Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एक मात्र अन्तर्राष्ट्रिय एयरपोर्टको बेहाल- ठूला जहाज नल्याइदिन गुहार

Posted on August 19, 2013August 20, 2013 by Salokya

airport
रनवे भत्क्याभत्क्यै गरेर प्लेनलाई आकाशमै केही समय रोकिराख्न बाध्य हुने घटना विगत १५ दिनमा मात्रै पाँच पटक भयो। यस्तो क्रम बढेपछि नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलले सबै एयरलाइन्स कम्पनीहरुलाई आग्रह गरेको छ- प्लिज, अहिलेलाई ठूला (वाइड बडी) जहाज नल्याइदिनुस्! एयरलाइन्स सञ्चालन समितिका अध्यक्ष भरतकुमार श्रेष्ठले सबै एयरलाइन्स कम्पनीहरुलाई यसबारे औपचारिक सूचना पठाइसकेको बताएको दि हिमालयन टाइम्सले जनाएको छ। वाइड बडीको जहाज रोक्ने हो भने त कतार एयरवेज, कोरियन एयरलाइन्स, इत्तेहाद एयरलाइन्स र एयर एसियालाई सबभन्दा बढी असर पर्ने रहेछ। उनीहरूलाई गत साउन ३२ गते नै ठूला जहाज नल्याउन र साना जहाज मात्रै ल्याउन अनुरोध गरिसकिएको रहेछ।

वाइड बडीको जहाजमा २ सयदेखि ८ सय ५० यात्रुसम्म अट्छ। बोइङको ७४७, ७६७, ७७७ र ७८७ लाई वाइड बडीमा राखिएको छ भने एयरबसको ए ३००, ए३१०, ए३१०, ए३३०, ए३४०, ए३५० र ए३८० लाई।

चिट्ठी पठाएको भने पनि ठूलो जहाज आउने क्रम रोकिएको भने छैन।

किन रोक्न खोजेको ?
वाइड बडीको जहाजको अधिकतम टेकअफ वजन १९० देखि १९५ टन हुने रहेछ। जबकि न्यारो बडीको ७९ टनमात्रै। नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतीशचन्द्रलाल सुमनले विमानस्थलको अधिकतम भार बहन क्षमता १९६ टन भएपनि हाल अन्तर्राष्ट्रिय सेवा प्रदायकले २९९ टनसम्मको भार ल्याउने गरेको बताउँछन्।

सन् १९६७ मा बनेको त्रिभुवन विमानस्थलको रनवे खासमा स-सानो विमानका लागि मात्रै ध्यान दिइएको थियो। यसले त्यसैले न्यारो बडी जहाज मात्रै धान्न सक्छ रे। अहिले रनवे भत्कनुको मुख्य कारणै यही वाइड बडीवाला जहाजलाई दोष लगाइएको छ।

नागरिक उड्डयन प्राधिकरणका एरोड्रम अपरेसन डाइरेक्टोरेटका सुमनकुमार श्रेष्ठले समाचारमा यसरी संभावित खतराबारे सचेत पनि गराएका छन्- “द्रुत गतिमा कुदेको जहाजमा स-सानो गिट्टी ढुङ्गा ठोक्किँदा पनि गोली झैँ हुनसक्छ र यसले जहाजको इन्जिनलाई असर पार्न सक्छ। त्यसैले रनवेमा सानो क्षतिलाई पनि हामी बेवास्ता गर्न सक्दैनौँ। त्यसैले केही समयका लागि वाइड बडी जहाज रोक्नु राम्रो हुन्छ।”

अहिले रनवेमा डेढ इञ्चसम्म प्वाल परेको कुरा आएका छन्।

रोक भन्दैमा रोकिने हैन
तर ठूला जहाज नल्याइदेऊ भन्दैमा रोकिने हैन। थाई, कोरियन एयरवेजले पहिले नै टिकट बुकिङ गरिसकेको हुन्छ। त्यहाँमाथि सरकारले विभिन्न देशसित गरेको हवाई सेवा सम्झौतामा सबै प्रकारका जहाज ल्याउन दिने भनिएको हुन्छ। तैपनि रिजर्भेसन सकिएपछि वाइड बडीको साटो न्यारो बडीका विमानको वैकल्पिक व्यवस्था गर्न प्राधिकरणले एयरलाइन्सहरुलाई भनेको हो।

ठूला जहाजलाई धान्ने गरी अर्को रनवे बनाउँ भने पनि दुई वर्षसम्म लाग्नसक्ने रहेछ बनाउन।

अब उपाय के छ त ? एउटा स्पेनी कन्सल्टिङ फर्मले रनवेमा पुगेको क्षतिबारे अध्ययन गर्दै रहेछ। त्यसले अध्ययन प्रतिवेदन बुझाउला भनी प्राधिकरण कुरी बसेको रहेछ।

मनसुन अवधिभर रातिको समयमा उच्च प्रविधिको अलकत्रा प्रयोग गरी धावनमार्गको मर्मत गर्ने र मनसुन सकिएपछि धावनमार्गमा थप पिच गर्ने र दीर्घकालीन उपायमा धावनमार्गको पुनःनिर्माण गर्ने उपाय अपनाइने भएको छ। यस्तै दीर्घकालीन उपायमा गौतमबुद्ध विमानस्थलको काम तत्काल सम्पन्न गरी काठमाडौँ विमानस्थल केही समय बन्द गरी पुनःनिर्माण गर्नेसमेत उपाय रहेको महानिर्देशक सुमनले आज आयोजित पत्रकार सम्मेलनमा बताए।

अर्को अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु पर्छ भनी आवाज उठेको वर्षौँ भइसक्यो। निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जग्गा अधिग्रहण र बस्ती पुनःस्थापना कार्य भइरहेको छ। यो विमानस्थल बनाउन सरकारसित पैसा छैन। त्यसैले सरकारी-निजी-साझेदारीमा निर्माण-सञ्चालन-हस्तान्तरण पद्धति लागू गरिने भनिएको छ। अर्थात् निजी कम्पनीले यसलाई बनाउनेछ। निश्चित अवधिसम्म सञ्चालन गर्नेछ। त्यसअवधिमा उड्ने जहाज, यात्रुहरुबाट शुल्क उठाउनेछ र निश्चित अवधि सकिएपछि सरकारलाई हस्तान्तरण गर्नेछ।

अहिलेलाई भने बिग्रेको रनवेका कारण जहाज र जहाजका यात्रुहरुलाई कुनै क्षति नहोस् भन्ने कामना गर्नु बाहेक विकल्प छैन।

इतिहासः कन्कर्ड विमान ओर्लिएको क्षण

अहिले वाइड बडीवाला जहाज नल्याइदेऊ न बाबा भन्नुपरे पनि सन् १९८७ मा यही त्रिभुवन विमानस्थलमा ज्यादै छिटो उड्ने सुपरसोनिक कन्कर्ड विमान अवतरण गरेको थियो। त्यतिबेला नेपाल टेलिभिजनको समाचारमा भिडियो-

28 thoughts on “एक मात्र अन्तर्राष्ट्रिय एयरपोर्टको बेहाल- ठूला जहाज नल्याइदिन गुहार”

  1. Naresh Ayer says:
    August 21, 2013 at 8:22 am

    a big shameful news…corrupt system…internationally shame tag..

    Reply
  2. Rabindra JJ says:
    August 21, 2013 at 7:07 am

    यो मूल समस्या हाम्रा योजनाविदहरुले खडा गरेका हुन्| पहिले एयरपोर्ट बनाउदा दीर्घकालिन योजना बारे ध्यानै दिएनन| अधिक दश बर्ष धाने भैगो भन्ने सोच बनाए|
    परिवर्तनीय विश्वलाई हेरेर भविष्यको बिस्तार सम्भाव्यतालाई ध्यानमा राखेर बिभिन्न फेज राखेर वृद्धि बिस्तार बारे अलिकति मात्र योजना तर्जुमा सरंचना निर्माणमा दृष्टि पुर्याएको भए आज यो हालत हुने थिएन| अहिले जो जीवितै छन, अवकाश लिएका ती योजनाविदहरु वा योजनाका तर्जुमाकारहरुलाई किन गर्नुभएन र किन विस्तारको सोचलाई अंगाल्न सक्नुभएन योजना तर्जुमा गर्दा भनेर जिज्ञासा राख्ने अनि केरकार पार्ने परम्परा बसाल्न सके राम्रो हुने थियो|
    अहिलेको त्रिभुवन एयरपोर्ट निर्माण सकिएको तीन बर्ष नपुग्दै ल बिस्तार गर्नपर्यो भने पहिले बनाई राखेका फेरी भत्काएर बनाउन पर्यो| र त्यसपछि त्यो क्रम लगातार चलिरहेछ|
    हामी नेपालीलाई चासो हुन् पर्ने कुरो के भने एसिया बिकाश बैंकले पहिले ऋण दिएका थिए एयरपोर्टको बिकाशमा| त्यंहाका योजनाविदहरुले पनि दीर्घ कालिन विस्तार सम्भावनालाई ओउल्यान भन्दा ऋण बोकाउनमा नै हतार देखाए| हाम्रा योजनाविद, शासनका नेतृत्व पक्ष र उबेलाको देशको साँचो भिरेर हिंडेको राजदरवार पनि पछि परे वा
    कुनै स्वार्थले प्रभावित भए| एसिया बिकाश बैंक भनेको त्यही ऋण दिने अन्तराष्ट्रीय संस्था हो (भ्रममा नपर्नु होला दात्री संस्था होइन, ब्याज र सेवा शुल्क लगाएर ऋण दिने बैंक हो), जसले दशौ बर्षको वावजुद मेलम्चीको पानी ल्याउने परियोजना कार्यान्वयन गर्न नसकेर भ्रष्टचार भयो भन्दै राजधानीका नेपाली जनतालाई काकाकुल बनाउन सहयोग गरिरहेका छन्| हाम्रा नेताहरु र प्रशासक हरु भ्रष्ट छन भन्ने कुनै नौलो कुरो होइन, अन्तराष्ट्रिय स्तर मै सबैलाई थाहा भएको हो|
    यो तथ्य अवगत हुँदा हुँदै पनि १६ बर्षहरु पछि पनि परियोजना कार्यान्वन गर्न नसक्नु भनेको एसिया बैंक को टोटल फेलर हो| कि बैंकले भन्न सक्नु पर्यो कंहा कसले कुन अवस्थामा विलम्ब गरेको हो वा भ्रष्टचारलाई प्रोत्साहन दिएको हो त्यो पनि खुलाउन सक्नु पर्यो|
    मेरो अनुभवमा एयरपोर्टको विस्तार र निर्माण योजना आएर भविष्यमुखी हुन् नसकेको मूल कारण हाम्रो आफ्नै विदहरु र माथिल्लो तहका नेताहरुको अदुरदर्शिता र स्वार्थले गर्दा हो यसमा दुई मत नहोला, तर यँहा भन्न खोजेको के भने एसिया बिकाश बैंक जस्ता संस्थाहरु पनि चोखो छैनन्, दायित्वहीनता, निरन्तर अकर्मन्यता र अप्रभावकारी व्यवस्थापन, आन्तरिक संचारमा नेपाललाई भ्रस्ट ओउल्याउने तर भ्रस्ट हो भने बाहिर ल्याउन नसकने, एउटा आवासीय प्रतिनिधि गए पछि अर्कोले त्यो फलो नगर्ने अनि जसरी हुन्छ ऋण बिकाउने र बोकाउने, कन्सलट्यानसी बिकाउने अनि नेताहरु र ब्युरोक्रेसीको माथिल्लो तह संग नचाहिदो साँठगांठले पनि यस्तो हुन् गएको देखिन्छ|

    दोष थुपारेर मात्र काम हुने होइन तर दोष कँहा कँहा छन् त्यो पनि थाहा हुन् पर्यो|

    Reply
  3. Vishnu says:
    August 21, 2013 at 2:38 am

    हत्तेरिका गर्न खोजेको चाही के हो यी पाल्तु मानब जन्तुहरुले ? भारतीयलाई यार्पोर्ट जिम्मा दिएरै छोड्ने भए अब.

    Reply
  4. ashish says:
    August 21, 2013 at 1:58 am

    पहिला यो एरपोर्ट गौचरणको नामले चिनिन्थियो l अब यहाँ साढे चराए भयो प्लेन ल्याउने रनवे पनि सम्भार गर्न सक्दैन भने-

    Reply
  5. dhan says:
    August 20, 2013 at 11:05 pm

    खै के खै के ? अन्तरास्ट्रिय विमानस्थल मात्रै होइन runway पनि एउतै हो अनि कति धनोस त? काठमाडौँ बाहिर अन्तरास्ट्रिय एरपोर्ट बनाउने कुरा गर्यो कि काठमाडौँ निबासी ब्यापारी र कर्मचारीलाई ज्वरो आउछ | भित्र भित्रै साथ् गाठ येस्तहरु संग गर्ने हाम्रो निरिह राज्य संयन्त्र बाट अरु के आशा गर्ने ? हरे ! येति सम्म बैजत भै सकेसी अब भोट माग्न पनि कसरि औचन लाज पचाएर हामीले एस्तो उस्तो गरेम भन्दै ! तेरीमा डाँका हो !! 😀

    Reply
  6. बासु says:
    August 20, 2013 at 7:12 pm

    देशको कमजोरीले गर्दा अरुले हामीलाई आफ्नै माटोमा समेत हेप्न थाली सके | त्यो पनि जहाजको एक कर्मचारीले आफ्नो सेवाग्राही यात्रुलाई | यो कुरा हास्य कलाकार मनोज गजुरेलको फेसबुकको वालमा देखिएको एक स्टाटसले देखाउंछ |

    “kathmndu Airport ma Jet Airways bhitra ‘Bandhak’ bhayeko 2 ghanta bhayo! Cruelai sodha bhanchhan-This is ur runway problem.”

    अनि माइ संसारमा राम्रो भनाइलाइपनि डिसलाइक गर्ने भाइरस छिर्या छ जस्तो छ जसको काम नै डिसलाइक मात्र गरेर बस्ने | क्याबात डिसलाइक |

    Reply
  7. Sisir says:
    August 20, 2013 at 11:48 am

    यो त अति भयो नि , मुख्य पर्यटक सिजनमा एस्तो हुनु यो राष्ट्रिय बेइजत हो , अरु देशमा २ बर्समा नया एरपोर्ट तयार हुन्छ हामीलाई एउटा runway मात्र बनौन तेत्रो समय लाग्ने ..कान्तिपुरको समाचार अनुसार २००९-२०११ मा यो runway मर्मत/निर्माद हुदा डिजाइन नै परिवर्तन गरि कमसल निर्माड गरि आर्थिक चलखेल भएको थियो , भ्रस्टाचारमा देश चुर्लुम्म डुबिसकेको छ .. लोकमान अब धेरै खोक्न बन्द गर सक्छौ भने दोषीहरुलाई कठालो समाएर कारबाही गर ..

    Reply
  8. Suresh says:
    August 20, 2013 at 10:53 am

    भन्यो भने सधै अरुलाई दोष दिए जस्तो तर धरोधर्म देश ठाउँमा पुगेका हरुले नै बिगारेको हो #### यस्तो लाजमर्दो कुरा पनि गर्ने हो? सुन्दा पनि कन्सिरीको रौँ तातेर आउछ####

    Reply
  9. DINESH says:
    August 20, 2013 at 10:44 am

    ल राम्रो भो अब टि आइ ए मा ट्वीन अट्टर मात्र लेन्ड गर्ने बाकी ठुला बोयिंग जति जुम्ला जोमसोम मा लैंड गरे भै हाल्यो नि झन्झट नै साफ कसो

    Reply
  10. Raju Rana - Mahendra says:
    August 20, 2013 at 10:34 am

    हाम्रो ठुलो महान चाड दशैँ को आगमन को बेलामा बिदेस मा रहने सबै नेपाली बिदा मा आउने समय हो यो र अर्को एयरलाइन्स कम्पनीले वर्ष को अरु महिना हरु मा जुन थोरै यात्रु बोकेर भय पनि एउटा सेवा लाई निरन्तरता दिदै आयको छ त्यसको Balance ल्याउने सुनौलो अवसर हो यो जसले सेवाग्राही र कम्पनि दुवै लाई अशर पर्ने देखिन्छ जसमा दुवै को गल्ति नभैकन नेपाल सरकार र इ भ्रस्ट प्रशासन को चरम लापरबाही हो

    Reply
  11. प्रतिक says:
    August 20, 2013 at 9:58 am

    केहि सड्यन्त्र-सड्यन्त्र हैन यो त देशलाई समृद्ध बनाउने जुक्ति पो हो त !!!
    ल सुन्नुस..

    *अब सङ सङ प्लाने मा धेरै पर्यटक औंचन अनि त्यसबापत टी.आइ.ए ले धेरै एरपोर्ट फीस उठाउन पाउछ //
    * १५ दिन को एकचोटी रनवे रीपैर गर्न पाए ठेकदारले काम पाइरहनच //
    * टी.आइ.ए हाकिम हरु लै टन्न कमिसन् पौंचा ///येसो गर्दा फ्रीज भएर बसेको देश को ढुकुटी को पैसा बाहिर आइ अर्थ तन्त्र चलायमान हुन्छ…
    जहाँ पनि सड्यन्त्र देख्दिने?? नेपाली हरुको कस्तो नराम्रो बानि ///

    Reply
  12. razen says:
    August 20, 2013 at 9:19 am

    अब त्रिभुवन बिमनास्तलमा चंगा मात्र उडाउने र झार्ने गरे बरु रनवेलाइ केहि बिगार गर्दैन थियोकि, एउटा सल्लाह मात्र |

    Reply
  13. राम चन्द्र says:
    August 20, 2013 at 9:14 am

    नल्याउन अनुरोध मात्रै गर्ने कि निर्माण कार्य तिर पनि लाग्ने एक मात्र पर्यटन उद्योग लाई धारासाइ पार्ने यो कस्तो सड्यन्त्र हो यो ?

    Reply
  14. Suraj Regmi says:
    August 20, 2013 at 8:28 am

    Qatar Airways को Airbus A320 narrow body जहाज आउने हो!

    Reply
  15. Jeevan Thapa says:
    August 20, 2013 at 7:21 am

    सरकार सँग पैसा छैन बाहेक अरु केहि सुनिदैन … हैन नेपाल सरकार सँग एउटा बिमानस्थल बनाउने पैसा पनि नभएकै हो त? विमानस्थल बनाउने पैसा नहुने सरकार लाइ ५/६ सय जना सभासद किन चाहियो? यसलाई घटाएर २४० मात्र बनाउँदा के हुन्थ्यो….
    बिदेशीको सामु कति झुक्न मन लागेको हो हामीहरुलाई…..
    यस्तै कारण ले होला सबै जना खैरे को देश शरण लिग्न शरणार्थी बनेर जाने …

    Reply
  16. Sanjay,USA says:
    August 20, 2013 at 6:38 am

    हे भगवान कहिँ नभाको जात्र haadigaun मा भनेको जस्तो!
    दशैँ को बेला परदेशी हरु घर फर्कन runway को पनि भाकल गर्न पर्ने भो!

    Reply
  17. aryan says:
    August 20, 2013 at 6:13 am

    ५ बर्ष पछाडी नेपाल आउने सोच थियो | बुवा आमाको हात बाट टिका नलगाएको पनि आठौ बर्ष पुगेछ | खै यो पालि पक्कै आउछु भनेको त एरपोर्ट ले गर्दा आकाश बाटै फर्कनुपर्ने भयो कि क्या हो | प्रभु दशैँ तिहार सम्मको अबधि मा टालटुल गरेर भए पनि मिलाइदिनु पर्यो |

    Reply
  18. Birodh says:
    August 20, 2013 at 6:09 am

    नेता नाम गरेका फटाहा सैतानहरुलाई घुस लिन र दिनमै ठिक्क छ, अनि देस को हालत यो भन्दा माथि के होस् त ??

    Reply
  19. Harihar Dahal says:
    August 20, 2013 at 4:00 am

    देशको यो भन्दा ठुलो बेईज्यती अरु के हुन सक्छ!पशुपतिनाथ पनि अब गले जस्तो छ।

    Reply
  20. shree basanta says:
    August 20, 2013 at 2:46 am

    देशमा भएको एउटा मात्र अन्तरराष्ट्रिय बिमानस्थलको हालत यस्तो भएपछी हाम्रो छबी बाहिर कति बिग्रेला यसको हेक्का हुनुपर्ने हो देश चलाउने ठेक्का लिएकाहरुमा | आज ठुला जहाज नल्याउ भन्छन भने भोलि कुनै पनि जहाज नल्याऊ भन्ने अवस्था नआउला भन्न सकिन्न | २००७ साल अघिको अवस्थामा पुगेको भएन ? राम्रै देखियो नया गणतन्त्र नेपाल !!

    Reply
  21. Nabin Adhikari says:
    August 20, 2013 at 2:02 am

    सहर-बजार तिर ठेकेदार ले पिच बनाये जस्तो टाल टूल गरे जसरी रनवे बनाउदा कही गतिलो हुन्छ त ?

    Reply
  22. rajesh says:
    August 20, 2013 at 1:50 am

    यो अरु जहाज मात्रै गुडेर हैन मित्र हो मेरो बुझाइमा हाम्रा नेता हरु इंडिया तिर जहाज बाट भ्रमण गर्दा-गर्दा पनि रन-वे भत्किएको हो l रन वे भत्केर मात्र हैन हाम्रा नेता हरुलाई नेपाल नै भोलि बिहान प्रलय हुन्छ भने पनि मुटुमा चुवास्स छोयो भने मलाई थुक्क भन्नु l इनिहरुलाई त लु यो चुनाव को मुखमा असत्ति अहिलेनै हुनु पर्ने बरु चुनाव को भोलि पल्टै भाको भए हुने भन्दै बिस्मात गर्दै होलान l रन-वे भात्कोस वा सुशील बुढा या ओली डन, दुई जिब्रे देउवा जो सुकै बिरामी पर्दा मर्दा हामि जनता ले नै त हो नि खर्च उठाउन पर्ने l

    Reply
  23. बासु says:
    August 20, 2013 at 12:06 am

    जेमापनि षड्यन्त्र देख्ने हामीले यसमा झन ठुलो षड्यन्त्र छ जस्तो पो देख्यौं त | किनभने निकै वर्ष पहिले काठमाडौँमा कंकर्ड प्लेन ल्याण्ड हुँदा यो एयरपोर्ट ठुलो जहाजकोलागिपनि उपयुक्त छ भनेर दावी गरिएको थियो | त्यसोभए त्यो दावी झुठो थियो ?
    ल भैगो, रनवे कम्जोर भयो रे | त्यसको गुणस्तरमा विकास गर्ने कि अधोगतितिर जाने ? साना सानामात्र प्लेन ल्याएर नेपालको पर्यटकीय विकास र आर्थिक विकासलाइ धक्का दिने अर्को ठुलो षड्यन्त्र हो यो |

    Reply
  24. harihar sharma says:
    August 20, 2013 at 12:05 am

    सारा देश त भगवान भरोसे चले को छ, एउटा थप रनवे नि सहि !

    Reply
  25. दुर्गा खनाल says:
    August 19, 2013 at 11:49 pm

    ए उमेश जी ! यो दशैँ को मुखमा जहाज अवतरण रोकिए भने बिदेशमा बसेका धेरै नेपालीहरु लाइ दशैँ मान्न धौ धौ पर्ने भयो नि ! पशुपतिनाथ ले सबैको कल्याण गरुन !

    Reply
  26. jitu says:
    August 19, 2013 at 11:39 pm

    देश बनाउन चाहने नेता पार्टी कोहि छ राज्यमा ? सबैलाई विमानस्थल दुध दिने गाई भाको छ . ल त चुनाब जित्न चाहने पार्टी वा नेताले तुरन्त विमानस्थल मर्मत सम्भार वा नया निर्माण तिर ध्यान पुर्याउ त | यौटा मात्र अन्तरास्ट्रिय विमानस्थलको बेहाल अन्तरास्ट्रिय समुदायले थाहापाय के होला, यात्रुहरु कसरि आउने जाने गर्लान ? सोचनीय मुद्दा होइन र ?

    Reply
  27. anil pun says:
    August 19, 2013 at 11:01 pm

    लाजमर्दो अन्तराष्ट्रिय बिमानस्थल!दुरदृष्टी राखेर काठमान्डौ बाहिर पनि अन्तराष्ट्रिय बिमानस्थल बनाएको भए यो स्थिति आउने थिएन।

    Reply
  28. SUJAN says:
    August 19, 2013 at 10:56 pm

    यो सबै समस्या सिन्डिकेट ठेकेदारी “गुन्डा लगाएर ठेक्का पौने चलन” ले गर्दा आएको हो !!!
    गुणस्तर युक्त मतेरिअल मा जानु पर्ने पैसा ठेकेदारले गुन्डा पाल्नमा खर्चेपछि कसरि बन्छ टिकाउ रन वे !!!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme