Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एक जमानामा यसरी हुन्थ्यो ट्रंकल

Posted on June 24, 2013June 24, 2013 by mysansar

अहिले देशका जुनसुकै भागमा कल गर्न पनि सामान्य ल्यान्डलाइनबाट फोन गरे हुन्छ। एसटिडी (सब्सक्राइबर्स ट्रंक डायल) सुविधा अब आवश्यक छैन। अझ ल्यान्डलाइन पनि किन चाहियो, हातहातमा हुने मोबाइलबाट गरे भयो। तर एक जमाना थियो, जतिबेला ट्रकंल गर्न निकै गाह्रो थियो। टेलिकमको कार्यालयमा गएर फर्म भरेर ट्रंकल गर्न कुरेर बस्नुपर्थ्यो। त्यही बेलाको एउटा रमाइलो अनुभव नीलकण्ठ तिवारीबाट।

२०४५ को चैतमा हुनुपर्छ, त्रिपुरेश्वरस्थित केन्द्रीय टेलिग्राम
भवनको काउन्टरमा हामी केही कर्मचारीहरु जागिर खाएको नयाँ
जोशसहित ग्राहक सेवामा स्ट्यान्डबाइ थियौं। त्यो काउन्टर यस्तो
थियो कि नेपालका ठूला–बडा भन्ने राजनीतिज्ञदेखि उच्च
प्रशासकहरुसँग नचाहँदा नचाहँदै पनि भेट्नै पर्दथ्यो। ‘हावाले एकोहोरो
कुरो तान्दो रैछ’ भन्दै राष्ट्रिय पञ्चायत सदस्यहरु र मन्त्रीहरुसमेत
आवा कोठाबाट झरेर पैसा तिर्ने गर्थे। बहालवाला एक मन्त्रीले त
टेलिफोनमा हेलो नमस्कार भन्दा रिसिभर राखेरै नमस्कार फर्काएको
पुरानो घटना विवरणले यो पंक्तिकार थाम्न नसक्ने गरी हाँसेको
झल्झली याद आउँछ।

भर्खरै–भर्खरै जागिर खाएको मान्छेले ठूलाबडालाई गिज्याएजस्तो
र अपमान गरेजस्तो अनुभूति गर्नुभएछ हाम्रा दुई गुरुहरुले। फर्पिङतिर
घर हुने ध्रुव गुरु र हरिप्रसाद गुरुले ठूला मान्छे जाँनासाथ मलाई
सम्झाउनुहुन्थ्यो– ‘ठूलाबडाका अगाडि त्यसरी हाँस्नु हुँदैनथ्यो बाबु..!’
मलाई उहाँहरुको कुरामा सही थाप्न मन लागेन र भनें– ‘प्राकृतिक
रुपमा उब्जने हाँसो र आँसुले सानो र ठूलो भन्दैन गुरु, नडराउनुस्,
परेको मै व्यहोरौंला।’

एक कान–दुई कान मैदान भनेझैँ गुरुहरुमार्फत काउन्टर
सुरक्षामा बसेको प्रहरीले यो कुरो थाहा पाएछन्। तनहुँतिर घर
भएका ती सिपाहीलाई कसले बुझाएको रहेछ कुन्नि, पञ्चायतविरोधी
मान्छेहरु ठूला–बडालाई गिज्याउँछन् र अपमान गर्छन्। उनको
दिमागमा के पर्‍यो कुन्नि! रेवती भण्डारीजी र मेरो ड्युटीका
समयमा घेरा कसिँदै गयो। विचार र आस्था जे भए पनि दूरसञ्चार
संस्थानको भलो, हित र गोपनियता कायम गर्नै पर्छ भन्ने निष्ठाले
हामीलाई जितेको थियो।

हाम्रो कार्यसम्पादन, जनसम्बन्ध र व्यवहारले संस्थानका
मझौला व्यवस्थापकहरु खुशी नै थिए रे! त्यति बेला उच्च
व्यवस्थापकलाई भेट्न त निकै गाह्रो हुन्थ्यो भन्ने सुनेकोसम्म हो।
रोजगारीको माध्यमबाट आत्मनिर्भर बनेर परिवर्तनको मिसनलाई
कलात्मक ढङ्गले सघाउने काम गरेका कारण धेरै ठूला–बडासँग
नजिकिनु राम्रो लाग्दैनथ्यो हामीलाई। यो संसारमै आफ्ना विरोधी
कोही पनि छैनन् भन्ने सभ्यताले कुत्कुत्याइसकेको थियो। काउन्टरमा
ग्राहक बनेर आउने साना–ठूला सबै प्रति एकनासको व्यवहार गर्ने
हाम्रो आदतले कतिपय साथीभाइलाई अचम्म अनुभूति हुँदोरहेछ।
भन्नुहुन्थ्यो– ‘त्यो दौरा–सुरुवालमा पाल्पाली ढाका टोपी लाउने त
फलाना हो नि।’

काउन्टरमा ट्रंकल गर्न आउनेहरु कहिलेकाहीँ लाइनमा बस्नुपर्ने
स्थिति थियो। यस्तैमा काठमाडौंकै नामी मन्त्रीज्यू पनि पर्नुभएछ।
यताउता प्रहरी र उहाँको ठाँटबाँटले मलाई केही लागिसकेको
थियो। तर ग्राहककै रुपमा डिल गर्ने मेरो ध्येयले उहाँलाई पन्ध्र
मिनेट कुर्नै पर्ने स्थिति आयो। उहाँको निजी सचिव र पीएसओले
पाले दाइसँग भनेछन्– ‘कस्तो बजिया हो यो, मन्त्रीलाई अपमान
गर्ने?’ मेरो केही जोड चलेन पाठकवृन्द! मन्त्रीभन्दा आधा घण्टाअगाडि
आएका ग्राहक स्वयंले नै भने– ‘मन्त्रीज्यूलाई छिटो गराइदिनुस्, हाम्रो
पछि गरुम्ला…।’

कल बुकका लागि कार्बन राखेर फर्म भराउने चलन भएका
कारण यो टिप्पणीकारले मन्त्रीज्यूलाई कल बुकिङ प्याड टक्र्याइदियो।
मन्त्रीजीको आशय थियो– दुई–चार पैसा लिएर बुकिङ प्याड म नै
भरुँ। अजंगको स्वाभिमानी विचार मबाट अस्वाभाविक आयो– मन्त्रीज्यू
ग्राहक सेवामा बसेको कर्मचारीलाई दुई–चार पैसाको महत्व हुँदैन र
संस्थाले दिएको रसदले नै ग्राहकप्रति समर्पण हुन्छु। बरु, भन्नुस् म
आफै लेखिदिन्छु…। मन्त्रीजीको प्रतिक्रिया थियो– ‘कस्टो केटो रहेछ,
थाथ्थारो (ठाडो–ठाडो भनेको होला) कुरो गर्छ।’ मैले सुनें, उर्लेर
घाँटीसम्म आएको प्रतिवाद रोकेँ पनि। केही महिनाअगाडिको काण्डबाट
म नोटिसमा परिसकेको थिएँ। ‘जागिर खाएर जोरी खोज्ने…?’ आफैंलाई
प्रश्न गरेँ। अहिले जस्तो भएको भए पाँच हजार साथीलाई पुग्ने गरी
फेसबुक वालमा जोक बनाएर स्टाटस लेखिदिन्थें तर त्यो बेला,
त्यस्तो ड्युटी अनि मार्किङमा परिसकेको स्थिति न थियो।
मन्त्रीज्यूको PP कल (Person to Person) जोडिएपछि
३ मिनेटमा १ मिनेट थपेर लिने प्रचलन) न्यूनतम ३ मिनेट पनि
लागेन। मैले सम्झेसम्म उनले डेढ मिनेटदेखि कुरा गरेनन्। पैसो
कति भयो भनेर सोध्दा मैले रु. ३३६।– को बिल बनाइदिएँ। उनी
हुनसम्म खुशी भएछन्। जाने बेला मलाई भने– ‘ट्यो खुड्राखाड्री
चौड रुपे टिमी आफै राख।’ मैले फर्काउन खोजें, उनको टिम चौध
रुपियाँ जबरजस्ती छाडेर प्राङ्गणबाट बाहिरिहाल्यो। म दोसाँधमा
परेँ। म, बबुरोले मन्त्री आफैलाई विचरा भनिरहेको थिएँ। किनकि
डेढ मिनेट कुरा गरेर उनले पीपी कलका नाउँमा ४ मिनेटको पैसा
बुझाएका थिए। आफै ‘वाचमा’ भएको मान्छेले यस्तो टिप्स लिन
हुँदैन भन्ने अडानले मलाई जितेपछि कार्यालय सुरक्षाका पोस्ट
इन्चार्ज प्रहरी हवल्दारलाई भनें– ‘हवल्दार साब, यो पैसा त्यही
मन्त्रीकहाँ फर्काउने व्यवस्था गरिदिनुस्।’ हवल्दारले भने– ‘खोई
मलाई दिनुस्।’ मैले उनलाई दिएँ, अनि ग्राहकहरु बाहिरिएपछि
किताब पढ्न थालें।

लगभग १ घण्टामा उनै हवल्दार त्यही पैसाले टिल परेर
आएपछि मसँग झ्याम्मिन खोजे। ‘तेसका बाउले अमेरिकामा
कुरा गरेको छ। भारत र पाकिस्तान हो र सर…? चौध समुन्द्रपारि
अमेरिकामा कुरो गर्न पाएको छ। जाबो चौध रुपियाँ टिप्स दिएर
जाने…? ट्रंकल गर्न आउने सबैसँग अलि–अलि झ्याम पारे
हुन्छ…।’ उनी भन्दै थिए। तर मलाई अझै पनि मन्त्रीप्रति नै
टिठ जागेको थियो। मन्त्रीले कलबुक फार्म भर्न नजानेको विषय
त छँदै थियो, त्यो भन्दा पनि डेढ मिनेटको टेलिफोनमा ४ मिनेटको
पैसा तिरेकोमा थियो।

२०४६ को प्रजातन्त्र पुनर्स्थापनासँगै मुलुकले धेरै विषयमा
आधुनिकता अंगाल्दै गयो। प्रेस स्वतन्त्रता र सूचना प्रविधिको संसारमा
अलिक फड्को हान्न थाल्यो। २०५६ मा मोबाइल शुरु भएपछि यो
टिप्पणीकारलाई तिनै पुराना मन्त्रीको याद आयो। २०५८ मा जिज्ञासा
राख्दा थाहा पाइयो कि मन्त्रीसँग त मोबाइल फोन चल्न थालेछ।
डेढ मिनेटका लागि ३३६ तिरेका विचरा मन्त्रीज्यू १ मिनेटका
लागि रु. ३ हुन नपाउँदै तीन वर्षअगाडि बितिसकेछन्। सञ्चारमा
भएको यो सञ्चार क्रान्तिको प्रवृत्तिलाई भने उनले पनि मज्जाले
उपयोग गर्न भ्याए। अहिलेसम्म बाँचेका हुँदा हुन् त उनले मोबाइलबाटै
स्काइपी कनेक्सनमा मच्चिएर गफ गर्दा हुन्। वाईमेक्सलाई उनले
बाइनेक्स भन्दा हुन्, तर प्रविधिको मज्जा त चाख्थे नि!
आदरणीय पाठकवृन्दलाई मैले अघि नै भनिसकेको छु। कुरो
धेरै वर्षअघिको होइन र धेरै टाढाको पनि होइन। तर प्रसंग जोड्न
खोजेको के मात्र हो भने पर्सन टु पर्सनको न्यूनतम ४ मिनेटको कल
र भ्वाइस टु भ्वाइसको इन्टरनेट कलको जमाना पहिलेको जस्तो
छैन। देशका ठूला–बडा मान्छेहरुले ट्रंकल गर्न मात्र पनि सोर्सफोर्स
लाउथेँ, आवा खुलेको सूचना दिएमा बक्सिस र इनाम पनि दिन्थे रे
! सीडीओ, पीडीओहरु पनि सर भन्दै झुक्न आउँथे दूरसञ्चारका
साना कर्मचारीहरुसँग। धेरै पछि फर्कनु पनि पर्दैन। जम्मा बीस
वर्षअगाडिको कुरा सम्झँदा पनि हुन्छ। एउटा ल्यान्डलाइनको १
लाखभन्दा बढीसम्म बिक्री हुन्थ्यो। टेलिफोनको महत्व कति?
टेलिफोनका कर्मचारीको खोजी कति–कति?

हामी नेपालीमा धङधङी लाग्ने बानीले सताएकै छ। अब न
टेलिफोनको माग त्यो रुपमा छ, न हाम्रो मानमर्यादा नै। तैपनि
हामी अझै हामीलाई मानिदिऊन् र हामीलाई खोजिरहून् भन्ने
मनोविज्ञानबाट ग्रसित छौं। प्रतिस्पर्धीहरुको आक्रामक बजार नीति
र व्यावसायिक स्वतन्त्रताले Churning (एउटा सेवा छोडेर अर्को
लिने) चुनौती नजिकै ठडिएको छ। निजी क्षेत्र स्वच्छन्दतासहित
बजारको घुमफिरमा छ भने हामी नफुकाइएको खुट्टासहित
प्रतिस्पर्धाको मैदानमा धकेलिएका छौं। मोबाइलको त कुरो नगरौं,
हामीलाई अरुले उछिनिसकेको प्रचारलाई नियन्त्रण गर्न हम्मे–हम्मे
परेको छ भने टिभी कम्पनीहरुले समेत इन्टरनेट बाँडेर हाम्रो
क्षमतालाई जिस्क्याइरहेको स्थिति छ। उपभोक्तालाई आकर्षित
बनाउने वस्तु वा सेवा दिन नसके बजारबाटै लुप्त हुनुपर्ने बजारको
सामान्य सिद्धान्तले हामीलाई पिरोलिरहेको छ।

सरकारको ९१.५ प्रतिशत स्वामित्व भएकै कारण सार्वजनिक
खरिद ऐनलगायतका सरकारी नीति–नियम मान्न बाध्य छौं भनेर
वर्षौंसम्म बोलिरहनुपर्दाको स्थितिलाई पार गर्न ठूलै क्रान्तिको
थालनी गर्नुपर्ने पो हो कि जस्तो हुन थालेको छ। सम्पूर्ण सार्वजनिक
संस्थानहरुमध्येकै सबैभन्दा बढी नाफा कमाउने, सरकारलाई
सबैभन्दा राजस्व तिर्ने मात्र होइन, तीन वर्षमा आधा दर्जनभन्दा
बढी प्रबन्ध निर्देशक परिवर्तन गर्न सक्ने संस्थाको रुपमा पनि
टेलिकम परिचित छ। शायद नेतृत्व परिवर्तनको अपारदर्शी
प्रक्रियामा लुकेको बाध्यता र त्यसको मनसायलाई प्रतिस्पर्धाको
सापेक्षतामा मनन गर्न नसक्ने हो भने हामी अझै पछाडि
धकेलिनुपर्ने स्थिति संघारमै छ।

भड्किलो ट्रेड युनियन र खर्चिलो व्यवस्थापन संस्कृतिलाई
आ–आफ्ना ठाउँबाट नियन्त्रण गर्दै कार्यसम्पादनका आधारमा
सेवा–सुविधा दिने (performance contract ) त्यसपछि
क्रमशः करार व्यवस्थापन (management contract) र
रणनीतिक साझेदारी (strategic partner) सम्मका यात्राको
तय गरेर परिपक्व खुड्किलाहरु चढ्दै जानुपर्ने थियो। दक्षता,
क्षमता र उत्पादकत्वमा आधारित आवश्यक जनशक्ति मात्र
खुट्याउनुपर्ने थियो। VRS, CRS,TRS वा अरु केही छन्
भने ती सबै उपायसमेत खोजेर आत्मसम्मानसहितको
जीविकोपार्जन गर्न सक्ने गरी मर्यादित अवकाशको व्यवस्था
गर्न सक्नुपर्दथ्यो। जति चुक्यौं, चुकिसकेका छौं। तर अरु धेरै
चुकाइमा फस्नुहुँदैन। स्वायत्तताको छिनोफानो गर्दै बजार
स्वतन्त्रताको पाइलो निर्बाधरुपमा अघि बढाउने अवसर हामीले
माग्नै पर्छ। उच्च मनोबलसहितको विज्ञ टिमलाई हामीले
हैंसे गर्न पायौं भने मात्र हाम्रो इज्जत पुनर्स्थापित हुनेछ।
शायद धेरै टेलिकमकर्मी र पूर्वकर्मचारीको मात्र होइन,
राष्ट्रनिर्माणको मिसनमा टेलिकमप्रति ऐक्यबद्व आदरणीय ग्राहक
महानुभावहरुको पनि यही चाहना होला।

तिवारी नेपाल टेलिकम केन्द्रीय कार्यालय, सूचना तथा प्रकाशन शाखामा कार्यरत हुन्। यो लेख टेलिकमको नवौँ वार्षिकोत्सव स्मारिकाबाट साभार गरिएको हो।

28 thoughts on “एक जमानामा यसरी हुन्थ्यो ट्रंकल”

  1. Neupane says:
    June 30, 2013 at 8:43 am

    यी कुन चै तिवारी परे थाहा भएन. तर एउटा तिवारी भन्ने जन्तु ले एऔत फोन लिने को लागि १३५००० लिएको छ छेत्रपति अरिया मा.

    Reply
  2. Manoj says:
    June 28, 2013 at 9:57 pm

    “अहिलेसम्म बाँचेका हुँदा हुन् त उनले मोबाइलबाटै
    स्काइपी कनेक्सनमा मच्चिएर गफ गर्दा हुन्। वाईमेक्सलाई उनले
    बाइनेक्स भन्दा हुन्, तर प्रविधिको मज्जा त चाख्थे नि!”
    — अरुलाई एसो र उसो भन्दाहुन त भन्नुभयो महाशय !! Skype लाई स्काइपी नभनेर स्काइप भन्छन भन्ने कुरो पनि जानिराखे राम्रो ! पछी कसैलाई झार्नुपर्‍यो भने काम लाग्छ।

    Reply
  3. Aayush says:
    June 27, 2013 at 10:46 am

    तिवारी जी को बारे मा लेखिएका कमेन्ट दुरसंचार को प्रबृर्दी माथि को कमेन्ट हो …………………व्यक्ति माथि गरिएको होइन | तिवारी जस्ता मान्छे अझै दुरसंचार मा छन् भने ति अपबाद हुन् |

    Reply
  4. Udaya Raj Gautam says:
    June 27, 2013 at 3:36 am

    निल कण्ठ तिवारी को काठमाण्डौमा ४ वोटा घर छन् भन्ने रामचन्द्र नामको जीवात्मा को पुरा परिचय अरु पाठकहरुले पनि जान्न चाहन्छन .
    निल कण्ठ चौध रुपयामा रयाल काड्ने मान्छे होइन . २०४४ सालमा काठ्माण्डुमा जागिर खान शुरु गरेको मान्छे हाल सम्म उ डेरामै बस्छ .

    Reply
  5. Basudev Gautam says:
    June 26, 2013 at 10:57 am

    हाम्रा खोर्सानी माइलाले पनि राम्रै कमाइ गरेछन टेलिफोन लाइन बेचेर . उनि ठुलै पद मा थिए . धन्ने NTC

    Reply
  6. nisan gurung says:
    June 26, 2013 at 2:05 am

    अहिले त ntc ले अनि अरु telicom ले जनता लै ठगेको छ पहिले को त के कुरा गर्ने ………………चोर हरु ले खरानी घसेर जय भोले बाबा भन्दैमा साधु हुदैन ……………

    Reply
  7. kusal says:
    June 25, 2013 at 11:52 pm

    आफु त के कन father of Telefone जतो कुरा गर्दो रछ! सायद पहिलो पटक आफुले देख्दा पनि त्यस्तै भएको थ्यो होला नी … की GRAHAM BELL कै घरमा जन्मेको थियो र ?

    Reply
  8. ram ghaju says:
    June 25, 2013 at 9:32 pm

    नेवारलाई हेप्न पाएपछि कसैले नछोड्ने . कहाँ दुरसंचारको लेख , कहाँ टिमीमा अल्झीर्या. भन्ने बेला हामी सबै नेपाली तर के गर्नु नेवारले बोलि पिच्छे हेपिनुपरने. एस्तो चलन कैले अन्त हुन्छ होला? कस्टो कस्टो कुरा गर्यो नभन्नु होला. कम से कम त्यो नेवार मन्त्रिले तेती कुरा गरेर भए पनि आफ्नो कुरा भन्न सकेको छ. नेपाली खस भाषा नबुझ्ने अन्य जात जातिको मान्छेलाई कसरि सेवा पुर्यौदो हो कुन्नि? मेरो बिचारमा ऐले जातीय राज्यको माग चर्को रुपले उठ्नुमा यो व्यवहारले पनि ठुलो मद्दत पुर्याएको छ. भासिक जातीय राज्य भयो भन्ने आफू पनि येस्तै पेलाईमा पर्छ भन्ने मानसिकताले नराम्ररी गाजेको छ.

    Reply
  9. Gopal says:
    June 25, 2013 at 9:10 pm

    लेखकज्यु, अरुको अनुहारमा दाग देखाउनु भन्दा पहिले आफ्नो पनि अनुहार एनमा एकचोटी हेर्नेकी, हेहे तपाइको भाषा सुधता पहिला check गरेर मात्र अरुलाई गिज्यउनु होला ….

    Reply
  10. hari prasad says:
    June 25, 2013 at 7:18 pm

    यो त आजकल कथानै भयो हैन र ?

    Reply
  11. Sisir says:
    June 25, 2013 at 5:14 pm

    कस्तो बिडम्बना, ट्रंक कल (ट्रंकल होइन ) सम्म लेख नजान्ने रहेछन , त्यहा काम गर्ने कर्मचारी.. ट्रंक कल भन्नाले सामान्यतया अपरेटरको सहयोगले आफ्नो लोकल एरिया भन्दा बाहिर गरिने लामो दुरीको कललाई जनाउछ … नीलकण्ठ तिवारीले गफ चाही दिएकै हुन् .. साएद यिनले भन्न खोजेका पत्र जोगमेहर श्रेष्ठ हुन् कि ?

    Reply
  12. sam says:
    June 25, 2013 at 4:51 pm

    Iam using NTC ADSL 384 Kbps and it sucks. Before, I was using 192 Kbps and both seems to be of same speed. Only some speed difference at Night.

    NTC needs to do better Mr. Tiwari ji.

    Reply
  13. Aayush says:
    June 25, 2013 at 4:23 pm

    तिवारी जी ” त्यो समय मा मन्त्रि लाई सामान्य ग्राहक सरह ब्याबहार गरे, ०४५ साल मा हात परेको तेत्रो पैसो फिर्ता गर्न हवल्दार लाइ पठाए ” जस्ता टेलिकम का कर्मचारी (त्यो पनि ग्राहक सेवा का ) ले भनेको कसले पत्याउछ भन्ने ठान्नु भएको ?? खोइ हामि लाइ त बिस्वास लागेन बरु त्यहि चानचुन जम्मा गर्नु भएको पैसा ले त्यो समय मा काठमाडौँ को कुनै गरिलो ठाउँ मा घडेरी चाइ किन्नु भो होला भन्ने हामी लाइ लाइराच …..

    Reply
  14. Pawan Khanal says:
    June 25, 2013 at 12:44 pm

    स्काइपी कनेक्सनमा मच्चिएर गफ गर्दा हुन्। वाईमेक्सलाई उनले
    बाइनेक्स भन्दा हुन् ………..वाईमेक्सलाई -बाइनेक्स भन्दा हुन् भनेर भाषा सुद्दताको कुरा उठाउनेले स्काइपलाई -स्काइपी लेखेको सुहाएन कि जस्तो लाग्यो …..vowel को बारेमा नबुझेर हुन् सक्छ …. या धेरैले स्काइपी भनेको सुनेर हुन सक्छ के हो थाहा भएन मैले पड्ने बेला मा त word को अन्त मा AEIOU आयो भने त्यसलाई उच्चारण गर्नु पर्दैन भनेर पढेको थिएँ …..आजकल बदलियो भने थाहा छैन /

    Reply
  15. resham says:
    June 25, 2013 at 12:31 pm

    निलकन्ठ सरको अनुभूति राम्रो लाग्यो ./ तर १४ रुपिया फिर्ता दियको भन्ने कुरामा चाही कमेन्ट गर्ने साथीहरुले बिश्वाश गरेंनन है /

    Reply
  16. Nabin Adhikari says:
    June 25, 2013 at 12:20 pm

    तिवारी सर बागमती मा धेरै पानि बगी सको, समय ले कोल्टे फेरी सको तर पनि हाम्रा देस बनाउने ठेकेदारहरु को सोच जहाँ को त्याहा नै छ | समय को साथ् साथै सबै कुरा परिवर्तन भए मात्र हाम्रा नेता परीवर्तन भएनन् |

    Reply
  17. Bibek Dhakal says:
    June 25, 2013 at 12:19 pm

    लेख को बिचतिर पुग्दा नै मलाइ ” यो त नेपाल टेलिकम को कुनै कार्यक्रम को बेला दिएको भासण” जस्तो छ भनेर कमेन्ट लेख्न मन लागेको थियो, आखिर तेही नै रहेछ!
    जहासम्म “निजी क्षेत्रले बजार उछिनेको, अरु इन्टरनेट सेवा प्रदायक हरु पपुलर” भाको कुरा छ, मेरो बिचारमा अहिलेसम्म त अरु प्रदायक हेरिकन एन टि सी नै लोकप्रिय छ र धेरैको पहिलो रोजाइमा टेलिकमकै सेवा हरु पर्छन- चाहे जति धेरै गालि गरेपनि. तर सेवा सुबिधा को ताल यस्तै रहने हो अथवा अझै खस्किने हो भने चाही कुन दिन टेलिकम को हरिबिजोग, अझ कान्तबिजोग नै, हुन बेर छैन!

    Reply
  18. पुष्प says:
    June 25, 2013 at 11:43 am

    “टिभी कम्पनीहरुले समेत इन्टरनेट बाँडेर हाम्रो क्षमतालाई जिस्क्याइरहेको” । इन्टरनेट टीवी हेरिने जमानामा टिवारीजी जस्तो मान्छेले बजारमा ‘आउटडेटेड’ भैसकेका प्रविधिको बखान गरेको पढ्दा हाँस उठ्यो ।

    Reply
    1. robei says:
      June 25, 2013 at 4:04 pm

      तपाईलाई जे कुराको पनि नेगेटिभ कमेन्ट गर्न पर्ने? स्याडिस नेचर प्रच्ण्ड जस्तो।

      Reply
  19. Raames says:
    June 25, 2013 at 6:52 am

    निलकण्ठ बाजेले सरासर झुठ बोल्नु भयो | ऊ जमानामा रु १४ खल्तीमा नहाल्ने, गफ पनि अत्ति दिनुभो ऊफ ऊफ

    Reply
    1. Bibek Dhakal says:
      June 25, 2013 at 12:27 pm

      आफु “वाच” मा भएकोले त्यो टिप्स नलेको रे भनेर त उल्लेख गरिसकेका छन् नि!
      पछिका कुराहरु त उनि आफैलाई र यस्तो “टिप्स” छोड्नेहरुलाई बाहेक अरु “वाच” गर्नेहरुलाई मात्र थाहा होला!

      Reply
  20. राम चन्द्र says:
    June 25, 2013 at 6:48 am

    तेसैले त तिवारी जि का काठमाडौं मा चार वोटा चार तले घर छन दुहुनो गाई जस्तो दुर संचारमा ग्रहाक लाई दोएर बनेका न हुन फेरी रकम फिर्ता को गफ हान्दिने वा तिवारी जि वा ।

    Reply
  21. basant says:
    June 25, 2013 at 5:37 am

    नेपाल टेलिकम डुबाउने यिनै कर्मचारीहरु हुन् धेरै फुर्ति नलागौं

    Reply
  22. Narayan gautam says:
    June 25, 2013 at 12:07 am

    निलकण्ठ सर को कुरा. ले पुरानो सम्झना को याद गरायो !

    Reply
  23. sajan says:
    June 24, 2013 at 11:25 pm

    ओहो तिवारी जी पुरानो कुरा सुनाउनु भॊ! तपाई तल pco मा हुँदा हामि माथि बसेर तल तपाई हेरुलाई लाई call दिन्थ्यौं !
    यो त मन्त्रि को कुरा ल सुन्नुहोस विदेश को प्रधान मन्त्रि ले कुरा गर्न तथा कुरा गरौन पनि येस्तै थियो! थाइलेडं को pm प्रेम तिम्सुलानन्द को नेपाल भ्रमण थियो साल बिर्से उनि अहिलेको राष्ट्रपति भवन म बसेका थिय उनलाई bangkok कुरा गर्न गरौन म सितल नेवास को एउटा कोठामा बसेर कुरा गराको दिन हिजो जस्तो लग्छा! तेती मात्र कहाँ होर २०४६ साल म़ा राजा ले गणेश मान जी संग कुरा गरौन्दा मैले बालुवाटार म़ा बसेर तत्कालिन प्रमुख सचिब रेवती रमण खनाल (राज दरबार) गणेशमान जी (बिर होस्पितल) लोकेन्द्र बहादुर चन्द ( बालुवाटार) बसेकालाई राति चैत्र २४ गते mannualy कन्फरेन्स गरिदेको कुरा हिजो जस्तो लाग्छ! आज यी कुरा सम्झंदा सत्य युग को कुरा जस्तो लाग्छ. saanchhai communitcation ले ठुलो फड्को मार्यो संसारमै

    Reply
  24. द्रोण says:
    June 24, 2013 at 11:12 pm

    तिबारीजी को प्रसंग मा थप्न मन लाग्यो |
    ”एउटा बिद्द्वान फेवाताल सैर गरिरहेको थ्यो , माझि डुंगा खियाइरहेको थ्यो , बिद्द्वान लाइ बिद्द्वाताको गर्ब ले छोयो , ये भाइ भन त् , तिमीले कार्ल मार्क्स को दास क्यापिटल पढेका छौ ?
    माझि :छैन दाइ ,
    बिद्द्वान :के थाह छ त् ?प्रचण्ड पथ?
    माझि : प्रचन्डलाई नै त् था छैन होला ,हामीलाई कसरि था हुनु दाइ ,
    माझि को सरल उत्तर थियो |

    बिद्द्वान : नौलो जनबाद के हो ? बहुदलिय जनबाद बाट नौलो मा पुग्ने तरिका के छ ?
    माझि : त्यो पनि नेपाल को बामे नेताहरुको खोकी हो , उनीहरु खोक्ने गर्थे ?
    आजकाल बहुदलीय जनबाद , नौलो जनबाद सबै भारत बाद मा मिलेको छ ,महिनामा एक चोटी दिल्लीको नेताले पाधेको सुघेर फर्किन्छ ?

    बिद्द्वान : अरे भाइ ,तपाइको अध्यान रहेनछ , आधि जिबन खेर गयो |

    माझि मौन भयो |

    केहि बेर पछि माझि ले अनायास बोल्यो , दाइ तपाइलाइ पौडी खेल्न आउछ ,
    बिद्द्वान : आउदैन भाइ
    माझि : तेसो भए तपाइको पुराजिबन खेर गयो |

    तेसैले मन्त्रि होस् बा माननीय , सबैलाई सबैकुरा थाह नहुनु कुनै जोक को बिसय हैन ,
    यो ग्यान भन्दा त्यो ठुलो भन्ने पनि छैन , स्थान र समय मा भरपर्ने कुरा हुन् |

    Reply
    1. Bibek Dhakal says:
      June 25, 2013 at 12:29 pm

      पुरानो जोकको माओवादिकरण गरिदिनु भो 😀

      Reply
  25. Biswash says:
    June 24, 2013 at 11:08 pm

    झगडा गर्दा त चानचुन फिर्ता पाउन गाह्रो हुन्थ्यो भने त्यसरी हातमै आइ सकेको फर्काउनु भएको होला भन्ने कुरा अलि हजम भएन …पाचक खानै पर्ने भयो |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme