Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्तै रहेछ यहाँको चलन- सर्वसाधारण मरिरहन्छन्, दोषीहरु हिरो बनिरहन्छन्

Posted on August 16, 2013August 16, 2013 by Salokya

गरिबको चमेली बोल्दिने कोही छैन!

jana-aandolan10 सँगैको फोटो २०४६ सालको जनआन्दोलनका क्रममा गोली हानेर मारिएका एक सर्वसाधारणको हो। उनलाई गोली हान्दा गृहमन्त्री निरन्जन थापा थिए, प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ थिए र कार्यकारी अधिकारसहितको राजा वीरेन्द्र थिए। राजा गोलीकान्डमा मारिए। मरिचमान ‘हिरो’ बनाइएर हिजो बिते। सर्वसाधारणको त यहाँ कुनै गन्ती नै हुँदैन। नेताहरु आफ्नो स्वार्थका लागि उनै सर्वसाधारणलाई उचाल्छन्, अगाडि उनीहरुलाई राख्छन्। घाइते उनीहरु हुन्छन्, ज्यान उनीहरुले गुमाउँछन्। तर मस्ती उनीहरु लुट्छन्। मार्ने र मार्न लगाउनेहरु हिरो कहलाइन्छन्। मार्ने र मार्न लगाउनेलाई कुनै कारबाही हुँदैन। धेरैअघिदेखि नै नेपालमा यस्तै हुँदै आएको छ। हजारौँको मृत्युको कारण बनेको माओवादी विद्रोहका क्रममा राज्य र विद्रोही दुवै पक्षबाट अनेक ज्यादतिपूर्ण घटना भए। अहिले दुवै पक्षका मर्ने र मार्न लगाउनेहरु दोषी ठहरिएका छैनन्। दुवै पक्षकाहरु हिरो भएका छन्। सत्य निरुपण आयोग भन्ने कुरो न बनाउँछन् न दोषीलाई कारबाही गर्न दिन्छन्। सत्ता र शक्तिको कठपुतली बनेका जनतालाई उनीहरुलाई नै हिरो मान्न लगाइन्छ। नेपालको इतिहास नै यस्तै छ। कोतपर्व मच्चाउनेले पनि सजाय पाएनन्, राणा शासनमा दमन गर्नेहरुले पनि सजाय पाएनन्, पञ्चायती कालमा दमन गर्नेले पनि सजाय पाएनन्। २०४६ सालको आन्दोलन, २०६२/६३ को आन्दोलन दबाउनेहरुले पनि सजाय भोग्नु परेन। गृहयुद्धमा मार्ने र मार्न लगाउनेहरुलाई पनि कारबाही भएको छैन, हुनेवाला पनि छैन। अब वैद्य बाको आडमा नेत्रविक्रम चन्द फेरि युद्ध गरेर मान्छे मारेर भविष्यमा हिरो बन्ने बाटो खोज्दैछन्। यस्तै हो, सर्वसाधारण मरिरहन्छन्, दोषीहरुलाई हिरो बनाइँदै गर्छ। प्रसङ्गै प्रसङ्गमा २०४६ सालको आन्दोलनका केही फोटो भेटियो। त्यतिबेला इन्टरनेट थिएन, ब्लग थिएन, सोसल मिडिया थिएन। अहिलेको पुस्तालाई त्यतिबेलाको आन्दोलन हेर्ने यो एउटा अवसर हो। फोटो विदेशी फोटोग्राफर एलिसन राइटले खिचेका हुन्।

jana-aandolan3
२०४६ सालको आन्दोलनका बेला पुलिस यस्तो भारतीय पुलिसको जस्तो ड्रेसमा हुन्थ्यो। जनआन्दोलनपछि मात्रै पुलिसको ड्रेस अहिलेको जस्तो परिवर्तन गरिएको हो। त्यतिबेला त प्रहरी जनताको सम्बन्ध नै हु्न्न थियो। प्रहरी भनेकै दमन गर्ने हो भन्ने थियो। बालबच्चालाई समेत नरोऊ है अहिले पुलिस आएर समातेर लग्ला भनिन्थ्यो। मानौँ पुलिस कानुनको रक्षक हैन, जतिबेला जसलाई पायो त्यसलाई समात्दै हिँड्ने जन्तु हो।

jana-aandolan6
२०४६ साल चैत २६ गते राजा वीरेन्द्रले प्रधानमन्त्री मरिचमान सिंहलाई बर्खास्त गरी लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाउँदै संविधानमा सुधार गर्ने वाचा गरेका थिए। तर आन्दोलन साम्य भएन। हजारौँको भिड दरबारतर्फ अघि बढ्यो। दरबारमा सेनाले सुरक्षा दिएको थियो। तीनधारा पाठशालानिर प्रहरीले यसरी रोकेको थियो। पछि प्रहरीले त्यहाँ गोली चलाउँदा कतिको मृत्यु भयो, गन्ती नै छैन। एक विदेशी पनि मारिएका थिए।

jana-aandolan1
काठमाडौँको दृश्य हो। कुन ठाउँको थाहा भएन।  ‘वी वान्ट डेमोक्रेसी’ त्यो बेलाको चर्चित नारा थियो।

jana-aandolan2
बहुदल माग्दै  जुलुस। त्यहाँ पछाडि होटल शेर्पा देखिए जस्तो लाग्छ।

jana-aandolan4

jana-aandolan5
दरबार मार्ग अगाडि टियर ग्यास हानेर दगुर्दै प्रहरी।

jana-aandolan7_haribol_bhattarai
बहुदलवादी पूर्व मेयर हरिबोल भट्टराईलाई पक्रँदै प्रहरी।

jana-aandolan8
कर्फ्यु लगाएका कारण मच्छिन्द्रनाथको रथयात्रासमेत अवरुद्ध भएको थियो त्यतिबेला।

jana-aandolan9
आन्दोलनकारीलाई कुट्दै प्रहरी।

jana-aandolan
आन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंह थिए।

२०४६ सालको आन्दोलन
फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर आन्दोलन सुरु भएको थियो। काङ्ग्रेस नेता गणेशमान सिंहले २०४६ सालको जनआन्दोलनको नेतृत्व गरेका थिए। नेकपा (माले), नेकपा (मार्क्सवादी) नेपाल मजदुर किसान पार्टी लगायतका पार्टीले संयुक्त वाममोर्चाको निर्माण गरेका थिए भने नेकपा (मसाल) लगायतका पार्टीहरूले संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समिति बनाएर आन्दोलनमा भाग लिएका थिए।

फागुन ७ गते काठमाडौँ लगायत देशभरि सुरु भएको आन्दोलनमा ठूल्ठूला जुलुस निस्किए। दिनदिनै आन्दोलनकारीहरू बढेर जान थाले। विद्यार्थी, शिक्षक, पत्रकार, वकिल, डाक्टर, उद्योगी, व्यापारी, कर्मचारी लगायत पेशा र व्यवसायका संस्था तथा व्यक्तिहरू आन्दोलनमा सरिक भएका थिए। जनआन्दोलनमाथि व्यापक दमन गरियो। आन्दोलनमा सहभागी दर्जनौँ मारिएत्र सयौँ घाइते बनाइए र हजारौँलाई गिरफ्तार गरियो। आन्दोलनमा जति दमन हुँदै जान्थ्यो, आन्दोलनकारीहरू त्यति थपिँदै जान्थे। त्यो आन्दोलनको केन्द्रबिन्दु काठमाडौँ उपत्यका थियो। तर देशैभरि आन्दोलनको आँधीबेहरी बढ्दै गयो। मूल रूपमा विराटनगर, झापा, वीरगञ्ज, सिन्धुली, भैरहवा, नेपालगञ्ज, दाङ, पोखरा जस्ता ठूला शहरहरूमा सशक्त आन्दोलन उठेका थिए। अन्य साना सहर र जिल्ला सदरमुकाम पनि आन्दोलनमय भएका थिए।

चैत २२ गते पाटनको कृष्णमन्दिरमा जनताले प्रहरीलाई नियन्त्रणमा लिई बन्दी बनाएका थिए। पाटनका सम्पूर्ण जनताले बाहिरबाट कोही पनि आउन नसक्ने गरी पाटनलाई मुक्त क्षेत्र घोषणा गरेका थिए। उनीहरू घरायसी हतियार समेत लिएर आन्दोलनमा सामेल भएका थिए। सबै नेपाली पञ्च र सबै पञ्च नेपाली भन्ने पञ्चहरू आन्दोलनका बेलामा कहाँ थिए? वास्तवमा उनीहरू समाप्त हुनै लागेका थिए। र, उनीहरूले सञ्चालन गरेको शासन ढल्न लागेको थियो।

जनआन्दोलन उत्कर्षमा पुगेपछि राजा वीरेन्द्र केही झुक्न बाध्य भए। चैत २४ गते उनले जनआन्दोलनमा दमनमा उत्रिएको मरिचमान सिंहको मन्त्रिमण्डल विघटन गरेर लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बनाएका थिए। उक्त मन्त्रीमण्डल २ दिन, २ रात मात्रै कायम रह्यो। चैत २४ गते संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितिले आम हड्तालको आयोजना गरेको थियो। उक्त बन्द अभूतपूर्व रूपले सफल भएको थियो। दरबारमार्ग अगाडि रहेको राजा महेन्द्रको शालिक चैत २४ गते नै फोरिएको थियो। उक्त शालिक फोर्नेमध्ये करिब आधा दर्जन आन्दोलनकारीलाई प्रहरीले गोली हानी शालिकबाट खसालेको थियो।

राजाले चैत २४ गते राती लोकेन्द्रबहादुरलाई प्रधानमन्त्री बनाएपछि आन्दोलनमा झन् घिउ थपिए जस्तै भयो र आन्दोलनले झन ठूलो रूप लिँदै गयो। २५ र २६ गते पनि जनताको आन्दोलन देशभर जारी रह्यो। २०४६ साल फागुन ७ गते सुरु भएको जनआन्दोलन लगातार ५० दिनसम्म चल्यो। राजा वीरेन्द्रमाथि राष्ट्रिय र अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको थियो। आन्दोलनले नेपालमा मात्रै होइन, विश्वव्यापी समर्थन प्राप्त गरेको थियो। नेपाल विश्वबाट टाढा हुन सक्दैनथ्यो। पञ्चायती व्यवस्थाले विश्वको समर्थन गुमाउँदै गएको थियो, एक्लिँदै गएको थियो। आन्दोलनकारीले विश्वव्यापी समर्थन पाउँदै गएका थिए। आन्दोलन थेग्न नसकेपछि राजाले आन्दोलनकारीलाई वार्तामा बोलाए। राजासँग आन्दोलनकारीको तर्फबाट काङ्ग्रेसका कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला तथा वाममोर्चाका तर्फबाट सहाना प्रधान र राधाकृष्ण मैनालीको प्रतिनिधिमण्डलले वार्ता गरेको थियो। त्यति बेला वार्ता पनि भनिँदैनथ्यो, दर्शनभेट भनिन्थ्यो। राजाले राजनीतिक दलका शीर्ष नेता, प्रधानमन्त्री, मन्त्री, प्रधान न्यायाधीशसहित संवैधानिक निकायका प्रमुखलाई तिमी भनेर सम्बोधन गर्दथे। राजदरबारमा काङ्ग्रेस, वाममोर्चा र राजाको बीचमा वार्ता भयो। उक्त वार्ता पञ्चायती व्यवस्थाको समाप्ती र बहुदलीय व्यवस्थाको स्थापना गर्ने सम्झौतामा टुङ्गियो। अन्ततः राजा वीरेन्द्रले आन्दोलनकारीका सामु घुँडा टेके र चैत २६ गते राती शाही सम्बोधन गर्दै बहुदलको घोषणा गरे। राजबन्दीहरू रिहा भए। खुशीयालीमा देशैभरी विजय जुलुस निस्किए। यसरी २०४६ साल चैत २६ गते मध्य रातमा तीस वर्षे पञ्चायती व्यवस्थाको अवसान भयो। देशमा बहुदलीय व्यवस्थाको पुनरुदय भयो। – विमल पोख्रेल

37 thoughts on “यस्तै रहेछ यहाँको चलन- सर्वसाधारण मरिरहन्छन्, दोषीहरु हिरो बनिरहन्छन्”

  1. kumar says:
    August 17, 2013 at 8:51 pm

    यो कस्तो बिडम्बना। इतिहासको कालखण्डमा एउटा महानायक लाइ कसरी खलनाएक बनाइयो ? नेपाली जनताहरु सबैलाइ थाहा छ । अनि एक सच्चा राष्ट्रबादी नेपालीलाई मृत्युपछी पनि किन यस्तो घृणा ?

    बास्तबिकता के हो भने यदि यो देशमा मरिचमान थिएनन भने यो देश सिक्किम त होइन तर भुटान अबस्य हुने थियो । हाम्रा मित्रहरुले त्यही बनाउन त खोजेका थिए नि । तर उनले त्यो हुन दिएनन । उनी इतिहासको कालखण्डका एक पात्र थिए जसले तत्कालिन आदेश को परिपालन गरेका थिए, तर यति मात्र होइन उनी तत्कालिन पात्र मात्र नभएर नेपालका एक सच्चा राष्ट्रबादी सुभचिन्तक पनि थिए ।
    अब हाम्रा गणतन्त्रबादी महानायकहरुले नेपालमा कस्तो संस्कारको बिकाश गर्ने खोजेका हुन ? ब्यबस्था परिबर्तन पछि खलनायक वा संधैको नायक? अहिलेको ब्यबस्था पनि अमृत खाएर प्राप्त भएको होइन जो अनन्तकाल सम्म रहिरहनेछ।
    त्यस बेला यीनिहरुको पनि नियती यही हुनेछ जो मरिचमानको भयो। जय देश ………………………. ।।।। RIP मरिचमान ………………….. .

    Reply
  2. Krishna says:
    August 17, 2013 at 3:49 am

    हामी सबैलाई थाहा छ को कस्तो भनेर? फेरी कीन हामी एकअर्कामा बिनाकामको बहस गर्छौ? सबै को पारा देखीयो त! सबैको इच्छा हो की देश विकास होस फेरी यी कुकुर नेताहरु को पछी कीन लाग्ने? सबै मीलौं र यी भ्रष्टहरुको पछी नलीगौं!!!

    Reply
  3. Aakar Bhushan Nepali says:
    August 17, 2013 at 2:37 am

    मरिचमान राष्ट्रबादी हो भन्दै घुमाउरो पारामा पंचायत र राजतन्त्र ठिक हो भन्ने मित्र हरु प्रति !!

    लोकतन्त्रमा अनगिन्ति “भएन” हरुको बीच एउटा कुरो चाहिं पक्कै “भयो” भएको छ| यसलाई मान्ने कि नमान्ने आ-आफ्नो मन्तब्य हो| त्यो चिज हो लोकतन्त्रलाई नै गाली गर्नु, लोकतन्त्रका ठेकेदारहरुलाई जुत्ताहान्नु र गाला चडकाउनु, ब्लग र अन्य मेडियामा मन लागेको लेख्न पाउनु | यी कुराहरुले कति ठुलो अर्थ राख्दछ भन्ने कुरा कविता लेखेर सी. डी. ओं. लाई नदेखाई मन्चमा पाठ गरेको अपराधमा “अब देखि यस्तो गल्ति नदोहर्याउने” कागजमा सहिछाप गराईएका पुस्ताका भुक्तभोगीहरुलाई सोध्ने कि ? होइन भने लोकतन्त्रको बिकाशका ठेकेदारहरुको नपुंसकताको जगमा टेकाई टेकाई मरिचमानको “चाकरी राष्ट्रबाद” र बिरेन्द्रको “घुर्क्याई राष्ट्रबाद”को बखान गर्नु भनेको दुर्गानन्द झा, भीमनारायण श्रेष्ठ, यज्ञ बहादुर थापा, रत्न कुमार बान्तवा, बिरेन राजबंशी, दिवानसिंह राई, योगेन्द्रमान शेरचन आदिको छातीमा टेकेर उनीहरुको सपना र बलिदानको धज्जी उडाउनु हो | मरिचमान, बिरेन्द्र आदिको राष्ट्रबादको लहरो महेन्द्रको “क्रान्तिकारी गद्दीबाद” मा पुगेर टुंगिने कुरा राजनीतिको निम्छरो बिध्यार्थीले पनि सजिलै बुझ्न सक्ने कुरा हो | तसर्थ झालेमाले, सन्डे प्रचंडे, हैजा गिरिजाहरु द्वन्दकालमा भएका ज्यादती प्रति जवाफदेही हुनु पर्छ भन्ने आवाज उठुरहेको बेला मरिचमानहरुलाई “राष्ट्रबाद”को खोलमा उन्मुक्ति दिलाउनु भनेको सर्बप्रथम राष्ट्रबादी आन्दोलनलाई नै कमल थापाहरुको हैकममा जिम्मा लगाई मध्ययुगिन राष्ट्रबाद तर्फ देशलाई धकेल्नु हो भनि सबैलाई ज्ञात भया |

    Reply
    1. प्रतिक says:
      August 17, 2013 at 12:01 pm

      आकार जी ,

      तपाईं को लोजिक मन पर्यो // अहिले नेताको गाला चद्कौना पाईन्छ, ब्लग र मेडिया मा नेतालाई गाली गर्न पाइन्छ // अनुसासन चाहिन्न // मनलाग्दी हिन्न पाइन्छ // गुन्डागर्दी गरेर मनलाग्दी हिन्न पाइन्छ //

      येही गर्न त ७, ४६, र १० बर्से जनयुद्धमा मरेका १६००० ले आफ्नो ज्यान को आहुति दिएका हुन्नी हैन?? किन चाहियो विकास र राष्ट्रिय राजनीतिको ईस्ताबिलिटी ??

      राम्रोलाई राम्रो र नराम्रो लै नराम्रो त भन्नै पर्यो नि// ठ्याक्कै नाभ्येनी comparatively

      Reply
  4. Rabin SHARMA Oli ' France' says:
    August 16, 2013 at 11:22 pm

    २०४६ साल फागुन ७ गते न्युरोड र पुतली सडक बाट करिव १ बजे सुरु भएको आन्दोलनको
    झल्झली याद आउछ .. पुलीस ले लखट्दा एउटा पसले ले सर्टर नखोलेको भए आज खोइ
    मा यहाँ कमेन्ट गर्न पाउथे कि?? शंकै लाग्छ .. चैत्र २४ गते को दरबार अगाडी को महेन्द्र को सालिक फोर्ने दिन को जोश देखेर राजा ले शिर झुकाएका थिए…
    चितवनको आन्दोलन झन् जोशिलो थियो… पुलिसले चौबिस कोठीमा ठेला मा फलफुल बेच्ने लाई पनि छोडेन गोलि को शिकार बनायो…
    चैत्र २६ पछिको बिजय जुलुश सारै रमाइलो थियो .. साइकल रयाली मा …

    Reply
  5. kedar thapa says:
    August 16, 2013 at 6:06 pm

    ०४६ साल पछाडी देस लाई लुटेर खाए का छन् |हामी नेपाली भन् लाज मर्दो भए को छ |कुर्सी को खेल भयको छ |जनता लाई बिभाजन बनाउने काम भयको छ |देस टुकराउने काम गरिदै छ|आज १००००० लाख मानिस मर्दा पनि सिरियामा अल बसर ले कुर्सी छोडेको छैन |तर नेपाल मा सजिलै तरिकाले बहुदल बादी लाई कुर्सी छोडी दिए राजा ले ०४६ पछी नेपाल मा कति मानिस मरे लेखा जोखा छैन झन् मावोबादी त १४००० हजार मानिस मारेर आयको उस्लाई कसको माया छ र ?यो लोकतन्त्र ले नेपाली लाई के दियो? आज आफ्नो जिउ धन को सुरक्षा छैन | विकास लाई फर्केर हेर्ने हो भने हिजो पंचायती काल मा सर्बे भए का काम पनि भएका छैन |सडक छाप नेता हरुका चिल्लो गाडी र गगंचुन्बी घर भए का छन् |देस बिदेसी ऋन मा डुबिसकेको छ महगी ले आकास छोएको छ |बेरोजगारी बढेको छ| आखिर यो लोकतन्त्र मा हुने काम यहि हो ?,,,,,,,

    Reply
  6. kedar says:
    August 16, 2013 at 5:04 pm

    अहिले सम्झिँदा पनी कहाली लागेर आउँछ ….. आखिर के खान मुन्टीएका थियौं होला

    माथिको तेस्रो फोटोको देब्रे तिरबाट पाँचौं वा छैटौं म हुनु पर्छ, त्यसदिन दरबार जाने जुलुसको सबै भन्दा अगाडी अगाडी १९ बर्षको सरस्वति क्याम्पस पढदै गरेको ठिटो म पनी थिएँ / जतिखेर त्यो फोटो खिचिएको थियो तेतिखेर हामि पुलिश्को हात समातेर उचाल्दै पुलिश जनता एक हौँ भन्ने नारा लगाउंदै थियेउ एक्कासी कता हो कता बाट गोलि चल्न सुरु भयो, म देखि दायाँ तर्फ संस्कृत छात्राबासको भित्तैको छेउमा भएको एक जनालाई गोलि लागेको देखे थियो / ति हामि अगाडिका पुलिसले चैं गोलि चलाएका थिएनन्, तेस्पछि भागा भाग मा त्रिचन्द्र भित्र पसेर बल्ल बल्ल ज्यान जोगाइयो /

    तेसरी ज्यान फालेर आन्दोलनमा उत्रिएर प्रजातन्त्र ल्याउने र तेतिखेरका सहिदहरुको सोधखोज मान सम्मान त कता हो कता उल्टै मरिचमानलाइ रास्त्रियेताको प्रतिक बनाउंदै हिरो बनाइदै छ /

    मेरा दुइटा छोरालाई आन्दोलनको अ, रास्त्रियेताको र, प्रजातन्त्रको प केहि सिकाउन्न जस्तो लाग्छ / आखिर के का लागि तिनले सहिद हुनु परो र फेरी हाम्रा छोरा नातिहरु फेरी सहिद हुने ? फेरी फर्किएर तिनै मरिचमान, ज्ञानेन्द्र, प्रचण्ड, बाबुराम र बैद्धे हरुलाई महान बनाउन लाई ?

    Reply
  7. suzee says:
    August 16, 2013 at 3:44 pm

    थापाथली को पुरानो पुल मा टेकु तिर काममा , जान लागेको हातमा अझै आइ .दि . कार्ड देखाउदै गर्दा को मृतक हेरेको थिए, बिहानै को , त्यो सिन हेर्न गएको अझै मेरो मानसपटल मा ताजै छ , सम्झेर आङ नै सिरिङ्ग भयो .
    अहिले यो फोटो हरु हेरेर तेस ताका कौसी बाट निशान, सून्य बागमती पुल , अनि आर्मी र बख्तरबन्द गाडी हरुको लाम , अनि प्रजातन्त्र को आगमन पछि को विजय जुलुश को याद आयो .

    Reply
  8. प्रतिक says:
    August 16, 2013 at 3:39 pm

    सबै comparitive कुरा हो/// राम्रो नराम्रो ,कालो गोरो, बहादुर कायर/// सबै // पन्च्यात र अहिलेको गणतन्त्र पनि // मरिचमानले बिरेन्द्रको आदेश मानेर तेसो गरे रे !!! क ठुलो गरे त?? हैन??? अहिलेको कोइ नेताले तेस्तो गर्न सक्छन??? सर जनता को साथ् पाएपनि कुनै एउटा नेताले भारतको कुरा काट्न सके कान काटेर पातमा रखिदिउन्ला ल//

    अनि मानिसले परिवर्तनको चाहनाले बिकाश हुने चाहनाले स्वतन्त्र हुने चाहनाले , पंचायत फालेर प्रजातन्त्र ल्याएका हुन्// नकी नेता हरु पोसेर देशलाई खोक्रो बनाउन// हिजो पंचायत कालमा के थियो, रास्त्रियता र रास्ट्रको सम्मान थियो अन्तरास्ट्रिय जगतमा समेत// उद्योग धन्दा राम्रो थियो कृषि उपज राम्रो थियो // आज जस्तो बाहिर बाट खानेकुरा आयात गर्नु पर्थियेना // बरु नेपालबाट बाहिर निर्यात हुन्ह्य्तो ..//

    आज क छ??? बिकाश को नाम निशान छैन, जता ततै अराजकता अनि गुन्डागर्दी // नेता र उसका ओरे बौरेलाई पाल्नुपर्ने बाध्यता // येसैको लागि आएको हो बहुदल र प्रजतान्रा???

    जसको सासन कालमा देश ले प्रगति गर्यो उही हो सच्चा सम्मान को हकदार/// कुनै पनि कल ठुलो हैन मानिसको विचार र गरेर देखाउने इक्ष्य ठुलो हो//

    Reply
  9. anil says:
    August 16, 2013 at 12:59 pm

    एउटा सिंह( मरिच मान सिंह ) लाइ खेदन अर्को सिंह गणेश मान सिंह लाई प्रयोग गरिएको र हामी काठमाडौँ बासि सबै भेडा भएको समय थियो त्यो जुन कुरा गणेश मान आफै ले काठमाडौँ बासि लाई आरोप लगाउदा स्विकार्नु भएको छ प्रजातन्त्र प्राप्ति को २४ बर्ष पछि पनि देश ले के पायो त कथित प्रजातन्त्र बाट सबै भन्दा ठुलो कुरा जनता को दैनिक गुजारा र उसको सुरक्छा हो भन्ने बुझ्न सके मात्र जुन सु
    कै तन्त्र आएपनि जनता लाई केहि फरक पर्दैन

    Reply
  10. पुष्प says:
    August 16, 2013 at 12:25 pm

    कुकुर बहुलाए पनि कुकुरको विकल्प कुकुर नै हो, बाघ हुन सक्दैन ! झन् घाइते बाघको के कुरा गराई भो र !

    Reply
    1. Harke says:
      August 17, 2013 at 1:21 pm

      बिकल्प खोज्नु भन्दा पनि पहिला बहुला कुकुरहरुलाइ ठेगान लगाउनु पर्यो….! काँध थाप्ने हरुलाई चेतना भया !

      Reply
      1. द्रोण says:
        August 17, 2013 at 9:08 pm

        नेताहरु दिनहु ढुकुर खान्छ , तपाइँ हरु चै कुकुर को बहस गरि बस्नुस |

        Reply
      2. पुष्प says:
        August 18, 2013 at 9:40 am

        बहुलाए भनेर कुन स्रोतबाट ज्ञान प्राप्त गर्नुभो ?

        Reply
        1. Harke says:
          August 19, 2013 at 11:18 am

          श्रीमान आफ्नो कमेन्ट आफै पढ्ने कि….!
          ….कति कुरी…कुरी भन्नु खै…!

          Reply
          1. पुष्प says:
            August 19, 2013 at 12:13 pm

            ‘हर्के बहुलाए पनि’ भन्नुले ‘हर्के बहुलाएको’ भन्ने बुझिने रेछ; आजै थाहा लागो !

            Reply
  11. Man Limbu says:
    August 16, 2013 at 11:18 am

    राजतन्त्र काहिले राष्ट्र बादी, जान प्रेमी थिए न भबिस्य मा हुने छ.
    यिनी हरुको इतिहाँस नै रगत लत्पतिएको छ त्यो जनताको रगत मा होस् या त् आफ्नै परिवार को. बि. स. २४६ अघि अनि त्यस पछि को जनयुद्धमा पनि गरिब नेपाली जनताको यसरि नै निर्मम हत्या गरेकाछन. हजारौ बालबालिका तुहरा बनाएका छन् . पूर्व प्रधानमन्त्री मरिचमान त् खाली हतियार हुन् त्यो हतियार चलाउने मुख्य नायक त् राजा नै हुन् त्यसैले राजतन्त्र कहिले जनहित र राष्ट्र हित मा हुने सक्दैन . गणतन्त्र जिन्दाबाद …..

    Reply
  12. razen says:
    August 16, 2013 at 11:18 am

    तेती खेर त एउटा खलनायक तर अहिलेका नेताहरु त सबै खलनायक | एसो विचार गर्दा त अहिलेका धेरै खलनायकहरुको बिचमा मरिचमान नाएक जस्तै पो लाग्छ त |

    Reply
  13. Sisir says:
    August 16, 2013 at 11:18 am

    २०४६ सालमा दरबार मार्ग महेन्द्रको सालिकमा गोलि चल्दाको दिन म र मेरा दाजु पनि तेही थियोउ , दाजु सालिकमा पार्टीको झन्डा बान्दै हुनु हुन्थियो म तलबाट सहयोग गर्दै थिए , के येही दिन देख्नको लागि ज्यान हत्केलोमा राखेका थियोउ हामीहरुले ?
    एउटा आम जनताको कसीबाट हेर्ने हो भने पंचायत भन्दा ६२-६३ पछिको सासन कुनै यांगलबाट राम्रो छैन .. पहिले एउटाले राज गर्थियो अहिले सैयोउ स्याल र हजारौ गिद्धको राज छ , सान्ति सुरछ्या कुन चरीको नाम हो पत्तो छैन, राज्य बेवास्ता अस्त ब्यस्त छ , सुसशन लापता छ , भ्रस्टाचार चरम बिन्दुमा छ , नेपाली नेपाली बीच विभिन्न अतिबादिले बिस्वासको ठुलो खाडल खनेका छन् , बेरोजगारी भनि साध्य छैन , दिल्ली दलाली उत्कर्समा छ , जनताको निरासाको कुनै सिमा छैन, रास्त्रियता र राष्ट्रिय एकता येति कम्जोर कहिले थिएन , जनता भावनात्मक रुपमा खण्डित छन् ,हत्यारा , लुटेरा र पाखण्डीको राज छ , नेता भनौदाले देश चलाउन नसकेर जनता प्रति कुनै उत्तरदाई हुन नपर्ने भारतले तोकेको ठेकेदार कर्मचारीले देशको कमान लिएका छन् , के येही दिन देख्न नेपालीले आफ्नो ज्यानको आहुति दिएका थिए ? के येही हो जना उत्तर्दाई लोकतान्त्रिक साशन प्रणाली ? आज हाम्रा महान भनौदा नेताहरुले जनताको लागि केहि राम्रो काम गरेका भए कमल थापा, ज्ञानेले टाउको उठाउने हिम्मत सम्म गर्ने थिएनन् , मरिचमानको येत्रो प्रसंशा पनि हुने थिएन !!
    एस्ता पाखण्डीहरुको हातबाट जनताले कहिले सम्म अपमानित भै रहनु पर्ने ?

    Reply
  14. saru says:
    August 16, 2013 at 9:52 am

    मरिचमान रस्त्रबादी नै थियो भन्ने उसको कार्यकाल मा उसको काम र सत्ता छोडे पनि उसले आफ्नो बिचारमा अडिग भएर कसैको अगाडी नझुकेको र साधारण जीवन बिताएको ले नै प्रमाणित हुन्छ. यदि उसले भारत ले भनेको सन्धि मानी दिएको भने त्यो जनान्दोलन ले केहि हुने वाला थियन. भारत को कुरो नमाने पछि भारतले आफ्नो दलाल हरु लगाएर परिबर्तन गराएको कुरो हामि त्यो पुस्ताको मान्छे ले राम्ररी नै थाहा छ. अहिले क दलाल नेता हरुले भारत को नेता हरु को पाउ मोलेको हामी देखिराखेको छौ. त्यो जना आन्दोलन मा धरै मान्छे curfew भन्ने के नै थाहा भएर मरेको थियो. त्यहि तथाकथित सहिद हरुको रगत बेचेर बहुदल ले बहुल साशन चलाएको पनि देखियो र त्यसपछि १७००० हजार मान्छे को लास को आडमा माओबादी को सत्ता पनि देखियो र उनीहरुले राष्ट्र लै बेच्ने र ब्रम्ह लूट मचाएको पनि सहि नै रहेको छौ. राम राजा जस्ता आतंकबादी लाई राजकीय सम्मान देख्दा सशांक लामाजी हरु को टाउको दुखेन. मलाई त मरिचमान नेवार भएको ले पनि यी बाहुन हरुले नाटक गरेर सम्मान दिन नलगाएको जस्तो पनि लग्न थाली सक्यो. को नायक को खल नायक भनेर आगामी दिन मा त छुट्टि नै हालचा यदि नेपाल यी डाका नेताहरु ले बचाई राखन सके भने. जय नेपाल

    Reply
    1. Tenzing Gaba says:
      August 16, 2013 at 10:55 am

      सरुजी .. जदौ
      कुरो बडो राम्रो गर्नु भयो
      तर जताततै जातियताको कुरो च्वास्स मिसाउनु हुन्न कि ?
      मेरो एउटा मान्यता यहा share गर्न मन लाग्यो
      १. सबै “रास्ट्रबादी” हरु को जात हुदैन ………… त्यी सबै “नेपाली” मात्र हुन्
      २. सबै “रास्ट्रघाती” हरु को जात हुदैन ……….. त्यी सबै “कुलंगार जडतत्व” मात्र हुन्

      Reply
    2. गगने says:
      August 16, 2013 at 2:32 pm

      कहिले कहिले बढो बिष्मातामा पर्छु मा कुनै कुनै मान्छेको कुराले, दिमाग चकराउछ र सोच्न थाल्छु यी मान्छेहरु केले सोच्ने गर्छ र के ले बुझ्ने गर्छ होला! हेत्तेरी!
      मरिचमान कसरि किन केगारी रास्त्रबादी भयो?
      रास्ट्रबाद भनेको के हो ?
      के गरे रास्ट्रबादि भइन्छ अनि के गरे अरास्ट्रबादि?
      यो रास्ट्रबादि र अरास्ट्रबादि को सिमाङ्कन गर्ने गह्रो तोक्ने हरुको दिमाग र बिचार कतै संकुचित त छैन?
      प्रजाको रास्त्रबाद भनेको आफ्नो महाराजको खेत हो! हलीको रास्त्रबाद जमिन्दारको खेत हो भन्ने प्रजा र हाली अनि खेतालाको मानाशिकता बाट माथि उठ्न नसकेका हरुले रास्ट्रबाद लाइ यसरि सान्गुर्यायर सोच्दछाकी उनीहरु देशलाई राजाको खेत भन्दा ठुलो ठान्दैन बाउसे र खेताला हरुलाई रास्त्रबादी देख्दछन किनकि आफु पनि तेही भित्र पर्दछ!
      राजा नभय देश रहदैन रास्त्रियता रहदैन, रास्ट्र रहदैन भनेर राजपुराण लाउदै हिड्ने हरु रास्त्रबादिको ठेकेदार पण्डित नभयर राजतन्त्रको ठेकेदार पण्डित हो!

      मरिचमान राजाको खेतमा एउटा खेताला बिचको बाउसे भन्दा अर्को केहि होइन! उ क्षमता र विद्वता अनि देश र जनताको लागि कुनै शैदान्तिक बिचार द्रिस्ट्रि र जनाधार द्वारा भन्दा राजभक्ति राजाबादी कट्टरपन्थी भै राजभक्तिको प्रतिस्पर्धा र अब्बर्ल अनि कट्टर राजपंथी भयको ले बाउसेको जिम्मेवारी पायको हो र राजाले त्यो पदबाट गलहत्याइदिने बित्तिकै वोजेलामा परेको हो! उ प्रम भयर राजभक्ति गर्ने राजा आज्ञा पालना गर्ने राजा र राजतन्त्र जोगाउन पहल गर्ने राजाको खेत जोगाइदिने रोपाइँ गर्न खेताला खोज्ने भन्दा अर्को कुन के कुरा गर्यो? मरिचमान प्रति मेरो कुनै गुनासो र दुखेसो छैन तर चित्त नबुझेको कुरा त यी राजाका खेताला र प्रजाहरुले जवार्दस्ती रास्ट्रबादिको पगरी गुथाउन उध्धत्तता लाइ मात्र हो! हुन त मरिचमान लाइ रास्ट्रबादि देखि रास्त्रबादिको पगरी गुथाउने र उसको अन्त्यस्टिमा श्रीमान गंभिर भन्दै राजगान गाउने हरुको कुरामाथि बहस गर्नुको तुक छैन यी सबैको देश र रास्त्रियता सामाजिकता मानबियता आदि भनेको राजाअग्याको पालानागर्नु हो “जिल्लेलाही प्रजाबत्सल महाराज श्रीमान आग्याहोस हुकुम होस् सरकार!” भनेर शिर निहुराउनु नै यिनीहरुको जीवन सफल हुनुहो!
      यसो गरेमा रास्ट्रबादि भइन्छ? यसो गर्नेलाई रास्ट्रबादि को पगरी गुथाउन उध्धत्तहरु सिर्फ राजाको आज्ञाकारी प्रजाहरु हुन् !
      प्रजाहरुलाई ठुलो पिडा भयको छ खेत धनि जमिन्दार भूपति प्रजाबत्सल मालिक श्रीमानको अस्तिन मृत्युभयो अहिले एउटा बाउसे को मृत्यु भयो अब केहि खेताला बाकि छ! प्रजाहरु आहात ले मर्माहात भयकाछन!
      प्रजाबत्सल भूपति श्रीमान र बाउसे हली हरु गुमाउनु पुग्दा परेको पिडामा मेरो समबेदना छ पूर्व राजाका हालका प्रजाहरुलाई!

      Reply
  15. Basanta Thapa,Maryland,USA says:
    August 16, 2013 at 8:57 am

    राष्ट्रबादी त्यो हो जसले आफु जन्मेको माटो र आफु जस्तै निरह जनताको हित रक्षाको लागि कुनै बादशाह ,कुनै महाशक्तिसंग झुकेर होइन डटेर , अपार सम्पती ,दम्पत्ति ,घरपरिवार बिर्सेर लड्छ ,भिड्छ र मर्छ \ त्यो मात्र साचो रास्ट्रबादी हो \ म २०४६ सालमा सबै व्यक्तिगत स्वार्थ बिर्सेर लडे ,म रास्ट्रबादी थिए तर आज म आफु र आफ्नोको मायामा अल्झेको छु , यसर्थ म रास्ट्रबादी होइन \ अझै सम्म पनि एउटा गुण बाकि छ म संग त्यो हो म झुटो बोल्न सक्दिन यसले जति सुकै ठुलो घाटा किन नहोस \ म सत्यवादी भने हु \

    Reply
  16. Jeevan Thapa says:
    August 16, 2013 at 8:56 am

    नमर्ने बेला सम्म सबै खलनायक मरे पछि सबै नायक यो त नेपालको चलन नै हो….

    Reply
  17. कविराज says:
    August 16, 2013 at 7:17 am

    यस्तै हो शालोक्याजी त्यो यहाँ मात्रै होइन जताततै त्यस्तै हो. हामीले नेपोलियन महान थिए भन्ने पढ्यौ, लेनिन, स्टालिन, वासिंगटन आदि अनेकौ नेताहरु महान थिए भन्ने पढ्यौ. माओ, लेनिन र स्टालिनको फोटो मुनि बसेर राजनीति गर्ने हरु नेपालमा कति हो कति. ति सबै एक प्रकारका रक्त पिपासु नै थिए. चियाङ्ग काई सेक र माओ मा मान्छे मार्नमा कोहि कम थिएनन. स्टालिनले कम्युन खेति गर्न न मान्ने “कुलाक” किसानहरु (सोविएत श्रोत अनुसार ७ लाख र अरुले ६० लाख मान्छे) मारे. कुलाक भनेर जग्गा भएका सामान्य किसान देखि जमिन्दार सबै पर्दथे. सोवियत श्रोत अनुसारनै १८ लाख कुलाकलाई श्रम शिविर पठाइयो र लगभग ५ लाख कुलाक बेपत्ता भए. त्यस्ता ज्यानमारालाई कुनै सम्बन्ध नै नभएको नेपाल जस्तो देशका नेताहरुले त हिरो बनाउछन्. त्यस्ता बिरानो मुलुकका रक्त पिपासुलाई त हामी हिरो मान्छौ भने आफ्नै देशका केहि हदसम्म राष्ट्रवादीलाई किन हिरो नमान्ने. कमसेकम मरिचमान भारत संग त झुकेनन्. आखिर पंचायत भन्दा के पो राम्रो भयो र बहुदल र गणतन्त्र नेपाल. नेपालको निर्माणको इतिहास मै सबै भन्दा मान्छे मरेको त पंचायत पछि नै हो नि.

    Reply
  18. शशांक लामा says:
    August 16, 2013 at 7:14 am

    मरिचमान राष्ट्रवादी थिए कि राष्ट्रपीडक थिए? ०४६ सालमा बहुलाको फेरोले सिंगान पुछ्दै हिँडनेलाई थाहा हुने कुरा पनि भएन|म र मेरा समकालिनले देखेको भोगेको थियो र आफ्नो चेत अनुसार सहभागी पनि भएका थियौँ|तिनै जन दमनकारी ब्यक्तिलाई राष्ट्रवादिको पगरी गुथाइ सुनपानी छर्कने काम भैरहेको छ| अचेतले त्यसो भन्नु उसको सचेतताको कमी हो|तर पुरापुर चेत लिएर हिँडेका नेपालीहरुले गणतान्त्रिक नेताहरुको अकर्मन्यता माथि खिसिट्युरी गर्न मरिचमानले गरेको आदेश तामेलीलाइ लिएर उनलाई महापुरुष बनाउनु खोज्नु युक्तिसंगत हो त?

    Reply
    1. इश्वर चन्द्र आर. says:
      August 16, 2013 at 10:14 am

      कसैले हिरो मान्लान कसैले जिरो मान्लान – कृपया हरेक पार्टी को पाला मा भएका हत्या हरु को लिस्ट बनाउ – सबै भन्दा पुछार मा पंचायती ब्यबस्था नै आउछ ! येसो भन्नु को तात्पर्य पंचायती व्यवस्था राम्रो थियो भन्नु कदापि होइन ! तर अहिले को धतुरे ताल देख्दा भनिएका र ठानिएका “शहिद” हरु लाइ बिचरा नै मान्छु म ! तिन को मरण व्यर्थ भो ! न त देश लाइ भो न त जनता लाइ भो, न उनको परिवार लाइ भो, भयो त खालि धतुरे हरु लाइ !

      एउटा कुरा ” ब्यबस्था लाइ परिबर्तन गर्छु भनेर हिड्ने र ब्यबस्था जोगाइ राख्छु भन्ने हरु बीच कहिले तुलना हुदैन र गर्नु पनि हुदैन ! दुवै आफ्नो आफ्नो ठाउ मा ठिकै हो जब सम्म देश बचेको हुन्छ ! अमेरिका मै तेरो व्यवस्था मान्दिन भन्यो भने के त्येहा पनि हजुरकै ब्यबस्था ल्याउनुहोस भनेर ओबामा चर्च तिर त लाग्दैनन् होला ” सानो तिनो अन्दोनल गर्नु भयो – पुलिश को नोटिस आउछ, अलि ठुलो गर्नु भयो – जेल हालिन्छ, त्यो भन्दा धेरै गर्नु भयो – त्येहा नि गोलि हानिन्छ !”

      ब्यबस्था ठुलो होइन देश हो – देश लाइ कसले कता लगेको छ त्येहा ध्यान दिउ ! देश रहेन ब्यबस्था परिबर्तन र पुनर्स्थापन गर्न सकिन्छ !

      Reply
    2. maheshwar says:
      August 16, 2013 at 1:33 pm

      सशांक जी ०४६ सालमा पनि रगत बगाएकै होंउ, १४ बर्षे जनयुद्ध (हाल प्रस्ट भैसकेको धनयुद्ध) होमिएकी हो. ०६२/०६३ मा पनि लाठी खाएकै हो. यी सबमा लाग्दा चेत भएर होकी सचेत भएर होकी अचेत भएर लगियो अहिलेको देश को अवस्था देख्दा प्रस्ट नै हुन्छ . यो सब अहिलेको परिस्थिथि हेर्दा गणतान्त्रिक नेताहरुको कुकर्मलाई अकर्मन्यता नाम दिएर मरिचमानलाइ गाली गर्नु भनेको आफ्नो आंग को भैसी नदेख्नु अर्काको आङ्ग्को कोठी देख्नु भनेको जस्तै हो. नया नया लेंदुपे भन्दा त मरिचमान जस्ता नेता ठिक छन् जसले १३ महिना भारतलाई हामी को हौ र तिमीहरु क होउ भन्ने जनाएका थिए.

      Reply
      1. Aakar Bhushan Nepali says:
        August 17, 2013 at 2:50 am

        अझपनि साथीहरु मुतको तातोलाई(यहाँ त सेन्सर बोर्ड न आईपुग्ला कि!) सिरक डस्नाको न्यानोको भ्रममा हुनु हुन्छ |
        के गर्नु त खोई ?

        Reply
  19. Nabs says:
    August 16, 2013 at 6:32 am

    अझै ताजै छ मन मस्तिस्कमा जनआन्दोलनका दिनहरु- सबै भन्दा याद आउने दिन हो वटू टोल बस्ने सुरज शाक्यको गोलि लागेर भएको हत्या म पनि त्यहीं नजिकै थिएँ सुरज शाक्य न कुनै आन्दोलनकारी नै थिए न त कुनै पार्टी संग आवद्ध उनि त केवल दर्शक थिए I अन्धाधुन्ध गोलिले निर्दोषलाई छिछोल्यो I फेरी अर्को न्युरोडमा घटेको घटना जसमा कयौंले ज्यान गुमाए I सबैले प्रजातन्त्र आयो र कर्फ्यु सक्यो भनेर घर बाहिर निस्केका थिए तर न्युरोड नजिक रहेका आर्मीहरुले कर्फ्यु तोडेको भनेर धेरैको ज्यान लिए I देशको लागि मर्ने मरेर गए कसैलाई पत्तो भएन तिनीहरु राष्ट्रवादी भएन जसले मारे तिनै राष्ट्रवादी वाह हाम्रो देश र हाम्रो देशका जनताहरु अचम्म छ

    Reply
  20. शशांक लामा says:
    August 16, 2013 at 5:29 am

    लहरो तान्दा पहरो गर्जिन्छ भनेको यहि हो ! विस्मृतिमा गैसकेका व्यक्तिलाई बेफ्वाँकमा राष्ट्रवादीको बिल्ला भिराउन खोजिंदै छ ! हुकुमको तामेली गर्ने पंचायती प्रधानमंत्रिहरु के खाएर राष्ट्रवादी हुनु नि ? खेताला पो थिए ति !!!!

    Reply
    1. Tenzing Gaba says:
      August 16, 2013 at 9:54 am

      शशांकजी को कुरो त् ठिक हो
      तर
      खेताला पनि २ खालका देखिनमा आए
      १. नारायणहिटीमा बस्ने जिम्दारको
      २.दिल्लीमा बस्ने साहूको

      कुन चाही खेताला गतिला भनेर सोच्ने जिम्मा आ-आफनो …………..जदौ !!!

      Reply
  21. Bayan says:
    August 16, 2013 at 4:23 am

    यस्तै हो मर्नेहरु गरिब र निमुखाहरु नै त हुन् नि/
    र्हितिक रोशन काण्डमा पनि हाम्रा बाजे रामचन्द्र पौडेल गृह मन्त्रि भएको बेलामा गोलि हानेर चार जनाको (ति मध्ये एक स्कुल बाट घर फर्के पछि होम वोर्क गर्दै व्यस्त बालक) ज्यान गएको थियो/ त्यो भिडको माग थियो: र्हितिक रोशनको फिल्म नचलाउनु/ शायद उनीहरुको माग स्वीकारेर एक दिन (गोपी कृष्णका मालिकले) फिल्म हल बन्द गरिदिएका भए ति चार जनाको ज्यान बित्थामा जाने थिएन कि/

    Reply
  22. नरेन्द्र says:
    August 16, 2013 at 3:16 am

    तितो यथार्थ बन्दै छ देशमा अपराधिहरु पनि रातारात मर्ने बेलामा हिरो बन्ने गर्छन,त्यसैको ज्वलन्त उदाहरण हो यो पनि। हुदा हुदा जसले धेरै मानिस मारेर सत्ता भोग गरेको छ उही नै राष्ट्रबादी, महान नेता बन्ने रैछ हाम्रो देशमा। मारिने र मर्ने हामी जनता नेताहरु सधै माथिको माथि नै हुदा रैछन।अपराधीहरुलाई कानुनी कारबाही नगरी छाडिने प्रवृतिले पनि यसमा भूमिका खेलेको छ। न त हिजो पंचायत बिरुद्ध का आन्दोलनमा दमन गर्ने र मार्नेहरुलाई कारबाही भो न त २०६२/२०६३ को आन्दोलनका दोषीले कारबाही भोग्नु पर्यो। उल्टो तिनै अपराधी र दोसिले पुरस्कृत हुदै गय, देश आजको जन्जिर मा फस्नुमा त्यो पनि एउटा कारण हो तर कसैले त्यता पट्टि ध्यान दिनय दिन चाहेन।

    Reply
  23. chandra says:
    August 16, 2013 at 2:10 am

    बिरेन्द्र हत्याकाण्डमा मरेर नायक भए, त्यहि काण्ड ले खलनायक भाका ज्ञानेन्द्र नेता हरुका करतुत ले नायक भए, खलनायक हरुका खलनायक पारस नालायक प्रचण्ड पुत्र को वाहियात फेसबुक हल्ला पछि नायक भए . सर्ब साधारण ले त अर्को सर्बसाधारण को ज्यान नेता जत्तिकै महत्वपुर्ण छ भन्ने ठान्दैनन् भने नेताहरु को के कुरा ? हामीले नेताहरुलाई गालि गर्नु बेकार छ .

    Reply
    1. aryan says:
      August 16, 2013 at 8:24 am

      नेपालमा येस्तै हो आफु लाएक हुन लाइ अरु नलाएक बनाउनु पर्चा

      Reply
    2. Vijay says:
      August 16, 2013 at 9:55 am

      एउटा खलनायक भएपछी उसको प्रतिद्वन्दी स्वत: नायक हुने रहेछ, चाहे जतिसुकै उसले पाप नै किन नगरेको होस् ! संसार भरि यस्तै हो कि हाम्रो देशमा मात्र हो?

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme