Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हजुरबाको लभलेटर

Posted on June 22, 2013June 22, 2013 by mysansar

-सुरेश ‘समान’-

प्यारी जुनकिरी खड्का,

पहिलो पल्ट तिम्रो गाँउमा दोहोरी कार्जेक्रममा तिमीलाई देखेँथे। त्यो रातो फरिया, धागो बानेको केश र त्यो नाकको नथियाले मेरो मन छोयो। तिमीले पनि मलाई हेरेको ख्याल गरेको थिएँ। कताकता काउकुतीझै लाग्यो। आजकल म गाई चराउन त्यै पाखामा जान्छु, तिमी कतै देखिन्छौ कि भन्ने आस लागिरन्छ। हुन त हाम्रा गाउमा मनग्गे चरन छ, त्यती पर सम्म तिमीलाई नै हेर्न धाँउछु, सत्ते । हिजो सन्सरबार पनि गजुरेकोमा गा’को थें। थुप्रै मान्छे जम्मा भा’थे रेडियो सुन्न। तिम्रा साथीहरु असर्फी, चमेली, मिठ्ठी, केसरी पनि आका’थे। यि आँखाले तिमीलाई चारैतिर खोजे, भेटेनन, दिनै खल्लो भयो। जोर हप्ता भयो दर्शन नपाको, गाह्रो सारो पर्‍यो कि? मन भारी भयो, अनी थाम्नै नसकी यो चिट्ठी बच्चु केसबलाई लेख्न लाएँ। उसैले पढेर सुनाउला तिमीलाई पनि। धन्दा नमान बच्चु मेरो मिल्ने साथी हो। तिम्रा घरमा पनि बिहे हुने गाँइगुइ सुन्दैछु। पल्लो घरकी चिनीचम्पाले उस्का साथीहरु सँग कुरा गरेको सुनेथेँ। यदी त्यसो हो भने, हामीले ढिला नगरौँ, भागौं।

असार लाग्यो, खहरे खोला उर्लिनु भन्दा पहिले नै हामी निस्कनु पर्छ। पोहोर साल कतीको घर खेत सखापै पार्यो, फेरी त्यही खोला नतरी डाँढा काटिदैन, बाटैमा पर्छ। तीन दिन, दुई रात हिंड्यो भने मधेस पुगिन्छ रे, गाइघाट । अब हामीले दिक्तेल छोड्नै पर्छ जुनकिरी । मैले सबै जोरजाम मिलाई सकेको छु, तिमीले धन्दा मान्नु पर्दैन। बनारसमा एउटा साथी छ, दया गर्तौला, जाने बेलामा ‘लु केही पर्‍यो भने म छु, मजाले आए हुन्छ’ भन्दै गाकोथ्यो। साह्रै राम्रो मान्छे छ, अप्सज लाउने ठाउँ छैन। भर्खरै मेट्रिक पास गरेर पुर्होत्याइ गरेर बस्छ रे। केही दिन उसैकामा बसौला, पढेको मान्छे केही बाटो उस्ले पनि बताउला, सके मधेसतिर रोजगार लगाइदेला ।

मधेस साह्रै फराकिलो छ रे, तेत्रा मान्छे अटाकाछन, हामी कसो नअट्लाउ त…फेरी मनग्गे, बार्है मास खेती हुन्छ रे। हलोकोदालो मैले जानेकै छ, बिउ चिनेकै छु, दाउरा काट्न, टाटी लाउन, परालको माच लाउन त म खप्पीसै छु। ज्याला मज्दुरी गरौँला, फेरी अधिँयामा पनि पाईन्छ रे जग्गा कमाउन। मेरो काकाको छोरो नि यस्तै काम गरेर ५ जनाको जहान छोराछोरी पालीरा’छ रे। बुहारीले नि काम गर्छिन रे एउटा खार्पाको पोख्रेलकाँ – त्यही लिप पोत, भात भान्सा, घाँस-दाउरा, उही आईमाईको काम। काम गरे बापत महिनाको ५ नगद पाउछिन रे अनी बेला मौकामा पोख्रेल्नीको साडी, लत्ता कपडा पनि। तिम्रो बारेमा पनि मैले यस्तै सोचेको छु । हामी दुईको ज्यान पालिन्छ तिमीले सुर्ता लिनु पर्दैन। त्यस्तै परे म नि बाहुनको छोरो हुँ, अली अली कार्जे गर्न जानेकै छु। मधेसमा पनि त श्राद्ध, पूजा, बिहे, ब्रतबन्ध, रुद्री, पास्नी, न्वारान हुँदो हो। बा सँग यि सबमा जाँदा जाँदा मैले पनि रिती पुर्याएर गर्न सिकी सकेको छु। मैले त अली पछी गाई पाल्ने पनि सोचीसकें। गाइको दुध बेचेर खर्च टार्न पनि हुने आफुलाई दही घिउ पनि हुने।

हामी चार भाई र दुइटी दिदी छौं । दिदीहरु बिहा गरेर गए पनि, दाई-भाउजु, र दुई भाई छदैछन घरमा आमा-बा, घर खेत हेर्न। हुन त कती नै पो छ र हेर्नलाई नि। तिम्रा पनि २ भाई र एक बहिनी छे। सबै हुर्केकै छन, जान्ने बुझ्ने उमेरका भइसकेका छन। घरको राम्रो ख्याल राख्लान। पछी हामीले पनि सक्दो गर्नु पर्छ, हाम्रो कर्तब्य पनि हो। हुन त मलाई यसरी भगाएर लान मन छैन तर अर्को बाटो पनि देख्दिन। झ्याँइ-झ्याँइ पञ्चे बाजा ठोकेर भित्राउने रहर अधुरै हुने भयो। बा आमालाई कती सम्झाउन कोशीस गरें तर आफु भन्दा तल्लो जात, छेत्रीकी छोरीसँग हुँदै हुँदैन भनेर अड्डी लेर बस्नु भा’छ। हुन त वहाँहरुलाई पनि यो समाज, छर छिमेकको डर छ नै। के गर्नु यस्तै छ चलन। आफुलाई जन्माउने हुर्काउने आमा बा सदा आदर्णीय हुन्छन। उहाँहरुले आफ्नो छोरा छोरी माथि हक जनाउनु भनेको, अधिकार पनि हो। सारा दुनियाँले धिकार्ला, छि: छि: धुर धुर गर्लान तर आफ्नो सन्तानको सधैं भलो चिताउने आमा नै हुन्छिन। संस्क्रितमा एउटा स्लोकनै छ नि- “मातृवत परदारेषु परद्रव्येषु लोष्टवत्। आत्मवत् सर्वभूतेषु यः पश्यति स पंडितः” तसर्थ हामीले एउटा राम्रो, सक्षम, सबल परिवारको स्रीजना गरेर वहाँहरुको मन पगाल्न सक्नु पर्छ र वहाँहरुको सेवा गर्न सक्नु पर्छ जुनकिरी । मलाई विश्वाश छ तिमीले साथ अवस्य दिने छौ।

हो जुनकिरी मैले धेरै सोचेरै यो कदम उठाउदै छु, यो अचानकको निर्णय होइन। आज ५ गते भो, असार पन्द्रको रात सबै थाकेर अबेर सम्म ओछ्यानमै हुन्छन, हामीले १६ को मिर्मिरेमै डाडा काट्नु पर्छ। गाइघाट पुगेर घरमा सबै खुलस्त पारेर चिट्ठी लेखुँला। मैले अली अली दुध बेचेको पैसा जम्मा पारेको छु, हामीलाई बनारससम्म जाने र केही दिन टुङगो नलागुन्जेल चलखेल गर्न पुग्छ। बरु तिमी पनि बिस्तार बिस्तार आफ्नो लाउने लत्ता कपडा पोको पार्न थाल। बाटोमा खानलाई २-३ माना चिउरा र गुन्द्रुक्को अचार पनि हाल्ने छु, अनी मिल्छ भने तिम्रो बारीको २-४ वटा काँक्रो हाल्नु, सार्है रसिला छन ति काक्रा । तिमीलाइ दिन भनेर गोजिमा काकाको छोरोले नेपाल खाल्टोबाट ल्याइदिएको पुस्टकारी गोजीको गोजिनै छ। त्यो पनि बाडेर खाँउला बाटोमा । म तिमीलाई त्यही चौतारीमा कुरेर बस्ने छु। भाले बास्नु भन्दा अगाडिनै निस्कनु तिमीले। केही पर सम्म बच्चु पनि आउछु भन्दैछ। पर्दैन भनेको अड्डी लेर बसेको छ। म तिम्रो प्रतिक्षामा हुनेछु।

तिमीलाई माया गर्ने,

प्रेमप्रसाद मिश्र

26 thoughts on “हजुरबाको लभलेटर”

  1. suvash thapa magar says:
    June 28, 2013 at 12:36 pm

    २० औं शताब्दि सुरुको लभ लेटर पढ्दा आफु ढिलो जन्मिएकोमा खेद लाग्यो ।

    Reply
  2. narendra says:
    June 28, 2013 at 10:34 am

    लव लेटर त सहि रहेछ हजुर बा को हजुरबा को दर्सन पाए हुन्थ्यो होला कथा राम्रो छ

    Reply
  3. Manish Duwadi says:
    June 27, 2013 at 4:05 pm

    हजुरवाको जमानाको लभ लेटर पढ्ढा त मलाइ पनि हजुरवाकै वेलातिर जन्मिन पाएको भए हुनेथियो जस्ते पो लाग्दै छ त । क्या गजवको लभलेटर अव रहेछ । जुनकिरीको उत्तर पढ्नको लागी १६ गते कहिले आउला जस्तो पो भो त

    Reply
  4. निशा says:
    June 24, 2013 at 9:59 pm

    यो लेख लेख्ने मान्छेले बि पी कोइरालाको “मधेसतिर” भन्ने कथा भर्खर पढेको हुनुपर्छ |

    Reply
  5. basanta says:
    June 24, 2013 at 10:46 am

    साच्ची जुनकिरी आइ होला कि आइन होला, बुज्नु पो पर्ने भो

    Reply
  6. sunil says:
    June 24, 2013 at 8:42 am

    this is an best example of real love,
    hajurbuwa i salute you. your love is pure.
    i would love to see the response of this letter but in realcopy to believe
    ,not an typed letter.

    Reply
  7. Ashok says:
    June 23, 2013 at 11:23 pm

    कथा राम्रै छ.

    “हलोकोदालो मैले जानेकै छ, बिउ चिनेकै छु, दाउरा काट्न, टाटी लाउन, परालको माच लाउन त म खप्पीसै छु।”

    यो “खप्पिस” भन्ने शब्द चाहि अलि “हजुरबाउ कालिन” भएनाकी जस्तो लाग्यो .

    Reply
    1. Suman Gurung(UK) says:
      June 24, 2013 at 6:11 am

      कस्तो ठ्याक्कै मेरै मन को कुरा पहिले नै गर्नु भो मित्र. म पनि येही कमेन्ट हान्ने सुर मा थिए तपाई ले गरिसक्नु भयेछ. हेहे हेहे

      Reply
  8. Bhamir Thapa Magar says:
    June 23, 2013 at 3:03 pm

    राम्रोनै भन्नु पर्छ, ‘लभलेटर’ हराउदै गएको यो जमनामा एस्तो दुर्लभ शब्दहरुले भरिएको कथा, पत्र, पत्रिका पढ्न पाउँदा 7th कक्षाको जिरे बैंस झल्झल्ती झल्कियो | धन्यवाद लेखक ज्यु |

    Reply
  9. हरिप्रसाद मिश्र says:
    June 23, 2013 at 1:40 pm

    हजुरबा को समयको प्रेम कति स्वच्छ, निश्चल र समाजसँग डराएर लुकेर गरिने अमर प्रेम थियो। साह्रै ठूलो भविश्यको सपनाहरु थिएनन्, अनि अहिलेको जस्तो कहाँ महंगाइ पनि थियोर। दुइ छाक खान, आङ छोप्ने कपडा, टाउको लुकाउने सानो घर, एक हल गोरु र अधिया जमिन नै ठूलो सपना थिए। उहाँ त्यही समयमा तराइ झर्नु भो, मिहिनेतले साहुको जमिनको थोरै हिंसा जोड्दै जमिनलाई चौडा बनाउदै लानु भो। रपो अहिले हाम्रो बसमा ४/५ बिघा सम्म जमिन छन्। अंशको भागमा १ बिघा जति जमिन परे पनि त्यो जमिन अहिले बाझो छ। खेति गर्न सरम लाग्छ हामीलाई, अनि खाडी तिर तल्लो स्तरको काम गर्न पनि पछि परेको छुइन म। बाझो जमिन अधिया लगाउ भने, अधिया कमाउनेलाई खेतमा ट्याक्टर लागइदिनु पर्ने, बिउ तथा मलको जोहो गरिदिनु पर्ने, धान त थन्काइदिन्छन् तर पराल दाउनी गर्न मान्छे आफै लगाउनु पर्ने भाको छ। म जेनतेन हजुरबुवा, बुवाको नगदले बिए सम्म त पढे अनि रुपकै सुन्दरी श्रीमती पनि भेट्टाए तर उनमा फेशन र बिलाशिता बाहेक केहि छैन। उनको इशारामा चल्न म बाध्य छु। मेरा हजुरबा जीवनको अन्तिम घडीमा पनि हजुरआमाकै हात समाएर कुरा गरिरहनुहुन्थ्यो। तरह मेरी श्रीमती म बिदेशबाट बिदा आएको १ करैले महिना रमाउछे, गोजी खाली हुदै गए पछि धारे हात लगाउदै “कस्ताको फेला परिएछ भन्छे।” हजुरबा तपाई समयकाल देखि मलाई साह्रै इर्श्या लागेर आउछ।

    Reply
  10. rabin says:
    June 23, 2013 at 12:01 pm

    अनि त्यो पुस्टकारी, त्यहीं न्यु रोड गेटसंगै होला नि है ! नखानु है बाजे ! नखानु !!

    Reply
    1. ramesh says:
      June 23, 2013 at 1:58 pm

      बधाई छ बाजे, क्रान्तिकारी काम (अन्तरजातीय) बिबाह को निम्ति.

      Reply
  11. Sachin says:
    June 23, 2013 at 7:35 am

    ओह हो साची कै नै रमाइलो लग्यो है पढेर, अब एसको उत्तर पनि पढ्न पाए झन् गजब हुन्थियो

    Reply
  12. Dambar says:
    June 23, 2013 at 7:24 am

    कपी पेस्ट गरेर पठाउन पर्छ कि के हो….यो पो त प्रेम प्रस्ताब भनेको.. All clear and cut..

    Reply
  13. Mekh grg says:
    June 23, 2013 at 4:56 am

    तापई ले लेख्नु भएको प्रेम पत्र मलाई सारै चित्त बुज्यो तपाई लाई धेरै बधाई छ.

    Reply
  14. जुनकिरी says:
    June 23, 2013 at 2:18 am

    आहा! कस्तो मनै छुने लेटर लेखेछन् हजुरबाले. सरल भासामा मिठो सैली, सारै मन पर्यो. अब यो लेटरको के रिपलाई आउला त? के मान्लिन त जुनकिरी ले? मलाई त खुल्दुली भयो. छिट्टै जवाफ पनि पढ्न पाऊने आस छ. ….’अनी मिल्छ भने तिम्रो बारीको २-४ वटा काँक्रो हाल्नु, सार्है रसिला छन ति काक्रा ।’ दामी..

    Reply
  15. sham says:
    June 23, 2013 at 2:17 am

    लव लेटर त सहि रहेछ हजुर बा को…. अनि के भगाउनु भो त हजुबा ले जुनकिरी लाई असर १६ गतेको मिर्मिरे मै ….. हजुरबा को पोका पुन्तुरा भित्र अरु पनि लेटर होला नातिबाबुले येसो खोतलेर प्रकाशित गरे मज्जा आउने थियो पढ्नलाई ………

    Reply
  16. kishor says:
    June 23, 2013 at 12:17 am

    हजुर बा ले त प्रेम पत्र लेख्न बच्चु लै लगायेचन…… हजुरआमाले कसलाई पदना लगाउने हो यो पत्र खै असार १६ कत्ला जस्तो पो लग्यो गाँठे मलाई त !!!

    Reply
  17. Ramesh babu says:
    June 22, 2013 at 11:07 pm

    घेरै र।म़ो …..

    Reply
  18. कमल शर्मा यु ए इ says:
    June 22, 2013 at 9:41 pm

    रमाइलो लाग्यो अनि लव लेटर पढ्दा हजुरबाको याद पनि आयो|

    Reply
  19. Naresh says:
    June 22, 2013 at 8:54 pm

    साहित्यलाइ मान राख्ने लेख, मलाई मान पर्यो | जुनकिरी खड्काले निस्चय नै हुन्छा भन्ने छिन ! Good work सुरेश |

    Reply
  20. aakash says:
    June 22, 2013 at 7:52 pm

    लौ यो त रमाइलो कूरा होl

    Reply
  21. Puspa Rbm says:
    June 22, 2013 at 6:57 pm

    मरूभूमिको यो घमार्इलोमा धेरै नै रमार्इलो लाग्यो हजुरबुबाको प्रेम पत्र ।

    Reply
  22. Hari Gautam says:
    June 22, 2013 at 5:34 pm

    गज्जब को लबलेटर !!! एकदम बिसुद्द प्रेम प्रस्ताब…

    Reply
  23. nisha says:
    June 22, 2013 at 5:15 pm

    वाओ नो कमेन्ट सुपर …. मामा मिया बोंजोर्नो ….

    Reply
  24. Nabin Adhikari says:
    June 22, 2013 at 4:44 pm

    रमाइलो लागो हजुरबुबा को प्रेम पत्र.. 🙂

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme