Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यो फोटो त फिल्म सुटिङको दृश्य पो रहेछ

Posted on July 14, 2013July 14, 2013 by Salokya

NPC-NW-SN-a-0119
पीजे क्लबले आयोजना गरेको यसपालिको नेपाल फोटो प्रतियोगिता २०६९ मा ‘न्युज’ विधामा जजहरुले अन्तिम चरणमा छानेको तर पुरस्कार नजितेका फोटोहरु हेर्दै गर्दा यो फोटोले एकदमै आकर्षित गरेको थियो मलाई। वाह, आन्दोलनकारी विद्यार्थीको आक्रोशलाई कति गज्जबले क्याप्चर गर्न फोटोग्राफर सफल भएको ! के खाएर हुनु, यो त एक्टिङ पो रहेछ। एउटा चाइनिज फिल्म ‘अप इन द विन्ड’को सुटिङको दृश्य रहेछ ! त्यो सत्य नखुलाई विद्यार्थी-प्रहरी भिडन्त भन्दै क्याप्सन लेखी ‘न्युज’ फोटोको रुपमा प्रतियोगितामा पठाइएको रहेछ। धन्न, यो फोटोले कुनै पुरस्कार जितेन, नत्र आयोजक र निर्णायकहरुप्रति थुप्रै प्रश्न उठ्थे। पुरस्कार फिर्ता लिनुपर्ने हुनसक्थ्यो। किनभने ‘एक्टिङ’को फोटोलाई ‘न्युज’ विधामा राख्न कुनै पनि हालतमा मिल्दै मिल्दैन।

यो दृश्य नगरकोटमा सुटिङ गरिएको रहेछ। फिल्मको लागि आवश्यक दङ्गाको दृश्य सुटिङ गर्न नाटकीय वातावरण बनाइएको रहेछ। त्यसैको फोटो खिचेर साथीले पठाइदिएछन् न्युज फोटोमा। न्युज फोटोमा वास्तविक घटनाको दृश्य हुनुपर्छ। यसमा सबै कुरा रियल हुनुपर्छ, एक्टिङ हैन। कुनै फिल्म सुटिङको दृश्यलाई साँच्चिकै भएको घटना जस्तो लाग्ने गरी झुक्याउने गरी फोटो पठाउनु ‘फ्रड’ कामै हो।

फोटोको क्याप्सनमा सबै कुरा नखुलाउनु पनि उनको अर्को गल्ती हो। भन्नलाई त एउटा फोटोले हजार शब्दले वर्णन गर्न नसकेका कुरा प्रष्ट्याउँछ भनिन्छ। तर केही शब्द क्याप्सन नलेखी त्यो फोटो पूर्ण हुँदै हुँदैन। फिल्म सुटिङकै दृश्य भए पनि उनले क्याप्सनमा त्यो खुलाएर न्युज बाहेक अर्को विधामा पठाउन सक्थे।

आयोजक र निर्णायकलाई पाठ !
फोटो पत्रकारहरुको अर्को संस्था रेखा थापालाई ‘प्रेस’ लेखिएको ज्याकेट भिडाएर मोडलिङ गराउँदै भित्ते पात्रो निकाल्न व्यस्त भइरहेको बेला व्यवसायिक फोटो पत्रकारहरुको यो समूह पीजे क्लबले विगत तीन वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दैछ। प्रतियोगिता र त्यसपछि हुने प्रदर्शनी अहिलेसम्मकै सबैभन्दा ठूलो राष्ट्रिय स्तरको फोटो प्रतियोगिता तथा प्रदर्शनी हो। यो प्रतियोगिताले फोटो पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान दिएको छ। फोटो आउने क्रम हरेक वर्ष बढ्दै गएको छ भने हरेक वर्ष झन् झन् राम्रा राम्रा फोटो आइरहेका छन्। व्यवसायिक मात्र हैनन्, शौखिन फोटोग्राफरहरुका पनि राम्रा फोटो हामीले यस प्रतियोगितामा देख्न पाइरहेका छौँ।

तर प्रतियोगिताको विस्तारसँगै यसको गुणस्तरमा चुनौति थपिँदै जान्छ। फोटो धेरै आउँछन् तर छान्न निर्णायकलाई गाह्रो हुँदै जान्छ। एमेच्योर र प्रोफेसनलहरुले नियम अनुसारको फोटो पठाएका छन् कि छैनन् त्यो हेर्नुपर्ने हुन्छ। समाचार विधाको व्याख्या आयोजकले यस्तो गरेको थियो-

शिखर सु समाचार फोटो : फोटो, जसले समाचार भनुन। राजनीति, समाज गतिविधि, अर्थ वा खेलकुदका समसामयिक विषयमा आम जनतालाई सुसुचित गर्ने खालका फोटो समाचार फोटोको विधामा समेटिन्छन्। यो विधाका लागि वर्ष २०६८ मा क्याप्चर गरिएका फोटो मात्र लायक हुनेछन्। कुनै सञ्चार माध्यममा प्रकासित वा अप्रकासित सबैखाले फोटो स्वीकार्य हुनेछन्।

के यो फोटोले कुनै ‘समाचार’ भन्छ ?

सञ्जीव नेपालीको यो फोटो विवादले भविष्यमा आयोजक र निर्णायकहरुलाई यो प्रतियोगिता अझै स्वच्छ र जिम्मेवार बनाउन प्रेरणा दिनेछ भन्ने आशा गरौँ।

कसरी पत्ता लाग्यो ?

प्रतियोगितामा अन्तिम चरणमा पुगेका १५० फोटोहरु मध्ये आफूलाई राम्रा लागेका केही फोटोहरु ‘सुको नजितेका तर राम्रा फोटोहरु’ शीर्षक ब्लगमा राखेको थिएँ। त्यही हेरेपछि कञ्चन नामका एक पाठकले मलाई इमेलमा थर्काए- के हो, जथाभावी क्याप्सन लेख्ने ? फिल्म सुटिङको दृश्यलाई आन्दोलनको दृश्य भन्ने ?’

म खङ्ग्रङ्गै भएँ। मैले बढी जान्ने भएर क्याप्सन त बिगारेनछु भनी हेरेँ। अहँ, फोटो खिच्ने सञ्जीव नेपालीले अङ्ग्रेजीमा लेखेको क्याप्सन यस्तो थियो- Rioting students clash with the Armed Police Force.

मैले क्याप्सनमा लेखेको थिएँ- सरकारविरोधी आन्दोलनका क‌्रममा विद्यार्थी र प्रहरीबीच भएको घम्साघम्सीको यो फोटो पेशाले विद्यार्थी सञ्जीव नेपालीले खिचेका हुन्। अङ्ग्रेजी क्याप्सनहरुको ठ्याक्कै अनुवाद गर्दा मिल्दैन त्यही भएर भावानुवाद गरेको थिएँ। दोहोर्‍याएर हेर्दा पनि गल्ती जस्तो नलागेपछि जवाफ ठोकेँ- “मैले फोटोग्राफरले जे क्याप्सन लेखेका थिए, त्यही लेखेको हुँ। तपाईँको कुरा पत्याउने आधार चाहिँ के ?”

“त्यो दृश्यको सुटिङ मैले आफ्नै आँखाले देखेको हुँ”, उनले जवाफ फर्काए- “नगरकोटमा सुटिङ भएको हो यो। तीन दिन नगरकोट किन्देको थियो चाइनिजहरुले, नगरकोट ठप्पै।

“ल हेर्नुस् फोटो त्यतिबेलाको” भन्दै उनले फोटो पठाए-

Kan Chan1
यो फोटोमा देखिएका हरियो लुगा लगाउने मान्छे माथिको सञ्जीव नेपालीले खिचेको फोटोमा सबैभन्दा दायाँ प्रहरीसँग घम्साघम्सी गर्दै गरेको देखिन्छ।

Kan Chan2

थप फोटो यहाँ हेर्न सकिन्छ

भिडियो हेर्नुस्-

19 thoughts on “यो फोटो त फिल्म सुटिङको दृश्य पो रहेछ”

  1. Nabraj says:
    July 15, 2013 at 10:04 am

    खुब रास्ट्रीयता को बखान गर्ने पत्रकार बन्धु हरु को TV channel लाई त चाइनिज ले किन्देचन अरु को त क कुरा l भिडिओ हेरेर पो थाहा भयो l

    Reply
  2. Pawan Khanal says:
    July 15, 2013 at 2:34 am

    पुरस्कार त पाएन नै नाम पनि खराब गर्यो / स्वाभिमान भन्ने कुरा रत्ति भर नभए पछि जनतालाई त के रास्ट्रपती लाई त झुक्याए / जबकि रास्ट्रपती संग विद्वान पढेलेखेका धेरै बुद्धि भाका को ठुलै समूह हुन्छ होला /

    Reply
  3. Narayan says:
    July 14, 2013 at 11:45 pm

    कत्ति मज्जा न त कुद्नु पर्यो न त दुख पाउनु पर्यो रमिता पनि हेरियो काम पनि गरियो दिमक लाइ त मान्नै पर्छ बा

    Reply
  4. Pratik says:
    July 14, 2013 at 11:17 pm

    This guy is a perfect candidate to become a successful politician in Nepal.

    Reply
  5. Dharma acharya says:
    July 14, 2013 at 9:42 pm

    यो फ्रौद फोटो पनि यो सन्जिब भन्ने मान्छेले खिचेको होइन जस्तो पो लग्यो त मलाई त

    Reply
  6. Prakash says:
    July 14, 2013 at 9:25 pm

    Salokya ji,
    You are one of the best journalists in the country. You not only, bring new news, you continue to follow up and correct any misunderstandings as they comp up. Keep up the good work.
    Prakash

    Reply
  7. shankar pun says:
    July 14, 2013 at 6:19 pm

    हाम्रो देशमा येस्ता धुर्त्याई गर्ने लाई चलाक,बाठो भन्ने चलनले येस्ता प्रवृति सामान्य भै सके आजको नेपाली जमानामा,जहाँ ठगहरुका बोलि बिक्छ सोझो इमानदारलाई लाटो भनि इल्ली बिल्ली पार्ने समाजमा यो कुनै नौलो र समाचार मुलक घटना होइन |

    Reply
  8. योगेन्द्र says:
    July 14, 2013 at 6:05 pm

    केही बर्ष अगाडिको अनुजा बानिया काण्डको पो याद आयो, पहिले राष्ट्रपतिनै झुक्केका थिए, अहिले पीजे क्लब।

    Reply
  9. Bibek Dhakal says:
    July 14, 2013 at 5:26 pm

    सायद अभिनय यति जीवन्त थियो कि हाम्रो फोटोग्राफर मित्रले शूटिंग हो कि साचिकै भिडन्त हो पत्ता लाउन नसकेको होला :p

    Reply
  10. yubaraj says:
    July 14, 2013 at 5:16 pm

    फटाहा( नेता) हरु को माझ मा अर्को फटाहा निस्केछ / नेता बन्ने स्वभाब रैछ त

    Reply
  11. राम चन्द्र says:
    July 14, 2013 at 5:07 pm

    तेसैले त मलाई पहिलेइ सन्का लागेर कमेन्ट गरेको थिये यस्तो पनि कही विद्यार्थी हुन्छ भनेर ।

    Reply
  12. बासु says:
    July 14, 2013 at 5:02 pm

    पिजे क्लबले संजिव नेपाली र उसका फोटोहरु भविष्यमा प्रतियोगिताकोलागि पूर्णतया निषेध गर्ने | यानेकि संजिव नेपालीलाइ ब्ल्याक लिष्टेड गर्ने |

    Reply
  13. neerose says:
    July 14, 2013 at 4:09 pm

    छाक्यैदेछ सबलाई!
    मुर्ख बनाइदेछ सबैलाई!
    हुन त अहिले पर्दा उघ्रेपछि मलाइ त लाग्याथ्यो भन्नुको तुक छैन, बाठो बन्याजस्तो हुन्छ!
    तै पनि, यो फोटो हेर्दा मलाइ कताकता प्राकृतिक निख्खारताको अभाब खट्केको थियो!
    अलि बनाओटि जस्तो लाग्या त थ्यो तर सधै प्रहरी र विद्यार्थीको भिडन्त भै रहने देशमा एकाध फ़ोटोमाथि के कमेन्ट ठोक्नु र भनि चुप लाग्या हो!
    आखिरमा सत्य त उदान्गीहाले छ!
    अब यो फोटोकार लाइ हामि सबैलाई मुर्ख बनाउन सफल भयको मा पुरस्कार दिउ ताकि यसले दुइ पांच केहि बर्ष फ़ोटै नखिचोस खिचेपानी हामीले देख्न पर्ने बाध्यता नअओस!

    Reply
  14. amar says:
    July 14, 2013 at 4:00 pm

    अब उसलाई केहि सजाय हुन्छ ? कि हुदैन ?

    Reply
  15. Ujjwal pujari says:
    July 14, 2013 at 3:46 pm

    मलाई पनि प्रदर्शनीमा धेरै मन परेको फोटो मध्ये को एक थियो यो फोटो ..तर एस्तो कुरा सुन्दा धेरै नै अचम्म लाग्यो. ” बर्तमान परिस्थिति झल्काउने एउटा चलचित्र को दृश्य ” क्याप्सन लेखिएको भए पनि केहि हद सम्म ठिक हुन्थ्यो कि जस्तो मलाई लाग्यो, तर Rioting students clash with the Armed Police Force. लेखि news विधामा पथाइनु चाहिं सिधै झुक्याउन खोज्नु सरह नै लाग्यो मलाई चाहिं …

    Reply
  16. Sara says:
    July 14, 2013 at 3:28 pm

    मान्छे मा नैतिकता नभए पछि खै के भन्ने!!!

    Reply
  17. Prakash says:
    July 14, 2013 at 1:31 pm

    एस्तो धुर्ताई हेर्दा चै समातेर दुइ चढ़कन हान्न मन लाग्ने के| राम्रो कामलाई बिगार्ने धमिराहरु येस्तै हुन् खोजि खोजि अर्को चोटी देखि फोटो apply गर्न दिनु हुन्न यीनलाई. यी र येस्तै ले सफा कुरालाई दुसित पार्छन.

    Reply
    1. Shree... says:
      July 14, 2013 at 6:43 pm

      चड्कन हैन साथि, बरु नियममा बाँधेर कारबाही गर्नु जरुरि देख्छु, ताकि पछि फेरि पनि एस्तो नहोस! चड्कन हान्यो भने तेस्लाई मात्र दुख्छ र फेरि गर्नलाइ प्रतिसोध कारक हुन्छ, कारबाही गर्यो र नियम बनायो भने, भबिस्यमा फेरि गर्नलाइ निरुत्साहित हुन्छ, ताकि तेस्ता सबैलाई चड्कन हो, नेपाल बिग्रिदैं गाको येस्तै चड्कन हान्ने प्रबितीले गर्दा हो, चेतना भया!

      Reply
  18. Rahul says:
    July 14, 2013 at 12:08 pm

    This guy, Sanjeev nepali, has done such fraud things before…beware

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme