Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

माछा नपाइने मनाङतिर मुन्टिँदा

Posted on June 7, 2013June 15, 2013 by Salokya

IMG_3985
मनाङ जिल्लाका थुप्रै विशेषता पढेसुनेको थिएँ। जस्तै मनाङ माछाबिनाको जिल्ला हो। यहाँका कुनै पनि नदी वा जलाशयमा माछा लगायत कुनै जीवजन्तु पाइँदैन। मनाङ कम पानी पर्ने नेपालको एउटा ठाउँ हो। बाहुन क्षेत्रीको स्थायी बसोबास नभएको जिल्ला पनि यही हो। केही अघिसम्म जेल र थुनुवा नभएको जिल्लाका रुपमा पनि मनाङ परिचित थियो। तर नार यार्सागुम्बा कान्डपछि त्यो विशेषता हटेको छ। अरु जिल्लामा जनसंख्या बढ्दो क्रममा हुन्छ, यहाँ भने घट्ने क्रममा छ। मनाङबारे यस्ता कुरा सुनेकोले एक पटक मनाङ जान पाए हुन्थ्यो भन्ने लागिरहेको थियो। छुट्टी पनि पाएपछि यार्सागुम्बामा पिएचडी गर्दै गरेका साथी उत्तमबाबु श्रेष्ठसँगै मनाङ मुन्टिन पुगेँ।

मनाङ अब पहिले जस्तो विकट ठाउँ रहेन। सडक सञ्जालसँग यो जिल्ला पनि गत असोजदेखि जोडिसकेको छ। मनाङ सदरमुकाम चामेसम्म पुग्ने गाडी काठमाडौँको स्वयम्भूमा पाइने रहेछ। स्वयम्भू बुद्ध पार्कनजिकैको काउन्टरबाट १८ सय रुपियाँको टिकट काटेपछि टाटा सुमोले चामेसम्मै पुर्‍याइदिने रहेछ। चामेसम्म पुग्न नभए पाँच दिनको ट्रेकिङ रुट पछ्याउनु पर्थ्यो।
दुई दिनअघि नै टिकट काटियो चामेसम्म पुग्नका लागि। लक्ष्य थियो यार्सागुम्बा पाइने लेकहरुमा रिसर्च गर्नु र साथमा पशुपतिको जात्रा सिद्राको व्यापार भने झैँ अन्नपूर्ण क्षेत्रको सौन्दर्य अवलोकन गर्नु।
तर पहिलो गाँसमै ढुङ्गा। यात्राको अघिल्लो दिन मनाङ सफारीको काउन्टरका दाइले एसएमएस गरे- तपाईँहरु भोलि जाने गाडी काठमाडौँबाट डाइरेक्ट नहुने भयो। किनभने दानाक्यु भन्ने ठाउँमा बाटो ब्लक भएर गाडी आउन पाएन। त्यसैले बेसिसहरबाट मात्र गाडी हुन्छ। बेसिसहरसम्म हाम्रो माइक्रो छ। त्यहाँबाट फेरि हाम्रो जीप छ।
लौ त नि के गर्नु त अब। अरु विकल्पै छैन। बिहान साढे ६ बजे स्वयम्भू पुग्नु पर्ने थियो। म नभएपछि माइसंसारका लागि ब्लग अपडेट गर्ने कोही हुन्न। त्यसैले कतै यात्राका लागि जानु परे अगावै अग्रिम ब्लगहरु तयार पार्नुपर्ने हुन्छ। तर गर्नै सकिरहेको थिइनँ। आ…भोलि बिहान तीनै बजे उठेर गरौँला नि सोच्दै सुतिदिएँ। बिहान सबेरै उठ्न अल्छी लाग्छ भन्ने थाहा थियो। तर के गर्नु निद्राले सताएपछि।
बिहान ३ बजे अलार्म बज्यो। तर उठ्नै सकिनँ। राति साढे ११/१२ बजेतिर सुतेको, निद्रा पनि पुगेको थिएन। तैपनि आधा घण्टापछि उठेँ। अनि दनादन ब्लग लेख्न थालेँ। विषयहरु अरु पनि थिए। तर ४/५ वटा ब्लग तयार पार्दै ६ बजिहाल्यो। त्यसपछि त फाइनल सामान प्याक पनि गर्नुपर्‍यो। सवा ६ बजेतिर स्वयम्भूतिर लागेँ। उतै भेटिए उत्तम। माइक्रो गुडेपछि केही बेर गफियौँ। डुम्रेसम्म त पहिले पनि पुगेकै हो। तर त्यहाँबाट उता बेसिसहरको बाटो भने अहिलेसम्म पुगेको थिइनँ। लमजुङको बाहुनडाँडा उही जोन उडले लेखेको लिभिङ माइक्रोसफ्टमा मात्रै पढेको हो। भुसुक्क निदाएकोले केही बेर केही पत्तै पाइनँ। बेतोडले गाडी कुदाउने र बाटोभरी अरु चिनेका गुरुजीसँग हात मिलाउँदै गर्ने गुरुजीले साढे चार घण्टामै बेसिसहर पुर्‍याए। बेसिसहर पुगेपछि अर्को गाडी पाउन केही समय पर्खनु पर्‍यो। यात्रा थियो अझै ६५ किमी र ६ घण्टा।
IMG_4017

IMG_3966

IMG_3967

IMG_3970

IMG_3972

IMG_3981

IMG_3988

IMG_4005

बाटो भर्खर बनेको कच्ची सडक थियो। धेरैले डरलाग्दो बाटो भन्थे। तर मलाई भने सामान्य नै लाग्यो। नेपालको बाटो अधिकांश यस्तै त हो। पोहोर मुस्ताङको जोमसोम जाँदा पनि यस्तै बाटो गुडेका थियौँ। त्यसैले नौलो लागेन। जोखिमपूर्ण भए पनि यी बाटोमा अहिलेसम्म दुर्घटना भएका छैनन्।
यति हुँदाहुँदै पनि बाटो गजबकै हो। चट्टान विस्फोट गरेर मर्स्याङदी बग्ने बाटोतिर बाटो बनेको छ। नेपाली सेनाले बनाउने जिम्मा पाएको यो बाटो बनाउने क्रममा १२+ जनाको ज्यान गएको थियो। त्यसमा सेनाका जवानहरु पनि परेका छन्। उनीहरुको स्मृतिमा बाटोमा चिह्न राखिएको छ। बाटोमा गुड्दै गर्दा बाटो बनाउन बलिदान गर्नेहरु प्रति सम्मान जाग्यो। साँझतिर पेम्बा लामा दाइको दानाक्युको होटलमा हाम्रो पहिलो बास भयो। क्रमशः
बाँकी अनुभव अर्को ब्लगमा।

24 thoughts on “माछा नपाइने मनाङतिर मुन्टिँदा”

  1. cRIS says:
    June 11, 2013 at 6:19 am

    तपाईको मुण्टाईले हामीले पनि सैर गर्न पाईयो, गज्जब लाग्यो!

    मुनि शशांकज्युको सहि नाम बारेको कमेन्ट, साधारण भए पनि गहिरो छ| उत्तमजी ले सत्य कुरोलाई नै टिपोट गर्नु हुनेछ भन्ने आसा छ| शुभकामना|

    Reply
  2. अजय श्रेष्ठ says:
    June 10, 2013 at 7:25 am

    सालोक्य जी को लेखमा जातियता नआएको भए ठिक हुन्थ्यो. बाहुन क्षेत्रीको स्थायी बसोबास नभएको जिल्ला पनि यही …… यो अलि मिलेन Nepal अहिले एकदमै संक्रमंकलिन अवस्थामा छ त्यसकारण जात जात मा लडाउने लेख तपाई जस्तो व्यक्ति ले लेख्न सुहौदैना. हामी सबै नेपाली हौँ भन्ने भवन जाग्ने लेख लेखौं सालोक्य जी .

    Reply
  3. SURENDRA hongkong says:
    June 8, 2013 at 3:29 pm

    आफ्नो देश कति सुन्दर रहेछ कसलाई के थाहा? यसको विकास गर्न सके साचिकै सोर्ग नै हुने रहेछ /सबै ६०१ साढे हरु लाई त्यता पठाउने चाजो पजो पनि मिलाउने हो कि सालोक्य जी बिकाश गर्न?

    Reply
  4. Raju says:
    June 8, 2013 at 10:37 am

    माछा नपायर त के भो र? शुद्ध शाहाकारि वन्नुभो मनांमा तर headline नै खराव राख्नुभों

    Reply
  5. शशांक लामा, न्युयोर्क says:
    June 8, 2013 at 4:06 am

    उत्तम र उमेशको यात्रालाई मैले बढो अभिरुची दिएर हेरिरहेको छु | उत्तमको अनुसन्धानबारे मेरो एउटै गुनासो छ : त्यो बहुमुल्य जडिबुटिको नाम यार्सागुम्बा, यार्चागुम्बा नभएर यचगुन्बू हो र यस शब्दलाई जस्ताको तस्तै आफ्नो अनुसन्धान कृतिमा उल्लेख गरियोस भन्ने म चहान्छु | यार्चा सम्म त ठिकै छ, तर गुम्बा शब्दले बुद्विष्ट मन्दीर जनाउँछ | यस्तो अनर्थ हुनु हुँदैन भन्ने मेरो ठनाइ छ | जनजिब्रोमा आइसकेको यार्चागुम्बा अपभ्रंषित भएको कुरा उल्लेख हुनुपर्छ जस्तो लाग्छ | सफल अनुसन्धानको शुभकामना छ !!!

    Reply
  6. बिनोद गुरुङ says:
    June 7, 2013 at 11:09 pm

    “… बाहुन क्षेत्रीको स्थायी बसोबास नभएको जिल्ला पनि यही हो।…”
    भनेपछि राज्यको नाउँमा शोषण, उत्पीडन र सीमान्तकृत अरु ठाउँको तुलनामा कम हुने भयो| तैपनि सीडीओ, एलडीओ, जिशिअ इत्यादिले आँखा गाडेकै हुनपर्छ|
    स्कुलका छात्रहरु भन्दा सरकारी स्कुलमा मास्टरहरु बढी भएको पनि मनाङ्ग नै हो| ती जागिरे मास्टरहरुको हुन् र कँहा बाट आएका हुन् भनेर उल्लेख गरिरहन नपर्ला|

    वास्तवमा मनाङ्गेहरुमा पंचायतले अत्याचार गरेको छ| हिमाली भेगका यी मनाङ्गेहरु लाई नागरिकतामा जबर्जस्ति गुरुङ लेख्नबाध्यताको स्थितिमा ल्याइयो नत्र नागरिकता र त्यसपछि पासपोर्ट नदिईने भनियो| मनाङ्गेहरु गुरुङ नहुँदा नहुँदै पनि जबर्स्जती यस्तो गर्न परे| एउटा जात वा समुदाय विनाशको कालो पंचायत कालको क्रुर निशानी अब भावी सन्तानले पनि बोक्ने भए|
    सोधा साझा मनाङ्गेहरुलाई पंचायात कालमा पंचायात बिरोधीहरुलाई तह लाउन बलको रुपमा प्रयोग गरियो र इनामका रुपमा बिदेशी सामान भित्राएर ब्यापार गर्ने छुट दिईयो|
    यो भन्दा ठुलो जात दमन र एउटा जातिलाई अर्को संग लड्नु लाउनु जस्तो ठुलो अपराध गर्ने देशका ठेकेदारहरु अहिले पनि जीउदै छन्| कोही बितेर नर्कमा पश्च्ताईरहेका होलान|
    यी सत्य तथ्यका उद्घाटन मदन बज्राचार्य सरले केही मात्रामा उनका केही दिन अघिका मन्तब्यमा पनि पोख्नुभएको छ|

    Reply
    1. ज्योती तमु says:
      June 8, 2013 at 5:51 pm

      १००% सत्य| सत्य कुरो मन नपराउनेहरुले रातो टीको लाउनुहोला|

      Reply
    2. रामेश says:
      June 8, 2013 at 8:46 pm

      कस्तो दिब्य सोचाई तपाई को !!
      बाहुन क्षत्री नाभायेसी त यो ठाउँ युरोप -अमेरिका जस्तै बिकशित भा’ होला है यो ठाउँ ??

      Reply
      1. गगन says:
        June 10, 2013 at 8:20 am

        सरकारी जागिरे पनि उनीहरु नभएको भए युरोप अमरिका त् होइन स्वीजरल्याण्ड जस्तो चै हुने थियो| यो देशको डाडु पन्यु हातमा यतिका बर्ष लिएर पनि देश खत्तम पार्ने को हुन् भन्ने सबैलाई थाहा भएकै हो|

        Reply
    3. Hem Gurung says:
      June 9, 2013 at 2:42 pm

      तपाई जस्तो व्यक्ति ले गर्दा देश टुक्रे को छ, कस्तो सोच तपाई को, दुख लग्यो, हामी नेपाली हौ कुनै जाति र वर्ग भन्दा यो सोच भए मात्रै देश को बिकाश हुन्छ. तपाई पनि मा गुरुङ लै मात्रै गर्छु भनि बस्नु हुन्छ भने देश सर्वनाश नै हुन्छ जस्तो लाघ्चा

      Reply
      1. गगन says:
        June 10, 2013 at 8:24 am

        देशका तलब भत्ता पकाउने पदहरु दुई चार जात हरुले आपसमा दिनहु भाग बन्डा लाउँदा हजुर जस्तो व्यक्तिको नजर माछापुछ्रेको टकले धमिल्याएको थियो कि कसो? त्यो बेला जातहरुमा देश टुक्रिकेको नदेख्नु दृष्टि भ्रम नभए के होला?

        Reply
  7. रविन says:
    June 7, 2013 at 3:46 pm

    शुभ यात्रा र अरु पनि जानकारी राख्दै गर्नु होला. धन्यवाद

    Reply
  8. Shailendra Dhakal (म्याउ ) says:
    June 7, 2013 at 8:30 am

    निरन्तरता दिनु होला, धन्यबाद

    Reply
  9. द्रोण says:
    June 7, 2013 at 7:13 am

    अलि अलि ताल ,तलैया ,रुख हरु ,फुल फुलेको ,पुतालिहरुले ले फुल को रश चुसेको , सुर्य उदाएको , बचा हासेको , बुढा बुडिको हासो ,राख्नुस , यो बुढाको उमेर कति होला गेस गर्नुस ?
    भनेर फोटो राख्नुस र असली उमेर जान्ने मन भए भित्र आउनुस भनेर छुस्स दिनुस |

    Reply
  10. Hom Nath Adhikari says:
    June 7, 2013 at 7:10 am

    यो शिर्षक को मुन्टीदा भन्ने शब्द राम्रो भयो र उमेश जी ???

    Reply
    1. safal says:
      June 7, 2013 at 12:20 pm

      दुखद अनुभव भएर होला । बेक्कारको दुख पाइयो भन्ने भावना होला नि ।

      Reply
    2. द्रोण says:
      June 7, 2013 at 3:46 pm

      असाध्ये राम्रो , ठेट नेपालि हो | घिचिदा राखेको भए झन् काइदा हुन्थ्यो |

      Reply
  11. gemini says:
    June 7, 2013 at 6:56 am

    एकपटक मनाङ्ग जाने रहर पलायो .
    पहरा फोरेर विकास को लागि बाटो बनाउने ति सेना का जवान हरु लाई मेरो सलाम .

    Reply
    1. द्रोण says:
      June 7, 2013 at 3:49 pm

      सुन्दर दृश्य हेर्दैमा जान मन लाग्न , राम्रो देखको टिप्न मन लाग्न , मिठो देखे खान मन लाग्ने यो आदत ले पनि फसिन सकिन्छ है |

      Reply
  12. Jeevan Thapa says:
    June 7, 2013 at 6:36 am

    Beautiful pictures ! सलोक्याजी ल अरु फोटोहरु र नयाँ कुराहरु पनि राख्नु ल !!!

    Reply
  13. Rahul K. Yadav-USA says:
    June 7, 2013 at 6:30 am

    स्वर्ग भन्दा राम्रो हाम्रो देश !!! जय नेपाल, जय मातृभूमि !!!

    Reply
    1. Salil says:
      June 7, 2013 at 11:07 am

      हामी सबै लोभी पापी भय पछि स्वर्ग अब कहाँ स्वर्ग रह्यो र, उहिले नरक भै सक्यो

      Reply
    2. द्रोण says:
      June 7, 2013 at 3:46 pm

      स्वर्ग कहिले देख्नुभा थ्यो कि ?

      Reply
  14. tulsi says:
    June 7, 2013 at 6:17 am

    यात्रा अनुभव रमाइलो छ/नेपाली सेनाको योगदानले मनाङ्ग जिल्लाले बिकाशको फड्को मा रेको रहेछ/मनाङ्ग जिल्लामा माछा नपाइनु पनि मुलुकको भौगोलिक बिशेस्ताको एउटा नमुना हो/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme