बेलबारी घटनाबारे छानबिन गर्न घटनास्थल पुगेको राष्ट्रिय दलित आयोगको छानबिन टोलीले प्रारम्भिक छानबिन प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा बलात्कारको प्रयास हुँदा पीडित महिला जोडले चिच्याउँदा कराउँदा पनि कसैले वास्ता नगरेको, पछि केही व्यक्तिहरु आए पनि उनीहरुले त्यो मान्छेलाई तत्काल पक्राउ गर्न स्वयं तथा प्रहरीलाई खवर गरी पहल गर्नु पर्नेमा सो नगरेको उल्लेख छ। त्यसैगरी पीडित महिलाको उजूरीलाई गम्भीरताका साथ लिएर छानविन गर्नु पर्नेमा प्रहरी कार्यालयले हचुवाको भरमा लिएर छोडेको छानबिन टोलीको ठहर छ। प्रहरी कार्यालयमा भएको छलफलपछि घर फर्कँदा राति नै महिलालाई जीवन भनिने चेतन भेटवालकी आमालगायत अन्य व्यक्तिले महिलालाई कुटपीट एवं कपाल लुछेका थिए तर उनले यसबारे प्रहरीलाई जानकारी गराएकी थिइनन्। पीडितलाई सहयोग गरेको र तँ दलित कामी, डाँग्रो हाम्रै अगाडि मटरसाइकल चढेर खुरुरर दौडने ? तँ डुम खुबै पढेलेखेको पत्रकारको ध्वाँस गर्छस् भन्दै कालोमोसो दलेर घटनाका आरोपितहरुले कुटपीट एवं लछारपछार गरेको, तुलसा सुब्बा, मीना भुजेल, हर्कमायाँ भुजेल, दीपा तामाङ्गलाई पनि जातीय आधारमा होच्याउने अपहेलित एवं अपमानजनक शब्दहरुको प्रयोग गरी जातैका आधारमा सर्किनीको घोँडा चढ्नेहरु कोही छौ भने हाम्रो अगाडि आओ, तिमीहरुको हालत पनि यस्तै बनाई दिन्छौं भन्दै दोषीहरुले कुटपीट एवं लछारपछार गरेको आयोगको प्रतिवेदनमा छ। प्रतिवेदन पूरा पढ्न भित्र आउनुस्।
बेलबारी घटनासम्बन्धी प्रारम्भिक प्रतिवेदन
२०७० साउन १६
१. पृष्ठभूमि
मोरङ्ग जिल्ला बेलाबारी गाविस वार्ड नं. ३ का माया सार्की र मनोज विश्वकर्मामाथि यही मिति २०७० साल साउन ७ गते बिहान अन्दाजी १०÷११ बजेको समयमा सोही ठाउँमा बस्ने जिबन भनिने चेतन भेटवाललगायतका व्यक्तिहरुले कालोमोसो दली जुत्ताको माला लगाई कुटपीट एवं जातीय उचनीच, घृणा र अवहेलना हुने गरी गालीगलौज गरेको कुरा विभिन्न संचार माध्यममा प्रचार प्रसार भएको खबरले राष्ट्रिय दलित आयोगको ध्यानाकर्षण भएको हुँदा सो विषयको सत्य तथ्य के हो भनी बुझ्न आवश्यक ठानेकोले आयोगका सदस्य श्री अनिता परियारको संयोजकत्वमा आयोगका सदस्य खेमराज नेपाली, आयोगका कानुनी सल्लाहकार विमल विश्वकर्मा, समता फाउण्डेशन, ललितपुरका विजय विश्वकर्मा, रिडेप, नेपालका अध्यक्ष उमेश विश्वकर्माको पाँच सदस्यीय घटनास्थल अध्ययन समिति गठन गरेको थियो। सो समितिले घटनास्थलमा गई विभिन्न सरोकारवाला निकाय, पीडितहरु तथा संघसंस्थाहरुसंग गरिएको छलफल, अन्तरक्रिया तथा स्थलगत अध्ययनको आधारमा तयार गरिएको यो प्रारम्भिक घटनास्थल अध्ययन प्रतिवेदन आज पत्रकार सम्मेलन मार्फत सार्बजनिक गर्न लागिएको छ।
२. घटनाको विवरण तथा सरोकारवालाहरुको भनाई
क) पीडित माया सार्की बेलबारी, ३ मा रहेको रिजेश होटेलबाट मिति २०७० साल श्रावण ६ गते साँझको समयमा घर फर्किरहेको अवस्थामा उनको घरदेखि करिब ६०÷७० मिटर पछाडिको दुबैतर्फ बुट्टयान झाडीले झुम्मपरेको एकान्त सुनसान सिसौली खोला पार गर्ने क्रममा पश्चिमको किनारबाट पूर्वतर्फ खोला तर्दा अं. साँझको ७ बजेको समयमा पछाडिबाट एक्कासी एक जना पुरुषले आक्रमण गरी उनको मुख थुनेर जबरजस्ती करणी गर्न खोजेको आरोपमा उनकै छिमेकी जीवन भनिने चेतन भेटवाल जस्तो लागेर इलाका प्रहरी कार्यालय बेलबारीमा घटनाको विषयमा सोही दिन जानकारी गराएको भन्ने पीडितको भनाई।
ख) सोही विषयलाई लिएर उक्त ईलाका प्रहरी कार्यालयले आरोपित व्यक्तिलाई सोही दिन पक्राउ गरी दुवैपक्षबीच छलफल गर्दा घटना घट्दाको वखतमा मायालाई जबरजस्ती करणी गर्न खोज्ने पुरुषको हातमा रगत आउने गरी टोकेको भन्ने प्रमाण आरोपित जिवन भेटवालमा नदेखिएको हुँदा दुवैजनालाई सम्झाई बुझाई छोडिएको हो भन्ने इलाका प्रहरी कार्यालय, बेलबारीको भनाई ।
ग) सो घटनाको दोस्रो दिन आरोपित जीवन भेटवालपक्षधरका करिब ५०÷६० जनाको समूहले माया सार्कीमाथि उनीहरुकै घरछेउँमा रहेको श्री अन्नपूर्ण बिर्डिङ्ग स्कूलको प्राङगणमा बिहान अन्दाजी १०÷११ बजे जीवन भेटवालमाथि गलत आरोप लगाएको भन्ने निहुँमा तँ अछुत तल्लो जातको सर्किनी, रण्डीले हामी जस्तालाई आक्षेप लगाउने भन्दै कालोमोसो दली, जुत्ताको माला लगाई कुटपीट तथा लछारपछार गरेको र मेरो शरिरको कपडासमेत च्यातीदिएको भन्ने पीडित महिलाको भनाई।
घ) पीडित माया सार्कीलाई सहयोग गरेको र तँ दलित कामी, डाँग्रो हाम्रै अगाडि मटरसाइकल चढेर खुरुरर दौडने ? तँ डुम खुबै पढेलेखेको पत्रकारको ध्वाँस गर्छस् भन्दै कालोमोसो दलेर घटनाका आरोपितहरुले कुटपीट एवं लछारपछार गरेको भन्ने घटनाका अर्का पीडित बेलबारी ३ बस्ने मनोज विश्वकर्माको भनाई।
ङ) त्यसैगरी घटनामा तुलसा सुब्बा, मीना भुजेल, हर्कमायाँ भुजेल, दीपा तामाङ्गलाई पनि जातीय आधारमा होच्याउने अपहेलित एवं अपमानजनक शब्दहरुको प्रयोग गरी जातैका आधारमा सर्किनीको घोँडा चढ्नेहरु कोही छौ भने हाम्रो अगाडि आओ, तिमीहरुको हालत पनि यस्तै बनाई दिन्छौं भन्दै दोषीहरुले कुटपीट एवं लछारपछार गरेको भन्ने पीडितहरुको भनाई।
च) सो घटना पश्चात ईलाका प्रहरी कार्यालयले घटनामा संलग्न पक्षहरुलाई घटनास्थलमा गई प्रहरी कार्यालयमा लिएर छलफल गर्दा पीडित माया सार्की र मनोज विश्वकर्माको गल्ती भएको भन्ने ठहर गर्दै आइन्दा त्यसो नगरी मिलेर बस्नुपर्छ भन्ने सहमतिमा सबैलाई छोडिएको भन्ने प्रहरी कार्यालय तथा पीडितहरुको भनाई।
छ) घटनाको सम्बन्धमा राष्ट्रियस्तरका पत्रपत्रिका एवं विद्युतीय संचार माध्यमबाट व्यापक रुपमा सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालयले मिति २०७० साल साउन ८ गते माया सार्कीको किटानी जाहेरीमा अभियुक्तहरुउपर सार्वजनिक अपराध गरेको अभियोगमा निजहरुलाई पक्राउ गरी प्रहरी हिरासतमा राखेको।
ज) सो किटानी जाहेरीको व्यहोरा अनुसार थप अनुसन्धान तहकिकात गर्दा जातीय भेदभाव तथा छुवाछूत ऐन अन्तरगत पनि पर्ने भएको हुँदा सो बमोजिम गर्नू भन्ने जिल्ला सरकारी वकिल कार्यालयको मिति २०७० साल …गतेको इलाका प्रहरी कार्यालय, बेलबारीमा निर्देशन गरेको।
झ) त्यस्तै घटनाका अर्का पीडित मनोज विश्वकर्माले सोही घटनाका आरोपितहरुलाई जातीय भेदभाव तथा छुवाछूत अपराध ऐन अन्तर्गत कारवाही गरी पाउँ भन्ने किटानी जाहेरी ईलाका प्रहरी कार्यालय, बेलबारीमा दर्ता गराएको।
ञ) क्षेत्रीय प्रहरी कार्यालय, पूर्वाञ्चलले प्रहरी उपरिक्षक शेखर कोइरालाको संयोजकत्वमा घटनाको अनुसन्धान गर्न एक छानविन समितिको गठन गरेको भन्ने विभिन्न संचार माध्यमबाट थाहा हुन आएको।
ट) जिल्ला प्रहरी कार्यालय, मोरङ्गले निज माया सार्कीको जबरजस्ती करणीको उजूरी लिई ईलाका प्रहरी कार्यालय, बेलबारीमा मिति २०७० साउन …गते दर्ता गराउन लेखी पठाएको र सोही जाहेरीको आधारमा अभियुक्तको खोजी भइरहेको भन्ने प्रहरीको भनाई।
ठ) मिति २०७० साल साउन १५ गते जिल्ला प्रहरी कार्यालय, मोरङ्गमा पीडित माया सार्कीले पीडक जीवन भनिने चेतन भेटवालसमेतको नाममा जातीय भेदभाव तथा छुवाछूत अपराधसम्बन्धी किटानी जाहेरी दिएको।
ड) राष्ट्रिय मानवअधिकार आयोग, महिला आयोगलगायत स्थानीय विभिन्न सामाजिक संघसंस्थाहरुले घटनाको छानविन गरी दोषी उपर कारवाही र पीडितलाई न्याय दिनुपर्ने विषयमा प्रेस विज्ञप्ति निकाली न्यायको पक्षमा आवाज उठाएको।
ढ) हाल पीडित माया सार्की उनको घरमा बस्ने वातावरण नभएर ओरेक, नेपाल विराटनगर शाखाको संरक्षणमा रहेको। उनको २ जना छोराछोरी माइतीको घरमा रहेको भन्ने पीडित महिलाको भनाई।
३. तथ्यको विश्लेषण
उपर्युक्त तथ्यहरुको विश्लेषण गर्दा निम्न कुराहरु देखिन्छः
क) मिति २०७० साल साउन ६ गतेको जबरजस्ती करणीको घटनामा माया सार्की पीडित भएको र घटना स्थलबाट घरहरु नजिकै भएता पनि तत्काल उनलाई सहयोग गर्न कोही नआएको।
ख) पीडित महिला जोडले चिच्याउँदा कराउँदा केही व्यक्तिहरु आएको सो घटना स्थलमा आएको हुँदा तत्काल पक्राउ गर्न स्वयं तथा प्रहरीलाई खवर गरी पहल गर्नु पर्नेमा सो नगरेको।
ग) पीडित महिला प्रहरीमा साउन ६ गते नै जबरजस्ती करणीको घटनाको बारेमा जानकारी गराउन जाँदा पीडित महिलाको उजूरीलाई गम्भीरताका साथ लिएर छानविन गर्नु पर्नेमा प्रहरी कार्यालयले हचुवाको भरमा लिएर छोडेको।
घ) प्रहरी कार्यालयमा भएको छलफलपछि घर फर्कदा निज मायालाई श्री अन्नपूर्ण बोर्डिङ्ग स्कुलको छेवैंमा आरोपित जीवन भनिने चेतन भेटवालकी आमालगायत अन्य व्यक्तिले निज मायालाई कुटपीट एवं कपाल लुछेको घटनाको बारेमा प्रहरीमा मायाले जानकारी नगराएको।
ङ) मिति २०७० साल साउन ७ गते बिहान भएको घटनामा आरोपित निज जिवन भेटवाललागयतको समूहले माया सार्की तथा मनोज विश्वकर्मालगायत अन्य महिलाहरु माथि सांघातिक आक्रमण गरेको हुनाले उनीहरुले कानूनलाई आफ्नो हातमा लिएको देखिन्छ। निजहरुको सो कार्यले सामाजिक सुरक्षा, शान्ति एवं अमन चयनमा खतरा उत्पन्न गराएको देखिन्छ।
च) निज पीडित महिला तथा मनोज विश्वकर्मालाई कालोमासो दल्नु, जुत्ताको माला लगाई दिनु, शरिरको कपडा च्यातिने गरी कुटपीट एवं लछारपछार गर्नु एवं जातीय उचनीच, घृणा र अवहेलना हुने खालका शब्दहरुको प्रयोग गरी निजहरुको मुख नाकमा औंला लगी तँ सर्किनी, कामी डाँग्रा आदि शब्दहरुको प्रयोग गरी गाली गलौज गर्दा पीडितहरुको मान, मर्यादा, प्रतिष्ठामा गहिरो चोट पुगेको देखिन्छ। साथै निज आरोपितहरुको उपुर्यक्त कार्यले नागरिकको सम्मानपूर्वक स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकारलाई सोझै चुनौती दिएको देखिन्छ।
छ) घटनाको सम्बन्धमा मिति २०७० साल साउन ७ गते ईलाका प्रहरी कार्यालय, बेलबारीमा पक्राउ गरी लगेपछि तत्काल अनुसन्धानको प्रक्रिया सुरु गरी दोषीलाई कारवाही गर्नुपर्नेमा सो नगरी भीडले जे भन्छ सोही आधारमा सबैलाई छोडिदिएकोमा ईलाका प्रहरी कार्यालय, बेलबारीले प्रभावकारी भूमिका खेल्न नसकेको।
४. निष्कर्ष
घटनाले मुलुकको बदनाम भएको छ। साथै यो घटनाले मानवअधिकार, शान्ति, लोकतान्त्रिक शासन व्यवस्थालाई नकरात्मक असर पर्ने गरी ठाडै चुनौती खडा गरेको देखिन्छ। घटनालाई व्यक्ति विशेष, ठाउँ विशेष, जाति विशेषको आधारमा विश्लेषण गरेर निज आरोपित भेटवाल समुदायका व्यक्तिहरुलाई मात्र दोषी देखाउनु हामी सबैको कमजोरी हुन सक्छ। घटनालाई समग्रतामा राखेर हेर्दा सान्दर्भीक देखिन्छ। घटनाको मुख्य पात्र आरोपित भेटवाल परिवार भएपनि यसको कारक तत्व भनेको नेपाली समाजको संरचना, मूल्य मान्यता, व्यवहार एवं शासन व्यवस्था हो।
तसर्थ, जातजाति, धर्म, भाषा, संस्कृति, लिंग वा अन्य कुनै आधारमा कसैको पनि मान, मर्यादा, प्रतिष्ठाका साथ सम्मानपूर्वक स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको कारण राज्यले समयमै प्रभावकारी कानूनको निर्माण गरी तदारुकताका साथ कार्यान्वयन गर्न किमांचित ढिला सुस्ती गर्नु राज्यको लागि घातक हुनसक्छ। तसर्थ, जातीय भेदभाव तथा छुवाछूतलाई राष्ट्रिय समस्याको रुपमा लिएर राज्यले नै देशव्यापी जनचेतना जगाउने, शैक्षिक पाठ्यक्रममा मानवअधिकार शिक्षा समावेश गरी जातीय भेदभाव तथा छुवाछूत मानवअधिकार विरुद्धको सामाजिक अपराध हो भन्ने खालको शिक्षा व्यापक रुपमा आवधिक योजना बनाएर देशव्यापी रुपमा प्रचार प्रसार गर्नुपर्ने जरुरी देखिएको छ।
५. सुझाव
१) पीडितहरुको जीउ धनको सुरक्षाको सुनिश्चित गरी सम्मानपूर्वक आ–आफ्नो घरपरिवारसंग भयरहित वातावरणमा बस्न पाउने वातावरण मिलाउनु पर्ने।
२) घटनाका दोषीहरुलाई कानूनी दायारामा लिई तत्काल छानविन गरी कसूर बमोजिमको जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ लगायत अन्य प्रचलित कानून बमोजिम सजाय गरी पीडितलाई न्याय दिनु पर्ने।
३) यस्ता किसिमका घटना पुनः नदोहोरिन दिन नेपाल सरकार, राजनैतिक दल, तिनका भातृ संगठन तथा सामाजिक संघसंस्थाले जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्ने सम्बन्धी जनचेतना फैलाएने।
अन्त्यमा, घटनालाई बंग्याउने, ढाक छोप गर्ने वा गलत सूचना दिएर विषयान्तर गर्ने कार्यले क्षणिक रुपमा कसैलाई फाइदा भए पनि दीर्घकालिन रुपमा यसले मुलुकलाई नै असर पार्ने भएको हुँदा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई न्यायको पक्षमा आवाज उठाई शान्ति, लोकतन्त्र एवं सुव्यवस्थालाई सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौं।
अनुसूचि १
स्थलगत अध्ययन समितिको नामावली
माननीय श्री अनिता परियार राष्ट्रिय दलित आयोग
माननीय श्री खेमराज नेपाली राष्ट्रिय दलित आयोग
श्री विमल विश्वकर्मा राष्ट्रिय दलित आयोग
श्री विजय विश्वकर्मा समता फाउण्डेशन, ललितपुर
श्री उमेश विश्वकर्मा रिडेफ, विराटनगर
धन्यवाद।
हेर्दै जानुस| केही दिन मच्चिन्छ र यो पछि त्यसै सेलाएर जान्छ| अध्यागमनका कर्मचारीले महिला यात्रु संग दुष्कर्म गर्नेहरु र उनका हाकिमहरु अहिले कंहा छन् र किन त्यस्तो हल्का सजाय भयो?
अति कडा कारबाही हुन पर्छ – कारबाही को मामिलामा इन्द्रे को बाऊ चन्द्रे आय पनि छोड्न हुन . प्रहरी प्रशासन निस्पक्छ हुन पर्छ .
भोलि को दिन मा यस्तो घटना नदोहोरिओस
रगत तातेर आउच एस्तो कुरा सुनेर ,अनि माओबादी मदेस्बदी किन power मा नाओस, पहिचान को संघियता किन नाखोजोस त? सदियौ को दमन हो यो एउटा दुइटा घटना होइन , यो जातियता को भावना सुरु नै जनै देखि भएको ,त ठुलो म सानो आदि इत्यादी
दण्डहिनता को चरम उत्कर्स हो बेलबारी काण्ड, आबदेखि कसैले पनि एस्तो काम गर्नु भन्दा पहिले बेलबारी याद गरेर थरर काप्ने गरेर दोषीलाई कारबाई गर्नुपर्छ !!! घटना संग सम्बंदित जो कोइ लाई पनि छोड्नु हुदैन,, कानुनी राज्जे को उपहास गर्ने लाई जनता भन्नु बेकार छ! येस्तालाई राज्जेको कुनैपनि सेवाबाट LIFETIME बन्चित गर्नुपर्छ !!
यो एक ठाउको समस्या मात्र होइन त्यसैले बेलबारीमा मात्र समाधान न होस् \
यो देशै भरिको समस्या हो त्यसैले समाधान पनि रास्ट्रीय रुप मै होस् \
विभेद जात ,बर्ग र गरिबी को मात्र होइन धर्म ,क्षेत्र ,बिचार , र औकात अर्थात कुनै पनि बिषयमा नहोस जो भैराखेका छन् \ यसलाई कसैले पनि राजनैतिक पुजी को रुपमा प्रयोग र फाइदा नलोस जो लिने प्रबिती हाबी छन् \