Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथाः पहिलो प्रेम

Posted on June 22, 2013 by mysansar


-विवेकराज श्रेष्ठ-

एस.एल.सी पास गरेपछि पहिलो दिन कलेज जानुको उमङ्ग नै बेग्लै थियो यो मनमा। भक्तपुरदेखि बानेश्वर सम्म को बाटो सधै जाम नै हुन्थ्यो। जाममा खर्चिने समयको समेत हिसाब गरेर १५ मिनेट मार्जिन राखेर नै घर बाट निस्किएको थिएँ। तर अहँ कलेजको पहिलो दिन समेत समयमा पुग्न सकिएन। बाटोमा तेर्सिएका हजारौं गाडीको लाममा त्यो १५ मिनेट समयको मार्जिन त्यसै कतै बिलिन भएको थियो।

धन्न!! क्लासमा सर भने पसि सक्नु भएको रहेन छ। क्लासमा पसेर बस्ने सिट खोज्दै यता उता आखा डुलाएं, भित्ता पट्टिको फस्ट बेञ्च भन्दा बाहेक अरु सब बेञ्चहरु ओघटिइ सकेको रहेछ। स्कुलदेखि नै फस्ट बेञ्च भनेपछि बस्नै मन नपर्ने। लास्ट तिरको बेञ्चमा बस्यो अनि साथिहरुसंग टन्न गफ गर्यो, मजा नै बेग्लै थियो स्कुल लाइफको। तर के गर्नु फस्ट डे- फस्ट बेञ्च, झूर नै भो नि। मन नलागी-नलागी भित्ता पट्टि को फस्ट बेञ्च मै थचारिन करै लाग्यो, त्यो पनि एक्लै। झूर माथि झूरेस्ट भो।

केहि बेरमा एउटा भुड़े सर क्लासमा पसे। म्याथ पढाउने रहेछन ती गुरु। आफ्नो अनौठो नाके बोली मा आफ्नो परिचय पृथक तरिकाले दिए। ओहो, कस्तो स्वर …हा हा.. मन-मनै खित्का छुट्यो र रमाइलो पनि लाग्यो। त्यहि बेलादेखि एउटा नया रुचि पैदा भयो म मा, उनको आवाज को नक्कल उतार्ने। हा हा .. उटफट्यांग म। यस्तै यस्तै सोच्दै मात्र के थिए, ढोका कसैले ढक-ढकायो। बाहिरको घाम को उज्यालो संगै उभिएको एउटा आकृति ले ढोका खोल्यो। त्यो ढोकामा उभिएको आकृति बाहिरको उज्यालोको कारण कालो देखिन्थ्यो , ता पनि त्यो आकृति कुनै केटिको हो भन्ने छुट्याउन मलाई गारो भने भएन। छाया जस्तै आकृतिमा साइड तिर भिरेको ब्याग , घुम्रेको कपाल, स्कर्ट अनि अग्लो कद सम्म चिन्न सकियो। एकै छिन् मा त्यो छायाबाट आवाज आयो, “मे आइ कम इन सर ?”।
“आउनुस, आउनुस” सरले जवाफ दिए। त्यो छाया बिस्तारै कोठामा प्रवेश गर्दा भने बल्ल क्लासको प्रकाशमा उनले लगाएको कपडाको रंग, उनको ब्याग, मुहार अनि उनको आखा बिस्तारै देखिन थाले। अँ , उनको आखा …गाजल लगाएका, गोला अनि ठुला आखा गोलि चलाउने खाल का थिए। लाग्यो, ती आखा बाट छुटेको गोलि सिधै आएर मेरो छातीमा लाग्यो र म घाइते भएर बेञ्च मै पछारिएं।
बस्न को लागि मेरो बेञ्च भन्दा अरु कुनै सिट थिएन। मेरो बेञ्च तिर आएर मलाई सोधिन ,” मे आइ सिट हेयर?”
“अफ कोर्स माइ डियर”, मन ले जवाफ दियो , तर मुखले केहि नबोली भित्ता तिर सरिदिएँ।
त्यसपछि उनि मेरो छेउ मै बसिन्, आफ्नो ब्याग लाइ हामी बीचमा राखिन। लाग्न थाल्यो, त्यो ब्याग हैन, चाइनाको ग्रेट वाल नै हो जसले मलाई उनि समिप जान रोकिरहेको छ। हात मा एउटा मोतिको ब्रेस्लेट लगाएकी रहिछिन| गोरो हात अनि सेतो मोति को ब्रेस्लेट अति सुहाएको थियो, मन त्यसै फुरफुर गर्न थाल्यो। कपालको केहि भाग उनले गोल्डेन ब्राउन बनाएकी रहिछिन। त्यो कपालको हिस्सा भने नबाधेर खुला छोडेकी रहिछिन, जुन बेला बेला उनको आखा अगाडी आइरहन्थ्यो र उनि आफ्नो चोर औंला ले बिस्तारै संगालेर आफ्नो कान पछाडी लाने गर्थिन। सिसाकलम जस्तै पातला उनको हातका औंला, अनि त्यो मोतिको ब्रेस्लेट सहित जब उनको कपाल सम्हाल्न कान नेर पुग्थे, कान मा उनले लगाएकी चम्किलो पत्थरको टप को झिलमिल मेरो मनमा टलपल गर्न थाल्थ्यो। हातमा त्यो दिन क्यामेरा त थिएन तर उनका तस्बिर हरु यी आखा ले खिचेर यो मन भरि उतारी नै रहे।
“थ्यांक यु सर” …अचानक आवाज आयो। जा ..म्याथ क्लास त सकिएछ, पत्तो नै भएन क्लासमा के पढाइ भयो भनेर। आ…जे सुकै होस्। ननिदाइकन यति मिठो सपना देख्न पाइन्छ भने, त्यस्तो जाबो म्याथ क्लास ..आफ्नो मन लाइ सान्त्वना दिए।
“हाइ, आइ एम बिना…ह्वाट इज युओर नेम ?”, उनले मलाई एक्कासी सोधिन।
“आइ आम विवेक, प्लिजड टु मिट यू” , मैले हल्का मुस्कान सहित जवाफ दिएँ।
“सेम हियर”, उनले फेरी फर्काइन।
त्यसपछि, हाम्रो घर, स्कुल ,साथी इत्यादिका बारे केहि बेर कुरा भयो। एकदम फरासिली रहिछिन उनी| उमेर नै त्यस्तै हो कि, उनलाई मन पराउन मलाई कत्ति पनि समय लागेन। केहि समय अगाडी मात्र देख्दा नै बाण लागेर घाइते भाको मलाई लाग्न थाल्यो, उनी त मेरो “लभ एट फस्ट साइट” पो हुन्। (हा ..हा )
त्यसपछिका दिनहरु सामान्य संग गुज्रिन थाले। नामको अक्ष्यरक्रम अनुसार क्लासको रोल नम्बर हुने भाको ले बिना र बिबेकको रोल नम्बर चार सय सैंतिस र चारसय अढतिस भएको थियो। अनि त प्राक्टिकल को ग्रुप पनि उही। फिजिक्स, केमेस्ट्री र बायो गरेर हप्ताको तीन दिन त प्राक्टिकल नै गर्नु पर्ने, त्यो पनि संगै; मलाई के चाहियो। उनी संग को साथ् मलाइ रमाइलो लाग्थ्यो,पढ्न पनि उनी सारै सिपालु , संगै प्राक्टिकल गर्ने, होमवर्क गर्ने , जाच को बेला पढ्ने अनि गफ गर्ने, क्यान्टिन जाने , लाइब्रेरी जाने , क्लास मा पनि संगै बस्ने। दिनभर उनी संग बस्दा मलाइ कहिले उनी जोक भन्न लगाउथिन, त कहिले त्यहि म्याथ सर को केरीकेचर गर्न लगाउथिन। केरिकेचर गर्दा गर्दै मैले कलेज का प्राय सर, नेपाली नेताहरु र केहि कलाकार हरु को दुरुस्तै नक्कल उतार्न सक्ने भैसकेको थिएँ। उनको रमाइलो संगै म मा बिकास भएको कला मलाइ खुशी रहन काफी थियो।
दिन को प्राय समय उनीसंगै बित्थ्यो, मात्र घर जान छुटिनु पर्ने; त्यो मलाई सबभन्दा मन नपर्ने टाइम हुन्थ्यो दिनभरि कै।
घर गयो, अनि उनको बारे लेखेर मेरा डायारीका पाना हरु भरिन थाले| कहिलेकाही त कविता पनि फुर्थ्यो र लेखिन्थ्यो पनि। लेखिएका कविता र सायरी हरु कहिले कहिँ उनलाई सुनाउथे पनि। उनी निकै रमाइलो मानेर सुन्ने गर्थिन र मेरो लेखाइ को तारिफ पनि गर्थिन। कैलेकाही त यो उनकै लागि हो भनेर उनीले बुझे हुन्थ्यो जस्तो पनि लाग्थ्यो। दिनहरु यसरि नै बित्दै गए, हामी एकदम मिल्ने साथी थियौ। हरेक कुरा उनले म संग भन्थिन, र म उनी संग। कुनै संकोच थिएन हामीबीच;मन को कुरा सबै भन्न सक्थ्यौं , मात्र त्यो कुरा मैले उनलाई भन्न सकिन।
हुदा हुदै +२ को २ बर्ष पनि सकिन सकिन लागि सकेको थियो। +२ मा फस्ट हुने लाइ इंडिया मा इञ्जिनियरिङ्ग पढ्नको लागि छात्रवृत्ति मिलाइदिन्थ्यो म पढेको कलेजले। जसको लागि म मेहनत गरिरहेको थिए सुरु देखि नै। ११ कक्ष्यामा फस्ट भै सकेको थिए , १२ मा पनि हुनु थियो। मेहनत जोडतोड ले गर्दै थिएँ तर उनलाई मन को कुरा भन्न नसकेको कुराले मन भित्र-भित्रै खाइरहेको थियो। मैले आफ्नो पढाइ प्रतिको एकाग्रता गुमाइरहेको थिए सोहि कुराले गर्दा।मेरो बद्लिएको ब्यबहार र चिन्ता भरिएको अनुहार देखेर नै होला मलाइ उनले बेला बेला सोध्ने पनि गर्थिन के भयो भनेर। तर अहँ मेरो मुख बाट बोली फुट्न सकेन।
एक दिन अचानक उनको क्लास नोटको अन्तिम पाना मा मैले केहि लेखिएको देखें। त्यो भन्दा मिठो कुरा मैले अन्त कतै पढ्न पाएको थिइन त्यस अघि सम्म। त्यसमा लेखिएको थियो: “बिना + बिबेक”। एकछिन त सपना जस्तो पनि लाग्यो। आफै लाइ चिमोटी हेरें।”ऐया” , सपना हैन रहेछ, मन नै शितल भयो। उनले पनि त मलाई मन पराउदो रहेछिन, र उनले पनि मलाई नभनेको रहेछिन। दङ्ग परे तर मैले त्यो पाना कहिले नदेखे जस्तो गरि बसिरहें। पढाइ मा जोश नै बेग्लै नि मेरो त त्यसपछि। १२ को जाच पनि दिइयो , फस्ट पनि भैयो| इंडिया पढ्न जाने कुरा लगभग निश्चित, उनीले भने १२ पछि बि.बि.ए जोइन गरिन।
इंडिया जानु अघि सम्म मैले उनलाई भन्न सकिन कि मैले उनलाई अति माया गर्छु भनेर।उनि प्रतिको मेरो भावना ले भरिएको मैले लेख्ने गरेको डायरी उनलाई दिएर जाउँ जस्तो पनि लागेको थियो, तर कातर मनले त्यति सम्म पनि गर्न दिएन।
एक बेला त उनले आफुले कसैलाई माया गरेको कुरा भन्न समेत खोजेकी थिइन् , तर खै फेरी बीचमै रोकिएर केहि बोलिनन।”बोल , तिमी बोल ” मन-मनै मैले भने। तर त्यो दिन त्यो कुरा त्यसै भयो।
इंडियाको लागि हिड्नु अघि, उनले ” आइ विल मिस यू विवेक भनिन”।
“आइ लभ यू बिना”, मेरो मन ले भन्यो तर मुखले भने, ” आइ विल मिस यू मोर ” मात्र भने अनि बिदा भए।
इंडियाबाट पनि म उनीलाइ बेला बेला फोन गरिरहन्थें र उनी पनि त्यसै गर्थिन। फोन गर्न एकदम रमाइलो लाग्थ्यो। पछि फेसबुक पनि आयो, फेसबुक का भित्ताहरु सब प्रेमयुक्त स्ट्याटसहरुले भरिन थाल्यो मेरो, उनको पनि बेला बेला त्यस्तै खाले स्ट्याटस आउथे। लाग्थ्यो, मेरो स्ट्याटस हरु को जवाफ उनले आफ्नो स्ट्याटस बाट दिइरहेकी छिन। यस्तो अप्रत्यक्ष्य कुराकानी मलाई झन् झन् रमाइलो लाग्न थाल्यो। जुकरबर्गलाइ फेसबुक बनाइदेको मा मन मनै धन्यबाद दिईरहन्थें। कैले काही मेरो स्ट्याटसमा उनको लाइक आउदा लाग्थ्यो , उनको “लाइक” लाइ पनि “लाइक” गरिदिउ। जेन तेन एक बर्ष बित्यो , बिदामा घर फर्किने भएँ म। घर जान चार दिन अघि संजय श्रेष्ठ को गित ले स्ट्याटस अपडेट गरिदिएँ, “माया मेरी माया हाम्रो मिलन कहिले हुन्छ ?”।
त्यो स्ट्याटस अपडेट गरेको बेलुकी तिर बिना को स्ट्याटस थियो ,” मिलनको लागि अब ३ दिन !!”। ओहो कस्तो आँटेकी यो केटिले, मन-मनै सोचें। तर फेरी एउटा कुरा ठोक्कियो दिमागमा, म जान त अझै ४ दिन छ, मिलन कसरी ३ दिन मा ?? फेरी सोचें, “खूब इन्जिनियर भएर सोच्नु पर्छ ? , हिसाबमा केहि गडबढी गरिन होली “। अनि मन मनै खुशी भै रहें।
घर पुगेर हतपत उनलाई कल गरें। अनि थाकेको हुनाले अर्को दिन को लागि भेट्न बोलाएँ। त्यसपछि फेरी फेसबुक !! फेसबुक वालमा उनको एउटा स्ट्याटस थियो , “With my love Vivek after a long time” र स्ट्याटस संगै एउटा फोटो पनि थियो|
तर अफसोच फोटोको बिबेक भने म थिइन, अर्कै बिबेक थियो। मेरो आखामा उनको क्लास नोटको त्यहि अन्तिम पाना झल्झली आइरह्यो, जसमा लेखिएको थियो “बिना +बिबेक “| अनि फेसबुक वालको त्यो फोटो हेरेर टोलाउन थालें तर चारै तिर अँध्यारो मात्र देखियो।

21 thoughts on “कथाः पहिलो प्रेम”

  1. sijan shrestha says:
    June 28, 2013 at 10:49 pm

    Well done dude…ramro cha……continue writing….

    Reply
  2. Ashish Shrestha says:
    June 28, 2013 at 6:08 pm

    राम्रो काहनी छ साचो न भए नि………..

    Reply
  3. Santosh Raut says:
    June 28, 2013 at 3:49 pm

    मन पर्यो

    Reply
  4. Limbu naYan says:
    June 26, 2013 at 12:28 am

    त्यतिबेला जे भए नि फेसबुकमा कमेन्ट देखेर नि ठम्याई हुन्छ/
    एकतर्फी पागलपन भए नि स्टडी सक्सेस भो/ प्रस्तुति राम्रै लाग्यो है/

    Reply
  5. RESHAM THAPA says:
    June 25, 2013 at 2:08 pm

    कथा रोचक अनि सूचनामुखी छ , One side love so did not get lovely feeling from the girls, if it has on story, will be get rommance atmosphere………. keep it up,

    Reply
  6. Ashok Chhetry says:
    June 24, 2013 at 7:42 pm

    कथामा बिबेकको प्रेम पहिलो भएतापनि बिनाले भने आफ्नो पहिलो प्रेममा घात् नगरेको देखिन्छ ।यस्तै हो बिबेकजी, मन् पराउने हजार् भेटिन्छन्……..

    Reply
  7. Ashok Chhetry says:
    June 24, 2013 at 7:40 pm

    बिबेक राज श्रेष्ठ द्वारा लिखित “पहिलो प्रेम” कथा साह्रै नै मर्मिक अनि रोचक पनि छ । कथाले किशोराबस्थामा हुर्कने प्रेम प्रसँग र कल्पना हरुलाइ साँच्चै नै प्रतिनिधित्व गर्छ ।
    कथाले बिबेक् जस्ता कैयनलाइ एकपटक् आफ्नो बिगत् सम्झाउन प्रेरित् गर्नेछ ।

    Reply
  8. Vivek Raj Shrestha says:
    June 24, 2013 at 5:06 pm

    “पहिलो प्रेम” कथा लेखनमा मेरो पहिलो प्रयास थियो | पहिलो कथालाइ प्रकाशित गरिदिनु भएकोमा माइसंसार प्रति हार्दिक आभार | साथै कथामा केहि कमजोरीहरु रहेका कुरा पनि स्वीकार गर्दछु, जसलाई आउदा लेखहरुमा सुधार्ने कोशिस गर्ने नै छु | कथामा गरिदिनु भएको सकारात्मक- नकारात्मक कमेन्टहरु सबै को लागि धेरै धन्यबाद ||

    Reply
  9. sampurna says:
    June 24, 2013 at 4:08 pm

    Good story!

    Reply
  10. sabita says:
    June 24, 2013 at 1:04 am

    खै के के, धन्न padai चै राम्रो गर्नु भएछ नत्र त कथा खै के के

    Reply
  11. Rabin says:
    June 23, 2013 at 7:28 pm

    के नमिले नमिले जस्तो भयो…प्रयाश राम्रो छ…

    Reply
  12. pesal kc says:
    June 23, 2013 at 12:32 pm

    तेस्तै हो तेस्तै हो यो केटि भन्ने चिज नै अचम्मको हुन्छ भन्या आफु संगै हुन्छन खुसि मान्यो थोरै थोरै इसारा दिन्छन मख्ख पर्यो मिठा लुरा गर्छन लट्ठ पर्यो लास्टमा छोडेर जान्छन हिस्स पर्यो आखिर पर्नु भन्दा बढी के नै गर्न सकिन्छ र

    Reply
  13. rabin says:
    June 23, 2013 at 9:51 am

    बिबेक जी कस्तो मान्छे तपाईं?? अनि त्यो केटीको status मा कमेन्ट त आउथ्यो होला नि अनि त्यो कमेन्ट मा आर्को बिबेकको पनि कमेन्ट आउथ्यो होला :डी कमेन्ट पढेर र पनि हल्का सुइँको पाइन्छ नि हौ

    Reply
  14. suraz says:
    June 23, 2013 at 1:48 am

    रमाइलो कुरा के भने केटा प्रेममा फसे पनि पढाई बिगारेको रहेनछ

    Reply
  15. bishnu adhikari says:
    June 22, 2013 at 10:54 pm

    कथाको लागि धन्यवाद बिबेक भाइलाई / नामले बिबेक भए पनि ब्यबहारमा अलिक बिबेक पुगेन बिबेकको / हुन त आल्लारे बेलामा नै बिबेक पुर्याउने कम नै हुन्छन / बिबेक लाई लग्यो होला म मात्र बिबेक छु यो दुनियामा / तर आर्को पनि बिबेक रहेछ / येही कुरा को खयाल nagarda le नै यो कथा लेखियो
    बिष्णु अधिकारी

    Reply
  16. Alikhit says:
    June 22, 2013 at 9:54 pm

    यस कथाका केहि जल्दाबल्दा प्रश्नहरु:
    १. बिबेकले बिनालाई हाम्रो बिबेक संगै हुदा कहिले फोन गरेन ?
    २. बिना र बिबेकको फेसबुक स्ट्याटस हाम्रो बिबेकको आखामा कहिले किन परेन ? हाम्रो बिबेकले बिनाको फेसबुक बडा “क्लोजली” फलो गरेको बुझिन्छ कथा अनुसार |

    Reply
  17. Shyam babu.. says:
    June 22, 2013 at 8:55 pm

    कहाँ हजुर बुबा को लव लेटर जसमा प्रेम प्रस्ताब संगै जीवन बिताउने सोच अनि यो पहिलो प्रेम जसमा प्रस्ताब नै गर्न नसक्नु… दुवै सारै राम्रो लाग्यो…

    Reply
  18. sun says:
    June 22, 2013 at 8:20 pm

    यस्तै हो जिबन

    Reply
  19. nisha says:
    June 22, 2013 at 5:35 pm

    सुन्दर कथा , सुन्दर जवानी को सुरुवात संगै प्राय सबै जवान पुरुस र महिला हरु मा पैदा हुने अनुभूति को चित्रण … सुभकामना बिबेक जी . इ आँखा ले अझै बढी हजुरका सुन्दर सिर्जना हरु पढ्न पाउन कुत्कुतौदो जवानी को सुन्दर चित्रण ….

    Reply
  20. Hari Gautam says:
    June 22, 2013 at 4:00 pm

    हाहा !!! खतरा रहेछ पहिलो प्रेम !!! अब प्रस्ताब राख्न नै डराउनेले के प्रेम गर्छ भन्नु र ???

    Reply
  21. NirAJ says:
    June 22, 2013 at 11:31 am

    बिचरा 🙁

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme