Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बाहुनको थकाली भान्छाघर- कति इमान्दार व्यापारी !

Posted on August 4, 2013August 4, 2013 by Salokya

bahun
सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली। हरेक फूल (जाति) का आ-आफ्नै विशेषता छन्। थकाली मुस्ताङको थाकखोलामा गढ भएको एउटा जाति हो। यो जातिको खाना नेपाल भर प्रख्यात छ। थकाली खाना भनेपछि मान्छे यसै हुरुक्कै। यही प्रतिष्ठा कै कारण थकाली भान्सा घर खोल्ने क्रम देशभर बढ्दो छ। तर यो यो विशेषता भएको खानालाई मात्र थकाली भन्ने बारे कुनै व्यवस्था छैन। न थकाली खानाको कुनै पेटेन्ट दर्ता भएको छ। त्यसैले जो पायो त्यहीले थकाली भान्सा खोल्ने चलन बढेको छ। धन्न एक जना व्यापारीले भने इमान्दार भएर बाहुनको थकाली भान्सा घर भनेर लेखेका रहेछन्। सबै यत्तिकै इमान्दार भइदिए त ! अरुले त्यसो गर्दैनन्। थकालीको थोपा विशेषता नभएको खानालाई पनि थकाली खाना भन्दै बेच्नु त ठग्नु नै हैन र।

यही विषयमा केही अघि दीपक भट्टराईले कलियुगका कुरामा एउटा ब्लग लेखेका थिए-

थकाली भान्साघरमा खोई त थकाली ?

काठमाडौं विश्वविद्यालय धुलिखेलमा साझा सवाल रेकर्डिङ सकेपछि खाना खाने कुरा भयो। खाना त खाने तर कहाँ खाने भन्नेमा साथीहरुबीच छलफल हुँदा धेरैले ‘थकाली’ कहाँ गएर भात खाने कुरा गरे।

थकालीहरु खाना मिठो बनाउन निकै चर्चित छन्। थकालीकहाँ गोलभेंडामा टिमुर हालेको अचारको स्वाद कतिपयको जिब्रोमा गडेको हुन्छ। थकाली भान्साघरमा जिम्मुले झानेको दाल र गुन्द्रुकको अचार पनि पाइन्छ। अझ जान्नेहरुले त टिमुरको छोपको अचार र घिउ पनि माग्छन्। थकालीहरुले जहिले पनि दाल भात तातो बनाएर दिने गर्छन् र सरसफाइमा पनि उनीहरुको ‘होटल’ अरुको भन्दा राम्रै हुन्छ।

थकालीकोमा भात खाने भनेपछि बनेपा बजार आइयो। बनेपा बजारमा थकाली भान्छा घर लेखेको ब्यानर भएको एउटा होटलमा गइयो। तर खाना अर्डर गरेर एकछिन त्यहाँ बस्दै गर्दा हामीसँगै कार्यक्रममा गएका चिरन्जीवी नेपालले सफाइमा शंका व्यक्त गरे। उनले सोधिपनि हाले, ‘यो नाम मात्रको थकाली हो कि काम पनि थकाली हो?’

होटलमा पैसा बुझ्ने साहुदेखि काम गर्नेहरु कोही पनि थकाली जस्तो देखिएका थिएनन्। नेपालको जवाफ होटलका कर्मचारी कसैले दिएन। तर हामी नजिकैको टेबलमा खाना कुरिरहेका एकजनाले भने, ‘यो नाम मात्रको थकाली हो।’

त्यसपछि त्यहाँ खाने मन भएन। लौ अर्को थकाली खोजौं भन्दै बाहिर निस्केको एक जना स्थानीयले सुनाए, ‘यो त बनेपाका डनहरुले चलाएको पो हो कहाँको थकाली हुनु। नाम मात्र थकाली भनेर ठगेका हुन्।’ ए डनहरुले पनि थकालीको नाममा चलाएका रहेछन् भन्दै हामी त्यहाँबाट हिड्यौं। वास्तविकता चाहिँ के हो कुन्नि?

काठमाडौं नै गएर कुनै थकालीकोमा खाना खाऔंला भनेर बाटामा थकालीको विषयमा चर्चा गर्दै आइयो। थकालीको नाममा भात खुवाउने होटल मध्ये कतिपयमा थकाली नहुने गरेको चर्चा सुनियो। मलाई पनि एक महिना अगाडि चितवन जाँदाको सम्झना भयो। पृथ्वीराजमार्गमा थकाली भान्छाघर भनेर लेखेको होटलमा गएको त चिनेको मानिस पो साहु देखिए। उनी नेवार हुन्। मैले किन थकालीको नाम राखेको भनेर किन सोधिरहन मन लागेन, उत्तर थाहै थियो। खानामा पनि कुनै थकाली स्वाद थिएन।

अरु साथीहरुले पनि कसैले बुटवल जाँदाको, कसैले विराटनगर जाँदाको अनुभव सुनाए। थकालकीको नाममा झुक्किएका अरु पनि रहेछन्। काठमाडौं आएपछि बानेश्वरमा थकाली रेष्टुराँमा खाना खान छिरियो। तर खानाको परिस्थित हेर्दा त्यो पनि थकाली होइन रहेछ जस्तो लाग्यो। बुझ्दै गर्दा थाहा लाग्यो होटल साहु त थकाली नै रहेछन् तर तीन वर्षदेखि जापानमा बस्दै आएका। अहिले बाहुन होटल म्यानेजरले थकालीको नाममा चलाइरहेका रहेछन्। थकालीको नामोनिसान कोही रहेनछ।

हुन त थकाली भान्साघर अरुले खोल्नै नपाउने भन्ने केही छैन होला तर पनि थकाली नाममा खोलिसकेपछि सफाईको गुणस्तर र खानाको मिठासमा पनि थकाली स्वाद त आउनु पर्‍यो नि हैन र ?

25 thoughts on “बाहुनको थकाली भान्छाघर- कति इमान्दार व्यापारी !”

  1. dhan says:
    August 5, 2013 at 4:43 pm

    अब यो ब्लग पढ्नेहरु रबि भवन तिर जादा यो बहुनको थकाली भान्सामा कसो नापसला त हौ? मा आफै भएनी पस्ने थिएँ | अहिले चै अलि टाढा छु र हो | तर मलाई चै यो नाम राख्नुमा अलि युनिक हुने जस्तो लागेर राखे जस्तो लग्यो | इमान्दारिता चै देखियो नै बहुनको भएसी | धन्दा चलाउन यो जमानामा कहाँ सजिलो छ र हजुर !

    Reply
  2. vim limbu says:
    August 5, 2013 at 9:14 am

    जे होस बाहुन ले आफ्नो इमान्दारिता चाही देखाएको नै हो ।यस्तै इमान्दारिता अन्य छेत्रमा नि भए राम्रो हुने भन्ने हामी तमाम नागरिक को चासोको बिसय हो ।
    जदौ

    Reply
    1. kedar says:
      August 5, 2013 at 12:29 pm

      थकाली भंसा घर ब्रान्ड भएको प्रमाण हो यो.

      Reply
  3. शशांक लामा says:
    August 5, 2013 at 7:55 am

    थकाली खाना त अथकालीले पनि पस्केला, तर थकाली आत्मियता,मुस्कान,फरासिलोपना, न्यानोपन जो सुकैले पस्कन सक्दैन|

    Reply
  4. सन्तोष लामिछाने, म्याडिसन, विस्कनसिन says:
    August 5, 2013 at 5:04 am

    थकाली cuisine लाइ मन पराउने बाहुन परेछन क्यारे ..! जे होस् राम्रो लग्यो नाम चाहिं |

    Reply
  5. बासु says:
    August 5, 2013 at 2:17 am

    कालीले चलाए पनि, कालाले चलाए पनि, सालाले चलाए पनि, सालीले चलाए पनि रेस्टुराँ चाहिं ‘थकाली’ नै राख्नु पर्ने रहर भएको यी कस्ता व्यवशायी हुन् मलाई पनि बुझ्न गाह्रो पर्यो | सिनामंगल चोकबाट पुरानो बानेश्वर आउने हो भने थकाली रेस्टुराँका नाममा घरै पिच्छे लहरै देखिन्छन | यसले एकले अर्काको नक्कल (नाम) गर्ने प्रवृत्ति झल्काउँछ | यस्तो प्रबृत्ति स्कूल, कलेज, बैंक आदि जस्ता क्षेत्रमा पनि देखिन्छ | कसैले थकाली भनेर शुरु गर्यो, उसले नाफा कमाएको देख्यो, अनि सबै त्यसैको पछि गुटुटुटु कुद्यो | भएको यै हो |

    Reply
  6. Byas says:
    August 4, 2013 at 11:01 pm

    टुबोर्ग बाहुनको भान्छाघर तथा भट्टी !! लेखेको भए अझ राम्रो हुन्थो, आखिरमा बियेर त हुञ्छ होला नि टुबोर्गले स्पन्सर गरे पछि .

    Reply
  7. sajan says:
    August 4, 2013 at 10:26 pm

    मलाई त येस्मा खास अच्चम्म लागेन किनकि थाक खोला बाट आएर नेवार होस् वा बाहुन ले जसले रेस्टुराँ खोलेनी उसले उसको ठाउँको नाम राख्दा के फरक पर्यो त.? उसले हिराचन, सेरचन, गौचन, तुलाचन रेस्टुरा लेख्या भे पो त फरक पर्थ्यो होइन र ? थकाली भन्या थाक खोला बाट अको जो पनि हुन सक्छ नि होइन र? फेरि काठमाडौँ बाट अमेरिका गाको तामांग दाइले अमेरिका मा काठमाडौँ kitchen अनि झापा बाट गाको श्रेष्ठ भाइले लण्डन मा गोरखाली रेस्टुरा त मजाले खोलि रछन भन्या सुनिन आछ. फेरि नेपाल मा कहिले पानि नताता मानिस अमेरिका, जापान लण्डन मा पुगेर main chef हुन सक्छन भने . थाक खोला को बाहुन ले रेस्टुरा खोले मा के फरक पर्यो त? हो सफाई मा चाहिं बाजेले आफ्नो ठाउँको इज्जत् राख्नु पर्ने थ्यो. कि कसो?

    Reply
    1. sandhya says:
      August 5, 2013 at 1:27 pm

      साजन जी, थाकखोला भन्ने ठाउँ मुस्तांग जिल्लामा पर्छ,अनि त्यो ठाउँमा थकालीहरु ( तुलाचन,गौचन,सेरचन,हिराचन पन्नाचन आदि ) बाहेक अरु कुन जातिहरु बस्छन र ? लेते कालोपानी, टुकुचे मार्फा छैरो जोमसोम ठिनी तिर त थकालीहरु मात्रै छन् त ! बाहुन छेत्रीहरु त जागिरेहरु चाही छन्

      Reply
      1. kabin says:
        August 7, 2013 at 10:32 am

        सन्धया जी , थकाली भन्या थाक खोला बाट अको जो पनि हुन सक्छ …बाहुन छेत्री नभएपनि थकाली हरु भनेको लाचन,गौचन,सेरचन,हिराचन पन्नाचन मात्र होइनन किनकि थाक खोला मा अरु जन जाती हरु पनि छन् ,थाकखोला मा बस्ने परियार, बिशोव्कर्मा ,मगर,गुरुङ लाई तपाई के भन्नु हुन्छ त ..को हुन् उनीहरु जो थाक खोला मा बस्छन जुगौ देखि …उत्तर को अपेछा गर्दछु ….

        Reply
  8. Basant says:
    August 4, 2013 at 9:33 pm

    नाम जे राखे पनि ठग्नै बसेका हुन् नत्र अरुको नाम चोरेर किन ब्यापार गर्नु पर्थ्यो र ? गुनिस्तारिय समान बेच्नुस “बाहुनको भान्साघर” लेखे पनि मज्जा ले चल्छ..

    Reply
  9. कमल शर्मा यु ए इ says:
    August 4, 2013 at 9:30 pm

    मलाई त खुशी पो लाग्यो कमसेकम नेपालमा एक जना त सत्य बोलेर व्यावसाय गर्ने मान्छे रहेछन|

    Reply
  10. बिनोद तिमिल्सिना says:
    August 4, 2013 at 9:24 pm

    खाना चै ईमान्दारिताका साथ खुवाएकि खुवाएनन्,कि बाख्राको मासुलाई खसि,बेलुकाको दाल भात र अचारलाई भर्खर बनाएको भनेर खान दिए!
    यो साईन बोर्ड त हाम्रा नेताज्युहरुको भाषण जस्तो नि हुन सक्छ।

    Reply
  11. bibek dhakal says:
    August 4, 2013 at 9:14 pm

    जे होस् सित्तैमा बिज्ञापन भयो एउटा रेस्टुराँ को 😀

    Reply
  12. Sara says:
    August 4, 2013 at 8:05 pm

    लेख्नु मा नि केहि स्वार्थ छ तेहिभयेर लेख्या नि! बाहुन भनेसी बाहुनहरु जो थकाली खान खान चाहन्छन तर थकाली ले पकाको नभई बाहुनले तिनीहरुलाई होला नि!

    Reply
  13. Suman sangroula says:
    August 4, 2013 at 6:27 pm

    मलेखु को माछा, त्रिसुलिको माछा, जनकपुरको माछा,बाजेको सेकुवा, सप्तरीको पेडा,लहानको आँप,सबै ब्रान्ड चोरि गरेर फाँको मार्न चलैयेका ब्यबसाय हुन्

    Reply
    1. Siddhartha says:
      August 4, 2013 at 8:47 pm

      एस्तो रे कुरा चाही ! मलेखु को मछा जनकपुर बाट आउच रे
      अनि जनकपुर को मछा चाही इंडिया बाट !
      लास्ट मा इंडिया को मछा खायो अनि मलेखु को भनि चित्त बुझायो

      Reply
  14. Rajendra Adhikari says:
    August 4, 2013 at 6:22 pm

    यो बाहुनले पनि ईमान्दार हुनलाई यस्तो गरेको जस्तो लाग्दैन । चोखो नितो खोज्ने ‘तल्लो जात सातले’ पकाको नखाने बुढा बुढी बाहुनहरूलाई आकर्षण गर्ने जुक्ति जस्तो लाग्छ मलाई त । नयाँ पुस्ताका बाहुनहरू ले जात पातलाई नमाने पनि पुरानो पुस्तामा रूढीवादी बाहुनहरू प्रशष्तै छन् ।

    Reply
    1. बिनोद तिमिल्सिना says:
      August 4, 2013 at 9:16 pm

      राजेन्द्रजी चै पुरानो पुस्ताको नयाँ बाहुन पर्नु भएछ।

      Reply
  15. द्रोण says:
    August 4, 2013 at 5:50 pm

    एउटा लाउरे जापान घुमेर आयो , टोल मा ”आकासाका रेस्टुरेन्ट खोल्यो ‘
    बासि पाउरोटी , बासि चना ,झिंगा भन्केको आलु बेच्यो |त्यति चलेन , किनकि खाना को गुणस्तर थिएँन उसलाई के लाग्यो|’केहि दिन पछि ”हलिवुड रेस्टुरेन्ट ”
    नाउ मा चेन्ज गर्यो |तर खाना उही , फोहोर उही |

    तेस्तै राजधानी मा खुलेका क्याम्ब्रिज कलेज , हावार्ड स्कुल र त्यहा पढाउने
    जेनी उपाध्याय , मेन्डल महर्जन ,माइकल अर्याल , आइन्स्टाइन श्रेस्ठ , सोभियत गुरुङ , माउत्सेतुङ्ग मगर , गान्धी मिश्र ,सिताराम खतिवडा ( नेपालि टिचर ) हरुले कत्तिको गुण स्तर मा ध्यान दिएको छन् कुनी ?

    Reply
  16. chatur rai says:
    August 4, 2013 at 4:04 pm

    थकाली होटल तथा भान्साघरमा थकाली खान नै पाईयो भने, अझ राम्रो तर अरु परिकार पस्कन निमिल्ने चहि होईन | होटल भन्दा मलाई पूर्व पशिमको लामो यात्रामा दुई सय रुपैयाँ भन्दा माथिको पहिलो कुपन लिएर बालुवा,माटो मिसीएको चिसो खान र अमिलो दालको याद आयो | ड्राइभर र अरु स्टाफले चही बिना पैसा छुट्टै कोठामा मिठो र ताजा खान पाईने सायद हाम्रो देशमा मात्र होला यो चलन खानामा मिठो भन्दा पनि सफाईमा ध्यान दिंदा राम्रो ,हुन्छ |

    Reply
  17. Aavash says:
    August 4, 2013 at 3:52 pm

    तपाइले भनेको सोह्रै आना ठिक हो, आजकाल थकाली भान्साघरको नाममा ग्राहकहरुलाई ठग्ने काम भै रहेको छ, म पनि ठगेको छु |

    Reply
  18. Govind says:
    August 4, 2013 at 3:37 pm

    ठिकै हो! राम्रो संग खोल्न पाउनु पर्छ तर नाम चै थकाली कामचाई भकाली भयो भने बर्बाद हुन्छ .

    Reply
  19. Tenzing Gaba says:
    August 4, 2013 at 3:17 pm

    “बाहुनको थकाली भान्छाघर” मात्र होइन राम्ररी हेर्नुस त त्यहा त
    ” टुबोर्ग बाहुनको थकाली भान्छाघर” पो लेख्या छ त् /
    त्येही बोर्डमा भएको झन् ठुल-ठुलो अक्ष्यर चाहिँ नपढदिनु ट भएन नि /
    —————————————-
    “बिशुद्द साकाहारी बन्धुको लागि राँगा र कालो सुंगुरको परिकार पाइन्छ ”
    भनेर त् लेख्ने बिर्सेछन् “टुबोर्गबाजे” ले /
    —————————————
    उहिले उहिले साइनबोर्ड हेर्दा “सुचना” प्राप्त हुन्थ्यो अब “मनोरंजन” पनि पाइन् थालेछ …….जदौ !!!

    Reply
  20. पारंगत राई says:
    August 4, 2013 at 3:03 pm

    यही हालत धराने कालो बंगुरको पनि छ। धरानमा नै बंगुर बाहिरबाट ल्याउने गरिन्छ। जति धराने कालो बंगुर भनेर काठमाडौँमा पाइन्छ, ती धेरै जसो मोरङ, झापा, उदयपुरतिरबाट आउने गर्छ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme