Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मैत्री दिवसको शुभकामना ! पत्र मित्रको सम्झना

Posted on August 4, 2013August 3, 2013 by Salokya

दिवसहरुको भीडमा आज एउटा दिवस छ- अन्तर्राष्ट्रिय मित्रता दिवस अर्थात् फ्रेन्डसिप डे। अगस्त महिनाको पहिलो आइतबार मनाइने यो दिवसमा कार्ड बाँडिन्छ, फ्रेन्डसिप ब्यान्ड साटासाट गरिन्छ अनि आजभोलि त अनलाइन सन्देश लेखिन्छ। तर म सम्झँदैछु पुरानो एउटा मित्रताको माध्यम जतिबेला यस्तो फ्रेन्डसिप डेको खासै चलन थिएन।

ट्विटर र फेसबुकमा रम्ने पुस्तालाई च्याट त पुरानो लागिसक्यो। कम्प्युटरमा इमेल बक्सको सेन्ट बटन थिच्न बानी लागेकालाई टिकट टाँसेर चिट्ठी पठाउने कुरा त एकादेशको कुरा जस्तो लागिसक्यो। तर ती दिन गज्जबका थिए। यो छोटो र तुरुन्त माध्यमभन्दा धेरै भावना जोडिएको र गहिराइ हुन्थ्यो पत्रमा पोखिने भावनामा। व्यवहारिक रुपमा मैले अनुभव गरेको छु यो कुरा।

अहिले प्रविधिले छलाङ मारिसक्यो। यसो सम्झिएर हेर्छु दुई दशक भइसकेछ त। स्कूल पढ्दै गर्दा त्यतिखेर फेसनमा रहेको पत्रमित्रतासँग जोडिन पुगेको थिएँ। उतिखेरको चलेको पत्रिका युवामञ्चमा फोटो र ठेगाना छापिएपछि पत्रहरुको ओइरो नै लागेको थियो। मजा आउँथ्यो प्रत्येक खामबन्दी पत्रलाई च्यात्दै कागजमा हातले लेखिएका भावनाहरु पढ्न। अन्तर्राष्ट्रिय पत्रमित्रता गर्न पाउने नाममा खै कुन चाहिँ पो हो एउटा क्लबलाई उतिबेला बाबुआमाको आँखा छली छली कति सय रुपैयाँ पो हो खाममा हाली पठाएको थिएँ। अहिलेको स्पाम मेलहरुले जस्तै ठगे नि मोराहरुले मलाई। केको छापिन्थ्यो मेरो नाम अन्तर्राष्ट्रिय पत्रमित्रताको पत्रिकामा। तैपनि एक दुई जना विदेशी मित्रहरुसित केही चरण पत्राचार भएको थियो, जुन खासै स्मरणीय भने रहेन।

युवामञ्चमा छापिएको नाम र ठेगानाबाटै मैले केही अविस्मरणीय साथीहरु पाएँ। समयक्रमसँगै केही बिलाए, केही भने सँधैका लागि सम्झनामा रहने भए। केहीसँग भने अझै राम्रो पारिवारिक स्तरको सम्बन्ध छ। तर उसित अहिले पत्राचार हुँदैन, एसएमएस, इमेल वा मोबाइलमा मात्र कुरा हुन्छ।

अहिले साझा सवालमा काम गर्ने कलेज पढ्दाताकाका साथी दीपक भट्टराईसित आरआरमा पत्रकारिता पढ्दाताका ऊ गाउँ गएको बेला पत्राचार हुन्थ्यो भन्ने सम्झँदा अनौठो लाग्छ। अहिलेको फोन र मोबाइल टेक्स्टभन्दा कति आत्मीय हुन्थे त्यसमा रहेका भावना। त्यसैले होला, उसका केही पत्र अझै मसित सुरक्षित छन्।

अनि सुरक्षित छन् पत्रमित्रताका क्रममा मित्रताको सम्बन्ध गाँसिएका दुई अविस्मरणीय मित्रका पत्रहरु। कालिम्पोङकी अनुपा राई र पोखराका विक्रम श्रेष्ठ। दुवैसित एसएलसीपछि पत्राचारको चरण सुरु भएको थियो। दुवैसँग आत्मीय सम्बन्ध गाँसिएको थियो।

पोखराका विक्रम अहिले स्याङ्जामा कार्यरत छन्। साथी हुँदा पश्चिमाञ्चल इञ्जिनियरिङ कलेज पढ्ने ऊ अहिले इञ्जिनियर भइसक्यो। उहीबाटै चिनेका त्यतिखेरका उसका सहपाठीहरु ईश्वर अमेरिकामा, सन्देश क्यानाडामा छन्। तर उसले नेपाल छाडेको छैन। छाडेको भए यति आत्मीय सम्बन्ध हुँदैन थियो कि।

पोखरा मेरो दोस्रो घर उसैका कारण भएको हो। महिनौँ बस्थेँ म उसको घरमा। उसको परिवारले पनि मलाई साह्रै माया गर्ने। आफ्नै परिवार जस्तो, एक किसिमको पारिवारिक नाता। दिदीहरुले मलाई चिनाउँदा कसरी साथी भएको भनी उहाँहरुका आफन्तले सोध्दा पत्रमित्रताबाट भन्न हिच्किचाएको सम्झना मलाई अझै छ।

पहिलो पटक मोटरसाइकलबाट पोखरा-बाग्लुङ जान लागेका बेला एक्सिडेन्ट नभएको भए ऊसित भेट पनि हुन्नथियो होला। घाइते अवस्था उसलाई भेटेपछि गाँसिएको नाता दीगो बन्यो। मलाई याद छ, ऊसित पहिलो पटक भेटेर केही दिन बसेर छुट्टिँदा मेरो आँखाबाट आँसु रोकिएको थिएन। कस्तो फिल्मी, तर त्यो पल सम्झियो भने अझै रुन आउँछ। न हामी सँधैका लागि छुट्टिएका थियौँ, न पछि कहिले भेट नहुने थियो, तर पनि छुट्टिनु पर्दा उनी र म दुवैको आँखाबाट आँसु चुहिएको थियो।

पछिका वर्षहरुमा मैले साथी हुनुको सबै फाइदा उठाएँ उसबाट। कपाल काटिदिन होस् कि नुहाउनलाई पानी तताइदिन, कुनै कुरामा ठुस्कन होस् कि उसको कुनै खुसीमा रम्न- हामी सँधै साथै रह्यौँ। नयाँ वर्षको दिन फेवातालमा पौडी खेल्न नआउने मलाई डुङ्गाको चेन समाएर बीच तालमा डुबाउन लगाएको होस् कि दर्केर परेको झरीमा रिसाएर मासबारबाट महेन्द्रपुलतिर राति हिँडेको होस्, सम्झना कहिले नमेटिने बनेको छ। अहिले औँला भाँचेर कति वर्ष भयो भनेर गन्न आवश्यकै परेको छैन मलाई।

कालिम्पोङकी महिला मित्रसित सम्पर्क नभएको भने वर्षौँ भइसक्यो। अन्तिम चरणका पत्रहरुमा ‘म मायामा परेँ’ जस्ता भावना पोखिएका थिए। शायद अहिले उनी केही सन्तानकी आमा होलिन्। एक रुपैयाँको टिकट टाँसेर पठाइने पत्र (त्यतिबेला नेपाल र भारतमा समान टिकट महसुल लाग्थ्यो) मा उनका फोटोहरु हेरेको मात्र हो, मैले उनलाई कहिले भेटेको पनि छैन तर आजभोलि प्रत्यक्ष भेट हुने साथीहरुभन्दा अझै नजिककी लाग्छिन् उनी।

म सम्झन्छु, १६-१६ पेजका पत्रहरु लेखेको त्यो पल। पत्र गह्रुँगो भएर टिकट बढी लाग्थ्यो। खै कसरी आउँथे कुन्नि कुराहरु। हाँसो ठट्टा, त्यतिबेलाको परिवेश, आफ्ना सबै कुराहरु, अरुका कुराहरु….के के हो के के। दोहोर्‍याइ तेहर्‍याइ मात्र हो र, दर्जनौँ पटक पढिन्थ्यो। पत्रभित्रै डुबिन्थ्यो। मेहनत गरी गरी पत्र लेखिन्थ्यो र साइकल चढेर सुन्धाराको गोश्वारा हुलाक कार्यालयमा गएर ‘पोस्ट’ गरिन्थ्यो। इमेल र एसएमएस मित्रतामा त्यो मजा कहिले भएन। पत्र लेखेर पोस्ट गरेपछि त्यसको जवाफ आउन झन्डै एक महिना कुर्नुपर्थ्यो, एक महिनाभन्दा अलि बढी समय लियो भने क्या रिस उठ्थ्यो। आजभोलिकाहरुले मिस कल गरेर रिस पोखे जस्तो त्यतिबेला पत्रै लेखेर रिसाइन्थ्यो, घुर्काइन्थ्यो। अहिलेको इन्स्ट्यान्ट, तुरुन्त मित्रतामा त्यो तड्पाइको मजा नै छैन।

प्रेम ? प्रेम भएको हो र ? खै थाहा छैन। हैन होला भन्छु म त। तर अझै उनको सम्झना आउँछ मलाई। कहिले नभेटिएकी र अहिले सम्पर्कमा समेत नरहेकी साथीको सम्झना किन बारम्बार आउँछ, मलाई थाहा छैन- साँचो मित्रता यही हो कि शायद। उनीसित एक पटक भेट्न पाए हुन्थ्यो भन्ने लाग्छ सँधै। तर कहाँ भेटिएला……….!!! (पहिलो पटक प्रकाशित मितिः Aug 7, 2011)

[माइसंसार पढ्ने सबै मित्रहरुलाई मैत्री दिवसको शुभकामना। तपाईँहरुसित पनि यस्तै केही अनुभव भए तल कमेन्टमा बाँड्नुस् है ! ]

सबै साथी होउन्, वैरभाव कसैमा नआओस्। शत्रु कोही नबनोस्। सबै मित्र बनून्। साथी दिवसको अवसरमा माइसंसारका सबै साथीहरुलाई यही शुभकामना।

यो एउटा भिडियो भने मैले कलेजका साथीहरुलाई सम्झेर बनाएको थिएँ-

8 thoughts on “मैत्री दिवसको शुभकामना ! पत्र मित्रको सम्झना”

  1. jitu says:
    August 5, 2013 at 4:45 am

    मैत्री दिवसको अवसरमा लेख लेखेर सम्झाई दिनुभयकोमा सालोक्य जीलाई धेरै धन्यवाद. १० बर्ष अघि ईलामका sky नबिन संग पत्र मित्रता भयको थियो. पछि काम को शिलशिलामा बिदेशीयपछि सम्पर्क हरायो. ईलाम बजारको कुनै साथीले sky नबिनलाई भेटेमा तानसेन, पाल्पाका मित्रले सम्झिरहेका छन् भनिदिनुहोला ल.

    Reply
  2. Nirajan says:
    August 4, 2013 at 5:09 pm

    पत्रमित्रहरुको सम्झनामा………………..
    आज मित्रता दिवस रहेछ । माइसंसारको ब्लग पढेर मलाई पनि पुराना साथीहरुको सम्झना आयो । त्यसमध्ये केही सम्झनाहरु मेरा पत्रमित्रहरुकै नाममा यहाँ समर्पण गर्न चाहन्छु ।
    अघिल्लो दशकको हाराहारीको आधी दशक (२०५९ देखि ०६४) सम्म मैले धेरै जनासँग निरन्तर पत्रमित्रता गरेँ । तपाईंलाई आश्चर्य यो लाग्ला कि मसँग यस बीचको समय अन्तरालमा तीन सय जति साथीहरुसँग चिठी आदानप्रदान भयो । पहिलो चिठी मलाई कसले पठायो ठयाक्कै सम्झना नभए पनि त्यो चिठी उदयपुर मैनामैनीका साथी गौरकुमारी राईको हो जस्तो मलाई लाग्छ । उहाँले मेरो नाम रेडियोतिर सुनेर चिठी पठाउनुभएको थियो । दोस्रो चिठी कसको आयो मलाई सम्झना भएन । तर यसरी चिठी आदानप्रदान सुरु भएपछि पत्र लेखेर मित्रता गाँस्ने रहर मलाई पनि भयो । साथीभाइका चिठी आउँदा आफ्नो पनि आवोस् भन्ने उमेरगत लहड हुँदो रहेछ त्यतिबेला । मैले पनि टाढाका केही साथीहरुको नाम कतै पाएर साथी बन्न आग्रह सहित दुईचारओटा चिठी लेखि पठाएँ ।
    म धनकुटा क्याम्पस पढ्न भनेर गाउँ भोजपुरबाट गएपछि पूर्वका पन्ध्र जिल्ला जतिका धेरै साथीहरुसँग चिनजान बढेर गयो । त्यति धेरै साथीहरु विभिन्न प्रतिभा र विचार भएका थिए । उनीहरुको लागि धनकुटा बसाई किन उपलब्धिमुलक हुन्थ्यो भने त्यहाँ कविता लेख्ने, गीत गाउने वा अभिनय क्षमता भएका प्रायः सबैले केही न केही आफ्नो प्रतिभा उजागर गर्ने मञ्च पाउँथे । राजनीतिमा रुचि भएकाहरु पनि भाषणको सुरुवात धनकुटा बहुमुखी क्याम्पसकै आँगनतिरबाट गर्थे । परन्तु मैले पनि कविता लेख्न सुरु गरेँ, जब क्याम्पसका भित्ताभरि भित्तेपत्रिका र तिनको पासमा झुण्डिएको ट्याम्कुलोजस्तो पत्रमञ्जुषा झुण्डिएको देखें । मैले त्यै पत्रमञ्जुषामा हाल्नको लागि भनेर कविता लेख्थेँ ।
    पाङ्चा साङकाफोपका निकै मिलनसार र मिजासी महेश राई म भन्दा अघिदेखि धनकुटामा अध्ययनरत थिए । उनी साहित्यका अनुरागी थिए । उनको सम्पर्क तेह्रथुमबाट दिलदुखी जन्तरेले निकाल्दै गरेको साहित्यिक लघुपत्रिका “सोल्टिनी” सँग थिएछ । उनले एक दिन त्यो पत्रिकाको वार्षिक ग्राहक बन्न अनुरोध गरे । मैले त्यो भन्दा अघि त्यस्तो पत्रिका देखेकै थिइनँ । कथा कविता देखेर मलाई त्यो पत्रिका पढुँपढुँ लाग्यो । महेशले मलाई दिएको त्यो पत्रिका दश चोटि भन्दा कम पढिनँ हुँला । केही समय पछि त्यै पत्रिकामा मेरो एउटा मुक्तक छापियो । त्यसपछि मेरो नाम ठेगाना देखेका साथीहरुले मलाई चिठी लेख्न थाले । मैले सबैको उत्तर लेखेर पठाउन थालेँ । धेरै साथीहरुले चिठीसँगै तस्वीर पठाउन अनुरोध गर्थे । उहाँहरु पनि चिठीमा आफ्नो फोटो हालेर पठाउनुहुन्थ्यो ।
    मेरा लागि त्यसरी आउने चिठीहरु मलाई धेरै महत्वका हुन्थे । मैले तिनलाई पाँचपटक जति पढ्थेँ । धनकुटाबाट भोजपुर आउजाउ गर्दा ती चिठीहरु बोकिरहेकै हुन्थें । यही बीचमा मेरो रेडियो नेपाल काठमाडौं र धनकुटा, कान्तिपुर एफएमका विभिन्न कार्यक्रममा धेरै कविता र गजलहरु प्रसारण भए । त्यति बेला पूर्वमा कुनै एफएम थिएनन् । कोशी एफएम सुरु हुँदै थियो । यही बीचमा मेरो धनकुटाबाटै प्रकाशित हुने तेश्रोआवाज पत्रिकामा पत्रमित्र स्तम्भमा नाम र ठेगाना सहित टिकुली जत्रो फोटो पनि छापिएको थियो । त्यसपछि धेरै ठाउँबाट धेरैजनाले चिठी पठाउन थाल्नुभयो । चिठीहरु पठाउनेमा ९५ प्रतिशत महिला साथीहरु हुनुहुन्थ्यो । उतिबेला केटाले केटीलाई केटीले केटालाई चिठी लेख्ने चलन थियो । धेरै चिठीहरु भएपछि मैले बोक्न छोडेँ, तर जतन गरेर राख्न थालेँ ।
    मैले धनकुटामा तेश्रोआवाज नामको साहित्यिक पत्रिका पछि आफैले सम्पादन र प्रकाशनको जिम्मेवारी पाएँ । पत्रिका आठ पानाको भए पनि स्तरीय बनाउन हामीेले कुनै कसर बाँकी राखेका थिएनौं । २ हजार पाठकहरु थिए । यो पत्रिकाको विस्तार यस्तो भयो कि देशका ५० जति जिल्ला र चौध अञ्चलकै अन्य लघुपत्रिका र साहित्यकारहरुसम्म हुलाकबाट पठाउँथ्यौँ । उहाँहरुले पनि आफ्ना पत्रिका र पुस्तकहरु हुलाकबाटै पठाउनुहुन्थ्यो । त्यहाँ देखिने नाउँ, ठाउँले मेचीदेखि महाकालीसम्मकै साथीहरुसँग दोहोरो पत्रसंवाद चल्न थाल्यो । तेश्रोआवाजको एक पानामा अक्सर म नै “पत्रिका पाएको जानकारी दिनुहोला र एउटा रचना पनि छाप्नको लागि पठाउनुहोला” भनेर लेखेर पठाउँथे । उताबाट पनि रचना मागेर पत्रिका पठाउने काम हुन्थ्यो । आजका कतिपय चर्चित साहित्यकारले तेश्रोआवाजमा आफ्ना रचना नियमित पठाउँथे । किनभने पत्रिका निक्कै स्तरीय छ भनि अरुले भन्थे ।
    म घरमा पुग्दा कहिलेकाही ३० भन्दा बढी चिठी आइरहेका हुन्थे । घरबाट धनकुटा आउँदा पनि पत्रिकाको मञ्जुषाबाट झिकेर साथी राजेशले उति नै संख्यामा मलाई चिठीहरु भेला पारि राखिदिन्थे । क्याम्पसको ठेगानामा आउने रजिष्टर्ड गरि पठाएका चिठीहरु क्याम्पसले प्रापकको नाम टाँसेर पत्र बुझ्न सूचना गर्दथ्यो । त्यहाँ मेरो नाम प्रायशः हुन्थ्यो । सशस्त्र द्वन्द्वको बेला कतिपय चिठीहरु सरकार र विद्रोही पक्षले निगरानी गर्थे । हुलाकबाटै कति चिठीहरु त चेकजाँच हुन्थे भन्ने सुनिन्थ्यो । चिठीहरु हराउने पनि गर्थे ।
    चिठी पठाएको पुग्न एक महिना र आउन अर्को महिना लाग्थ्यो । साथीले पत्रमा के लेखेर पठाउने होला भन्ने खुल्दुली हुन्थ्यो । चिठीमा कैलेकाहीँ नयाँ वर्षका आकर्षक शुभकामना कार्डहरु पनि हुन्थे । केही पत्रमित्र साथीहरुसँग धनकुटामा नै आक्कलझुक्कल भेटघाट हुन्थ्यो । त्यसरी भेट हुँदा सँगै फोटो खिच्ने गरिन्थ्यो ।
    विद्यार्थी संगठन विस्तार गर्ने क्रममा धनकुटाका धेरै गाउँमा म पुगेको थिएँ । ती गाउँहरु कति त मेरो पत्रमित्रका गाउँहरु पनि थिए । उतिबेला गाउँमा छिर्दा गाउँलेहरु सतर्क हुन्थे । माओवादी हो कि पुलिस हो भनेर कतिपय बोल्न पनि अप्ठेरो मान्थे । यस्तोमा पत्रमित्रहरुको घर वा गाउँ सोध्नु पनि निर्भय हुन्नथ्यो । यद्यपि एकदिन म धनकुटा आहालेकी एक जना मित्रको घर सोध्दा बाटो छेवैमा परेकोले भेटघाट गरिजाउँ भनेर पुगेको थिएँ । ती साथी यति लजाउनुभयो कि मलाई एकछिन टुक्रुक्क बस्नोस् समेत भन्न सक्नुभएन । बोलचाल नहुने भए पछि म आँगनबाटै उभिएको उभियै फर्र्र्किएँ ।
    ०६४ सालमा म सप्तकोशी एफएमको प्रत्यक्ष प्रसारणको लागि उदयपुरको मैनामैनी पुगेको थिएँ । त्यहाँ मेरो पहिलो पत्रमित्र गौरकुमारीजीलाई भेट्न मलाई मन लाग्यो । यद्यपि हाम्रो पत्र आदानप्रदान लामो समयदेखि टुटिसकेको थियो । म उहाँको घर पुगेँ । उहाँले निकै आश्चर्य र खुशी मान्नुभयो । उहाँको विवाह भएर दुई जना सन्तान पनि भैसकेको रहेछ । म वाछोन खाबात नखाने हुनाले केही अप्ठेरो हुन गयो । केहीबेर गफिएँ र फर्किएँ ।
    अहिले पत्रमित्रताको चलन छैन । त्यसको ठाउँमा फेसबुक छ । पहिलेका पत्रमित्र साथीहरुसँग पत्र आदाप्रदान गर्न छोडेको पनि धेरै वर्ष बितिसकेको छ । कतिजना त फेसबुकमा नै भेटिनुहुन्छ, र खुशी लाग्छ । उतिबेला चिठीमा लेखिएका कुराहरु निष्कपट र निस्वार्थ थिए । रातभर जाग्राम बसेर लेखिएका ती चिठीहरुमा भेटिने हृदय अहिले फेसबुकको हाइ हेल्लोसँग तुलना गर्नै सकिन्न । त्यस्तो जमाना अब कहिल्यै फर्किएर आउँदैन होला । साँच्चै इलामका चेतन आङथुपो र मोरङका प्रज्ना बान्तावा जस्ता साथीहरु अहिले कहाँ के गर्दै हुनुहुन्छ होला ? उदयपुरका टिकाराम वादीहाङसँग त भर्खरै काठमान्डुमा भेट भयो । मेरा सबै पत्रमित्रहरु आजको विशेष दिनमा सम्झना गर्न चाहन्छु र उहाँहरुको उन्नति प्रगतिको शुभकामना दिन चाहन्छु ।

    Reply
  3. Prannay Thapa says:
    August 4, 2013 at 2:53 pm

    धन्यवाद शालोक्यजी, साँच्चिकै पत्र मित्रताको आफ्नो ठूलो शान, मान र कला थियो त्यो जमानामा | कुरो सन् १९७७ को हो, म त्यतिबेला भुटानको बोर्डर फुन्चोलिंगमा एउटा कम्पनी Deki Corporation (P) Ltd मा टाइपिस्टको काम गर्थें | एउटा भारतीय मासिक अंग्रेजी पत्रिका New Era त्यतिबेला खूब हिट थियो र त्यसका पछिल्ला ४ पानाहरुमा Pen Friend लिस्ट हुन्थे | म जहिले पनि कुनै नेपाली केटी मित्र बनाउन भेटिन छिन कि भनेर हेने गर्थें | दार्जीलिंग, कलिम्पोंगतिरका धेरै नामहरु भेटिन्थे तर मैले खोजेको थिएँ नेपाल कै | भाग्यवश यौटी फेला परिन “पूनम थापा”; घर भद्रपुर | बालमन्दिरसित आबद्ध | नृत्य कलाकी धनी | जसो तसो एउटा पत्र पोस्ट गरि हेरें, १५ दिनमा जवाब आइ पुग्यो, सकारात्मक, उनि मेरी पत्र मित्र भयिन | न मैले तेतिबेला नेपाल देखेको थिएँ, न उनले भूटान | तर हाम्रो पत्र भने बीचको देश भारत भएर आउंथ्यो | उनको पत्र बिहारको पूर्णिया जिल्लाको गलगलिया भएर आउंथ्यो, मेरो कताबाट जान्थ्यो थाहा भएन, पोस्ट चाहिं म फुन्चोलिंगबाटै गर्थें | बिस्तारै बिस्तारै पत्राचार बढेर गयो र एक दिन उनलाई मैले कम्पनीको बिदेसमा छापेको ग्लोसी क्यालेन्डर पठाएँ | उनले उनको एउटा नेपाली वेशभूषामा सज्जियेकी, नित्र्यान्गना जस्ती सुन्दर फोटो पठाइन, जुन अहिले पनि मसित सुरक्षित छ | फोटोको पछाडी उनको ओंठको छाप रैछ, लिपिस्टिक लाएर मज्जाले चुमेको तस्बीर | त्यसपछि आइ लव यू शुरुभयो, एक दुइ पन्नाको पत्र हो र ? ४ नम्बरको Exercise Book हार्ड कभर भएको सिङ्गै भरेर एक अर्कालाई पठाउने गर्न थाल्यौं | उनले मलाई भेट्न भद्रपुर बोलायिन | कता हो कता हो भद्रपुर लाग्यो | अर्को वर्ष म भूटानको काम छोडेर सिक्किमको आर्मी अफिसमा क्लर्क काम गर्न थालें | मेरो पत्राचार जारी थियो ; सिक्किमको गान्तोकमा हाम्रो पन्जाबी कमान्डरले एकदिन चलो यार मेरे को नेपाल दिखाओ, मेमसाब खूब जिद कर रही है, बिदेशी सामान खरीद लेंगे, क्यामेरा, घडी, वगैरह….मलाई पनि भद्रपुर कहिले जाउँ भएको थियो तर उनको फोन थिएन, न मेरो, यतिछिटो कार्यक्रम बन्यो कि मैले उनलाई पत्र द्वारा सूचित गर्ने सकिन | जे होस्, हामी भद्रपुर पुग्यौं सिलिगुडी हुँदै; आर्मीको जीपले पानीट्यांकी काकरभिट्टासम्म पुर्याएर फर्कियो | पहिलो चोटी नेपाल पसेको जता ततै राजा रानीको तस्बीर र महावाणीको पोस्टरहरु देखेर खुशी लग्यो, फेरी साइनबोर्ड पनि नेपालीमा लेखेको देखेर आनन्द आयो | जेन तेन भद्रपुर पुग्दा साँझ पर्यो….बजार वरै संगम होटेल रैछ, त्यहीं वास बस्यौं | डिनर सकेपछि मैले होटेलमा काम गर्ने केटालाइ “पूनम थापा” लाइ चिन्छौ भनेर सोधें; किनकि उनको घर पनि होटेल नजिकै छ भनेकी थियिन; उसले त्यो नामले त चिनेन तर बाल मन्दिरको एकजना रिता दिदीलाइ चिन्छु उनको घर नजिकै छ, जाने ? भन्यो | म झटपट तयार भएँ; संयोगवश पूर्णिमाको रात थियो, चारैतिर उज्यालो, जाडोको याम (मंगसिर महिना) | करीब आठ बजेको हुँदो हो रातीको | केही बेरमा एउटा दुइ तल्ले काठको घर अगाडी को सानो मैदानमा पुग्यौं, केटो भित्र गएर रितासित कुरा गरेर उसलाई लिएर आयो | उनि आफ्नो सानो भाइलाई साथमा लिएर बाहिर आयिन | पूर्ण चन्द्रमाको उज्यालोमा उनको गोरो र सुन्दर अनुहार देखें, कता कता पहिले देखे जस्तो लाग्यो, तर मैले आफ्नो परिचय दिनु परेन, उनले मलाई देख्ने बित्तिकै भनिन, नेपालमा स्वागत छ प्रणय जी | तपाईं पूनम हो ? भनेर फेरी कन्फर्म गर्न खोजें | उनले “हो” भनिन, | मेरो अर्को नाम रीता पनि हो | कस्तो भाग्यमानी म | सामुन्ने देवी जस्ती सुन्दरी मेरी पत्र मित्र अगाडी उपस्थित थियिन | म हर्षले गद्गद् भएँ | सुस्तरी उनको हात समातें, उनले बिरोध गरिनन् तर भाइको आँखाबाट छलियिन | होटेलको केटो अगि नै गइ सकेको थियो | बिस्तारि उनको कानमा फुस्फुसायें – आइ लव यू मेरी पूनम | उनि लजायिन, पुलुक्क मलाई हेरिन, ठूला ठूला नयनले भन्दै थिए आइ लव यू प्रणय | त्यसपछि उनले भनिन तपाईं त फोटोमा भन्दा मोटो हुनुहुदोरैछ | मैले मेरो भद्रपुर यात्रा र संगम होटेलमा बसेको बारे भने | उनले भोलि बजारको मन्दिरमा १० बजी भेटौं भनिन | त्यसपछि हामी अलग भयौं किनकि उनलाई डरलागि रहेको थियो, बा-आमाली थाहा पाउलान भनेर | भोलिपल्ट १० बजे मैले पुरानो भद्रपुर बजारको मन्दिरमा रातो साडीमा सजिएर पूजाको थाली लिएर दर्शनकोलागि उभिएको देखें, उनि मलाई देखेर मुस्काइन तर उनको साथी उषा राइ र हीरा पराजुली पनि साथमा रहेकोले धेरै बेर मलाई हेरी रहन सकिनन्, तर पनि उनीहरुले अनुभव त गरे हाम्रो प्रेमको मौन अभिव्यक्ति | त्यतिबेलै हाम्रो कमान्डर र उनको पत्नीले मलाई लिएर अन्तै जानु लागे र म मजबूर भएँ उनलाई छोडेर जानु | त्यसपछि भेट भएन हाम्रो, तर जाने बेलामा मैले होटेलको त्यो केटालाई एउटा पत्र रिता लाइ दिनु भनेर दिएको थिएँ तर मोरोले लगेर भोलिपल्ट रीताको बाउलाई पो दिएछ | हामी त सिक्किम फर्क्यौं भोलि पल्टै तर पूनम मसित रिसले आगो भैछन, हाम्रो प्रेमको सुगन्ध अब उनको घरमा छरियेछ | बेस्सरी गाली खाइछन आमा र बाबाको | उनले यो नै मेरो अन्तिम पत्र हो भनेर ब्रेक लेटर लेखिछ्न | तर म उनको प्रेममा पागल सरी भएछु, र १ वर्ष पछि छुट्टीमा भद्रपुर गएर फेरी संगम होटेलमा नै बसें | उनलाई भेट्ने कोशिश गर्दा थाहा पाएँ उनको विवाह भैसकेछ; विराटनगरको केटा सित ….आफैले रोजेको केटा रे…उषा र हीरासित भेट भयो, पत्र मित्रताबाट शुरु भएको प्रेम कहानी पत्र बाटै अन्त भयो …..तर पूनम उर्फ रीता अझै पनि भद्रपुरमै छिन….करीब २७ वर्ष पछि मैले भद्रपुरको टेलिफोन बुकमा उनको नाम देखें र फोन लाएँ….सौभाग्यवश भेटें फोनमा, लामो कुरा भयो….केहि मेरो कहानी, केहि उनको…..अनि हामी दुवैको आ-आफ्नो राम कहानी, विवशताहरु साटासाट गर्यौं | उनि त अहिले नातिको हजुर आमा भैछन, म पनि विवाहित छोरा छोरीहरुको पिता |

    पत्र मित्रता दिवसको यो अवसरमा माइसंसारबाटै मेरो पत्र मित्र पूनमलाइ धेरै धेरै सम्झना सहित उनलाई र सबै पाथाखारुलाई शुभकामना अर्पण गर्दछु |

    Reply
    1. Prannay Thapa says:
      August 4, 2013 at 6:20 pm

      सरी है, अन्तिम लाइनमा “पाठकहरु” टाइप गरेको “पाथाखारु” भयेछ…टाइप त ठिकै गरेको हो, कन्भर्ट मिलेनछ |

      Reply
  4. मदनमणि says:
    August 4, 2013 at 1:39 pm

    कर्ण दूर्योधन, कृष्ण र सुदामा (अरु पनि होलान्) यस्ता धेरैका मित्रताका कथा सुनाएर हामीलाई हाम्रो संस्कारले नै मित्रता सिकाइरहेको छ। विश्ववन्धुत्व भन्ने ठूलो भावना सिकाएको छ। त्यसैले हामी यहाँ छौं।

    धन्यवाद उमेश, मेरो चैं फोटो सुरुमै देखिएछ। यो पोस्ट पढ्दा निक्कै मज्जा लाग्यो।

    दुखको कुरो कसैसँग पत्रमित्रता गर्ने अवसर जुटेन।

    Reply
  5. prem says:
    August 4, 2013 at 11:33 am

    सार्है पुरानो कुरा सम्झाइदिनु भयो यार उमेशजी ले पनि ! धेरै साथीहरु पत्र मित्र भए अहिले कहाँ छन् होला कुन्नि | पहिलो पत्र मित्र भने राजेन्द्र राउत हुनुहुन्थ्यो, ४५ साल तिरको कुरा होला | भेट त कहिले भएन तर पत्राचारको सम्झना भने बाकी नै छ | अचम्म लग्छ |

    Reply
  6. सार्थक says:
    August 4, 2013 at 10:17 am

    यो मैत्री दिवस र पत्र मित्रता सम्झिदा धेरै पुरानो तर साह्रै शालिन र बौद्धिक लण्डन निवासी पत्र मित्र कलाको सम्झना आउँछ । करिब २ वर्षको पत्र मित्रता पश्चात बिना कारण नै हाम्रो पत्र मित्रताको टुटेता पनि म उहाँलाई सधैं सम्झी रहेकोछु । त्यो बेलाको बिमोचन मासिकमा मेरो फोटो साहितको विवरण छापिए पछि सुरु भएको मित्रता मैले लगातार २-३ वटा पत्रहरु पठाउँदा पनि जवाफ न आए पछि सधैंको लागि बन्द भयो । त्यो बेला उहाँको पत्र मैले नपाउनु वा मेरो पत्र उहाँले नपाउनुमा हुलाक सेवाको बेइमानीले पो हो कि जस्तो पनि लाग्छ । शायद अझै पनि दराज वा पुरानो बाकसहरुमा कगजहरुको खात भित्र उहाँका केही पत्रहरु सुरक्षित छन् जस्तो लाग्छ तर नखोतलेको पनि धेरै भयो । म कला जी लगायत सम्पूर्ण मित्रहरुमा मैत्री दिवसको हार्दिक शुभकामना भन्न चाहन्छु ।

    Reply
  7. पुष्प says:
    August 4, 2013 at 10:00 am

    ‘नपाएसम्म के के, पाएपछि के न के’ भन्याजस्तो छ साथीको सम्बन्ध पनि । चिठी पाउनुको जुन मज्जा हुन्थ्यो, त्योभन्दा चिठी कुर्नुको हुन्थ्यो । एउटा प्रगाढ आत्मीयता हुन्थ्यो उबेला । तर अहिले, भर्खर बाटोमा भेटिएको साथी अनलाइनमा टुपुल्किन्छ । बोल्नु न के गर्नु ! अनलाइन देखिरहेको वर्षौं भइसक्दा पनि एकशब्द कुरा नभएको वर्षौं भइसक्छ । तरपनि अचम्म के भने वर्षौंपछि ती साथीहरूसँग प्रत्यक्ष भेट्दा पनि हिजै भेट्याझैं लाग्छ । कसैले (कसले हो याद भएन) यसैलाई असल साथीको संज्ञा दिएका छन् । ज्ञात अज्ञात सबै साथीहरूलाई साथीदिवसको शुभकामना !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme