Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फेरि ११ महिने पात्रोको चर्चा

Posted on July 5, 2013July 5, 2013 by mysansar

वर्षमा १२ महिना हुन्छ र ३६५ दिन। हरेक चार वर्षमा एक दिन थपेर ३६६ दिन हुने कुरा पनि सामान्य नै हो। तर वर्षमा ११ महिना ? एक महिना पूरै गायब ! कस्तो होला ?

नेपालमा पर्व सुधार गर्न ०६३ मंसिर ८ गते मन्त्रिपरिषद्ले गठन गरेको कार्यदलले सरकारलाई ०६६ को चैत हटाई ११ महिनाको वर्ष लागू गर्न सुझाव दियो। तर यो ज्योतिषको सैद्धान्तिक गणितीय, धार्मिक, सांस्कृतिक र सामाजिक परम्पराविरुद्ध भएको आरोप लगाउँदै पञ्चाङ्ग निर्णायक समितिसँग नजिक रहेका स‌ंस्थाहरु आन्दोलनमा उत्रिएर राष्ट्रपतिलाई समेत गुहारे। माओवादी सरकारले परम्परा नष्ट पार्न खोजेको आरोप लगाइए। अन्ततः २०६६ साल १२ महिना कै भयो।

तर अहिले फेरि ११ महिने पात्रोको चर्चा चलेको छ। २०७१ सालको पात्रो ११ महिनाको गर्ने तयारी भइरहेको र यसका लागि सरकारले पञ्चाङ्ग निर्णायक समितिलाई पुनर्गठन गरेको आरोप छ।

सरकारको यो कदमको विरोध गर्न फेरि पनि संगठनहरु जुर्मुराएका छन्। यसका लागि नेपाल ज्योतिष परिसदले एक संघर्ष समिति गठन गर्ने विज्ञप्ति परिषद अध्यक्ष डा. Software development Ukraine with Echo. लोकराज पौडेलले जारी गरिसकेका छन्।

खासमा ११ महिने पात्रो बनाउने र नबनाउनेमा दुई धार यहाँ छ। यसबारे कान्तिपुरमा २०६८ सालमा फरक धारका प्रतिनिधिहरुको अन्तर्वार्ता छापेको थियो। सान्दर्भिक भएकोले त्यही यहाँ साभार गरिएको छ-

११ महिने पात्रोको पक्षमा

जयन्त आचार्य, उपप्राध्यापक, बाल्मिकी क्याम्पस

के हो पर्व सुधार ?

हाम्रा चाडपर्वहरू पहिले आकाशीय ग्रहसँग ठयाक्क मिल्थे, करिब १ हजार वर्षदेखि मिल्न छाडेकाले यसमा सुधार आवश्यक परेको हो । हरेक ७२ वर्षपछि १ दिन घट्छ । यस हिसाबले अहिले हामी २४ दिन पछाडि छौं । चैत ७ गते नै नयाँ वर्ष हुनुपर्ने ढिलो भइसक्यो ।

सुधार नहुँदा कस्ता असर परेका छन् ?

धेरै असर परेको छ । जस्तैः साउन १ गतेबाट पृथ्वी दक्षिणतिर जान्छ । त्यही दिन हामी लुतो फाल्ने संक्रान्ति मनाउँछौं । तर अहिले तिथिका आधारमा यो अगाडि सरेर असार सातमा पुगेको छ । त्यस्तै माघ १ गतेदेखि पृथ्वी उत्तरतिर लाग्छ, तर माघे संक्रान्ति पुस ७ गते नै सरिसकेको हुन्छ । त्यस्तै वैशाख १ गते दिन र रात बराबर हुने दिन चैत ७ गते पुगेको छ ।

यसले के बिगारेको छ र ?

अहिले केही पनि हुन्न, तर कालान्तरमा बिगि्रने क्रम बढ्दै जानेछ । जाडो साउन, भदौमा हुनेछ भने पुस, माघमा वर्षा हुनेछ । त्यस्तै, शास्त्रीय मान्यता खलबलिनेछ । उत्तरायणमा गरिने कर्म दक्षिणायनमा सर्नेछन् । यो एक-अर्काको विपरीत हुनेछ । यो बुझ्न हाम्रो मुलुककै प्रहरीको पोसाक नीति गतिलो उदाहरण हो । अहिले प्रहरी लगायतका सुरक्षाकर्मीले कात्तिक १ बाट जाडोको लुगा लाउँछन्, फागुन मसान्तसम्म । केही वर्षअघि कात्तिक १५ देखि मात्रै लाउँथे । त्यस्तै, निजामती सेवामा हिउँद र गर्मीको कार्यालय समयको नीति पनि यसरी नै सारिसकिएको छ । यो पनि एउटा असर हो ।

यो हाम्रोमात्र किन टाउको दुखाइ, संसारमा अरूको पनि बिगि्रएको होला नि ?

अवश्य तर पश्चिमा मुलुकहरूमा पहिले नै मिलाइसकेको छ । युरोपमा १५ औं शताब्दीको मध्यतिर इस्वी संवत् सुधार गरिएको थियो । बेलायत, जर्मनी, रसिया आदि मुलुकले त्यसबेला नै मिलाइसके र अंग्रेजी क्यालेन्डरमा प्रत्येक वर्ष २० मिनेटका दरले मिलाउने पद्धति अपनाएको देखिन्छ ।

नेपालमा किन विरोध भयो ?

नबुझेर, धेरैले खगोलशास्त्र बुझेकै छैनन् ।

पञ्चाङ्ग निर्णायक समितिले पनि विरोध गर्‍यो नि ?

पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष नै ज्योतिष नपढेका मान्छे हुन् । अझ यस विषयमा बुझ्न त गणित ज्योतिषको ज्ञान हुनु आवश्यक छ ।

सबै ज्योतिष एउटै होइन र ?

होइन, ज्योतिष दुई किसिमका छन्- गणित ज्योतिष र फलित ज्योतिष ।

यी दुईमा के फरक छ ?

गणित ज्योतिषले गणनाको काम गर्छ । जस्तो- ग्रहण कहिले हुन्छ ? कुन ग्रह कहिले उदाउँछ, अस्ताउँछ आदि । फलित ज्योतिषीलाई पात्रो गणना गर्ने र्फमुला आदि दिने काम गर्छ भने फलित ज्योतिषले फलादेश गर्ने गर्छ । यसलाई र्फमुला कसरी बन्छ, कुन तारा हो, कुन ग्रह हो आदि केही थाहा हुँदैन ।

देशभरिका ज्योतिषी संस्थाहरूले विरोध गरेका छन् नि ?

नेपालका ज्योतिषी संस्थाहरूले विरोध गरेका छन् ।

किन विरोध गरेका हुन् ?

नेपालमा जति पनि ज्योतिषी संस्थाहरू छन्, ती सबै फलित ज्योतिषसँग सम्बन्धित छन् । गणना पद्धति नयाँ आउँछ । फलित ज्योतिषीहरू यो सुधार भयो भने आफूले गर्दै आएको ज्योतिष पेसामा कसरी परिवर्तन गर्ने भन्ने भएर विरोध गरेका हुन् । उनीहरू यो परिवर्तन गरेपछि आफ्नो फलादेशमा नमिल्ने हुन्छ कि डरले यसको विरोधमा लागेका छन् । जुन कुरा सत्य होइन । परिवर्तनपश्चात् उनीहरूको फलादेश अझ सूक्ष्म हुन जान्छ र अझ धेरै मिल्ने हुन्छ ।

त्यसो हो भने किन विरोध गरेका हुन् त ?

एक, नबुझेर । अर्को, उनीहरूसँग चिना-टिपन बनाउने सफ्टवेयर छ, जसमा परिवर्तन गरेपछि कसरी गर्ने भन्ने डरले विरोध गरेका हुन् ।

मिलाउने नाममा एक महिना नै लोप गर्न खोज्नुभएको छ ? कसरी ?

होइन कुनै पनि महिना लोप हुने होइन, यसलाई एउटा उदाहरणबाट बुझौं, जस्तो एक जना मानिसको घडी एक घन्टा ढिलो चलिरहेको छ । कुनै दिन उसलाई थाहा भयो कि घडी ढिलो छ । त्यस दिन उसले त्यो घडीलाई ठीक बनाउँदा त्यस मानिसका लागि त्यो दिन २३ घन्टाको दिनरात हुन्छ कि २४ घन्टाको दिनरात हुन्छ । वास्तवमा २४ घन्टाकै दिनरात हुन्छ । तर त्यस मानिसका लागि त त्यस घडीमा २३ घन्टाको दिनरात भयो नि हो यस्तै हो हामीले बुझ्दा एक महिना लोप भएजस्तो भए पनि वास्तवमा लोप हुनै सक्दैन र हुँदैन ।

तपाईंहरू अधिकमासलाई साधारण महिना मान्ने भन्नुहुन्छ । के यो शास्त्रसम्मत छ ?

हो, यस तरिकामा पहिलो वर्ष अधिकमासलाई साधारण मास मान्ने भनिएको छ र यो शास्त्रसम्मत नै हो । पहिले पनि अधिकमासलाई साधारण महिनासरह मानिएका उदाहरण शास्त्रमा नै भेटिन्छन् ।

पहिले-पहिले मिलाएको इतिहास भेटिन्छ ?

भेटिन्छ । भारत वर्षका विद्वान् आर्यभट्ट, बराहमिहिरले यसको ज्ञान गरी मिलाएको उदाहरण छ ।

विक्रम संवत् हटाई इस्वी संवत् लगाउन खोजिँदै छ रे ?

यसको म पनि विरोधी हुँ । विक्रम संवत् नै लागू हुनुपर्छ । तर यसलाई सुधार्नुपर्छ भन्ने हाम्रो धारणा हो ।

‘२०७२ साल ११ महिने हुन दिन्नौं’

प्रा.डा.माधव भट्टराई,तत्कालीन अध्यक्ष, पञ्चाङ्ग निर्णायक समिति

पर्व सुधार कार्यदलको प्रतिवेदनप्रति सहमत हुनुहुन्छ ?

छैन । यसले धार्मिक, सांस्कृतिक परम्परालाई खलल पार्छ ।

खगोलशास्त्रीहरूले विक्रम संवत् २४ दिनअघि पुगिसक्यो भनेका छन्, सुधार्नुपर्ने बेला त भयो नि ?

त्यो त हाम्रो पुर्खालाई पनि थाहा भएको कुरा हो । म पनि स्विकार्छु । तर एक दिन समय फर्केर ठीक टाइममा आउँछ । पेन्डुलमजस्तो आफैं ठीक ठाउँमा आउँछ । तर धार्मिक निर्णय हुनुपर्छ । यो विषयमा धर्मसिन्धु लगायतका धार्मिक पुस्तकमा हजार वर्षअघि लेखिएको छ ।

किन विरोध भयो ?

विक्रम संवत् हटाई इस्वी संवत् लगाउन खोजिँदै छ, त्यसैले विरोध भएको हो । विक्रम संवत् निश्चित समुदायको मात्र होइन, यो सबै जातजातिको संवत् हो । थारू समुदायले माघी मनाउने होस् वा गुरुङको ल्होसार यसै संवत्मा आधारित छ । अर्को कुरा, यसको नेतृत्व गर्नेहरू गैर-खगोलशास्त्री पनि भए । त्यस्तै, सरकारको काम पर्व सुधार्ने होइन । यो काम धर्मगुरुहरूको जिम्मा छाडिनुपर्छ । सरकारले विकास गर्ने हो । पञ्चाङ्ग निणर्ायकसँग समानान्तर हुने कमिटी बनाउने होइन ।

आगामी २०७२ सालमा मलमास छ । त्यो वर्ष ११ महिनाको बनाउने हल्ला छ नि ?

म हुन दिन्न । म रहुँला वा नरहुँला । मलाई मान्नेहरूले पनि त्यो लागू गर्न दिने छैनन् ।

तपाईँलाई के लाग्छ ? पर्व सुधार गर्न ११ महिने पात्रोको अवधारणा कस्तो छ ? ११ महिने पात्रो सरकारले लागू गर्‍यो भने तपाईँको प्रतिक्रिया के रहनेछ ? आफ्नो विचार तल कमेन्टमा लेख्नुहोला।

29 thoughts on “फेरि ११ महिने पात्रोको चर्चा”

  1. mekh shrestha says:
    July 10, 2013 at 10:24 pm

    हो ! बारोऊ महिनामा जन्मनेहरुको त जन्म दिननै हराउने भयोनि…….
    हा… हा… हा…

    Reply
  2. Bhim Prasad Guragain says:
    July 8, 2013 at 8:20 pm

    नेपाली पात्रोलाई प्रहर गर्नु भनेको नेपाली धर्म संस्कृतिलाई प्रहर गर्नु र यसमा निर्धारित धर्म संस्कृतिहरुलाई क्षतविक्षत् पर्नु हो मिलेर बसेका हामी नेपाली माझ वैमनुश्यता उत्पन्न गराउनु हो र पश्चिमी धर्म संस्कृति हामीमा लाद्नु हो , हामीमा हाम्रो पात्रोमा केहि खराबी कमजोरी छैन यो कमीकमजोरी पश्चिमी पात्रोमा होला? कुनै ग्रह नक्षत्रको गणना र भविष्यबानीमा गलत साबित भएको छैन र अहिलेको प्रविधिको बिकाशसंगै विभिन्न अध्ययन अनुसन्धान पनि बढ्दै गयो NASA ले पनि अबको ६ र ७ कम्प्युटर संस्करणमा संस्कृत भाषाको प्रयोग हुन्छ भने कुराको पुष्टि भै सक्यो साथ् साथै वेद र पुराण माथिको सत्यता साबित भइसक्यो ! यसैको डरले गर्दा झुटको आधारशिलामा खडा गरिएको सभ्यता ढल्ने पक्का भए पछि यसलाई कसरी जोगाउने भन्ने कुराले गर्दा ति वैरीहरुले हामीमा संस्कृतिक धार्मिक र ऐतिहासिक आक्रमण गर्ने ध्येले यो चाल चले र यस कुरा चलाउन केहि बिकाउन नेपाली कुपुत्रहरुको प्रयोग गरेको पक्का हो ! हामी हजारौं बर्षदेखीको कुरा गराउन बिक्रम संवत र इस्वी सम्बतको इस्वी संवतमा लिभ इयर प्रत्येक ४ बर्षमा २९ फेब्रुअरी बनाएर सुधार गरिएको छ भन्ने गरिन्छ तर हामीले बिक्रम सम्बतमा सुधार नगरे पनि प्रत्येक बर्षको इस्वी सम्बतको जनवरी पौष १७ गते नै पर्छ कि ? ? के उनीहरुले सुधारिएको र हाम्रो नसुधरिएको गलतमा यो समानान्तर किन आउँछ ?? हामीमा कुनै गलत छैन गलत उनीहरुमा छ त्यसलाई सुधार्न हामीमा गलत देखेर उनीहरुको गल्ति धकना चाहन्छन त्यो हो पश्चिमी ज्योतिषी गणनामा मार्च २१ मा सुर्य मेष राशिमा जान्छ र अप्रिल २० सम्म रहन्छ यो सामान्यता हाम्रो पात्रोमा बिक्रम सम्बत अनुसार चैत्र ८ गते बाट बैशाख ७ गते पर्छ तर हाम्रो ज्योतिषमा गणनामा सुर्य अप्रिल १३/१४ बाट मेष राशिमा प्रवेश गरेर मे १४ सम्म रहन्छ यो बैशाख १ गते बाट ३१ गतेसम्म हुन्छ ! यहि हाम्रो मा उनीहरुको २४ दिन पहिले सुर्य मेष राशिमा प्रवेश गर्ने पात्रोमा भएको गल्तीलाई नै सत्य साबित गर्ने उद्देश्यले हामीमा बिकाउने ज्योतिष भन्ने नेपाली कु पुत्रको प्रायो गरेको ले नै पर्व सुधारको खेल डलरले गरेको हो ! यसलाई हामी सचेत नागरिकले कुनै हालत स्वीकार गर्नु हुन्न ! अर्को तिर उनहरुको अर्को तर्क छ सुर्य पहिले भन्दा २४ दिन चांडो अर्को कक्षमा प्रवेश गर्छ त्यो कुरा गलत भने होइन तर उनीहरुले भने जस्तो २४ दिन न भए पनि केहि परिवर्तनभने पक्कै भएको हो त्यो मानवीय क्रियाकलापले हो ! मानिसहरुको घनाबस्ती पृथ्वीको ऊतरि गोलार्द्धमा छ तर उनीहरुको अनियन्त्रि क्रियाकलापले गर्दा सिचाई र जलबिधुतको लागि पानीको मास्टर यो क्षेत्रमा संचय भयो भने अर्को निर्माणले गर्दा केहि वजन यस क्षेत्रमा बाधन गएकोले नै पृथ्वीले आफ्नो कक्षमा परिक्रमा गर्दा यसको गतिमा परिवर्तन भएको हो यस कुरा मा उनीहरुको अध्ययन अल्प भएको छ अरु केहि होइन ! आफ्नो कुरा साँच्चो बनाउन अरुलाई झुटो देखाउन र आफु ठुलो हुन्छ अरुलाई सानो पर्नु भन्दा पनि संचाई के त्यो हुनु पर्यो यहि नै हामी नेपाली को चाहन हामी सम्पूर्ण नेपालीहरु हो ! अर्को कुरा बिक्रम सम्बत कुनै राजाले चलाएको नभएर यो सुर्य सिद्धान्तमा हो बिक्रम कुनै राजाको मात्रै नाम नभएर यो सुर्यको अर्को नाम हो अनि यो सम्बत र चाड नेपालीमा मात्रै सिमित नभएर सम्पूर्ण सनातन हिन्दुले अपनाउने हो उत्तर पुर्व, दक्षिण उत्तर पश्चिम भारत देखि लिएर श्रीलंका र हिन्दुहरुको बसोबास भएको स्थानहरुमा पनि यसलाi अधार मानेर नै पात्रो निकालिन्छ यस कुरामा उनीहरु संग पनि केहि सरोकार हुने कुरा बुझ्नु पर्ने हुन्छ!

    Reply
  3. bikram says:
    July 8, 2013 at 9:42 am

    खै किन सार्नु पर्ने हो…खुरुक्क वर्षई पिछे एक एक दिन घट बढ गर्दै गरे त २४ बर्ष पछि त कुरा आफै मिल्छ नि हैन र…

    Reply
  4. अक्रम श्रेष्ठ says:
    July 7, 2013 at 12:59 am

    लौ न नि.. मेरो जन्म दिन त गायब हुने भयो..लौ न अब म के गरु…………………..बचाऊ बचाऊ बचाऊ

    Reply
  5. चक्रे says:
    July 6, 2013 at 7:48 pm

    जम्मा २४ दिनको कुरो रहेछ, दुइ वर्ष लगाएर हरेक महिना १-१ दिन घटाउनु नि बरु, ६६ साल देखि ११ महिना भन्याछ बखेडा गरेछ… हुने चाही केहि होइन फेरि

    Reply
    1. hari adhikari says:
      July 10, 2013 at 3:37 pm

      त्यो भन्दा बरु ३१ को महिना लाई ३० को बनाए त हुन्छ नी

      Reply
  6. trilok says:
    July 6, 2013 at 11:25 am

    अहिले का ज्योतिषी हरुले ब्लैक होल को हाम्रो जीवन मा प्रभाव पर्ने बारे के भन्छ ! किन भने धेरै पहिले हाम्रा ज्योतिशिहरु लाई ब्लैक होल थियो भन्ने बारे ज्ञान थिएन! यसकारण हाम्रा ज्योतिषी हरुले तेस्को बारे उल्लेख गरिएन !

    Reply
  7. Tenzing Gaba says:
    July 6, 2013 at 10:55 am

    बुहारीले काम पाइनछे,
    अनि पाडोको नाइटो कन्याईछिन
    ***********************************
    अब ११ महिनाको बर्ष बनाए भने नेपाल बन्द गर्नु पर्छ है

    Reply
  8. avaya says:
    July 6, 2013 at 2:18 am

    सुधार आवस्यक देखिन्छ
    माथि भने जस्तै , नेपालका अधिकांस ज्योतिसहरु
    फलित ज्योतिस (चिना टिपन हेर्ने ), तेस्मा पनि धेरै जसो अल्प ज्ञाने
    तेसैले धेरै विरोध भएको होला,

    जहाँ सम्म , सम्बत परिवर्तन गर्ने कुरो छ

    जुन सुकै सम्बत लियाया पनि, धार्मिक र सास्कृतिक
    पक्षमा बिक्रम सम्बत नै प्रयोग हुन्छ, भारतमा पनि दशैं वा दिपावली लगायत का चाडपर्व ,
    बिक्रम सम्बत को calender बाट नै निर्धारित हुन्छ

    तेसैले अधिकारिक प्रयोगको निमित , इस्वी सम्बत प्रयोग गर्नुमा
    कुनै गलत कुरा हुन्छ जस्तो लाग्दैन मलाई त ,
    यसले आम सर्व साधरण लाई, झन् सजिलो हुन्छ
    जस्तो कि विदेश जादा , date translate गर्नु पर्ने झन्झट हुदैन

    याद राखौ, धार्मिक सामाजिक कुरो अर्कै हो ,
    जसलाई सरकार ले अपनाउने सम्बत ले असर गर्दैन
    अधिकांस मुस्लिम राष्ट्र हरु पनि , इस्वी सम्बत नै प्रयोग गर्छन
    तर उनीहरुका पर्व हरु , हिजरी सम्बत बाट नै हुन्छन

    Reply
  9. kusal says:
    July 5, 2013 at 10:42 pm

    कहिँ नभाको जात्र हाडीगाउ मा भने जस्तै हो. खाली नचाहिने नचाहिने कम गर्छन यिनी हरु
    नेपाल बाहिर को हिन्दुहरु कति respect गर्दो रहेछन नेपाललाई भनेर मा यहाँ आएर थाहा पाए/ विश्वको एकमात्र हिन्दु राष्ट्र भनेर अरु खुसि हुन्छन तर हाम्रो नेपालीलाई मतलब छैन / मान्छेहरु यहाँ sodhchan किन नेपाल लाई हिन्दु राष्ट्र बाट हटाएको भनेर , कति दुख maanchan तर क गर्नु खै….? हाम्रो नेताहरुमा कहिले buddhi पलाउने हो कुन्नि?

    Reply
  10. बेखालाल नेपाल says:
    July 5, 2013 at 10:24 pm

    कुरो के बिझेन भने हामी प्रतेक मंगलबार गणेशको पुजा बर्त बस्छौ, प्रतेक शनिवार शनिदेव पुजा अर्चना गर्छौ! अब यसरि खगोलशास्त्रको गणितले त प्रतेक दिन पनि अलि अलि गर्दै सर्ने रहेछ भन्दैमा के गणेश पुजा आइतबार बस्ने अनि शनिदेवको पुजा बुधबार गर्ने? यो उपप्राध्यापकज्युले स्पस्थ पर्नु पर्यो!

    Reply
  11. Rosab says:
    July 5, 2013 at 7:36 pm

    यो एउटा genuine issue हो. त्यसैले यसमा बृहत छलफल हुनु अति आओसयक छ/ येस्मा कुनै पनि committee वा व्यक्ति ले personal benefit को लागि भन्दा पनि कालान्तर हित को बारेमा सोचेर निर्णय गर्नु पर्छ/

    Reply
  12. Sam says:
    July 5, 2013 at 6:17 pm

    यसरि पुरै महिना गायब गर्नु भन्दा प्रत्येक महिना १ दिन ले घटाई दिने हो भने १,२ वर्ष मा आफै मिलि हाल्छ नि, तेस्पछि फेरी पुरानै दिन राखेर सुरु गर्दा भै हाल्यो |

    हुन त विक्रम सम्वत् कै पक्ष मा छु म तर के साच्चै नै विक्रम सम्वत् हाम्रो आफ्नो सम्वत् हो त???

    यो संवत बिक्रम आदित्य राजा ले सुरु गरेका थिय , उनि हाम्रो देश का राजा भने होइनन नि, तर उनि हिन्दु राजा भने पक्कै हुन् , यसैलाई आधार मानेर यो हाम्रो हिन्दु हरुको संवत भनेर मानिदै छ |

    To know more about king Bikram aditya see this link:
    http://en.wikipedia.org/wiki/Vikramaditya

    Reply
    1. hari adhikari says:
      July 10, 2013 at 4:07 pm

      जति बेला विक्रमादित्य हिन्दु राजा थिए त्यति बेला नेपाल पनि हिन्दुस्थान को सेरो फेरो मा थियो
      अहिले को जस्तो भारत एउतै राज्य थिएन, त्येसैले यो हाम्रो र अर्काको भन्दा पनि हिन्दु हरु को सम्बत हुनु पर्छ

      Reply
  13. sandy says:
    July 5, 2013 at 5:37 pm

    जयन्त आचार्य ले भन्नु भएका कुरा हरु जायेज़ छन् र यो हामी ले भोगेको कुरा पनि हो, रह्यो डाक्टर साब को कुरा मा कुनै तेस्तो तथ्य छैन तेसैले ११ महिना बनाउने कुरा ठिक लाग्यो !

    Reply
  14. Devendra Basnet says:
    July 5, 2013 at 5:29 pm

    साचिकै हाम्रो पात्रो ढिलो भएको भए मिलाउनु जरुरि छ तर एउटा महिना नै गाएब बनाएर परिवोर्तन गर्नुपर्छ भन्ने छैन. जाबो २०/ २५ दिन ले ढिला भएको भए प्रतेक महिना एक एक दिन गरेर घटेर राखेता २ बर्समा ठिक भैहल्छा. किन हो किन एस मा पनि राजनीति देख्छु.

    Reply
  15. Anil ktm says:
    July 5, 2013 at 4:12 pm

    अबस्य मिलाउनु पर्छ/ बिग्रेको ठाउँ मा सुधार गर्नु भनेको नै विकास गर्नु हो नी…………..

    Reply
  16. राम चन्द्र says:
    July 5, 2013 at 3:33 pm

    नया नेपाल नया पात्रो

    Reply
  17. kedar says:
    July 5, 2013 at 3:09 pm

    यी माधब भट्टराई डाक्टर साब त मलाइ अर्का बैद्धे बा हुन् कि के हो ? हुन्न हुन्न ! किन हुनु हुंदैन ? तेसै, मलाइ तेस्तै लागो अनि.

    एस्तो पनि कुरो हुन्छ कतै बिना तर्कको, पाखण्डीहरु

    Reply
  18. robei says:
    July 5, 2013 at 2:57 pm

    प्रचण्ड ज्यू ले यो असारमा पानि ढिलो पर्छ त्यसैले चुनाव गर्नु पर्छ भनेर भविश्यवाणि गर्नु भाथ्यो, अब यो पनि वहाँले नै भविश्यवाणि गर्नु हुन्छ। वहाँको जो निगाह।

    Reply
  19. Hari Prasad Lamichhane-Saudi says:
    July 5, 2013 at 2:11 pm

    कहिँ न भएको जात्रा हाडी गाउ मा !

    Reply
  20. रबिन्द्र राज गिरी says:
    July 5, 2013 at 2:07 pm

    मलाई त सुधार गर्नु पर्छ भन्नेहरुको तर्क ठिक लाग्यो | अहिलेको समय हेर्दा पनि त्यस्तै देखिन्छ | वास्तबमा बर्षा याम सुरु नहुँदै बर्षा हुन सुरु गर्छ | त्यस्ता अरु थुप्रै कुराहरुको अनुभब हामीले गरिरहेका छौं आजभोलि | यदि खोगोल शास्त्रलाई बिचार गरेर यो परिबर्तन गर्नु जरुरि छ भने किन नगर्ने ? दुवै तर्फको तर्कहरुलाई गहिरो संग मुल्यांकन गरेर कुन कुरा सहि हो भन्ने तथ्य पत्ता लगाएर मात्र के गर्ने भन्ने निर्णय गर्नु जरुरि छ | आफ्नो-आफ्नो निहित स्वार्थलाई हेरेर होइन |

    Reply
  21. neo says:
    July 5, 2013 at 2:02 pm

    प्रतेक १२ महिना मा २/२ दिन घटी दिए भै हाल्यो नि/ १२ महिना पनि हुने भयो, दुवै गणित ज्योतिष र फलित ज्योतिष पनि सन्तुस्ट हुञ्छ होला कि/

    Reply
  22. Rijal Mahesh says:
    July 5, 2013 at 1:58 pm

    चैतमा जन्मेका मान्छेको जन्मदीन गायब हुने भयेछ नि त

    Reply
    1. neerose says:
      July 6, 2013 at 3:15 am

      तेसो भयो भने आफ्नु त एक बर्ष उमेर घट्ने भैयो!
      अघि सम्म भै भै भनिराको त्यो डेडे कान्छा त यो लागु भयपछि आफु भन्दा सात महिनाले जेठो पो हुने भयो गाठे! अबत तेलले पो भै भन्ने भयो!
      देशको बिबादमा सुधार आउछ र समस्या समाधान हुन्छ भने यो पनि ठिकै छ ल!

      Reply
  23. पुष्प says:
    July 5, 2013 at 1:57 pm

    सबैले मौसम अनि ऋतुहरू केही चाँडो आइरहेको महशूस गरेको हुनुपर्छ । २४ दिन पछाडि परिसकेको कुरा त विरोधीहरूले मानेका रहेछन् । मात्र सम्वत् परिवर्तन गर्ने डरले विरोध गर्नु विद्वानहरूलाई सुहाउने कुरा होइन । घडीको सुइ वर्षेनी १ घण्टा अघिपछि समय गर्नेहरू त छन् यो संसारमा भने हामीले १ हजार वर्षमा १ महिना मिलाउन किन आपत्ति ! भविष्यमा आवश्यकता परे फेरि मिलाइ हाल्लान् । फेरि पेण्डुलमजस्तो छिटो-छिटो परिवर्तन हुने पनि होइन ।

    बरू १ महिना हटाउने हो भने कामकाजको अवधिमा १ महिना मिलान गर्नुपर्छ, जस्तै कर्मचारीको सेवावधि ।

    Reply
  24. kishan says:
    July 5, 2013 at 1:24 pm

    मिलाउनु पर्छ नत्र हृतु नै खलबल हुन्छ

    Reply
  25. Dipak Amatya says:
    July 5, 2013 at 12:46 pm

    मलाई त राम्रै लग्यो एदी पछि गयर समस्या पर्छ भने अहिलनै तस्बरे अहेला नै किनन सोच्ने सहि कुराको बिरोध होएन कि सहयोउग गर्नु पर्यो

    Reply
  26. kiran says:
    July 5, 2013 at 12:22 pm

    ११ महिने पात्र को सट्टा ३१ र ३२ को महिना लाई ३० को बनाउदा २-३ बर्षमा मिल्छ जस्तो लाग्छ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme