Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बेलबारी बर्बरताः संवेदनाहीनहरुमा पश्चात्ताप नै भेटिएन

Posted on July 27, 2013July 27, 2013 by Salokya


बेलबारी बर्बरताबारे स्थानीय पत्रिका र राष्ट्रिय दैनिकहरुमा भइरहेको फलोअप यस्तो छ-

-गोकुल पराजुली/ब्लास्ट टाइम्स (धरान)–

‘मुखमा लागेको मोसो धुँदा गइहाल्छ, जुत्ताको माला फुकाल्दा भइहाल्छ तर मेरो छोरोको जीवनमा लागेको दाग कसरी जान्छ ?’ मोरङको बेलबारी–३ करमडाँडाका रामचन्द्र भेटवालले भने। एक महिलासहित दुईजना ‘दलित’ अगुवामाथि भएको दुर्व्यवहारपछि सम्पूर्ण क्षेत्रबाट विरोध भइरहे पनि घटनामा संलग्न स्थानीय गाउँलेहरुमा पश्चातापको कुनै भाव देखिँदैन। उनीहरु आफूमाथि लागेको आरोपले ‘इज्जत गएको’ ठानिरहेका छन् तर अर्कालाई जुत्ताको माला लगाएर कालोमोसो दली आक्रमण गर्नुलाई सामान्य ठानिरहेका छन्। उनीहरुले यो घटनामा गल्ती भएको महसूस गरेका छैनन् । अल्पसङ्ख्यामा रहेका दलित परिवार घटनापछि त्यहाँ बस्न सक्ने अवस्था छैन।

गत आइतबार साँझ ७ बजेतिर ती महिला मजदुरी गरेर घर फर्किदै गर्दा बेलबारी–३ मा अपरिचित पुरुषले पछाडिबाट उनको घाँटी समाए र उनको मुख थुनेर घिसार्दै लगे। महिलाले उनको हातमा टोकेर चिच्याएपछि अन्य मानिसहरु कुद्दै आउँदा आक्रमणकारी भागे। महिलाले तत्कालै घटनाबारे स्थानीय पत्रकार तथा ‘दलित’ अगुवा मनोज विश्वकर्मालाई सुनाएर सहयोग मागिन्। मनोजले पनि तुरुन्तै प्रहरीलाई बोलाएर घटनाबारे जानकारी गराए। महिलालाई स्थानीय जीवन भेटवालमाथि आशंका थियो। उनले तिनकै नाममा किटानी जाहेरी दिइन्। प्रहरीले जीवनलाई पक्राउ गर्दा महिलाले भनेजस्तो जीवनको हातमा कुनै चोटपटक थिएन। त्यसपछि सबैको सहमतिमा प्रहरीले उनलाई रिहा गरिदियो।

महिलामाथि हातपात गर्ने व्यक्ति फेला परेकै थिएन तर जीवनमाथिको आशंका मेटिसकेको थियो। त्यसैबीच जीवनको परिवारको उक्साहटमा गाउँलेले महिला र ‘दलित’ समुदायका अन्य व्यक्तिलाई ‘ठीक पार्ने’ योजना रातारात बुनिसकेका थिए। योजनाअनुसार उनीहरुले निर्दोष युवकलाई बलात्कारको आरोप लगाएको भन्दै महिलाविरुद्ध गाउँमा भेला बोलाए। भेलामा महिला पनि गइन्। गाउँलेहरु निकै आक्रोशित थिए। भीडमा राखेर एकपछि अर्को प्रश्न गर्दै उनीहरु महिलामाथि जाइलागे। आफूमाथि आक्रमण गर्ने व्यक्तिको पहिचान नभएका कारण शंका गरिएको व्यक्ति निर्दोष पाइएको भन्दै उनले क्षमा मागिरहिन् तर भीडले उनको कुरा सुनेन। पूर्वयोजनासहित आएका गाउँलेमध्ये एक महिला महिलामाथि जाइलागेपछि बर्बर आक्रमण शुरु भयो।

महिलाको कपडा च्यातियो। उनी भुइँमा पछारिइन्। एक महिलाले उनको लाज छोप्ने प्रयत्न गर्दै सल ओढाइदिइन् तर अर्काले फालिदिए र अपशब्द प्रयोग गर्दै कुटपिट गरिरहे। त्यस भीडमा घटनाको विरोध गर्नुपर्छ भन्नेहरु पनि मुकदर्शक बने, उनीहरुले केही गर्न सक्ने अवस्था थिएन किनभने सहयोग गर्नेहरुले पनि गाउँलेको कुटाइ भेटिसकेका थिए। त्यतिले पनि चित्त नबुझेपछि भीडले कालोमसो दलेर उनलाई जुत्ताको माला लगायो। पीडितलाई साथ दिएको आरोपमा पत्रकार मनोजलाई समेत कुटपिट गरी उनीहरुले दुव्र्यवहार गरे । महिलालाई सहयोग गरेको आरोपमा अपमानजनक गालीगलौज गर्दै आफूहरुलाई पनि निर्घात कुटपिट गरिएको स्थानीय महिलाहरुले बताए । ‘सहयोग गर्ने तिमीहरु नै होइनौ ?’ भन्दै कुटपिट गरिएको स्थानीय दीपा तामाङले बताइन् । स्थानीय तुलसा सुव्वाले छलफल छ भन्दै बोलाएर कुटपिट गर्न थाले । घटनाको नेतृत्व जीवन भेटवालकी श्रीमती सावित्रा भेटवाल, अम्बिका भेटवाल, अमित भेटवाल र उनकी श्रीमती तथा आमा चन्द्रकला भेटवाललगायतले गरेका थिए ।

प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत उनीहरुमाथि मुद्दा चलाएको छ। १५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको बेलबारी इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर दिलीपकुमार गिरीले बताए। उनले अपराधमा संलग्नलाई कारवाही गराउन आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे। घटनाका कारक भेटवाल परिवारमा भने थोरै पनि पश्चाताप देखिँदैन। भेटवाल परिवारका चारजनालाई प्रहरीले पक्राउ गरेको छ। घरमा जीवनका बाबु रामचन्द्र भेटवालमात्र भेटिए। उनले आफ्ना छोराको जीवनमा दाग लगाएकाले घटना गराएको सहज रुपमा स्वीकार गरे। उनले भने, ‘अनुहारमा लगाएको कालोमोसो धुँदा गइहाल्छ, जुत्ताको माला फुकाल्दा भइहाल्छ तर मेरो छोराको इज्जत त गयो नि।’

आफ्ना छोराको इज्जतको यति ख्याल गर्ने रामचन्द्रलाई ती महिला र पत्रकारको इज्जतप्रति भने कुनै चासो थिएन किनभने गाउँमा ‘दलित’ परिवार अल्पमतमा थिए। गाउँका सयौं घरमा दलित परिवार तीन घरमात्र छन्।

रामचन्द्रमाथि पनि गत वर्ष गाउँकै एक बालिकालाई बलात्कार गरेको आरोप लागेको थियो। घटना गाउँमै मिलाइएको थियो। अहिलेकी पीडित महिलाकै नन्द पर्ने बालिकालाई रामचन्द्रले बलात्कार गरेको आरोप थियो। घटना मिलाउँदा रामचन्द्रले ती बालिकाको नाममा ५ कठ्ठा जमिन पास गरिदिएका थिए। यसपटक छोरामाथि त्यही परिवारबाट अभियोग लागेपछि उनीहरुले अघिल्लो वर्ष दिएको जग्गासमेत फिर्ता लिने नियतले योजना बनाएर नै आक्रमण गरेको पाइएको राष्ट्रिय दलित आयोगकी सदस्य अनिता परियारले बताइन्।

घटनापछि विस्थापित भएकी महिला अहिले मोरङकै विराटचोकस्थित आफ्नी दिदीको घरमा छोराछोरीसहित बसेकी छन्। उनले बाबुले आफ्नी भतिजीलाई बलात्कार गरेकाले सोही घटनाको प्रतिशोध लिन छोरा जीवनले आफूलाई हातपात गरेको हुन सक्ने आधारमा आफूले शंका गरेको प्रहरीसमक्ष बयान दिएकी छन्। रातको समयमा आवाजबाट जीवन नै भएको अनुमान गरेकोसमेत उनले बताइन् तर पहिचान हुन नसकेपछि माफी माग्दासमेत आफूमाथि दुर्व्यवहार गरेको गुनासो गरिन्। (ब्लास्ट टाइम्स, साउन ११)

[टिप्पणीः मुखमा लागेको मोसो धुँदा गइहाल्छ, जुत्ताको माला फुकाल्दा भइहाल्छ तर मेरो छोरोको जीवनमा लागेको दाग कसरी जान्छ ? भन्ने वाक्यले ‘इज्जत’ भन्ने शब्दलाई नै उनीहरुको हिसाबले परिभाषित गर्नुपर्ने स्थिति देखियो यहाँ। बलात्कारको घटनाको उजुरीमा हदम्याद लाग्छ। ३५ दिनभित्र उजुरी गरिहाल्नुपर्छ। यहाँ ती पीडित युवतीले पुरानो घटना (जीवनका बुबाले युवतीकी नन्दलाई बलात्कार गरेको आरोप र त्यसलाई साम्य बनाउन पाँच कट्ठा जग्गा दिएको) लाई सम्झिएर त्यसैको रिसइबीमा जीवनले नै बलात्कार प्रयास गरेको हो कि भन्ने शंका गरिन्। जबर्जस्ती गर्नेको हातमा घाउ हुने गरी टोकिदिएको भनेकी थिइन् उनले। त्यो जीवनको हातमा नदेखिएपछि उनी स्वतः आरोपमुक्त भइहाले। यसलाई कसरी ‘दाग’ वा इज्जत गएको भन्न मिल्छ? उस्तै फसाउने नियत भएको भए त युवतीले घाउ हुने गरी टोकेको छु पनि भन्ने थिइन नि। यत्रो बर्बर घटना गराएर पनि खुला रुपमा वा मनमनै ‘ठीकै त हो नि’ भन्ने हो भने हाम्रो समाजको स्थितिले यसले स्पष्ट पार्छ। हामी कथित ठूला जातिहरुले हामीले नै बनाएका साना जातिहरुलाई गर्ने हेपाहा व्यवहार छर्लङ्ग पार्छ। हाम्रो मनोवृत्ति नै आपराधिक रहेको पुष्टि गर्छ। गलत आरोप लगाएको भए गाली बेइज्जति गर्‍यो भनी युवतीविरुद्ध कानुनी रुपमा पनि जान सकिन्थ्यो। कानुन हातमा लिएर मोसो दल्दै यातना दिने काम अत्याचारै हो। भविष्यमा यस्तो हुन नदिन कारबाही हुनै पर्छ]

आमा परामर्श केन्द्रमा, नाबालक छोराछोरीको बिचल्ली

गैरदलितको चरम यातनापछि विस्थापित युवती एक्लैलाई विराटनगरको परामर्श केन्द्रमा लगिएको छ भने उनका दुई नाबालक छोराछोरीको भने बिचल्ली भएको छ। उनका ८ वर्षका छोरा र १२ वर्षकी छोरी बेलबारीकै स्कूलमा पढ्थे। घटनापछि उनीहरु स्कूल गएका छैनन्। बाउ चार वर्षदेखि वैदेशिन रोजगारीका लागि कतारमा छन्। सबैको ध्यान युवतीमा केन्द्रित भयो तर उनका बालबच्चा के गर्दैछन् भन्नेबारेमा कसैले पनि चासो दिएनन्। पीडितको अवस्था बुझेर फर्किएका दलित अधिकारकर्मी उमेश विश्वकर्मा भन्छन्, ‘आफ्नी आमालाई सिंगो गाउँ नै खनिएर मोसो दल्दै जुत्ताको माला लगाएर चरम यातना दिएको घटना सुनेका उनीहरूको कलिलो मस्तिष्कमा निक्कै असर परेको छ। घटनाका बारेमा बुझ्न कोही आए उनीहरू तर्सिने र डराउने गर्छन्।’

महिला बालबालिका कार्यालय मोरङकी प्रमुख गीता महतले घटनाबाट तनावमा रहेकी मायालाई परामर्श दिन विराटनगर ल्याइएको जानकारी दिइन्। ‘अहिले विराटनगरस्थित ओरेक नेपालमा राखेर परामर्श दिने र स्वास्थ्योपचार गर्ने काम भइरहेको छ’, उनले भनिन्, ‘पीडित महिलामा अझै पनि डर र त्रास छ। सबै तनाव कम भएपछि उनलाई घर फर्काइदिन्छौं।’

घटनामा संलग्न जीवन भेटुवाल, उनकी पत्नी सोविता, आमा चन्द्रकला, दाजु अमित, भाउजु कमला र स्थानीय अम्बिका भेटुवालमाथि सार्वजनिक अपराध ऐन र जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन २०६८ अनुसार कारबाहीप्रक्रिया अघि बढाइएको निमित्त प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए। उनका अनुसार फरार कविन्द्र प्रसाईंको खोजी भइरहेको छ।
(किशोर बुढाथोकी, अन्नपूर्ण पूरा पढ्न क्लिक गर्नुस्)

[टिप्पणीः बालबालिकालाई आमासँग किन छुट्याइयो ? बालबालिकालाई पनि मनोपरामर्शको आवश्यकता किन कसैले देखेनन् ? ती बालबालिकाको पढाइमा किन कसैले ध्यान दिन सकेनन् ? के उनीहरु अब पुनः त्यही समाजमा पुनर्स्थापित हुनसक्छन् ?]

कविन्द्र भन्छन्- दुई लात हानेको हो, अरु केही गर्‍या छैन

यसैबीच फरार भनिएका कविन्द्र प्रसाइँले आफ्नो फेसबुकमा घटनाबारे यसरी स्पष्टिकरण दिएका छन्-

बेलबारी घटनामा जे भो, त्यसलाई लिएर म एकदम दुःखी छु। जहाँसम्म मेरो स‌ंलग्नताको कुरा छ, सबैले मेरो कुरा पनि सुन्नुपर्छ। त्यो घटनामा मैले कसैलाई कालो मोसो लगाएको छैन। समाजका मान्छेले हातपात गर्दा म एक्लो थिएँ उनीहरुलाई औँला ठड्याउँदै यसो गनर भन्ने र उनीहरुलाई त्यो भिडबाट हटाएर पर लाने। र अर्को कुरा त्यो घटनामा मेरो ती महिलासँग कुनै किसिमको वादविवाद भएको छैन। न मैले उनलाई कालो मोसो लगाएको छु। मनोज जी र म सानैदेखि मिल्ने साथी हौँ। उहाँ मेरो सहपाठी पनि हो। म उहाँलाई आदरले बोलाउँथे र उहाँ पनि मलाई।

घटनाको अघिल्लो साँझ म खाना खाएर बाहिर निस्केँ। एक हुल मान्छे कराउँदै बाटो हिँडेको सुनेँ। के भो भनेर सोध्दा जीवनले कान्छीलाई रेप गर्‍यो हामी थाना गएको भन्दै थिए। त्यसको नेतृत्व मनोज जीले गर्नुभएको थियो। त्यसपछि म सत्य के हो भनी जीवनको घर गएँ। ऊ उसको काकाकोमा खाना खान गएको रहेछ। म उहीँ गएर सत्य कुरा बुझेँ। यो कुरा निराधार भन्ने थाहा पाएपछि मैले आफैले जीवनलाई बाइकमा राखेर थाना पुर्‍याएँ। पछि थानाले पनि यो कुरा झुटो हो भनेपछि समाजका मान्छे मनोज जीसँग रिसाए। उसले बुझेर मात्र ती महिलालाई लिएर आउनुपर्थ्यो भनेर। त्यसैले भोलि समाज बस्यो।

मैले कयौँ चोटी मनोज जीलाई भनेँ ती महिलालाई यहाँ लिएर समाज समक्ष बुझाइदिनुस् र आफ्नो स्पष्टिकरण दिनुस् भनेर। तर उहाँ मान्नु भएन। त्यो दिन एक त घाम थियो, समाज बसेको करिब दुई घण्टा भइसकेको थियो। म मेरी श्रीमती बिरामी भएर धरान अस्पतालमा रात भर सुतेको थिइनँ। त्यसैले म तनावमा थिएँ। मैले पटक पटक भन्दा मनोज जीले नमानेपछि मैले एउटा गल्ती गर्न पुगेँ, मैले मनोज जीलाई दुई लात्ता हिर्काएँ। त्यो मेरो गल्ती हो। त्यसको मैले सजाय पाउनु पनि पर्छ। तर यी बाहेकका आरु म माथि लागेका आरोप सबै झुटा हुन्। म आफूले नगरेको अपराधको सफाइ पाउन प्रमाणसहित अवश्य जान्छु। म अहिले काठमाडौँमा श्रीमतीको उपचार गराउँदैछु र चाँडै पुलिसकोमा जाँदैछु। धन्यवाद सबैलाई।

प्रहरीको कमजोरी दुर्व्यवहार

घटनाको अध्ययन गर्न महिला आयोगको टोलीमा नेपाल प्रहरी महिला निर्देशनालयबाट सहभागी डिआइजी बिमला थापाले प्रहरीले मुद्दाको संवेदनशीलता नबुझ्दा पीडितमाथि स्थानीय बासिन्दाले दुर्व्यवहार गरेको घटना हुन पुगेको बताएकी छिन्। ‘आइतबार साँझको घटनामा माया सार्कीले आरोप लगाएका जीवन भेटवाल नभएको पत्ता लागेपछि अरु व्यक्ति को थिए भनेर खोजी गर्न प्रहरी चुकेको छ,’ उनले भनिन्।
उनका अनुसार मायालाई बलात्कार प्रयास गर्ने को थिए भनेर अहिलेसम्म पनि प्रहरीले खोजी गरेको छैन्। ‘उनलाई बलात्कार प्रयास गर्ने व्यक्तिको खोजी गरेको भए, भोलिपल्ट त्यत्रो ठूलो घटना नहुन सक्थ्यो,’ डिआइजी थापाले भनिन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक पोखरेलले भने बलात्कार प्रयास गर्ने व्यक्ति पहिचान गर्न सादा पोसाकमा सुराकी परिचालन गरी खोजी भइरहेको जिकिर गरेका छन्।

पार्टीको छानबिन
यसैबीच, नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि नेतृत्व टोलीले शुक्रबारै घटनाको स्थलगत अध्ययन गरेको छ। ‘गाउँलेबीच प्रतिशोधको भावनाले गर्दा घटना भएको पाइन्छ। यस्तो गम्भीर घटनामा सरकारले छानबिन टोली गठन गरी दोषीलाई कानुनी कारबाही गरिनुपर्छ,’ उनले भने।
दुई वर्षअघि जीवनकै बाबु रामचन्द्र भेटवालले मायाकी भतिजीलाई बलात्कार गरेको आरोप लागेको थियो। त्यतिबेला भेटवालले पाँच कट्ठा जग्गा दिएर घटना साम्य पारेका थिए।
कांग्रेसले घटनाबारे छानबिन गर्न मोरङ जिल्ला सदस्य नगेन्द्र कट्टेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। समितिले समेत घटनामा संलग्न मात्र नभई उक्साउन प्रेरित गर्नेलाई पनि कारबाही गर्नुपर्ने माग गरेको छ। कांग्रेसको छानबिन समितिले अमित भेटवालकी पत्नी कमला निर्दोष रहेको जनाएको छ। प्रहरीले जीवन भेटवाल र उनकी पत्नी सेविता, अमित भेटवाल तथा उनकी पत्नी कमलालाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइसकेको छ। अमितकी आमा अम्बिका र जीवनकी आमा चन्द्रकलालाई पनि मुद्दामा विपक्षी बनाइएको छ। -अमर खड्का, नागरिक (पूरा पढ्‌न क्लिक गर्नुस्)

पत्रकारले पनि उक्साएको स्थानीयवासीको दावी

मोसो दल्न र जुत्ताको माला लगाउनमा पत्रकारले उकासेको स्थानीयवासी ट‌ङ्कमाया प्रसाइँ र अरु उपस्थितले घटनास्थल पुगेका पत्रकार र मानवअधिकारकर्मीलाइ बताएका थिए। उनीहरुले बताएको कुरा जस्ताको त्यस्तै रेकर्ड गरेकी छिन् बीबीसीकी पत्रकार सीता मादेम्बाले। सुन्नुस्-

29 thoughts on “बेलबारी बर्बरताः संवेदनाहीनहरुमा पश्चात्ताप नै भेटिएन”

  1. Chetan Nepali says:
    July 29, 2013 at 9:48 pm

    पक्कै पनि यी भेटवाल परिवार तथा उनका सहयोगी समाजका सदस्यहरु भगवान मान्छन, मन्दिर जान्छन, चार धाम पनि गएका हुन सक्छन तर पनि यिनीहरुलाई हाम्रा सनातन धर्म अर्थात् कथित हिन्दु धर्मले ज्ञान र चेतना चाही दिन नसकेकै हो ! यिनीहरु मात्रै हैन यस्ता समूह र समाज देश भरि नै छन् !

    त्यसैले यिनीहरुलाई अरु हैन आफ्नै देशमा जन्मेको “बुद्ध” को “करुणा र अहिंसा” ज्ञानको खाचो देखिन्छ ! आफ्नै देशमा मुख्य श्रोत भएर पनि यस ज्ञान को खडेरी परेका समाज प्रति दया जागेर आउछ !!

    बत्ति मुनिको अँध्यारो!! समयमा नै सद्बुद्धि र चेतना आवोस !!!

    सर्व मङ्गलम !!!

    Reply
  2. Prakash PM says:
    July 28, 2013 at 3:00 pm

    होइन यो कांग्रेस ले किन छानबिन गर्नु पर्ने ??? के देश मा प्रशासन छैन र ??? साले चोर नेताहरुले के देशमा अब आएर छानबिन पनि गर्न थाले ?????

    Reply
    1. cRIS says:
      July 30, 2013 at 8:19 am

      कुनै पत्रकारले यसको पनि छानबिन गरेर गुदी कुरो निकाले, धन्य मान्थे| किन कांग्रेस अरुलाई उछेल्दै जान्ने पल्टिंदै, आफ्नै छानबिनमा लाग्यो? कि यो चै मेरो मान्छे हो, खबरदार यसलाई केहि नगर्नु भन्ने सन्देस दिन खोज्या पो हो कि?

      – चुनाउको मुखमा आफ्नो रंग देखौदैछ|

      Reply
  3. Sisir says:
    July 28, 2013 at 1:07 pm

    रामनाथ (कमेन्ट कर्ता ) जस्ता व्यक्ति यो समाजमा हुदा सम्म एस्तो पासविक , असम्बेदंसिल, असभ्य , क्रुर , आतताई पूर्ण घटना घटी रहनेछ .. मनिष सम्मानित हुन अरुलाई सम्मान गर्न पनि जान्नु पर्छ .. एउटा १३ बर्से नाबालिक बलात्कार गर्ने रामचन्द्र भेटवाललाई इज्ज़तिलो देख्ने तपाइको के कुरा गरि साध्य छ र ?

    Reply
  4. chandra says:
    July 28, 2013 at 10:18 am

    # १. यो राम चन्द्र भेटवाल भन्ने मान्छे कस्तो अहंकारी र पक्ष्य पाती ? सायद, माथिल्लो जाति र पुरुस हुँ भन्ने अहंकार ले होला! ए रात्तै! तिम्रा छोरा को मात्र इज्जत?

    # २. साबधान ! यो कविन्द्र प्रसाई भन्ने त झन् बढो खतरनाक काइते छ जस्तो छ! किनकि, एकातिर श्रीमती उपचारको लागि अस्पताल मा रातभरी बसेकोले अनिदो थियो भन्छ, अनि मोटर साइकलमा जिबन भेटवाललाइ लिन जाने, थाना पुर्याउने, भिड जम्मा गर्ने/उक्साउने (अनिदो मान्छे त सुत्छ पो त हैन र?)! अझै, एकातिर मनोज बि क मेरो सह पाठी, सार्है मिल्ने साथि, आदरणीय मान्छे भन्छ, अर्को तिर थानामा उजुरी दिन माया लाइ सल्लाह दिएको भनेर २ लात्ती मात्रै हानेको भन्छ – कहिँ मिल्यो? के यो गाइ जात्रा प्रहसन कार्यक्रम हो?

    #३. BBC पत्रकार सीता मादेम्बा को अडियो पनि सुने – यहाँ कति सार्हो धेरै मुख हरु बजेको एकै पटक? उनीहरु को तर्क रहेछ “मनोज र माया पुलिस थाना जान सक्ने समाज ले बोलाएका ठाउमा किन ढिला आउने भनेर”! धन्न आइछन् माया येस्ता जंगली ब्वाँसा जस्ता व्यहोरा गरेका मान्छेहरु को भेला मा?

    Reply
  5. Birodh says:
    July 27, 2013 at 10:50 pm

    राम नाथ जी, बाबु चै ले बलात्कार गरेको त साचो हो नि त जग्गा नै दे को रैछ / अनि बलात्कारी को परिवार इज्जतिलो हुदो रैछ है आजकल, लौ बधाई छ !

    Reply
  6. chham rana says:
    July 27, 2013 at 9:07 pm

    म घर मै थिए अनि जीवनलाई मैले नै बाईकमा राखेर थाना पुरयाएको………. र म श्रीमती बिरामी भएर रातभर धरान अस्पतालमा थिए…………….? कविन्द्रजी अब पनि कहिलेसम्म झुट बोल्नुहुन्छ ? पाप धुरीबाट कराउछ भन्थे हो रहेछ !

    Reply
  7. madan bajracharya says:
    July 27, 2013 at 9:03 pm

    “कांग्रेसको छानबिन समितिले अमित भेटवालकि पत्नी कमला निर्दोष रहेको जनायकोछ” भने/ राज्यले छानबिन गर्दै अग्रेको बेला कांग्रेस कहा बात तप्कियो?के देसको कानुनि निकाय को दोषी छ को छैन भनेर छुट्याउन सक्दैन?

    कथित उपल्लो जातिको सयौं घरपरिवारको बसोबास रहेको गाउँमा दलित समुदायको मात्र ३ घर भयकोले के कांग्रेसले माया सार्की माथि अत्याचार गर्ने उपल्लो जातको अमित भेटवालको पत्नी कमला निर्दोष भयको भनेर अबको चुनावमा माया सार्कीलाई अत्याचार गर्ने उपल्लो जातिकाको भोट तान्न खोजेको हो; हो भने यो त् सरासर निर्वाचन आयोगले जारि गरेको आचार संहिताको उल्लङ्घन भयन?

    नेपालको राजनीतिमा सबै भन्दा बरिस्ठ र पटक पटक कानुन र सरकारको नेतृत्व गरिसकेको कांग्रेसले यस्तो सामाजिक अपराधको घटनमा हस्त्छ्यप नगरेर राज्यको कानुन र प्रशासनलाइ आफ्नो कर्तब्य पुरा गर्न दियर देसको अरु पार्टीलाई पनि सामाजिक आर्थिक अपराधको घटनमा हस्त्छ्य्पमा गर्नमा दुरुत्साहित गर्नु पर्थ्यो/

    यमालेको कार्यकर्ताले सडक नियम मिचेकोमा जरिवाना तिराउने प्रहरीलाइ माफी माग्न लगायर प्रहरीको मनोबल तोड्यो/ मावोबादीको लडाकु शिविर भित्र भयको आर्थिक भ्रस्टाचार माथि उनीहरुकै दलकोले छानबिन र कार्यवाही गर्ने भनेर देसको कानुनलाइ निर्धो बनाउने प्रयास गरे/ मावोबादीको बरिस्ठ नेताहरुले कथित जनयुद्धमा केहि गलती भयको पटक पटक सार्वजनिक रुपमै सकारेको छ/ तापनि उनीहरुको गल्तीले आहत भयको आम नागरिकले न्याय खोज्दा उनीहरुकै नेतृत्वको सरकारले आहत पिडितलाई न्याय दिलाउने जिम्मेवारी बोकेको प्रहरी बाटै आहत पिडितको टाउकोमा लठ्ठी बर्साउन लगायो/ तराइमा गैरकानुनी तरिकाले हतियार बोक्दै हिडेका मधेसी सज्जनहरुलाई जिल्ला अधिकारीले पक्डेर कानुनि कार्यवाही गर्न नपाउने ब्यबस्था गर्न मधेशबादीदलहरुले दवाव दिय/ यस्ता कुराहरुले गर्दा देसमा कानुन झन् झनै अपाङ्ग हुँदै गयको छ हुल्मुलेहरु उत्साहित हुँदै गयको छ/

    Reply
    1. sandip sharma says:
      July 28, 2013 at 5:43 am

      अनि यो समाज भनेको के हो? राज्य को न्याय दिने निकाय हुदा हुदै यो समाज किन. यो समाज भन्ने निकाए को मानिस लै नै कारबाइ गर्नु पर्छ

      Reply
  8. तुल बहादुर says:
    July 27, 2013 at 8:42 pm

    बाउ नै अगतिलो भएपछी छोरा कहाँ बाट गतिलो हुन्छ त् आफुलाई उच्च जात भन्ने त सबै भन्दा गिरेका रहेछौ रामनाथ अब त्यो १३ बर्शिये बालिकालाई बलात्कार गरेको घटना पनि छानबिन हुनुपर्छ !

    Reply
  9. Basanta Thapa,Maryland,USA says:
    July 27, 2013 at 6:16 pm

    अन्धो र आक्रोशित भिडमा यदि कसैले यस लाइ गोद र मार भन्यो भने मात्र पनि भिड त्यो व्यक्ति माथि खनिन्छ किन कि भिड ले आक्रमण पछिको परिणाम र भोलि कस्तो स्थिति को सामना गर्नु पर्छ भन्ने मानशिकता गुमाई रहेको हुन्छ भने यहा त भिड मा पत्रकार मनोज माथि कविन्द्र ले लात्ती हानेका छन् \यस्तो बेला भिड र आरोपित परिबार ,छिमेकी आरोप लगाउने माथि केहि नसोची जाइ लाग्छन यहा यहि भएको छ \ भिड लाइ आक्रोशित र आक्रमणकारी बनाउन मा कविन्द्र को हात भेटिन्छ \ कविन्द्र ले तातो दिमाग पारेर जसरि मनोज माथि लात्ती हाने अहिले परिस्थिति उल्टो देखेर मनोज मेरो संगै पढ्ने साथि र हामि एक अर्कामा संम्मान जनक रुप ले ब्यबहार गर्थेउ भन्ने ले साथि लाइ भिडको आक्रमण बाट जोगाउन अलि ठुलो स्वर र भिड लाइ अगाडी बढी संयमित रहन आग्रह गरेको भए यस्तो स्थिति हुने थियन होला \ कानुन (प्रहरी कार्यालय ) र जिबन लगायत उसका परिबार र छिमेकी सामु गल्ति भयो भनि माफि मागी प्रहरी र दुवै पक्ष बीच समझदारी भै कानुनि प्रकिया टुंगिइ सकेको अबस्थामा किन समाज बोलाउनु पर्यो ? यदि समाज को अगाडी इज्जत को कुरा लिएर समाज अगाडी जिबन र उसका परिबार चोखो छन् भन्ने देखाउन खोजिएको हो भने माया ले यसरि आरोप लगाएको थियो उसले प्रहरी र हामि सामु माफि मागी सक्यो अब समाज को अगाडी एक पल्ट माफि मगाउन चाहन्छु भनेर समाज भेला गरिएको हो भने माफि माग्दा माग्दै किन लात्ती ,कुटपिट ,कालोमोसो दली गाउ घुमाइ ? हो यहि ठुलो गल्ति ,जिबन र उन का परिबार र कविन्द्र को हो \अब यस्तो अबस्था मा आक्रमणकारी र कालोमोसो दल्ने माथि कार्यबाही हुनु पर्छ जुन प्रहरी (कानुन )ले प्रतिबद्वता देखाएको छ \
    जहा सम्म जिबन माथि लागेको आरोप को कुरा छ यो प्रहरी ,जिबनको परिबार र समाज अगाडी गल्ति भयो माफि पाउ भने पछि जिबन को इज्जत जाने कुरै भएन तर दलिएको कालोमोसो ,जुत्ता को माला र त्यो भिडले गरेको अत्याचार र पशु जन्य ब्यबहार को कारण माया ,मनोज र उनका परिबार माथि भैरहेको मानशिक पिडा ,चोट ,सोचाइ र समाज अगाडी बाच्ने परिस्थिति कति बिकराल होला \के यो ति कबिन्द्र ,जिबन ,रामचन्द्र र उनका सहयोगी हरुले बुझेका र सोचेका छन् ? यसको समाधान कस्तो हुनु पर्छ सकारात्मक भएर सबै पक्ष अगाडी आउ \

    Reply
    1. prajit man says:
      July 28, 2013 at 6:24 am

      यसो झुठा कुरा गरेको हेर्दा त यो घटना कतै कविन्द्रले नै गरेको होकी भन्ने संका लाग्यो/ किनकि उ भागिरहेको छ र फेसबुकमा भने अनुसार अझै केहि समय देखा नपर्ने छाँट छ/ कतै माया सार्कीले टोकेको घाउ निको बनौन त लागिपरेको होइन यो मान्छे? छानबिन नै हुने हो भने येसो यो कुरो पनि छानबिन गरे नराम्रो त केहि होला जस्तो लाग्दैन/

      Reply
  10. Ganesh25 says:
    July 27, 2013 at 6:14 pm

    These rapists/criminals are very low grade categories people in our nice country.
    We have to wipe out such criminals, hang them all who commits such crimes.

    We do not need such criminals.

    The criminal said that he had beaten 2 times with his legs (2 lat haneko hum, who is this criminal to do such crimes, abuse people physically, verbally, mentally ?. No way, he is sucker of this community). He has been a criminal, committed the crimes and he must be punished/hang them all.

    Reply
  11. Madhav Parajuli says:
    July 27, 2013 at 6:08 pm

    तेसका बाजे बलात्कारी को सन्तानको के इज्यत थियो र बेइजत हुनलाई? अझ मेरो छोरो को जिबन मा लागेको दाग कसरि जान्छ रे! कति सम्म कुरा पचाएर बोल्न सकेको, आफ्नो छोरो हो कि मोरो ले पोहोर साल नै अलि कति भएको इज्यत लाइ तेस्कै चिहान मा मिसाइसकेको रहेछ नि

    Reply
  12. डिल्ली says:
    July 27, 2013 at 5:26 pm

    घटना उपघटना क्रमशः बुझ्नै गाह्रो हुने तिर जाँदैछ । एकतर्फी रुपमा वास्तबिकता भन्दा घुमाउरो खै के खै के भन्या जस्तो ।

    नबुझिएका तर्कः
    १) महिलाको बयानमा घाँटी थिचेको मार्छु भनेको जस्ता कुरा छन् । बलात्कार गर्ने भन्दा पनि मार्न खोजेको भन्ने बुझिन्छ ।
    २) बजार र पत्र-पत्रिका हल्लामा बलात्कारमामात्र जोड दिएको पाइन्छ ।
    ३) पहिलो घटना त महिेलाको दावी जस्तो पाइएको छैन उनी पनि नियोजित आरोपी हुन पुगेकी छन् पहिलो घटनामा किनकी घटनाको कारक उनीहरूको पुरानो रिसिवि पनि देखिन्छ ।

    दोस्रो घटनालाई दोष कस्को भनिराख्नै पर्दैन जगजाहर छ । कार्यवाही कानुनले कसरी गर्ला पर्खिने मात्र हो । यो दोस्रो घटनाको पिडक भेट्वाल परिवार र समाज ।

    बजार हल्लाः
    १) महिलाले बाबुबाट ५ कट्ठा लिइयो अब छोरा विदेशबाट फर्के पछि १० कट्ठा लिन्छु भन्दै पहिले देखिनै हिडेको भन्ने केही छिमेकीको पनि आरोप ।
    २) पहिले लिएको नन्दको ५ कट्ठा बेचबिखन गरि खाइ मसोट गरिसकेको भन्ने पनि छिमेकीको दाबी ।
    ३) महिलाले घट्ना घटेको आरोप पत्र दर्ता गर्न आउँदा रक्सीको मातमा भएको र बयान समेत फेरेको पुलिसको दाबी ।

    यतिका विधि विरोधाभाषका कुरा हुँदा हुँदै घटनाको जटिलता तिर किन ध्यान गए जस्तो लाग्दैन । पहिले घटनाको कारक महिलाको भेटवाल परिवार र समाजको दाबी जस्तो दुराशाय छ वा छैन पत्ता लगाउनु पर्दैन भन्या ? दुँबैले दावी गरे जस्तो वास्तबिकता हो हैन भने तथ्य खोज्न तिर कसैको जोड देखिएन ।

    घटनाको अन्तरसम्बन्ध अब पनि पत्ता नलगाइ कार्यवाही कै मात्र रटान गर्दा भोलि पहिलो घटनाको पिडकको अन्तरनिहित आर्थिक सम्बन्ध नखोज्ने हो भने कालन्तरमा अपराधमा परिणत हुन के बेर ? यो सम्बोधन प्रहरी प्रशासनको अनुसन्धान र पत्रकारको हो कि हैन ?

    Reply
  13. Jeevan Thapa says:
    July 27, 2013 at 4:56 pm

    गाउँले हरुले ति नारी माथि दुर्ब्यबहार गरे तिनी हरु कानुनको नजरमा दोषी त छन् नै अनि कानुन अनुसार तिनीहरु लाई कारबाही पनि हुनुपर्यो तर के ति नारीले निर्दोस मान्छे लाई नै बलात्कार गर्ने कोसिश गरेको भनेर आरोप लगाएकी हुन् त ? यदी निर्दोष माथि आरोप लगाएकी हुन् भने कानुन अनुसार तिनी ले पनि कसुर गरेकी छन् र तिनी माथि पनि कारबाही हुनु पर्छ!
    कानुन अन्धो हुन्छ, धनि गरिब नारी पुरुष केहि हेर्नु हुन्दैन केवल कशुर हेर्नु पर्छ र कशुर गरे अनुसारको दण्ड पनि दीनु पर्छ !!

    Reply
  14. suzee says:
    July 27, 2013 at 4:54 pm

    यो समाज मा रामनाथ जस्ता मान्छे भएपछि कसको के लाग्छ, ####इज्जतिलो परिवार #### भन्नाले यहा ,,एक बयोबृद्दा १३ बर्सिय नाबालिका लै बलात्कार गरेर ५ आना जमिन दिएर सामसुम पार्ने पाशविकता बुझिञ्छ######जो चोर उसैकै ठुलो स्वोर, तेसो भए भेटवाल परिवार लै जुत्ता को माला र कालो मोसो लगईदियेमा केहि हुने रहेनछ , माला खोले भईहाल्यो , मोसो धोए भईहाल्यो #####

    रामनाथ नाम ले नै अलि संकेत गर्छ तिमि कुन जाति भनेर, हामी ब्लग हेर्ने हरुले बुझेकै कुरा हो, अरुलाई sarki ra kuni ke ke ho नाना थरि भन्ने तिमि चै धेरै धेरै नै पिछडिएको तुच्छ , virus रहेछौ .
    भन्नु त धेरै मुख भरिको जवाफ थियो , तर ब्लग मा तिमीजस्ता लै लामो जवाफ लेखेर समय खेर फाल्नु छैन.

    Reply
  15. Biraj Subedi, Fougeres, France. says:
    July 27, 2013 at 4:36 pm

    येहाँ सवाल कामि, बाहुन, सार्की, घर्ति, मगरको होइन/ सवाल हो समाज बस्ने निहुँमा एक अबला नारिमाथि भएको दुर बेब्याहरको अनि कानुनलाई आफ्नो हातमा लिएर गरेको कार्यको/ तसर्थ मित्रहरु जातको नाममा हिंसा फैल्याने काम नगरौ/

    Reply
  16. limbu paahim says:
    July 27, 2013 at 4:34 pm

    एस्तो जगन्य अमानबिय बर्बरता… घटनाको बारेमा बिदेसी डलर हसुर्ने महिला अधिकारकर्मिहरु बाट कुनै बिरोधको आवाज ननिस्किन्नुले उनिहरुमा पनि ईज्जतको अहंकार र डर देखियो ।

    Reply
  17. राम चन्द्र says:
    July 27, 2013 at 3:07 pm

    आफु निर्दोश छु भन्ने ले फेस बुक बाट हैन समाजको अगाडि प्रमाणित गरेर देखौनु पर्छ मुसो लुके झै लुकेर होला त ? लात हान्न सक्ने ले अरु गरेन भनेर हामीले कसरी पत्याउने ?

    Reply
  18. ram nath says:
    July 27, 2013 at 2:29 pm

    जीवन को बाबु को भनाइ सहि हो. मनोज कामि र त्यो सर्किनी मिलेर एउटा इज्जतिलो परिवार लाइ लगाएको बलात्कार को आरोप चाहि के हो?

    Reply
    1. Jiwan says:
      July 27, 2013 at 3:09 pm

      घिर्नित सोच मानबिय सोच छैन तपाईमा !!!

      Reply
      1. Prakash Sigdel says:
        July 27, 2013 at 7:23 pm

        तपाईले भनेको सहि मा सहि मिलायो भने मानबिय सोच हुने नत्र नहुने है !

        Reply
        1. Jiwan says:
          July 28, 2013 at 12:32 pm

          सहि मा सहि भन्दा पनि हामी सहि र गलत छुटयौन . सक्ने दिमाग भगवानले दिएका छन् . मात्र त्यो प्रयोग गरेर हेर्नुस आफै जान्नु हुन्छ..एउटा मानब भएर जन्मे पछि मानवता के हो विचार गर्नुस ,

          Reply
    2. Biplav Ghimire says:
      July 27, 2013 at 3:12 pm

      टिवी हेर्न आउदा बलात्कार गरेर पाच कठा जग्गा दिएर सामसुम पर्ने पनि इज्जतिलो परिवार हुञ्छ तोरिलौरे

      Reply
      1. Siri says:
        July 28, 2013 at 1:01 pm

        भिडतन्त्र त यता’नि देखियो . को सहि को गलत भन्ने अनुसन्धान हुदैछ . हाललाइ आ-आफ्नो बिचार मात्र भने ठिक होला, न्यायधिश नै बनि हाल्नु त भएन नि .

        Reply
        1. bibek dhakal says:
          July 28, 2013 at 5:42 pm

          कालो लाइ कालो , रातो लाइ रातो भन्न न्यायाधिस बन्नु पर्दैन! अनुसन्धान ले सायद जीवन भेटवाल निर्दोष देखाउला तर यहाँ मुख्य कुरा दलित प्रति उपल्ला जातका हरुले गरेको व्यहवार हो – जसको लागि कुनै अनुसन्धान को रिपोर्ट आउनु जरुरि छैन….
          काँच जस्तै छर्लंग छ, पाए सम्म इनिहरुले दलितहरुलाई हेपी रहन्छन, यहा मात्र हैन देशभरी, गाउँ, सहर, जता ततै…..त्यसैले यी उपल्लो जात भनाउदा हरुको सेखी नझारे सम्म केहि हुने वाला छैन!

          Reply
    3. Paru says:
      July 27, 2013 at 4:02 pm

      हो राम नाथ जी सारही इज्ज़तिलो परिवार हो नि जसको मुखिया लै नै बलात्कार को आरोप लागि सकेको छ. just because they are so-called upper cast doesn’t get “izzat” . look at your language- tyo “kaami” and “sarkini” re timi chahi “kaatte bahun?”

      Reply
    4. बले says:
      July 28, 2013 at 12:09 pm

      एस्तो अस्भये विचार भाको मान्छे को नाम कसरि राम नाथ भयो बा ? गज्जब छ /
      बचिराहे के के देख्नु/सुन्नु पर्ने हो /

      बले

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme