Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हजुरबालाई लभलेटर

Posted on July 5, 2013 by mysansar

– सुरेश ‘समान’-

केही अघि माइसंसारमा हजुरबाको लभलेटर पढिहाल्नुभएको होला। नपढ्नुभएको भए यहाँ क्लिक गर्नुस्। त्यही लभलेटरको जवाफ आज।

प्रेमप्रसाद मिश्र जी,

तपाईंको पत्र पाएँ। मेरो चिन्ता लिने नि कोही रहेछ – खुशी लाग्यो। बच्चुले सबै पढेर सुनाए। एकफेर पढेर धित मरेन, दोहोर्‍याएर पढ्न लाएँ। साह्रै जाती मान्छे रै’छन, झर्को नमानी पढेर सुनाए ! मैले पनि त्यो दोहोरी कार्जेक्रममा तपाईंले हेरेको ख्याल गरेकी थिएँ। डर, लाज, अप्ठेरो, के गरुँ र कसो गरुँ भा’थ्यो उ समय, खै किन हो। तपाईं रेडियो सुन्न गजुरे आको दिन म घरमै थिए। आमालाई अधाह भएकोले तपाईंकै बा फुक्न आ’का थे। चमेलीले भनेकी कार्जेक्रममा निकै अबेर सम्म बस्नु भयो रे हैन ? बच्चुको हातमा तपाईंलाई बारीबाट भर्खरै आफ्नै हातले टिपेका दुइटा काँक्रा पठाएकी छु। मिठो मानेर खानु होला।

बच्चु गए पछी चिट्ठी ओल्ट्याइ पल्टाइ हेरेँ – छामे, सुम्सुम्याए, पट्याए, खोलेँ, पट्याए। निकै बेर एकोहोरिएँ – के नमिले के नमिले जस्तो देखिने ति धर्साहरु, ति एताउता बाटरिएका काला, कुनै चुच्चा, तिखा, कुनै गोला देखिने अक्षर नै मेरो लागि लेखिएको प्रेम निवेदन हो त ? आफुले पढ्न नसकेकोमा उकुसमुकुस भएर भक्कानिए। मन त त्याँ लेखिएका एक एक शब्द केलाउन मन थियो, फिँजाउन, निफन्न मन थियो – सके अझै २-४ खेप पढ्न मन थियो नै ….। २-४ अक्षर कखरा कसैले चिनाइदेको भा म आँफै पढ्न सक्ने थिएँ झैँ लागेर मन भारी भयो, भइरहन्छ। तपाईंको पत्र केही दिन आँफैसँग च्यापेर राखेँ। कखरा चिनेका कसैको हातमा पर्ला कि भनेर कतै लुकाउन पनि डर लाग्यो। अरुको हात पर्ला कि भनेर आफ्नो पटुकामा कसेर राख्ने गर्थेँ। घरी घरी कोखा छाम्थेँ, के ले के घोचे जस्तो, चिलाए जस्तो लाग्थ्यो। आज स्याउला टिप्न वन पसेकी थिएँ। फर्कदैँ गर्दा तपाईंका साथी बच्चुलाई भेटेँ। चिठ्ठी उनैलाई जिम्मा लाएकीछु। तपाईंलाई नै दिन्छु भनेकाछन्। मेरा कुरा पनि बच्चुले लेखिदिए।

कती सजिलै भन्नुभो है – “हिडँ जुनकिरी भागौं” भनेर। एकफेर बिचार्नोस् त, भोली गएर अपसज जती जम्मै म मा र मेरो परिवारमा थोपरिन्छ तपाईंले भने जस्तै म ‘भागेँ’ भनेँ। केटी मान्छेलाई तपाईं केटाहरु जस्तो छुट् कहाँ हुन्छ र ? हदै भनेँ तपाईंलाई “केटी भगाएछ प्रेमप्रशादले” भन्लान वरपरकाले। तर म ? – म त पोइल हिंडेँकी हुन्छु। पोइल हिंड्नु र भगाउनु मा कती धेरै अन्तर हुन्छ, मैले बुझाइरनु त पर्दैन होला। जुनकिरीलाई जस्तो प्रेमप्रशादलाई कसैले पोइल हिड्यो भन्दैनन्। अझ कती ले त मलाई – ‘बाहुन केटो फसाँइ छे’ भन्लान, भन्छन् भन्छन्। मेरो परिवार भेट्नेहरुले अनी बिशेषत: आफन्तहरुले बातै पिछे मेरो कुरा निकालेर आलो घाऊमा कती नुनचुक छर्कने होलान्। त्यसै त उनीहरुको के के न खाइदिएझैँ गोल्भेडा जत्रा आँखाले हेर्छन अझ म हिंडेँ भने त अरु के चाहियो। मलाई यो पनि था’छ – मलाई नानाभाती तथानाम गाली दिने र मेरा बारेमा अनेकन अड्कलबाजी र कानेखुसी, साउती मार्नेहरुको कमी हुनेछैन। अरु त परै जाओस भोली तपाईंकै घरका ले पनि मलाई नै नकचरी, नखरमाउली देख्छन, भन्छन। “हामी दुईको ज्यान पालिन्छ तिमीले सुर्ता लिनु पर्दैन जुनकिरी” भनेर मधेसको ठुला ठुला सपना त देखाउनु भयो। तर बाँच्नु त बिपनामा पर्छ, हैन र ? कल्पनाको दैलो बाट अलिकती बाहिर निस्कनोस र मेरो ठाउँमा आफुलाई उभ्याएर हेर्नोस अनी चेत पाउनु होला मेरो र म जस्ता नारीको पिरमर्का। मेरी साथी कल्पीको जे हालत छ सम्झिदाँ नि आङ सिरिङ्ग भएर आँउछ। त्यस्को अभागी खप्पर, पोइल हिँडी। बिचरीलाई सासुससुराले फुटेको आँखाले नि देख्न सक्दैनन रे ! जती गरे पनि अपसज आँउछ भन्छे। लोग्नेले पनि वास्ता गर्दैन रे – अझ रक्सी धोकेर आएर बेस्मारी पिट्छ रे ! “निस्केर जा” भन्छ रे। अरु लोग्नेमान्छे सँग बोलेको देख्यो मात्र भने नि बिचरीको भातपानी बन्द हुन्छ रे ! काक्रा कै चिरा जस्ती रसिली थीइ, ऐले सुकेर दाउरा भइसकी। त्यती हुँदा पनि यि आइमाइको भाग्य लोग्नेकै दासी भएर बस्नु पर्छ। लोग्नेको आयुको कामना गर्दै तिर्थबर्त भन्दै भोकभोकै बस्नु पर्छ। पतीको लागि जती भाकल गरे नि, जती बर्त बसे नी पत्निको कर्मको फल केवल पत्नीले भोग गर्छे – हैन र ? पतीले त्यस्मा आफ्नो अङ्सको हकदारी गर्न पाँउछ र ? पत्निले गरेको धर्मको, उस्ले गरेको उपवासको, सत्सँगको, प्रथानाको फलस्वरुप पती कदापी स्वर्गको हकदारी हुनसक्दैन। पतिलाई मोक्ष मिल्न सक्दैन। मैले तपाईंले पनि त्यसै गर्नुहुन्छ भनेकी हैन – मलाई गलत नसोच्नु होला। मैले त आफुले देखेको भनेकी मात्र हुँ।

अस्ती सन्सरबार बिहानै छेत्री गाँउबाट एकजना लोग्नेमान्छे आ’का थे, मलाई हेर्न। तिनी सँग अरु २ जना नि थे। बा सँग लामो कुरा गरेर गए। मैले त राम्रो सँग हेर्न पाइन। लामो नाक रे’छ त्यती हो। बा-आमा कुरा गरेको सुनेको – मनग्गे जाएजेथा छ रे ! दुई बिस त बाख्रापाठा नै छन रे। खेतमा बारैमास कुनै न कुनै फलफुल टुट्दैन रे। घरग्रिहस्ती सम्हाल्न अली हम्मे हम्मे भा’कोले मेरो कुरा काकाले त्याँ पुर्याएछन अनी बासँग कुरा गर्न आ’का रे ! उमेर चैं अली छिप्पीसकेका पाका भन्ने सुने। श्वासनी खसेको दुई बर्स नाग्यो रे। छोराछोरी पनि कोही तराइतिर झरे रे कोही कांग्रेसमा लागे रे। हाम्रा गाउँमा पनि काँग्रेस पसेकाछन्। कि धन देओ, कि जन देओ भनेर महिना दिन अघी हाम्रा बालाई करकाप गरे। हामी ढिँडो रोटी खाएर बाँचेका सँग धन कहाँ बाट हुन्थ्यो। बाले रुदैँ म पछीको भाइ बुझाउनुभयो। मर्यो बाँच्यो पत्तो छैन।

खेती किसानी गरेर बसेका हामी, जे जस्तो छौँ त्यही अवस्तामा ठीक छौँ। बाँकी बचेँका भाईबहिनी सानै छन् – घाँसदाउरा, लिपपोत, भात-भान्सामा आमा बुढी हुनुभयो मेसो पाउनु हुन्न, आँफैले हेर्नु पर्छ। घरको गाई पनी एक हाते छ, म बाहेक अरु कसैले दुहुन सक्दैन। बा एकजना दिनरात साउको खेतमा बुढो हड्डी घोट्नु हुन्छ, खाने मुख धेरै छन। अझ रोपाइँको मास त झनै मेरो खाँचो पर्छ वहाँलाई। म स्वार्थी भएर चटक्क छोडेर हिंड्न मेरो आत्माले मान्दैन, माफ पाँउ। तपाईंसँग पाउने सुख भन्दा म नहुँदा मेरो घरकाले पाउने दु:खले मलाई पिरोल्नेछ। त्यही चौतारोको पिपल जस्तै मेरा जरा यही ठाउँ, गाँउमा गडिएका छन्। म हिंड्नु भनेको पिपल ढल्नु जस्तै हो। ढलेको पिपलबाट छहारीको आस गर्न सकिन्छ र ? फेरी तराइमा सेतो लामखुट्टेको बिग्बिगी छ रे, गर्मी पनि यो शरीरले धान्न सक्दैन। म तपाईंमा बोझ हुन चाहन्न। बिन्ती यो जिद छोडि दिनोस।

उही,
जुनकिरी खड्का

13 thoughts on “हजुरबालाई लभलेटर”

  1. Samar B. says:
    July 7, 2013 at 1:57 pm

    पढ्न लेख्न नआउने जुनकिरिले यती आधुनिक, साहित्यिक र राजनीतिक कुरा गर्थिन् जस्तो लागेन| लेखकको शब्द र जुनकिरिको मर्म मेल खाएन तर प्रयाश राम्रो छ|

    Reply
  2. बद्रि पोखरेल says:
    July 7, 2013 at 10:59 am

    तेस पछि हजुर बा ले गरे होलान ?

    Reply
  3. Bijay says:
    July 6, 2013 at 9:12 am

    हजुरबा को लभलेटर मा जस्तो मिठा शब्द नभए नि प्रयास राम्रो छ
    उन्नति प्रगति को कामना 🙂

    Reply
  4. Naresh says:
    July 5, 2013 at 9:24 pm

    हजुरबाको बिशुद प्रेम प्रस्तावलाई जुनकिरी आमैले सहजै अन्मौन्ली भनेको त जवाफ अर्कै !!

    एस्तो बिशुद्द प्रेम पत्र मा जात-भात, राजनीति मिसाको मलाई अलिक उचित लागेन; तर धेरै राम्रो साहित्यिक लेख|

    हजुर बाको पत्र त लेख्नुभयो आब नातिनी को पत्र पहना पाऊ |

    Reply
  5. Shyam Shrestha says:
    July 5, 2013 at 8:14 pm

    आजभोलि को युवापुस्ता को लागि राम्रो संदेश.!! तपाईंसँग पाउने सुख भन्दा म नहुँदा मेरो घरकाले पाउने दु:खले मलाई पिरोल्नेछ।

    Reply
  6. prasad says:
    July 5, 2013 at 11:01 am

    पहिलेका स्वास्नी मान्छे हरु यस्तो व्याहारिक…… आहिलेका मुसुमुन्द्रि हरु को के कुरा गर्नु ….

    Reply
  7. Manish Duwadi says:
    July 5, 2013 at 10:52 am

    हजुरवाले पठाएको पत्र जस्तो चाही मजा आएन पढ्न । वीचतीर अलि आधुनिक शव्दहरुको वढि प्रयोग भएको जस्तो लाग्यो । विचरा हजुरवुवा जुनकीरीको पत्र पढेर हजुवुवा ठाउको ठाउ ढल्ने त होइनन नी !!!

    Reply
  8. nisha says:
    July 5, 2013 at 10:32 am

    कांग्रेस गाऊ पसेको कुरा सुन्दा यो लोव लेटर १५,१६ साल तिर को होला त्यो बेला मा त माया पिरति को एस्तो नौटंकी चल्दो रहिछ अनि आज भोलि का बोइलर बच्चाहरु १०,१२ बर्ष मा नै चोचोमोचो गर्दै हिद्छन सडक किनार हरु मा अंगालो मार्दै…..

    Reply
  9. Nirmal B. says:
    July 5, 2013 at 9:45 am

    वाह वाह जुनकिरी खड्का वाह !!! असार १५ गयो अब त मधेसमा पुगे होलान भनेको त जुनकिरी मानिन छिन ! केटाहरुको आलो कांचो सपना भन्दा केटीहरुले गर्ने निर्णय सहि हुन्छ ! यो देसमा सबै उच्च पदमा महिला नियुक्ति गरे . देस सुध्रिन्थियो कि?? तर कुजाता जस्ता चाहि हैन है !! मिठो चिठी को लागि धन्यवाद.

    Reply
  10. sandy says:
    July 5, 2013 at 9:00 am

    अती उत्तम मा नी उत्तम जवाफ..जुनकिरी जी

    Reply
  11. Abhi says:
    July 5, 2013 at 7:15 am

    पत्र पढेर रमाइलो लग्यो तर प्रयोग भएका शब्दहरु आम बोलीचालीका नभएर आधुनिक लेखाईका भए जतो लग्यो कता कता तरकारीमा बेसर धेरै भए जस्तो तितो भयो

    Reply
    1. raj says:
      July 5, 2013 at 11:40 am

      अभि जी, इ सब्द हरु २००५-२०१० ताका हाम्रो देस को गाउ समाज मा प्रयोग आउथ्यो र यसलाई अजै पनि अति सभ्य रुप मा लिएञ्छ. मेरो अड्कल तपाई सहर मा हुर्केको हुनुपर्क्ष भन्नु पर्दा गलत नहोला. अउथोर सुरेश जी तपाई लै हृदय देखि नै धन्यबाद तक्रौना चाहन्क्षु. जुनकिरी को भूमिकामा जुन चिठी लेख्नु भो मेरो मन उज्यालो भो. यो हरफ को झन् k चर्चा गरौ ‘म स्वार्थी भएर चटक्क छोडेर हिंड्न मेरो आत्माले मान्दैन, माफ पाँउ। तपाईंसँग पाउने सुख भन्दा म नहुँदा मेरो घरकाले पाउने दु:खले मलाई पिरोल्नेछ। त्यही चौतारोको पिपल जस्तै मेरा जरा यही ठाउँ, गाँउमा गडिएका छन् – वोव’ एउटा बिसुद्ध गाउकी चेली अनि आफ्नै दिदि बहिनि को झजलको आयो. I salute You sir & Kip it Up.

      Reply
  12. NB says:
    July 5, 2013 at 1:14 am

    साह्रै राम्रो जबाफ | वाह वाह जुनकिरी !!!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme