Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भूतप्रेत, तन्त्र साधनाको रहस्यमय दिन

Posted on August 5, 2013August 5, 2013 by mysansar

सोमबार काठमाडौँ उपत्यकामा गथांमुगः चाड मनाइयो। यो दिन फलामको औँठी, लैँचा (मेहन्दी) लगाइन्छ र भूतको पुत्ला जलाइन्छ। आजको रात तन्त्रमन्त्रको कुविद्या सिक्नेहरु औँलामा मैनबत्ती बालेर आउँछन् भन्ने कथा ठूलाले सुनाउँदा सानोमा खुब डर लाग्थ्यो। भूतप्रेतको कुरा अहिले अलि अपाच्य लागे पनि यो हाम्रो परम्पराले स्वीकारेको विषय हो। पश्चिमी संस्कृतिमा पनि भूतप्रेतकै हालोइन पर्व मनाउने गरिन्छ। जापानको बोन फेस्टिभलमा पूर्खाको आत्मालाई सम्झने गरिन्छ। यही गथां‍मुगः चाड बारे विनय राजोपाध्यायको जानकारीमूलक ब्लग

गथांमुगःलाइ घण्टाकर्ण भनी भन्ने गरिन्छ, जुन सहि होइन। किनभने घण्टाकर्ण भन्ने राक्षसको बेग्लै कथा छ। उ अन्तै कतैको देवता नमान्ने नास्तिक हो। सायद ऊ भारत, काशीको हुनुपर्छ किनकि त्यहाँ कर्णघण्टा भन्ने पोखरी छ र नजिकै घण्टाकर्णको मुर्ति पनि छ। त्यो घण्टाकर्णको पौराणिक कथा र काठमांडौं उपत्यकाको गथांमुगःको पौराणिकता अनि यो गथांमुगः चाड मान्ने कारणबारे धेरै नै भिन्नता छ।

रुद्रायमल तन्त्रको कथामा रहेको घण्टाकर्णलाइ तानतुन पारेर काठमाडौं उपत्यकाको संस्कृतिमा मिलाएर हेरिँदा त्यस्तो देखिएको मात्र हो। कुनै बेला नेवार शब्दलाई सञ्चार माध्यमले आफुखुशी उल्था गरी नेवार भाषामा गँ भनेको घण्टा र था भनेको बजाउने वा अड्केको र मुगः भनेको हयामर यानेकि घन मानेर यो गथांमुगः भनेको घण्टा बजाउने हो र यो घण्टाकर्ण सँग नै सम्बन्धित चाड हो भनी फुकिदियो। जस्ले गर्दा यो भ्रम श्रृजना भएको हो। आज पनि यही कुरालाई नजिर बनाई आफ्नो मौलिक परम्परालाई पाखालगाई त्यसैलाई नै अँगीकार गरी बस्न त भएन नि। जबकि यो चाडको नाम गथांमुगः हो गँथामुगः होइन।

वास्तवमा गथांमुगः भनेको दोबाटो, चौबाटो, चोक इत्यादी हो। किलागः, प्यंगःथां, नौमुगः, चिकंमुगः,प्यङ्गःथां आदि टोलको नामको अन्तिममा आएका यस्तै गः, थां, मुगःले पनि यो कुराको पुष्टि हुन्छ।

रोपाइँको बेला मरे पनि काजकिरिया नहुने

परापूर्वकालमा नेपाल मण्डल एक प्रशस्त उब्जाउशील भूमि भएको ठाउँ थियो। यहाँ उब्जनी मनग्ये हुन्थ्यो। खेती किसानी सबै भूमिमा गर्न त्यो बेला जनसंख्या कम भएको कारणले असम्भव प्रायः थियो। घाम, पानी, असिना, हावा, हुरी केही नभनी खेती किसानी सबै भूमिमा गर्नु मुश्किलको काम थियो। केही गरी फसल बिग्रेमा वा खेती किसानी गर्न नपाएमा बर्षभरीको लागी अन्न पुर्‍याउन सकिंदैन थियो र अन्न संकट हुन सक्थ्यो। त्यसैले यो काम मरीमरीकन जसरी भए पनि यहाँका किसानहरुले गर्नु नै पर्दथ्यो। भनिन्छ रोपाँइको बेला घरमा कोही ब्यक्ति मरे देखि त्यस लाशको शतगती समेत नगरी रोपाँइ नसकेसम्म सुकुलमा बेरी एक कुनामा थन्क्याउँदै सबै परिवार रोपाँइमा नै ब्यस्त भइरहन्थ्यो र रोपाँइ सकिसके पछि मात्र त्यस लाशको शतगति काजक्रिया गरिन्थ्यो ऊ बेला। त्यसैले यस रोपाँइ गर्ने कार्यलाई नेपाल भाषामा सिन्हां ज्याः भनि भनिन्छ।

सिन्हांको अर्थ मरेर र ज्याःको अर्थ काम भन्ने हुन आउँछ। अर्थात मरीमरीकन जसरी भए पनि गर्नुपर्ने काम। साँच्चै यो सिन्हां ज्याः गर्नु भनेको आफ्नो जिउ ज्यानै फालेर गर्नु पर्ने काम थियो। मरीमरीकन जसरी भए पनि जे गरेर भएपनि गर्नु नै पर्दथ्यो यो काम। नत्र त वर्षभरी राज्यमा अन्न संकट पर्न सक्थ्यो। अनि भोकमरी लाग्न सक्ने सम्भाबना एकदमै थियो। माटो सम्याउनु, डल्ला फोर्नु, सिंचाईको लागि कुलो खन्नु आदि इत्यादि किसानी काम गर्नु भनेको साधारण काम होइन। यो त एकदमै बलिया बलवानहरुले मात्र गर्न सक्ने काम थियो।

भूत भित्र्याउने चलन

तर राज्यमा सबै मान्छेहरु बलवान हुँदैनथिए त्यसैले यस्तो काम गर्न भूतको साधना नगरी सम्भव थिएन। यस्तो काम गर्न भूतको साधना गरी मान्छेमा भूत चढाई यो काम फत्ते गर्नु पर्दथ्यो। प्रत्येक सिन्हा ज्याः भन्दा पहिले अक्षय तृतिया भन्दा एक दिन अघि भूत दुकायगु भनी शहरमा भूतलाई भित्र्याउने काम हुन्थ्यो। अनि यो भूत चढाएको मान्छेको सहायताले सिन्हा ज्याः सजिलै गर्न सकिन्थ्यो।

सिन्हा ज्याः सकि सकेपछि यो भूतहरुको कुनै कामै थिएन। त्यसैले यिनीहरुलाई भगाउनु पनि जरुरी थियो किनकि साधारण मान्छेले भन्दा भूत चढेको मान्छेले एकदमै बढी त काम गर्दथ्यो तर एकदमै धेरै धेरै नै खाना पनि खान्थ्यो। त्यसैले यी भूतहरुलाई वर्षभरी नै पाली राख्न त असम्भव प्रायः थियो। यसै कारणले गर्दा भूतहरुलाई भगाउनु अत्यन्तै जरुरी थियो। भूतहरुलाई सिन्हां ज्याः सकी सके पछि याने कि भूतहरुबाट चाहिने जति काम लिइसकेपछि यिनीहरुलाई श्रावण कृष्ण चतुर्दशी अर्थात दिल्लागा चह्रे गथांमुगः चह्रेको दिन तान्त्रोक्तविधिपूर्वक भगाइन्थ्यो।

गथांमुगः भनेको भूतहरु बस्ने सामूहिक ठाउँ हो। जुन छ्वासः(क्षेत्रपाल, चौबाटो) हो। त्यसैले यस दिन आ-आफ्नो टोलको छ्वासमा नर्कट बाँसको तीन मुठालाई उठाएर बिहानैदेखि चौबाटोहरुमा ठड्याउँथ्यो। अनि घरघरबाट भूत भगाएको स्वरुप पुतलीहरु बनाई त्यसमा झुण्ड्याउन पठाइन्थ्यो। त्यस नर्कट बाँसको मुठामा डरलाग्दो भूत वा भूतनीको आकृति बनाई, टाँसी, एक जनाको शरीरमा मनपरी लेखी, एउटा दहीको भेगुतमा त्यस हेरचाह गर्नेलाई पेट टन्न भइकन दही चिउरा खुवाई, “ॐ शान्ति जय नेपाल आजु जय हा……” भन्न लगाउँदै, त्यही खाली दही भेगुतमा पैसा माग्न लगाई, हेरचाह गर्न लगाइन्छ र साँझ साँझ परे पछि टोलवासीहरु सबै मिलि त्यसमा विभिन्न तान्त्रिक पुजा गरी दहि चिउरा खुवाई एक मुठा पराल बाली त्यस नर्कटको झ्याङ्गलाइ तीन पल्ट परिक्रमा गर्न लगाई ढाली त्यसैमा त्यो मान्छेलाई बस्न लगाई टोलवासीहरु सबै मिली तानी खोलामा लगी मिल्क्याई बगाउने काम गरिन्छ। खोलामा बगाइसकेपछि ती तान्ने सबै मुख धोई घर फर्कने चलन छ।

भूतसँग भेट

यस दिन भूतहरु संग यताउति जहिँ तहीँ भेट हुन सक्ने भएकोले सबैले अनिबार्य रुपका फलामको औंठी लगाउनु जरुरी थियो नत्र त त्यो ब्यक्तिलाई भूतले दुःख दिने सम्भाबना धेरै थियो। भनिन्छ फलाम धारण गरेको ब्यक्तिलाई भूतले दूःख दिंदैन। बेलुकि पख सबैको घरमा भूत फेरि भित्र आउला भनी ढोका ढोकामा तीन खुट्टे किल्ला ठोकी बिशेष पूजा गरी तारण लगाउने काम हुन्छ। यसपछि घरको मुल ढोका बन्द गरी त्यो रात कोही पनि बाहीर जाँदैन’थ्यो। यस दिन यस प्रकारले भूत भगाई घरमा शुद्ध गर्दा खेरी घरमा बास बसि रहेको भूत प्रेतहरु पनि भागेर जान्छ भन्ने जन बिश्वास छ। यस प्रकार गर्ने घर शुद्धिलाई गथांमुगः ब्यंकेगु भनेर भनिन्छ। यदि सिन्हा ज्या नसकेको भए सिन्हाज्या सकीसके पछि मात्र सो घरमा गथांमुगः ब्यंकेगु गर्ने चलन पनि छ।

तन्त्रशक्ति सशक्त पार्ने दिन

यस दिन यसरी भूत प्रेत पिशाचहरु सबैलाई नगर बाहिर धपाई पठाउने भएकोले कुबिद्या-बोक्सी बिद्या) सिक्न चाहनेहरु, तान्त्रिकहरु मशानमा गई भूतहरुलाई लोभ देखाई फकाई वशमा लिई आफ्नो स्वार्थ सिद्ध गर्नुको साथसाथै आफ्नो तन्त्र शक्तिलाई अझै शशक्त गर्दथे। भनिन्छ बोक्सी विद्यामा तव मात्र पूर्ण पारङ्गत भएको मानिन्छ रे जब कोही बोक्सी सानो भई करुवाको माथिको मुखवाट छिरी टुटीबाट सकुशल बाहिर आउन सक्दछर त्यस्तै अजङ्गको पिपलको रुखलाई आफ्नो हत्केलामा राखी उल्ट्याउन सक्दछ। यस्तो अलौकिक क्षमता हासिल गर्न तान्त्रिक तथा बोक्सीहरु यस दिन आफ्नो बोक्सी बिद्यालाई अझै तिखार्न अवश्य पनि मसानमा रहेको शक्तिपीठमा पुग्दछ। त्यसैले यस गथांमुगः चह्रेको रात बोक्सीहरु आफ्नो बोक्सी बिद्यालाई बढाई अझै शक्तिशाली हुन मसानको शक्तिपीठमा गई साधना गरी बस्दथे। यस बेला उनीहरुले कुनै ब्यक्तिको बली भोग दिन सो ब्यक्तिको हंस (आत्मा) तानी कुचोको पुच्छर राखी, चार खुट्टाले टेकाई खसि बोकालाई जस्तै लघारी डोरीले बाँधी मसानको शक्तिपिठमा घिच्याउँदै लगी गोलको मासु, बालुवाको चिउरा बनाई खुवाई बली दिंदा रहेछन्। भनिन्छ कि यस्तो बलि आफ्नै लोग्नेको दिन सके देखि त्यो बोक्सी जस्तो शक्तिशाली अरु कोही पनि हुन सक्दैन अरे। यसरी हंस तानेको ब्यक्ति छ महिना भन्दा बढि जिउँदो रहन पनि सकिंदैन अरे भन्ने हाम्रो समाजमा विश्वास रहिआएको छ। यस प्रकारको चित्रहरु हामीले देउपाटनको जयबागीश्वरको मन्दिरमा र पाटनको मुःचुकः स्थित म्वमदु द्यः (छिन्नमस्ता)को भित्तामा पनि देख्न सक्छौँ।

यस दिन उनीहरु यस ठाउँमा मध्य रातमा आउँदा र जाँदा आफ्नो औंलालाई मैनबत्ति जस्तै बाली वाटो नै उज्यालो बनाउँदै खुट्टा जमीन भन्दा केहीमाथी हावामा टेकि आउँदछ जस्ले जति वटा औंला बाली आउँदछ उनीहरु त्यत्तिकै जान्ने रहेछ भन्ने पनि यस् बाटै जान्न सकिन्छ। कतिपय मानिसहरु त यस्ता बोक्सीहरुलाई ठीक् गर्नु पर्दछ भन्दै मशान जाने बाटोमा ढुकी बसी यस्ता आउनेहरुलाई सास्ती गर्नेहरु पनि छन्। यसरी ढुकी बस्नेहरुमा तान्त्रिकहरु पनि हुन्छन् जस्ले त यस्ताहरुलाई तारण राखी सास्ती गर्दछन् तर सास्ती गर्ने भन्दा सास्ती खाने बलिया अनि शक्तिशाली भएदेखि त उल्टो उनीहरुलाई नै सास्ती गरी भगाएर तन्त्रशक्तिले कहाँ कहाँ पुर्‍याई दिन्छन् जस्ले गर्दा ति व्यक्ति रात रात भर घर फर्कने बाटो खोज्दै ठिक्क हुन्छन्। यसरी अल्मलिने अनुभव पाएका बुढापाकाहरु आज पनि भेट्न सकिन्छ।


यस गथांमुगःको मध्यरात भूत प्रेतको साधना गरे चाँडैनै तन्त्र विद्या सिकिने जन बिश्वास पनि छ। हुनत भुतप्रेतको कुरा आजकालको युवा पिँढीलाई अपाच्य होला तर हाम्रो पूर्खाले यस्लाई स्वीकारेको छ। यो नेपाल मण्डलको आफ्नै परम्परा हो, संस्कृति हो। आफ्नो मौलिक संस्कृतिमाथि गर्व गर्न सिकौं। कृपया गथांमुगःलाई घण्टाकर्ण भनी बुझाउने काम नगरौं। अझ कसैकसैले त गथांमुगःलाइ यो चाडको नाम नै बिगारी गठे मङ्गल पनि भन्ने गरीन्छ। यो त पूरा विकृति हो। गथांमुगःलाई बाह्य सांस्कृतिक आक्रमणबाट जोगाऔं। (साभारः विनय राजोपाध्यायको ब्लग)


फोटोहरु भूतको प्रतीकका रुपमा मान्छेलाई घिसारेर तान्दै खोलातिर लाँदै गर्दाको हो। चार वर्षअघि यो फोटो मैले असनबाट रत्नपार्कबाट घिसार्दै गर्दा खिचेको थिएँ।

12 thoughts on “भूतप्रेत, तन्त्र साधनाको रहस्यमय दिन”

  1. david says:
    August 7, 2013 at 1:19 am

    मलाई चाही भूत लै घरमा भित्र्याउने भन्ने कुरा सारै अचम्म लाग्यो,,,, र ऐले येस्ता कुराहरुको बिस्वास नभए पनि यो ब्लग पढेर सारै रमाइलो र जानकारी पनि पैइयो…. अब रात भरि सुत्ने हो कि होइन थाहा छैन !!! :p

    Reply
  2. sharan hada says:
    August 6, 2013 at 10:31 pm

    Hi Binay dai
    The blog is the best and very informative. Thank you for your effort to let people know about this story rather than celebrating in wrong way or misrepresenting the facts. Please keep up this work any hope to learn more facts of our traditions.

    Thanks a lot
    Sharan NYC

    Reply
  3. anita shrestha says:
    August 6, 2013 at 4:57 pm

    यो पर्व को बारेमा ब्रिश्तित जानकारी दिएको मा बिनय जी लाई धेरै धन्यवाद छ

    Reply
  4. rubi says:
    August 6, 2013 at 4:41 pm

    धेरै कुरा थाहा पाइयो गथांमुगः को बारेमा, ब्लगको लागि धन्यवाद /

    Reply
  5. Dev Gurung says:
    August 6, 2013 at 3:33 pm

    उहिले भुत हरु देखेर मान्छे डराउने गर्थे अहिले मान्छे देखेर भूत डराउछ i

    Reply
  6. keshav mangal joshi says:
    August 6, 2013 at 10:23 am

    very good blog. Many thanks to the author/blogger

    Reply
  7. योगेश आदी says:
    August 6, 2013 at 9:23 am

    ब्रम्ह टोल, काठमान्डूबाट केहि जवान युवाहरु ब्यापार गर्न बेत्रावती बजार गएका रहेछन, करिब १३० बर्ष अघि / उनीहरुले आफुसंगै नेवारको सम्पूर्ण रितिरिवाज र परम्परा पनि पहाडतिर भित्र्याए / आज त्यहि धरोहर मौलाएर गथांमुगः हाम्रोतिर पनि मनाइन्छ / हामी त्यहि परम्पराको सम्बर्धन गर्नेको सन्तान हौँ भन्दा गर्व लाग्छ !!

    Reply
  8. Shailendra Dhakal (म्याउ ) says:
    August 6, 2013 at 8:41 am

    नेवारी समाज अनुपम सस्कृतिको धनि छ, अझ एस्लाई जस्ताको तस्तै निरन्तरता दिनु बास्तबमै प्रसंसनिय छ. यो लेख पढ्दा सारै आनन्द आयो.

    Reply
  9. सन्तोष लामिछाने, म्याडिसन, विस्कनसिन says:
    August 6, 2013 at 8:34 am

    संस्कृति सम्बन्धि जानकारी मुलक लेख रहेछ, लेखको लागि धन्यवाद! मलाई चाहिं रोपाइकोको बेला मृत्यु हुँदा क्रिया कर्म नगरी कामलाइनै प्राथमिकता दिने कुरा सुन्दा त एकचोटी त कस्तो कस्तो लाग्यो तर सोच्दाखेरि यसलाई यसरी लिन सकिने रहेछ, अब मृत्यु भै सकेकै छ भने किन एउटा आदर्श कर्म (रोपाई), जसले लोकमा अन्न उत्पादन गर्छ, तेस्लाई रोक्ने…मृत्यु भैसकेको व्यक्ति ब्युँझने होइन, र उसले पनि एउटा आदर्श कामको लागि आफ्नो प्राण आहुति दियो, उसको असली इच्छा पनि रोपाई पुरा होस् नै भन्ने हुन सक्छ, तेसैले त्यो ठिकै छ | तर बचाउन सकिनेहरू छन् भने चाहिं रोपाई रोकेर पनि बचाउनु पर्छ | अनि अर्को चाहिं ज्यान नै जाने गरि सुरिएर काम गर्न तेती बेला मात्र सुहउन्छ जतिबेला एउटा को मृत्युले कम्तिमा पनि अरु दुइ असल व्यक्तिहरुको ज्यान बचाउन सक्छ | तेस्तो अनिकाल नै छ भने बल्ल तेस्तो मृत्यु को अर्थ रहन्छ |

    Reply
  10. द्रोण says:
    August 6, 2013 at 7:42 am

    देश भर तरह तरह को भुत को बिस्वास गर्ने चलन छ | राके भुत ( प्राय गाउघर तिर बत्ति बालेर आउने ) , नान्गले भुत , भकुन्डे भुत ( खुट्टा मा हान्ने ), थान्गने भुत ( खुट्टामा लत्पतिएर मान्छे लाइ ढाल्ने अनि रगत छादेर मोर्ने ), दोबाटे भुत , मुर्कट्टा ( पुर्ब सम्माननीय प्रधानमन्त्री गिरिजा प्रसाद्ज्यु मृत्यु पछि मुर्कट्टा हुनुभएको मा धेरै नेपालि बिस्वास गर्छन )| तेस्तै विस्वास गर्ने लाइ काठमान्डू मा ख्याक ले पनि सताउछ , सेतो ख्याक ले धन धान्य दिने र कालो ख्याक ले बिरामी बनाउने आदि आदि |

    धरहराको टुप्पामा गजूर मा लेखिए अनुसार यिनै पुराना काला काला ख्याक हरु ४ दल का नेताहुने लेखिएको छ , बिस्वास न लागे चढेर हेर्न अनुरोध छ |

    Reply
    1. Vijay says:
      August 6, 2013 at 10:24 am

      अहिलेका हरेक ‘दल्ले’ टाउकेहरु मरेभने चाही महामुर्कट्टा बन्ने कुरामा ३ करोड नेपाली विश्वास गर्छन !

      Reply
  11. Sunil, London says:
    August 6, 2013 at 12:57 am

    म सानै छदा, २०२९ साल तिरको कुरा हो , पाको नयूरोड़ (जसलाई तिनताका पुरानो भन्सार पनि भन्ने गरिन्थ्यो) मा यो पर्व धुमधाम का साथ मनाइने गरिन्थ्यो ! साना र मसिना बाँस जस्तो लट्ठी जसलाई “नर्कट” भनिन्छ, लाई ठाडो पारेर तेस्मा पुतलीहरु झुन्ड्याएको सम्झना छ ! दिन भरि बाटो रोकेर बटुवा हरु संग पैसा उठाउने गरिन्थ्यो र साँझ पख एक जना मान्छेलाई जिउमा र अनुहार मा रंग हरु दलेर घिसार्दै नारा लगाइन्थ्यो “ओम शान्ति जय नेपाल आजूजे हा” , साथै पाको टोल भरि कम से कम १५ वटा जति फलाम को औठी को पसल राख्ने गरिन्थ्यो हामी ५ पैसामा औठी किनेर लगाउथियौ , हालसम्म पनि त्यो परम्परा चल्दै आएको देख्दा खुसि लाग्यो !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme