपालीले विश्वकप फुटबलमा मात्र धेरै सुन्ने गरेको देश ब्राजिल। दक्षिण अमेरिकाको यो उदाउँदो अर्थतन्त्र भएको देशलाई ट्रान्जिटको रुपमा दलालहरुले उपयोग गर्ने हुन्। तर कतिपयको अमेरिकी सपना सेटिङ नमिलेर यहीँ टुङ्गिन्छ। अहिले पनि झण्डै १०० जना नेपाली त्यहाँ अलपत्र परेका छन्।

दलालहरुले यस्तरी सेटिङ मिलाएका हुन्छन् कि ब्राजिल वा अर्को गन्तव्य बोलिभियाको भिसा नहुँदासमेत उनीहरु त्रिभुवन विमानस्थल र कतारको विमानस्थलको अध्यागमनबाट समेत सहजै पार हुन्छन्। ब्राजिलमा त्यहीँको दलालले सेटिङ मिलाउँछ र त्यहाँबाट अर्को गन्तव्य बोलिभियाका लागि प्लेन चढाउँछ। बोलिभियामा अन अराइभल भिसा पाइन्छ।

बोलिभिया अर्को एउटा महत्त्वपूर्ण गन्तव्य हो। त्यहाँबाट अर्को कदम के हुने निश्चित गरिन्छ। बोलिभियाको लापाजमा मेक्सिको र ब्राजिलको भिसा लाग्यो भने फेरि बोलिभियाबाट ब्राजिलै पुग्नुपर्छ सडक बाटो। अनि साओ पाउलोबाट कोलम्बियासम्म फेरि प्लेन यात्रा। कोलम्बिया पुगेपछि पासपोर्ट लगायतका सबै कागजात च्यातेर फालेर मोटरबाटो, जंगल, समुद्र हुँदै लुकीछिपी मेक्सिको र त्यहाँबाट फेरि लुकेर अमेरिका प्रवेश गराइन्छ।

मेक्सिकोले भिसा दिएन भने अर्को रुट पनि छ- बोलिभियाबाट सडकै सडकको बाटोबाट मेक्सिकोसम्म पुग्ने। यो लामो यात्राका क्रममा ९ वटा जति देश पार गर्नुपर्छ माथिको फोटोमा देखाइए जस्तै कोच्चिएर। बोलिभियाका लोकल दलाले पेरुको सीमासम्म पुर्‍याएर छाडिदिन्छ। अनि पेरुको लोकल दलालले इक्वेडरसम्म। फेरि इक्वेडरको लोकल दलालले कोलम्बियासम्म पुर्‍याइदिन्छ। त्यहाँबाट पनामा, त्यसपछि कोस्टारिका अनि निकारागुवा, होन्डुरस, ग्वाटेमाला। ग्वाटेमालाको दलालले मेक्सिकोसम्म पुर्‍याइदिन्छ।

सबै देशको यात्रा बिना भिसा लुकिछिपी सेटिङ मिलाएर गर्नुपर्ने भएकोले जोखिम उत्तिकै हुन्छ। कुनै पनि देशमा समातिन सक्छन् उनीहरु। मेक्सिको पुगेपछि भने अमेरिकाको संघार मै आइपुगियो। मेक्सिको र अमेरिकाको सीमामा ठूल्ठूला पर्खाल लगाइएका छन्। तर तस्करहरुले सुरुङ खनेर बनाएको बाटोबाट होस् कि कसैगरी प्रहरीको आँखा छलेर होस्, अमेरिकी भूमिमा छिराइदिन्छ।


मेक्सिकोबाट पर्खाल चढेर अमेरिका जाँदै। फोटोः विकिपेडिया

यो चोर बाटोको रुटमा पर्ने विभिन्न देशमा हजारभन्दा बढी नेपाली अलपत्र परेर बसिरहेका छन्। सबैले लाखौँ खर्च गरेका छन्। कतिले चर्को ब्याजमा ऋण लिएका होलान्। उनीहरुको स्थिति के होला ? कल्पना गर्दा पनि डरलाग्दो!

कोही कोही फर्कन पाउँछन्। तर त्यतिञ्जेल दलालहरुलाई दिने र आफ्नो बाटो खर्च गरी लाखौँ खर्च भइसकेको हुन्छ। कोही भने बीच कै रुटमा शरणार्थी बन्दै सानोतिनो जीविका चलाइरहेका हुन्छन्। कोही भने आफै दलालका रुपमा परिणत भएर नेपालीलाई ठग्ने काममा लागेका हुन्छन्।

[साथीहरु, के तपाईँ वा तपाईँका कुनै परिचित पनि यस्तै चोर बाटोबाट अमेरिका पुग्नुभएको छ? तपाईँ पुग्नुभएको भए तपाईँ कसरी पुग्नुभयो, बाटोमा कस्तो दुःख भयो, त्यसको अनुभव वा तपाईँका कोही साथी, परिचित पुगेको भए उनीहरुले सुनाएको अनुभव तल कमेन्टमा बाँड्न सक्नुहुन्छ। आफ्नो नाम, इमेल सार्वजनिक नगरी सब कुरा सुनाउन चाहनुहुन्छ भने यहाँ क्लिक गरी वा [email protected] मा इमेल गरी आफ्नो कुरा राख्‍न सक्नुहुन्छ। तपाईँको अनुभवले एक जना मात्र मान्छेको लाखौँ रुपियाँ र जीवनको अमूल्य समय बच्यो भने पनि त्यसको ठूलो पुण्य तपाईँले पाउनु हुनेछ।]

23 thoughts on “अमेरिकामा डलर टिप्ने धुनमा पाएको दुःख”

  1. Pingback: कोस्टा रिकामा गिरफ्तार आठ नेपाली अझै थुनामा « Mysansar
  2. Ananta Bhattarai says:
    August 28, 2013 at 2:47 pm

    जीवनमा राम्रोसंग सोच विचार गरेर निर्यण लिनुपर्छ, हतारमा कुनै पनि कार्य गर्नु हुदैन, स्वार्थी मानिसहहरुको गिद्द्ये नजरबाट बच्ने प्रयाश सधैं गरौ /

    Reply
  3. amrit subedi says:
    August 26, 2013 at 11:51 pm

    !म गल्फ मा खुसि छु !
    चार महिना भो म कतार आको, धेरै पढ्या छैन ! पल्टु सकेर आको हु, बुढि पनि साथमा छिन, कम्पनिले फेम्लि रुम देको छ, खाना पकाउनु पर्दैन, स्टाफ क्यान्टीन मा फ्रि मा पाउछ, कपडा धुन स्टाफ लन्ड्री छ । हप्तामा दुइ दिन बिदा हुन्छ ! कमाइ बुडा बुडिले जति खर्च गरेपनि महिनाको लाख सेभ हुन्छ,, मलाइ कसैले फ्रिमा ामेरिका लैजानछु भनेपनि म जान्न !!

    Reply
  4. AryaN says:
    August 26, 2013 at 10:57 pm

    अमेरिका आको सात बर्षमा बल्ल पढाई सिद्दियो, काम पाउने नपाउने ठेगान छैन | ग्यास स्टेशन मा घन्टाको ८ मा सुरुगरेको कहिल्लै बढ्दैन | महिनाको ३०० dollar बल्ल बल्ल बचायो थोत्रो गाडी बनौदैमा जान्छ , पढ्नलाई लिएको १५ हजार dollar ऋण त कहिले तिर्ने हो| हैन कसरि अमेरिकामा dollar टिप्न सकिन्छ हामीलाई नि कसैले सिकाए हुन्थ्यो | बरु नेपालमा सानोतिनो काम गरे पैसा कमैयेला | काम गर्न लाज मान्नु भएन, बरु यो कामहरु try गरे कसो होला थोरै लगानीमा | कपाल काट्ने काम, ठेलामा पानीपुरी, momo खाजा बेच्ने काम, तरकारी खेति , केटाकेटी पढ़ौनुष, सानोतिनो इलेक्ट्रोनिक्स मर्मत, इन्टरनेट को सदुपयोग गर्नुष facebook मा समय नस्ट गर्न भन्दा |

    Reply
  5. sandhya says:
    August 26, 2013 at 10:52 pm

    अमेरिका हेर्न मन लागेको छ भने एसियाकै कुनै सम्पन्न राष्ट्र तिर जानु,अनि सम्झनु कि येस्तै रहेछ अमेरिका, ( जस्तै चिन,जापान,साउथ कोरिया, ताइवान,सिंगापुर,हंगकंग,मलेसिया थाइलेडं,यु ये इ,कतार आदि) हैन भने दिन को ८ घण्टा नेपालमै काम गर त्यो नै राम्रो हुन्छा

    Reply
  6. Bunu says:
    August 26, 2013 at 10:20 pm

    सहि हॊ२०/२५ लाखमा नेपाल मा केहि गर्न सकिन्छ तर २०/२५ लाख फसाएर फाइदा छैन…के कुरा को भर छैन नेपालमा, सबै जना को कमेन्ट पढे हजुर हरु ले कति पापड बेल्नु भयॊ येहा सम्म आइ पुग्न….. सबै जना विदेश मा हुनुञ्छ…. किन ?? यनि हरु को स्तिती नेपाल मा महसुस गर्नुस त, के छ देश को हालत … हो बाटो गलत छ यो दाजु भाई को तर देश को स्तिती पनि विचार गर्नुस त…… एउटा सुख छ, शान्त छ अनि घण्टा हानेर आएर सुत्दा मिठो निन्द्रा छ……तर ज्यान को माया मरेर तेत्रो पैसा को कुनै जिम्मेवारी न हुने गरि न आउनुस……. जय नेपाल, जय नेपाली….. पशुपति नाथ ले रक्षा गरुन….. यसै पनि भगवान भरोसा को देश मेरो प्यारो नेपाल

    Reply
  7. Tee yes says:
    August 26, 2013 at 9:42 pm

    म अमेरिकामा सन् १९९६ देखि बस्दै आएको छु र नेरु २०/२५ लाख कमाउन न्यु योर्कमा एउटाकोठामा १० /१२ जना सम्म बसेर धेरै दुख कस्ट बोकेको छुI अमेरिकामा डलर रुखमा फल्दैन भन्ने कुरा तेत्रो पैसा खर्च गर्न सक्नेहरुलाई थाहा हुन्नु पर्ने हो. मलाइ अति दुख र अचम्म लाग्छ !

    Reply
  8. Jeevan Thapa says:
    August 26, 2013 at 9:46 am

    कतिलाई रुमाल पट्याउन आउदैन होला दलाल हरुले मान्छे पट्यैदिन्छन …. यी फोटोमा देखिएका सबै मानब रुपी रुमाल परेछन!!!!

    Reply
  9. nisan gurung says:
    August 26, 2013 at 3:03 am

    बुझ्ने लै श्रीखण्ड नबुझ्ने लाई खुर्पा को बिड अमेरिका भन्न साथ पैसा को कोठा मा पसेर मन लाग्दो बोरामा हालेर घर मा ल्याउन पाउछ भन्ने सोच्छ …….अनि बुझेर पो जाने हो त जहाँ पनि ………….नेपाली हरु बीर हुन्छ किन भने मुर्ख हुन्छा भन्ने सुनेको थ्यो.नबुझी हिड्यो भने आफ्नै देश मा त दुख पाउछ ..त्यो त कता कता ……….तेसैले सबै ले बुझेर मात्र janu hola…….

    Reply
  10. तुल बहादुर says:
    August 26, 2013 at 1:48 am

    २० / २५ लाख खर्च गरेर ज्यानको बाजी राखेर अमेरिका छिर्नु भनेको पक्कै पनि बुद्धिमताको काम हैन लोभले लाभ लाभले बिलाप बनाउछ भन्छन !
    १३ वर्ष भयो कतारमा काम गर्छु महिनाको ५०/ ६० हजार येही पनि कमाउछु राम्रै घर बनाएँ जग्गा जमिन जोड बाल बच्चा राम्रै स्कूलमा पढाएको छु परिवार खुशी अनि सुखी राखेको छु चैयें मलाई अमेरिका अनि साथी हरुलाई पनि सल्लाह दिन चाहन्छु लोभले गर्दा जिन्दगि बर्बाद नगर्नुस !

    Reply
  11. shree basanta says:
    August 26, 2013 at 1:40 am

    यसरी फस्नेहरूलाइ सम्झाउने त छँदै छ दलालको चक्करमा पर्ने हाम्रा चेलीबेटीहरु र उमेरदार दाजु भाइहरुलाइ चक्रब्युहमा फसाउनेहरुको भंडाफोड गर्नु राम्रो हुन्छ | खै अख्तियार प्रहरीले येस्ता दलालहरुलाई करयापझ्याप पर्न सकेको ? संचार माध्यमहरु पनि फस्नेहरुकै बारेमा बढी चर्चा गर्छन फसाउनेको कुनै कुरो आउदैन, दुखः लाग्छ |

    Reply
  12. razen says:
    August 26, 2013 at 12:31 am

    २० २५ लाख ??? होइन तेत्रो पैसा त्यहाँ गएर कहिले कमाउने ?? गन्तब्बेमा पुग्ने पनि होकी होइन | तेतिको रकम साथमा भएत नेपाल मै केहि गर्ने आइडिया आफु संग थियो तर खल्ती रित्तो भएर पो त |

    Reply
  13. Arjun Bahadur Panday says:
    August 25, 2013 at 9:04 pm

    http://www.youtube.com/watch?v=GzEUHF1KPY8

    Reply
  14. कमल शर्मा यु ए इ says:
    August 25, 2013 at 6:26 pm

    कठै पनि कसरि भन्नु यस्तो कार्यमा संलग्न व्यक्तिहरु पढे लेखेकै र केहि पैसावाल नेपालीकै छोराहरु छन् किनकि केहि नभएको गरिवले २०/२५ लाख तिर्न सक्ने कुरै भएन| २०/२५ लाख तिरेर पनि सफल हुने ग्यारेन्टी छैन र पनि जानी जानी फस्न जाने मानिसलाई भिरमा लड्ने गोरुलाई राम राम भन्न सकिन्छ काँध हाल्न सकिन्न|

    Reply
  15. raj says:
    August 25, 2013 at 5:33 pm

    कठै विचरा चोक्टा खान गयको बुडी झोल मा डुबेर मारी भनि को यही हो योउरोप
    को चकर मा पर्दा ऋण मा फस्यो अनि लाइफ बर्बाद २०/२५ लाख हुदा त नेपाल मा नै केही हुन्छ नि तेही माथि नेपाल का कर्मचारी कता बाट आउछ खाऊला भन्दै बसी को हुन्छन अनि देश को त्यो राजनीतक अबस्ता पशुपति को कृपा ठुलै छ नेपाली मा जय पशुपति

    Reply
  16. S.P. says:
    August 25, 2013 at 5:32 pm

    पर्खाल चढेर फुत्त ओर्लिएपछि अमेरिकामा पुगेर हररर डलर कमाउने सपना देखाई दिने रहेछन ! पत्याउने उस्तै ! बुद्धका देशका बुद्धु नागरिक !!

    Reply
  17. Raju Rana - Mahendra says:
    August 25, 2013 at 5:21 pm

    अमेरिका जाने आज सबै युवा हरु को सपना हो, तर अबैधानिक हिसाबले त्यति धेरै रकम तिरेर जानु भन्दा नेपाल मा नै केहि व्यापार वा कुनै काम थालनी गरे धेरै राम्रो हुने थिओ साथ मा देस को विकास मा नि टेवा पुग्ने थियो.
    हामी नेपाली बिदेस मा गयर पैसा को बोट मा चढ्ने झुटो सपना देख्छौ जुन झुटो आश्वासन हो हामी लाई दलाल हरुले दिने –तसर्थ आज को युवा जनमानस मा दलाल र बिदेस मा हुने दुख कस्ट को बारेमा स्पस्ट जानकारी दिलाई भोलि को दिन मा केहि हद सम्म भय नि यो समस्या बाट छुटकारा दिन सके धेरै राम्रो हुने थियो.

    Reply
  18. Hillman Myagdi says:
    August 25, 2013 at 2:53 pm

    आज मात्र त्रिभुवन विमानस्थलको अध्यागमन विभागका कर्मचारीले वैदेशिक रोजगारमा कतार जाने नयाँ पुराना नेपाली हरुलाई भिसा नेपालीमा नभएको हुँदा पढ्नु नमिलेको भनेर नेपालीमा अनुवाद गरेर ल्याउन भनी फिर्ता गरेको छ|

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन डेस्कमा बस्ने डाँकाहरुले घुस खान नपाए अनेकौं बहाना बनाएर यात्रुहरुलाई दुख दिन्छन| घुस खान पाए भने हात्ती पनी अध्यागमन बाट छिराउछन|

    यी कोस्टारिका पुगेका नेपालीहरु पनी त त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थल बाट कोस्टारिका पुगे होलान| तेतीबेला भिसा सक्कली वा नक्कली भएको जांच किन भएन| आखतियारले यसको पनी छानबिन गर्नु पर्छ|

    Reply
    1. raj says:
      August 25, 2013 at 7:31 pm

      बिचराहरु यूरोप जाने चकर मा ऋण मा ऋण भयो लाइफ लाइफ बर्बाद २०/२५ लाख खर्च गरेर नेपालमा नै केइगर्न सकिन्थ्यो गैर कानुनी कम भनेको यस्तै हो कसै लाई सफलता मिल्छ कसै लाई अशाफलता अलिकति गल्ति नै छ हाम्रो पनि था हुदा हुदै जानी जानी दलाल लाई २०/२५ लाख ख्वाउनु हुने थिएन र नेपाल का राष्ट्र सेबक कर्मचारी को त झन् ठुलो गल्ति छ के गर्छ नेपाल एम्मीग्रेसन पछाडी बाट पैसा लिने अनि पस्स्पोर्ट मा स्ट्याम लाउदै पठाउदै दुवैहात मा लड्डु क्या गजब छ बा !!!!!

      Reply
  19. chatur rai says:
    August 25, 2013 at 2:46 pm

    लाखे है…तेसका बाजे, यही अरबसम्म आउनलाई त झन्डै २८ सालको बाउको बिहे देख्नु परयो २८ ,२९ लाख भए त गाउँमै एउटा राम्रो इलाम गरेर बस्थे नानी |

    Reply
  20. bikash pokharel says:
    August 25, 2013 at 12:19 pm

    हामी नेपाली को बानी चै दाया बाया केहि नहेरी अमेरिका भने पछि जति सुकै पैसा तिर्न पछि नपर्ने हुन्छ २० २५ लाख तिरेर जाने त्यो पनि अबैध तरिका ले, भएन भने के हालत हुन्छ भन्ने कुरा दिमाख मा कस्तो न आको? हामी आफु ले आफु लाई जति सुकै जान्ने ठाने पनि नेपाली को बुद्धि न हो कहिँ न कहिँ चुकी हालिन्छ, धेरै जान्ने भयो भने यस्तै हुन्छ हालत

    Reply
    1. Rajan Upriti says:
      August 25, 2013 at 11:47 pm

      हाम्रो देशमा यस्ता दलाल कति छन् भन्ने कुरा यो कमेन्टको डाउन भोट गनेर भन्न सकिन्छ |

      Reply
  21. Nischal says:
    August 25, 2013 at 10:45 am

    हामी नेपाली को बुदी कही ले आउने होला ??

    Reply

Leave a Reply to Nischal Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme