Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फर्कन नपाउने भन्दाभन्दै पनि मंगल ग्रह जाने लाइनमा देखिए चार नेपाली पनि

Posted on August 17, 2013August 17, 2013 by Salokya

mars
लगिदिने मात्र हामीले हो, फर्काउन चाहिँ फर्काउँदैनौँ, वन वे टिकट मात्र हो भन्दाभन्दै मंगल ग्रहमा जाने पहिलो मानव बन्नका लागि आतुर विश्वभरका करिब एक लाख जनाको भिडमा चार जना नेपाली पनि रहेछन्। नेदरल्यान्ड्सको गैरनाफामुखी संस्था मार्स वन फाउन्डेसनले दरखास्त आह्वान गरेको दुई सातामै एक नेपाली प्रकाश पी. सुवेदीले नाम दर्ता गराएका थिए। निवेदन दिने म्याद सकिनै लाग्दा अरु तीन जना नेपाली पनि थपिएका छन्। अरुलाई त भेट्टाउन सकिएन, नेपाली उम्मेदवारमध्ये सबैभन्दा कान्छा २१ वर्षका समिर न्यौपानेसित भने कुरा गर्न पाइयो। काठमाडौँमै रहेछन् उनी। आखिर ज्यान जोखिममा हाल्दै फर्कनै नपाउने अनकन्टार ग्रहको यात्रामा जान किन लालायित छन् उनीहरु ?


नेदरल्यान्ड्सको गैरनाफामुखी संस्था मार्स वनले मंगल ग्रहमा १० वर्षपछि चार जना अन्तरिक्ष यात्रीलाई पठाउँदैछ। अरु स्पेस मिसनभन्दा फरक यसको विशेषता के हो भने त्यहाँ पठाउनका लागि अन्तरिक्ष यात्रीहरु विश्वभर प्रतिस्पर्धाबाट छानिँदैछन्। यही विशेषताका कारण विश्वभरका मिडियाले यो प्रक्रियालाई चासो दिएर हेरिरहेका छन्। नेसनल जोग्राफिकदेखि लस एन्जलस टाइम र फक्स न्युज आदिसम्मले यसका खबर दिएका छन्। खासमा यो संस्थाले मंगल ग्रहमा मानव बस्ती बसाउन लागेको हो। यसका लागि पहिलो लटमा चार जनालाई सन् २०२३ मा उडाइनेछ। अहिले विश्वभरबाट १८ वर्ष पूरा भएकाहरुबाट यसैका लागि दरखास्त आह्वान गरिएको हो। चार जना छान्न विभिन्न प्रक्रिया अपनाइनेछ, तालिम दिइनेछ। त्यही लाइनमा चार नेपाली समीर न्यौपाने, प्रकाश पी. सुवेदी, अनिल र केशव पाब्दे भेटिएका हुन्।

यी चार नेपालीलाई मातृभूमि मात्रै हैन मातृग्रह नै छाडेर मंगल ग्रह जान केले प्रेरित गरिरहेको छ ? काठमाडौँमा रहेका समिर न्यौपानेसित मैले यसको जवाफ खोजेको थिएँ। पढ्नुस् यो छोटो कुराकानी

हैन तपाईँलाई पृथ्वीमा फर्कनै नपाउने गरी मंगल ग्रहमा जाने इच्छा कसरी पलाएको हँ?
हाम्रो देश नेपाल प्राविधिक विकासमा पछि परेको छ। यो देशलाई संसार भर चिनाउनको लागि र सबैलाई ठूलाठूला काम गर्न प्रेरणा दिनको लागि मैले “मार्स वन” मा भाग लिएको हुँ। वन वे ट्रीप जोखिमपूर्ण भए पनि म मेरो देश र सबै मानव जातिको प्रगतिको लागि यो मिसन सफल पार्न चाहन्छु।

समिर न्यौपाने
समिर न्यौपाने

छनौट भइहाले घरपरिवार, साथीसँगीहरुसँग छुट्टिएर मंगल ग्रहमा कसरी समय बिताउने सोच्नुभएको छ त?
परिवारसँग टाढा भएर बस्न सबैलाई गाह्रो नै हुन्छ। जीवनमा केही ठूलो काम गर्न जस्तै गाह्रो कुरा पनि त्याग्न सक्नुपर्छ। यदि म लाखौँमा छनोट भएँ भने मंगल ग्रहबाट स्याटेलाइटमार्फत् म्यासेज र भिडियोहरु परिवारलाई पठाउन पाइहाल्छु नि। मार्समा गइसकेपछि धेरै समय त मेरो मार्स बेसको काम र वैज्ञानिक अनुसन्धानमा टिम मेम्बरहरुसँग बितिहाल्ला नि।

तपाईँको यस्तो निर्णयबारे तपाईँको परिवार तपाईँको आफन्त, साथीभाइ वा गर्लफ्रेन्ड छ ? भए उनी जानकार छन् ? छन् भने उनीहरुबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
हजुर, यसबारे मेरो परिवार र साथीभाइहरुलाई थाहा छ। मैले अहिलेसम्म गर्लफ्रेन्ड बनाएको छैन। मैले सबैबाट सकारात्मक प्रतिक्रिया पाएको छु। सबैजना खुसी नै हुनुहुन्छ।

अलि ढाँट्नु भो कि के हो ? छोरालाई सँधैका लागि विदाइ गर्न त कुनै पनि आमाबुबालाई गाह्रै हुन्छ नि हैन ?
हाहा, होइन मैले मम्मीलाई यसबरे राम्रोसँग सम्झाएको छु।

मार्स वनमा दर्ता गर्न त शुल्क पनि तिर्नुपर्छ। तपाईँले कति तिर्नुभयो ?
हजुर, मार्स वनमा दर्ता गर्न शुल्क तिर्नु पर्छ। देश-देश अनुसार दर्ता शुल्क भिन्न छ। नेपालबाट एक जनाको शुल्क ६ डलर पर्छ।

केहीले त यसलाई शुल्क उठाएर ठगी खाने काम होला भनेर शंका पनि गरेका छन् नि !
मार्स वनमा मलाई पुरा विश्वास छ। त्यस्तो होला भन्ने सोच्ने हो भने त हामी विकासतर्फ बढ्न सक्दैनौ। म जान नपाए पनि यो प‌्रोजेक्टका लागि सानै भए पनि मेरो सहयोग भएको मान्नेछु।

नेपालबाट पेमेन्ट गर्न सजिलो छैन। तपाईँले कसरी तिर्नुभयो त छ डलर ?
मेरो पेपालमा केही रकम थियो, त्यसैबाट तिरेँ।

साइन्समा तपाईँको ब्याकग्राउन्ड के हो ?
कम्प्युटर। मलाई फर्मल एडुकेसन भन्दा सेल्फ एडुकेसन बढी मन पर्छ। धेरैजसो समय म घरमै प्रोग्रमिङ र वेब होस्टिङ गरेर बिताउँछु। मंगल ग्रह जान नपाए यहीँ पृथ्वीमा कम्प्युटर बिजनेस गर्ने विचार गरेको छु।

अरु तीन जना नेपाली पनि मार्स रेसमा छन्। चिन्नुहुन्छ उहाँहरुलाई ?
अहँ, व्यक्तिगत रुपमा छैन। फेसबुकमा खोज्या हो तर भेटिएन।

मार्समा जान पाउने संभावना कति प्रतिशत देख्नुभएको छ तपाईँले ?
एक लाखमा एक। के थाहा मै छनौट भइ पो हाल्छु कि !

लु गइहाल्नु परो भन्यो भने मानसिक रुपमा तयार हुनुहुन्छ हैन त ?
पक्कै पनि। मानसिक किन शारीरिक रुपमा पनि फिट हुनुपर्‍यो भनेर बिहानबिहानै एक्सरसाइज र जगिङ त थालिसक्या छु।

तपाईँको परिवार ?
मेरो मूलघर पाल्पा हो। म परिवारसँग छ वर्ष फिलिपिन्स बसेँ। अहिले सबै नेपालमै छौँ।

अरु केही भन्नुछ कि ?
माइस‌ंसारका पाठकहरुलाई हाइ भन्नुहोला। तपाईँले लेखेको मंगल यात्रासम्बन्धी पुरानो ब्लग ‘अन्तरिक्षमा जाने पहिलो नेपाली बन्ने हो ? मंगल ग्रह जान दरखास्त हालिहाल्नुस् !’ पढेँ। “मै पो बनुँ कि क्या हो दोस्रो आवदेनकर्ता। जान पाइहालेँ भने मंगल ग्रहबाट ब्लग लेखौँला नि, माइसंसार फ्रम मार्स ! तर इन्टरनेट पो कहाँबाट पाउने होला त्यहाँ” लेख्नुभा रैछ। गर्नुस् गर्नुस् तपाईँ पनि आवेदन गर्नुस्। इन्टरनेट त स्याटेलाइटबाट भइहाल्ला नि।

उतै जान इच्छुक अरु नेपाली

२९ वर्षीय प्रकाश पी सुवेदी। उनी आफूलाई नयाँ ठाउँ, नयाँ बाटोमा अभिरुचि रहेको बताउँछन्।

त्यस्तै २९ वर्षीय अनिल पोखरेल नेपालमा जन्मिए पनि १२ वर्षको उमेर मै अमेरिका पुगे र अहिले उनी त्यहीँको नागरिक भइसकेका छन्।

अर्का नेपाली ३१ वर्षीय केशव पाब्दे पर्यटन क्षेत्रमा काम गर्छन्। एडभेञ्चर गर्न र नयाँ कुरा हेर्न र अनुभव गर्न रुचि भएको उनले बताएका छन्।

हेर्नुस् उनीहरुको परिचय भिडियो

नेसनल जोग्राफिकले मंगल जान चाहनेहरुको परिचय भिडियोमध्येबाट केही राम्रा भिडियोहरु संकलन गरेको छ। यहाँ क्लिक गरी हेर्नुस्


मंगल ग्रह जान सबैभन्दा बढी आवेदन अमेरिकाबाट परेको छ। त्यसपछि चिनियाँको संख्या बढी छ।

छ अर्ब डलरको प्रोजेक्ट

मंगल ग्रहमा मानव बस्ती बसाउने महत्वाकांक्षी योजना बुनेको सो संस्थाले यसका लागि ६ अर्ब अमेरिकी डलर लाग्ने अनुमान गरेको छ। अमेरिकी सरकारले सन् २०३० सम्ममा मंगल ग्रहमा मानव मिसन पठाउने लक्ष्य राखे पनि यो संस्था १० वर्षभित्रै यो काम थाल्ने योजनामा छ।

यो महिनाको अन्त्यसम्म दरखास्त लिने काम सकाएपछि यही वर्ष अन्तरिक्ष यात्री छनौटको काम हुनेछ। २०१५ देखि प्रशिक्षण सुरु हुनेछ भने १८ मा रोभर मिसन लन्च हुनेछ। कार्गो मिसन २० मा लन्च हुनेछ भने आउटपोस्टले २०२१ मा काम गर्न थाल्नेछ। २०२२ सालमा पहिलो चार जनालाई उडाइनेछ। उनीहरु २०२३ मा त्यहाँ पुग्नेछन्। २०२४ मा अर्को समूहलाई त्यता उडाइनेछ।

25 thoughts on “फर्कन नपाउने भन्दाभन्दै पनि मंगल ग्रह जाने लाइनमा देखिए चार नेपाली पनि”

  1. Sameer Nyaupane says:
    August 20, 2013 at 3:53 pm

    म समिर हुँ। केशब जी तपाइलाई पनि मैले फेश्बुकमा एड गरेको छु। सबैलाई कमेन्ट गर्नुभएको र सुभकामना दिनुभएको लागि धन्यवाद। माइसंसारलाइ पनि यो आर्टिकलको लागि धेरै धन्यवाद। तपाईहरुलाई अरु केहि सोध्नु मन छ भने मलाई फेश्बुकमा एड गर्न “Sameer Nyaupane” सर्च गर्नु होला। धन्यवाद!

    Reply
  2. Sailendra Thapa says:
    August 19, 2013 at 11:48 am

    My body is not a thing to be experimented upon. आफ्नो देस नेपाल र आफ्नो ग्रह पृथ्वी मा केइ गर्न सकेको छैन, अब मंगल ग्रह मा गएर के खोया गर्ने?

    Reply
  3. Keshab Panday says:
    August 18, 2013 at 7:50 pm

    My sansar लाई धरै धरै धन्नेबाद यी चार जना माददेको एक नेपाली म पनि हु
    मलाई गर्ब छ! समग्र मानब कल्याणको को लागि मेरो जमर्कोले अर्को मानब दुनियाको कल्पना सार्थक बनाउन सक्ने छ.

    मेरा सम्पूर्ण मित्रजन हरुलाई सदसयेताको धन्यवाद!
    मलाई Facebook मा keshab panday yusuf को नामले भेट्न सक्नुहुने छ.

    Reply
  4. अभिमन्यू गौतम says:
    August 18, 2013 at 6:11 pm

    मंगल ग्रह कुनै आलुको डल्लो हैन ।सुँगूरलाई स्वर्ग जान्छस भन्दा जान नखोज्ने पनि मूर्ख ठहरिएला । यो उमेरमा आएर मैले पनि मंगल ग्रहको आवेदन दिनुपर्ने भयो ।
    बधाई तथा शुभकामना आवेदन दिने तथा सोच बनाएका हरुलाई । नेटवर्क को जस्तो ठगी गरेर संस्था भाग्यो भनेर उजूरी दिने ठाउँ चाँही कुन् हो थाहा पाएरै पो फारम भर्नु पर्ला ।

    Reply
  5. Limbu HarataraH says:
    August 18, 2013 at 2:37 pm

    परिवर्तन मेरो ‘पनि’ चाहना/ साथीहरुले भने झैँ – ‘उदेश्य के लिनु…’/ इर्श्याले जलि रहेको छुं ‘म’/ जिबन त त्यस्तो पो त जहाँ सोध-खोज-परिवर्तन छन्/ आधुनिक युगका आधुनिक अनुसन्धान खोजिको लागि लाइनमा बस्ने छोराहरुलाई मेरो पनि शुभकामना-शुभकामना-शुभकामना:/

    Reply
  6. मदनमणि says:
    August 18, 2013 at 10:58 am

    लौ शुभकामना र्फम भरेकालाई। नयाँ अनुभव पनि हुने अचम्मको काम पनि। ग्रह अनि उपग्रह घुम्न पाउने अवसर भन्या त विरलै मा पनि निक्कै विरलै पो पाइने अवसर हो। जानुस जानुस।

    Reply
  7. Jeevan Thapa says:
    August 18, 2013 at 9:10 am

    कमेन्ट सुन्दा नि हासो उठ्यो .यी ४ जनाले डिभी भरे जस्तै हो परिहाल्छ भन्ने कुनै ग्यारेन्टी छैन …लाखौ ले आबेदन दिएको ठाउँमा ४ जना नेपाली ले दिनु भनेको खासै ठुलो कुरो होइन …फेरी आबेदन दिंदैमा मंगल ग्रहमा जान पाहिने पनि त होइन .. तेती धेरैले आबेदन दिएको ठाउँमा ४ जना नेपाली मध्ये कोहि परिहाले भने बल्ल यिनी हरु भाग्यमानी रहेछन भनेर गर्ब गरौंला ….
    अन्त्यमा अग्रिम बधाई छ साथीहरुलाई ….

    Reply
  8. Anamak Sharma says:
    August 18, 2013 at 8:58 am

    त्यहाँ LoadSheding हुन्न भने त मा पनि जम कि क्या हो?

    Reply
  9. Nikhil says:
    August 18, 2013 at 8:45 am

    तपाई हरु धेरै लाटा हुनुहुदो रहेछ , ल सुन्नुहोस येश्को कहानी ~~

    यो गैर नाफामुलक कार्येक्रम भए पनि छनोट भएका को ४/५ वर्ष जति अमेरिका को NASA मा Training हुन्छ अनि बल्ल मंगल मा जाने हो , सबै लाई थाहा छ यो कार्येक्रम एउटा Mass sucide प्रोग्राम जस्तै हो तेसैले Training हुदा हुदै येश्को देश विदेश बाट निन्दा सुरु हुन्छ अनि संचालक ले येश्लाई cancel गर्न पर्ने हुन्छ(यो कुरा संचालक लाई अहिले पनि थाहा छ )| २०/३० लाख तिरेर मेक्सिको को बाटो हुदै अमेरिका चिर्न खोज्ने नेपाली या फिलिपिनो हरु लाई अति नै राम्रो प्रोग्राम हो किन कि NASA को Training पछि देश फर्किने कोहि पनि होइन, अनि training time को बीच मा छोड्न पाउने नपाउने भन्ने पनि contract मा केहि छैन| अर्को अर्थ मा यो प्रोग्राम भनेको DV भन्दा पनि राम्रो प्रोग्राम को अमेरिका घुस्न को लागि ~~~~

    Reply
  10. shiva hari says:
    August 18, 2013 at 7:50 am

    साहसिक आँट हो भाइहरुको मा त स्याबास भन्छु

    Reply
  11. sanu says:
    August 18, 2013 at 3:29 am

    यो सब वाहियात नाटक हो त्यो संस्थाको …मंगल ग्रहमा वा त्यहाँ सम्म पुग्नु भन्दा पहिले नै radiation ले सबै जीव मर्ने र सम्पूर्ण इलेक्ट्रोनिक्स जल्ने बारे पीएचडी थेसिसका थुप्रा छन ..एक वर्ष पृथ्वी बाहिर radiation जोनमा बिताउन सक्ने हाम्रो बिज्ञानले आधारनाइँ भेट्टाको छैन …वाहियात एउटा संस्थाले पैसा खाको हो …
    नासाले मंगलमा जना २० वर्ष देखि अर्बौ डलर खर्च्या छ ..हजारौ लाग्या छन ..के भा होइन …

    Reply
    1. Navin says:
      August 18, 2013 at 11:08 am

      “सबै जीव मर्ने र सम्पूर्ण इलेक्ट्रोनिक्स जल्ने बारे पीएचडी थेसिसका थुप्रा छन”.. एह अनि mars curiosity चाही के येही हाम्रो पृथ्वीको साहारा मरुभूमिमा घास हाल्दै छ रे ?

      Curiosity को वजन ९०० के जी, र जुन हिसाबले उनीहरुले तेस्लाई मंगल ग्रहमा अवतरण गरायो, आगामी दिनमा त्यो ९०० के जीमा केहि मानब सहितको mission लै सफलता पूर्ण अवतरण गर्नमा उनि हरु ढुक्क छन् | जैविक र रसायनिक पदार्थले भरिएको त्यो यानमा न त radiation ले इलेक्ट्रोनिक्स बिग्रया छ न त जैविक रसायन मा कुनै परिवर्तन नै | येसरी हावा भरमा नखोकुम न हो , कि सबलाई दुकुलत्थक ठान्य हो तपाइले ?

      कुरा रह्यो यात्राको , यात्रा नै ६-७ महिनाको हुन्छ , त्यो पनि एकोहोरो , त्यो चाही कसरि गर्छन होला यिनीहरुले | मानसिक सन्तुलन गुम्न बेर छैन तेस्तो अवस्थामा | तर पनि यी भाइहरुलाइ शुभकामना छ |

      Reply
  12. tulasi bindu says:
    August 18, 2013 at 3:23 am

    जति प्रकृति रचना भएका छन् त्यो सब मानव बाटो अछुतो रहने छैनन् भबिस्यमा / सृस्तिको सम्रक्ष्यन र सम्भार अनि संहार मानव नै हो / जीवन एक यात्रा हो एक दिन अन्त्य हुन्छा नै / जिन्दगीमा केहि गरेर त यात्रा अन्त्य गरौ / सफलताको कामना /

    Reply
  13. Shreeniwas Bhandari says:
    August 18, 2013 at 12:55 am

    आखिर मा या बसेर येही नेता क थोत्रा भासन सुन्नु भन्दा त अक् दिन मर्नैपर्ने चोला हो या मरेर स्वर्ग को सपना देख्नु भन्दा त स्वर्ग पुगेर ज्यान त्याग्नु बेस होनी बधाई छ साथी हरु लै

    Reply
  14. neerose says:
    August 17, 2013 at 11:22 pm

    यो ब्यापार पो चल्ला जस्तो छ त गाठे!
    अब जुपिटर वा भेनस लैजाने भनेर बिज्ञापन दिनुपर्छ कि क्याहो!
    कम्पनि त सात आठ बर्ष अगाडि दर्ता गरि नचलेर बन्द गरेको लाइ रि-फर्म गर्न पर्यो कि के त, तेलले डुबाको धन लगानी जति एलले उठाउदै भक्कु नाफा दिन्छ कि क्याहो त हो!
    वोन वे, एक तर्फी रैछ क्यारे के भो र!
    त्यो कुन्दुर मुनि चाइनिजले छाडेर गाको थोत्रो डम्फ़र लाइ रंग रोकन ढाक् ठुक गरि रकेट बनाउनु पर्ला!
    कुइरे भिर बाट सिधा जम्प हानेर उडान भर्नु पर्ला तिन देखि पांच मिनेटमा जुपिटर पुगी हाल्छ !
    ल है,
    सिट सिमित छ बुकिङ्ग छिटै खुल्दैछ! बुकिङ्ग गर्ने बुकिङ्ग चाहि आजै सुरु गर्नु पर्ला!
    यहि माइ संसार बाट नाम संकलन लिने बन्दोबस्ती मिलाउनु पर्छकि के त!

    Reply
  15. gopal says:
    August 17, 2013 at 11:03 pm

    उद्देस्य के लिनु उडी छुनु मंगल .. गुड लक

    Reply
  16. Biplav says:
    August 17, 2013 at 9:03 pm

    गल्फ्रेड पनि सगै लेर जान मिल्ने भए मनि टाप हान्थे

    Reply
  17. द्रोण says:
    August 17, 2013 at 8:56 pm

    नारि पुरुस समान भनिन्छ तर नारि को येस्मा सहभागिता देखिएन |
    कोइ जवान युवती पनि येस्मा सहभागी हुनुभएको भए बिर गोर्खाली हरु को संख्या त्याहा भबिस्यमा बढ्ने थियो | आर्को नेपाल बनाउने भए फेरी आर्को प्रचण्ड पनि चाहिने होला , तेसैले प्रचण्ड पुत्र लाइ पनि तपाइँ हरुले लिएर जानुस | यहा धिस्कुरो र आग्लो चिज देख्ने हुदैन न चडी छोड दैन केटोले , बा कामरेड दयालु भएर केहि भएँन |

    पुरानो रास्ट्रिय गीत ”पश्चिम मा किल्ला कांगडा , पुर्ब मा टिस्टा पुगेथ्यो ” लाइ परिमार्जित गर्दै ”तल ती बेसी मैदान , मास्तिर मंगल पुगेथ्यो ” गर्न हुन्थ्यो |
    तर अहिले जति ठुला ठुला कुरा गरेनी , भोलि जानेबेलामा घर भैसी ब्यायो , बिगौती को लोभले न गएको सुन्न न परोस |

    Reply
    1. Sailendra Thapa says:
      August 19, 2013 at 11:53 am

      “भोलि जानेबेलामा घर भैसी ब्यायो , बिगौती को लोभले न गएको सुन्न न परोस |”

      यो पंक्ति चै सारै चित्त बूज्यो मलाई !

      Reply
  18. Bishwo says:
    August 17, 2013 at 8:23 pm

    आज सम्म नेपाललाई संसारमा कसैले नचिनेको जस्तो, “यो देशलाई संसार भर चिनाउनको लागि र सबैलाई ठूलाठूला काम गर्न प्रेरणा दिनको लागि को लागि मंगल ग्रह जान्छु ” भन्छन् त , कति हास्नु

    Reply
  19. basanta malla says:
    August 17, 2013 at 8:22 pm

    जसरि पनि नेपाल छोडौ कोरिया जान पाऊ नत्र सरकारले नौ लाख दिनुपर्छ भन्ने देशका नागरिकलाई अर्को ग्रह भने पछि त झन् टाउको ले टेकेर भय नि जान्छन .

    Reply
  20. Bhakta says:
    August 17, 2013 at 8:05 pm

    यता हाम्रो नेपालमा भने यूरोप अम्रिका केहि नेपालि जादा लौ देसै छाडेर हिडे, देशै बिर्से ,मात्री भूमिको कस्तो माया नालाको भन्दै रडाको … के के नै भए जस्तै यता भने अब मंगल ग्रह तिर जादै छन् मान्छे हरु ! मान्छे भएर जन्मे पछि केहि गर्न को लागि हो ! खान त कुकुरले पनि खाएकै छ … गर गर.. गर्नु पर्छ !

    Reply
  21. Suraj Regmi says:
    August 17, 2013 at 7:23 pm

    ल पहिला लट मा चाही तपाईहरु जानुस, बुझ्नुस अनि पछि म पनि आउला ! यो सुल्क लिएर आबेदन लिने भन्या सबै नाटक हो ! पठाउने बेलामा उनीहरुले कहाँ हामी जस्तो धुपौरे हरु लाई पठाऊछन् र ? तालिमप्राप्त सैनिक हरु अझ तेस्मा पनि एअरफोर्स का पाइलट हरु लाई पठाऊछन् नि ! चन्द्रमा मा पहिला जाने निल आर्मस्त्रोंग र बज अल्द्रिन, पहिलो अन्तरिक्ष यात्री युरी गग्रिन सबै सेना मा पाइलट थिए ! यो चाही अलि अलि भए पनि पैसा जम्मा हुने अनि बिज्ञापन पनि हुने हिसाब ले गरिएको हो जस्तो लाग्छ ! खैर, सबै नेपाली दाजु हरु लाई best of luck!

    Reply
  22. पारूहाङ राई, काठमान्डु says:
    August 17, 2013 at 6:46 pm

    उड्न १० वर्ष र उडे पछि पुग्न १ वर्ष लाग्ने रैछ । त्यतिन्जेल तालिम हुने रैछ । यो त ठूलै आँट हो । यो आँटलाई नै ठूलो मान्नुपर्ला । जान नपाए पनि जान कोशिस गर्नेहरूले अनुभव र नलेज चाहिँ पाउँछन् होला । सबैलाई शुभकामना ।

    Reply
  23. Rajendra Adhikari says:
    August 17, 2013 at 6:40 pm

    कुरा ठीकै हो । जन्मे पछि सबैले एकचोटि पृथिवि छोड्न परिहाल्छ । ढिलो चाँढो मात्र हो । जीवनै भर यही एउटा पृथ्वीमा टाँसिरहनुभन्दा त कम्तिमा दुईटा ग्रहमा जीवन विताउनु नै उपयुक्त होला । नया अनुभव पनि हुने । एक बारको जुनिमा मंगल ग्रहको पनि स्वाद चाखिहालौं । पृथ्वीमै बसिरहने अधिकांसले पनि के नै गर्ने हुन् र, उही मृत्यु कुर्ने न हो ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme