-सुरेन्द्र कार्की-
बिगत केही हप्तादेखि नेपालका विभिन्न जिल्लाहरुमा बर्ड फ्लु रोग महामारीकै रूपमा फैलिन थालेपछि यो रोग अहिले चर्चाको शिखरमा छ। यस संगसंगै सर्बसाधारण मानिसहरुमा कतै यो रोग मानिसमै पो आइहाल्ने हो कि, कतै आफैलाई पो सरिहाल्ने हो कि भन्ने डर र चिन्ता उत्पन्न भएको हुनसक्छ। काठमाडौँ उपत्यकामा मात्रै २ सातामा २१ ठाउँमा यो रोग प्रमाणित भएपछि यस्तो चिन्ता लाग्नु अस्वाभाविक पनि होइन। यसैलाई ध्यानमा राख्दै सरकारले १ साताको लागि काठमाडौँ उपत्यकाभित्र पन्छी ओसारपसार र बिक्रिवितरणमा रोक लगाएको भनेर समाचार आएको छ। यसो गर्दा तत्कालको लागि पन्छी व्यवसायमा ठुलो आर्थिक नोक्सानी पुग्छ। तर रोग अझै फैलिन नदिनको लागि यो निकै नै महत्वपुर्ण कदम हो। रोग फैलिने मुख्य कारण नै पन्छीको ओसारपसारबाट हो। त्यसकारण जनस्वास्थ्यको नजरबाट त यो कदम सकारात्मक हो नै, दीर्घकालीन हिसाबबाट सोच्ने हो भने पन्छी ब्यबसायको लागि पनि यसले फाइदा नै पुर्याउछ । अबको महत्वपुर्ण प्रश्न भनेको सरकारले यो घोषणालाई कति कार्यान्वयन गर्न सक्छ र अनुगमन कति राम्रोसंग गर्छ भन्ने नै हो । प्रहरी र स्थानीय प्रसासनले गम्भीर रूपमा लिएन भने पशु सेवा कार्यालयहरुले मात्र चाहेर पनि यसलाई कार्यान्वयन गर्न सक्दैनन् । यसमा हामी उपभोक्ताहरु समेत चनाखो रहनुपर्दछ । हल्लाहरुको पछि लाग्नु अगाडि बर्ड फ्लुको बारेमा जानकार रहेर ढुक्क हुनु राम्रो हुन्छ ।
आखिर के हो त बर्ड फ्लु?
मुख्यगरी चराचुरुन्गीहरुमा देखिने रुघाखोकी जस्तै यौटा रोग हो । यो रोग इन्फ्लुएन्जा जातिको भाइरसको कारण लाग्दछ । यो रोग कम संक्रामक र उच्च संक्रामक गरि दुई प्रकारको हुन्छ । प्राय हामीले सुन्ने र चर्चा गर्ने (र अहिले काठमाडौँमा देखिएको) बर्ड फ्लु उच्च संक्रामक खालको हो ।
पन्छीमा मुख्य लक्षणहरू के देखिन्छन ?
एकैपटक ठुलो संख्यामा पन्छीहरू मर्ने
टाउको सुन्निने, सीऊर र लोती सुन्निने र निलो कालो (cyanotic) हुने
तर रानीखेत जस्ता रोगमा समेत यस्तै लक्षण देखिने हुदा बर्ड फ्लु यकिन भने प्रयोगशालामा मात्रै गरिन्छ ।
अझ थाहा पाउनुपर्ने कुरा के छ भने धेरैजसो अवस्थामा हाँसहरुमा भित्र रोग लागेको छ भने पनि लक्षण देखाऊदैन र स्वस्थ नै देखिन्छ । तर दिसामा भाइरस फालीरहन्छ । जसले गर्दा यदि कुखुरा त्यो दिसाको सम्पर्कमा आयो भने कुखुरालाई सर्छ र लक्षण देखिन्छ ।
मानिसमा यो रोग कसरी सर्छ ?
मानिसमा मुख्यगरी यो रोग संक्रमित जीउदॊ पन्छी, सुली संगको लसपसबाट सर्छ । मासु खाएर यो रोग सर्ने सम्भावना अत्यन्तै कम हुन्छ । खासमा यो रोग मान्छेमा सजिलै सर्दैन ।
त्यसो हो भने किन डराउने त ?
अहिले सम्म संसारभरी प्रमाणित रूपमा यो रोगको कारण जम्मा ३७७ जनाको मात्रै मृत्यु भएको छ । यति थोरै मानिस मरेको रोगले यति धेरै प्राथमिकता किन पायो होला भन्ने लाग्न सक्छ । यो रोगको महत्पूर्ण पक्ष भनेको रोग लागेको मध्ये उच्च मृत्युदर (करिब ६० प्रतिशत) हो । अनि अर्को कुरा मानिसमा लाग्ने रुघाखोकीको भाइरस र पन्छीको रुघाखोकीको भाइरस मिसिएर नया भाइरस बन्छ सक्छ र यस्तो भाइरस मानिस बाट मानिस सर्ने खालको बन्यो भने महामारीको रुप लिएर लाखौ मानिस मर्न सक्छ भन्ने बैज्ञानिकहरुको अनुमानको कारण बर्ड फ्लु यति चर्चित भएको हो । अझ बंगुरको रुघाखोकीको भाइरस समेत मिसियो भने त खतरनाक नया भाइरस बन्ने सम्भावना लाई नकार्न सकिदैन । यदि साच्चिकै त्यो स्थिति आयो भने नियन्त्रण गर्न निकै गारो हुने हुदा पन्छी कै लेवेलमा रोग नियन्त्रण गर्नुपर्छ भन्ने बिश्वब्यापी मान्यता छ । त्यहीकारणले रोग देखिएको क्षेत्रमा पन्छी स्वस्थ नै छ भने पनि मार्ने गरिएको हो ।
सबैभन्दा जोखिममा को हुन्छ त ?
कुखुरा खोरमा काम गर्ने किसान र श्रमिक
जिउदो पन्छी बजार (live bird market) मा पन्छी बेच्ने ब्यबसायीहरु
कुखुराको काटमार र बिक्रिबितरनमा संलग्न मानिसहरु
र अन्त्यमा सर्बसाधारण उपभोक्ताहरु (एकदमै न्यून सम्भावना)
यसबाट बच्न के गर्ने ?
नगरी नहुने मानिसले बाहेक अन्य मानिसले पन्छीहरु नचलाउने
बच्चाहरुलाई जिउदो पन्छीहरुसंग खेल्न नदिने
किसानहरुले पन्छीको खोरभित्र काम गरेर आएपछि व्यक्तिगत सरसफाईमा ध्यान दिने जस्तै साबुन पानी, खरानी पानीले हात खुट्टा धुने
पन्छीको खोरभित्र नसुत्ने र खोरभित्र काम गर्दा सफा मास्क, पन्जाको प्रयोग गर्ने
जिउदो पन्छी बेचबिखन गर्दा र मासु काट्ने मानिसले काम गर्दा सफा मास्क, पन्जाको प्रयोग गर्ने
कुखुरा काटे पछि उत्पन्न हुने भुत्लाहरुको ब्यबस्थापन राम्रोसंग गर्ने जस्तै जलाउने, खाडलमा गाड्ने
मरेका कुखुराहरु जथाभावी नफाल्ने
हांश, कुखुरा र बंगुर एकै ठाउमा नपाल्ने र सकभर सम्पर्क हुन नदिने
उपभोक्ताले बिस्वाशिलो र सफा मासु पसलबाट मात्र मासु किन्ने
उपभोक्ताले जिउदो कुखुराहरु घरमा लगेर काट्ने बानी हटाउने
धेरै संख्यामा पन्छीहरु मरेको देखेमा वा थाहा पाएमा तुरुन्तै नजिकको भेटनरीमा खबर गर्दिने
सरकारले चाही के गर्ने ?
सरकारको दुइवटा दायित्व छ । एक जनस्वास्थको सुरक्षा गर्ने र अर्को पन्छी ब्यबसयालाई बचाउने । पहिलो नम्बरमा पक्कै पनि जनस्वास्थको सुरक्षा हुनुपर्दछ । अहिले १ साताको लागि काठमाडौँ उपत्यकामा पन्छी ब्यबसायमा रोक लगाएको सन्दर्भमा अल्पकालीन र दीर्घकालीन दुवै हिसाबबाट सोच्नु महत्वपुर्ण हुन्छ ।
अहिले तत्काल के गर्ने ?
आफुले घोसणा गरेअनुसार १ साता पन्छी आवतजावत र बिक्रीवितरणमा लगाएको रोक कडाईका साथ पालना गराउने । उलंघन गरेको पाएमा साना ब्यबसायी मात्रै होइन ठुलै भए पनि कारबाही गर्ने आँट देखाउने
यस संगसंगै ३ वटै जिल्लामा व्यापक रूपमा रोग खोज्ने टोली (surveillance team) खटाएर ब्यबसायिक र ग्रामिण पन्छीहरुको नमुना संकलन गर्ने र तत्कालै जांच गर्ने र नतिजा समेत सार्बजनिक गर्ने । Positive फर्महरूलाई तत्काल नस्ट गर्ने
ब्यबसायिक फर्महरूले जैविक सुरक्षाको स्तर बडाउने
बिगतको अनुभव हेर्ने हो भने काठमाडौँका ठुला कोल्ड स्टोरेजहरुले यस्तो बेलामा अत्यन्तै सस्तो मुल्यमा साना किसानहरुबाट कुखुरा उठाई पछि अवस्था अलिक सामान्य भएपछि महंगोमा बिक्रि गर्छन् । मासु निरीक्षकको व्यवस्था नभएको हाम्रो देशमा यसो गर्दा रोग लागेका कुखुरा समेत त्यसमा नपर्ला भन्न सकिन्न । त्यसतर्फ पनि चनाखो रहनु पर्छ सरकार र त्यहाबाट पनि नमुनाहरु लगेर जाच्नुपर्छ ।
जनचेतनाको लागि सुचनाहरु प्रसारण गर्ने । यसो गर्दा अनावस्यक त्रास उत्पन्न नहुने किसिमले सुचनाहरु बनाउनुपर्छ ।
सरकारले चालेका नियन्त्रणका कदमहरुबारे जनतालाई सहि सूचनाहरु दिई आस्वस्त तुल्याउने ।
दीर्घकालीन रूपमा के गर्ने ?
ब्यबसायिक पन्छी पालनमा बिमाको व्यवस्था तत्काल गर्ने र कार्यन्वयन समेत गराउने
रोग नियन्त्रणमा लिने क्रममा मारिने पन्छीको क्षतिपुर्ती बजार मूल्य वरिपरि दिने जसले गर्दा किसानहरुलाई रोगको छिटो सूचना दिन प्रोत्साहन हुन्छ ( साना र ग्रामीण पन्छीमा यस्तो गर्ने, ठुला फर्ममा चाही बिमाले बेहोर्ने)
घना बस्ति वरिपरि ब्यबसायिक पन्छी फर्म खोल्न नदिने
सहर भित्र जताजतै जिउदो कुखुरा काट्ने अहिलेको परिपाटीमा सुधार गर्न जरुरी छ । निश्चित क्षेत्रमा मात्रै पन्छी मार्ने र तयारी कुखुरा मात्रै सफा तरिकाले चिसोमा राखेर बेच्ने व्यवस्था मिलाउनु पर्छ । यसो गर्दा साना butcher हरुको रोजीरोटीमा असर पर्नसक्छ । त्यसलाई सम्बोधन कसरि गर्ने भनेर योजना बनाउने ।
भेटनरीको सरकारी संरचनालाई अझ बलियो पार्ने र फिल्ड स्तरमा विस्तार गर्ने
पन्छी फर्महरुमा पालना गर्नुपर्ने जैविक सुरक्षा सम्बंदी नीति बनाउने र कार्यन्वयन गराउने
बर्ड फ्लु खोप (Vaccine) सम्बंदी नीतिको लागि technical level मा व्यापक छलफल गर्ने । अहिले सम्म १५ वटा देशले विभिन्न थरिका खोपको प्रयोग गरेका छन् तर कुनै कुनै देशमा त खोपकै कारण झन् धेरै रोग फैलिएको उदाहरण पनि छन् । नेपाल जस्तो technical capability मा अत्यन्तै कम्जोर मुलुकमा खोप घातक पनि साबित हुन सक्छ । तेही भएर निकै विचार पुर्याउनु पर्छ ।
(पशु चिकित्सकसमेत रहेका कार्की हाल Texas A&M University, Texas, USA मा अध्ययनरत छन्)
मलाई चित्त नबुझेको कुरा चै सरकार कृषिमा आबद्ध मानिसहरुको हित गर्ने कुरा गर्छ र कृषकको न्युनतम लागेको खर्च पनि छ्यातिपुर्ती दिन मान्दैन एसले गर्दा साना कृषक हरु मर्कामा परेका छन् . मेरो भनाइ के हो भने सरकारले तेस्ता कृषकको production cost को ८० प्रतिशत मात्र भए पनि कृषकलाई दियो भने यो रोग लागेको छ कि छैन भनेर जांच गर्न कृषकहरु जानेछन. येति गरेमा यो रोग छिटै नियन्त्रण हुन्छ. आफ्नो रगत पसिना बगाएर पालेको कुखुरा मार्दिने हो कि भनेर कृषक हरु डराएर बसेका छन्. धेरै faint भाका पनि छन्. सरकार ले एसको बारेमा पनि सोच्ने बेला आएको छ.
खुल्ला नाकाको असर राजनितिक हस्त्क्षप देखि भाईरस सम्म भारत बाट याहाँ पैसामा सबै बिक्न तयार छन कसैलाई कार्वाहि हुदैन आफै सत्रक रहौं है ।
Dear Dr Surendra,
Thank you very much for your article regarding “Bird Flu” which is very informative not only for general public but also for technical personnel and even for policy maker.
हामी नेपालीले मासु पकाउँदा चट्ट लाग्ने मसला हालेर बेस्सरी पाक्ने गरि (Boiling more than 212 degree Fahrenheit) पकाएर खाने हुँदा केहि हुदैन / बरु अहिले सस्तो भाको बेलामा थरि थरिको परिकार बनाएर झिरिप्प पार्दा केहि फरक पर्दैन /
~ Influenza virus is destroyed by heat of 167-212°F [75-100°C]. These are normal cooking temperatures.
सर्पको बिख, जनावरको रोग इत्यादि त बेस्सरी पकाएपछी खान मिल्छ भनिन्छ, त्यसैले मलाई लाग्छ, 0.1% chance को डरले करोडौको व्यवसाय नस्ट पार्नु, रोजगारी प्रबर्दन र अर्थतन्त्रको हिसाबले राम्रो होइन /
अरे मुर्ख, यो रोग खाएर मात्र सर्ने होइन, संक्रमित चरा बाट सिधै हावा बाट पनि सर्च, चाए त्यो जयून्दै होस् या मरेको /
मुर्खै रहेछु हइ म ! ल ठिकै छ / नखाउला त्यसो भए ! आखाँ खोल्दिनु भएकोमा धन्यबाद !! (लेख नै नपढी शीर्षक पढेकै भरमा कमेन्ट गर्नाले एस्तो हुदो रहेछ)
अलिकति गलत. किन कि, काचो मासु को झोल पकाउनु भन्दा अगाडी खालि हात को माध्यॆम वाट या चुहिएर अरु खाने कुरा फलफुल मा पर्न गएर नजानी कन खादा खेरि या घाउ चोट परेको ठाउ मा तेस्को bacteria सम्पर्क मा आएको खण्ड मा पनि यो रोग संक्रामक हुने धेरै चान्स हुन् सक्छ.
उपयोगी र जानकारी मुलक रहेछ लेख | त्यसको लागि धन्यवाद |
काठमाडौँमा एसको बिक्रीवितरण बन्द भयो भनिएको छ तर अझै पनि कुखुराको मासु बजारमा सजिलै उपलब्ध भैरहेको छ | एसको अनुगमन कसले गरिरहेको हो थाहा भएन |
समयमानै सरकार, कुखुरा ब्यबसायी र उपभोक्ता सबै पक्ष सचेत भएन भने अब मान्छेले कुखुरा होइन कि कुखुराले मान्छे खान्छ अब……..!
त्यसैले सबैजना सजक हुनुनै राम्रो!
सुरेन्द्रजीले यहाँ अति उपयोगी र जानकारीमूलक लेख राखेकोमा धन्यवाद । वर्ड फ्लू भन्ने रोग आएको भन्ने हल्ली खल्लीले कुखुराको मासुको नजरै गर्न आँट नआएको बेला यस्तो लेखले जानकारी हासिल गर्न र सर्तकता अपनाउनलाई सजिलो हुनेछ ।
निकै जान्कामुलक र सुचना प्रवाहक लेख छ ..धन्यबाद !!! हेरौ सरकार आफ्नो घोसना अनुसार कत्तिको क्रियाशील र सक्छ्यम रहन सफल हुन्छ ….
कसैले भनेका थिए यो हल्लै हल्लाको देश हो भनेर ..
यो फ्लुको हल्ला बडी हुनुमा केहि औसधि (भ्याक्सिन )ब्यापारी सक्रिय रहेको भन्ने कुरा पनि आएको छ .. सुनिए अनुसार फ्लुको भैरसले आफुलाई परिवर्तन गरि रहने हुनाले अहिले सम्म बर्ड फ्लुको प्रभाबकारी भ्याक्सिन बन्न सकेको छैन रे र साथै नेपालमा सुइक्रित पनि छैन रे तर केहि ब्यबसायीले प्रयोग भने गरिरहेको भन्ने पनि पत्रिकामा आएको छ .. साचो के हो त ? कसैलाई जानकारी भए कृपया इस्पस्त पारिदिनु होला ..
ब्राजिल वा थाइल्याण्डबाट कुखुराको मासु आयात गर्ने दावी गरेको केएफसीले भारतबाट कन्टेनरमार्फत ल्याउने सुइंको पाएपछि धदिङ्का कुखुरा व्यवसायीहरूले ती कन्टेनरका मासु जलाएर नष्ट गरे । केही दिन संचारमाध्यममा यसबारे समाचार पनि आए र त्यत्तिकै सेलाए । तर एउटा विचारणीय कुरा के छ भने उक्त घटना भएको २-३ दिनमै धदिङ्कै एक फार्ममा बर्डफ्लु भेटियो भन्ने समाचार आयो । यति विकरालरूपमा, अर्थात फार्ममै बर्डफ्लु भेटिएको शायद नेपालमा पहिलोपटक हुनुपर्छ । त्यसपछि रामकोटको फार्ममा बर्डफ्लु भेटियो र क्रमश उपत्यका वरिपरी अन्य स्थान र अहिले त देशव्यापी रूपमा आतंक मच्चिएको छ ।
भारतमा ३-४ बर्षअघि नै व्यापकरूपमा बर्डफ्लु भेटिएको समाचार आएपनि नेपालमा छिटपुटमात्र थियो। तर धदिङ्को उक्त घटनापछि नेपालमा बर्डफ्लुको आतंकनै मच्चियो । व्यक्तिगतरूपमा मलाई केएफसीसम्बन्धि उक्त घटना र त्यसलगत्तै बर्डफ्लु भेटिएको घटनाबीच केही सम्बन्ध रहेको हो कि भन्ने मनमा चस्केको थियो । हुन पनि बहुराष्ट्रिय कम्पनीहरूको चर्तिकला त सुनिआएकै हो ! भारतको रामदेवविरुद्ध अनेक प्रचारबाजीहरूमा बहुराष्ट्रिय कम्पनीहरूकै हात रहेको हल्ला ताजै हो ।
अर्को कुरा बर्डफ्लु नेपाल भित्रिनुमा ती आयातीत चिकेननै पो कारक हो कि ! विदेशबाट पंछीजन्य वस्तु आयात गर्न रोक लगाइएको अवस्थामा केएफसीमाथि कारबाही भयो कि भएन ? के अझै पनि नियमविपरित मासु आयात भैरहेको छ ? यसबारे सम्बन्धित निकाय, संचारमाध्यम अनि उपभोक्तामुखी संस्था किन मौन देखिन्छन ? कि विदेशी कम्पनीलाई नेपालको कानून नलाग्ने हो ?
एक दमै उपयोगी सुझाब र सल्लाह दिनु भएको मा धेरै धेरै धन्यवाद !!!